२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

प्रतिरोधी पारिजात

पारिजात अस्तित्व चिन्तनको घेराबाट बिस्तारै खुकुलिँदै समाज चिन्तनमा तल्लीन हुँदै गइन् । २०३४ सालमा आएका उनका दुई कृतिहरू 'पर्खाल भित्र र बाहिर' र 'बैंसको मान्छे' उनका अघिल्ला कृतिहरूभन्दा पृथक् छन् ।
कुमारी लामा

काठमाडौँ — काँडेतारले घेरिएको अग्लो पर्खाल  । पर्खालभित्र छन् धेरै जोर आँखाहरू  ।

प्रतिरोधी पारिजात

बाहिर के हुँदैछ उनीहरू लगभग बेखबर छन् । तर, प्रशस्तै छ समय आफूमाथिको आकाश नियाल्न, टोलाउन या केही कल्पना गर्न । मुसिकोट कारागारका कैदीहरूमाझ छु । झलक्क सम्झनामा आएका छन् रमेश । पारिजातको उपन्यास ‘पर्खालभित्र र बाहिर’ को रामबहादुर अर्थात् रमेश । ऊ सदर जेलको झ्यालबाट एकतमास चियाउँदै छ । र, सम्झँदै छ बाटुली ।
(२०३० साल भन्दाअघि फरक थियो पारिजातको लेखन चिन्तन । तीसको पूर्वार्द्धमै आएको उपन्यास ‘पर्खालभित्र र बाहिर’ ले समाजसँग बढी सरोकार देखायो ।)
निराशा बग्रेल्ती छ पर्खालभित्र । सकसको के कुरा । जीवन जो जाम परेको छ । एघार वर्ष भइसक्यो । चुरोट फुक्नु, आफैंसँग संवाद गर्नु, बाटुलीलाई सम्झनु । सम्झनुको कारण छ । उसैले थियो पहिलो प्रस्ताव राखेको, ‘तिमी मसँग बिहे गर है ।’ ऊ गरीब, एक्लो र पीडामा थिई । कसैको साथ किन नचाहनु र ? तर बिहे नाम मात्रको । एक अर्कालाई देख्दै नदेखेको पनि तीन वर्ष भैसक्यो । अनि सकस हुन्न त जेलखाना । पिरोलिनु, बस् पिरोलिनु । त्यही छ ऊसको दिनचर्या । साथी ज्वाला आक्रोश ओकल्छ, ‘त्रान्ति आदर्शको गाथा हैन ।’ तर ऊ मौन बस्छ । ज्वालाबारे सोच्छ, कति फरक छ यो मान्छे ।
कैदी हुनु सजिलो कहाँ छ ? त्यसमा पनि चेतना भरिएको टाउको बोकी चार पर्खालले घेरिनु । समाजमा भइरहेका शोषण र अन्यायका बारे जान्दाजान्दै केही गर्न नसक्नु ! त्यसरी जाकिनु । मनभरि पोखिएको छट्पटीमा आफू केवल एक्लै चिप्लिँदै ठोकिँदै घाइते हुनु । अनि हुन्न त ऊ निराश ? हो, रमेश निराश छ । पोखिन्छ उसको मनोदशा आफैंसँग– ‘यो जेल हो । यहाँ यस्ता अनगिन्ती असजिलापनहरू पचाउन सक्नुपर्छ नत्र मान्छे बौलाउँछ । एउटा यस्तो स्थिति, जसलाई कतैबाट पनि चलाउने ठाउँ छैन, गजबले जाम परेको छ र जहाँ विवेक भएर मौन उभिदिनुपरेको छ ।’
सायद रमेशका यी पीडादायी अनुभूतिमा मिसिएको छ पारिजातकै आफ्नो पीडा पनि । उनी बारम्बार घेरिइरहन्थिन् चार पर्खालभित्र । बिरामी बारम्बारको । कोठा, पर्खाल, झ्याल, अनि आफूभित्र सल्वलसल्वल गर्ने चिन्तन । ती थिए नितान्त निजी उनका । कसैलाई दिन नपर्ने । दिन नमिल्ने दुखाइ । केवल उनको । यसैबीच उपचारको क्रममा भारतमा रहँदा सुकन्यालाई चिठी लेखी बस्छिन् । चिठी त एक बहाना न हो । उनी आफैंलाई पोख्छिन् । आफ्नो बन्दीझैं जीवनका बारे खन्याउँछिन् पत्रमा । ‘...कोठाचाहिँ मलाई जेलजस्तो लाग्यो । पर्खालै पर्खाल बस् । बार्दलीबाट एक टुक्रा चौकोण आकाश देखिन्छ ।’ (अपराजिता ः पारिजातका चिठीहरू, पृष्ठ १०९) । पारिजातले जस्तै आकाश नियाल्छन् सदर जेलका कैदीहरू । त्यसै हूलमा छ रमेश ।
