आँटिली बालिका

कफीगफ
मैले कपास नलिई दुई–चारवटा चक्लेट झ्याप्प पारेँ, उसले मेरो कुरा बुझेर हातभरि मुठ्याई र त्यही पुन्टे झोलाभित्र कोच्न खोजी । कुनै चक्लेट त भित्र पस्न नमानेर अटेर गरेजस्तो देखियो, उसले गुच्चा ठेल्ने औँला बनाएर ट्वाक्क ट्वाक्क हानी ।
नारायण वाग्ले

काठमाडौँ — त्योबेलासम्म सोचिरहनू जबसम्म कुनै सोचाइले तिमीलाई छक्क पार्दैन  । सिपालु लेखकहरू त्यही भन्छन्, त्यो बेलासम्म लेखिरहनू जबसम्म कुनै कथाले तिमीलाई अचम्भित तुल्याउँदैन  । त्यो बेलासम्म हिँडिरहनु जबसम्म तिमीलाई ठेस लाग्दैन । अथवा, त्यो बेलासम्म उभिरहनू, जबसम्म तिमीलाई कसैले ठेल्दैन ।

एक जना कसैले नठेलेसम्म म बुद्ध एयरको काउन्टरमा त्यसैगरी उभिरहेको थिएँ । चन्द्रगढी विमानस्थलमा बाक्लो ज्याकेटबाहिर झोला भिरेका ती हतारेलाई काउन्टरका कर्मचारीले रोके । मतिर देखाउँदै सम्झाए, ‘धैर्य गर्नुस्, लाइनमा उहाँ हुनुहुन्छ ।’

उनी मतिर हेर्दै क्षमाशील हाँसो हाँसे । हेहेहेहे गर्दै थिए, तुरुन्तै मुख बन्द गरे । उनको हातमा लामो नेपाली कागजवाला नाबालिग नागरिकता थियो । मैले बोर्डिङ पास पाएपछि केही पर सर्दै एक छिन हेरेँ । उनले कर्मचारीसँग भने, ‘बच्चीलाई पठाउन लागेको । टिकट नम्बर यी यहाँ छ ।’

उनको हात समातिरहेकी बच्चीको कपाल पछिल्तिर दुइटा बाटुला दुई रङका काँटा थिए । कपाल कोरेर लपक्क थियो । मैले ढल्केर उनको आकृति हेर्न खोजेँ, आँखामा गाजल थियो । खैरो स्विटरबाहिर सिसाकलम थन्क्याउने आकारको पुन्टे झोला थियो । त्यो एकातिरको काँधबाट अर्कोतिरको काखीमुनिसम्म छातीमा टाँसिएको थियो ।

‘कति वर्षकी भइन् ?’ कर्मचारीले जर्‍याक्क उभिएर नानीलाई हेर्दै सोधे । धन्य, नानीलाई जुरुक्क उचालेर तौल नापेनन् । त्यसो गरेको भए कपासजस्तो हलुको ज्यान अटाउने सिट कौडीको भाउमा आउँथ्यो र ? तौलका आधारमा यात्रुको रकम समायोजन हुने गरेको छैन ।

‘आठ, दस वर्ष भइहोला,’ उनले जवाफ फर्काए, ‘०६७ सालमा जन्मेकी हो ।’

मैले आफ्नी छोरीभन्दा केही सानी देखेर मनमनै उचाइ दाँजेँ । मेरी छोरी एक बित्ता अग्ली होला भन्ने सोच्न औँला जोडेँ र सर्किएका ओठ नखुल्दै बन्द गरेँ । आफूले पनि छोरीको नाबालिग नागरिकता बनाउँदाको उमंग सम्झिएँ । साथसाथै सोचेँ, मैले त त्यसरी छोरीलाई एक्लै कतै यात्रामा पठाउन आँटेको छैन ।

‘आँटिली बालिका’ को नाबालिग नागरिकता पट्याउँदै कर्मचारीले बोर्डिङ पास बनाइदिए । बालिकाले त्यसलाई हातमा चकलेटझैँ समाती । पल्याकपुलुक गरेपछि पुन्टे झोलाभित्र हाली ।

सुरक्षा जाँच पार गर्न सूचना आइसकेकाले म अर्को लाइन लागेँ । यो विमानस्थलमा पूर्वोत्तर भारतदेखि समेत यात्रुहरू आउने भएकाले भाषा र भेष थपिन्छ, जाँचपड्ताल केही लम्मिएकै हुन्छ ।

झोला छाम्ने काइदा उही हो, जसरी डक्टरलाई जँचाउन जाँदा बिरामीसँगै सोध्छन्, तपाईंलाई के भयो ?
सुरक्षाकर्मीले सोध्ने उही हो, ‘झोलामा के छ ?’

आफैँ हेरे भैगो त । होल बडी चेकअप याने कि सम्पूर्ण शरीर छामछुम गर्दा पनि सोध्ने त्यही हो– माचिस, लाइटर, चक्कू छ कि ?
होइन, चुइँगम मात्र छ चाहिन्जो भन्दिए हुन्छ ।

खैर, संवदेनशील क्षेत्रमा सुरक्षाकर्मीसँग असंवेदनशील हुनुहुँदैन ।

प्रतीक्षालयमा एकाध काखे शिशु पनि थिए, आमासँग टाँस्सिएका । कुनै त दूधको बोतल भुइँमा गुडुल्क्याउँदै, फेरि समात्न खोज्दै थिए । कोही हलक्क बढेका केटा थिए, अभिभावकसँगै । वा केटी । मोबाइलमा कुनै गेम हेरिरहेका वा नयाँ डाउनलोड गरिएको एप चलाउन हात चिलाइरहेका ।

त्यो आँटिली बालिका ओझेल परेपछि मैले बिर्सिएँ । त्यहाँ देखिएकी भए ख्याल आउने थियो । यात्रुहरूका चिन्ता आफ्नै थिए, उडान होला/नहोला । आकाश खुल्ला/नखुल्ला । दुई दिनअघि मात्र दिनभरिको हावाहुरी र झरीले धेरै उडान बिथोलेको थियो । कत्ति यात्रु आउनै पाएनन् वा जान ।

चैते याम नै उस्तै । उसमाथि अस्ति भर्खर बारा/पर्सामा त्यत्रो टोर्नाडो चलेको, जसको क्षति अझै संकलन हुँदै छ । त्यो हुण्डरी मच्चाउने विध्वंसकारीलाई नेपाली नाम के दिने भन्नेमा विशेषज्ञहरू विचार मथ्दै छन् ।

यती एयर उड्यो । बुद्धको पालो आयो । मेरो सिट १८ ‘सी’ थियो जुन जहाजको पुछारको लहर हो भन्ने मलाई थाहा थिएन । पारिचारिकाले नमस्ते गर्दै भित्र्याएपछि मैले रुक्स्याक थन्क्याउन माथिको ढकनी खोल्न खोजेँ । उनले सिटमुनि खुट्टाले च्यापेर राख्न सुझाइन् । त्यही बेला मैले देखेँ मेरो सिटछेउ झ्यालतिर त्यही आँटिली बालिका आएर बसिसकेकी छ ।

