'लुसी इन द स्काई विथ डायमन्ड'

'बिटल्स' को एउटा गीत र मानवको आदिपुर्खाको यस्तो कथा जसलाई अनौठो संयोगले जोडेको छ ।
सुरेश ढकाल

संयोग एक सन् ६० को दशकको सम्भवतः सर्वाधिक लोकप्रिय सांगीतिक समूह थियो ‘बिटल्स’  । १९६७ मा ‘बिटल्स’ ले एउटा गीत रेकर्ड गरायो, ‘लुसी इन द स्काई विथ डायमन्ड  । जोन लेननले लेखेको र संगीतबद्ध गरेको यो गीत उनीहरूका अरूजस्तै हिट भयो ।

हिट मात्र भएन, यो गीतलाई बीबीसी रेडियोले प्रतिबन्धसमेत लगायो । संयोग के पर्‍यो भने यो गीतमा प्रयुक्त शब्दहरू ‘लुसी इन द स्काई विथ डायमन्ड’ को पहिलो अक्षरहरू एलएसडी हुने रहेछ । एलएसडी (लाइसेर्जिक एसिड डाइइथाइलामाइड) लाई एक मनोभ्रामात्मक अवस्थामा पुर्‍याउने लागूऔषध (ड्रग) को रूपमा लिइन्छ । प्रतिबन्धित एलएसडीको कुख्याति त्यसबेला चरममा पुगेको थियो । निराशा र गन्तव्यहीनताबाट पिरोलिएका साथै केही आक्रोशी र प्रतिरोधी युवासमेत यसको लतमा परेका थिए । दिग्भ्रमितलाई नै हो थप दिग्भ्रमले आनन्द दिलाउने । लठ्ठ, मस्त, मदहोसी, बेहोसीमा मनमगन र बिन्दास भएर बस्नेहरूका बीच त यो गीत लोकप्रिय हुने नै भयो ।


मेरा एक छिमेकी थिए । मभन्दा केही वर्षले नै जेठा । उनी सायद निराशा र निस्सारताबाट मुक्त हुने बहानामा एलएसडीको कुलतमा परेका थिए । उनी भन्थे, ‘एक पटक स्वाट्ठ तानेर मस्त आँखा चिम्लेपछि लन्डन भने लन्डन, पेरिस भने पेरिस पुगिन्छ ।’ जसरी ‘बिटल्स’ का गीत नेपालमा लोकप्रिय हुँदै थिए क्रमशः नेपाली युवाहरूमाझ एलएसडी पनि । यद्यपि यी दुईबीच कुनै सोझो तादात्म्यता भने थिएन । दुवैको लोकप्रियतामा कुनै तादात्म्य थियो पनि कि ? जोन लेननले भने पटक–पटक यसलाई अस्वीकार गरे । त्यति हुँदाहुँदै पनि यो गीत समावेश भएको एल्बम ‘सर्जेन्ट पेपर्स लोन्ली हार्ट्स क्लब ब्यान्ड’ बजारमा आउनुअघि नै बीबीसी रेडियोले गीतलाई प्रतिबन्ध लगाइसकेको थियो, माथिकै कारणले ।


खासमा यो लिविस क्यारोलको बाल उपन्यास ‘एलिस इन द वन्डरल्यान्ड’ मा वर्णन गरिएको केही भ्रामक यथार्थ वा अद्भुतखाले परिकल्पनामा आधारित गरेर तयार गरिएको थियो । गीत यसरी बालबालिकाका लागि लेखिएको कथामा आधारित हुनु कुनै संयोग भने थिएन । लेनन किताबको अद्भुत काल्पनिकीबाट प्रभावित थिए । लेननका तीनवर्षे छोरा जुलियनको नर्सरी स्कुलको चित्र, जसलाई ऊ लुसी– इन द स्काई विथ डायमन्ड भन्थ्यो, बाट प्रभावित भएर ‘एलिस इन द वन्डरल्यान्ड’ मा वर्णित काल्पनिकीको धरातलमा टेकेर लेखिएको थियो उक्त गीत । यसरी गीत निर्माण हुनु, आरोपित हुनु, प्रसिद्धि पाउनु सब संयोगजस्तै थियो । उक्त गीत संगृहीत एल्बम बेलायत, अस्ट्रेलिया, अमेरिकालगायत युरोपका कतिपय देशमा पहिलो नम्बरको हिट बने । उक्त एल्बममा रहेको ‘अ डे इन द लाइफ’ बिटल्सको अहिलेसम्मकै उत्कृष्ट गीतको सूचीमा छ भने लुसी २६ औं सर्वाधिक मन पराइएको गीतमा पर्छ ।

संयोग दुई
संयोग एक खासमा संयोग दुईको पृष्ठभूमि मात्र थियो । सन् १९९६ मा म पुरातात्त्विक मानवशास्त्रको विद्यार्थी थिएँ, नर्वेको वर्गेन विश्वविद्यालयमा । त्यही बेलामा परिचय भएको हो लुसीसँग पहिलोपल्ट । यो लुसी बिटल्सको उही लुसी थिएन बरु लाखौं वर्ष पहिले नै लोप भइसकेको मानव पुर्खाका एक प्रजातिको प्रतिनिधि थियो । खासमा यिनै विलुप्त मानव पुर्खाले नै ‘बिटल्स’ को लुसीसँग पनि परिचय गराइदिएको थियो । खासै अंग्रेजी गीत नसुन्ने मलाई पनि यो गीत सुन्ने हुटहुटी जागेर आयो । मेरा एक सहपाठी थिए अंग्रेजी संगीतका पनि पारखी । उनकै सहयोगमा उक्त एल्बम किनेर यो गीत सुनेको थिएँ । त्यसअघि ‘बिटल्स’ का केही गीत नसुनेको पनि होइन । त्यस बेलासम्म ‘बिटल्स’ जति सुनिएको थियो त्योभन्दा बढी उनीहरूबारे पढेको थिएँ । त्यसका केही सन्दर्भ र कारणहरू छन्, मौका मिले कुनै बेला लेखौंला ।


