कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

मूर्ख समाजसँग जुवा

उनीहरूले जित्दा समाज हारेको थियो । २६ लाख अमेरिकीले जागिर गुमाए, लाखौं घरबारविहीन भएका थिए, केहीले आत्महत्या गरे ।
मुराहरि पराजुली

सामान्यतया सेयर बजारमा किन्नेले सस्तोमा किनिरहेको छु भन्ठान्छ  । उसलाई किन्नेहरूको लाममा म बीचमा छु भन्ने लाग्छ  ।

मूर्ख समाजसँग जुवा

मैले महँगैमा किनेको रहेछु भने पनि किनेको चीज अर्कालाई भिराउन सक्छु, अर्कालाई मूर्ख बनाउन सक्छु भन्ने उसलाई लागेको हुन्छ ।


मान्छेले कहिलेदेखि यस्तो मुर्ख्याइँ गर्न थाल्यो र संकट आइलाग्यो भन्ने प्रामाणिक इतिहास छैन । तर, इतिहासमा रेकर्ड भएको सबैभन्दा पुरानो घटना ‘ट्युलिप मानिया’ लाई मानिन्छ । चार्ल्स माकेको पुस्तक ‘एक्स्ट्राअर्डिनरी पपुलर डिलुजन एन्ड म्याडनेस अफ क्राउड’ मा सन् १६३६–३७ मा ट्युलिप फूलको पछि मान्छेहरू कसरी अन्धो भएर लागेका थिए भन्ने चर्चा गरिएको छ । माकेका अनुसार त्यतिबेला नेदरल्यान्ड संसारकै धनी मुलुक थियो, त्यहाँ सबैजसो वर्ग र पेसाका मान्छे ट्युलिप किनबेचमा लागेका थिए । त्यतिबेला मान्छेहरूले ट्युलिपको ४० वटा गानोलाई एक लाख डच गिल्डर्स (मुद्रा) सम्म तिरेका थिए । जबकि त्यति नै बेला एउटा दक्ष कामदारको वार्षिक आम्दानी १ सय ५० देखि ३ सय ५० गिल्डर्स हुन्थ्यो । बहुमूल्य सम्पत्ति मानिएको ट्युलिपको मूल्य चुलीमा टिकिरहन सकेन र धेरैलाई नोक्सान भयो ।


यसरी सम्पत्तिहरूको बजार पानीको फोकाझैं उठ्ने र फुट्ने क्रम रोकिएको छैन । सन् १७२० को साउथ सी बबल र मिसिसिपी कम्पनी संकट, सन् १९३० दशकको महामन्दी, १९७३ को तेल संकट, १९९७ को दक्षिण पूर्वी एसियाको संकट र २००० को डटकम बबल यो शृंखलामा जोडिन आइपुग्छन् । सन् २००८ को वित्तीय संकट हामीले थाहा पाएको सबैभन्दा पछिल्लो घटना हो । यो संकटलाई लिएर धेरै सरकारी प्रतिवेदन तयार भएका छन, पुस्तक लेखिएका छन, फिल्म र डकुमेन्ट्री बनेका छन् । एउटा ओस्कारसहित अरू धेरै अन्तर्राष्ट्रिय पुरस्कार पाएको र मनग्गे पैसा कमाएको ‘द बिग सट’ ले चार प्र्रमुख पात्रका माध्यमबाट वित्तीय संकटको कथा भनेको छ । सत्य घटनामा आधारित यो फिल्मले पुँजी बजारका जटिल अवधारणालाई बुझाउन नोबेल अर्थशास्त्री रिचार्ड थेलर, गायिका सेलेना गोमेजलगायत सेलेब्रिटीलाई बीचबीचमा उभ्याएको छ ।


कथा २००५ देखि सुरु हुन्छ । कथामा प्रमुख पात्रहरू हेज फन्ड म्यानेजर मार्क बम, डुइचे बैंकको कर्मचारी जार्ड बेनेट, पूर्वसेयर कारोबारी बेन रिकेट र अर्को हेज फन्ड म्यानेजर डा.माइकल बरीले छुट्टाछुट्टै अमेरिकी वित्त बजार संकटापन्न छ भन्ने पत्ता लगाएका हुन्छन् । घरजग्गामा बैकहरूले दिएको जथाभावी कर्जा, त्यो कर्जा प्रदान गर्नका लागि बैंकहरूले जारी गरेको ऋणपत्र र त्यस्तो ऋणपत्रलाई बिमा गर्ने कम्पनी सबै धराशायी हुन्छन् भन्ने उनीहरूलाई लागेको हुन्छ ।


