१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

जाग्यो आयाक्स

धनी ३० क्लबभित्र पनि नपर्ने आयाक्स कसरी ॅजायन्ट किलर’ भएर निस्किइरहेको छ ?
राजु घिसिङ

काठमाडौँ — पोर्चुगिज प्रशिक्षक जोसे माउरिन्होको म्यानचेस्टर युनाइटेडले युरोपा लिग २०१७ को फाइनलमा आयाक्सलाई हराएर युरोपेली क्लब फुटबलको दोस्रो ठूलो प्रतियोगिता जितेको थियो  ।

जाग्यो आयाक्स

इंग्ल्यान्डको महारथी युनाइटेडका लागि त्यो जित सानदार होइन, विश्वकै सबभन्दा प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगमा पुग्ने बाटो मात्रै थियो । आयाक्सको लागि भने दोस्रो दर्जाको प्रतियोगितामा फाइनल पुग्नु पनि नसोचिएको उपलब्धि थियो । फेरि त्यो स्तरको सफलता आयाक्सबाट सोचिएको थिएन ।


स्टकहोम (स्वीडेन) मा फाइनल खेलेपछि डेभिन्सन सान्चेज डेभी क्लासेन प्रिमियर लिग खेल्न इंग्ल्यान्डतिर लागे । पछिल्लोपल्ट जस्टिन क्लाइभर्टले पनि इटालियन सिरी ‘ए’ खेल्ने निर्णय लिए । अरू खेलाडीले अर्को एक वर्ष सँगै टिममा खेल्ने वाचा गरे । उनीहरूले के गर्न सक्छन् भन्ने चासो बढ्यो ।


जस्टिनका बुबा प्याट्रिक क्लाइभर्टको गोलमा एसी मिलानलाई हराएर आयाक्सले सन् १९९५ को च्याम्पियन्स लिग जितेको थियो । आयक्सको पछिल्लो युरोपेली उपाधि त्यही हो । अर्को वर्ष पनि आयक्स फाइनल पुगेपनि उसलाई च्याम्पियन्स लिगको उपाधि रक्षा गर्ने पहिलो टिम हुनबाट युभेन्टसले रोक्यो । एड्गर डेभिड्स, क्लाइभर्ट, क्लारेन्स सिडोर्फलगायत आधा दर्जन खेलाडी ठूला क्लबतिर लागेपछि १९९७ को सेमिफाइनलमा आयाक्सले युभेन्टसलाई समग्रमा ६–२ ले नतिजा सुम्पिएको थियो ।


त्यसैले अविश्वसनीय रुपमा युरोपा लिग २०१७ को उपविजेता भएको आयाक्सले फेरि गतिलो प्रदर्शन गर्ने सोचिएको थिएन । यो सिजन च्याम्पियन्स लिगको नकआउटमा रियल म्याड्रिड र युभेन्ट्सलाई सिकार बनाएर आयाक्सले दुई वर्षअघिको प्रदर्शनलाई युरोपमा फेरि उदाएको संकेत भएको सावित गर्‍यो । रियलले गत वर्ष फाइनलमा युभेन्ट्सलाई हराएर कीर्तिमान १३ औंपल्ट युरोपेली उपाधि कब्जा गरेको थियो । दुवै क्लबलाई यो सिजन आयाक्सले स्तब्ध बनायो ।


आयाक्स आम्सटर्डममा भएको अन्तिम १६ को पहिलो लेगमा रियलविरुद्ध २–१ ले पछाडि परेको थियो । उसले म्याड्रिडमा भएको दोस्रो लेग ४–१ ले कब्जा गर्दै रियलको लगातार चौथोपल्ट च्याम्पियन बन्ने सपना उडाइदियो । क्वाटरफाइनलमा आयाक्सले प्रतिद्वन्द्वी पायो, युभेन्ट्स । लगातार आठौंपल्ट इटालियन च्यिाम्पियन बन्ने संघारमा आइपुगेको ‘ओल्ड लेडी’ हावी हुने अनुमान गरिएको थियो । दुई घन्टा (दुई लेग) को खेल त्यस्तो भएन । आम्सटर्डममा १–१ भयो । टुरिनमा २–१ को जित निकाल्दै आयाक्स २२ वर्षपछि च्याम्पियन्स लिगको सेमिफाइनल पुग्यो ।