यो संयोग दुईको संक्षिप्त पूर्वकथा हो । संयोग दुईको खास कथा भने यस्तो छ । नोभेम्बर २४, १९७४ । मानवशास्त्रका सहप्राध्यापक ३१ वर्षीय युवा डोनाल्ड जोहान्सने एक अमेरिकी–फ्रेन्च पूरा–मानवशास्क्रीहरूको सयुंत्त टोलीको नेतृत्व गर्दै इथियोपियाको आफर प्रान्तमा पर्ने हदर भन्ने स्थानमा पूरा–मानवको अवशेष उत्खननमा व्यस्त थिए । ग्रेट रिफ्ट भ्यालिकै एक अंश यो इथियोपियालीे गाउँ प्राचीन मानव अवशेषको पुरातात्त्विक उत्खननका लागि प्रसिद्ध थियो, छ । ऊक्त दिन डनले अन्वेषण क्षेत्रको एक कुनामा सेता हाडका टुत्राजस्तो केही देखे । त्यो खासमा मानव अस्थिपञ्जरको अवशेषको एक टुक्रा नै रहेछ । उत्खननका क्रममा करिब ४० प्रतिशत जति अस्थिपञ्जर अवशेषहरू जम्मा हुन सक्यो । यो कुनै लोप भैसकेको मानव जातिकै पुरावशेष थियो भन्ने पक्का भयो । उक्त मानवअवशेष त्यस बेलासम्म प्राप्त भएकामध्ये सबैभन्दा पूर्ण थियो । यो उनीहरूका लागि ज्यादै महत्त्वपूर्ण प्राप्ति हुन सक्थ्यो र मानव उद्विकासको इतिहासकै लागि पनि । तत्कालै अन्वेषण टोलीकी एक सदस्य पामेला एल्डरम्यानले उक्त मानव अवशेषको न्वारन पनि गरिदिइन– ‘लुसी’ । लुसी एक स्त्रिलिङ्गी नाम थियो त्यतिबेलासम्म उक्त अस्थिपञ्जरको लिङ्ग पहिचान भइसकेको थिएन । तैपनि यो नाम सबैले स्विकारे ।

यसरी जन्म भएको थियो दोस्रो लुसीको । संयोग के थियो भने त्यस बेला डन जोहान्सनको पाल (क्याम्प) बाहिर उही बिटल्सको ‘लुसी इन द स्काई विथ डायमन्ड’ गीत बजिरहेको थियो । त्यसैबाट प्रभावित भएर पामेलाले उक्त अस्थिपञ्जर–अवशेषको नाम लुसी सुझाएकी थिइन् । भनिन्छ उनीहरूका लागि त्यो दिन उत्सवमय थियो । खुसीले सब मखलेल थिए । त्यो साँझ उनीहरूले पार्टी पनि गरेका थिए । भनिरहन परोइन, त्यो साँझ र रातभर पनि उनीहरूले बिटल्सको ‘लुसी...’ दोहोर्‍याई दोहोर्‍याई बजाएका थिए ।


अर्को संयोग के जुर्‍यो भने ‘लुसी’ नाम दिइएको त्यो अवशेष स्त्रीलिङ्गी नै परेछ । यसको पहिचान ‘अस्ट्रेलोपिथेकस आफरेन्सिस’ भनी निर्क्योल गरियो । आफर भन्ने स्थामा भेटिएकाले यसको नाम ‘आफरेन्सिस’ राखिएको थियो । प्राप्त भएको स्थानको पहिचान झल्कने गरी मानवाशेषहरूको नामकरण गरिने आम चलन नै हो । जस्तै जर्मनीको नियान्डरटल उपत्याकामा पाइएको अवशेषलाई नियान्डरथालेनसिस् वा नियान्डरथल मानव, पेकिङमा पाइएकोलाई पेकिङ मानव । त्यस्तै शिवालिक शृंखलामा प्राप्त मानवअवशेषलाई शिवापिथेकस र हाम्रै बुटवलको तिनाउ नदीमा भेटिएकोलाई बुटौलोपिथेकस भनी नामकरण गरिएको छ । तिनाउ नदीको किनारमा प्राप्त उक्त आदिमानवको बंगारा १ करोड १० लाख वर्ष पुरानो भनिए पनि उक्त अवशेष सतहमा पाइएको थियो न कि कुनै पुरातात्त्विक सन्दर्भबाट उत्खनन गरिएको । तसर्थ यो मानवशास्त्रीय दृष्टिकोणबाट खास महत्त्वको मानिदैन ।


फेरि ‘बिटल्स’ कै गीतको कुरा गरौं । उक्त गीत रेकर्ड गरिएको सात वर्ष भइसकेको थियो । त्यसबीचमा ब्यान्डका पाँचवटा स्टुडियो एल्बम र झन्डै एक दर्जन कम्पाइलेसन एल्बम निस्किसकेका थिए । ‘लुसी इन द स्काइ...’ को रौनक खुइलिसकेको भने थिएन । ‘बिटल्स’ सुन्ने पुस्ता अहिले पनि यो गीत सुन्छन् होलान् नै । तर, त्यस दिनदेखि प्रसिद्धि कमाउने लुसीचाहिँ त्यही मानव अस्थिपञ्जर अवशेष बन्यो । यसरी डन जोहान्सनले लुसीलाई प्रसिद्ध बनाए र लुसीले डन जोहान्सनलाई ।