तर बजारले यसको छनक पाएको हुँदैन । सस्तोमा सजिलै ऋण पाइने भएपछि चार कोठा मात्रै घर भए पुग्नेले आठ कोठाको घर किनेका हुन्छन्, एउटा भए हुनेले दुइटा किन्छन् । उनीहरू लाई लागेको हुन्छ ‘घरको भाउ बढेको बढ्यै हुन्छ, कहिल्यै घट्दैन । महिना, छ महिनामा घरको भाउ दोब्बर हुन्छ, बेच्छु, ऋण तिर्छु, नाफा कमाउँछु ।’ वित्तीय क्षेत्रका पेसेवरले यस्तै सोचेका, गरेका हुन्छन् नै डाक्टर, वकिल, पत्रकार, शिक्षकलगायत अरू पेसाका मान्छे पनि यही भ्रममा हुन्छन् । बजारप्रति उनीहरूको ठूलो आस्था हुन्छ । उनीहरू ह्वारह्वारती बलेको पुँजी बजारमा जल्ने पुत्ला बन्न आइपुग्छन् ।


बैंकहरू पनि ऋणपत्रबाट संकलित रकम हो त्यसमाथि बिमा गरिएकै छ भनेर धमाधम कर्जा दिइरहेका हुन्छन् । नाम ठेगाना भए पुग्ने फर्जी कागजातहरूबाट ऋणयोग्य छु भन्ने ग्राहकलाई दिल खोलेर ऋण दिइरहेका हुन्छन् । बढीभन्दा बढी ऋण प्रवाह गर्न सक्ने कर्मचारी र एजेन्टलाई दिइने सेवा सुविधामा कुनै कन्जुस्याइँ गरिएको हुँदैन । कर्मचारी र एजेन्टले नगद बोनस, गाडी, विदेशको महँगो ट्रिप पुरस्कार पाइरहेका हुन्छन् । बैंकहरूले नाफा कमाइरहेका हुन्छन् । बैंकका कार्यकारीहरू पुँजीवादका सम्राट्झैं हुन्छन । उनीहरूको आर्थिक तथा राजनीतिक शक्ति शिखरमा हुन्छ ।


मान्छे सरकारी हुन् वा बजारका लोभले सबैलाई गाँजेकै हुन्छ । त्यो उत्कृष्ट सपनातुल्य जीवनको लोभ कसलाई हुँदैन र ? त्यसरी कमाएको धन सुरासुन्दरी, जुवातास, विलासी साधनहरूमा पर्याप्त खर्च हुन्छ । यसैलाई सबैले सत्य मानिरहेका हुन्छन् । राजनीतिक, व्यावसायिक, सामाजिक, प्राज्ञिक क्षेत्रका अधिकांश मान्छेले यसलाई स्वाभाविक रूपमा लिएका हुन्छन् । यो अस्वाभाविक छ, टिकाउ हुँदैन, लामो समय चल्दैन भन्नेका आवाज दबिएका हुन्छन् ।


फिल्मका ४ प्रमुख पात्रहरूले आफ्ना साथीभाइ, छिमेक, सहकर्मी, मिडियालाई यो भ्रम र संकटको कुरा भन्न खोजिरहेका हुन्छन् । उनीहरूका कुरा सुनिदैन । अनि आजित उनीहरू मूर्ख समाजसँग जुवा खेल्ने अप्रिय निर्णय गर्छन् । पहिलो पात्र मार्क बम साथीहरूसँगै अमेरिकाका विभिन्न सहर घुम्छ । उनीहरूले पैसैपैसा कमाएका घरजग्गा दलाललाई भेट्छन्, सबैतिर रित्तारित्ता घर भेट्छन् । अमेरिकाभर चाहिनेभन्दा बढी घर बनेका हुन्छन् । कुकुरको नाममा, मेक्सिको हुँदै भर्खर छिरेको आप्रवासीलगायतको नाममा घर बनेका हुन्छन् । उनीहरूले घर नबिकेर मानसिक सन्तुलन गुमाएका मान्छे भेट्छन् । त्यस्ता घर बनाउन प्रयोग भएको ऋण डुब्ने पक्का हुन्छ तर बैंकहरूको नाफा बढेको बढ्यै हुन्छ ।