वास्तवमा रियल र युभेन्ट्सविरुद्ध आयाक्सको जित नसोचिएको नतिजा हो । खेलाडीको स्तर, अनुभव र क्लबको लगानीको आधारमा ती दुई धनाढ्यसँग आयाक्सको तुलनै हुँदैन । यसपाली च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेका आयाक्सबाहेक अरू सात टिम विश्वकै सबभन्दा धनी क्लबको सूची ‘डेलोइट मनी लिग’ को शीर्ष ११ भित्र छन् । नम्बर १ हो रियल । ११ औंमा छ युभेन्ट्स । रियलले २०१७–१८ मा ७५ करोड नौ लाख युरो र युभेन्टस ३९ करोड ४९ लाख आर्जन गरेको थियो ।


धनाढ्यहरूको प्रतियोगितामा आयाक्सले चमात्कारै गरिदियो । आयाक्सले समूह चरणमा बायर्नविरुद्ध दुवै खेल बराबरी गर्‍यो । जर्मन महारथी बायर्न यस्तो क्लब हो जो पछिल्लो सिजन ६२ करोड ९२ लाख युरो कमाएर डेलोइट मनी लिगको चौथोमा रहेको थियो । आयाक्स धनी क्लबको सूचीमा ३० भित्र पनि पर्दैन । त्यसर्थ उसको कमाई १५ करोड युरो पनि छैन । पछिल्लो सिजन ९ करोड २० लाख युरोको बजेटमा चलेको डच क्लबले पैसाको खोलो बगाइरहेका रियल र युभेन्ट्सविरुद्ध सनसनीपूर्ण खेल देखायो । उसले दुवै टिमविरुद्ध पहिलो लेगमा ४–५ गोल गरेको भएपनि त्यो अन्तर खेलअनुसार न्यायोचित थिएन भन्ने अवस्था थिएन । रियल, युभेन्ट्स र बायर्नको अनुभव र लगानीलाई आयाक्सका युवा खेलाडीको जोसले मत्थर पारिदियो ।


लियोनल मेसी प्रेरित बार्सिलोना चाहिएको बेला उत्कृष्ट प्रदर्शन गरेर युरोपमा म्यानचेस्टर युनाइटेडको हैसियत उदांगो पार्दै सेमिफाइनल पुग्यो । टोटेनहमले स्टार खेलाडीको बर्चस्व रहेको म्यानचेस्टर सिटीलाई रोमाञ्चले भरिएको खेलमा पन्छाउँदै पहिलोपल्ट अन्तिम चारको यात्रा तय गर्‍यो । यर्गेन क्लोपको लिभरपुललाई भने पोर्टोको चुनौती पार गर्न गाह्रो भएन । अब फाइनल प्रवेशको लागि आयाक्सको निशाना बनेको छ टोटेनहम ।


आयाक्सले सेमिफाइनल यात्रा तय गरेसँगै आफ्नो बजेटलाई तीन गुणा बृद्धि गर्ने अवसर पाएको छ । अर्बपति अग्नेली परिवारको स्वामित्व रहेको युभेन्ट्सको सेयर बजारमा च्याम्पियन्स लिगबाट बाहिरिएको भोलिपल्टै १६ प्रतिशतले गिरावट आयो । आयाक्सको सेयर भने ८.५ प्रतिशतले उकालो लागेको ब्लुमबर्गले जनाएको छ । बुधबारको सेयर बजारअनुसार आयाक्स ३४ करोड १० लाख युरोको कम्पनी हो भने युभेन्ट्स एक अर्ब ४० करोडको । रियलबाट क्रिस्टियानो रोनाल्डोलाई भित्र्याएर पनि युभेन्ट्सको १९९६ यता युरोपेली च्याम्पियन बन्ने अभियान फेरि अधुरै रह्यो । उसले शीर्ष ५ लिगबाहिरको क्लबबाट युरोपमा १९८२ यता पहिलो हार बेहोरेको हो ।


