एउटा कथा एउटा कार्निभल

किशोर नेपाल

काठमाडौँ — जात्राको सिजन शुरु भएपछि शहर कान्तिपुर सबै शहरवासीको आँखाबाट अलिअलि सपनाहरूको चोरी गर्छ  । आफूलाई ध्वजा–पताका, तोरण र चँदुवाले सजाउँछ  ।

शहरमा जात्राका लागि कुनै सिजन पर्खिनु पर्दैन । जाडो, गर्मी, वर्षा मौसमजस्तो भए पनि कतै पट्यार लाग्दैन । शहर वर्षैभरि सिजनसँग लुटपुटिएको हुन्छ । संस्कृतिको यो शहरमा गुनकेशरी फूलको ठूलो महिमा छ । नयाँ जमानाका नयाँ मानिसले यसलाई नचिनेर के भो त ? शहरमा गुनकेशरी फूलका पारखीहरूको संख्या घटेको छैन । पहिले पहिले शहरका प्रत्येक घरमा राखिएका गमलामा नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यले चर्चामा ल्याइदिएका गुनकेशरीका सुन्दर फूल सधैं ढकमक्क फुलेका हुन्थे । ती फूल हेर्नका लागि चोखाँछे र इटुमबहालका गल्लीहरू छिचल्दै हिंड्नुपर्थ्यो । फूलहरू माटाका फुटेका गमलामा पनि सुन्दर फुल्छन् । दूग्ध विकासले दही बेच्ने प्लास्टिकका कतारोमा पनि उत्तिकै खुल्दछन । फूल भनेको त वास्ना हो, सुवास हो । थोरै सुवासका लागि मानिस कति धेरै पैसा खर्च गर्छन् । हिजोआज शहरमा कन्दहारतिरबाट नेपाल छिरेका अत्तर व्यापारी देखिन थालेका छन् । देखेर कसैलाई कान्तिपुरमा बग्दाद शहरको झझल्को मिल्यो भने पनि अस्वाभाविक लाग्ने छैन ।
कान्तिपुर शहरको भित्री भागलाई ‘कोलाहलको कोलाज’ भनिदियो भने फरक पर्दैन । बाहिरी भागमा छ— धूलो र धूवाँको थेग्न नसकिने चाप, हर्नको चर्को आवाज, ट्राफिक पुलिस पोस्टमाथि जबर्जस्ती विश्राम गराइएका स्वर–सम्राट् नारायण गोपाल । नारायण गोपाललाई स्वर–सम्राट्को मुकुट लगाइदिएका थिए कवि कृष्णप्रसाद भट्टराईले । नारायणको मृत्यु भएको समयमा देश अन्तरिमकालमा थियो । भट्टराई प्रधानमन्त्री थिए त्यो बखत । धेरैलाई थाहा छैन होला, उनी ‘चक्रधर’ नामबाट कबिता लेख्थे । त्यतिबेला उनी प्रधानमन्त्री नभएको भए, अर्को कसको हिम्मत हुन्थ्यो, नारायणहिटीमा एउटा सम्राट् छँदाछँदै, खुलामञ्चबाट अर्को सम्राट्को घोषणा गर्ने ? अहिले त त्यो समय नै लथालिंग भइसकेको छ । कान्तिपुर शहरका नदीहरू नालामा परिणत भएका छन् । भुइँचालोपछि राम्रो बनाउन सुकाइएको रानीपोखरी हाडेओखरको बोक्रा जत्तिकै साह्रो महसुस हुन थालेको छ । छेउको दरबार स्कुलको पुनर्निर्माणको गति जति बढ्दै गएको छ त्यत्ति नै रानीपोखरीका बारेमा आशंकाका बादल मडारिएका छन् ।
कति मेलम्ची वर्ष लाग्ने हो रानीपोखरीमा पानी भरिन ? एक मेलम्ची वर्ष भनेको कति समय हो ? २०४८ देखि २०७५ सम्मको हिसाब निकाल्ने हो भने २७ वर्ष । एक मेलम्ची वर्ष भन्नु नै सत्ताइस वर्ष । मेलम्चीको पानी भन्नु त अन्योलमाथि अन्योल थप्नु मात्रै हो । यो अन्योल चिरेर मेलम्चीको पानी कान्तिपुर शहरमा झरेन भने रानीपोखरीमा पानी भरिने सम्भावना साँघुरिनेछ । अहिले पनि, रानीपोखरीको जमिन व्यापारिक उपयोगका लागि लिजमा लिन साहु महाजन र ठेकदार जमजमाइसकेका छन् । उनीहरूको सोचाइमा छ ः पोखरीको बीचमा बनेको मन्दिरलाई चारैतिरबाट घेरामा पारेर, एउटा बुलन्दको बिजनेस सेन्टर चलाउन सकिन्छ त्यहाँ । अथवा, कमलपोखरीको पानीमा टल्किन थालेको अन्तर्राष्ट्रिय होटलको छायाजस्तै, एउटा अर्को अन्तर्राष्ट्रिय होटलको शृंखला टल्काउन पनि सकिन्छ रानीपोखरीमा । व्यापारको विकासलाई समृद्धिको सर्वोच्च चुली नघाउने हो भने ‘प्राइम प्रपर्टी’ का रूपमा रहेको जमिनबाट ‘रानीपोखरी’ लाई बदर गरेर यहाँ व्यावसायिक पौडी पोखरी बनाउनुपर्छ भन्ने धेरै छन् । रानीपोखरी बनेको जमिनमाथि रहेको राजा प्रताप मल्लको स्वामित्वको लगत काटिसकेका होलान् मालपोतका कारिन्दाहरूले । यसको लालपुर्जा त बनेकै थिएन होला । सांस्कृतिक चेतनाकै कुरा हो भने रानीपोखरीलाई ग्वार्कोतिर सारे पनि हुन्छ । संस्कृतिको नाममा देश गरिब रहन सक्दैन भन्दै छन् उनीहरू । रानीपोखरीलाई ग्वार्कोभन्दा पनि अझै पर, दक्षिण गोदावरीतिर सारे संस्कृति प्रकृतिसँग समावेशी हुने नारा लगाउनेको बोली बिक्न थालेको छ । मानिसको स्वार्थमा पखेटा लागेको छ । कलि कालो देश अँध्यारो भनेको यही त होला ।
गाउँ–घर, शहर–बजारका लाखौं पीडितका लागि अहिलेसम्म ठूलो अभिशाप बनेको छ २०७२ वैशाख १२ को भुइँचालो । ‘थोरै’ हजारौंका लागि त्यो भुइँचालो वरदान साबित भएको छ । तीन शहरका तीन दर्जन व्यापारी, शिक्षक र कलाकार व्यवसाय परिवर्तन गरेर नयाँ व्यवसाय ‘समाजसेवा’ तिर छिरेका छन् । नब्बे सालको भुइँचालोपछि बनेका र अहिलेसम्म मर्मत–सम्भार नभएका घर बहत्तर सालको भुइँचालोपछि नयाँ बनेका छन् । शहरका कति चोकबाट नियालेर हेर्दा कान्तिपुर चिन्नै नसकिने भएको छ । अझ तीन चौथाइ शहरको कायाकल्प हुन त बाँकी नै छ । भुइँचालोले कान्तिपुरका टोलटोलमा एउटा न एउटा बितण्डा मच्चाएकै छ । कतै केही भएको छैन भनिएको टोलबाट समेत घरको मूलढोकासँगै बनाइएका खोपामा स्थापित आस्थाका भीमसेनका हजारौं मूर्ति उछिट्टिएर रिङरोडबाहिर पुगेका छन् । सनातनदेखि चलिआएका गुठी भोज नियमित हुन सकेका छैनन् । भोजमा होइन, मानिस अचेल आफैंमा रमाउन थालेको छ । चार दशकपहिले लगाइएको ‘हामी दुई, हाम्रा दुई’ को नारा यथार्थमा परिणत हुँदै छ । सानो परिवार सुखी परिवार ।