आज पनि मानव उद्विकासको अध्ययन अनुसन्धानमा संलग्नहरूका लागि यो घटना सुखद संयोग मात्र रहेन । ‘अस्ट्रेलोपिथेकस अफारेन्सिस्’ पहिलो मानवपुर्खाको ज्ञात प्रजाति भनि पहिचान गरिएको उक्त दुईखुट्टे मानव अवशेषको प्राप्ति महत्त्वपूर्ण घटना सावित हुन पुग्यो । उनै जोहान्सनले अर्का एक सहकर्मीसँग मिलेर लेखेको पुस्तक ‘लुसी ः द बिगिनिङ अफ ह्युमनकाइन्ड’ ले अमेरिकी ‘नेसनल बुक अवार्ड इन साइन्स’ पायो । जोहान्सनले यी बितेका साढे चार दशक उनै लुसीको कथा लेखन र पुनर्लेखन गरेर बिताए तर पनि पूर्ण कथा भने अझै लेखिइसकेको छैन ।


जोहान्सन मानव उद्विकासको इतिहास लेखनमा यति तल्लीन भए कि उनले इन्सिच्युट अफ ह्युमन ओरिजिन्स भन्ने संस्थासमेत स्थापना गरे । ७६ वर्षीय यी मानवशास्त्री आजपर्यन्त लागिपरेकै छन् लुसी र आफ्नै बीचको नाता सम्बन्ध खुट्याउन । अर्थात् उक्त विलुप्त प्रजाति ‘अस्ट्रेलोपिथेकस अफरेन्सिस्’ कसरी आजको आधुनिक मानवसम्म विकास भयो होला भनेर थाहा पाउन । यो प्रश्न किन पनि महत्त्वपूर्ण छ भने मानवजातिको विगतबारे जति थाहा पाउन सकिन्छ उसको भविष्यको बारेमा पनि त्यत्ति नै धेरै अनुमान लगाउन सकिन्छ ।


मानवशास्त्रीहरूले के तथ्य उजागर गरिसकेका छन् भने अनुमानित ३२ लाख वर्ष पुरानो उक्त मानव पुर्खा करिब साढे ३ फिटदेखि ४ फिटसम्म अग्लो र ७५ पाउन्ड जति तौल भएको, दुई खुट्टाको भरमा सीधा उभिन सक्ने थियो । ऊ शाकाहारी थियो र दिमागी आकार हालको चिम्पाञ्जीको भन्दा ठूलो थियो । अर्का मावनशास्त्री रेमन्ड डार्टको ‘अस्ट्रेलोपिथेसाइन’ दुई खुट्टामा उभिएर सीधा भएर हिँड्न सक्थे भन्ने सिद्धान्तलाई पुष्टि गर्नसमेत यो तथ्यले बल पुर्‍यायो भनिन्छ । अमेरिकाका विभिन्न सहरहरूको एक वर्ष लामो यात्रापछि अहिले लुसीको स्थायी बसोबास इथियोपियाको संग्रहालयमा भएको छ ।


यी दुई लुसीको जन्मलाई किन पनि संयोग भनियो भने यदि लेननका तीनवर्षे छोरा जुलियनको नर्सरी चित्रको शीर्षक त्यो नहुँदो हो त न बिटल्सको गीत बन्थ्यो न हाम्रा आदि पुर्खाले उक्त नाम नै पाउँथे ।सन् २०१४ मा अमेरिकाको ओहायोमा आयोजित साइन्स राइटर कन्फरेन्समा जोहान्सन सुनाउँदै थिए, ‘कसैले मलाई सोध्दै थिए कि ४० वर्षमा के त्यस्तो फरक पायौ लुसी र तिमीमा ?’ उनको उत्तर थियो, ‘यो एकदम सरल छ । म ऐना हेर्दा थाहा पाउँछु कि म ४० वर्ष बूढो भएको छु, लुसी एक दिन पनि बूढो देखिंदैन ।’

प्रकाशित : वैशाख ७, २०७६ ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

‘सोह्र साँझ’ र विचलित वर्तमान 

भूमिका
सुरेश ढकाल

काठमाडौँ — प्रेसबाट आएको आफ्नो पहिलो पुस्तकको पहिलो प्रति उनले मलाई सगर्व र सहृदयका साथ उपहार दिन चाहे । सल्लाहबमोजिम हामीले चाबहिल चोकमा भेट्यौं र नजिकैको चिया पसलमा पस्यौं । सोह्र साँझ : युद्धका असरबीच यात्रा मलाई दिँदै गर्दा उनको अनुहारमा एक सफल योद्धाको अनुहारमा देखिनेजस्तो तेज थियो ।

