कामदारलाई कसले सम्झेला !

कसरी बन्दै छ काष्ठमण्डप ? कसले बनाउँदै छ ?
शिशिर वैद्य

काठमाडौँ — घरहरा कसले बनायो ? तपाईं सजिलै जवाफ दिन सक्नुहुन्छ  । भीमसेन थापा  ।

त्यस्तै रानीपोखरी कसले बनायो ? भन्दा राजा प्रताप मल्लको नाम तपाईंलाई कण्ठस्थ छ । धरहरा, रानीपोखरी निर्माणका यी तथ्यहरू तपाईं हामीले पुस्तकमा पढेका छौं । वा कसैले भनेको सुनेका छौं । शिलालेख र ऐतिहासिक दस्तावेज पढ्न सक्नेले त्यहाँबाट थाहा पाए । राजामहाराजाको स्तुति र विवरणले भरिएका शिलालेखमा ती सम्पदा कसको वास्तुकला हो ? प्राविधिकहरू कहाँका प्रयोग भएका थिए ? कति जनशक्ति प्रयोग भएका थिए भन्ने विवरण भने पाइँदैन । शताब्दियौंदेखि ठडिएका हाम्रा ऐतिहासिक एवं सांस्कृतिक सम्पदा कसका योगदान हुन् त ? यो इतिहासको दस्तावेजमा भेटिन सायदै सम्भव छ ।


काष्ठमण्डप पुनर्निर्माण चर्चाको चुलीमा छ । कसले बनाएका थिए त यो मण्डप ? यसको अभिलेख भेटिएको छैन । छ त केवल एउटा लोककथा । कथामा काष्ठमण्डप एकै रूखको काठले बनेको थियो भनिएको छ । तर बहत्तर सालको भूकम्पपछि काष्ठमण्डपको भग्नावशेषमा भेटिएका विभिन्न काठहरूले कल्पवृक्षसँग गाँसिएको उक्त लोककथालाई चुनौती दिएको छ । लोककथामा काष्ठमण्डप बनाउने शिल्पीहरूको चर्चा छैन । यो आलेखमा तिनै चर्चा नगरिने पर्दापछाडिका पात्रहरूका विषयमा केही चर्चा गर्न खोजिएको छ ।
काष्ठमण्डप पुनर्निर्माणमा मौलिक प्रविधि एवं परम्परागत ज्ञान र सीपको प्रयोग भइरहेको छ । परम्परागत प्रविधि र ज्ञानलाई धानेका केही शिल्पीहरू काष्ठमण्डप पुनर्निर्माणमा खटिएका छन् । लामो विवादपछि सुरु भएको काष्ठमण्डप पुनर्निर्माणमा नयाँ प्रविधिको प्रयोग नगरिने निश्चय लिइएको छ । काष्ठमण्डप पुनर्निर्माणका लागि एक समिति गठन भएको छ । अध्यक्ष हुन् प्रदेश तीनका सांसद राजेश शाक्य । समितिका सचिवको जिम्मेवारीमा छन् गौतम डंगोल ।