त्यसपछि उनीहरू त्यस्तो ऋणलाई असल भनेर प्रमाणित गरिदिने रेटिङ एजेन्सी पुग्छन् । रेटिङ एजेन्सी ‘त्योे त हाम्रो धारणा हो, त्यसलाई तपाईं पत्याउन सक्नुहुन्छ, नपत्याउन नि सक्नुहुन्छ’ भनेर टकटकिन्छ । आफूले असल हो नभनिदिने हो भने बैकहरू छिमेकमै भएको अर्को रेटिङ एजेन्सीकोमा जाने र आफ्नो व्यवसाय चौपट हुने बाध्यता सुनाउँछ कम्पनीको प्रतिनिधिले । सारा संसारले भर परेर लगानी गरिरहेको रेटिङ एजेन्सीको यस्तो अवस्था सुनेर अवाक हुन्छ बमको टोली । दोस्रो पात्र डुइचे बैंकको कर्मचारी जार्ड बेनेट हुन्छ । उसले पनि आफ्नो बैंकमा त्यसरी जथाभावी ऋण दिनु हुँदैन भन्ने आवाज उठाएको हुन्छ । आफ्नो बैंकमा मात्र नभएर अरू बैंकमा पनि गएर भनेको हुन्छ । उसको कुरा कसैले पत्याउँदैन । संकट आउँदै छ भन्ने उसको प्रतिवेदन धेरै बैंकको लबीमा रहेका कफी टेबलमा मिल्किएका हुन्छन् ।


तेस्रो पात्र बेन रिकेट अमेरिकाकै एक बैंकका लागि सिंगापुरमा बसेर सेयर कारोबार गरिरहेको हुन्छ । पैसो कमाउने प्रतिस्पर्धाबाट वाक्क रिकेट सिंगापुरको जागिर छोडेर घरै फर्किन्छ । उसाग प्रशस्त पैसा हुन्छ । घरमा करेसाबारी गोड्दै, फूलका बगैंचा स्याहार्दै बसिरहेको हुन्छ । ऊ वित्त बजारको ठूलो खेलाडी हो भन्ने छिमेकका दुई जना कलेज पढ्ने केटाहरूबाहेक अरूलाई थाहा हुँदैन । केटाहरूले उसलाई वित्त बजार संकटमा पुगेको र त्यसबाट नाफा कमाउने तरिका आफूलाई थाहा भएको बताउँछन् । सुरुमा उसले केटाहरूलाई हप्काउँछ र त्यस्तो खेलबाट टाढै बस्न चेतावनी दिन्छ । उसले समाचारहरूमा आँखा डुलाउन थाल्छ, केटाहरूले फेला पारेको प्रतिवेदन हेर्छ । ऊ केटाहरूको कुरा पत्याउन बाध्य हुन्छ । अनि वित्त बजारमा कारोबार गर्न उसलाई प्राप्त विशेष अधिकार र पुँजी केटाहरूलाई दिन्छ ।


चौथो पात्र औपचारिक शिक्षाले चिकित्सक ‘स्किअन क्यापिटल’ नामको हेज फन्ड म्यानेजर डा.माइकल बरी हो । उसको प्रक्षेपण २००७ को सेप्टेम्बरमा अमेरिकी बजार क्र्यास हुन्छ भन्ने हुन्छ । उसको प्रक्षेपण सही निस्कन्छ, तर उसले भनेको भन्दा दुई चार महिना ढिलो हुन्छ । यसबीचमा उसले आफ्ना साझेदारसँग निकै गलफत्ती गर्नुपर्छ । साझेदारहरूले उसलाई ‘अर्थतन्त्रका बारेमा तैंले बढी जानेको छस् कि ३० वर्षसम्म अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भको प्रमुख भएका धुरन्धर अर्थशास्त्री ग्रिन स्पानले जानेका छन्’ भन्दै खिसीट्युरी गर्छन् । तथापि, सन् २००० मा उसले सुरु गरेको हेज फन्ड ‘स्किअन क्यापिटल’ ले २००८ को वित्तीय संकटमा अर्बौं डलर बाजी मार्छ ।