ठमेलको गम्किएको बजार देखेपछि चहकिन थालेकी थिई शकुन्ता । शकुन्ता र बेखा सँगसँगै हिँडिरहेका थिए । बेखा शकुन्तालाई जिस्क्याउँदै थियो, ‘ठमेल बजारको यो भीडमा तिमी हराउलिऊ भन्ने ठूलो पिर पर्‍यो मलाई । जो पनि कर्के नजर लगाएर तिमीलाई हेर्न खोज्ने । यो त हुँदै भएन नि । बरु तिमी मेरो खोकिलामा थुपुक्क बस ल ।’ शकुन्तालाई मन पर्ने गीत ‘लैजाऊ घुमाउन मलाई ठमेल बजार...।’ सडकमा कहिले बेखा अघि हुन्थ्यो, कहिले शकुन्ता । एकअर्कालाई उछिन्न खोज्दै, लम्किँदै, हाँस्दै, रमाउँदै हिँडिरहेका थिए उनीहरू । हिँडेको पनि नाचेजस्तै देखिने । नाचेको पनि हिँडेको जस्तै देखिने । रमाउनु त यसरी पो रमाउनु ।
नजिकै बनेको घरमा जडित ऐना टल्किएर बेखाको आँखैमा सोझै प्रतिविम्बित भएको सूर्यको किरणले निकै दुःख दिएपछि ऊ अलिकति छेउ लागेको थियो । यसरी अलिकति कर्किंदा झन्डै हिर्काएन रोशनलाई टेम्पुले । तै, सडकको अर्को छेउमा रमाउँदै हिंडेकी शकुन्ताले देखिहाली । हतारहतार उफ्रिएर ऊ बेखाको छेउमा पुगी र भनी, ‘के गरी हिँडेको ? सडकको दायाँबायाँ हेरेर हिँड्नु पर्दैन ?’
बोल्दा शकुन्ताको आँखामा आँसु टिलपिलाएका थिए । उसको अनुहारमा हेरेर बेखा फिस्स हाँस्यो र चोसो पसार्‍यो । उसको चोसो देखेर शकुन्ताले हाँसो थाम्न सकिन । रुन बिर्सिएर ऊ पनि फिस्स हाँसी रुन्चे हाँसो । ‘दुनियाँले के भन्ला ?’ यस्तो कुनै भाव थिएन उनीहरूको आँखामा । उनीहरू खुसी थिए । शकुन्ता बाटामा देखिएका बाला, माला, औंठी र क्युरियो पसलमा पस्दै, सामान हेर्दै, भाउ सोध्दै निस्कन्थी । थैली र कुर्तीका पसल त देख्नै नहुने । बेखा केहीबेर पसल बाहिरै पर्खिन्थ्यो शकुन्तालाई । कहिले ऊ बाहिर निस्किन्थी र सडकको छेउमा उभिएको बेखालाई तान्दै लग्थी पसलभित्र । अनि, आफूलाई मन परेको सामान देखाएर सोध्थी, ‘भन त, यो कस्तो लाग्यो तिमीलाई ?’
ज्याठाबाट ठहिटी लाग्ने मोडमा पुगेपछि शकुन्ताले बेखाको कानैमा भनी, ‘भोक लाग्यो ।’ भोक बेखालाई पनि लागेको थियो । उसलाई यही मोडमा रहेको एउटा रेस्टुराँको सम्झना थियो । कुनै तिब्बती शरणार्थीले चलाएको त्यो रेस्टुराँमा उसले दस बाह्र वर्षअघि तरकारीको मीठो झोलमा डुबाएको मःम खाएको थियो । मोडभन्दा अगाडि टक्रक्क उभिएर उसले चारैतिर नजर फिरायो । कतै थिएन त्यो रेस्टुराँ । त्यहाँ उसले देखेको घर पनि थिएन । युग पल्टिइसकेको थियो । उनीहरू त्यसपछि पुगे गाया । तल्लो ठमेलमा यो एउटा रेस्टुराँ थियो मीठो खाना खाने । शकुन्ता र बेखाले भोकको झोंकमा पहिले एक एक पिस ब्राउनी खाए । त्यसपछि मःम खाए । रेस्टुराँबाट निस्किएर उनीहरू सँगैको बजारमा अलमलिए । शकुन्तालाई उदेक लाग्यो, ठमेल त निकै सस्तो भएछ । उसलाई थाहा थियो, ठमेलमा चिनियाँ पर्यटकको चाप बढेको छ । तर, त्यो चाप यसरी सामानको भाउ नै घटाउने गरी बढेको होला । सोचेकी थिइन उसले । बेखाचाहिँ ‘खुदाका चमत्कार’ मा अलमलिएको थियो । सामान पठाउने चीन, किन्ने चिनियाँ र बेच्ने पनि चिनियाँ । ठमेलका पसलमा देखिएका यी दृश्यले बेखालाई चकित तुल्याएको थियो । ऊ सोच्दै थियो ः यही हो खुदाका चमत्कार । हुन पनि ठमेल साङघाई शहरको एउटा गल्लीजस्तो देखिएको थियो । पसलका साइनबोर्डसमेत चिनियाँ भाषामा थिए ।
त्यसपछि उनीहरू सोझै पुगे ठहिटी चोक । त्यहाँबाट अलिपर काठे सिम्बुको छेउमा रहेको एउटा क्युरियो पसलमा छिरी शकुन्ता । त्यहाँ गहनाको भीड खोतलेर उसले कानमा लगाउने एक जोर झुम्का फेला पारी र किनिहाली नगद २५० रुपैयाँमा । ऊ झुम्का कानमा सजाउन थाली ।
‘यति मिलाइदेऊ त,’ उसले बेखासँग भनी । त्यसपछि सोधी, ‘राम्रो छ ?’ शकुन्ताको कानमा झुम्का मिलाउँदै बेखाले मसिनो आवाजमा जवाफ दियो, ‘तिमीजस्तै ।’
शकुन्ता मुस्कुराई । त्यसपछि उनीहरू लागे इन्द्रचोकतिर । इन्द्रचोक जहाँ आकाश भैरवको उच्चासन छ । बाटोमा आयो नघल । त्यसपछि आयो दाँतका ‘ठायेंमरु’ देवता । त्यसपछि बांगेमुढा, त्यसपछि भेडासिंग र त्यसपछि वंग अथवा इन्द्रचोक । शकुन्ता र बेखाले मन्दिर परिसरमा दियो बत्ती र फूल किने । भैरवको दर्शन गरे । बत्ती बाले । फूल चढाए । प्रसादका रूपमा पाएको एउटा फूल कपालमा सिउरिंदै शकुन्ताले भनी, ‘मैले त भैरवसँग तिमीजस्तै साथी मागें सधैंका लागि ।’ बेखा मुसुमुसु हाँस्यो । ऊ खुसी थियो । किनभने, धेरैपछि शकुन्ता यति धेरै खुसी भएकी देखेको थियो उसले । दर्शन सकिएपछि शकुन्ता राँकी बजारतिर लागी । चुरा–पोतेको त्यो सानो बजारमा ऊ निकैबेर रमाए पनि फर्किंदा रित्तै हात फर्किई । त्यसपछिको यात्रा) हनुमानढोकामा स्थापित हनुमानको दर्शनमा केन्द्रित रह्यो ।
वसन्तपुरमा शकुन्ता ठूलो स्टोरभित्र छिरी रमाउँदै । त्यहाँ उसले चाहेजस्ता कपडा थिए ः कुर्ती र लेहंगा । भेस्ट र ट्राउजर । इनर्सहरू । सबै कटनका । शकुन्ताको इच्छा थियो, धेरै सामान एकै पटक किन्ने । खल्तीले त्यो नमानेपछि उसले केही पनि किनिन । बेखाले पैसा सापटी दिन खोजेको थियो । उसले लिन मानिन । बरु, आफैंसँग वाचा गरी, ‘फेरि आउँछु ।’ त्यसपछि उनीहरू बस स्टपतिर लागे । शनिबार भएकाले नयाँ सडकका अधिकांश पसल बन्द थिए । बस स्टपमा घुइँचो थियो ।