विज्ञहरूको एक समिति पनि गठन भएको छ । प्रा.डा. सुदर्शनराज तिवारी, प्रा.डा. प्रेमनाथ मास्के, काई वाइजे, पद्मसुन्दर जोशी, कुलभक्त शाक्य, अरुणा नकर्मी छन् समितिमा । प्रा. तिवारी सम्पदा संरक्षणका गुरु हुन् । प्रा. मास्के स्ट्रक्चर इन्जिनियर हुन् । वाइजे संरक्षण वास्तुकलाविद् । नकर्मी हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख हुन् । काष्ठमण्डप पूनर्निर्माण एवं प्राविधिक कार्यको व्यवस्थापन एवं संयोजनको जिम्मेवारीमा छन् वास्तुकलाविद् मणिन्द्र श्रेष्ठ । पुरातत्त्व विभागका पूर्वकर्मचारी अमृतरत्न शाक्यस्थल सुपरिवेक्षणको कार्यमा खटिएका छन् । त्यस्तै संरक्षण वास्तुकलाविद्हरू विनिता मगैया र एनी जोशी हरेक कार्यहरूलाई नजिकबाट नियालेर ती कार्यलाई अभिलेखीकरण गरिरहेका छन् ।
काष्ठमण्डप पुनर्निर्माण सुरु गर्दा समितिको सबभन्दा ठूलो चुनौती थियो काठ । झन्डै बाह्र हजार क्यूफिट काठ सहज रूपमा पाउन सजिलो थिएन । टिम्बर कर्पोरेसन अफ नेपाल मार्फत विभिन्न चरणमा हेटौंडा, बर्दीबास, पर्सा आदि स्थानहरूबाट आवश्यक काठ उपलब्ध हुँदै आएको छ ।
काष्ठमण्डपको जगको काम सम्पन्न भइसकेको छ । जगमा प्रयोग भएको इँटा र आजभोलि बजारमा पाइने इँटाको आकार मिल्दैन । माः अप्पा भनिने इँटाको चौडाइ बढी र मोटाइ कम छ । माः अप्पा बनाउने जिम्मा भक्तपुरको दक्षिण बाराही इँटा उद्योगलाई दिइएको छ । उद्योगले आवश्यक गुणस्तरको इँटा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरिसकेको छ । पुनर्निर्माणको काममा खटिएका डकर्मी कृष्ण राजचलका अनुसार काष्ठमण्डपको जगमा प्रयोग भएको इँटा निकै बलियो छ । त्यसैले जग अझै बलियो छ । केही भएको छैन । उनी भन्छन्, ‘पहिलेको माटो र अहिलेको माटो नै फरक छ । त्यसैले इँटा फरक हुनु स्वाभाविक हो । हामी उपलब्ध इँटाबाटै सकेसम्म राम्रो बनाउने प्रयासमा छौं ।’
६७ वर्षीय राजचल भक्तपुर सुकुल ढोकाका स्थानीय हुन् । कृष्ण राजचलले डकर्मी काम गर्न थालेको चार दशक नाघिसकेको छ । ज्यामी काम गर्दागर्दै काम सिकेका राजचललाई डकर्मी काम सिकाउने गुरु थिए काशीबहादुर अवाले । राजचलसँगै काम गरिरहेका थिए तुलसीप्रसाद माखास्या र कृष्णप्रसाद घेंमसु । सहयोगी कामदार थिए रामेश्वर भेले । तुलसीप्रसाद माखास्या भक्तपुर तल्को निवासी हुन् । उनी पनि चार दशकदेखि यही पेसामा छन् । इन्द्रदहस्थित मनकामनाको मन्दिर जीर्णोद्धार गरिसकेर भर्खर काष्ठमण्डप फर्किएका माखास्या भन्छन्, ‘यो काम हाम्रा लागि नौलो होइन । किनभने यो हाम्रो दैनिकी हो । माटोको घर बनाउँदाबनाउँदै मेरो युवा उमेर कट्यो ।’
भूकम्पपछि पनि थुप्रै माटोका घर मर्मत गरेका छन् माखास्याले । माटो जोडाइको काम गर्न सजिलो छैन भन्छन् उनी । गन्ती चा र पं चा र हल्का मिहिन बालुवा मिसाएर लस्सा आउने गरी फिटेर माटो तयार पार्नुपर्छ । यसरी माटो तयार पार्दा धेरै लस्सा आउनु पनि नहुने माखास्या बताउँछन् । काष्ठमण्डप पुनर्निर्माणमा भक्तपुरका दक्ष र अनुभवी डकर्मी, सिकर्मी, ल्वंकःमी (ढुंगाका कामगर्ने कालीगढ) र खः ग्वईपीं (खट बनाउनेहरू) खटिएका छन् । त्यस्तै काष्ठमण्डप पुनर्निर्माणको काममा प्रत्येक क्षण कमिला सरी डटिरहने अर्को टोली हो ज्यामीहरूको टोली । अहिले मुख्यतया धरान–धनकुटातिरका लिम्बुहरू र बर्दियाका थारू समुदायका युवाहरू गरी औसतमा दैनिक दस जना कामदारहरू खटिरहेका छन् ।


