कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

स्कुटी ब्लुज

नीरु राजवंशी

काठमाडौँ —  
केही दिनअघि सामाजिक सञ्जालमा एउटा डरलाग्दो भिडियो भाइरल भयो  । कुनै एक पूर्वप्रधानमन्त्रीको ‘सवारी’ को सुरक्षामा हिँडेको सशस्त्र प्रहरीको गाडीले गलत साइडबाट ओभरटेक गरेर एउटा स्कुटरलाई पाहा पछारेजसरी पछारिदियो र वास्ता नगरी हुइँकियो  ।

स्कुटी ब्लुज

स्कुटरमा सवार एक पुरुष र महिला पछाडिबाट आइरहेका अरूगाडीको पाङ्ग्रामुनि किच्चिनबाट भाग्यले बाँचे । प्रहरीले यसलाई सामान्य घटना भनेर टारिदियो र चालकलाई झारातिराइ जरिवाना गरेर ‘आम नागरिक’ हरूको आँखामा छारो हाल्यो ।

म आफैं पनि स्कूटर चलाएर आफ्नो काममा हिँड्ने भएकाले यो ‘साधारण’ घटनाले मलाई असाधारण रूपमा त्रसित बनायो । म सोच्न बाध्य भएँ, काठमाडौंका सडकमा दुईपाङ्ग्रे सवारी चलाउनेहरू, विशेषगरेर केटी मान्छेहरू कति सुरक्षित छौं त ? यही क्रममा स्कुटरसँगको मेरो सम्बन्ध अलि अघिबाटै केलाउन थालें । करिब ९ वर्षअघिको कुरो हो, म झापाको एउटा एफएममा कार्यक्रम सञ्चालकको रूपमा कार्यरत थिएँ । त्यसैताका मेरो आफ्नै कमाइले जिन्दगीको पहिलो दुईपाङ्ग्रे सवारी साधन किन्दा खुसीले मेरो भुइँमा खुट्टा नै थिएन । मैले स्कुटर किन्नुअघि कहिले दादाले बाइकमा पुर्‍याइदिनुहुन्थ्यो, कहिले सार्वजनिक यातायात चढ्थें भने कहिले एउटै बाटो पर्ने सहकर्मीसँग यात्रा गर्थें । स्कुटर भएपछि म घरबाट ३७ किलोमिटर परको रेडियोमा जागिर खान त्यसैमा दिनको दुई पटक ओहोरदोहोर गर्थें । नयाँ स्कुटरसँगको मेरो लगावले दिनको ५४ किलोमिटरको यात्रा कहिले पनि झिंजोलाग्दो भएन । त्यसमाथि झापाको जामरहित फराकिलो बाटोले गर्दा पनि स्कुटरले मलाई पँखेटा लागेको चराजस्तो बनाइदिएको थियो ।

स्नातक सकिएपछि उच्च अध्ययनका लागि राजधानी आएँ । म प्लेन चढेर आएकी थिएँ, मेरो स्कुटर एक दिनअघि क्यारियरबाट आएको थियो । बस्ने ठाउँको टुंगो लाग्नासाथ म क्यारियरको सीतापाइलास्थित अफिसमा आफ्नो प्यारो स्कुटर लिन गएँ । त्यहाँबाट निस्कने बेला गृहजिल्लाको तुलनामा राजधानीको सवारीको चाप, जाम, अस्तव्यस्तता र जथाभावी कुनै नियम नमानी चलाउने वीर चालकहरूको ताल देखेर म निकै आत्तिएँ । हुन त त्यो मेरो पहिलो राजधानी भ्रमण थिएन । त्यसअघि मोटरैमोटर देखेर मख्ख परेकी म, यस पटक भने तिनै मोटरहरू देखेर आत्तिएँ । किनकि अब मैले पनि त्यही भीडभाडमा स्कुटर चलाउनुपर्ने थियो । त्यति रहरले किनेको स्कुटर अचानक यहाँ आएर मलाई घाँडो लाग्न थाल्यो ।

