२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

बोल्न केको डर ?

अभिनेत्री सुरक्षा पन्त कलाकारको पारिश्रमिकका विषय गरेको टिप्पणीका कारण सामाजिक सञ्जालमा चर्चामा छिन् ।

काठमाडौँ — कलाकारलाई पारिश्रमिक धेरै दिइएको तपाईंलाई किन चित्त नबुझेको ?
कलाकार भनेपछि कलाको आधारमा पैसा पाउनु/दिनुपर्ने हो । तर, यहाँ एउटा ‘इन्टरटेनर’ लाई पैसा दिएजस्तो भएको छ । यो पाराले सही ठाउँमा पुगिन्न ।

बोल्न केको डर ?

दिनेले दिन्छ, लिनेले लिन्छ । अरूले किन टाउको दुखाउनुपर्‍यो ?
यस्तो कुरा सरकारले हेर्नुपर्छ, मलाई ‘बाल’ भन्न मिल्दैन । चाहे समाजमा होस्, चाहे फिल्मक्षेत्रमा, अधिकार पाएपछि जिम्मेवारी बहन गर्नुपर्छ । फिल्म लोकतान्त्रिक ‘प्लेटफर्म’ हो, यहाँ जे पनि हुन सक्छ । त्यसलाई नियन्त्रण गर्न पनि हामीले बोल्नुपर्छ । खर्चअनुसार प्रगति छैन । उद्योग बन्न सकेको छैन । भनेपछि समस्या पक्कै छ । त्यसैले फिल्मक्षेत्रको सदस्य भएकाले चासो बढेको हो मलाई ।


नियन्त्रण गर्नुपर्छ भन्नुभयो । कसले कसलाई नियन्त्रण गर्ने ?
हामीले मात्र जति कराए पनि केही हुन्न । फिल्म क्षेत्रको हकमा चलचित्र विकास बोर्डले नियन्त्रण गर्नुपर्छ । निर्माता चयन, कास्टिङदेखि कति पैसा कहाँ खर्च गर्ने भनेर एउटा ढाँचामा ढाल्नुपर्छ ।


यो त स्वविवेक वा समयसँगै थेग्रिँदै जाने प्रक्रिया हो । यसमा बोर्ड वा कुनै निकायको हस्तक्षेप हुनुपर्छ भन्नु अपरिपक्वता होइन र ?
भोलि पैसा हुने जोकोही निर्माता बन्न सक्छन् । सही नियत भएको मान्छे आउनुपर्‍यो । कला मर्नु भएन । मैले कडा नियन्त्रण भनेको होइन । तर, एउटा सिस्टमचाहिँ बसाउनैपर्छ । हामीलाई ‘पोर्न मुभी’ हेर्न मन लाग्या होला । त्यही बनाउने त ?


कलाकारिता गरेर जीवन गुजार्न सकिन्न भन्ने गुनासो व्यापक छ । तपाईंचाहिँ कलाकारको पारिश्रमिक बढी भयो भन्नुहुन्छ । कस्तो विरोधाभास ?
कलाकारले धेरै पैसा पाए भनेकै होइन । फिल्ममा उसले दिने ‘इनपुट’ अनुसार पारिश्रमिक निर्धारण हुनुपर्छ भन्या हो । फिल्मभित्र कलाकार–कलाकारबीच पारिश्रमिकको ठूलो अन्तर छ । हामीले भोग्या छौं । कुनै एक व्यक्तिको मात्र सफलता/असफलता हुन्थ्यो भने मलाई समस्या हुन्नथ्यो । महँगो पारिश्रमिक लिने कलाकारबाट सोहीअनुरूप ‘रिटर्न’ भएन भने हामी सबैलाई असर पर्छ । दर्शकको विश्वास घट्छ । त्यही भएर जिम्मेवार सदस्यको नाताले यस्ता कमजोरी औंल्याउनुपर्छ ।


हिरो–हिरोइनमा पारिश्रमिक विभेद कत्तिको छ ?
यो असमानता कला क्षेत्रमा मात्र होइन, पूरै समाजमा छ । मलाई के लाग्छ भने फिल्मक्षेत्रमा केटालाई बढी दिने कि केटीलाई भनेर सोच्नै हुन्न । कलाकारले फिल्म सबल बनाउन गरेको शारीरिक र मानसिक लगानीअनुरूप पैसा पाउनुपर्छ । न कि केटाकेटीको आधारमा । कति पटकथामा हिरो–हिरोइनको बराबर रोल हुन्छ तर हिरोइनको पारिश्रमिक न्यून । कहिलेकाहीँ एउटै फिल्ममा उही स्तरको भूमिका हुँदासमेत हिरो–हिरो वा हिरोइन–हिरोइनबीच पनि असमानता हुन्छ । यस्तो हुनुहुन्न ।


फिल्म क्षेत्रभित्रका विकृति वा प्रवृत्तिमाथि टीकाटिप्पणी गर्नुहुन्छ । पाखा पारिएला भन्ने डर लाग्दैन ?
पाखा परियो भने के गर्ने ? छोडिदिने । मसँग कलाकारको रूपमा क्षमता छ । दर्शकको रूपमा विश्लेषण गर्न सक्छु । मलाई कसैले अभिनय गराएन भने केही वर्षपछि फिल्ममेकर बनेर आफैं काम सिर्जना गर्न सक्छु भन्ने आत्मविश्वास छ । त्यसैले भएको कुरा बोल्न केको डर ? यस्तो डर त अल्छी गरेर टिक्न खोज्नेहरूलाई मात्र हुन्छ । पढे–लेखेको पुस्ता फिल्ममेकिङमा आउँदै छ, म उनीहरूसँग काम गर्न पनि तयार हुनुपर्छ ।


'अझै पनि' देखि'गोपी' सम्म आइपुग्दा आफ्नो अभिनय क्षमतालाई कसरी मूल्यांकन गर्नुहुन्छ ? तपाईंसँग भर गर्न सकिने खुबी देखाइसक्नुभयो र ?
कुशलता देखाउन ठूलो स्केलको भूमिका पाएको छैन । जति पटकथामा काम गरें, त्यसमा मेरो भूमिका सबल रूपमा लेखियो भन्ने लाग्दैन । तैपनि सानै भूमिकालाई शतप्रतिशत न्याय गर्ने प्रयास गरेकी छु । राम्रा समीक्षकले मेरो अभिनयमा खोट लगाउने ठाउँ छैनन् भनेका छन् । म फरक अभिनय शैली जन्माउन तयार छु । तर त्यहीअनुसारका कथाहरू लेखिएका छैनन् ।


करिअरको चार वर्षमा भनेजस्तो भूमिका पनि पाउनुभएनछ । यो असन्तुष्टि/कुण्ठा तपाईंका अभिव्यक्तिमा प्रतिविम्बित भएको त होइन ?
केही हदसम्म होला पनि । गतिलो भूमिका पाएर पनि मैले राम्रो गर्न नसकेको भएचाहिँ यस्तो रिस पक्कै उत्पन्न हुँदैनथ्यो । ‘धनपति’ पछि मलाई त्यस्तै भूमिकाको अफर आयो । मैले खेलिनँ ।


पारिश्रमिकचाहिँ कति लिनुहुन्छ ?
मैले जति समय र मिहिनेत दिनुपरेको छ, त्यसअनुरूप ठीकै पाइरहेको छु । त्यो भनेको तीन लाखभन्दा तलै हो । त्योभन्दा माथि जान सकेको छैन ।

प्रकाशित : चैत्र २३, २०७५ १२:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?