सिंकःमी टोलीका नाइके हुन् लक्ष्मीभक्त राजचल । लक्ष्मीभक्त पनि भक्तपुरकै बासिन्दा हुन् । ७३ वर्षीय लक्ष्मीभक्तसँग थुप्रै पुरातात्त्विक महत्त्वका मठ, मन्दिर, पाटी, पौवा मर्मतको अनुभव छ । लक्ष्मीका लागि काष्ठमण्डपमा गरिरहेको काम नौलो होइन । त्यसैले उनी यसमा कुनै चुनौती देख्दैनन् । चुनौती सुरु गर्ने बेला थियो भन्छन् उनी । भग्नावशेषबाट काठ छुट्याएर कुन काठ कहाँको भनेर पत्ता लगाउन झन्डै डेढ महिना लागेको थियो । अब यो ठड्याउन पनि समस्या छैन भन्छन् उनी । किन ? उनी भन्छन्— मूल थाम (पिलर) पुरानै बस्ने भएपछि उचाइ कत्रो बनाउने भन्ने प्रश्नै बाँकी रहेन । त्यहीअनुसार सबै बस्नैपर्ने भो । लक्ष्मी विश्वासका साथ भन्छन् काष्ठमण्डप दुरुस्त बन्छ ।
काष्ठमण्डपमा सबैभन्दा धेरै काम लक्ष्मीभक्तको टोलीको छ । सयवटा काठका अग्लाअग्ला थाम बनाउनु छ । ती काठलाई निनाः (निदाल), छतका लागि चाहिने काठ तयार पार्नु छ । थुप्रै काम छ अझै । अहिले भइरहेको काम त तयारी मात्रै हो भन्छन् लक्ष्मी । उनलाई यो तयारीको चरणमा उनकै भाइ तथा छोराहरूले साथ दिइरहेका छन् ।
लक्ष्मीभक्त राजचल, कृष्ण राजचल, तुलसीप्रसाद माखास्या, कृष्णप्रसाद घेंमेसुलगायत थुप्रै प्राविधिकहरू आ–आफ्नो दक्षताअनुसार काष्ठमण्डप पुनर्निर्माणको काम गरिरहेका छन् । यता प्राविधिक टोलीका मणीन्द्र श्रेष्ठ, अमृतरत्न शाक्य, शैलेश राजभण्डारी, करिसनमान सिं, विनीता मगैया, एनी जोशीहरू काष्ठमण्डपलाई दुरुस्त बनाउन यसका ऐतिहासिक तस्बिरहरू, चित्रकलाहरू, ऐतिहासिक दस्तावेजहरू पल्टाउनमा व्यस्त छन् । भेटिएका स–साना तथ्यहरूलाई उनीहरू संगृहीत गर्ने, छलफल गर्ने र त्यसलाई जस्ताको तस्तै काष्ठमण्डपको नयाँ संरचनामा अटाउने प्रयासमा छन् उनीहरू । श्रेष्ठ भन्छन्, ‘काष्ठमण्डप हामी सबैका लागि ऐतिहासिक र चुनौतीपूर्ण काम हो । यो काम सफलतापूर्वक सम्पन्न हुनु सम्पूर्ण टोलीकै जीवनभरिको अविस्मरणीय क्षण हुनेछ ।’
काष्ठमण्डप तयार भइसकेपछि पुनर्निर्माणमा खटिएका प्राविधिक र विज्ञहरूको नाम कसैले सम्झिन्छन् त ? भन्ने जिज्ञासामा लक्ष्मीलगायत सबैको एकै स्वर छ, ‘कामदारलाई कसले सम्झिन्छ र ? यो हाम्रो काम हो । काम राम्रोसँग सम्पन्न हुनु नै हाम्रो सफलता हो । यसैमा हामी सन्तुष्ट हुनेछौं ।’
ऐतिहासिक सम्पदाको शिलालेखमा र दस्तावेजमा शासकको र राष्ट्रप्रमुखको मात्र नाम लेख्ने परम्पराले कति जनशक्ति प्रयोग भएका थिए । कति लागत लागेको थियो । कस्ताकस्ता प्राविधिक प्रयोग भएका थिए ? भन्ने कुराको जानकारी दिंदैन । काष्ठमण्डप होस् वा रानीपोखरी पुनर्निर्माण योगदान गरेका यस्ता दक्ष कामदारहरूको नाम भोलिको पुस्ताले पुरातत्त्व र सम्पदाको इतिहासमा नभेट्नु दुर्भाग्यपूर्ण हुनेछ । जसरी आज हामीलाई यकिन थाहा छैन मूलतः काष्ठमण्डप कसको देन थियो ?

प्रकाशित : चैत्र ३०, २०७५ १२:००
प्रतिक्रिया
पठाउनुहोस्

भोलिको पुस्ताले के हेर्ला ?