यस्तो भीड बाटोमा कसरी स्कुटरलाई आफू बस्ने ठाउँसम्म लैजानु भनेर मेरा नौनाडी फत्रक्कै गले । अमिलो मन लगाउँदै जेनतेन सीतापाइला कलंकी सडकमा त्यसलाई चलाउँदा मेरा हातगोडा लुगलुग कामेको म अझै पनि सम्झिन्छु । जसोतसो गर्दै आफू बस्ने ठाउँसम्म स्कुटर त पुर्‍याएँ, त्यसपछि बाटोमा कुदाउने आँट नै आएन । फेरि नयाँ सहरमा नयाँ बाटोहरू चिन्नै पनि गाह्रो थियो । भर्खर जागिर छोडेर आएकी हुनाले गोजी गरम नै थियो । फलस्वरूप आ...होस् भनेर स्कुटरलाई थन्क्याएर यताउति निक्लन पर्दा ट्याक्सी चढ्न थालें । तर, पन्ध्र–बीस दिन ट्याक्सी चढेपछि मलाई गाह्रो हुन थाल्यो । एक त कहीं जानुअघि ट्याक्सी चालकहरूलाई हार गुहार र अनुरोध गर्नुपर्ने । आफूलाई जानुपर्ने ठाउँ र उनीहरूको इच्छामा जहिले पनि ३६ को आँकडा हुने । मिटर चल्ने वा सही चल्ने ट्याक्सी भनेको त चिठ्ठा परेजस्तो दुर्लभ हुने । उनीहरूले मागेको मनपर्दी भाडा तिरेर हिँड्दाहिँड्दा मेरो त अर्थतन्त्र नै डाँवाडोल हुन थाल्यो । यसरी त हुँदैन अब जे पर्लापर्ला भनेर मैले आँट गरेर स्कुटर चलाउने निर्णय गरें । भएभरका सबै भगवान्लाई मनमनै गुहार्दै बाटोमा म मेरो दुईपाङ्ग्रे गुडाउन थालें । मेचीको नम्बरप्लेट देखेर घरीघरी ट्राफिकले रोक्नु त सामान्य कुरो थियो । कहिलेकाहीं त आफ्नै स्कुटरको नम्बर सोधेर छड्के हान्ने प्रहरी देख्दा हाँसो पनि उठ्थ्यो । धूलोबाट बच्न पूरै अनुहार छोपेको बेला लाइसेन्समा भएको र स्कार्फले छोपेको अनुहार एउटै हो कि होइन भनेर प्रमाणित गर्न स्कार्फ खोलेर अनुहार देखाउनसमेत पर्थ्यो । यी सबलाई मैले सामान्य रूपमा लिएँ किनभने ट्राफिकको त ल भैगो ड्युटी नै हो । तर एउटी केटी मान्छेले बाटोमा सवारी चलाउँदा अरू कति किसिमका हन्डर खानुपर्छ भन्ने पनि मलाई थाहा हुन थाल्यो ।

माइक्रोलगायतका अधिकांश सार्वजनिक सवारी, मोटरसाइकल र गाडी चलाउने पुरुष प्रजातिहरूको कुरा गरी साध्यै छैन । केटी मानिसले चलाएको देख्नासाथ उसलाई धूर्त र लोलुप आँखाले हेर्दै मुख मिठ्याउँदै जानुपर्ने कस्तो ग्रन्थि सक्रिय हुने हो मैले कहिले पनि थाहा पाउन सकिनँ । झन् गर्मी महिनामा हाफ प्यान्ट अथवा अलि छोटो स्कर्ट लगाएको बेला वरिपरिका अरू चालकहरूले आँखैले निलूँलाजसरी क्वारक्वार हेर्दा हुने असहजता एउटी केटीलाई मात्रै थाहा हुन्छ । यस्तो म स्वयंलाई पनि निकैपटक परेको छ । अघिल्लो साल गर्मीमा मैले स्कर्ट लगाएर स्कुटी चलाइरहेको बेला एउटा दुःखी आत्माले बाइकमा हुइँकिँदै आएर मेरो कानैमा ‘उडायो, उडायो’ भनेर हाँस्दै गएको थियो । उसको हुँडारको जस्तो हाँसो र भद्दा मजाकले मलाई निकै दिनसम्म बिथोलेको थियो ।

म सकेसम्म मध्यम गतिमा र नियम मानेर स्कुटर चलाउने गर्छु । त्यसैले कहिलेकाहीं आफन्त वा साथीहरूलाई पछाडि राख्दा उनीहरू मलाई गिज्याउने गर्छन्, ‘तेरो पछाडि बस्दा त एक निद्रा सुतेर ब्युँझन भ्याइन्छ ।’ त्यसो हुँदा पनि म हाँसेर टार्ने गर्छु । तैपनि कहिलेकाहीं कछुवाको गतिमा गइरहेका गाडी वा मोटरसाइकललाई उछिन्यो भने, उनीहरूले जसरी आँखा तर्छन् र अचानक हुइँकिएर जित्छन्, त्यो देख्दा यस्तो लाग्छ एउटी केटीले चलाएको स्कुटर अघि जानु भनेको उनीहरूको स्वाभिमानमा निकै ठूलो धक्का पुर्‍याउनु हो । अधिकांश त्यस्ता चालकहरूले मलाई हुइँकिएर ओभरटेक गर्नैपर्ने, पेल्दैपेल्दै छेउको फुटपाथ वा पर्खालतिर लगिदिनुपर्ने र घ्याच्च ब्रेक हानेर रोकिदिनुपर्ने सम्भवतः कुनै अघोषित नियम छ कि भन्नेजस्तो लाग्छ । उनीहरूलाई किन यस्तो लाग्छ कि सवारी साधन चलाउनु भनेको महिलाहरूको काम होइन ? त्यसैले पनि होला महिला चालकहरूलाई उडाएर बनाइएका प्रशस्त चुट्किलाहरू संसारभरि नै प्रचलित छन् ।

