१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

पुनरागमन उड्सको

हिमेश

काठमाडौँ — टाइगर उड्सले अगस्टामा मास्टर्स उपाधि के जिते, एकपछि अर्को घटना यति चाँडै भइरहेको छ कि भनेर साध्य छैन  । जस्तो, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरिसके, उनलाई ‘प्रेसिडेन्टल मेडल अफ फ्रिडम’ सम्मान दिने भनेर  ।

पुनरागमन उड्सको

अमेरिकी जनताले पाउने यो नै सबैभन्दा ठूलो सम्मान हो । यसका लागि ट्रम्पले उड्ससँग फोनमा कुरा पनि गरे र बधाई दिए । ट्रम्प आफैं पनि गल्फका ठूला पारखी हुन् । गल्फ भनेपछि हुरुक्क हुन्छन् ।


उड्सले पनि ट्रम्पको प्रस्ताव अस्वीकार गर्नुपर्ने कारण नै के हुन्छ र ? सुरुका दिनमा उड्सले गल्फ खेल्न सुरु हुँदा उनको नाममा सट्टा बजारमा एउटा बाजी परेको थियो । त्यो थियो, कुनै न कुनै दिन उड्स अमेरिकाका राष्ट्रपति हुनेछन् । त्यो पनि पहिलो अश्वेत राष्ट्रपति । बाराक ओबामा राष्ट्रपति भएपछि अब कम्तीमा यो त सम्भव भएन । सायद उड्स आफैं पनि राष्ट्रपति बन्ने बाटोमा लाग्ने छैनन् । तर, उनले मास्टर्स जित्दै गल्फको १५ औं मेजर टाइटल्स हात पारेपछि लाग्न थालेको छ, सम्भावना त जसको जे पनि हुन सक्छ ।


साँच्चै उड्सले यस्तै काम गरेका छन् । अब उनी पनि कुनै दिन साँच्चै अमेरिकाको राष्ट्रपति बने, किन पो आश्चर्य मान्ने र ? अहिले तत्काल भने गल्फमा प्राप्त गरेको यो उपलब्धिका लागि प्रयोग गरिएका शब्द हुन्, विश्व खेल इतिहासकै सबैभन्दा ठूलो पुनरागमन । यो अविश्वसनीय त छ नै, अकल्पनीय पनि उत्तिकै छ । अब खेलकुदमा मात्र होइन, कसैको जीवन पनि केही यस्तै अपत्यारिलो घटना भयो भने भन्ने गरिनेछ, यो त उड्सको पुनरागमनजस्तै भयो ।

साँच्चै पुनरागमन
खासमा यो पुनरागनम के हो त उड्सको ? फुटबलमा पेले अथवा म्याराडोना, बक्सिङमा मोहम्मद अलि जत्तिकै नाम हो, टाइगर उड्सको । सन् २००८ मा उनले यूएस ओपन जित्दासम्म सबै ठीक थियो । खेल्यो कि जित्यो खाले थिए, उनी । त्यो पनि एकपछि अर्को कीर्तिमानसहित । पछि उनका लागि सबथोक बिग्रन थाल्यो । मैदानमा पनि, बाहिर पनि । अहिले ४३ वर्षका भए । केही समयअगाडिसम्म स्थिति कस्तो थियो भने उनले कुनै दिन राम्रोसँग हिँड्नेमा पनि शंका थियो ।


अब यही मान्छेले ८३ औं संस्करणको मास्टर्स जितेका छन् । उनले ७२ होलको प्रतियोगितामा १३ अन्डर २ सय ७५ को स्कोर निकाले । अन्तिम दिन उनको प्रदर्शन थियो, २ अन्डर ७० । ‘अहिले जे जस्तो भएको छ, म आफैंलाई पनि विश्वास भइरहेको छैन । कुनै समय हिँड्न पनि सक्दिन थिएँ, निद्रा पनि विरलै लाग्थ्यो । खासमा मैले केही नि गर्न सकिरहेको थिइनँ,’ पुराना दिन सम्झेर उड्सले भनेका छन्, ‘यस्तोमा अहिलेको जितलाई कसरी विश्वास गर्न सक्छु र ?’