पुलकित हुँदै मैले पुस्तक हातमा लिएँ, प्रेमपूर्वक सुमसुम्याएँ । मैले उक्त पुस्तकमा उनको हस्ताक्षर लिने रहर गरें । उनले थोरै लजाउँदै, अप्ठयारो मान्दै सप्रेम केही शब्द लेखे र हस्ताक्षर गरे— गोविन्द वर्तमान ।
त्यसै साँझ सुरु गरेर मैलै भोलिपल्ट पुस्तक पढिसकेपछि म दुई कारणले आह्लादित भएको थिएँ । एक, विचारको तीव्रता, भावनाको आवेग र शब्दको प्रवाहको कुशल संयोजन थियो, सोह्र साँझ । दुई, सोह्र साँझको सम्पूर्ण यात्रा र यात्रा अनुभूतिसँग म भावनात्मक रूपले गाँसिएको थिएँ, जुन मेरा लागि अझै महत्त्वपूर्ण थियो ।
सन् २००२ कुरा हो । अर्थात्, आजभन्दा १५ वर्षअघि, अप्रिल महिनाको कुनै शनिबार बिहान चाबहिल गणेशस्थानको तरकारी बजारछेउको चिया पसलमा हामी थियौं । यही चिया पसलमा हाम्रो नियमित अखडा हुने गथ्र्याे, जुन भेटघाट, समाचार आदानप्रदान, विचारविमर्श, तर्कहरूको रस्साकस्सी, धारणा निर्माण आदिका लागि एउटा ‘भर्नाकुलर पब्लिक स्पेस’ जस्तै थियो । त्यस बिहान हामी तीन मात्र बाँकी थियौं अखडामा : खगेन्द्र सङ्ग्रौला, गोविन्द वर्तमान र म । बिहान छिप्पिइसकेको थियो । सायद हामी त्यस बिहानको अन्तिम चिया खाएर छुट्ने तरखरमा थियौं । कुनै खास विषयमा कुराकानी भइरहेको थिएन । कुरैकुरामा खगेन्द्र दाइले माओवादी आन्दोलनको उद्गमस्थल रोल्पा–रुकुमतिर जान पाए नि हुन्थ्यो भन्ने मनसाय व्यक्त गर्नुभयो ।
संयोगले माओवादी र सरकारबीचको सशस्त्र द्वन्द्वले पारेको आर्थिक, सामाजिक, सांस्कृतिक असरबारे स्थलगत अध्ययनको जिम्मा मैले लिँदै थिएँ । द्वन्द्वग्रस्त क्षेत्रको भ्रमण गर्ने हुटहुटी ममा पनि थियो र मलाई नै खोज्दै आएझैं मेरै दैलोमा आइपुगेको त्यो काम सुखद संयोग थियो । उक्त अध्ययन गैरसरकारी संस्था महासङ्घको कुनै एक परियोजनाअन्तर्गत हुँदै थियो । त्यस परियोजनाका प्रमुख भूपदास राजभण्डारी थिए । त्रिभुवन विश्वविद्यालयमा समाजशास्त्र मानवशास्त्र विषयको पहिलो छिमलका विद्यार्थी भूपदासजीमार्फत मैले त्यस अध्ययनको जिम्मेवारी पाएको थिएँ ।
खगेन्द्र दाइले व्यक्त गर्नुभएको रहरमा उकेरा लगाउँदै मैले भने, ‘म त जाँदै छु, दाइ । त्यस्तै एउटा अवसर मिलेको छ ।’
‘लौ न यार, सुरेशजी, मिल्छ भने सँगै जाने मेसो मिलाउनुस् न,’ खगेन्द्र दाइले भन्नुभयो ।
‘हुन्छ दाइ, म सम्भावना के छ हेर्छु र प्रयत्न गर्छु नि ।’
गोविन्द वर्तमानले पनि त्यस्तो यात्रा गर्ने रहर पोखे, ‘मिल्छ भने म पनि जान्थें । ल मिलाऊ न, सुरेश ।’
गोविन्द वर्तमान यात्रा भनेपछि हुरुक्कै हुन्थे । तसर्थ उनको अनुरोध अपेक्षित नै थियो ।
तीनै जना सँगै यात्रामा जान सके त कत्ति मज्जा हुँदो हो ! अनुमान गर्दा मात्रै पनि रमाइलो अनुभूति भयो । अनि मैले त्यसैअनुरूप अध्ययनको खाका तयार पारें । यात्रामा अनुसन्धान सहयोगी चाहिने र मैले खगेन्द्र सङ्ग्रौलालाई लैजान चाहेको कुरा भूपदासजीलाई भनँे । उहाँ साथमा हुँदा अध्ययनका क्रममा विशेषत: माओवादीहरूसँग सम्पर्क पहिल्याउन सहज हुने तर्क अघि सारें । भूपदासजी सहमत भए । अब गोविन्द वर्तमानलाई संलग्न गराउने वैधानिक उपाय खोज्नु थियो । एउटा जुक्ति निकालें— उनलाई केही सरकारी सूचना र जानकारी सङ्कलनका लागि अनुसन्धान सहयोगीकै रूपमा लैजाने । त्यसका लागि तर्क पर्याप्त छँदै थियो, उनी स्थापित पत्रकार पनि थिए र सूचना सङ्कलनका काममा पत्रकार उपयुक्त हुन सक्थ्यो । ती सब प्रक्रियागत र प्राविधिक कुरा थिए । मैले उक्त कामको जिम्मेवारी लिइसकेका कारण मेरो निर्णयमा भूपदासजीको सदाशय, सहमति र विश्वास हुन्थ्यो नै । हाल संयुक्त राज्य अमेरिकाका लागि राजदूत अर्जुन कार्की गैरसरकारी महासङ्घका तत्कालीन अध्यक्ष थिए । उनलाई भने केही संशय थियो मेरो निर्णयप्रति र उनलाई व्यक्तिगत तहमा नै मैले केही कुरा आश्वस्त पार्नुपरेको थियो तर त्यो गाह्रो काम थिएन । यसरी विभिन्न माध्यमबाट काठमाडौंसम्म आइपुग्ने माओवादी युद्धका मिथकजस्ता लाग्ने कथा र तिनका पात्रहरूसँग साक्षात्कार गर्ने, खासमा द्वन्द्वले बिथोलिएको जीवनलाई जति सकिन्छ नजिकबाट नियाल्ने, स्पर्श गर्ने सुखद अवसर मिलेको थियो ।