एक ठाउँबाट अर्को ठाउँ जाँदा जाममा कुरेरै आधा जीवन बित्लाजस्तो छ काठमाडौंको ट्राफिक । बिहान हिँडेको साबुत बाटो बेलुका फर्कंदा खनखान भइसकेको हुन्छ । कुन बेला कहाँको बाटो एकतर्फीमा परिणत भयो भनेर बुझ्न पनि त्यत्तिकै गाह्रो । ब्रुमरले उठाएर पनि साध्य नलागेको धूलोको कुरो त झनै गरिसाध्य नै छैन । सडकको समस्या त भई नै हाल्यो, कहिलेकाहीं स्कुटर बाटोमा बिग्रियो, स्टार्ट भएन र वर्कसपसम्म घिच्च्याएर लैजानुपर्‍यो भनेचाहिँ तोरीको फूल देखिन्छ । त्यो बेलाको पीडा भोग्नेलाई नै मात्र थाहा हुन्छ । सेल्फ स्टार्टले काम गरेन र लात्ताले हानेर स्टार्ट गर्नुपर्‍यो भने त झन् के कुरा गर्नु ! स्कुटरलाई डबल स्ट्यान्डमा लगाउन सम्भवतः थोरै मात्र केटीहरूले सक्छन् । मेरा लागि त त्यो महाभारतै हो ।

केटी मान्छेले भोग्नुपर्ने अर्को समस्या भनेको नियमित सम्भारका लागि सर्भिसिङ सेन्टर लैजानु हो । घरमा हुँदा दादाले त्यो जिम्मा लिइदिने हुँदा कुनै टन्टै थिएन । यहाँ त्यो पनि आफैं गर्नुपर्थ्यो । केटी मान्छेलाई यान्त्रिक ज्ञान हुँदैन भन्ने सोचेर होला (जुन केही हदसम्म सही नै लाग्छ) मिस्त्रीहरूले फेर्नु नपर्ने, नफेरको पार्टपुर्जा फेरेको भन्दै त्यसको मोल ठटाएको अनुभव मसँग छ । पछिपछि आफैंले अलि जानकारी बटुल्न थालेर किन भन्ने प्रश्न उठाउन थालेपछि माक्र त्यो त्रम रोकियो ।

यी सबै कारणहरूले गर्दा विशेषगरी केटी मान्छेले काठमाडौंको अस्तव्यस्त सडकमा स्कुटर चलाएर सही साबुत रहनु भनेको कुनै युद्ध जितेसरह हो । यी सबै कठिनाइका बाबजुद हामी स्कुटर त्याग्न सक्दैनौं । किनभने सार्वजनिक यातायातको भीडमा केटीहरूले भोग्नुपर्ने अनेक किसिमका कठिनाइबाट उन्मुक्ति पाउन स्कुटर हाम्रो लागि वरदानै हो । त्यसैले हिजोका दिन स्कुटर चलाउन डराउने म आज काठमाडौंको सडकमा ढुक्कसँग गुडिरहेकी हुन्छु । ज्यान हत्केलामा नै किन नहोस्, यसले मलाई आत्मनिर्भर र आत्मविश्वासी हुन सघाएको छ । यो मेरा लागि सस्तो र सुलभ यात्राको माध्यम बनेको छ । एक दिन ट्याक्सीमा खर्च हुने रकमले मलाई एक हप्ता स्कुटरको इन्धन धान्न पुग्ने हुनाले खल्तीमैत्री पनि छ । बाटोमा मजस्तै अरू युवती र महिलाहरूले स्कुटर चलाएको हेर्दा मलाई रमाइलो लाग्छ । सोच्छु, मेरोजस्तै उनीहरूका पनि अनेकौं पीडाहरू होलान् । बेलाबेला स्कुटर दुर्घटनाका खबरहरू सुन्दा आत्तिन्छु तर जित डरकै अघि छ भन्ने विज्ञापन सम्झेर मन दह्रो बनाउँछु । म कहिलेकाहीं सोच्छु, केटीहरूले स्कुटर चलाउनु फेसनका लागि होइन, आवश्यकताका लागि हो भन्ने कुरा सवारी चलाउनेले, विशेषगरेर पुरुषहरूले पनि बुझिदिए कति राम्रो हुन्थ्यो होला । बाटो उनीहरूको जत्तिकै हाम्रो पनि हो भन्ने चेतना उनीहरूमा पलायो भने हाम्रा लागि अझै सहज हुने थियो होला ।

म कुनै दिन बीपी राजमार्ग हुँदै झापासम्म आफैं स्कुटर चलाएर जाने एउटा सपना पालेर बसेकी छु । हेरौं, त्यो कहिले साकार हुने हो ।

केही समयअघि स्कुटरको विज्ञापनमा प्रियंका चोपडाले भनेको कुरा मलाई अझै पनि सम्झना छ, ‘ह्वाई सुड ब्वाइज
ह्याभ अल द फन ?’

प्रकाशित : चैत्र २३, २०७५ १२:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?