भित्री शहर बिस्तार सुत्दै थियो, बाहिरी शहरमा कोलाहल भर्खर शुरु भएको थियो । सात दोबाटो, कलंकी, गोंगबु, सामाखुसी, कपन, सुकेधारा, बौध्द–जोरपाटी, लोकप्रिय बस्ती थिए ः शहर बाहिरका महा–शहर । यताका रेस्टुराँमा रक्सी र रन्डीबाजी, ठगी र चोरी सरोबर थियो । मानिसहरू मात्तिँदै आउँथे र काँप्दै फर्किन्थे । बन्द र आन्दोलनहरू यहींबाट शुरु हुन्थे । रातभरि गुलजार रहने बस्तीहरू बिहान सूर्योदयसँगै खुम्चिन्थे । रातभर महँगा र विलासी गाडीको चल्ती हुने बाहिरी शहरमा बिहान झिसमिसेदेखि टिपर र टेम्पोको जाम लाग्थ्यो । शहर यस्तै थियो । कतै कोमल, कतै कठोर ।
शहरमा सामान्य मानिसका खाजा घरका अस्तित्व संकटमा थिए । पारम्परिक खाजामा पाइने जिनिसहरू घट्दै थिए । धन हुनेहरू आफ्ना लागि नयाँ पर्व र नयाँ जात्राको उत्पत्तिमा लागेका थिए । कान्तिपुर सनातनदेखिको जात्रा । सनातनदेखिको रमाइलो । रथ र खटमा देवी देवताको मूर्ति राखेर शहर परिक्रमा गर्ने चलन । सबै मासिंदै थिए । शहर गजुर हराएको मन्दिरजस्तो थियो बुच्चो । कान्तिपुर हरेक मोडमा हराउँथ्यो । हरेक गल्लीमा भेटिन्थ्यो । अलकापुरी कान्तिपुरी नगरी थियो । अब यो कान्तिपुर कार्निभल–कार्निभल कान्तिपुरमा रूपान्तरित भएको छ ।

