कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

कामदारलाई कसले सम्झेला !

कसरी बन्दै छ काष्ठमण्डप ? कसले बनाउँदै छ ?
शिशिर वैद्य

काठमाडौँ — घरहरा कसले बनायो ? तपाईं सजिलै जवाफ दिन सक्नुहुन्छ  । भीमसेन थापा  ।

कामदारलाई कसले सम्झेला !

त्यस्तै रानीपोखरी कसले बनायो ? भन्दा राजा प्रताप मल्लको नाम तपाईंलाई कण्ठस्थ छ । धरहरा, रानीपोखरी निर्माणका यी तथ्यहरू तपाईं हामीले पुस्तकमा पढेका छौं । वा कसैले भनेको सुनेका छौं । शिलालेख र ऐतिहासिक दस्तावेज पढ्न सक्नेले त्यहाँबाट थाहा पाए । राजामहाराजाको स्तुति र विवरणले भरिएका शिलालेखमा ती सम्पदा कसको वास्तुकला हो ? प्राविधिकहरू कहाँका प्रयोग भएका थिए ? कति जनशक्ति प्रयोग भएका थिए भन्ने विवरण भने पाइँदैन । शताब्दियौंदेखि ठडिएका हाम्रा ऐतिहासिक एवं सांस्कृतिक सम्पदा कसका योगदान हुन् त ? यो इतिहासको दस्तावेजमा भेटिन सायदै सम्भव छ ।


काष्ठमण्डप पुनर्निर्माण चर्चाको चुलीमा छ । कसले बनाएका थिए त यो मण्डप ? यसको अभिलेख भेटिएको छैन । छ त केवल एउटा लोककथा । कथामा काष्ठमण्डप एकै रूखको काठले बनेको थियो भनिएको छ । तर बहत्तर सालको भूकम्पपछि काष्ठमण्डपको भग्नावशेषमा भेटिएका विभिन्न काठहरूले कल्पवृक्षसँग गाँसिएको उक्त लोककथालाई चुनौती दिएको छ । लोककथामा काष्ठमण्डप बनाउने शिल्पीहरूको चर्चा छैन । यो आलेखमा तिनै चर्चा नगरिने पर्दापछाडिका पात्रहरूका विषयमा केही चर्चा गर्न खोजिएको छ ।
काष्ठमण्डप पुनर्निर्माणमा मौलिक प्रविधि एवं परम्परागत ज्ञान र सीपको प्रयोग भइरहेको छ । परम्परागत प्रविधि र ज्ञानलाई धानेका केही शिल्पीहरू काष्ठमण्डप पुनर्निर्माणमा खटिएका छन् । लामो विवादपछि सुरु भएको काष्ठमण्डप पुनर्निर्माणमा नयाँ प्रविधिको प्रयोग नगरिने निश्चय लिइएको छ । काष्ठमण्डप पुनर्निर्माणका लागि एक समिति गठन भएको छ । अध्यक्ष हुन् प्रदेश तीनका सांसद राजेश शाक्य । समितिका सचिवको जिम्मेवारीमा छन् गौतम डंगोल ।