म मुस्काएँ । उसले मतिर हेर्दै गाला तन्काई, पिर्पिराउने आँखाका गाजल चम्काई । केही आत्तिएको, केही कसो गरूँ के गरूँ भइरहेको भान ओठ र आँखामा पारेको मैले पढेँ ।

‘हेलो,’ मैले सिटपेटी बाँध्दै भनेँ । हात मिलाऊँ कि जस्तो लागेको थियो, उसको हात भने उसकै सिटपेटीतिर अलमलिरहेका रहेछन् । मैले बाँध्न सिकाइदिएँ । उसले अझै जानिन । मैले आफैँ बाँधिदिएँ, अलिकति ठाउँ छाडिदिँदै, ताकि कम्मर चल्मलाउन अप्ठ्यारो नहोस् ।

मैले छोरीलाई विदेशमा पहिलोपल्ट जहाजबाट ओर्लिएपछि कारभित्र त्यसैगरी पेटी बाँधिदिँदा निर्दोषितापूर्वक मलाई सोधेकी थिई, ‘यो गाडी पनि उड्छ पापा ?’

म हाँसोले ठहरै भएको थिएँ । अहिले पनि म उसलाई त्यो घटना सुनाउने गर्छु । ऊ आफैँ सोध्ने गर्छे, ‘तिमी त्यतिबेला किन त्यस्तरी हाँसेका थियौ ?’

सिटपेटी बाँधेपछि जहाज उड्ने पक्का भयो । बालिकाले झ्यालबाहिर दृश्य धेरै छिटो चलेको चाल पाउन थाली । पारिचारिकाको उद्घोषअनुसार मैले मोबाइललाई एरोप्लेन मोडमा राखेँ । उसले पाइन्टको खल्तीबाट सानो मोबाइल निकाली । अफ गर्न खोजी । सकिन । मलाई दिई । मैले त्यो श्यामश्वेत मोबाइल थिचेर बन्द गर्न खोजेँ, स्मार्ट फोन चलाउने बानीले मलाई बिगारिसकेछ । पल्लोपट्टिका यात्रुसँग सहयोग मागेँ । उनले अफ गरिदिए । बालिकाले खल्तीभित्र फर्काई ।

‘मेरो नाम नारायण हो,’ मैले दायाँ फर्केर भनेँ, ‘तिम्रो नि ?’
‘शीताष्मा,’ उसले भनी ।
मैले नबुझेर दोहोर्‍याएँ, उसले मलाई बुझाउन अलि चर्को बोली ।
‘पहिला जहाज चढेकी थियौ ?’
‘अहँ ।’
‘पहिला काठमाडौं गएकी थियौ ?’
‘अहँ ।’
‘तिमी आँटिली रहिछौ, गुड गर्ल,’ मैले भनेँ ।
उसले केही पनि भनिन । आँखा भने वरिपरि डुलाएको डुलायै गर्न थाली ।
‘कति कक्षामा पढ्छ्यौ ?’
‘चार,’ उसले भनी, ‘अब पाँचमा जाने ।’
‘ए,’ मैले भनेँ, ‘मेरी छोरी पनि अब पाँचमा जाने । फोटो हेर्छ्यौ ?’

उसले टाउको हल्लाएपछि मैले मोबाइलमा देखाएँ । छोरीका पोजहरू बाबुका मोबाइलमा किन यतिसारो भरिएका हुन्छन् मैले बुझेको छैन ।

‘अहिले त स्कुल छुट्टी छ हगि ?’
‘त्यही भएर त म काठमान्डू जान ला,’ उसले भनी ।
‘अघि तिमीलाई एयरपोर्टमा छोड्न आउनुभएको को हो ?’ मैले सोधेँ, ‘हजुरबुवा ?’
‘होइन,’
‘को त ?’
‘बुबा,’ उसले भनी ।

हुन्छ नि कति त घरमा अरूले जे बोलाउँछन् त्यही सिको गर्छन् । बुबालाई दाइ भन्छन्, आमालाई भाउजू वा हजुरबुबालाई पनि बुबा वा हजुरआमालाई पनि आमा भनेर बोलाउँछन् । त्यस्तै हो कि ?
‘तिम्रो ग्य्रान्ड फादर कि फादर ?’
‘फादर,’ उसले भनी ।
‘सरी है,’ मैले कान समात्दै भनेँ । ग्लानिबोध भयो । उसलाई सान्त्वना दिन थालेँ, ‘हेर न, मेरी छोरीलाई पनि मसँग देख्दा जल्ले नि हजुरबुबा हो भनेर सोध्छन् ।’

उसले फिस्स हाँसेझैँ गरी । मैले भनेँ, ‘बरु तिम्रो बुबाको त कपाल मेरोजस्तो फुलेको छैन नि, हगि ?’
उसले मुन्टो हल्लाई । फेरि बाहिर हेर्न थाली । जहाज हलक्क आकाश काट्न थालिसकेको थियो । बेलुनभन्दा छिटो उडेको हेर्ने उत्सुकता उसमा कम्ती होला र ? मैले उसको बुबालाई नानाथरी भनिदिएको उसले माइन्ड गरी कि ?

एकपल्ट त्यस्तै भयो । केही वर्षअघिको कुरा हो । पछ्यौरा ओढ्दै हिउँदे घाम तापिरहेका महिलाहरू बसेको मेचको ठिक्क बीचमा छोरीलाई राखेर म मकै खुवाउँदै थिएँ । व्यस्त बजारको त्यो खुला ठाउँमा एक जना बढी बाठा सज्जन टाढैबाट हात हल्लाउँदै चर्को स्वरमा कराउँदै आए, ‘ओहो नारायणजी, नातिनी हो ?’

‘हैन,’ मैले सानो स्वरमा भनेँ, ‘छोरी हो ।’
‘कान्छी छोरी ?’ नजिक आइपुग्दा पनि उनको स्वर उत्रै थियो ।
‘एउटै हो,’ मैले भनेँ ।
‘सेकेन्ड म्यारिज ?’
‘होइन हउ,’ मलाई चिट्चिट् हुन थाल्यो ।
‘लेट म्यारिज ?’ उनका प्रश्नहरू सिध्दिने छाँट देखिएन ।
‘खै, के भनूँ ?’ म लत्रिएँ ।

उनले जान्ने पल्टेर मेरो बायाँपट्टि पछ्यौरा ओढिरहेकी महिलातिर हेर्दै सोधे, ‘भाउजू हो ? ए भाउजू नमस्ते है ।’
कति हाँस्नु ? वा रुनु ?

यस्तै घटनाहरूको भुक्तमानी भएकी मेरी छोरीले आजित हुँदा कहिलेकाहीँ भन्ने गर्छे, ‘पापा, तिमी निदाएको बेला म कपालमा कालो दल्दिन्छु है ।’

म कत्ति सम्झाउने गर्छु । आज आफैँ अनाहकमा अर्काकी छोरीलाई त्यस्तै भन्न पुग्दा मलाई पछुतो मात्र लाग्यो भन्ने सोचेर पुगेन । मैले उनलाई क्षतिपूर्तिस्वरूप केही भन्नुपर्थ्यो, के भन्ने आफैँलाई थाहा थिएन ।
‘तिम्रो बुबा घर फर्किनुभयो ?’

