कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

'लुसी इन द स्काई विथ डायमन्ड'

'बिटल्स' को एउटा गीत र मानवको आदिपुर्खाको यस्तो कथा जसलाई अनौठो संयोगले जोडेको छ ।
सुरेश ढकाल

संयोग एक सन् ६० को दशकको सम्भवतः सर्वाधिक लोकप्रिय सांगीतिक समूह थियो ‘बिटल्स’  । १९६७ मा ‘बिटल्स’ ले एउटा गीत रेकर्ड गरायो, ‘लुसी इन द स्काई विथ डायमन्ड  । जोन लेननले लेखेको र संगीतबद्ध गरेको यो गीत उनीहरूका अरूजस्तै हिट भयो ।

'लुसी इन द स्काई विथ डायमन्ड'

हिट मात्र भएन, यो गीतलाई बीबीसी रेडियोले प्रतिबन्धसमेत लगायो । संयोग के पर्‍यो भने यो गीतमा प्रयुक्त शब्दहरू ‘लुसी इन द स्काई विथ डायमन्ड’ को पहिलो अक्षरहरू एलएसडी हुने रहेछ । एलएसडी (लाइसेर्जिक एसिड डाइइथाइलामाइड) लाई एक मनोभ्रामात्मक अवस्थामा पुर्‍याउने लागूऔषध (ड्रग) को रूपमा लिइन्छ । प्रतिबन्धित एलएसडीको कुख्याति त्यसबेला चरममा पुगेको थियो । निराशा र गन्तव्यहीनताबाट पिरोलिएका साथै केही आक्रोशी र प्रतिरोधी युवासमेत यसको लतमा परेका थिए । दिग्भ्रमितलाई नै हो थप दिग्भ्रमले आनन्द दिलाउने । लठ्ठ, मस्त, मदहोसी, बेहोसीमा मनमगन र बिन्दास भएर बस्नेहरूका बीच त यो गीत लोकप्रिय हुने नै भयो ।


मेरा एक छिमेकी थिए । मभन्दा केही वर्षले नै जेठा । उनी सायद निराशा र निस्सारताबाट मुक्त हुने बहानामा एलएसडीको कुलतमा परेका थिए । उनी भन्थे, ‘एक पटक स्वाट्ठ तानेर मस्त आँखा चिम्लेपछि लन्डन भने लन्डन, पेरिस भने पेरिस पुगिन्छ ।’ जसरी ‘बिटल्स’ का गीत नेपालमा लोकप्रिय हुँदै थिए क्रमशः नेपाली युवाहरूमाझ एलएसडी पनि । यद्यपि यी दुईबीच कुनै सोझो तादात्म्यता भने थिएन । दुवैको लोकप्रियतामा कुनै तादात्म्य थियो पनि कि ? जोन लेननले भने पटक–पटक यसलाई अस्वीकार गरे । त्यति हुँदाहुँदै पनि यो गीत समावेश भएको एल्बम ‘सर्जेन्ट पेपर्स लोन्ली हार्ट्स क्लब ब्यान्ड’ बजारमा आउनुअघि नै बीबीसी रेडियोले गीतलाई प्रतिबन्ध लगाइसकेको थियो, माथिकै कारणले ।


