१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

एउटा कथा एउटा कार्निभल

किशोर नेपाल

काठमाडौँ — जात्राको सिजन शुरु भएपछि शहर कान्तिपुर सबै शहरवासीको आँखाबाट अलिअलि सपनाहरूको चोरी गर्छ  । आफूलाई ध्वजा–पताका, तोरण र चँदुवाले सजाउँछ  ।

एउटा कथा एउटा कार्निभल

शहरमा जात्राका लागि कुनै सिजन पर्खिनु पर्दैन । जाडो, गर्मी, वर्षा मौसमजस्तो भए पनि कतै पट्यार लाग्दैन । शहर वर्षैभरि सिजनसँग लुटपुटिएको हुन्छ । संस्कृतिको यो शहरमा गुनकेशरी फूलको ठूलो महिमा छ । नयाँ जमानाका नयाँ मानिसले यसलाई नचिनेर के भो त ? शहरमा गुनकेशरी फूलका पारखीहरूको संख्या घटेको छैन । पहिले पहिले शहरका प्रत्येक घरमा राखिएका गमलामा नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यले चर्चामा ल्याइदिएका गुनकेशरीका सुन्दर फूल सधैं ढकमक्क फुलेका हुन्थे । ती फूल हेर्नका लागि चोखाँछे र इटुमबहालका गल्लीहरू छिचल्दै हिंड्नुपर्थ्यो । फूलहरू माटाका फुटेका गमलामा पनि सुन्दर फुल्छन् । दूग्ध विकासले दही बेच्ने प्लास्टिकका कतारोमा पनि उत्तिकै खुल्दछन । फूल भनेको त वास्ना हो, सुवास हो । थोरै सुवासका लागि मानिस कति धेरै पैसा खर्च गर्छन् । हिजोआज शहरमा कन्दहारतिरबाट नेपाल छिरेका अत्तर व्यापारी देखिन थालेका छन् । देखेर कसैलाई कान्तिपुरमा बग्दाद शहरको झझल्को मिल्यो भने पनि अस्वाभाविक लाग्ने छैन ।
कान्तिपुर शहरको भित्री भागलाई ‘कोलाहलको कोलाज’ भनिदियो भने फरक पर्दैन । बाहिरी भागमा छ— धूलो र धूवाँको थेग्न नसकिने चाप, हर्नको चर्को आवाज, ट्राफिक पुलिस पोस्टमाथि जबर्जस्ती विश्राम गराइएका स्वर–सम्राट् नारायण गोपाल । नारायण गोपाललाई स्वर–सम्राट्को मुकुट लगाइदिएका थिए कवि कृष्णप्रसाद भट्टराईले । नारायणको मृत्यु भएको समयमा देश अन्तरिमकालमा थियो । भट्टराई प्रधानमन्त्री थिए त्यो बखत । धेरैलाई थाहा छैन होला, उनी ‘चक्रधर’ नामबाट कबिता लेख्थे । त्यतिबेला उनी प्रधानमन्त्री नभएको भए, अर्को कसको हिम्मत हुन्थ्यो, नारायणहिटीमा एउटा सम्राट् छँदाछँदै, खुलामञ्चबाट अर्को सम्राट्को घोषणा गर्ने ? अहिले त त्यो समय नै लथालिंग भइसकेको छ । कान्तिपुर शहरका नदीहरू नालामा परिणत भएका छन् । भुइँचालोपछि राम्रो बनाउन सुकाइएको रानीपोखरी हाडेओखरको बोक्रा जत्तिकै साह्रो महसुस हुन थालेको छ । छेउको दरबार स्कुलको पुनर्निर्माणको गति जति बढ्दै गएको छ त्यत्ति नै रानीपोखरीका बारेमा आशंकाका बादल मडारिएका छन् ।
कति मेलम्ची वर्ष लाग्ने हो रानीपोखरीमा पानी भरिन ? एक मेलम्ची वर्ष भनेको कति समय हो ? २०४८ देखि २०७५ सम्मको हिसाब निकाल्ने हो भने २७ वर्ष । एक मेलम्ची वर्ष भन्नु नै सत्ताइस वर्ष । मेलम्चीको पानी भन्नु त अन्योलमाथि अन्योल थप्नु मात्रै हो । यो अन्योल चिरेर मेलम्चीको पानी कान्तिपुर शहरमा झरेन भने रानीपोखरीमा पानी भरिने सम्भावना साँघुरिनेछ । अहिले पनि, रानीपोखरीको जमिन व्यापारिक उपयोगका लागि लिजमा लिन साहु महाजन र ठेकदार जमजमाइसकेका छन् । उनीहरूको सोचाइमा छ ः पोखरीको बीचमा बनेको मन्दिरलाई चारैतिरबाट घेरामा पारेर, एउटा बुलन्दको बिजनेस सेन्टर चलाउन सकिन्छ त्यहाँ । अथवा, कमलपोखरीको पानीमा टल्किन थालेको अन्तर्राष्ट्रिय होटलको छायाजस्तै, एउटा अर्को अन्तर्राष्ट्रिय होटलको शृंखला टल्काउन पनि सकिन्छ रानीपोखरीमा । व्यापारको विकासलाई समृद्धिको सर्वोच्च चुली नघाउने हो भने ‘प्राइम प्रपर्टी’ का रूपमा रहेको जमिनबाट ‘रानीपोखरी’ लाई बदर गरेर यहाँ व्यावसायिक पौडी पोखरी बनाउनुपर्छ भन्ने धेरै छन् । रानीपोखरी बनेको जमिनमाथि रहेको राजा प्रताप मल्लको स्वामित्वको लगत काटिसकेका होलान् मालपोतका कारिन्दाहरूले । यसको लालपुर्जा त बनेकै थिएन होला । सांस्कृतिक चेतनाकै कुरा हो भने रानीपोखरीलाई ग्वार्कोतिर सारे पनि हुन्छ । संस्कृतिको नाममा देश गरिब रहन सक्दैन भन्दै छन् उनीहरू । रानीपोखरीलाई ग्वार्कोभन्दा पनि अझै पर, दक्षिण गोदावरीतिर सारे संस्कृति प्रकृतिसँग समावेशी हुने नारा लगाउनेको बोली बिक्न थालेको छ । मानिसको स्वार्थमा पखेटा लागेको छ । कलि कालो देश अँध्यारो भनेको यही त होला ।
गाउँ–घर, शहर–बजारका लाखौं पीडितका लागि अहिलेसम्म ठूलो अभिशाप बनेको छ २०७२ वैशाख १२ को भुइँचालो । ‘थोरै’ हजारौंका लागि त्यो भुइँचालो वरदान साबित भएको छ । तीन शहरका तीन दर्जन व्यापारी, शिक्षक र कलाकार व्यवसाय परिवर्तन गरेर नयाँ व्यवसाय ‘समाजसेवा’ तिर छिरेका छन् । नब्बे सालको भुइँचालोपछि बनेका र अहिलेसम्म मर्मत–सम्भार नभएका घर बहत्तर सालको भुइँचालोपछि नयाँ बनेका छन् । शहरका कति चोकबाट नियालेर हेर्दा कान्तिपुर चिन्नै नसकिने भएको छ । अझ तीन चौथाइ शहरको कायाकल्प हुन त बाँकी नै छ । भुइँचालोले कान्तिपुरका टोलटोलमा एउटा न एउटा बितण्डा मच्चाएकै छ । कतै केही भएको छैन भनिएको टोलबाट समेत घरको मूलढोकासँगै बनाइएका खोपामा स्थापित आस्थाका भीमसेनका हजारौं मूर्ति उछिट्टिएर रिङरोडबाहिर पुगेका छन् । सनातनदेखि चलिआएका गुठी भोज नियमित हुन सकेका छैनन् । भोजमा होइन, मानिस अचेल आफैंमा रमाउन थालेको छ । चार दशकपहिले लगाइएको ‘हामी दुई, हाम्रा दुई’ को नारा यथार्थमा परिणत हुँदै छ । सानो परिवार सुखी परिवार ।