आयाक्सका प्रमुख कार्यकारी अधिकृत एडविन भान डेर सार आफ्नो क्लब आर्थिक रूपमा पछाडि रहे पनि फुटबलको लागि ठूलो नाम भएको बताउँछन् । आयाक्स चारपल्टको युरोपेली च्याम्पियन हो । उसले सत्तरीको दशकमा तीन उपाधि जितेको थियो भने त्यसपछि लुइस भान हालले सम्हालेको टिमले १९९५ मा । पछिल्लो सफलतामा भान डेर सार गोलकिपर थिए । मिडफिल्डमा रहेका मार्क ओभरमार्स अहिले आयाक्समा फुटबल निर्देशक ुहन् । यो सिजन आयक्सको यात्रामा यी दुईले एकसाथ खुसी मनाइरहेका छन् ।


लोभलाग्दो खेल
मनै लोभ्याउने खालको ‘टोटल फुटबल’ डच प्रशिक्षक मिचेल राइनसले आयाक्समा सन् १९६० को दशकमा सुरु गरेका थिए । उनको रणनीतिलाई मैदानमा उतार्ने मुख्य खेलाडी थिए, योहान क्रुफ । त्यही शैलीमा लोभलाग्दो खेल पस्किदै आयाक्सले १९७१, ७२ र ७३ मा युरोपेली उपाधि उचालेको थियो । नेदरल्यान्ड्स दुईपल्ट विश्वकपको फाइनल पुगेको पनि त्यही शैलीमा हो । राइनस र क्रुफ बार्सिलोना लागेपछि आयाक्स सुस्तायो । क्रुफले प्रशिक्षकको रूपमा टोटल फुटबलको अभ्यास पनि आयाक्सबाटै गरे । पछि बार्सिलोनामा सारे, जहाँ उनका खेलाडी थिए पेप ग्वार्डिओला । ग्वार्डिओलाको ‘टिकी–टाका’ टोटल फुटबलकै परिस्कृत रूप हो ।


प्रशिक्षक एरिक टेन हागले त्यही ‘आयाक्स दर्शन’ लाई फर्काउने प्रयास गरेका छन् । युवा खेलाडीले भरिएको आयाक्स विपक्षीलाई चर्को दबाब दिने, खेलाडीको गति, आक्रमणमा चारैतिर फैलिने, टिमको संरचनालाई पुरै समय टिकाइराख्ने खुबीकै कारण यो सिजन घरेलु लिग, कप र च्याम्पियन्स लिगसहित तीन उपाधि जित्ने अभियानमा अघि बढेको छ । ‘आयाक्सलाई मात्र होइन, च्याम्पियन्स लिगलाई नै राम्रो भएको छ,’ सेमिफाइनल पुगेपछि प्रशिक्षक टेन हागले भनेका छन्, ‘सधैं त्यही ७–८ टिम क्वाटरफाइनल पुग्ने र उपाधि जित्ने प्रतियोगिताको लागि राम्रो होइन । समर्थक यस्तो चाहदैनन् । फुटबलमा आश्चर्य चाहन्छन्, त्यो यो वर्ष हामीले गर्‍र्यौं ।’


