कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

पुस्तक वार्ता

राजनीतिशास्त्री
चन्द्रदेव भट्ट

पराग खन्नाको ‘द फ्युचर इज एसियन : ग्लोबल अर्डर इन ट्वान्टीफस्ट सेन्चुरी’ र इ. पोक्कोको ‘इन्डिया इन ग्रिस’ पढ्दै छु  । अहिलेको एसियाको आर्थिक र राजनीतिक पुनरोदयको विषयमा विभिन्न क्षेत्रमा बहस भएको पाइन्छ  ।

पुस्तक वार्ता

यो बहस विश्वव्यापी भएर गएको छ । पराग खन्नाले वर्तमान र भविष्यको एसियाको आकलन गर्छन् भने इ. पोक्कोले विगतको विषयमा अंग्रेजी भाषा र सामाजिक विज्ञानको ढाँचामा जानकारी राख्न उपयोगी सावित हुन सक्छ । कुनै पनि क्षेत्र/देश किन अगाडि जान्छ र पछाडि पर्न जान्छ त्यसको विषयमा थाहा पाउन विगत र वर्तमान दुवैको विषयमा जानकारी हुनु जरुरी हुन्छ । यी जानकारीहरूको अनुपस्थितिमा भविष्यको विषयमा केही भन्न सकिँदैन । यसलाई कुनै विषयको बारेमा जान्ने आधार बनाउने हो भने यी दुवै पुस्तक उपयोगी हुन सक्छन् । खन्नाको ‘द फ्युचर इज एसियन’ पुस्तकले विश्वराजनीतिमा आएको परिवर्तन र एसियामा देखिएको र देखिन सक्ने उथलपुथलको विषयमा फरक हिसाबले चर्चा गर्छ ।


विश्व राजनीति र अन्तर्राष्ट्रिय सम्बन्धलाई व्याख्या गर्ने विद्यमान शास्त्रीय परिपाटी जुन नेसनल युनिभर्सिटी अफ सिंगापुरका प्राध्यापक किशोर मेहवुवानीले मिनिमालिस्ट, मल्टिलेटरल र माइकेभेलियनमा आधारित त्रिशब्दीय व्याख्याको आधार भन्दछन्, खन्नाको पुस्तक यो ढाँचाभन्दा बाहिर गएको पाइन्छ । साँच्चै भन्ने हो भने खन्नाले अहिले विश्व अर्थराजनीतिमा प्रभाव पारेका तत्त्वहरू विशेषगरेर विद्युतीय प्रविधि, बसाइसराइ, आवतजावतका साधनहरू (कनेक्टिभिटी), जनसंख्याले दिने फाइदा, भूगोलले दिने सुविधा, विगतको इतिहास आदि इत्यादिलाई आधार बनाएर वस्तुपरक रूपमा एसियाको सम्भावित भविष्यको विषयमा छलफल गरेका छन् । समष्टिगत रूपमा यो पुस्तक किनेर पढ्दा त्यति घाटा नलाग्ला । भाषा सरल नै छ, सूचना पनि प्रशस्त छन् । अन्यथा धेरैजसो पुस्तक किन्दा लेखक मोटाउने र पाठकलाई ज्ञानको चिनी रोग लाग्ने गर्छ ।


त्यसैगरी ‘इन्डिया इन ग्रिस’ भन्ने पुस्तकले आर्यवर्तको विगतको संस्कृति र परम्परा र त्यसको ग्रिक सभ्यतामाथि पर्न गएको असर/प्रभावको विषयमा उत्कृष्ट रूपमा व्याख्या गरिएको छ । माथि भने जस्तै भारतवर्षको सांस्कृतिक धरोधरको विषयमा जानकारी लिन यो पुस्तक अग्रपंक्तिमा पर्न जान्छ । जसको विगत गौरवमय छ त्यसको भविष्य पनि गौरवमय नै हुन्छ भन्ने पक्षलाई यसले पुष्टि गर्छ । यो पुस्तक कुनै समयमा ब्रिटिसहरूले दुर्लभ बनाएका थिए किनभने यसले आर्यवर्तको गौरवशाली संस्कृतिले विश्वव्यापी रूपमा पारेको संस्कृतिको विषयमा व्याख्या गरेको जुन साम्राज्य विस्तार गर्नका लागि बाधक हुन जान्छ ।


पश्चिमको प्रगतिले एसियालाई फाइदा होइन
भारत र चीनलाई केन्द्रविन्दु बनाएर लेखिएका अनगिन्ती पुस्तकहरूको निचोड एउटै देखिन्छ– ‘पश्चिमले विज्ञान, प्रविधि र बजारमा गरेको प्रगतिको प्रतिफल अब एसियाका नागरिकहरूले पनि उपभोग गर्नेछन् । र, एसियाका मुलुकहरू पनि आर्थिक रूपमा सम्पन्न हुनेछन् ।’ अर्थात् एसियाको उदय पनि हामीले गर्दा नै हुनेछ भन्ने तर्कलाई दरो रूपमा राखेर धेरैजसो पुस्तकहरू प्रकाशनमा आएका छन् । एसियाको पुनरोदय भन्न उनीहरू तयार छैनन् । त्यो भनेको विगतलाई मान्यता नदिनु हो । यो अर्धसत्य हो । जबकि एसियनहरू र एङ्गुस मेडिसनजस्ता अर्थशास्त्रीहरू यहाँको विगतलाई असल र सफल देख्छन् । यो सत्यलाई पराग खन्नाले उदाहरणसहित राम्रोसँग उजागर गरेका छन् ।