प्रकाशित : चैत्र ३०, २०७५ १२:००
प्रतिक्रिया
पठाउनुहोस्

अलमलमा सरकार, गृहकलहमा प्रतिपक्ष

किशोर नेपाल

काठमाडौँ — अर्को साता, आजकै दिन २०७६ सुरु हुँदै छ । नयाँ वर्ष २०७६ का लागि नेपाल सरकार र नेपाली समाजका कार्यसूची के छन्, त्यसको संकेत पाइएको छैन । यसको अर्थ हामी रुटिनमा हिँड्नेछौं । हाम्रो आवाज चर्को भए पनि गति सुस्त हुनेछ । त्यसो त हामीसँग २०७२ देखिकै कार्यसूची छन्, जो पूरा भएका छैनन् ।

२०७२ वैशाखमा भुइँचालो गएपछिको पुनर्निर्माण महत्त्वपूर्ण कार्यसूची हो । सरकारले पुनर्निर्माणका लागि प्राधिकरण खडा गरेको छ । त्यो अड्डाले पुनर्निर्माणका क्षेत्रमा गरेका काम सन्तोषजनक छैनन् । कति ठाउँमा पीडितहरू अहिले पनि राहत पर्खेर बसिरहेका छन् । जनताले जहाँजहाँ निर्माण गरेका छन, त्यहाँ घर होइन, कटेरो खडा भएको छ ।