‘अँ,’
‘काँ हो ?’
‘फिक्कल,’
‘फिक्कलबाट केमा आएको ?’
‘बुबाको बाइकमा,’
‘तिम्रो पछाडिको नाम ?’
‘घिमिरे,’
‘बुबा के गर्नुहुन्छ ?’
‘पढाउनुहुन्थ्यो, अहिले छाड्नुभयो,’
‘तिम्रो परिवारमा को–को हुनुहुन्छ नि ?’
‘आमा, दाइ, भाउजू, दिदी र एउटी बहिनी,’ उसले भनी, ‘बहिनी त सानी छ ।’
‘कति सानी ?’
‘सानी के,’
‘गाईभैँसी नि ?’
‘गाई र बाच्छो,’ उसले भनी, ‘बाच्छी हो क्या हो ।’
‘कुकुर नि ?’
‘छैन,’
‘बिरालो त पक्कै होला,’
‘छ नि,’
‘गाई ब्याएको घरमा त दूध चोर्न आइहाल्छ नि हगि ?’
‘मेरो त चोर्दैन,’
‘बिरालोलाई कसरी बोलाउनुपर्छ थाहा छ ?’
‘कसरी ?’
‘सुरी ।’

खासमा उसलाई थाहा छ बिरालालाई बोलाउनै पर्दैन । ऊ कसैले बोलाएर कतै जाने पनि होइन । ऊ कतै गएको पनि कसैलाई थाहा हुँदैन ।

पारिचारिका ट्रे तेर्स्याउँदै आएको देखेपछि मैले उसलाई हातभरि लिन सुझाव दिएँ । ‘के ल्याएको ?’ उसले सोधी ।
‘चक्लेट,’ मैले भनेँ ।

मैले कपास नलिई दुई–चारवटा चक्लेट झ्याप्प पारेँ, उसले मेरो कुरा बुझेर हातभरि मुठ्याई र त्यही पुन्टे झोलाभित्र कोच्न खोजी । कुनै चक्लेट त भित्र पस्न नमानेर अटेर गरेजस्तो देखियो, उसले गुच्चा ठेल्ने औँला बनाएर ट्वाक्क ट्वाक्क हानी ।
‘एउटा त खाऊ,’ मैले भनेँ ।

खोल्न सिकाइदिएँ । मुखमा क्वाप्प पारी, खोल राख्ने ठाउँ देखाइदिएँ । झ्यालबाहिर हेर्न थाली । पारिचारिकाको कुनै उद्घोष आयो । प्रस्ट सुनिएन । सिटपेटी बाँधिराख्न भनिएको थियो । केही बेरमा जहाज हल्लिन थाल्यो, उसले आबुई भन्दै दुवै हात सिटको पाखुरामा च्याप्प समाती । मैले हावा चलेको बेला बादलभित्र पस्दा केही बेर पिङ खेलेजस्तो हुन्छ भनेर सम्झाएँ । झ्यालबाट देखिने सेतो बादल निख्रिएपछि दसैँ पिङ हल्लिन छाड्यो ।

मैले अर्को चक्लेट पनि मिठ्याएँ, ऊतिर हेर्दै सोधेँ, ‘अर्को खान्नौ ?’
उसले ‘अहँ’ भनी ।
एक छिनपछि अर्को एक झट्का पिङ खेल्नुपर्‍यो ।
‘तिम्रो फिक्कल रमाइलो छ, हगि ?’
‘जानुभएको छ ?’
‘त्यही बाटो झरेको हुँ म पनि,’ मैले भनेँ, ‘तिमीलाई सबभन्दा रमाइलो कहाँ लाग्छ ?’
‘अन्तु डाँडा,’
‘घाम उदाउने भएर ?’
उसले फेरि अँ भनी । मैले थपेँ, ‘मलाई त फिक्कल, करफोक, कन्याम, मिरिक नामै मन पर्छ ।’
‘डाँडाहरू हेर्नू त,’ उसले झ्यालबाहिर आँखा नहटाई मतिर इसारा गरी, ‘कत्ति रमाइलो हगि ?’

अर्को एक खेप झट्का लाग्नुअघि पारिचारिका आएर भन्न थालिन्, ‘ए नानु, तिमीलाई बान्ता आयो भने यी यसमा गर्नू है ।’
उनले सिटअगाडिको खल्तीबाट कलेजी रङको कागजी झोला निकालेर देखाइन् । फेरि भनिन् । बालिकाले मसँग भनी, ‘मलाई त कहिल्यै बान्ता आउँदैन ।’
‘राम्रो,’
‘हेर्नू न, कति धेरै घर है ?’
‘त्यही त,’
‘जता हेर्‍यो घर है ?’
‘त्यही भन्या,’
जहाज ओर्लिंदै गएपछि घर झन् ठूला देखिन थाले । उसले सोधी, ‘काँ हो यो ?’
‘काठमान्डू,’
‘यति छिटो ?’

त्यति छिटो हामी अवतरण भयौँ । सिटपेटी फुकाल्ने संकेत आउनासाथ पारिचारिकाले आएर बालिकालाई लगिन् । म उठ्न पाएकै थिइनँ । उसले मलाई नाघेर जानुपर्‍यो । किन त्यति चाँडै झारिदिया होला भन्ने सोचिरहेँ । एक छिनपछि थाहा भयो, झोलाहरूको प्रतीक्षालयसम्म पुर्‍याउने बसको ड्राइभर समानान्तर सिटमा उसलाई लगेर राखिएको रहेछ । भीडभाड बसभित्र मैले उसलाई चियाउँदा उभिरहेका यात्रुमध्ये कसैको काखीमुनि प्वालबाट मैले उसलाई देखेँ । उसले पनि त मलाई चियाइरहेकी रहिछ । त्यस्तो बेला आँखाहरू जत्ति पनि हाँस्न सक्छन् ।

बस रोकिनुअघि मैले झ्यालबाहिर हेर्दा एक जना महिला आँखा फट्टाउँदै र सम्पूर्ण दाँत टल्काउँदै प्रसन्नचित्तले बालिकातिर हेरिरहेको मैले देखेँ । यात्रुको बीचमा ऊ हतारिँदै ती महिलाछेउ पुगी । म ढुक्क भएँ । आफ्नो गतिमा बाहिर निस्किएँ । बालिकातिर हेर्दा ती महिलासँगै उभिरहेकी रहिछ । मैले बाई गर्न हात हल्लाउनुअघि ख्याल गरेँ— उसले मतिर हात हल्लाउँदै ती महिलालाई केही भनिरहेकी थिई ।

मैले भेटेरै जाऊँ भन्ने निधोसाथ पाइला ऊतिर सारेँ । उसको खैरो स्विटरले बाक्लो भएको ढाडमा थुप्थुप्याउँदै भनेँ, ‘ल, काठमाडौं रमाइलोसँग घुम है ।’ अनि महिलातिर फर्केर भनेँ, ‘कस्तो आँटिली रहिछन्, ढुक्कसाथ आइन्, भेरी स्मार्ट ।’