जुन रूप र गतिमा काठमाडौं उपत्यकाका सांस्कृतिक सम्पदाहरूमाथि अतिक्रमण भइरहेको छ, जसरी यहाँका धार्मिक पीठ, खेतीयोग्य जमिन मासिंँदै छन्, यही गति कायम रहे उपत्यकाको वैभव के होला ? 
शिशिर वैद्य

काठमाडौँ — काठमाडौं उपत्यका सम्पदा सहरहरूले धनी छ । पूर्व, पश्चिम, उत्तर, दक्षिण चारैतिर छरिएर बसेका स–साना बस्तीहरू– हरिसिद्धि, लुभु, ठेचो, बज्रबाराही, साँखु, खोकना, टोखा, इचंगु, चाँगु, मनमैजु, धर्मस्थली, सिद्धिपुर, इन्द्रायणी, हाँडीगाउँ, बज्रबाराही आदि सहरहरूमा मनाइने चाडपर्वहरू यहाँको मौलिक सांस्कृतिक एवं ऐतिहासिक सम्पदा हुन् ।

अर्थात् सम्पत्ति, वैभव, धन । यस अर्थले यहाँका विभिन्न सम्पदा र संस्कृति राष्ट्रिय वैभव हुन् ।

सांस्कृतिक सम्पदाले प्राचीन मानव बस्ती, तिनका ऐतिहासिक एवं परम्परागत वास्तुकला, जात्रा–पर्व, रहनसहन, संस्कार र संस्कृति आदिलाई बुझाउँछ । प्राचीन सहर वा गाउँको बनावट, त्यहाँका घरहरू, बाटोघाटो, गोरेटो, चोक, पाटी–पौवा, पोखरी, मानव निर्मित थुप्रै संरचना ।

देवीदेवता राख्ने स्थान– द्य छें, विभिन्न संस्कृति मनाउन चाहिने खुला ठाउँ– ख्य:, वृद्धवृद्धालाई बसिबियाँलो गर्न बनाइएका फल्चा, लाछी, व्यवस्थित पानीका स्रोत– इनार, ढुंगेधारा, राजकुलो, यी स्रोतलाई सफा राख्न हरेक वर्ष मनाइने पर्व, सिठी नख: । उपत्यकामा अकाल पर्दा सुुरु भएको मानिने वर्षाको देवताको पूजा र यस्तै अनेक किंवदन्तीका आधारमा मनाइने चाडपर्व उपत्यकाका सांस्कृतिक सम्पदा हुन् ।

के हामी हजारौं वर्षदेखि संरक्षित उपत्यकाका यी प्राचीन सांस्कृतिक सम्पदा नयाँ पुस्तालाई हस्तान्तर गर्न सक्षम छौं ? जुन रूप र गतिमा काठमाडौं उपत्यकाका सांस्कृतिक सम्पदाहरूमाथि अतिक्रमण भइरहेको छ, जसरी यहाँका धार्मिक पीठ, खेतीयोग्य जमिन मासिंँदैछन्, यही गति कायम रहे उपत्यकाको वैभवका रूपमा रहेका नेवारी सभ्यता भावी पुस्ताले देख्न–भोग्न पाउने छैनन् ।

अर्थात भावी पुस्ताले यहाँको स्थानीय संस्कार र संस्कृति के हो ? मौलिक वास्तुकला कस्ता थिए ? सामाजिक अवस्था कस्तो थियो ? भाषा, लवाइ, खवाइ कस्ता थिए ? स्थानीय र रैथाने कृषि उपज के थिए ? कस्ता निर्माण सामग्री प्रयोग गर्थे ? भन्ने भेउ पाउने छैनन् ।

एउटा उदाहरण लिउँ– सेतो मछिन्द्रनाथको प्रांगणमा ‘द्य छें’ (देउताको घर) बन्दैछ । दिगी छें पनि भनिन्छ, यसलाई । निकै ठूलठूला पिलर, बिम राखेर भूकम्प प्रतिरोधी बन्दैछ, घर । पिलर र बिम रहेको भवनमा स्लाब ढलान गरिएको छैन । बरु बिममा चुकुल बाँधेर चौडा दलिन हालिएको छ ।

त्यसमाथि फल्याक ठोकिएको छ । सबै बिमहरूलाई फल्याकले छोप्ने कार्य चलिरहेको छ । इँटाका भित्तालाई परम्परागत टायलले छोपेर पाटी निर्माण हुँदैछ । वास्तु प्रविधिको अद्भुत प्रयोग भइरहेको छ । यसले न परम्परागत वास्तुकलालाई प्रतिनिधित्व गर्छ, न आधुनिक ।