युवा टिम
युवा प्रतिभा पहिचानको लागि माहिर मानिएको क्लब हो आयाक्स । क्रुफ, फ्रयांक राइकार्ड, डेभिड्स, डेनिस बर्गक्याम्प, क्लाइभर्ट, भान डेर भार्ट, भान डेर सार, मार्को भान बास्टेन, वेस्ली स्नाइडर आयाक्सबाटै उदाएका थिए । जाल्टन इब्राहिमोभिच, लुइस स्वारेजले आयाक्सकै बाटो रोजेका थिए । टोटेनहममा छाइरहेका टोबी एल्डरवेइर्ल्ड, जान भेर्टोगन, डेभिन्सन सान्चेज र क्रिस्टियन इरिक्सन आयाक्सबाटै लन्डन पुगेका हुन् । ११ वर्षको छँदादेखि आयक्समा रहेका डोनी भान डे बिकसहित एकेडेमीबाट आएका ६ खेलाडी युभेन्ट्सविरुद्ध पहिलो रोजाइमा खेलेका थिए ।


रोनाल्डोले युभेन्ट्सलाई दिलाएको अग्रता तोड्दै आयाक्सलाई जिताउन २१ बर्षीय भान बिक र १९ बर्षे कप्तान माथिज डे लिटले गोल गरेका थिए । २१ बर्षीय मिडफिल्डर फ्रेंकी डे जोङ सात करोड ५० लाख युरोमा अर्को सिजन बार्सिलोना जाने पक्का भइसक्यो । डेविड नेरेस (२२) प्रिमियर लिग जाने निश्चितजस्तै छ । मिडफिल्डर हकिम जियेच (२६) लाई ठूला क्लबहरूले चाहेका छन् । उनीहरूसँगै २३ वर्षीय गोलकिपर आन्द्रे ओनाना उत्कृष्ट लयमा छन् । त्यसैले त ‘बेबी आयक्स’ ले युभेन्ट्सलाई पाठ सिकाएको इटालीको चर्चित पत्रिका ला गजेट्टा डेलो स्पोर्टले हेडलाइन नै बनायो ।


म्यानचेस्टर युनाइटेडबाट क्लब कीर्तिमान एक करोड ४१ लाख पाउन्डमा फर्किएका डिफेन्डर डाले ब्लिन्ड (२९ वर्ष), साउथह्याम्पटनबाट एक करोड पाउन्डमा लिइएका फरवार्ड डुसान टाडिक (३०), मिडफिल्डर लेस सोन (३२) आयाक्सका सिनियर खेलाडी हुन् । प्रिमियर लिगमा चार वर्ष सफल नभएका टाडिकले यो सिजन आयाक्सको ५० गोलमा योगदान गरेका छन् । उनले ३२ गोल र १८ एसिस्ट गरेका छन् । डच लिगसँग प्रिमियर लिगको तुलना हुँदैन । तर, च्याम्पियन्स लिगको ६ गोल र ३ एसिस्टले उनको कौशल पुष्टि गर्छ । युवा र सिनियर खेलाडीको मिश्रणले आयाक्स बलियो देखिएको छ । डिफेन्समा ब्लिन्ड र डे लिट, मिडफिल्डमा सोन र डे जोङको जोडी खुबै चलेका छन् ।


रुसमा विश्वकप २०१८ सकिएको दस दिनभित्रै आयाक्सको च्याम्पियन्स लिग यात्रा सुरु भएको थियो, जति बेला उसले प्रारम्भिक चरणको छनोटमा अस्ट्रियन क्लब स्टुर्म ग्राजको सामना गरेको थियो । त्यसपछि बेल्जियन क्लब स्ट्यान्डर्ड लिगा, युक्रेनी डायनमो किभलाई पन्छाउँदै आयाक्स च्याम्पियन्स लिगको समूह चरण पुगेको थियो । त्यस बेला उसले यति लामो यात्रा गर्ने कसैले अनुमान गरेको थिएन । च्याम्पियन्स लिगको सेमिफाइनल पुगेपछि चर्चा आयाक्सकै भइरहेको छ ।
Twitter: @ rghising

प्रकाशित : वैशाख ७, २०७६ ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?