आशा भन्ने केही त्यान्द्रोमा अल्झिनु अनि जीवन अघि बढाइरहनु । यस्तै गर्दै छन् पर्खालभित्र रमेश र ज्वाला, पर्खालबाहिर बाटुली । घरेलुको जागिर खोसिएपछि बेजागिर, बेठेगान भएकी छे बाटुली । पाटीमा बस्न थालेकी छ तर पटक्कै डराउँदिन कसैसँग । विश्वास गर्छे आफैंलाई । एक निर्भीक आइमाई । वर्षौंवर्ष मात्र सम्झनामा पनि अडिने रैछ सम्बन्ध । जसरी अडिएको छ रमेश र बाटुलीको । तीन वर्षपछि बाटुली एक बट्टा चुरोट बोकी रमेशलाई भेट्न पुगिदिन्छे जेल ।
पर्खालभित्रको आफ्नो निरीहपनाले चुटेको छ ज्वालालाई । उसको आक्रोशको मात्रा ह्वात्तै बढेको छ । ऊ रगत बगाउन चाहन्छ । मर्न र मार्न चाहन्छ । शान्तिले क्रान्ति गर्दैन भन्छ । जेलभित्र ऊ सबैसँग रिसाउँछ । आफूसँग झन् बढी रिसाउँछ र एक दिन बिरामी पर्छ । ढल्छ । मानसिक सन्तुलन गुमाएको करार हुन्छ । र एक दिन कोल्याप्स भएको खबर आउँछ । ढल्नुअघि उसले भयंकर फुर्तीका साथ बोलेको थियो, ‘मलाई एकपल्ट फगत एकैपल्ट हेर्ने रहर छ एउटा, फिँज उठेको दूधजस्तो सेतो नदीमा दुई–चारवटा रक्ताम्मे पानीका तरंगहरू एकापट्टिबाट बगेर आइदेऊन् त्यसपछि म विश्वासका आँखाहरूले हेर्छु एउटा परिवर्तनलाई रगतले...’ ज्वालाले चाहेको रक्ताम्मे क्रान्ति र परिवर्तन ऊसँगै समाप्त हुन्छ । किनकि ऊ पर्खालभित्र थियो । एउटा ऊर्जावान् जीवन हेर्दाहेर्दै मगज खुस्केर समाप्त भयो । यसैगरी समाप्त हुँदै छन् आज पनि कैयौं जीवनहरू । अभाव, आक्रोश, असन्तुष्टि, विद्रोह सबैसबै आफैंसँग बोकेर हिंडिरहेका छन् युवाहरू ।
रमेश जेल मुक्त हुन्छ । तर मुक्त हुन सक्दैन आफूले बोकेको सिद्धान्तबाट । पर्खालभित्र ऊ केवल चिन्तन गर्थ्यो, समाजका अनेकन विसंगति र गरिब जनतामाथिको शोषण बारे । पर्खालबाहिर ऊ आफैं प्रत्यक्ष भोक्ता भएको छ । आफूसँगै पढेका साथीहरूको प्रगति चुलिएको छ । साथै निकै अग्लिएको देख्छ, उनीहरूले आफूप्रति देखाइरहेको बेवास्ता । जीवन धान्ने आधार छैन । बाटुलीको हाड घोटाइको मेजमान खाई बस्न अब ऊ सक्दैन । थन्क्याउँछ एक कुनामा आफ्ना डिग्री, विद्रोही चेतना, समाज परिवर्तनका रुमानी सपना र सामेल हुन्छ चक्रपथ निर्माणको मजदुरीमा । त्यही काम पनि बाटुलीले नाइकेलाई भनसुन गरी दिलाइदिएकी हो । पहिलो पटक काममा हाजिर हुनुअघि उसले महसुस गर्छ, अभाव र भोकभन्दा ठूलो केही रहेनछ ।
‘अभावले ग्रस्त एक गरिब परिवारमा जन्मेको आज मलाई शिक्षा, डिग्री, राजनीति र जेल जीवनको गरिमाले काँचुली फेराइदिइसकेको छ तर जीवन खुला रंगमञ्चमा म यद्यपि खानु र लाउनुको प्रश्नचिह्न बोकेको असली मान्छे नै रहेछु ।’
क्रान्ति भन्दाभन्दै एउटा जीवन जेलमै ढल्छ अर्को जीवन यसरी आफैंसँगको द्वन्द्वमा फँस्छ । तर बाध्यता छ पेट पालोको । ‘विचार’ थन्क्याउन बाध्य एक निरीह युवा । ऊ विद्रोहीबाट एक मजदुर भएको छ । पिक, बेल्चा, गैंती छन् उसका औजार । ऊ देखिबस्छ मोटो नाइके र दुब्ला मजदुरहरूको नमिल्दो समाज । तर पर्खालभित्र जस्तै बाहिर पनि ऊ मौन नै बस्छ । दस ठाउँ टालेको कट्टु लाएर काममा धसिएका क्युरी तामाङ र लालेहरू छन् उनका साथी । त्रिशूलीतिरका यी तामाङहरू आज पनि उसैगरी आफ्ना पसिनाको सौदामा छन् । उनीहरूसँगै मिसिएका छन् उतैतिरका श्रमिक महिलाहरू जो बालुवा चाल्दाचाल्दै गाइदिन्छन् मनका पीडाहरू ।