ठमेलको गम्किएको बजार देखेपछि चहकिन थालेकी थिई शकुन्ता । शकुन्ता र बेखा सँगसँगै हिँडिरहेका थिए । बेखा शकुन्तालाई जिस्क्याउँदै थियो, ‘ठमेल बजारको यो भीडमा तिमी हराउलिऊ भन्ने ठूलो पिर पर्‍यो मलाई । जो पनि कर्के नजर लगाएर तिमीलाई हेर्न खोज्ने । यो त हुँदै भएन नि । बरु तिमी मेरो खोकिलामा थुपुक्क बस ल ।’ शकुन्तालाई मन पर्ने गीत ‘लैजाऊ घुमाउन मलाई ठमेल बजार... ।’ सडकमा कहिले बेखा अघि हुन्थ्यो, कहिले शकुन्ता । एकअर्कालाई उछिन्न खोज्दै, लम्किँदै, हाँस्दै, रमाउँदै हिँडिरहेका थिए उनीहरू । हिँडेको पनि नाचेजस्तै देखिने । नाचेको पनि हिँडेको जस्तै देखिने । रमाउनु त यसरी पो रमाउनु ।
नजिकै बनेको घरमा जडित ऐना टल्किएर बेखाको आँखैमा सोझै प्रतिविम्बित भएको सूर्यको किरणले निकै दुःख दिएपछि ऊ अलिकति छेउ लागेको थियो । यसरी अलिकति कर्किंदा झन्डै हिर्काएन रोशनलाई टेम्पुले । तै, सडकको अर्को छेउमा रमाउँदै हिंडेकी शकुन्ताले देखिहाली । हतारहतार उफ्रिएर ऊ बेखाको छेउमा पुगी र भनी, ‘के गरी हिँडेको ? सडकको दायाँबायाँ हेरेर हिँड्नु पर्दैन ?’
बोल्दा शकुन्ताको आँखामा आँसु टिलपिलाएका थिए । उसको अनुहारमा हेरेर बेखा फिस्स हाँस्यो र चोसो पसार्‍यो । उसको चोसो देखेर शकुन्ताले हाँसो थाम्न सकिन । रुन बिर्सिएर ऊ पनि फिस्स हाँसी रुन्चे हाँसो । ‘दुनियाँले के भन्ला ?’ यस्तो कुनै भाव थिएन उनीहरूको आँखामा । उनीहरू खुसी थिए । शकुन्ता बाटामा देखिएका बाला, माला, औंठी र क्युरियो पसलमा पस्दै, सामान हेर्दै, भाउ सोध्दै निस्कन्थी । थैली र कुर्तीका पसल त देख्नै नहुने । बेखा केहीबेर पसल बाहिरै पर्खिन्थ्यो शकुन्तालाई । कहिले ऊ बाहिर निस्किन्थी र सडकको छेउमा उभिएको बेखालाई तान्दै लग्थी पसलभित्र । अनि, आफूलाई मन परेको सामान देखाएर सोध्थी, ‘भन त, यो कस्तो लाग्यो तिमीलाई ?’
ज्याठाबाट ठहिटी लाग्ने मोडमा पुगेपछि शकुन्ताले बेखाको कानैमा भनी, ‘भोक लाग्यो ।’ भोक बेखालाई पनि लागेको थियो । उसलाई यही मोडमा रहेको एउटा रेस्टुराँको सम्झना थियो । कुनै तिब्बती शरणार्थीले चलाएको त्यो रेस्टुराँमा उसले दस बाह्र वर्षअघि तरकारीको मीठो झोलमा डुबाएको मःम खाएको थियो । मोडभन्दा अगाडि टक्रक्क उभिएर उसले चारैतिर नजर फिरायो । कतै थिएन त्यो रेस्टुराँ । त्यहाँ उसले देखेको घर पनि थिएन । युग पल्टिइसकेको थियो । उनीहरू त्यसपछि पुगे गाया । तल्लो ठमेलमा यो एउटा रेस्टुराँ थियो मीठो खाना खाने । शकुन्ता र बेखाले भोकको झोंकमा पहिले एक एक पिस ब्राउनी खाए । त्यसपछि मःम खाए । रेस्टुराँबाट निस्किएर उनीहरू सँगैको बजारमा अलमलिए । शकुन्तालाई उदेक लाग्यो, ठमेल त निकै सस्तो भएछ । उसलाई थाहा थियो, ठमेलमा चिनियाँ पर्यटकको चाप बढेको छ । तर, त्यो चाप यसरी सामानको भाउ नै घटाउने गरी बढेको होला । सोचेकी थिइन उसले । बेखाचाहिँ ‘खुदाका चमत्कार’ मा अलमलिएको थियो । सामान पठाउने चीन, किन्ने चिनियाँ र बेच्ने पनि चिनियाँ । ठमेलका पसलमा देखिएका यी दृश्यले बेखालाई चकित तुल्याएको थियो । ऊ सोच्दै थियो ः यही हो खुदाका चमत्कार । हुन पनि ठमेल साङघाई शहरको एउटा गल्लीजस्तो देखिएको थियो । पसलका साइनबोर्डसमेत चिनियाँ भाषामा थिए ।
त्यसपछि उनीहरू सोझै पुगे ठहिटी चोक । त्यहाँबाट अलिपर काठे सिम्बुको छेउमा रहेको एउटा क्युरियो पसलमा छिरी शकुन्ता । त्यहाँ गहनाको भीड खोतलेर उसले कानमा लगाउने एक जोर झुम्का फेला पारी र किनिहाली नगद २५० रुपैयाँमा । ऊ झुम्का कानमा सजाउन थाली ।
‘यति मिलाइदेऊ त,’ उसले बेखासँग भनी । त्यसपछि सोधी, ‘राम्रो छ ?’ शकुन्ताको कानमा झुम्का मिलाउँदै बेखाले मसिनो आवाजमा जवाफ दियो, ‘तिमीजस्तै ।’
शकुन्ता मुस्कुराई । त्यसपछि उनीहरू लागे इन्द्रचोकतिर । इन्द्रचोक जहाँ आकाश भैरवको उच्चासन छ । बाटोमा आयो नघल । त्यसपछि आयो दाँतका ‘ठायेंमरु’ देवता । त्यसपछि बांगेमुढा, त्यसपछि भेडासिंग र त्यसपछि वंग अथवा इन्द्रचोक । शकुन्ता र बेखाले मन्दिर परिसरमा दियो बत्ती र फूल किने । भैरवको दर्शन गरे । बत्ती बाले । फूल चढाए । प्रसादका रूपमा पाएको एउटा फूल कपालमा सिउरिंदै शकुन्ताले भनी, ‘मैले त भैरवसँग तिमीजस्तै साथी मागें सधैंका लागि ।’ बेखा मुसुमुसु हाँस्यो । ऊ खुसी थियो । किनभने, धेरैपछि शकुन्ता यति धेरै खुसी भएकी देखेको थियो उसले । दर्शन सकिएपछि शकुन्ता राँकी बजारतिर लागी । चुरा–पोतेको त्यो सानो बजारमा ऊ निकैबेर रमाए पनि फर्किंदा रित्तै हात फर्किई । त्यसपछिको यात्रा) हनुमानढोकामा स्थापित हनुमानको दर्शनमा केन्द्रित रह्यो ।
वसन्तपुरमा शकुन्ता ठूलो स्टोरभित्र छिरी रमाउँदै । त्यहाँ उसले चाहेजस्ता कपडा थिए ः कुर्ती र लेहंगा । भेस्ट र ट्राउजर । इनर्सहरू । सबै कटनका । शकुन्ताको इच्छा थियो, धेरै सामान एकै पटक किन्ने । खल्तीले त्यो नमानेपछि उसले केही पनि किनिन । बेखाले पैसा सापटी दिन खोजेको थियो । उसले लिन मानिन । बरु, आफैंसँग वाचा गरी, ‘फेरि आउँछु ।’ त्यसपछि उनीहरू बस स्टपतिर लागे । शनिबार भएकाले नयाँ सडकका अधिकांश पसल बन्द थिए । बस स्टपमा घुइँचो थियो ।