महिला हाँसिरहिन् । मैले सोधेँ, ‘यिनको ममी हुनुहुन्छ ?’
‘होइन,’ उनले मुद्रा अचानक गम्भीर बनाउँदै भनिन् ।
हँ ? म फेरि ट्वाल्ल पर्नुपर्ने भयो ।
‘दिदी हुँ,’ उनले भनिन् ।

तत्काल सरी भन्ने शब्द मरिगए झरेन । ओठभित्र त्यो कैद भएको भयै भयो । त्यसले सास पनि फेर्न पाएन । मैले कति छिटो टाप कसेँ त्यो आँटिली बालिकाले सम्झिरहनेछ, सायद ।

(वाग्लेद्वारा लिखित ‘कोरियाना कफीगफ’ हालै प्रकाशन भएको छ ।)

प्रकाशित : चैत्र ३०, २०७५ १२:०८
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

कान्तिपुर रजत यात्रा : शाहीकालीन पत्रकारिता पाठशाला

‘नारायणजी, तपाईंहरूको अफिसमा सेना पुगिसकेको होला, उनीहरूसँग समन्वय गर्नुभएन भने भोलि तपार्इंलाई दुई–चार घण्टाकै लागि बेपत्ता पारिँदा मैले केही सहयोग गर्न नसक्ने हुनेछु ।’
नारायण वाग्ले

काठमाडौँ — नारायणहिटी शाही संहारको भोलिपल्ट काठमाडौंमा सनसनीपूर्ण सन्नाटा छाउँदा कान्तिपुर परिसरभित्र एउटा छुट्टै शोक व्याप्त थियो । पत्रिका थाकका थाक थन्किएका थिए । पब्लिकेसन्सको इतिहासमा त्यति उराठ बिहान सायद अर्को भएन ।

थोरै सूचनाकै भरमा नेपाल समाचारपत्रले राजा वीरेन्द्रको परिवारका पाँचै सदस्यको फाइल तस्बिरसहित ‘ब्यानर हेडलाइन’ भ्याएजति छाप्यो, जसका फोटो कपीसमेत हारालुछ भए । हाम्रो पत्रिकामा एक शब्द चाइँचुइँ थिएन । राति अबेरसम्म हामीले प्रस्ट चाल पाउनै सकेनौं । गाइँगुइँ, खासखुस, गल्ली हल्ला, फोनफान भने एकाएक चल्दै थियो । पातहरू हल्लिएको थाहा भयो, तर हावाहुरीले सैन्य किल्लाभित्र रूखै ढालेको पहिल्याउने हाम्रोचेष्टा पुगेन ।

त्यस्तो घटना न भूतो न भविष्यति । कोतपर्वको इतिहास पढ्दै आएका हामीले दरबार–समाचार
कसरी गर्ने दीक्षा पाएका थिएनौं । सम्पादकयुवराज घिमिरे विदेश भ्रमणमा रहेकाले म निमित्त भइटोपलिँदा सीधै तीन बल्डयाङ खान पुगें । राजरबार र शाही नेपाली सेनासँग हाम्रो पहुँच र हिमचिम थिएन । उनीहरू कालो सिसारूपी कानुनी कवचमै थिए । हाम्रो सूचनाको स्रोत सरकारी संयन्त्र आफैं उल्लीबिल्ली थियो ।

राजदरबार मामिला हेर्ने प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला सुतिसकेका थिए, जसलाई राजपरिवार संहारको दुई घण्टापछि मात्र बालुवाटारबाट बिउँझाएर नारायणहिटी लगिएको थियो । त्यहींबाट उनी सैनिक अस्पताल, छाउनी गए । मन्त्रिपरिषद् बसाउनुको सट्टा राजपरिषद्तिर निर्भर भए । मुमा बडामहारानी रत्न र अधिराजकुमार ज्ञानेन्द्रको इसारा कुर्न थाले ।
सरकार सुत्यो, दरबार उठ्यो ।
एक दिनको पत्रिकाले शोक मनाउन सक्छ तर पत्रकारिता चिरायु रहनुपर्छ– ‘द किङ इज डेड, लङ लिभ द मोनार्की । द इस्यु इज डेड, लङ लिभ द पब्लिकेसन ।’

चुक्चुकाउँदा चुक्चुकाउँदै हामीले सबेरै प्रकाशकहरूसँग सल्लाह गर्‍यौं । अविलम्ब एउटा विशेष बुलेटिन तयार गर्ने निधोसाथ अपराह्न अंक छापेर जति सकिन्छ वितरण गर्‍यौं । हरेक शब्दको अर्थ खोजिने र शंका मत्थर हुनुको साटो आगो थपिने उद्वेलित मनस्थितिले सडक तताइसकेको थियो । दरबार, सेना र सरकारको विश्वसनीयता सडकमा खसेको बेला जनआक्रोश मत्थर पार्न विश्वासिला समाचार आवश्यक पथ्र्यो । घटनाबारे प्रश्नहरू जति संगीन थिए, हामीले पाउन सक्ने जवाफ उति न्यून ।

माओवादी नेता बाबुराम भट्टराईको हस्तलिखित लेख भूमिगत रूपमै सम्पादक घिमिरेको टेबुलमा आइपुग्यो । ‘देशी–विदेशी षड्यन्त्रद्वारा मञ्चित नयाँ कोतपर्वलाई मान्यता नदिने’ विचार छापेलगत्तै भर्खर स्वदेश फर्केका सम्पादकसहित प्रकाशकद्वय कैलाश सिरोहिया र विनोदराज ज्ञवालीलाई पक्राउ गरेर सरकारले नयाँ राजपरिवारलाई दाम चढाउन खोज्यो ।

एक्काइसौं शताब्दीको त्यो पहिलो वर्ष संसार पनि बदलिँदै थियो । राजनीतिक भविष्यवाणीहरू देखाउने शताब्दी–भित्तेपात्रो सायद कतै हुँदैन । नारायणहिटीमा ‘भटटट गोली पड्केको’ केही महिनामै न्युयोर्क जुम्ल्याहा टावर आक्रमणले धेरैथोक बदलिदियो । अमेरिकाले आतंकवादविरुद्व युद्ध सुरु गर्‍यो । भूराजनीतिक कम्पनहरू फैलिन थाले ।

राजा ज्ञानेन्द्रलाई ज्यादै हतार भयो । अन्तज्र्ञान वा अहंकार वा अरूको अन्ध–उक्साहटमा उनी राजसंस्थाको साख जगाउनेतिर गएनन् । मक्किँदै गएको प्रजातान्त्रिक प्रणालीलाई नै आफूतिर खिच्न थाले । माओवादी द्वन्द्वको लाभ लिने उनको चेष्टाबीच प्रधानमन्त्री कोइरालाले राजीनामा दिएनन् मात्रै, रहस्यका औंलाहरू त्यहींबाट देखाउन थाले ।

राजनीतिक अस्थिरताको अर्को अध्याय सुरु भयो । माओवादीसँग लड्न सेना उत्रिएपछि राजाका स्वेच्छा सतहमै देखापरे । राजाले नेपाल समाचारपत्रमार्फत ‘म दाजुजस्तो टुलुटुलु हेरेर बस्दिनँ’ भन्ने सन्देश दिएर महत्त्वाकांक्षा जगजाहेर गरिसकेका थिए ।