ती कटेरामा वस्तुभाउ कता बाँध्ने, घाँसदाउरा कता थुपार्ने, अगेनु कता बनाउने, भान्सा र भण्डार कसरी मिलाउने, कहाँ सुत्ने जस्ता समस्या खडा भएका छन् । यी समस्या सुन्दा सामान्य लाग्न सक्छन् । तर, व्यावहारिक छन् । गाउँलाई सहरिया चोला पहिर्‍याउन प्राधिकरणले खटाएका प्राविधिकले कुनै पनि कसर बाँकी राखेका छैनन् र पनि गाउँ सुहाउँदा बस्ती बन्न सकेका छैनन् । गाउँ सहर हुन चाहेको छैन अर्थात्, सहरिया प्रवृत्ति गाउँमा घुसिसकेको छैन ।

स्थानीय तहअन्तर्गतका अधिकांश नगर र गाउँपालिका विकासका नाममा विभिन्न बोझ बोक्न बाध्य छन् । दुई वर्षअघि स्थानीय निकायको स्वायत्तशासी चरित्रलाई आत्मसात् गर्दै बनेको संविधानमा स्थानीय निकायका अधिकार किटानीसाथ लेखिएका छन् । कामचाहिँ संविधानमा लेखिएजस्तो भएका छैनन् । जनताले आफ्नो भाग्यको रेखा आफैँ कोर्ने अवसर त पाए तर त्यसलाई कसरी दायाँबायाँ, तलमाथि मिलाएर कोर्ने भन्ने मेसो पाएनन् ।

गाउँपालिका र नगरपालिकाका मेयर र उपमेयर मात्रै होइन, वडा सदस्यहरूमा पनि ‘सवारी मोह’ बढेको छ भने यो स्वाभाविक हो । उनीहरूले बुझ्दै आएका छन्— विकास भनेको बाटो हो । बाटो नभई सवारी चल्दैन । यसैले, अधिकांश नगर र गाउँपालिकाले डोजर किने । भीर–पहिरो, पाखा–पखेरो सम्याएर बाटो खन्न थाले ।

यसले गर्दा अहिलेसम्म ‘टिकेको’ भनिएको ‘वातावरणीय सन्तुलन’ कसरी गडबडियो ? कसरी प्रभावित भयो ? यसकोबढ्दो प्रभावको अध्ययन र नियन्त्रण प्रदेश सरकारले गर्ने कि संघीय सरकारले ? सम्भवतः यसको पनि निरूपण हुन सकेको छैन । जनताले चुनेका जनप्रतिनिधिले पालिकाहरूको बजेटले धानेसम्म एउटा गाडी चढून् ।

यसको विरोध कसैले गर्दैन तर खेत सिँचाइका लागि कुलो निर्माण आवश्यक हो कि हिउँदको सिजनमा धूलो उडाउँदै चल्ने मोटरको बाटो ? संघीय वा प्रदेश सरकारको मुख नताकी गाउँ र नगरपालिका तहमा छलफल गरेर निर्णय लिने हो भने समस्या बल्झिइरहने थिएन ।

२०७५ मा नेपालीहरूले सफलताको अनुभूति गर्न पाएका छैनन् । यो वर्ष धेरै कारणले चर्चित र विवादास्पद रहेको छ । २०७२ पछि, भुइँचालोको चपेटामा परेका बजार र बस्तीहरूको नवनिर्माण मन्द गतिमा भइरहेको छ । ऐतिहासिक सम्पदा र धरोहरका रूपमा स्थापित मठ, मन्दिर र गुम्बाहरूको पुनर्प्रतिष्ठा बाँकी नै छ । प्रधानमन्त्री केपी ओलीले निजी योजनाजस्तो गरी थपथपाउनुभएको धरहराको पुनर्निर्माण छिट्टै हुने आशा राखेका थिए जनताले । हनुमानढोका परिसर निर्माणाधीन छ । काम सक्ने चटारो भने कतै देखिएको छैन ।