यस्ता उदाहरण सहरभरि भेटिन्छन् । चाहे त्यो सम्पदा पुनर्निर्माण होस् वा निजी घर । परम्परागत वास्तुकला झल्किनेगरी झ्याल, ढोका, इँटाका बुट्टाहरू प्रयोग गरी बनेका यस्ता घरहरूले मौलिक वास्तुकलाको प्रतिनिधित्व पक्कै गर्दैन ।

जस्तो शिक्षा, उस्तै प्रयोग । अधिकांश नववास्तुकलाविद्हरू आधुनिक प्रविधिलाई नै सबैभन्दा उत्तम ठान्छन् । बलियो मान्छन् । उनीहरूले नपढेका होइनन्– घर निर्माणमा प्रयोग हुने निर्माण सामग्री र सीप पनि परम्परागत वास्तुकलाका अंग हुन् । वास्तुकलाका गुरुहरू भन्छन्, यी सांस्कृतिक सम्पदा उपत्यकाको प्राकृतिक वातावरणलाई ध्यानमा राखेर बनाइएका थिए । मानव निर्मित संरचना र प्राकृतिक वातावरणबीच गहिरो अन्तरसम्बन्ध थियो ।

आज हामी सहरीकरण, पूर्वाधार विकास, तीव्र आर्थिक प्रतिस्पर्धा, बजार विस्तार, ठूलठूला संरचना निर्माणको होडमा छौं । नयाँ प्रविधि र निर्माण सामग्रीको प्रयोग गरी भइरहेको यो होडले व्यापक वातावरण प्रदूषण निम्त्याएको छ । विश्वव्यापी रूपमै भइरहेका यी गतिविधिलाई संस्कृति र सम्पदा विरोधी गतिविधि मानिन्छन् ।

२०७२ सालको महाभूकम्पले उपत्यकाका निजी घरहरू र अधिकांश सम्पदाको विनाश गर्‍यो । सम्पदा संरक्षणमा भूकम्प थप चुनौती बनिदियो । महाभूकम्पको पीडा आलो छँदै पूर्वाधार विकासका नाममा सम्पदा सहरहरूको अस्तित्व नै नामेट हुनेगरी तयार पारिएको पूर्वाधार विकासका बृहत आयोजनाले स्थानीयबासीलाई झन् प्रताडित बनायो ।

त्यस्तै सरकारले उपत्यकाभित्र थप दस नयाँ सहरको निर्माण गर्ने योजना बनाएको छ । यी आयोजनाहरू कार्यान्वयनमा आए उपत्यकाको सम्पदा र संस्कृति पूर्णरूपमा विलुप्त हुने सम्पदाप्रेमीहरूको दाबा छ । यस्तो समस्या हामीकहाँ मात्रै सीमित छैन । विश्वका अन्य देशमा पनि हाइवे, एक्सप्रेस वे, ड्याम निर्माणका क्रममा सम्पदा नाशिएका र अतिक्रमण भएका उदाहरणहरू थुप्रै छन् ।

सम्पदा र संस्कृतिसँगै मानव सभ्यता र सहर विकासको इतिहास पनि जोडिन्छ । ऐतिहासिक सम्पदा र संस्कृति बाँचिरह्यो भने त्यस स्थानको पहिचान र इतिहास पनि बाँचिरहन्छ । वास्तुकलाविद् मणिन्द्र श्रेष्ठ भन्छन्– ‘सडक निर्माण, जलविद्युत आयोजना निर्माण र प्रसारण लाइन निर्माण गर्दा वातावरण प्रभाव मूल्यांकन गरिन्छ । सहरको विस्तार, विकास र सडक विस्तारका योजना बनाउँदा कानुनमा रहेको ‘सम्पदा प्रभाव मूल्यांकन’को प्रावधानलाई कार्यान्वयन गर्नसके यसले सम्पदा र संस्कृतिमा पर्नसक्ने सम्भावित असर र अतिक्रमण न्यून गर्न मद्दत गर्नेछ ।’

नियमित रूपमा रेखदेख सम्पदा संरक्षणका लागि अति आवश्यक कार्य हो । लामो समयसम्म वास्ता नगर्दा सम्पदा निर्माणमा प्रयोग भएका निर्माण सामग्री जीर्ण बन्दै जाने र क्षति सोचेभन्दा बढी हुने गर्छ ।
सहरीकरण र जनसंख्या वृद्धिले उपत्यकामा बचेखुचेका खेतीयोग्य जमिन र सम्पदा नाश हुने क्रम बढेको छ ।

