कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

मैदारो ट्रेल

ब्लुज
रोशन शेरचन

काठमाडौँ — घामको टुक्रा निमेषभरलाई उज्यालो छर्दै रूखको आकाशबाट सामुन्ने खस्थ्यो  । फेरि तुरन्तै रूखको हाँगाबिँगामा अल्झेर कतै हराउँथ्यो  ।

मैदारो ट्रेल

हामी दुई सल्लाको वनमा हिंडिरहेका थियौं । गाउँलेहरू त्यसलाई सल्लेरी वन भन्दा रहेछन् । रूखहरू समान उचाइका भएकाले एकैसाल वृक्षारोपण गरिएको अनुमान गर्न सकिन्थ्यो । बुट्टयान नभएकाले सल्लेरी वन छ्यांगै थियो । हामी वनको उत्तर दिशातिर हान्निएका थियौं । पात कुल्चँदाको सर्‍याकसर्‍याक आवाज आइरहेकोथ्यो । तल्तिर मद्विम आवाजमा अविरल बगिरहेको कालीगण्डकी ।
उनी एकतमासले हिँडिरहेका थिए । म आफ्नै धुनमा पछ्याइरहेको थिएँ । निख्रिँदै गरेको सल्लाका रूखहरूलाई पार गरी उनको पैताला भीरको डिलनजिक रोकियो । म एकाध कदम अगाडि बढ्न थालेको थिएँ, उनले सचेत गराए, ‘त्यै ठीक होला ब्रदर, त्यहाँ अलि खतरा छ ।’ म भीरतिरै जान थालेको आशंकामा उनी झस्किए । अगाडि अझ राम्रो भ्यू प्वाइन्ट होला भनेर केही कदम बढ्न खोजेको थिएँ । अजंगको भीर, दैत्यस्वरूप मुख बाएर बसेको । जीउमा काडै उम्रियो । भीरको मध्यतिर थोरै उठेको भाग र त्यसरी उठेको भागमा केही रूख र बुट्ट्यानहरू । पाटे भीर भन्दा रहेछन् ।
पाटेभीरबाट एक दिन मगर्नी दिदीको बाख्रा खस्यो । उनले कथाको सुस्केरा हाले । सल्लेरी वनमा बाख्रा चराउन आएकी । कस्सो बाख्रा भीरको केही उठेको भागमा अड्किन पुगेकाले कालीगण्डकीमा खस्न पाएन । बाख्रा खसेको कुरा क्षणभरमा गाउँभरि फैलियो । ‘गाउँ नै उर्लियो । म पनि सानो थिएँ, साथीहरूसँग कुद्दै आएँ । अचम्भ ! त्यति ठूलो भीरबाट खसेर पनि बाख्रा मरेन । बरु बाख्रा चरिरहेको देखिन्थ्यो । मगर्नी दिदी केही दिनसम्म यहीं बसेर (जहाँ त्यतिबेला हामी उभिएका थियौं) बाख्रा हेरिरहन्थिन् । म कहिलेकाहीं हेर्न आउँथे । बाख्रालाई त्यस्तो निर्जन स्थानमा एक्लै चरेको देख्दा मलाई माया लाग्थ्यो । पछि भीर चढेर हल्ला गाउँभरि फैलियो— कुश्माका केही कामदारहरूले त्यहाँबाट बाख्रालाई निकालेर खाए,’ उनको स्वर भारी भयो ।
भीर किनारमा उभिएकाले तेज बतास शरीरभरि अनुभव हुन्थ्यो । फराकिलो कालीगण्डकी गल्छी पाङ हुँदै बाग्लुङसम्म तेर्सिएको देखिन्थ्यो । प्रकृतिको अद्भुत बनोट । विश्वकै गहिरो अन्धीगल्छी पनि उति सारो रोमाञ्चक होइन । बलेवाको यो गल्छी वास्तवमै रोमाञ्चक छ । यस्तो प्राकृतिक छटा धेरै छैन नेपालमा । मेरो मुस्ताङ कोबाङमा सय मिटर पूर्वी दिशाबाट बग्ने कालीगण्डकी कुन प्रेरणाले बलेवामा सयौं मिटर तल धस्सिँदै बगेको होला ? करोडौं वर्षअघि भौगर्भिक कारणले भूसतहमा विषमता आएको हुनुपर्छ तर शालिग्राम स्पर्श गर्दै बग्ने खोला, देखिने हिमाल, चल्ने बतास र सुसाउने वन उही हो भन्ने भावनाले संवेदित