एसियाको विगत (त्यसमा पनि भारतवर्षको) को विषयमा जानकारी लिन थप दुईवटा पुस्तक अध्ययन गर्नु जरुरी हुन्छ ः पहिलो मार्क ट्वाइनका भारतवर्षमाथि लेखिएका कृतिहरू र दोस्रो सिरिन नर्थकोट पार्किसन्सद्वारा लिखित ‘इस्ट एन्ड वेस्ट’ । एसियाका लेखकहरूले पनि धेरै पुस्तकहरू लेखेकाछन् । हाम्रो विडम्बना के छ भने हामी हाम्रैलाई विश्वास गर्दैनौं । साँच्चै भन्ने हो हामी हाम्रो ज्ञानलाई विस्थापित गर्दै बाहिरको ज्ञानलाई स्थापित गर्दै छौं । बाहिरबाट प्रकाशित पुस्तक र ज्ञानको विषयमा जानकारी राख्नु जरुरी हुन्छ तर त्यसैलाई सत्य देख्नु र आफ्नो सबै नराम्रो देख्नु हानिकारक हुन्छ । यो परम्परा आज हामीकहाँ ज्यादै बलियो भएर आएको छ । सायद हाम्रा विश्वविद्यालय, प्रज्ञाप्रतिष्ठान र अन्य प्रकाशन गृहहरूले ज्ञान उत्पादनमा अग्रणी भूमिका खेल्न सके यो क्षेत्रमा देखिएका कमीकमजोरी न्यून भएर जानेछन् । जबसम्म हामी आफैंले आफ्ना कथा र व्यथाहरू लेख्दैनौं तबसम्म हामीलाई अरूले हेर्ने दृष्टिकोण परिवर्तन हुँदैन । पछिल्ला वर्षहरूमा लेख्ने परम्परामा निकै सुधार आएको छ । उपन्यासहरू, कथा–कविताहरू, आत्मकथाहरू प्रकाशित हुँदै छन् तर हाम्रो समस्या भनेको मौलिकतामा ह्रास आएको छ ।


विदेशीको ज्ञानको भारी धेरै बोकियो
धेरैजसो पुस्तकहरू म पुस्तक पसलहरूबाटै किन्ने गर्छु । कहिलेकाहीं साथीभाइ र प्रियजनहरूले बाहिरबाट पनि ल्याइदिने गर्छन् । यी पुस्तकहरू पनि यसरी नै प्राप्त भएका हुन् । पुस्तकको विषयमा उपयुक्त जानकारी भएन भने यसले ठूलो समस्या जन्माउन सक्छ । किनकि अहिलेको युगमा पुस्तक प्रकाशन गर्नु भनेको ज्ञानको उत्पादन पटक्कै होइन । त्यो धेरै हदसम्म समाजमा आफm्नो विचारधारा, शक्ति र वर्चस्व कायम गर्न चाहिने आवश्यक सूचना शत्तिशाली रूपमा प्रक्षेपण गर्नु हो । अहिले पुस्तक पढ्ने भनेको प्रभावशाली लेखकहरूले सूचनालाई कसरी प्याकेजिङ गरेका छन् भन्ने विषयमा थाहा पाउनका लागि होजस्तो लाग्छ तर यी सबै विषयमा थाहा पाउनका लागि पूर्वअनुसन्धान गर्नु जरुरी हुन्छ र यसका लागि धेरै उपायहरू छन् । पत्रपत्रिकामा प्रकाशित पुस्तक समीक्षा पढ्नु जरुरी हुन्छ ।


नेसनल युनिभर्सिटीका प्राध्यापक किशोर मेहवुवानी आफ्नो पुस्तक ‘हेज द वेस्ट नस्ट’ (पेज ८८–८९) मा लेख्छन् संसारको ७.१२ बिलियन जनसंख्यामा ४.४३ बिलियन एसियनहरू छन् तर ‘न्युयोर्क रिभ्यू अफ बुक्स’ मा समीक्षा गरिने पुस्तकहरूमा एसियनहरूको नाम विरलै भेटिन्छ । प्रसिद्ध लेखक अमिताभ घोषलाई उद्धृत गर्दै उनी लेख्छन्– घोषले एउटा निर्देशित खाकामा लेख्न नमानेपछि अर्को प्रसिद्ध म्यागाजिन ‘न्यू योर्कर’ ले उनका कृतिहरू नै छाप्न छोड्यो । यी उदाहरणहरू यहाँ प्रस्तुत गर्नुपछाडिको उद्देश्य के हो भने पुस्तक प्रकाशन गर्नु भनेको आफ्ना विचारहरू, आफ्ना कथाहरू, व्यथाहरू र समाजको चित्रण आफ्नै तरिकाले गर्नु जरुरी हुन्छ भन्ने कुरालाई पुष्टि गर्नु हो । तर विडम्बनासाथ भन्नुपर्छ हाम्रा कथा, हाम्रो समाज, इतिहास र संस्कृतिलाई अरूले विकास गरेको फ्रेमवर्कको आधारमा गर्ने गर्छौं जसले गर्दा हाम्रो आफ्नै ज्ञानको दायरा कमजोर हुन जान्छ भने अर्को समाजको पनि अपव्याख्या हुन जान्छ ।

प्रकाशित : वैशाख ७, २०७६ ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?