त्यस्तैमा एक दिन, सम्पादक घिमिरे अर्को विदेश भ्रमणमा रहेको मौकामा राजदरबारबाट मलाई पहिलो फोन आयो । ‘पत्रिकाको दोस्रो व्यक्तिका रूपमा तपाईं आउनुभएहुन्छ, सरकारबाट दर्शनभेट बक्सँदै छ,’ संवाद सचिव योगेश्वर कार्कीले भने ।

मसँग दौरा–सुरुवाल थिएन । सहकर्मी दिलभूषण पाठक कुनै बेला नेपाल टेलिभिजनमा राष्ट्रिय पोसाकसहित समाचार वाचन गर्थे । ज्यान मिल्ने हुनाले उनकै घर पसेर पोसाक उनीवरी जुत्ता टल्काएर म नारायणहिटीतर्फ रवाना भएँ । पहिलोपल्ट म दरबार छिर्दै थिएँ । राजासामु हाजिर हुँदा के गर्ने र कसरी बक्स्योस् बोल्ने भन्ने मेरो चिड्चिडाहट सुरु भइसकेको थियो ।

मेरो मोबाइल निभाएर बाहिरै राखियो । शाही अंगरक्षकले ढोका खोलेर मलाई कोठाभित्र पसाउँदा आरामदायी कुर्चीमा बसेका राजा ज्ञानेन्द्रले चुरोट निभाएको मैले देखें । हातको इसाराले मलाई आफू सम्मुखको कुर्चीमा बस्न अह्राए । माँझको टेबलबाट सायद मेरोबारे सचिवालयले तयार पारेको व्यक्तिगत विवरण हेर्दै ‘नारायण, के छ देशको खबर’ भन्ने सोधे ।

देश यसरी चल्न सक्दैन, जनता आजित भइसकेका छन् भन्ने सन्देश उनी दिन चाहिरहेका थिए ।
नेताहरूका विचार त फरक छन् नि भन्ने उप्काउँदा उनले हात तेस्र्याउँदै भने, ‘उनीहरूलाई यही कोठामा राखेर सोधौं, मकहाँ के भन्छन् र बाहिर गएर के बोल्छन् ।’

आधा घण्टामा अंगरक्षकले ढोका खोलेर समय घर्किएको इसारा गर्दा पनि उनले दलहरूप्रति विरक्ति सुनाउन समय थपे ।

मन्दिरबाट निस्केको भक्तजनलाई झैं भाग्यमानी महसुस गराउने दरबारको तरिका रहेछ । बाहिर निस्कनासाथ संवाद सचिव कार्कीले मलाई खुसुक्क भने, ‘सरकारबाट दर्शनभेट बक्सेको प्रतापले अब तपाईंको जीवनमा सुखद् प्रभावहरू पर्नेछन् ।’

मैले गाडीमा सरर सम्झिँदै अघिको वार्तालाप डायरीमा टिपें । उनका विचार सार्वजनिक महत्त्वका भएकाले मलाई समाचार लेख्ने हुटहुटी भयो । लगत्तै सचिवालयका एक जना अधिकृतलाई फोन गरी ‘मलाई अफ द रेकर्ड भनिएको छैन, लेख्न मिल्छ होला नि ?’ सोधें ।

‘मिल्छ,’ उनले भनेपछि म चरा समातेर घर पर्केको बच्चाझैं हुत्तिँदै अफिस पुगें ।

राजासँग झुत्ती खेल्न थालेका कोइरालाले छोरी सुजाताको मण्डिखाटार घरमा भेट्न बोलाए । छुट्टाछुट्टै दर्शनभेट पाएका सम्पादकहरूलाई राखेर उनले सोधे, ‘ल भन्नोस्, राजाले के भने तपाईंहरूसँग ?’

‘गिरिजाबाबु, तपार्इंहरू राजासँग एउटा कुरा, जनतासँग अर्को कुरा गर्नुहुन्छ रे नि ?’

‘संवैधानिक राजाले यसरी पत्रकारमार्फत बोल्ने होइन,’ उनले भने, ‘जे हो दलहरूमार्फत भन्ने हो ।’
राजा र दलहरूबीच सम्बन्ध खल्बलिरहेकै बेला यता कान्तिपुरमा प्रकाशक र सम्पादकबीच पनि सम्बन्ध खल्बलिएको थियो । म सम्पादक बनेसँगै उता सिंहदरवारमा सूर्यबहादुर थापापछि शेरबहादुर देउवा फेरि बसालिए ।

नेताहरूको देशावर दौडाहा जारी थियो । कोइरालाले बेइजिङबाट काठमाडौं नफर्की दिल्ली हानिएर माओवादीसँग वार्ता गरेका थिए । के कुरा भयो राजालाई सुनाए । कोइरालाले हामीलाई बोलाएर सुनाए, ‘मैले बटमलाइन भनिदिएपछि राजालाई लाग्यो– यत्ति त मै गर्न सक्छु । त्यसपछि उनले प्रधानमन्त्री देउवालाई संसद् भंग गर्न लगाएर सत्ता सोझै लिन खोजे ।’

प्रधानमन्त्री देउवा अमेरिका र बेलायत पुगेर बुस र ब्लेयरसँग हतियार सहयोग माग्दै शक्तिकेन्द्रित गर्दै थिए, राजाले थापेको जालबाट उम्किन सकेनन् ।

राजनीतिक नेताहरूका आपसी स्वार्थबीच खेल्न उनले देउवालाई बर्खास्त गर्दै संविधान हातमा लिए । प्रधानमन्त्री फेरबदल गर्न थाले । लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा र फेरि देउवा । तिनै देउवालाई दोस्रोपल्ट अक्षम भन्दै माघ १९ गते बिहान १० बजे दरबारभित्र सजिसजाउ स्टुडियोमा रेकर्ड गरिएको सम्बोधनमार्फत उनले प्रत्यक्ष शासन सुरु गरे ।

‘नारायणजी, तपाईं सरकारको सम्बोधनसुन्दै हुनुहुन्छ होला, फोन नराख्नुस् है, अर्जेन्ट छ,’ संवाद सचिव कार्कीले भने, ‘सम्बोधन सकिनासाथ दरबार आउनुहोला ।’

‘दौरा–सुरुवालमा ?’ मैले सोधें ।

‘ढाका टोपी लाउनुभए हुन्छ,’ उनले भने । मैले सोचें, ‘शासन हातमा लिएपछि राजाले अपर्झट हामीलाई ढाका टोपीमै भेट्ने भए कि ?’