हुन्छु । सत्ते भनेको, तर्कहरू बदलिन्छन् तर भावना बदलिन्न । दशकौंसम्म पनि । पारि डन्डीफोरजस्तो छरपस्ट कंक्रिट घरहरूको कुश्मा बजार देखिन्छ । असिनपसिन सहरीकरणको दौडमा सहभागी भएको । सहरको कुनै क्याफेमा पाटेभीरबारे सुनेको भए त्यसको प्रभाव खास पर्दैनथ्यो । तर, एकाध घण्टा सल्लेरी वनभित्र हिँडेर छेवैबाट मान्छेको बस्तीबाट टाढाको भीर हेर्नु भयप्रद अनुभव रहेछ । उनकी आमाका अनुसार, अहिलेसम्म त्यो भीरले १४ जनाको ज्यान लिइसक्यो । भीरसँग उनको व्यक्तिगत पीडा पनि गाँस्सिएको रहेछ । उनका ज्वाइँले त्यही भीरबाट हामफालेर आत्महत्या गरेछन् । पाटे भीर यति डरलाग्दो छ कि, सामान्य मनोदशामा त त्यसलाई देख्नासाथ मृत्युको कल्पना आउँछ । हतास मनस्थितिमा त त्यसले मान्छेलाई नाम काडेरै बोलाउँदो हो ।
टाढाको झोलुंगेपुलमा मानिसका आकृतिहरू देखिन्थे । त्यो नेपालकै सबभन्दा अग्लो झोलुंगे पुल । कुनै आकृति आख्यानकार तीर्थ गुरुङ र गनेश पौडेलको हुनुपर्छ । भर्खर दुबैलाई सल्लेरी वनको पुछारमा हामीले बिदा गरेका थियौं । त्यसपछि ‘मैदारो’ मा वर्णित भीर हेर्न यता हान्निएका थियौं । यान्त्रिक पुल बिग्रेकाले तीर्थ र गनेश झोलुंगेपुलबाटै फर्किए । तीर्थले ‘पाठशाला’ बेजोड लेखेको छ । गनेश पनि भोलि भारत जाँदै छ । दर्जनौं पैताला बोक्ने गनेश प्रायः यात्रामै भेटिन्छ । हिजो भ्युटावर उक्लँदा तीर्थलाई सारो पर्‍यो । ठिटाहरू उत्तेजित हुँदै कुदेपछि बाटो भुलेर वित्यास पर्‍यो । तीर्थ स्याँ स्याँ... भयो । ऊ तीर्थलाई सम्झाउँछ— बिस्तारै हिँड्नु तीर्थ, तिमीसँग गनेश छँदै छ ।
पाटे भीर ‘मैदारो’ मा भावभूमि भएर आएको छ । पाण्डुलिपि पढ्दा थाहा भयो । भीरको यथार्थलाई स्वैरकल्पनाको साँचोमा ढालेका छन् उनले । पहाडको ग्रामीण जनजीवन, जातीय विभेद, चित्रकार नदिमको निराशा र विद्रोह, माओवादी सशस्त्र संघर्षको पृष्ठभूमि, भीरको रोमाञ्चक प्रसंग, पँधेर्नीको कुराकानी र सुदूर भविष्यप्रतिको आशावादिता त्यसका कथ्यहरू छन् । उनले आफूले अनुभव गरेको, समाजकै कथा र पात्रहरूलाई उठाएका छन् । कुराकानीको दौरान थाहा भयो, उनकी भान्जीले गाउँको दलितसँग प्रेमविवाह गरेपछि परिवारमा भूकम्प नै गएछ । उनी र भाइले बुताले भ्याएसम्म सम्झाईबुझाई जेनतेन परिवारलाई सम्हालेछन् । त्यो घटनाले परिवारमा भयंकर हुन्डरी निम्त्याएछ । उनी सुनाउँछन्, ‘हाम्रो मनोविज्ञानमा जातीय विभेद कति भित्रसम्म जरा गाडेर बसेको रहेछ भन्ने त्यतिबेला मलाई अनुभव भयो ।’ त्यो घटनाले नै उनलाई ‘मैदारो’ लेख्ने प्रेरणा र साहस दिएको हुनुपर्छ । पाण्डुलिपि पढ्दाको सीमित प्रभाव पाटे भीर, पैयुँपाटा, अमलाचौर, कालिकास्थान, कुश्मिशेरा र सल्लेरी वन घुमेपछि सघन बन्दै गयो ।