‘रानीपोखरी पुरानै रूपमा फर्किएला ?’ धेरै मानिसमा चिन्ता र उत्सुकता छ रानीपोखरीबारे । देश चलाउनेमाथिको भरोसा टुट्दै गएकाले पनि आशंका फैलिएका छन् । आधुनिकताका नाममा कतै रानीपोखरीलाई सहरियाहरूको पानी खेल्ने ठाउँ त बनाइने होइन ? यस प्रकारका अझिव्यक्तिलाई अतिशयोत्तिपूर्ण मान्न सकिँदैन । सार्वजनिक सम्पत्तिको अपहरण र भोगचलन रोक्न सरकार उहिले नै असफल साबित भइसकेको हो ।

रानीपोखरीको पुनःस्थापनामा सरकारले जबसम्म तीव्रता ल्याउँदैन, यसले विश्वास आर्जन गर्न सक्दैन । रानीपोखरीलाई संघीय राजधानीको सौन्दर्यका रूपमा व्याख्या गर्न सकिन्छ । पुरानै स्वरूप दिएर यसको किनारालाई पार्कका रूपमा विकसित गर्न सकिन्छ । टुँडिखेल–रत्नपार्क क्षेत्र भाडाका गाडीहरूको पार्किङ स्टेसन र सेनाको कब्जामा रहेको भूभाग भएकाले पनि रानीपोखरीको स्वच्छन्द सौन्दर्य काठमाडौंका लागि आवश्यक भएको हो ।

राजधानीभित्रका सम्पदाबारे यी केही उदाहरण हुन्, जसका आधारमा सरकारलाई झकझक्याइरहन सकिन्छ । भुइँचालोले ध्वस्त पारेका पूर्व रामेछापदेखि पश्चिम लमजुङसम्मका सयौं गाउँ र बस्तीका हजारौं घरको चिन्ता कसले गर्ने ? ‘सरकारले ऋण दिएकै छ त, घर बनाए भइहाल्यो नि’ भन्ने जस्ता प्रतिक्रियादिन सजिलो छ, नेपालका बैंकहरूसँग व्यवहार गर्न साह्रै गाह्रो छ ।

२०७५ साल राष्ट्रिय विकासका दृष्टिले सफल र उल्लेख्य रहेन । उल्लेख्य कुरा एउटै कि, कर्णाली प्रदेशमा भेरी नदीको पानी बबईमा मिसाउने सुरुङ छेडियो । यता, काठमाडौंका जनताको प्यास मेट्न २०४८ मा थालिएको मेलम्ची खानेपानी आयोजना सुरुङ छेडेर पानीको प्रवाह काठमाडौंतिर फर्काउने बेला अलपत्र पर्‍यो यसै वर्ष । राजनीतिक पदाधिकारी र सरकारी अधिकारीको निरन्तर दोहनमा परेको यो आयोजनाको भविष्य के होला ?

सरकारले उपसंहार निकालिसकेको छैन होला । उता, जनताले आशाको नजरले नियालेको माथिल्लो तामाकोसीको आर्थिक प्रक्षेपण पनि बिथोलियो । बुढीगण्डकीको सपना पर्दाभित्र पर्‍यो । हो, ओलीको सपनाकै रूपमा व्याख्या गरिँदै आएको केरुङ–काठमाडौं रेलसेवा ‘निर्माण हुने’ पक्कापक्की भयो । सञ्चालन कहिलेदेखि हुने भन्ने टुंगो लाग्दै गर्ला ।