रमेश हेरिबस्छ सबथोक । देख्छ क्युरी तामाङको जब्बरेपना । नाइकेले ज्यालामा ठगेको कुरामा रडाको मच्चाउँछ । ठेकेदारहरू दबाउन खोज्छन् विरोधको आवाज । स्थिति गम्भीर हुन्छ । बर्दीवालाहरू ओइरिन्छन् साइटमै । काममा बाधा गरी सडकमा राजनीति गरेको आरोपमा फेरि पक्राउ पर्छ रमेश । विडम्बना, पक्डन आएका छन् आफ्नै साथी (डीएसपी) । क्युरी पनि उही घानामा परेको छ । ऊ भोकको लडाइँमा छ तर देख्नेले उसलाई राजनीति गरेको देख्छ । या देखाइन्छ । किनकि सत्ता जहिले विरोधी आवाजसँग त्रसित हुन्छ । एक सडक मजदुरको सामान्य विरोधमा पनि ऊ रातभर निदाउन सक्दैन र बुन्छ निकै ठूलो जालो । सबेरै उही जालो बोकी निस्कन्छ सडकमा र फ्याक्छ भोकसँग लडिरहेका मजदुरहरूतिर । कस्तो टिठलाग्दो सत्ता । हतियारसहित उभिन्छ तर थरथरी काप्छ बिनाहतियारका लिखुरे मनुवाहरूसँग ।
पारिजात विभिन्न पात्रमार्फत गरिब, निमुखा र शोषणमा परेकाहरूको आवाज बुलन्द पार्छिन् । ‘पर्खालभित्र र बाहिर’ मा रमेशको राजनीतिक विद्रोही चेतना एकातिर छ भने क्युरी जानअञ्जानमै पनि आफ्नो अधिकारका लागि वकालत गर्छ । बाटुलीमा त झन् बढी छ चेतना । पढेर हैन परेर बढेको चेतना । समाजसँग लडेर अघि बढिरहेकी पौरखी आइमाई । उसको आत्मविश्वास रहरलाग्दो छ ।
२०३४ सालमा आएको यस कृति त्यस बेलाको सकसपूर्ण समयसँगको संवाद हो । भुसको आगोसरी भित्रभित्रै बढ्दै गरेको थियो जन्ताको असन्तुष्टि । प्रजातन्त्र पुनःस्थापनाका लागि तयार हुँदै थियो वातावरण । क्रान्तिका लागि उम्लिरहेको थियो विद्यार्थी युवाहरूको जोस । तर ती तमाम परिवर्तनगामी आवाजहरू दबाउन हरदम प्रयत्नशील थियो सक्ता र शत्ति । त्यसै समय रमेश र रमेशजस्ता धेरैधेरै पर्खालभित्र जाकिएका थिए । उनीहरू ठोस प्रमाणैबिना लामो समयभित्रै थन्किन्थे । छुटेपछि पनि आफ्नो जीवन बाँच्ने स्वतन्त्रता कहाँ थियो र ? जस्तो कि रमेश फेरि पनि त पुग्यो पर्खालभित्र । थाहा छैन अब ऊ कति वर्षभित्रै रहनेछ । तीन महिनाको गर्भ छ बाटुलीको । अबको दिन कस्तो होला उसको ?
पारिजात अस्तित्व चिन्तनको घेराबाट बिस्तारै खुकुलिँदै समाज चिन्तनमा तल्लीन हुँदै गइन् । २०३४ सालमा आएका उनका दुई कृतिहरू ‘पर्खालभित्र र बाहिर’ र ‘बैंसको मान्छे’ उनका अघिल्ला कृतिहरूभन्दा पृथक् छन् । भलै यी दुवै उपन्यासका पात्रहरू आफैंसँगको द्वन्द्वमा बढी अल्मलिन्छन् । तर, आफैंसँगको संघर्षमा बराबर सामेल छ समाज । समाजमा विद्यमान धनी गरिबबीचको अग्लो पर्खालप्रति लेखक भलिभाँती जानकार छिन् । त्यसैले मजदुरको रगतपसिनामा ढाडिएकाहरूप्रति उनी पटक्कै सहज हुन सक्दिनन् । पारिजात प्रतिरोधमा छिन् । सत्ताको । शोषणको । अत्याचार र अन्यायको । कम्तीमा उनको लेखनले त्यसै भन्छ । त्यसैको उपज हुन सक्छ रमेश, बाटुली, ज्वाला र क्युरीजस्ता जुझारु पात्रहरू । कसैलाई पर्खालभित्र थन्क्याउँदैमा निभ्छ र आम जनतामा सल्किएको आक्रोशको ज्वाला ?

प्रकाशित : चैत्र ३०, २०७५ १२:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?