लगत्तै फोन काटियो, इन्टरनेट सेवा बन्दभयो । म कोटेश्वरको बाटो तीनकुने अफिसतिर दौडिँदा विमानहरूको आउजाउ रोकिइसकेको थियो । प्रमुख नेताहरू नजरबन्द या गिरफ्तार भए । अफिस पुग्दा देख्छु त, सैनिक टोलीले मिनी ब्यारेक बनाइसकेको छ । एम–१६ धारी सैनिकहरू समाचार कक्षमा हाजिर भइसकेछन् ।

सहकर्मी गुणराज लुइँटेलले ‘नरहरि (आचार्य) जीलाई पक्राउ गरे’ भनेर प्रबन्ध निर्देशक सिरोहियालाई भनिदिँदा, उनले ‘नारायणजीलाई पक्राउ गरे’ भन्ने सुनेछन् । आफ्नो निवास वरपर शंकास्पद गतिविधि देखिसकेका उनी पनि हतारिए ।

म भने काठमान्डू पोस्टका समकक्षी प्रतीक प्रधानसँग राजदरबार गएँ । कार्कीले सचिवालयको एउटा सामान्य कोठामा राखेर हामीलाई शाही कदमको लामो व्याख्या गरे । ‘यो देश राजाहरूका कारण जोगिएको हो, यसका नदीनालाहरू सुरक्षित भएका हुन्, देशलाई आवश्यक पर्दा यसरी राजेच्छामुताविक कदम हुने गर्छन्, देश जोगाउन तपार्इंहरूले शाही कदमलाई समर्थन गर्नुपर्छ,’ उनले भने ।

हामीले प्रश्नहरू गर्न थालेपछि उनले खास सन्देश प्रस्ट गर्दै भने, ‘नारायणजी, तपाईंहरूको अफिसमा सेना पुगिसकेको होला, उनीहरूसँग समन्वय गर्नुभएन भने भोलि तपाईंलाई दुई–चार घण्टाकै लागि बेपत्ता पारिँदा मैले केही सहयोग गर्न नसक्ने हुनेछु ।’

हामीले अफिस फर्केर सैनिक अधिकृतहरूलाई ‘सेन्सर’ गराउँदै पत्रिका त निकाल्ने तर सादा समाचार मात्र दिने उपाय खोज्यौं । जुन कुराको विरोध गर्न सकिँदैन, त्यसको समर्थन पनि गर्नु हुँदैन भन्ने मान्यतामा हामी एकगठ भयौं ।

सैनिक सेन्सरसिपविरुद्व अन्तर्राष्ट्रिय समुदायले सैनिक नेतृत्वलाई दबाब दिएपछि हाम्रो अफिसको मिनी ब्यारेक त हटयो तर बिदा हुनुअघि अधिकृतहरूले प्रकाशकहरूलाई सम्झाए, ‘तपार्इंहरूले यस्तै सहयोग जारी राख्नुहोला, नभए हामी फर्किनुपर्ने हुन्छ ।’

शाही ‘कू’ को सांकेतिक विरोध गर्ने शैलीस्वरूप हामीले मध्ययुगीन विषयवस्तुमा सम्पादकीय लेख्न थाल्यौं । फोहोर मोजा लगाए कति गन्हाउँछ भन्ने व्यंग्यसहितको सम्पादकीय काठमान्डू पोस्टमा आयो भने तारो हान्ने प्रथालाई राष्ट्रिय खेलको मान्यता दिँदै अन्तर्राष्ट्रियकरण गर्नुपर्ने भनेर कान्तिपुरमा लेख्यौं ।

‘तारो हान्ने’ सन्देशमार्फत दरबारतिर निसाना ताकेको अथ्र्याएर हामीलाई धम्क्याउने फोन आउन किन रोकिन्थ्यो ?

राजाले सम्पादकहरूलाई कापी–कलमसहित लिएर आउन नारायणहिटीमा निम्त्याए । शाही घोषणा अथ्र्याउन उनले हामीलाई आफ्नो कार्यालय पछाडिको एउटा खुला चौरमा गोलबद्ध कुर्चीमा राखे । भने, ‘आतंकवादविरुद्व अब मित्रराष्ट्रहरूले दोहोरो मान्यता राख्न हुँदैन र देशभित्र दलहरू भ्रष्टाचार र आतंकवादविरुद्व उभिनुपर्छ ।’

हामीले प्रेस स्वतन्त्रताबिना न आतंकवाद न भ्रष्टाचार कमजोर हुन्छ भन्ने तर्क राख्यौं ।

प्रेस स्वतन्त्रता पक्षमा पत्रकार महासंघले प्रदर्शन थाल्यो, विधिको शासन बहाली माग्दै नेपाल बारले ।

त्यस्तैमा एक दिन कांग्रेसका पाका नेता बलबहादुर राईले पार्टी झन्डासहित विरोध जुलुस निकालेको आकर्षक मुख्य तस्बिरसहित सयौंको धरपकडबारे प्रमुख समाचार दिएपछि हाम्रा संघर्षका दिन सुरु भए ।

काठमाडौं जिल्ला प्रहरीको अपराध अनुसन्धान शाखाबाट मलाई त्यही साँझ चिठी आइपुग्यो, जसमा भोलि बिहान ९ बजे हनुमानढोका हाजिर हुन आदेश थियो । हामीले फेरि छलफल गर्‍यौं, कानुनबेत्ताहरूसँग सल्लाह लियौं, मैले पत्रकार महासंघका अध्यक्ष विष्णु निष्ठुरीलाई अवगत गराएँ । तोकिएको समयमा म हनुमानढोका हाजिर भएँ । डीएसपीको कार्यकक्षमा मैले भनें, ‘तपाईंले अपर्झट चिठी काटेकाले चिया खान आएको हुँ, बयान दिन होइन ।’

‘हामीले भने केही न केही सोधपुछ गर्नुपर्नेछ,’उनले भने ।

‘तपार्इं सम्पादकलाई बयान लिने आधिकारिक निकाय होइन,’ मैले भनें, ‘समाचारबारे प्रष्टीकरण लिनुपरे प्रेस काउन्सिल छ ।’

एक घण्टासम्म उनले केरकार गर्न खोजे पनि मैले एउटै जवाफ दिएपछि उनले थुन्ने आदेश पाएनन्, थर्काउने ठाउँ पनि भेटेनन् । मैले भनें, ‘अर्कोपल्ट यसरी चिठी काट्नुभयो भने म चिया खान पनि आउन सक्दिनँ ।’

हाम्रा सहकर्मीहरूलाई जिल्ला–जिल्लामात्यसैगरी प्रहरीले पत्र काट्न थाल्यो । सबैलाई त्यही गर्नू भन्ने सल्लाह दियौं– चिया खान आएको भन्नू, बयान दिने होइन ।

प्रेस काउन्सिलले पत्र काट्न थाल्यो । त्यसले केही पार नलाग्ने देखेपछि प्रमुख जिल्ला अधिकारीले हाम्रा प्रबन्धक विनोद ज्ञवालीमार्फत तारन्तार बोलाउन थाले । त्यसै गर्‍यौं, ‘तपाईंले बोलाएकाले चिया खान आयौं, बयान दिन होइन ।’

एकपल्ट त सरकारी वकिलहरू राखेर भकाभक प्रश्न गर्न थाले । म र काठमान्डू पोस्टका प्रतीक ‘यसरी बयानै खोजेको भए अबदेखि नबोलाउनू’ भनेर निस्क्यौं । एकपल्ट उनले निरीहता पोखे, ‘सरकारबाट आफैं पत्रिका पढिबक्सेको रहेछ, रिसानी भएर प्रमुख सचिवमार्फत सोझै मलाई सोध्न आदेश भयो, तपाईंहरूले मेरो अवस्था पनि बुझिदिनुपर्‍यो ।’