नेपाली साहित्यमा भीरको प्रसंगहरू आउँदै नआएका होइनन् । पर्याप्त आएनन् कि ? भावभूमिकै रूपमा आउने त अझै कम होला । मलाई लीलबहादुर क्षत्रीको उपन्यास ‘बसाइँ’को सम्झना आउँछ । प्रमाणपत्र तहमा पढ्नुपर्थ्यो । राँकेभीरबाट हामफालेर आत्महत्या गर्न खोजेकी झुमालाई मोटे कार्कीले बचाउँछ । त्यस्तै आख्यानकार राजन मुकारुङको उपन्यासको त शीर्षक नै छ ‘दमिनी भीर’ । काजीबाट बलात्कृत भएपछि घरमाथिको भीरबाट हामफालेर दमिनीले आत्महत्या गर्छिन् । असमानता र विभेदको कथा छ,
‘दमिनी भीर’ मा । भीर सजिलो उपायजस्तो देखिन्छ, आत्महत्या गर्न । घाँसदाउरा, चरिचरनमा जाँदा क्षणिक आवेशको क्षण मृत्युवरण गर्न सजिलो माध्यम । मान्छेले गर्दै आएको पनि त्यही देखिन्छ । खोलानजिक छ भने त्यसैमा हेलिने, भीर छ भने त्यसैबाट हाम फाल्ने । त्यस्ता माध्यमहरू सहजै उपलब्ध नहुँदा हुन् त, आवेश शान्त भएपछि आत्महत्या गर्न खोज्नेले पक्कै पुनर्विचार गर्थ्यो ।
कलंकीबाट बिहान हिँडेको, बलेवा पुग्दा साँझै पर्‍यो । सुई खेत, लुम्ले, नयाँ पुल एरियाको बाटो विस्तारले गाडी अबेर भयो । घाम डाँडामुन्तिर ओर्लिंदै थियो । गल्छी अँध्यारोमा डुब्दै थियो । त्यो नै त्यो दिनको अन्तिम ट्रिप थियो । मनमा डर पलायो । यान्त्रिक पुल धेरै अग्लाइमा चल्छ । घाम नदेख्दा यसै चिसो अनुभूति हुन्छ । तर रोमाञ्च भाव बढी हुँदा डर सतहमा आउन पाएन । अन्तरमा कतै चेपिएर रह्यो । डर निरीह भएपछि नै मानिस बलियो देखिने हो । डब्बा बिस्तारै अघि बढिरहेको थियो ।
धेरैमुनि धूमिल कालीगण्डकी बगिरहेको थियो । दिनभरको यात्राले थकित थिए । थाकेको अवसर पारेर हल्का उदासीपन घेर्न आउँदै थियो । काठमाडौं बस्दा उकुसमुकुसै भएको थिए । एक दिन उनको फोन आयो ‘बलेवा महोत्सव हुँदै छ, समय मिलाएर पुगौं ब्रदर ।’ त्यसो त उनको गाउँ जाने कुराकानी नभएको होइन तर व्यस्तताले जान सकिरहेको थिइनँ । यसपालि अनुकूल मिल्यो । झोलामा एक जोर कपडा र मञ्जन ब्रस हालेर कुदिहाले । उनी चितवनबाट गाडी चढ्छन् । म काठमाडौंबाट । पोखराबाट तीर्थ र गणेश मिस्सिएपछि यात्रा झन् रोमाञ्चक बन्छ ।
बलेवा महोत्सव मात्र थिएन । समाजको दुर्दान्त घाउलाई केही नजिकबाट नियाल्ने अवसर थियो । मानव जातिकै कलंक वर्णव्यवस्थालाई नजिकबाट बुझ्ने यात्रा थियो । उक्त यात्रालाई नामकरण गर्दा उपयुक्त नाम हुन्छ– ‘मैदारो ट्रेल’ । मोटरगाडीमै पुग्न सकिन्थ्यो भने अन्य नाम उपयुक्त हुन्थ्यो । हिँडेर मात्र पुग्न सकिने ठाउँ भएकाले ट्रेल । पदमार्ग । जीवनमा आधा दर्जन ट्रेलहरूको यात्रा गरियो । लाङटाङ, कञ्चनजंगा, अन्नपूर्ण, हेलम्बु, तीनजुरे, तामाङ हेरिटेज र सगरमाथा ट्रेल । ती मूलतः प्राकृतिक थिए, मैदारो ट्रेल सामाजिक र राजनीतिक लाग्यो । मैदारो ट्रेल सारमा विचारको भित्री यात्रा रहेछ ।