प्रमुख चार पात्र सबैले एक्लाएक्लै समग्र समाजले भनेको भन्दा उल्टो कुरा गरेर वाल स्ट्रिटमा बाजी लगाउँछन् र अर्बौं डलर हात पार्छन् । उनीहरूले १९७० दशकको सुरुतिर पुँजी बजारले पत्ता लगाएर विकसित हुँदै आएका वित्तीय औजारहरू (स्वाप, सीडीओलगायत) डेरिभेटिभ्सहरू हुन्छन् । धितोपत्र बजारमा सबभन्दा बुझ्न सजिलो औजार ऋणपत्र र सेयर हुन भने डेरिभेटिभ्स सामान्य मानिसले त्यति सजिलै बुझ्दैनन् । त्यसरी अर्बौं डलर हात पार्दा पनि प्रमुख पात्रहरूको मन रमाएको हुँदैन ।

उनीहरूले जित्दा समाज हारेको हुन्छ । त्यतिबेला २६ लाख अमेरिकीले जागिर गुमाएका थिए, लाखौं घरबारविहीन भएका थिए, केहीले आत्महत्या गरे । त्यत्रो जनधनको क्षति हुँदा पनि जेल जाने कम थिए । मानौं त्यो कसैको बदमासी थिएन, कुनै प्राकृतिक विपत्ति थियो । लगानी कम्पनी लिम्यान ब्रदर्सजस्तो पुँजीवादी धरोहर ढलेको थियो । लिम्यानजस्ता कम्पनी ढल्छन्, घरजग्गा कारोबार ध्वस्त हुन्छ, वित्त बजार जुन ज्ञानमा चलेको छ त्यो अपुरो छ भन्ने कसैले पहिले कल्पनै गरेको हुँदैन, पत्तो पाउने एकदमै कम हुन्छन् ।


हामीले यस्तो घटना अमेरिकामा मात्रै हुने हो वा डेरिभेटिभ्समा मात्रै हुने हो भन्ने मुर्ख्याइँ गर्न हुँदैन । हामीले पनि देखेकै हौं, सेयर बजार चुलीमा पुगेको, घरजग्गाको भाउ आकासिएको । अहिले स्थिति ठ्याक्कै त्यस्तै छैन । बैंकको ऋण सस्तो थियो । घरजग्गामा, सेयरमा लगानी गर्न उनीहरूले सजिलै ऋण दिन्थे । देशभरका सहर र सहरोन्मुख ग्रामीण भेगमा जग्गा प्लटिङको लहर थियो । सेयर बजार परिसूचक नेप्से १९ सयको विन्दुमा पुगेको थियो । अहिले बैंकहरूमा ऋण दिनका लागि पर्याप्त पैसा छैन । घरजग्गा कारोबार सुस्ताएको छ । नेप्से १२ सयमा घुमिरहेको छ ।


ऋणले उचालेको अर्थतन्त्र थचारिन्छ । सन् १९८० को दशकमा आफ्नो आकार बराबर ऋण लिएर चलेको विश्व अर्थतन्त्र २००८ मा आइपुग्दा तेब्बर ऋण लिइरहेको थियो । मुलुक र अर्थतन्क्रका लागि जे लागू हुन्छ व्यत्तिका लागि पनि लगभग त्यही लागू हुन्छ । थाम्नै नसक्ने गरी ऋण लिएर घरजग्गामा, सेयरमा वा अरू किसिमका सम्पत्तिमा जुवा खेल्नु मुर्ख्याइँ हो । यो कुरा बुझ्न मद्दत गर्ने ‘द बिग सट’ एउटा राम्रो सामग्री हो । वित्त बजारका जटिल र झर्को लाग्ने विषयलाई बुझ्ने गरी रमाइलो प्रस्तुति फिल्मले दिएको छ ।

प्रकाशित : वैशाख ७, २०७६ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?