शाही शासनले सबैलाई निरीह बनाएको थियो । जनता जगाउन पत्रकारिताले शिर उचाल्नुपथ्र्यो । स्वतन्त्रताको मैदान बढाउन पाइलाका चाल तेजिलो गर्नुपथ्र्यो, बौद्धिकहरू हामीलाई घच्घच्याइरहन्थे । हाम्रा खुट्टा लुला भएको शंका गर्दै एकपल्ट स्तम्भकार खगेन्द्र संग्रौलाले खबर पठाए, ‘सम्पादकलाई भनिदिनू, यस्तो लबस्तरो पत्रिका निकाल्ने हो भने कमण्डलु लिएर देवघाट गए हुन्छ ।’

पाता फर्काउने गरी लेख्न खप्पिस संग्रौलाले उपयोग गर्न पाएको सीमा हेरी कार्टुनिस्ट वात्स्यायनका पोखराबाट व्यंग्यवाण आउँथे । एकपल्ट त्यस्तै एउटा कार्टुन आयो, जसमा कोइरालाले संवैधानिक राजतन्त्ररूपी मरेको घोडा बोकेर हिँडेका थिए ।

त्यो छापिएपछि कान्तिपुरलाई ‘आठौं दल’ को संज्ञा दिने शाही मन्त्रिपरिषद् फेरि जंगियो ।

प्रकाशकहरूलाई दबाब बढ्यो । हामीले पहिलो पृष्ठमा सम्पादकीय मान्यता प्रस्ट गर्न सानो सामग्री लेख्यौं– हामी संवैधानिक राजतन्त्र, बहुदलीय प्रजातन्त्रको मूलभूत संवैधानिक आधारस्तम्भ स्वीकार गरेरै चलिरहेका हौं ।

शाही कदम नै संविधानविरुद्व हो र अन्तत: राजसंस्थाप्रति नै आत्मघाती सावित हुनेछ भन्ने हामीले लेख्दै आएका थियौं । त्यति प्रस्ट्याएर के पुग्थ्यो ? एउटा आकस्मिक मन्त्रिपरिषद् बैठकपछि सञ्चारमन्त्री टंक ढकालले अपर्झट पत्रकार सम्मेलन गरी हामीलाई तर्साउने शब्दहरू प्रहार मात्र गरेनन्, पक्राउ गर्ने तारतम्य मिलाए ।

प्रकाशकद्वय सिरोहिया र ज्ञवाली, म र प्रतीक थुनामा जाने तयारीसाथ बस्यौं । मन्त्री ढकालको खुला धम्कीलगत्तै अन्तर्राष्ट्रिय प्रेस समुदायबाट भत्र्सनाहरू ओइरिन थाले, इयान मार्टिन नेतृत्वको नेपालस्थित राष्ट्रसंघीय मानवअधिकार उच्चायोगको सक्रियता बढ्यो ।

सरकारले पत्रिकातिर हात हाल्न नसकेपछि रेडियोतिर उपकरणहरू थुत्न थाल्यो । रेडियो सगरमाथापछि कान्तिपुर एफएम । सानातिना प्रदर्शनतिर सीमित सात दललाई एक रात अपर्झट कान्तिपुरमा बोलाएर भन्यौं– उनीहरूले एफएमपछि पत्रिका बन्द गराउनेतिर चाल गर्दै छन्, तपाईंहरू कसको साथले आन्दोलन गर्नुहोला ?

दलहरूको ध्यान सशक्त आन्दोलनभन्दा पनि माओवादीसँग दिगो सम्झौता गरी संसदीय परिपाटी पुन:स्थापनातिर थियो । नेताहरू स्वास्थ्योपचार निहुँ गर्दै दिल्ली धाउन थाले । यता कृष्ण पहाडी र देवेन्द्रराज पाण्डे अगुवाइको नागरिक आन्दोलनले सडक जुरुक्क उचाल्न थाल्यो । हामीले विरोधका सबैखाले सामग्रीलाई स्थान दिने गरी साँधसीमा फैलाइसकेका थियौं ।

सात दल र माओवादबीच गोप्य १२ बुँदे समझदारीपछि पनि माओवादी हिंसाप्रति व्यापक संशय रहेको बेला बाबुराम भट्टराईले एक दिन मलाई इमेल गरे । अध्यक्ष ‘प्रचण्ड’ सँग अन्तर्वार्ता गर्न निम्त्याउँदै । मैले प्रतीकलाई पनि ल्याउँदा हुन्छ भनेर जवाफ पठाएँ । हामी दिल्ली हानियौं । नोयडा पुग्यौं । टयाक्सी रोक्यौं । ‘ट्रेकिङ बुट’ लगाएका एक तन्नेरीले हामीलाई यता र उता हिँडाउँदै एउटा सामान्य घरको दोस्रो तलामा उकाले ।

‘तपाईंहरू साहसपूर्वक ज्ञानेन्द्रसँग लड्दै हुनुहुन्छ,’ प्रचण्डले हाम्रो प्रशंसामा भने ।

‘भोलि तपार्इंहरू सत्तामा आउनुभयो भने,’ प्रतीकले भने, ‘तपाईंहरूसँग पनि हामीले लड्नुपर्ने हुन सक्छ ।’

‘हामी त जनताका शक्ति हौं...,’ उनले सफाइदिन खोजे ।

दुई घण्टा अन्तर्वार्तापछि मैले क्यामेरा निकालें ।

सिरानी काखमा राखेर पलेटी कस्दै खुलस्त भइसकेका प्रचण्डले के गर्ने भन्दै भट्टराईलाई सोधे ।

‘यो अन्तर्वार्ताको विश्वसनीयता फोटोले दिन्छ, जनताले तपार्इंलाई देख्न पाएका छैनन्,’ मैले भनें ।

‘त्यही त, प्रचण्ड भन्ने कोही मान्छे छैन भन्ने पनि छन्,’ उनले आफैं भने, ‘कोही ज्ञानेन्द्र नै प्रचण्ड हुन् भन्छन्, कोही पद्मरत्न तुलाधर ।’

मैले झुसझुसे दाह्रीसहित भूमिगत नेताको हुलियाको फोटो ल्याएर काठमाडौंमा गोप्य रूपमा एउटा स्टुडियोमा धुलाएँ । अन्तर्वार्ता उतारेपछि प्रकाशकहरूसँग बसेर हामीले हरेक शब्द दोहोर्‍याएर पढ्दै छाप्न योग्य बनायौं । सरकारले ‘आठौं दललाई कारबाही’ गर्ने त्रास फैलाइरहेकै बेला उक्त अन्तर्वार्तामार्फत माओवादीले हिंसा त्याग्ने अठोट प्रस्ट गर्दै जनआन्दोलनप्रति जनतालाई आश्वस्त पार्न खोज्यो ।