स्थलगत अध्ययनका लागि द्वन्द्वका प्रभावका आधारमा तत्कालीन पाँच विकास क्षेत्रको पाँच प्रतिनिधि जिल्ला छनोट गरिएको थियो र पहिलो खेपमा पश्चिमका कैलाली, रोल्पा र बागलुङ जिल्लाको भ्रमण गर्ने विचार हामीले बनाएका थियौं ।
यात्रा सुरु गर्नुभन्दा दुईतीन दिनअघि मात्र तत्कालीन मूल्याङ्कन मासिकको कार्यालयमा सरकार–माओवादी टोलीका नेता बाबुराम भट्टराईसँगको एक अन्तक्र्रियामा हामी तीनै भाइ थियौं । त्यस कार्यक्रममा भट्टराईले भनेका थिए, ‘माओवादी साँच्चै नै वार्ताका माध्यमबाट समाधान खोज्न इमानदारीका साथ आएको छ तर कथम्कदाचित् फेरि जगङ्ल जानुपर्‍यो भने हामी तपार्इंहरूलाई समेत लिएर जान्छौं ।’
उनको यो ‘कथम्कदाचित्’ माओवादी वार्तामा टिकिरहन्छ भन्ने कुरामा आशङ्का गर्न पर्याप्त थियो ।
वार्ता लामो समय नचल्ने र जहिले पनि टुङ्गिन सक्छ भन्ने संशय भएपछि अध्ययन रोल्पाबाट नै सुरु गर्ने निधो गर्‍यौं । र, २ मे २००२ का दिन हामीले यात्रा सुरु गर्‍यौं र त्यसको १६ दिनपछि अर्थात् मे १८ का दिन हामी पोखरा हुँदै काठमाडौं फर्कियौं, केही थकान, केही पीडा, केही अनपेक्षित अनुभवहरू लिएर । त्यसबीचका बाँकी कुरा वर्तमानले लेखेकै छन् विस्तारमा ।
रोल्पाको लिबाङ पुग्नेबित्तिकै हामी भेटघाट र कुराकानीमा व्यस्त भइहाल्यौं । हामी सबैले आआफ्नो ढङ्गबाट गरेका कुराकानी र अवलोकनका दृश्य टिपोट गथ्र्यौं । यो टिपोट कार्यमा वर्तमान विशिष्ट देखापरे । उनी कुनै दस्तावेज उतारेझैं एकचित्त लगाएर टिपोट गर्थे । जब उनी यात्राका लागि तयार हुन्थे प्रत्येक दिन एउटा पातलो कापी ठाडो दोबारेर पाइन्टपछाडिको गोजीमा घुसार्थे, कुनै अल्छी र अल्लारे कलेज ठिटोले जसरी तर उनी जब सुन्न बस्थे, मान्छेहरूका दु:ख वृत्तान्त, कुनै भक्तले एक टकले कुशल वाचकलाई सुनेझैं अविचल हुन्थे । अनि चकित हुन्थे, विष्मयमा पर्थे अनि धेरैजसो आक्रोशित बन्थे । सहन गाह्रो पर्ने, झन्डै दन्त्यकथाजस्तो लाग्ने घटना र पीडागाथा सुनिसकेपछि उनी नराम्ररी रन्थनिन्थे । बिथोलिन्थे । हामीलाई सुनाइने कथा विनाशका हुन्थे, वियोगका हुन्थे, विवेकहीन अत्याचारका हुन्थे, परिवार र नातागोताबीचको विग्रहका हुन्थे । उनी तिनमा यस्तरी चुर्लुम्म डुब्थे कि उनी कैयौं समयसम्म पनि उत्रिन सक्दैनथे । लाग्छ, वर्तमानको आफ्नै राजनीतिक पृष्ठभूमि र सामाजिकीकरण, बुझाइ, कम्युनिस्ट, आस्था र मान्यताले उनलाई यसरी बिथोलिन थप प्रभावित गर्थे ।
प्रत्येक साँझ हामीले दिनभर साक्षात्कार गरेका घटना र अवलोकनबारे छलफल गथ्र्यौं र एउटै निर्णयमा पुग्थ्यौं— कुनै सुन्दर लक्ष्यको प्राप्ति कुरूप उपाय र माध्यमबाट हुन सक्दैन । हामीलाई लाग्थ्यो— एउटा भयकङ्र अत्याचारी शासकको राजमा मात्र अनुमान गर्न सकिने खालका अमानवीय, क्रूर दमनकारी शासन, जुन हामीले भोगिरहेका थियौं, त्यसको निरन्तरता कुनै हालतमा पनि सम्भव छैन । हामीलाई यो पनि लाग्थ्यो— माओवादीहरूले जुन प्रयोग गरिरहेका थिए, त्यसले राजनीतिक रूपमा केही उपलब्धि दिलाउन त सक्ला तर त्यसले ती उपलब्धिलाई थेग्ने सामाजिक संरचना र सांस्कृतिक संस्कार भने भत्काउनेछ । अनि काठमाडौंका चिया पसलहरूको चर्चा र बाबुरामजीहरूका लेखमा भेटिने कुनै सुदूरमा देखिएका सम्भावना र आशाहरू पनि शिथिल हुन्थे । आजको असगङ्त राजनीति, स्वाभाविक रूपमा घटित माओवादीहरूको अस्वाभाविक विघटन, सपनाहरूको अवसान, सम्भावनाहरूको असामयिक अन्त्य आदिले त्यतिखेरका हाम्रा मूल्याङ्कनहरूलाई सही ठहर्‍याएका छन् ।
