१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

नसिरुद्धिन शाहलाई किन रिस उठ्छ ?

काठमाडौँ — लेखक/गीतकार वरुण ग्रोभरले हालै अमिताभ बच्चनको लोकप्रियताबारे एउटा टिप्पणी गरेका छन्  । ‘बच्चनको लोकप्रियताको व्यापारीले मात्र फाइदा उठाए  ।

नसिरुद्धिन शाहलाई किन रिस उठ्छ ?

राजनीतिलगायतका अति आवश्यक मुद्दामा बच्चनले मौन बसेर आफ्नो लोकप्रियताको दुरुपयोग हुन दिए,’ उनले भनेका छन् । जब बच्चन गुजरातको पर्यटन दूत बने, त्यसको पनि आलोचना भयो । किनभने, त्यसबखतसम्म गोधाराकाण्डको अग्निज्वाला शान्त भइसकेको थिएन । तत्कालीन मुख्यमन्त्री नरेन्द्र मोदीको शासनमा गुजरातमा अल्पसंख्यक मुस्लिममाथि अत्याचार भएको रिपोर्टहरू आइरहेका थिए । त्यसमाथि राहुल ढोलकियाजस्ता फिल्ममेकरले ‘परजानिया’ जस्तो फिल्म बनाएका थिए । नन्दिता दासहरू ‘फिराक’ बनाइरहेका थिए । यी दुवै फिल्ममा नसिरुद्धिन शाहले अभिनय गरेका थिए । त्यही समयमा बच्चन भने गुजरातको गुणगान गाइरहेका थिए ।
नसिरुद्धिनलाई भारतको सबभन्दा राम्रो मेथड एक्टर मानिन्छ । अंकुर, मन्थन, मिर्च मसाला, चक्र, जुनुन, इजाजत, स्पर्स, पार, आक्रोश, जाने भी दो यारों, मकबुल, अ वेनसडे, इकवाल र हालैको डर्टी पिक्चरजस्ता फिल्मले शाहलाई एउटा उम्दा अभिनेता प्रमाणित गर्छन् । जुन कुरामा बोलेन भनेर ग्रोभरहरू बच्चनको आलोचना गर्छन्, अर्काथरी भने नसिरुद्धिनलाई त्यसैमा बढी बोलेको भनेर गाली गर्छन् । केहीअघि मुस्लिम र अल्पसंख्यकमाथि भारतमा बीजेपी सरकारले दमन गरेको छ भनेर बोल्दा नसिरुद्धिनलाई आतंककारी भन्दै पाकिस्तान जान भनियो । त्यसपछि उनले निकै चित्त दुखाएर भने, ‘मैले एउटा सच्चा नागरिकका हिसाबले आफ्नो देशप्रतिको चिन्ता व्यक्त गरेको हुँ ।’
अहिले फेरि नसिरुद्धिन चर्चामा छन् । उनीसमेत करिब ६ सय कलाकारहरूले आउने चुनावमा बीजेपीलाई भोट नदिन अपिल जारे । यसरी अपिल जारी गर्नेमा अमोल पालेकर, अनुराग कश्यप, रत्ना शाह पाठक, कोनकोना सेन शर्मा, गिरीश कर्नाड, मानव कौल, एमके रैनाजस्ता कलाकार पनि छन् । उनीहरूको भनाइ छ, ‘मोदी नेतृत्वको बीजेपी सरकार आएपछि भारतमा धर्म र आस्थाका आधारमा भेदभाव भएको छ । यो सरकारले संविधानले व्यवस्था गरेको धार्मिक सहिष्णुता र निरपेक्षतालाई कायम राख्न सकेको छैन । जनताका बीच फुट ल्याउने यस्तो पार्टीलाई भोट दिनु हुँदैन ।’
यस्तो अपिल निकाल्नेमा कलाकार मात्र छैनन् । उनीहरूभन्दा पहिले डेढ दुई सय लेखकले पनि यस्तै वक्तव्य जारी गरिसकेका छन् । यिनमा सदावहार विद्रोही अरुन्धती रोयदेखि नयनतारा सहगल र नमिता गोखलेसम्म छन् । उनीहरूको पनि भनाइ मोटामोटी यस्तै छ, ‘यो सरकारले भारतीय संविधानको मर्मलाई आत्मसात् गर्न सकेन । यसले धर्म र धार्मिक परम्पराका नाममा जनतालाई विभेद गर्‍यो ।’ नसिरुद्धिन शाहको नेतृत्वमा कलाकारहरूको वक्तव्य आएलगत्तै अनुपम खेरलगायत बीजेपी समर्थक केही कलाकारले त्यसको प्रतिवाद पनि गरेका छन् । खेरले ट्विटरमा आफ्नो भिडियो राख्दै कुनै एउटा पार्टीलाई भोट नदेऊ भनेर नसिरुद्धिनलगायतका कलाकारले तटस्थता गुमाएको आरोप लगाएका छन् । ‘सिधै कांग्रेसलाई भोट मागे भइहाल्यो नि,’ उनको भनाइको आशय छ । भारतमा ११ अप्रिलदेखि १९ अप्रिलसम्म लोकसभा चुनाव भइरहेको छ । चुनावको मुखमा थुप्रै प्रोपोगन्डा फिल्महरू पनि आइरहेका छन् । लेखक कलाकारको ठूलो ब्रिगेड सत्तारूढ बीजेपीविरोधी देखिए पनि बीजेपीको पक्षमा पनि स्टार कलाकारहरूको बाहुल्य छ । मोदीसँग सेल्फी खिच्नेदेखि पद्मश्री र पद्मभूषणजस्ता अवार्ड पाउनेको लहर लामो छ । उनीहरूले बेलाबेला मोदीलाई समर्थन गरिरहेका छन् । यसमा अति राष्ट्रवादी देखिने होडमा रहेका अक्षय कुमार र अजय देवगनजस्ता स्टार पनि सामेल छन् । मधुर भण्डारकर, विवेक अग्निहोत्रीजस्ता फिल्ममेकर पनि छन् ।
यो दृश्यमा तीन खान भने मौनजस्तै देखिएका छन् । सलमानको मोदीसँग राम्रो सम्बन्ध देखिए पनि उनी खुलेर बोलेका छैनन् । आमीर र शाहरूखले त पहिले नै मोदीको विरोधमा बोल्दा दोशद्रोहीको आरोप खेपिसकेका छन् । यी दुवै कलाकारले भारतमा धार्मिक सन्तुलन खलबिलएको र मोदी शासनमा अल्पसंख्यकले सुरक्षित महसुुस नगरेको बताएका थिए । तुरुन्तै मोदी सेनाले उनीहरूलाई पाकिस्तान जाने सल्लाहको वर्षा गरे । मोदीभक्तले पहिले पनि आमीरको फिल्म ‘फना’ लाई गुजरातमा चल्न दिएका थिएनन् । पछिल्लो समयमा आफ्नै फिल्म नचलेर दुःखी भइरहेका यी खानहरू अहिले मौन छन् ।
संयोग नै मान्न सकिन्छ, मोदी शासन चरममा पुग्दा अजय देवगन र अक्षय कुमार सफल स्टारका रूपमा निस्किइरहेका छन् । उनीहरूका फिल्म लगातार सफल भइरहेका छन् । बरु, रणवीर सिंह, वरुण धवनका फिल्म चलेका छन् । नसिरुद्धिन शाहको रिस मोदीको हिन्दुत्वको नारामा मात्र छैन । उनी भारतका कलाकार र लेखकहरूले आलोचनात्मक चेत गुमाइरहेकामा पनि चिन्तित छन् । ‘कलाकारले सत्ताको प्रतिरक्षा गर्ने होइन, सत्ताको रक्षा गर्ने थुप्रै संरचना हुन्छन् । जनताका प्रश्न उठाउने कोही हुँदैनन्, त्यो काम कलाकारले गर्नुपर्छ,’ उनी भन्छन् ।
२०१५ मा लेखक कलाकारहरूले राष्ट्रिय पुरस्कार फिर्ता गरेर मोदी सरकारविरुद्ध आफ्नो रोष प्रकट गरेका थिए । त्यसबेला पनि नसिरुद्धिन, अरुन्धती, सइद अख्तर मिर्जा, उदय प्रकाशजस्ता लेखक कलाकार अग्रमोर्चामा थिए । यसपालि पनि उनीहरू नै छन् । संयोगको कुरा के छ भने, १९८० मा सइद अख्तर मिर्जाले एउटा फिल्म बनाएका थिए ‘अल्बर्ट पिन्टोको गुस्सा क्युँ आता है ?’ (अल्बर्ट पिन्टोलाई रिस किन उठ्छ ?) यो फिल्ममा नसिरुद्धिन शाहले अल्बर्ट पिन्टोको भूमिकामा अभिनय गरेका थिए, जो सहरमा बढिरहेको बेथिति र अव्यवस्थाबाट क्रोधित छ । यसपालि पनि नसिरुद्धिन शाहलाई रिस उठिरहेको छ ।
–एजेन्सी

प्रकाशित : चैत्र ३०, २०७५ १२:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?