खासमा यो लिविस क्यारोलको बाल उपन्यास ‘एलिस इन द वन्डरल्यान्ड’ मा वर्णन गरिएको केही भ्रामक यथार्थ वा अद्भुतखाले परिकल्पनामा आधारित गरेर तयार गरिएको थियो । गीत यसरी बालबालिकाका लागि लेखिएको कथामा आधारित हुनु कुनै संयोग भने थिएन । लेनन किताबको अद्भुत काल्पनिकीबाट प्रभावित थिए । लेननका तीनवर्षे छोरा जुलियनको नर्सरी स्कुलको चित्र, जसलाई ऊ लुसी– इन द स्काई विथ डायमन्ड भन्थ्यो, बाट प्रभावित भएर ‘एलिस इन द वन्डरल्यान्ड’ मा वर्णित काल्पनिकीको धरातलमा टेकेर लेखिएको थियो उक्त गीत । यसरी गीत निर्माण हुनु, आरोपित हुनु, प्रसिद्धि पाउनु सब संयोगजस्तै थियो । उक्त गीत संगृहीत एल्बम बेलायत, अस्ट्रेलिया, अमेरिकालगायत युरोपका कतिपय देशमा पहिलो नम्बरको हिट बने । उक्त एल्बममा रहेको ‘अ डे इन द लाइफ’ बिटल्सको अहिलेसम्मकै उत्कृष्ट गीतको सूचीमा छ भने लुसी २६ औं सर्वाधिक मन पराइएको गीतमा पर्छ ।

संयोग दुई
संयोग एक खासमा संयोग दुईको पृष्ठभूमि मात्र थियो । सन् १९९६ मा म पुरातात्त्विक मानवशास्त्रको विद्यार्थी थिएँ, नर्वेको वर्गेन विश्वविद्यालयमा । त्यही बेलामा परिचय भएको हो लुसीसँग पहिलोपल्ट । यो लुसी बिटल्सको उही लुसी थिएन बरु लाखौं वर्ष पहिले नै लोप भइसकेको मानव पुर्खाका एक प्रजातिको प्रतिनिधि थियो । खासमा यिनै विलुप्त मानव पुर्खाले नै ‘बिटल्स’ को लुसीसँग पनि परिचय गराइदिएको थियो । खासै अंग्रेजी गीत नसुन्ने मलाई पनि यो गीत सुन्ने हुटहुटी जागेर आयो । मेरा एक सहपाठी थिए अंग्रेजी संगीतका पनि पारखी । उनकै सहयोगमा उक्त एल्बम किनेर यो गीत सुनेको थिएँ । त्यसअघि ‘बिटल्स’ का केही गीत नसुनेको पनि होइन । त्यस बेलासम्म ‘बिटल्स’ जति सुनिएको थियो त्योभन्दा बढी उनीहरूबारे पढेको थिएँ । त्यसका केही सन्दर्भ र कारणहरू छन्, मौका मिले कुनै बेला लेखौंला ।


यो संयोग दुईको संक्षिप्त पूर्वकथा हो । संयोग दुईको खास कथा भने यस्तो छ । नोभेम्बर २४, १९७४ । मानवशास्त्रका सहप्राध्यापक ३१ वर्षीय युवा डोनाल्ड जोहान्सने एक अमेरिकी–फ्रेन्च पूरा–मानवशास्क्रीहरूको सयुंत्त टोलीको नेतृत्व गर्दै इथियोपियाको आफर प्रान्तमा पर्ने हदर भन्ने स्थानमा पूरा–मानवको अवशेष उत्खननमा व्यस्त थिए । ग्रेट रिफ्ट भ्यालिकै एक अंश यो इथियोपियालीे गाउँ प्राचीन मानव अवशेषको पुरातात्त्विक उत्खननका लागि प्रसिद्ध थियो, छ । ऊक्त दिन डनले अन्वेषण क्षेत्रको एक कुनामा सेता हाडका टुत्राजस्तो केही देखे । त्यो खासमा मानव अस्थिपञ्जरको अवशेषको एक टुक्रा नै रहेछ । उत्खननका क्रममा करिब ४० प्रतिशत जति अस्थिपञ्जर अवशेषहरू जम्मा हुन सक्यो । यो कुनै लोप भैसकेको मानव जातिकै पुरावशेष थियो भन्ने पक्का भयो । उक्त मानवअवशेष त्यस बेलासम्म प्राप्त भएकामध्ये सबैभन्दा पूर्ण थियो । यो उनीहरूका लागि ज्यादै महत्त्वपूर्ण प्राप्ति हुन सक्थ्यो र मानव उद्विकासको इतिहासकै लागि पनि । तत्कालै अन्वेषण टोलीकी एक सदस्य पामेला एल्डरम्यानले उक्त मानव अवशेषको न्वारन पनि गरिदिइन– ‘लुसी’ । लुसी एक स्त्रिलिङ्गी नाम थियो त्यतिबेलासम्म उक्त अस्थिपञ्जरको लिङ्ग पहिचान भइसकेको थिएन । तैपनि यो नाम सबैले स्विकारे ।