विश्व खेल इतिहासमै उड्सको यो जितलाई महान् पुनरागमन भन्न सुरु भएको छ । सबैभन्दा पहिला उनको व्यक्तिगत जीवनतर्फ नै जाऔं न । ती पुराना दिन सम्झेर उड्सले एकपल्ट भनेका छन्, ‘मैले ती सबै काम गरें, जुन परिवारमा न त क्षमायोग्य हुन्छ, न यसलाई बिर्सन सकिन्छ ।’ सन् २००३ मा उड्सले एलिन नोरडेग्रेनसँग ‘इन्गेजमेन्ट’ गरेका थिए । यी नोरडेग्रेन हुन्, स्विडेनी मोडल । उनको परिवार स्विडेनी राजनीतिमा हाई–प्रोफाइलमै पर्छ । २००४ मा उनीहरूको विवाह पनि भयो । २००७ मा उनीहरूको पहिलो छोरी जन्मिइन्, नाम राखियो, साम एलेक्स उड्स । दोस्रो सन्तान छोरा । नाम थियो, चार्ली एक्सेल उड्स । सबै कुरा राम्रै भइरहेको थियो । उनीहरूको जोडीलाई आदर्श मान्ने पनि थिए । भित्र–भित्र भने त्यस्तो थिएन । उड्सका दुइटा अनुहार थिए । देखाउने एउटा, लुकाएर राखेको अर्को ।


२००९ मा ‘नेसनल इन्क्वारियर’ ले एउटा समाचार छाप्यो, जसमा दाबी गरिएको थियो— उड्सको बाहिर पनि प्रेम चलिरहेको छ ! सुरुमा त उड्सले हुँदै होइन भने अस्वीकार गरे । लगत्तै उनी गाडी दुर्घटनामा परे । बिस्तारै उनको निजी जीवन काण्डै–काण्डमा समाचारमा परिणत हुन थाल्यो । ‘यूएस विक्ली’ ले त उड्स कति धेरै व्यभिचारी छन् भनेर लामै समाचार छाप्यो र त्यसमा उनीसँग जोडिएका धेरै महिलाको नाम अगाडि आयो । केही महिला आफैं अगाडि आएर बोले । उनीहरूको दाबी थियो, कुनै न कुनै समय उनीहरू उड्ससँग जोडिएका छन् । त्यसमध्ये अधिकांशको दाबी थियो— उड्स यौनपिपासु नै हुन् ।


यी काण्ड बाहिर आएपछि उड्ससँग जोडिएका ब्रान्डहरू अलग्गिन थाले । उनले करोडौं डलरका अनुबन्ध गुमाउँदै गए । पछि उड्सको नोरडेग्रेनसँग पारपाचुके भयो । नोरडेग्रेनको पनि आरोप थियो— बाहिरबाट हेर्दा उड्स जति भलाद्मी देखिन्छन्, खासमा त्यस्ता पटक्कै छैनन् । यी सबै घटनाले उनको पूरा जीवन लथालिंग नै भयो । उनले आफ्नो व्यक्तिगत जीवनलाई सम्हाल्नै सकेनन् । यसैबीच उनी रक्सी खाएर गाडी चलाएको आरोपमा पनि समातिए, फ्लोरिडामा । त्यतिबेला अभियुक्तका रूपमा फ्लोरिडा प्रहरीले जारी गरेको उनको तस्बिर पनि खुबै चर्चित रह्यो । त्यसमा उनको अनुहार नराम्रोसँग सुन्निएको थियो । उनी पूरापूर डरलाग्दा अभियुक्त नै देखिन्थे । यो घटनाले उनको साख अझ गिरेको थियो, मान्छेले उनलाई पत्याउन छाडे ।


भनिरहनु पर्दैन, व्यक्तिगत जीवनमा आएको उतारचढावले उनको खेल पूरै प्रभावित रह्यो, उनको प्रदर्शन दिनानुदिन खस्कँदै गयो । उनी त्यस्ता खेलाडी रहेनन्, जसलाई पेले, म्याराडोना अथवा अलिको समकक्षीमा राख्नुपर्थ्यो । यी सबै घटना भइरहँदा उनलाई शरीरले पनि साथ दिन छाड्यो । उनको मेरुदण्डमा गम्भीर समस्या देखिएको थियो । त्यसको उपचारका लागि उनी धेरैपल्ट शल्यक्रियाबाट पनि गुज्रिए । बल्लतल्ल शारीरिक रूपमा निको भए र गल्फ खेल्न सक्नेसम्म बने ।

पूरा भएको एउटा चक्र
जति बेला उड्सले अगस्टामा जित्ने तय भयो, उनको अनुहारको खुसीको सीमा थिएन । दर्शक उनको नाम लिएर चिच्चाइरहेका थिए । त्यसै पृष्ठभूमिमा उनले आफ्नी आमा कुलतिडा, छोरी साम र छोरा चार्लीलाई अंगालो मारे । सन् १९९७ मा उड्सले पहिलोपल्ट मास्टर्स जित्दा गल्फ कोर्समा उनका बुबा एर्ल पनि थिए । पहिलो मेजर टाइटल्स जितेपछि उड्सले त्यति बेला आफ्नो बुबालाई त्यसरी नै अंगालो मारेका थिए, जसरी अहिले आमा, छोरी र छोरालाई अंगालो मारे । उनको प्रतिक्रिया थियो, ‘एउटा चक्र पूरा भएको छ ।’ उनले जुन विन्दुबाट सुरु गरेका थिए, फेरि उनी त्यही विन्दुमा आइपुगे । अथवा भनौं, सुरुमा उनी राम्रा थिए, पछि केही खराब भए । अब फेरि राम्रो भएका छन् । उनको परिवार पनि फेरि उही पुरानै स्थितिमा पुगेको थियो, एक ढिक्का र पूर्णतः उड्सको समर्थनमा ।