दोस्रो विशाल जनआन्दोलन सुरु भयो । सडक झन्डाहरूले झकिझकाउ हुन थाले । सरकारले बल प्रयोग जारी राख्यो । सहिदको संख्या बढ्दै गयो । सरकारलाई हायलकायल बनाउन कफ्र्यु लागेपछि आन्दोलनकारी सडकमा निस्कने भए । चक्रपथ घेराउ हुन थाल्यो । कफ्र्युकै बीच भारतले करण सिंहलाई विशेष दूत पठायो । अमेरिकी राजदूत जेम्स एफ मोरियार्टीले सिएनएनसँग भनिदिए, ‘राजाले अझै सम्झौता गरेनन् भने भाग्नलाई जहाजको पखेटा भेट्न पनि मुस्किल पर्नेछ ।’

राजाले आन्दोलनको तागत आत्मसात नगरी पहिलो घोषणा गर्दा जनता थप आक्रोशित हुँदै पुन: कफ्र्युकै बेला सडकमा जागे ।

शाही प्रहारहरू छल्दै कान्तिपुरको इतिहासमा सायद सबभन्दा सन्तोषको एउटा प्रहर आयो ।

जनआन्दोलन सफल भएको रात, कान्तिपुर परिसरबाहिर सडकमा विजयी आन्दोलनकारीले घन्काए, ‘लोकतन्त्र जिन्दावाद, कान्तिपुर जिन्दावाद’ । हामीले छतबाट हर्षविभोरसाथ हेर्‍यौं । भोलिपल्ट पत्रिकाको ‘मास्टरहेड’ भन्दा माथि शीर्षक राख्यौं, ‘जनताको जित ।’

पुन:स्थापित प्रतिनिधिसभामार्फत कोइराला शक्तिशाली प्रधानमन्त्री भए । शान्तिसम्झौता गरे, अन्तरिम संविधान ल्याएर माओवादीलाई रूपान्तरित संसद्मा भित्र्याए । राष्ट्रसंघीय शान्ति मिसन आयो । अन्तरिम संविधानमा संघीयता सुनिश्चत नगर्दा मधेस आन्दोलन सुरु भयो ।

सर्वसाधारणको सहादतको सिलसिला जारी रहयो । राजा ज्ञानेन्द्रले झैं कोइरालाले पनि दुई–दुईपल्ट देशवासीका नाममा सम्बोधन गर्दै मधेस प्रदेशसहित संघीयताको बाटो बनाए ।

माओवादीमा भने बल प्रयोगको धंगधंगी बाँकी थियो । हतियार नबिसाएका लडाकुको व्यवस्थापन प्रमुख चुनौती रहेकै बेला युथ कम्युनिस्ट लिग (वाईसीएल) र मजदुर संगठनका नाममा माओवादीसँग अन्य राजनीतिक दल, उद्यमी–व्यवसायीसहित मिडिया हाउसहरूकै द्वन्द्व चर्कियो । कान्तिपुरसँग माओवादीको ईबी बढ्यो ।

शाहीकालमा कान्तिपुर छाप्न नदिने गरी कफ्र्यु पास रोकिएको थियो, माओवादी चकचकीका बेला पनि एकाध दिन पत्रिकै बन्द गर्नुपर्ने भयो । कान्तिपुर र माओवादीबीच सिलसिलाबद्व वार्ता गर्नुपर्ने भयो । सहकर्मी अमित ढकालको नेतृत्वमा मजदुर संगठनसँग भएको वार्ता विस्तार भएर अध्यक्ष पुष्पकमल दाहालसँगै प्रकाशकहरूसहित गर्नुपर्ने भयो । त्यस्तै एउटा वार्तामा प्रतीकले सम्झाए, ‘हामीले पहिल्यै भनेका थियौं– भोलि तपाईंहरूसँग पनि लड्नुपर्ने हुनेछ ।’

संविधानसभा निर्वाचनले माओवादीलाई प्रमुख स्थान दिलाएपछि हामीले उनीहरूका पक्षमा जनलहर भन्ने ब्यानर शीर्षक दियौं । विजयोल्लासको मुद्रामा अध्यक्ष दाहालले हामीलाई नयाँ बजार निवासमा बोलाए । राजनीति थप ध्रुवीकृत भइरहेको संकेत गर्दै भने, ‘गिरिजाबाबुलाई राष्ट्रपति बनाउँदा समानान्तर शक्ति केन्द्र बन्न सक्छ ।’

संविधानसभाका लागि आवश्यक सहमतिको वातावरण निर्वाचन परिणामलगत्तै बिग्रन थाल्यो । सत्ता हस्तान्तरण लम्मिने छाँटका बीच संविधानसभाको पहिलो बैठक राति अबेर वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सुरु भयो । गणतन्त्र घोषणा गर्दै कोइरालाले भने, ‘इतिहासमा एक युग एक चोटि आउँछ ।’

इतिहासमा नयाँ युग घोषणापछि राजाज्ञानेन्द्रले नारायणहिटीको शाही निसानामुनि हलमा आखिरी सम्बोधन गरे । पुर्खाको नासो जनतालाई सुम्पेको सन्देश दिँदै लिखित मन्तव्य पढेर उनी त्यो बिदाइ पत्रकार सम्मेलनबाट ओझेल परे । त्यहीसाँझ रानी कोमललाई बायाँ राखेर आफैं कार हाँक्दै गणतान्त्रिक सरकारले छुटयाएको नागार्जुन जंगल दरबारतिर सोझिए ।

यता कान्तिपुरको आन्तरिक संघर्ष पनि उतारचढावपूर्ण थियो । दुई प्रकाशक परिवारबीचको बेमेलले पब्लिकेसन्स्लाई भित्रभित्रै हल्लाइसकेको थियो । अनेकौं प्रयत्नबीच पनि सहमतिको गुन्जायस नबनेपछि एउटा परिवारले किन्ने र अर्कोले बाहिर निस्केर अर्को हाउस खोल्ने मात्र उपाय बाँकी रह्यो । त्यससँगै हामी– कान्तिपुर र काठमान्डू पोस्टका सम्पादकहरूको पनि बिदाइ भयो ।
१६ वर्ष पूरा बिताएको पत्रिकाबाट निस्कँदा गह्रौं मन गर्नु स्वाभाविक थियो, किनभने त्यो मेरो पत्रकारिताको संघर्षपूर्ण पाठशाला थियो । मैले साधारण सोच र समझको आफ्नो सिकारु शिल्पलाई आँधीबेहरीपूर्ण राजनीतिको तातो आरनमा खार्न पाएको थिएँ ।

देशको हतारको इतिहास कान्तिपुरका पानाहरू हुन् । त्यसप्रति गर्व गर्दा पूर्वसम्पादकद्वय योगेश उपाध्याय र युवराज घिमिरेबाट सिकेको ज्ञान, प्रकाशकहरूबाट पाएको ढाडस तथा अनन्य सहकर्मीहरूको सानिध्यले मिलेको भरथेगप्रति म भारी ऋणी छु ।

कान्तिपुरका पूर्वसम्पादक वाग्ले स्वतन्त्रलेखनमा सक्रिय छन् ।

प्रकाशित : फाल्गुन ७, २०७४ १०:१०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×