यसरी जन्म भएको थियो दोस्रो लुसीको । संयोग के थियो भने त्यस बेला डन जोहान्सनको पाल (क्याम्प) बाहिर उही बिटल्सको ‘लुसी इन द स्काई विथ डायमन्ड’ गीत बजिरहेको थियो । त्यसैबाट प्रभावित भएर पामेलाले उक्त अस्थिपञ्जर–अवशेषको नाम लुसी सुझाएकी थिइन् । भनिन्छ उनीहरूका लागि त्यो दिन उत्सवमय थियो । खुसीले सब मखलेल थिए । त्यो साँझ उनीहरूले पार्टी पनि गरेका थिए । भनिरहन परोइन, त्यो साँझ र रातभर पनि उनीहरूले बिटल्सको ‘लुसी...’ दोहोर्‍याई दोहोर्‍याई बजाएका थिए ।


अर्को संयोग के जुर्‍यो भने ‘लुसी’ नाम दिइएको त्यो अवशेष स्त्रीलिङ्गी नै परेछ । यसको पहिचान ‘अस्ट्रेलोपिथेकस आफरेन्सिस’ भनी निर्क्योल गरियो । आफर भन्ने स्थामा भेटिएकाले यसको नाम ‘आफरेन्सिस’ राखिएको थियो । प्राप्त भएको स्थानको पहिचान झल्कने गरी मानवाशेषहरूको नामकरण गरिने आम चलन नै हो । जस्तै जर्मनीको नियान्डरटल उपत्याकामा पाइएको अवशेषलाई नियान्डरथालेनसिस् वा नियान्डरथल मानव, पेकिङमा पाइएकोलाई पेकिङ मानव । त्यस्तै शिवालिक शृंखलामा प्राप्त मानवअवशेषलाई शिवापिथेकस र हाम्रै बुटवलको तिनाउ नदीमा भेटिएकोलाई बुटौलोपिथेकस भनी नामकरण गरिएको छ । तिनाउ नदीको किनारमा प्राप्त उक्त आदिमानवको बंगारा १ करोड १० लाख वर्ष पुरानो भनिए पनि उक्त अवशेष सतहमा पाइएको थियो न कि कुनै पुरातात्त्विक सन्दर्भबाट उत्खनन गरिएको । तसर्थ यो मानवशास्त्रीय दृष्टिकोणबाट खास महत्त्वको मानिदैन ।


फेरि ‘बिटल्स’ कै गीतको कुरा गरौं । उक्त गीत रेकर्ड गरिएको सात वर्ष भइसकेको थियो । त्यसबीचमा ब्यान्डका पाँचवटा स्टुडियो एल्बम र झन्डै एक दर्जन कम्पाइलेसन एल्बम निस्किसकेका थिए । ‘लुसी इन द स्काइ...’ को रौनक खुइलिसकेको भने थिएन । ‘बिटल्स’ सुन्ने पुस्ता अहिले पनि यो गीत सुन्छन् होलान् नै । तर, त्यस दिनदेखि प्रसिद्धि कमाउने लुसीचाहिँ त्यही मानव अस्थिपञ्जर अवशेष बन्यो । यसरी डन जोहान्सनले लुसीलाई प्रसिद्ध बनाए र लुसीले डन जोहान्सनलाई ।