२०७५ साल देशका लागि खर्चिलो साबित हुने भो । फास्टट्र्याक बनाउने जिम्मा नेपाली सेनालाई दिएर सरकार ढुक्क भो । अहिले आएर सेनाले एक खर्ब रुपैयाँको माग गर्‍यो फास्टट्र्याकका लागि । यो सेना भन्ने संस्था सरकारी हो कि होइन ? कि यो स्वायत्त संस्था हो ? यसले सरकार र जनता दुवै थरीले बुझ्ने गरी खर्च किन बढ्यो, बताउनु पर्दैन ? सरकारले लगाएको कामका तुलनामा ज्याला र नाफा दुवै बढी खोज्ने संस्था राष्ट्रिय हुन्छ कि व्यावसायिक ? यो कसैले नबुझेको कुरा हो ।

राजनीतिक हिसाबले २०७५ निकै विचलनमा रह्यो । यो वर्षको सुखद पक्षका रूपमा नेपालका दुई ठूला कम्युनिस्ट पार्टी विलय भए । नेपाल कम्युनिस्ट पार्टीले संघीय संसद्को निर्वाचनमा बहुमत ल्यायो । यसले पछि अरू समान विचारका पार्टीसमेत मिलाएर दुईतिहाइको समर्थन जुटायो र सरकार बनायो तर दुई ठूला कम्युनिस्ट पार्टी विलय भए पनि अरू सानातिना धार अस्तित्वमै छन् ।

पहिले माओवादीको मूल प्रवाहमा रहेका मोहन वैद्य ‘किरण’ वैचारिक आधारमा टिकेर सक्रिय छन् भने नेक्रवित्रम चन्द ‘विप्लव’ ले हतियार उठाएर सरकारलाई चुनौती दिइरहेका छन् । सरकारले चन्द समूहलाई नियन्क्रणमा लिन शत्तिको प्रयोग गरेको छ । प्रकारान्तरले यसबाट देशमा हिंसा नै जगमगाउने त प्रस्टै छ !

देशमा भरलाग्दो लोकतान्क्रिक शत्तिका रूपमा रहेको नेपाली कांग्रेसमा गृहकलह व्यापक छ । यो कलहको कारण न कुनै नेताले बुझेको छ, न कार्यकर्ताले । कुनै बेला यो पार्टीमा एकातिर कोइराला र अर्कातिर बाँकी देखिन्थे । सर्वमान्य नेता गणेशमान सिंह र सन्त नेता कृष्णप्रसाद भट्टराई पन्छिएपछि पार्टी गिरिजाप्रसाद कोइरालाको एकल नेतृत्वमा चलेको थियो ।

गिरिजाबाबुको निधनपछि सुशील कोइरालाले त्यो विरासत धान्ने प्रयत्न गरेका हुन् । अहिले सभापति शेरबहादुर देउवाका लागि पार्टी नेतृत्व जटिल समस्या भएको छ । उनी न नेतृत्व छाड्ने स्थितिमा छन्, न त यसलाई धान्ने शक्ति नै उनमा देखिएको छ । प्रमुख प्रतिपक्षी दलको यो अवस्था ओली नेतृत्वको सरकारका लागि सुखद हुन पुगेको छ ।

संविधानले जहाँजहाँ प्रतिपक्षको उपस्थिति खोजेको छ, त्यहाँत्यहाँ सरकारका नेताले प्रतिपक्षलाई पेलेका छन् । आन्तरिक झगडामा व्यस्त प्रतिपक्षीले समवेत स्वरमा यसको विरोधसम्म गरेको पनि देख्न–सुन्न पाइएको छैन । यसले जनताका मनमा कांग्रेसको भविष्यप्रति चिन्ता जगाएको छ ।

२०७५ बितेपछि पनि समय निरन्तर रहनेछ । आजका दिनमा उठेका प्रेस स्वतन्त्रता र मानव अधिकारका विषय जारी रहनेछन् । हाम्रो भविष्य कस्तो होला ? त्यो रहस्यको उद्घाटन हाम्रो इतिहासले गर्नेछ । वर्तमान जहिले पनि इतिहासकै आलोकमा पुष्पित र पल्लवित हुन्छ ।

प्रकाशित : चैत्र २४, २०७५ ०७:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्