युद्धका त्रासदीबाट बाँचेकाहरूकै घरआँगनमा उनीहरूको कहालीलाग्दो वृत्तान्त अहिले सम्झिँदा आजकै स्थितिमा आउनु थियो त त्यत्रो मूल्य चुकाउनुपर्ने थियो र भन्ने एउटा सहज प्रश्न मनमा उठ्ने गर्छ । सायद यस्ता प्रश्नले कुनै उत्तरको भने खोजी गर्दैनन् । किनकि यस्ता प्रश्नहरूको सही जवाफ छैनन् र हुनेछैनन् । तर पनि प्रश्नहरू जीवित नै रहनेछन् कालान्तरसम्म, कुनै दिन जवाफ मिल्ने मृगतृष्णामा ।
त्यो युद्धविरामको समय थियो । मानिसहरूले आतङ्क र बारुदका गन्धबिनाको हावामा सास फेर्न सक्ने समय पाएका थिए तर टाउकोमाथि मडारिइरहेको त्रासको भुमरीबाट भने उनीहरू मुक्त हुन सकेका थिएनन् भन्ने प्रस्टै महसुस गर्न सकिन्थ्यो । विदित नै छ युद्धविरामपछिका थप चार वर्ष अझै कहालीलाग्दा थिए ।
हाम्रा प्रत्येक साक्षात्कार एउटा आतङ्कित जीवन र अन्योलपूर्ण समय बाँचिरहेका मान्छेका आत्मवृत्तान्त थिए । तिनले हाम्रा मनमा आशाभन्दा बढी निराशा, युद्धका सुखद परिणामभन्दा त्रासदी, सपनाहरूप्रतिको आसक्तिभन्दा मोहभङ्ग मात्र भएको थियो । यात्राका जति दिन थपिँदै जान्थे लाग्थ्यो, हामी द्वन्द्वका थप कुरूप पक्षहरूसँग साक्षात्कार गर्दै छौं ।
कुनै पनि यात्राको सुखद पक्ष भनेको यात्रामा सबै सँगै पनि हुन्छन् र अनुभूतिको तहमा नितान्त एक्लो पनि हुन्छन् । हाम्रो यात्रा पनि संयुक्त थियो, भोगाइ साझा थियो तर अनुभव, अनुभूति र संवेदनाको तह सायद फरक थियो । तसर्थ वर्तमानले ती यात्रा र भोगाइलाई निजत्व दिए, जुन प्रशंसनीय थियो । हो, सहयात्री भएका कारण केही कुरा नलेखिदिएको भए हुन्थ्यो वा केही अझै छुटेको र तिनलाई नछुटाएको भए हुन्थ्यो भन्ने लाग्नु स्वाभाविक हो तर लेखनमा इमानदारी कतै बिराएनन् । बताइएका, देखे–सुनेका घटना वृत्तान्त, तिनका पात्रहरूप्रतिको संवेदनशीलता र निष्पक्ष अभिलेखन एवम् प्रस्तुति लेखकका विशेषता हुन् । लोकप्रिय हुन सनसनीपूर्ण खोजलेखन वा उत्तेजनात्मक लेखनका विरोधी थिए वर्तमान । उनले सोह्र साँझमा त्यसलाई प्रमाणित गरेका छन् ।
नेपाली यात्रा साहित्यमा सोह्र साँझको विशिष्टताबारे समीक्षा होला नै तर तात्कालिक द्वन्द्वग्रस्त समयको वास्तविकता यसमा पढ्न र महसुस गर्न सकिन्छ । तसर्थ यो तत्कालीन समयको भुइँ तहका यथार्थहरूको अभिलेखन हो, इतिहास पनि हो । सरकार–माओवादी द्वन्द्वका थुप्रै असहज पाटा उजागर भएका छन् यसमा । यो केवल द्वन्द्वका घटनाहरूको सपाट विवरण मात्र होइन, अनुभवजन्य विश्लेषण पनि हो, जहाँ उनको कलाचेत र वैचारिक पक्ष प्रकट भएका छन् ।
‘सोह्र साँझ’ को पठनले कस्तो अर्थ राख्न सक्छ अहिलेको समयमा ? राजनीतिक रूपले उथलपुथल भोगेको डेढ दशकपछि माओवादीहरू विघटनको खास चरणमा आइपुगेका छन्, के सोह्र साँझको पठनले अहिलेको यी रूपान्तरणहरू सङ्केत गरेको छ ? सायद सोह्र साँझको पठनले नेपाली राजनीतिलाई प्रभावित गर्न त सक्दैन तर अहिलेको परिवर्तित सन्दर्भमा, विशेषत: माओवादीहरूको रूपान्तरणको परिप्रेक्ष्यमा, सोह्र साँझको पठनले अर्थ र महफ्व राख्छ । यद्यपि यसरी सन्दर्भित गरेर पढ्दा यसले पाठकलाई सायद थोरै चैन र धेरै निरास बनाउन पनि सक्ला ।
गैरजिम्मेवार ढङ्गबाट बिनाकसुर हजारौं मानिस मारिए । अहिले पनि कैयौं मानिस बेपत्ता छन् । परिवारजन र आफन्तहरूका आँखामा आँसु सुकिसकेको छैन । माओवादीहरूलाई दबाउने नाममा जघन्य युद्ध अपराधजस्ता लाग्ने दमनका त्यस्ता शृखङ्लाका लागि कोही जिम्मेवार बन्नुपरेन । व्यवस्था परिवर्तन भयो, शासनको स्वरूप फेरियो तर तात्कालिक शासकहरू पानीमाथिको ओभानो नै रहे । प्रामाणिक मानवअधिकार उल्लङ्घनका जघन्य अपराध कर्ममा संलग्न भएबापत कोही दण्डित हुनुपरेन ।