आज पनि मानव उद्विकासको अध्ययन अनुसन्धानमा संलग्नहरूका लागि यो घटना सुखद संयोग मात्र रहेन । ‘अस्ट्रेलोपिथेकस अफारेन्सिस्’ पहिलो मानवपुर्खाको ज्ञात प्रजाति भनि पहिचान गरिएको उक्त दुईखुट्टे मानव अवशेषको प्राप्ति महत्त्वपूर्ण घटना सावित हुन पुग्यो । उनै जोहान्सनले अर्का एक सहकर्मीसँग मिलेर लेखेको पुस्तक ‘लुसी ः द बिगिनिङ अफ ह्युमनकाइन्ड’ ले अमेरिकी ‘नेसनल बुक अवार्ड इन साइन्स’ पायो । जोहान्सनले यी बितेका साढे चार दशक उनै लुसीको कथा लेखन र पुनर्लेखन गरेर बिताए तर पनि पूर्ण कथा भने अझै लेखिइसकेको छैन ।


जोहान्सन मानव उद्विकासको इतिहास लेखनमा यति तल्लीन भए कि उनले इन्सिच्युट अफ ह्युमन ओरिजिन्स भन्ने संस्थासमेत स्थापना गरे । ७६ वर्षीय यी मानवशास्त्री आजपर्यन्त लागिपरेकै छन् लुसी र आफ्नै बीचको नाता सम्बन्ध खुट्याउन । अर्थात् उक्त विलुप्त प्रजाति ‘अस्ट्रेलोपिथेकस अफरेन्सिस्’ कसरी आजको आधुनिक मानवसम्म विकास भयो होला भनेर थाहा पाउन । यो प्रश्न किन पनि महत्त्वपूर्ण छ भने मानवजातिको विगतबारे जति थाहा पाउन सकिन्छ उसको भविष्यको बारेमा पनि त्यत्ति नै धेरै अनुमान लगाउन सकिन्छ ।


मानवशास्त्रीहरूले के तथ्य उजागर गरिसकेका छन् भने अनुमानित ३२ लाख वर्ष पुरानो उक्त मानव पुर्खा करिब साढे ३ फिटदेखि ४ फिटसम्म अग्लो र ७५ पाउन्ड जति तौल भएको, दुई खुट्टाको भरमा सीधा उभिन सक्ने थियो । ऊ शाकाहारी थियो र दिमागी आकार हालको चिम्पाञ्जीको भन्दा ठूलो थियो । अर्का मावनशास्त्री रेमन्ड डार्टको ‘अस्ट्रेलोपिथेसाइन’ दुई खुट्टामा उभिएर सीधा भएर हिँड्न सक्थे भन्ने सिद्धान्तलाई पुष्टि गर्नसमेत यो तथ्यले बल पुर्‍यायो भनिन्छ । अमेरिकाका विभिन्न सहरहरूको एक वर्ष लामो यात्रापछि अहिले लुसीको स्थायी बसोबास इथियोपियाको संग्रहालयमा भएको छ ।


यी दुई लुसीको जन्मलाई किन पनि संयोग भनियो भने यदि लेननका तीनवर्षे छोरा जुलियनको नर्सरी चित्रको शीर्षक त्यो नहुँदो हो त न बिटल्सको गीत बन्थ्यो न हाम्रा आदि पुर्खाले उक्त नाम नै पाउँथे ।सन् २०१४ मा अमेरिकाको ओहायोमा आयोजित साइन्स राइटर कन्फरेन्समा जोहान्सन सुनाउँदै थिए, ‘कसैले मलाई सोध्दै थिए कि ४० वर्षमा के त्यस्तो फरक पायौ लुसी र तिमीमा ?’ उनको उत्तर थियो, ‘यो एकदम सरल छ । म ऐना हेर्दा थाहा पाउँछु कि म ४० वर्ष बूढो भएको छु, लुसी एक दिन पनि बूढो देखिंदैन ।’

प्रकाशित : वैशाख ७, २०७६ ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?