समाज उल्टो दिशातिर हिँडेकाले प्रमुख पात्र नदिन उल्टो पेन्टिङ बनाउँछ । चमेरा विम्ब कभरमा सटीक छ । चरम निराशाका क्षणबाट निस्केर उज्यालोतिरको यात्राले ऊर्जा दिन्छ । नदिन आफ्नो जीवन दृष्टिकोण यसरी अभिव्यक्त गर्छ, ‘उल्टोलाई उल्टाउँदा सुल्टो हुन्छ ।’ तर, यात्रा कदाचित सहज छैन । कथ्यले अनेकन घुम्तीहरू छिचोल्छन् र अनुभूतिको भिन्न लोकमा पाठकलाई पुर्‍याउँछन् । राजनीतिसँग जोडिएको वैचारिकी अर्को पाटो छ । शान्तिपूर्ण आन्दोलन र सशस्त्र संघर्षबीचको घर्षण वस्तुतः वैचारिक घर्षणहरू हुन् । उनको वैचारिकीलाई यी घर्षणहरूमा खोज्न सकिन्छ । ‘मैदारो’ मा प्राकृतिक भीर भन्दा मानव निर्मित भीरले तेर्स्याएका पीडा, विव्ल्याटा र संघर्षहरू धेरै छन् । जातीय विभेदका असुरी भीरहरू झन् निर्मम । दृश्यभन्दा अदृश्य भीर झन् खतरनाक । स्थूलभन्दा सूक्ष्म भीर थप जोमिखपूर्ण । उत्तिकै छली पनि । नदेखिनाले छैन भन्ने भ्रम पनि सिर्जना हुने । विसं २००४ सालमै बाग्लुङमा जन्मेका सर्वजित विश्वकर्माले सर्वजन संघ स्थापना गरी यस भेगमा दलनविरुद्व आन्दोलन थालेको इतिहास भेटिन्छ । अम्बेडकर र गान्धीको प्रभावमा बनारसबाटै पर्चा छपाएर सर्वजितले बाग्लुङको ओमप्रसाद चौतारामा पहिलो कार्यक्रम गरेका थिए । लामो समय त्यो इतिहास विस्मृतिकै गर्तमा पुरियो । ‘मैदारो’ ले त्यसलाई उत्खनन गर्दै वर्तमान समयको आलोकमा नियाल्ने प्रयास गरेको छ । त्यसैले त्यसको महत्त्व ऐतिहासिक छ । सारमा मैदारो मानवनिर्मित भीरहरूको कथा हो ।
उनी एकाङ्की छैनन् । न सामाजिक यथार्थवादी क्याम्पमा सीमित छन् । न त स्वैरकल्पनाको । बरु झोलुंगेपुलजस्तो दुवै विचारहरूको सेतु बनेका छन् । माटोको यथार्थ छ । बुनोटमा स्वैरकल्पना । कुशल संयोजन उनको आर्जन ।
हर्मन मेलभिलले सन् १८५१ मा कालजयी उपन्यास लेखे– ‘मोवी डिक’ । अहेब ह्वेलसँग बदला लिन चाहन्छ । कारण ह्वेलले उनको खुट्टा खाइदिएको छ । समुद्री भावभूमिमा उक्त पुस्तकले मान्छेको अठोटको कथा भन्छ । समालोचनाको एउटा स्कुलले अचम्मको निष्कर्ष निकाल्यो– ‘मोबी डिक’ मा ह्वेल छैन । ह्वेल मात्र मेटाफोर हो । आश्चर्य ! अधिकांश पाठक त्यहाँ समुद्री यात्रा, हारपुन र ह्वेलैह्वेल देख्छ । सिम्बोलिस्टहरूको त्यो निष्कर्ष अपत्यारिलो लाग्छ । ह्वेललाई प्राणी नमानेर खराब प्रवृत्तिको समुच्चय मान्दा भने त्यो पत्यारिलो सुनिन्छ । त्यसैको सापेक्षमा, ‘मैदारो’मा पनि भीर छैन भन्यो भने, त्यो संश्लेषण पनि तर्कसंगत बन्छ । अदृश्य भीरलाई सघाउने पाटेभीर पनि मेटाफोर नै हो । कविको अन्तरदृष्टिबिना त्यस्तो मेटाफोर बन्दैन । आख्यान साहित्यमा ‘मैदारो’ लाई सुखद आगमन ठानेको छु । मलाई यो सुन्दर लागेको छ, समग्र मूल्याङ्कन भने भविष्यको गर्भमै निहित छ । भोलि काठमाडौं फर्कनु छ । तर म सोच्छु, वैचारिक हिसाबले भोलि पनि म पृथ्वी राजमार्गभन्दा बढीे मैदारो ट्रेलमै यात्रा गरिरहेको हुनेछु ।

प्रकाशित : चैत्र ३०, २०७५ १२:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?