त्यसो त माओवादी ज्यादती कम त्रासदीपूर्ण थिएन । राज्य विप्लवका आवरणमा कैयौं अपराधकर्म लुकेको कुरा आज अनावरण भइसकेको छ । अर्कोतिर, माओवादी बनेकै कारण यातना खेप्न बाध्य हुनुपरेका, परिवारका सदस्य गुमाउनुपरेकाहरूको पीडा कम गराउन पनि सत्तासीनसमेत बनिसकेको माओवादी नेतृत्व जिम्मेवार बन्न नसकेका गुनासा उनीहरूबाट नै आइरहेका छन् । माओवादी नेतृत्व जसको आह्वानमा कैयौंले ज्यान आहूति दिएका थिए, आज आफैंले भन्ने गरेको जनयुद्धको इतिहासप्रति मानौं क्रूर मजाक गरिरहेका छन् । समयले गरेको यो कस्तो ठट्टा हो ? परिणामत: मुलुकमा भयकङ्र डरलाग्दो र दूरगामी असर पर्ने दण्डहीनताको कुरूप संस्कृति विकास हुन पुगेको छ । माओवादी–सरकारबीच शान्ति सम्झौतापछिका यी वर्षले न त्यस्तो भयावह युद्धको अनिवार्यलाई स्थापित गर्न सकेका छन् न त्यसका उपलब्धिहरूलाई संस्थागत गरेर मान्छेहरूका घाउमा थोरै मात्र पनि मल्हम लगाउन सकेका छन् । केही वस्तुगत र धेरै सङ्कथनहरूमा उपलब्धिका भ्रम छन् । यो अवस्थामा फेरि पनि प्रश्न, यस्तो बिप्ल्याँटो समयमा ‘सोह्र साँझ’ को पठनको अर्थ के हुन सक्छ ? युद्ध सकिएको छ । एक दशकपछि पनि यसका असरहरूबारे समग्र लेखाजोखा हुन सकेको छैन । दीर्घकालीन असरको अनुभव लामो समयको पर्खाइमा मात्र सम्भव हुन्छ । अनुमान गर्नु एउटा कुरा हो तर अहिले नै आँकलन गर्नु हतारो हुन पनि सक्छ । तसर्थ सोह्र साँझको पठन आफैंमा एउटा निरन्तर प्रक्रिया पनि हो । प्रत्येक राजनीतिक विघटनसँग ‘सोह्र साँझ’ का पाठहरूको नयाँनयाँ अर्थ पनि उद्घाटित हुँदै जानेछन् ।
एउटा व्यक्तिगत प्रसङ्ग उल्लेख गरौं । व्यावसायिक जिम्मेवारीका सिलसिलामा म पछि पनि ती गाउँबस्ती र तिनै ठाउँ पुगेको छु, जहाँ हामी ‘सोह्र साँझ’ का यात्राका क्रममा पुगेका थियौं । प्रत्येक पटक म ती ठाउँनजिक पुग्दा वा ती ठाउँबाट ओहोरदोहोर गर्दा मलाई डर लाग्छ, कतै तिनै बाँचेका पीडितहरू भेटिएलान् कि, चिन्लान् कि र कतै सोधी पो हाल्छन् कि— ‘हामीले अब न्याय नपाउने नै भयौं त ?’
‘बिनादोष बेपत्ता परिएका हाम्रा आफन्तहरूको खोजी बेकार भएकै हो ?’
‘राजनीतिक विचार बोकेकै भरमा सैनिक ब्यारेकभित्र मारिएकाहरू वा विद्रोही पक्षको राजनीतिक बोधोपनका सिकार भएकाहरूको रगतको अर्थ बाँकी रहेन अब ?’
‘दोहोरो मारमा परेर पनि ज्यान जोखिममाराखेर परिवर्तनको आकाङ्क्षा र आससँगै त्यतिबेला माओवादी विद्रोहीहरूलाई गरेको सहयोग खोटो भइसकेको हो ?’
हो, यस्ता प्रश्नहरूको सामना गर्नुपर्ला भनेर मलाई धेरै डर लाग्छ । यस्तो डर म कुनै जवाफ दिनुपर्ने वा जिम्मेवारी लिनुपर्ने निकायमा भएका कारणले होइन, मलाई डर उनीहरूको आँसुको लाग्ने गर्छ । यद्यपि, यी करुणाका कुरा मात्र होइनन्, नैतिकताका प्रश्न हुन् । म भाग्यमा विश्वास गर्दिनँ तर किन हो उनीहरू यस मुलुकका सर्वाधिक अभागी नागरिक हुन्झैं लाग्छ । म धेरैपटक अलमलमा परेको छु, यो युद्धले कसलाई जितायो र कसलाई हरायो ? कसलाई मुक्त गरायो र कसलाई दास बनायो ? कुन इतिहास मेटायो र कस्तो इतिहास निर्माण गर्‍यो ? यो युद्ध कसको पक्षमा थियो र यस युद्धले कसलाई विपक्षमा पुर्‍यायो ? यो युद्धमा कुन आकर्षण थियो र किन अलगाव पैदा गर्दै छ यो युद्धको परिणामले ? शान्तिपूर्ण रूपान्तरणको सङ्कथन र वर्तमानको राजनीतिक यथार्थ किन बेग्लैबेग्लै लाग्दै छ ? गरिब, भूमिहीन, महिला र सीमान्तकृतहरू शक्तिविहीन छैनन् भनेर प्रमाणित गर्न सफल त्यस समय र आजको यथार्थ किन मेल खाइरहेको छैन ? कसले अपहरण गर्‍यो त्यो प्रतिरोधी चेतना ? कुन इतिहासको परिणाम थियो यो वर्तमान ?
सोह्रौं दिनको यात्रान्तमा वर्तमानलाई लागेको थियो—‘युद्ध, मारकाट, सामाजिक खण्डीकरण, आतङ्क, यातना, अन्योल, आशङ्का, घना अँध्यारोको आभासले हाम्रो मस्तिष्कलाई अप्रत्यक्ष रूपमा आघात गरिरहेको छ... हामीले एकअर्काप्रति अलगाव अनुभव गरिरहेका थियौं । हामीलाई अलगावको यो सीमासम्म पुर्‍याएको युद्ध र त्यसका कुरूप परिणामहरूले नै हो । त्यसैले युद्धलाई कुरुप र कलाहीन अनुहारमा जन्म दिनु क्रान्तिकारी कार्य होइन भन्ने विचार मलाई भित्रैदेखि सही लागिरहेको थियो ।’