एर्ल अमेरिकी अश्वेत हुन्, जसले अमेरिकी सेनाका प्रतिनित्व गर्दै भियतनाम युद्धमा सहभागी भए । थाइल्यान्डमा ड्युटी गर्ने क्रममा उनले कुलतिडालाई भेटेका थिए र पछि उनीहरूको विवाह पनि भयो । कुलतिडा आधा थाई हुन्, एक चौथाइ चिनियाँ र बाँकी एक चौथाइ डच । सुरुआती दिनमा आमाले उड्सलाई धेरै अवसरमा थाइल्यान्ड लगिन् र त्यहाँको संस्कृतिमा भिजाउने प्रयास गरिन् । उड हुर्केकै थाई–बौद्ध संस्कारमा हो । उड्स आफूलाई बौद्धमार्गी भन्न रुचाउँछन् । सन् १९९६ मा २० वर्षको उमेरमै व्यावसायिक खेलाडी बनेका उड्सलाई यो खेल सिकाउने काम अरू कसैले होइन, उनकै बुबाले गरेका थिए । बुबा नै प्रशिक्षक भन्दा हुन्छ, उड्सको ।


एर्ल पछि मुटुका बिरामी भए र चिकित्सकले हुन्न भन्दा पनि छोराले खेलेको हेर्न जान्थे । सन् २००६ मा उनको निधन भयो । ‘अहिलेको जित मेरो परिवारका लागि हो,’ उड्सले अगस्टामा बारम्बार दोहराइरहे । उनको भनाइ थियो, ‘मेरा छोरी र छोराले मैले खेलेको देखे । मैले जितेको पनि देखे । उनीहरूलाई अब त आफ्नो बुबाप्रति गर्व हुनेछ । उनीहरूको आजको दिन कहिल्यै बिर्सने छैनन् र यसलाई सधैं आफ्नो मनमा राखिरहेका छन् ।’

नजर निकल्सको कीर्तिमानमा
यी त भए, सबै उड्सका व्यक्तिगत र भावनात्मक कुरा । विश्व गल्फ भने एउटा अर्को कारणले पनि उत्साहित छ र प्रश्न उठन थालेको छ— के उड्सले अब १८ औं मेजर टाइटल्सको कीर्तिमान छुने प्रयास गर्नेछन् त ? ज्याक निकल्सको नाममा रहेको छ, यो कीर्तिमान । यो यस्तो कीर्तिमान हो, जसलाई कहिल्यै भंग नहुने प्रदर्शनका रूपमा मानिन्छ । उड्सले अगस्टामा के जित हात पारे, उनलाई पनि छाडेन, यो प्रश्नले ।


उड्सको भनाइ पनि यस्तो थियो, ‘मैले त यसबारे सोचेकै छैन । सायद अब सोच्ने को कि ? म त अहिले १५ औं उपाधिमै रमाइरहेको छु ।’ निकल्स स्वयंले पनि यसबारे बोलेका छन् र उनलाई लाग्छ, आफ्नो कीर्तिमान कि त उड्सले नै तोड्छन्, होइन भने कसैले तोड्ने छैन । खासमा १९९७ मा उड्सले पहिलो मास्टर्स जितेदेखि सन् २००८ को यूएस ओपन जित्दासम्म यसरी खेले कि सबैलाई लागेको थियो, त्यो १८ औं मेजर टाइटल्सको उपाधि अब धेरै टाढा छैन । त्यसैपछि त सुरु भएको थियो, उड्सको अविश्वसनीय र अकल्पनीय पतन । यो पतन पनि कस्तो भने केही समयपछि धेरैले के मान्न थाले भने उड्सले अब अर्को मेजर टाइटल्स कहिले पनि जित्ने छैन ।


खेलकुदको मज्जा नै यही, यहाँ यस्तो धेरै हुन सक्छ, जसबारे सोचिएको हुन्न, अथवा कल्पना गरिन्न । उड्सले अहिले त्यस्तै काम गरेका छन् । हुन सक्छ, अबको केही वर्षमा उड्सले निकल्सलाई बराबरी गर्नेछन्, उछिन्ने पनि । उनका लागि यहाँसम्म पुग्नु पनि ठूलै हो ।
twitter: @himeshratna

प्रकाशित : वैशाख ७, २०७६ ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?