विकास प्रक्रियामा यस्तै हुने हो भन्ने सहरी योजनाकारको भनाइ रहे पनि सम्पदाप्रेमीहरू यसलाई विनाश ठान्छन् । यसले सम्पदाप्रेमी, स्थानीय बासिन्दा र सहरी योजनाकारहरूबीच नयाँ सहर निर्माणका विषयमा मतभिन्नता बढेको छ । सम्पदाविद्हरू भन्छन्– ‘सहरी योजनाकारहरूमा सम्पदा बचाउनुपर्छ भन्ने हेक्का निकै कम छ ।’

सहरी योजनाकारहरू भन्छन्– जग्गा नमासी सडक, बिजुली, रेल, रंगशाला आदि कुन देशमा बनेको छ र ? सम्पदाको महत्त्व नबुझ्दा यस्ता प्रश्न आउनु स्वाभाविक हो । सम्पदाहरूले भरिएको सहरको सम्बन्ध जनजीवन, रहन–सहन, संस्कृति जस्ता मानवशास्त्रीय र समाजशास्त्रीय ज्ञानहरूसँग हुन्छ । यी विषयलाई सहरी योजनाकारहरू वास्ता गर्दैनन् ।

नयाँ पुस्ताका प्राविधिकहरू सर्वसुलभ रूपमा पाइने आधुनिक प्रविधि र निर्माण सामग्रीलाई प्राथमिकता दिने गर्छन् । उनीहरू परम्परागत प्रविधि र निर्माण सामग्री प्रयोग गरी सम्पदा पुनर्निर्माण गर्न सकिन्छ भन्ने तर्कलाई समयानुकूल ठान्दैनन् । वास्तुविद् श्रेष्ठ भन्छन्– ‘हाम्रा परम्परागत निर्माण प्रविधि र सामग्री पनि हाम्रा सम्पदा हुन् । यी परम्परागत प्रविधिसँग आधुनिक इन्जिनियरिङको कुनै तुलनै हुन सक्दैन । आधुनिक प्रविधिको आफ्नो छुट्टै स्थान छ ।’

उपत्यकाका सांस्कृतिक सम्पदाको संरक्षणको चर्चा चल्दा यसको विश्वव्यापी महत्त्व बिर्सनु हुँदैन । उपत्यकाको सम्पदा सांस्कृतिक पर्यटनका दृष्टिकोणले निकै महत्त्वपूर्ण मानिन्छ । तर पर्यटन र पर्यटकका लागि सम्पदा जोगाउनुपर्छ भन्ने तर्क गलत हो । वास्तुविद् श्रेष्ठ भन्छन्– ‘सम्पदा भनेको आफ्नो इतिहास, परम्परा र पहिचानसँग गाँसिएको कुरा हो । यसलाई पहिले आफ्नोलागि जोगाउनुपर्छ । यो चेतना नआएसम्म सम्पदा संरक्षण हुन सक्दैन ।’

नयाँ पुस्ताका वास्तुविद्हरूलाई परम्परागत प्रविधि अर्थात इँटा, माटो र काठबाट बन्ने संरचनाको महत्त्व बुझाउन अति आवश्यक भइसकेको छ । परम्परागत प्रविधिबारे ज्ञान हस्तान्तरण नहुने हो भने पारम्परिक प्राविधिक सीप लोप हुनेछ । सम्पदा संरक्षण सरकारको मात्र दायित्व पक्कै होइन । यसको संरक्षणमा सर्वसाधारणको भूमिका अहम् हुन्छ ।

रानीपोखरी, काष्ठमण्डप पुनर्निर्माणका क्रममा गैरपारम्परिक निर्माण सामग्री र प्रविधिको प्रयोग रोक्न जनस्तरबाट भएको हस्तक्षेप र विरोधले दिएको सन्देश यही हो ।

सम्पदा माथिको यो डरलाग्दो अतिक्रमण कसले रोक्ने ? नगरपालिका, स्थानीय निकाय, पुरातत्त्व जस्ता नियामक निकायको आँखा छलेर घर निर्माण त पक्कै होला । तर सम्पदा र सभ्यताको हस्तान्तरण भने रोकिनेछ ।

प्रकाशित : मंसिर २२, २०७५ ०८:००
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
×