विज्ञहरूको एक समिति पनि गठन भएको छ । प्रा.डा. सुदर्शनराज तिवारी, प्रा.डा. प्रेमनाथ मास्के, काई वाइजे, पद्मसुन्दर जोशी, कुलभक्त शाक्य, अरुणा नकर्मी छन् समितिमा । प्रा. तिवारी सम्पदा संरक्षणका गुरु हुन् । प्रा. मास्के स्ट्रक्चर इन्जिनियर हुन् । वाइजे संरक्षण वास्तुकलाविद् । नकर्मी हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख हुन् । काष्ठमण्डप पूनर्निर्माण एवं प्राविधिक कार्यको व्यवस्थापन एवं संयोजनको जिम्मेवारीमा छन् वास्तुकलाविद् मणिन्द्र श्रेष्ठ । पुरातत्त्व विभागका पूर्वकर्मचारी अमृतरत्न शाक्यस्थल सुपरिवेक्षणको कार्यमा खटिएका छन् । त्यस्तै संरक्षण वास्तुकलाविद्हरू विनिता मगैया र एनी जोशी हरेक कार्यहरूलाई नजिकबाट नियालेर ती कार्यलाई अभिलेखीकरण गरिरहेका छन् ।
काष्ठमण्डप पुनर्निर्माण सुरु गर्दा समितिको सबभन्दा ठूलो चुनौती थियो काठ । झन्डै बाह्र हजार क्यूफिट काठ सहज रूपमा पाउन सजिलो थिएन । टिम्बर कर्पोरेसन अफ नेपाल मार्फत विभिन्न चरणमा हेटौंडा, बर्दीबास, पर्सा आदि स्थानहरूबाट आवश्यक काठ उपलब्ध हुँदै आएको छ ।
काष्ठमण्डपको जगको काम सम्पन्न भइसकेको छ । जगमा प्रयोग भएको इँटा र आजभोलि बजारमा पाइने इँटाको आकार मिल्दैन । माः अप्पा भनिने इँटाको चौडाइ बढी र मोटाइ कम छ । माः अप्पा बनाउने जिम्मा भक्तपुरको दक्षिण बाराही इँटा उद्योगलाई दिइएको छ । उद्योगले आवश्यक गुणस्तरको इँटा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरिसकेको छ । पुनर्निर्माणको काममा खटिएका डकर्मी कृष्ण राजचलका अनुसार काष्ठमण्डपको जगमा प्रयोग भएको इँटा निकै बलियो छ । त्यसैले जग अझै बलियो छ । केही भएको छैन । उनी भन्छन्, ‘पहिलेको माटो र अहिलेको माटो नै फरक छ । त्यसैले इँटा फरक हुनु स्वाभाविक हो । हामी उपलब्ध इँटाबाटै सकेसम्म राम्रो बनाउने प्रयासमा छौं ।’
६७ वर्षीय राजचल भक्तपुर सुकुल ढोकाका स्थानीय हुन् । कृष्ण राजचलले डकर्मी काम गर्न थालेको चार दशक नाघिसकेको छ । ज्यामी काम गर्दागर्दै काम सिकेका राजचललाई डकर्मी काम सिकाउने गुरु थिए काशीबहादुर अवाले । राजचलसँगै काम गरिरहेका थिए तुलसीप्रसाद माखास्या र कृष्णप्रसाद घेंमसु । सहयोगी कामदार थिए रामेश्वर भेले । तुलसीप्रसाद माखास्या भक्तपुर तल्को निवासी हुन् । उनी पनि चार दशकदेखि यही पेसामा छन् । इन्द्रदहस्थित मनकामनाको मन्दिर जीर्णोद्धार गरिसकेर भर्खर काष्ठमण्डप फर्किएका माखास्या भन्छन्, ‘यो काम हाम्रा लागि नौलो होइन । किनभने यो हाम्रो दैनिकी हो । माटोको घर बनाउँदाबनाउँदै मेरो युवा उमेर कट्यो ।’
भूकम्पपछि पनि थुप्रै माटोका घर मर्मत गरेका छन् माखास्याले । माटो जोडाइको काम गर्न सजिलो छैन भन्छन् उनी । गन्ती चा र पं चा र हल्का मिहिन बालुवा मिसाएर लस्सा आउने गरी फिटेर माटो तयार पार्नुपर्छ । यसरी माटो तयार पार्दा धेरै लस्सा आउनु पनि नहुने माखास्या बताउँछन् । काष्ठमण्डप पुनर्निर्माणमा भक्तपुरका दक्ष र अनुभवी डकर्मी, सिकर्मी, ल्वंकःमी (ढुंगाका कामगर्ने कालीगढ) र खः ग्वईपीं (खट बनाउनेहरू) खटिएका छन् । त्यस्तै काष्ठमण्डप पुनर्निर्माणको काममा प्रत्येक क्षण कमिला सरी डटिरहने अर्को टोली हो ज्यामीहरूको टोली । अहिले मुख्यतया धरान–धनकुटातिरका लिम्बुहरू र बर्दियाका थारू समुदायका युवाहरू गरी औसतमा दैनिक दस जना कामदारहरू खटिरहेका छन् ।