उनको यो अनूभूतिजन्य निष्कर्ष आज यत्तिका वर्षपछि पनि हामीलाई किन उत्तिकै सही लाग्दै छ ?
यहीँनिर सोह्र साँझको पठनको अर्थ खुट्याउने जिम्मा पाठकमा नै छोडेर म पूर्वकथाको बाँकी अंशतर्फ लाग्छु ।
सुरुमा नै भनें, भ्रमणको मूल उद्देश्य सरकार–माओवादी युद्धका कारण चुकाउनुपरेको भोक्ताको अनुभव र यथार्थमा आधारित आर्थिक, सामाजिक र सांस्कृतिक मूल्यको आँकलन गर्ने, तिनका असरप्रभावहरूको लेखाजोखा गरेर रिपोर्ट प्रकाशन गर्ने थियो । त्यो प्रकाशन पनि भयो, ‘हुज वार : इकोनोमिक एन्ड सोसियो कल्चरल इम्प्याक्ट्स अफ नेपाल्स माओइस्ट गभर्नमेन्ट कन्फ्लिक्ट’ शीर्षकको पुस्तकका रूपमा । यसका पनि केही अन्तर्कथा छन्, जाँगर चल्दा लेख्न मिल्ने खालका । तर यता यो यात्रा तय भइसकेपछि हामीले केही अलिखित सहमति गरेका थियौं— यो हामी तीनै जनाका लागि अवस्मरणीय र अतुलनीय यात्रा हुने पूर्वानुमान गर्दै सबैले केही न केही लेख्ने, कम्तीमा पनि एउटा संयुक्त लेखनमा र बाँकी एकल लेखनमा केही न केही प्रकाशन गर्ने । यसो गर्दा मात्र यो जुरेको संयोगको सही उपयोग हुन सक्थ्यो । हामीले यस्तो सहमति गरिरहँदा उत्साह र आशा दुवै पर्याप्त थिए तर परिणाम सोचेजस्तो हुन सकेन । गोविन्द वर्तमानले मात्र आंशिक रूपमा भए पनि त्यो पूरा गरेका थिए । उनको त्यही लगावले नेपाली पाठकका लागि एउटा गतिलो द्वन्द्वग्रस्त समयको समकालीन इतिहास उपलब्ध गराएको छ ।
र अन्त्यमा,फाइनप्रिन्टका नीरज भारी र अजित बरालले ‘सोह्र साँझ’ को तेस्रो संस्करण निस्कन लागेको र त्यसका लागि केही सन्दर्भ शब्दहरू लेख्न अनुरोध गरेपछि यिनै हरफ लेखिरहने क्रममा गोविन्द वर्तमान पुन: एकपटक स्मृतिमा आए । ‘सोह्र साँझ’ फेरि र्‍याकबाट निकालें, एकपटक उस्तै स्नेहका साथ सुमसुम्याएँ । केही पन्ना पल्टाएँ । उनीसँगका ती यात्राका दिन सिनेमाका रिल घुमेझैं झलझली आँखासामु ताजा भएर आए । जब म बजारमा नाफाका लागि निर्माण भएका वस्तुझैं साहित्यको विनिमय भएको देख्छु म उनको सम्झना अझै सान्दर्भिक र अर्थपूर्ण ठान्छु । केही कुण्ठा, केही आग्रह र केही व्यक्तिगत कमजोरीका बाबजुद वर्तमान नेपाली साहित्यका लागि एक अनिवार्य तत्त्वजस्ता लाग्थे । लेखनमा शैलीगत कुशलता र वैचारिक प्रतिबद्धताका साथै जीवनमा इमानदारी एवम् स्वाभिमानँग सम्झौता नगरेका उनी व्यक्तिगत तहमा पनि एक साहित्यकारका रूपमा सोह्र साँझसँगै नेपाली साहित्याकाशमा पछिसम्म सम्झनलायक व्यक्ति हुन् । उनका अन्य समीक्षा, निबन्ध र कविताकृति पनि उत्तिकै शक्तिशाली छन्, उनको लेखनको शक्तिप्रतिको विश्वासजस्तै ।
वर्तमान आफूले भेटेका ती संयोगले बाँचेकाहरूको सम्झनाबाट धेरै टाढा नजाँदै उनीहरू र हामीबाट टाढा भए । उनको निधन असामयिक र दु:खद थियो । उनको निधनसँगै उनैले भन्ने गरेझैं उनको आक्रोशको पनि अन्त्य भयो । उनी दण्डहीनताको अवस्था, पीडितहरूले न्याय पाउन नसकेको स्थिति र माओवादीहरूमा क्रमश: आइरहेको वैचारिक एवम् राजनीतिक विचलनप्रति आक्रोशित थिए । आक्रोशको कारण तिनै पीडितहरूले न्याय अनुभूत गर्न नपाउनु थियो, जसको दु:ख उनले नजिकबाट देखेका थिए । पीडा महसुस गरेका थिए । र, सोह्र साँझ लेखेका थिए । मेरा लागि भने यो एउटा थप कारण पनि हो, ‘सोह्र साँझ’ को पुन: पठन ।
प्रत्येक पठनपछि ममा एउटा विश्वास झनै प्रबल बनेर आउँछ : एउटा अशान्त जीवन बाँचेर, असङ्त समयमा असामयिक मृत्युवरण गरेका एक शक्तिशाली कवि र निबन्धकार वर्तमानलाई नेपाली पाठकले ‘सोह्र साँझ’ कै कारण कालान्तरसम्म सम्झिनेछन् ।
(‘सोह्र साँझ’ को तेस्रो संस्करणबाट)

प्रकाशित : पुस १५, २०७४ ०९:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्