भित्री शहर बिस्तार सुत्दै थियो, बाहिरी शहरमा कोलाहल भर्खर शुरु भएको थियो । सात दोबाटो, कलंकी, गोंगबु, सामाखुसी, कपन, सुकेधारा, बौध्द–जोरपाटी, लोकप्रिय बस्ती थिए ः शहर बाहिरका महा–शहर । यताका रेस्टुराँमा रक्सी र रन्डीबाजी, ठगी र चोरी सरोबर थियो । मानिसहरू मात्तिँदै आउँथे र काँप्दै फर्किन्थे । बन्द र आन्दोलनहरू यहींबाट शुरु हुन्थे । रातभरि गुलजार रहने बस्तीहरू बिहान सूर्योदयसँगै खुम्चिन्थे । रातभर महँगा र विलासी गाडीको चल्ती हुने बाहिरी शहरमा बिहान झिसमिसेदेखि टिपर र टेम्पोको जाम लाग्थ्यो । शहर यस्तै थियो । कतै कोमल, कतै कठोर ।
शहरमा सामान्य मानिसका खाजा घरका अस्तित्व संकटमा थिए । पारम्परिक खाजामा पाइने जिनिसहरू घट्दै थिए । धन हुनेहरू आफ्ना लागि नयाँ पर्व र नयाँ जात्राको उत्पत्तिमा लागेका थिए । कान्तिपुर सनातनदेखिको जात्रा । सनातनदेखिको रमाइलो । रथ र खटमा देवी देवताको मूर्ति राखेर शहर परिक्रमा गर्ने चलन । सबै मासिंदै थिए । शहर गजुर हराएको मन्दिरजस्तो थियो बुच्चो । कान्तिपुर हरेक मोडमा हराउँथ्यो । हरेक गल्लीमा भेटिन्थ्यो । अलकापुरी कान्तिपुरी नगरी थियो । अब यो कान्तिपुर कार्निभल–कार्निभल कान्तिपुरमा रूपान्तरित भएको छ ।

प्रकाशित : चैत्र ३०, २०७५ १२:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?