सिंकःमी टोलीका नाइके हुन् लक्ष्मीभक्त राजचल । लक्ष्मीभक्त पनि भक्तपुरकै बासिन्दा हुन् । ७३ वर्षीय लक्ष्मीभक्तसँग थुप्रै पुरातात्त्विक महत्त्वका मठ, मन्दिर, पाटी, पौवा मर्मतको अनुभव छ । लक्ष्मीका लागि काष्ठमण्डपमा गरिरहेको काम नौलो होइन । त्यसैले उनी यसमा कुनै चुनौती देख्दैनन् । चुनौती सुरु गर्ने बेला थियो भन्छन् उनी । भग्नावशेषबाट काठ छुट्याएर कुन काठ कहाँको भनेर पत्ता लगाउन झन्डै डेढ महिना लागेको थियो । अब यो ठड्याउन पनि समस्या छैन भन्छन् उनी । किन ? उनी भन्छन्— मूल थाम (पिलर) पुरानै बस्ने भएपछि उचाइ कत्रो बनाउने भन्ने प्रश्नै बाँकी रहेन । त्यहीअनुसार सबै बस्नैपर्ने भो । लक्ष्मी विश्वासका साथ भन्छन् काष्ठमण्डप दुरुस्त बन्छ ।
काष्ठमण्डपमा सबैभन्दा धेरै काम लक्ष्मीभक्तको टोलीको छ । सयवटा काठका अग्लाअग्ला थाम बनाउनु छ । ती काठलाई निनाः (निदाल), छतका लागि चाहिने काठ तयार पार्नु छ । थुप्रै काम छ अझै । अहिले भइरहेको काम त तयारी मात्रै हो भन्छन् लक्ष्मी । उनलाई यो तयारीको चरणमा उनकै भाइ तथा छोराहरूले साथ दिइरहेका छन् ।
लक्ष्मीभक्त राजचल, कृष्ण राजचल, तुलसीप्रसाद माखास्या, कृष्णप्रसाद घेंमेसुलगायत थुप्रै प्राविधिकहरू आ–आफ्नो दक्षताअनुसार काष्ठमण्डप पुनर्निर्माणको काम गरिरहेका छन् । यता प्राविधिक टोलीका मणीन्द्र श्रेष्ठ, अमृतरत्न शाक्य, शैलेश राजभण्डारी, करिसनमान सिं, विनीता मगैया, एनी जोशीहरू काष्ठमण्डपलाई दुरुस्त बनाउन यसका ऐतिहासिक तस्बिरहरू, चित्रकलाहरू, ऐतिहासिक दस्तावेजहरू पल्टाउनमा व्यस्त छन् । भेटिएका स–साना तथ्यहरूलाई उनीहरू संगृहीत गर्ने, छलफल गर्ने र त्यसलाई जस्ताको तस्तै काष्ठमण्डपको नयाँ संरचनामा अटाउने प्रयासमा छन् उनीहरू । श्रेष्ठ भन्छन्, ‘काष्ठमण्डप हामी सबैका लागि ऐतिहासिक र चुनौतीपूर्ण काम हो । यो काम सफलतापूर्वक सम्पन्न हुनु सम्पूर्ण टोलीकै जीवनभरिको अविस्मरणीय क्षण हुनेछ ।’
काष्ठमण्डप तयार भइसकेपछि पुनर्निर्माणमा खटिएका प्राविधिक र विज्ञहरूको नाम कसैले सम्झिन्छन् त ? भन्ने जिज्ञासामा लक्ष्मीलगायत सबैको एकै स्वर छ, ‘कामदारलाई कसले सम्झिन्छ र ? यो हाम्रो काम हो । काम राम्रोसँग सम्पन्न हुनु नै हाम्रो सफलता हो । यसैमा हामी सन्तुष्ट हुनेछौं ।’
ऐतिहासिक सम्पदाको शिलालेखमा र दस्तावेजमा शासकको र राष्ट्रप्रमुखको मात्र नाम लेख्ने परम्पराले कति जनशक्ति प्रयोग भएका थिए । कति लागत लागेको थियो । कस्ताकस्ता प्राविधिक प्रयोग भएका थिए ? भन्ने कुराको जानकारी दिंदैन । काष्ठमण्डप होस् वा रानीपोखरी पुनर्निर्माण योगदान गरेका यस्ता दक्ष कामदारहरूको नाम भोलिको पुस्ताले पुरातत्त्व र सम्पदाको इतिहासमा नभेट्नु दुर्भाग्यपूर्ण हुनेछ । जसरी आज हामीलाई यकिन थाहा छैन मूलतः काष्ठमण्डप कसको देन थियो ?

प्रकाशित : चैत्र ३०, २०७५ १२:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?