१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

एक्लै उभिएका

राजकुमार बानियाँ

काठमाडौँ — मन–मन्दिर’ २०७ कृतिमार्ग, कोटेश्वर अनि त्रिचन्द्र कलेज, घन्टाघर  । घरखाना र कारखानाबीचमा आक्कलझुक्कल नयाँसडकको कविकुनो  ।

एक्लै उभिएका

कवि, कथाकार, नाटककार, पटकथाकार, सम्पादक अविनाश श्रेष्ठको खास ठेगाना यिनै हुन् । चार वर्षअघि मुटुमा ‘स्टेन्ट’ प्रत्यारोपण गरेपछि उनको स्थायी मुकाम घरखाना हो भने पनि हुन्छ ।


उनको सार्वजनिक जीवन कहिल्यै फराकिलो भएन । हम्मेसी उनलाई साहित्यिक सिन्डिकेटका निम्ता आउँदैनन् । आइहाले पनि जाँदैनन् । जमघटमा गइहाले पनि उनीभित्रको संवेदनशील कवि छटपटाउँछ, कहाँ बस्ने ? कोनेर बस्ने ? मञ्च त प्रायः बोलवीरहरूले ओगटेकै छन् । समुद्रमन्थनको प्रसाद ‘देवता’ ले नै पाउँछन् ।धन्य हो नेपाली साहित्य ! अविनाश श्रेष्ठलाई कुनै कार्यक्रममा फ्रमुख अतिथि बनाएन । बाह्रमासे गोष्ठी, विमोचन, अन्तर्क्रियामा वत्ता बनाएन ।


आफ्नो जवानी र जिन्दगीको सामर्थ्य साहित्य संसारमा पोखेका अविनाश श्रेष्ठ एक्लै, फगत एक्लै छन् । अविनाश कहिले ‘स्टाटस कन्सस’ देखिएलान्, कहिले कठोर मिजासका भेटिएलान् । तर, पाठकका नजरमा उनी साहित्यका ‘मिस्टर पर्फेक्सनिस्ट’ हुन् । थोरै लेखेर पनि उत्तिकै स्थापित छन् हरेक विधामा । अविनाशको साहित्यिक कद न घटाउनु जरुरी छ, न त बढाउनु । के अविनाश मञ्चमा उक्लन चाहँदैनन् ? त्यसो पनि होइन । के अविनाश बोल्न जान्दैनन् ? त्यसो पनि होइन । उनलाई भाउ दिन त परै जाओस्, भैपरी आउँदा खुट्टा तान्ने जमात हाजिर छ । ‘असमबाट आउँदा सेनापतिको हैसियतमा आएको थिएँ, काठमाडौंको साहित्य संसारमा सिपाहीजस्तो मात्रै भएँ, कतिपयले त जोकरसमेत बनाए,’ अविनाशको आत्मसमीक्षा छ, ‘मैले जे जति पाएँ, त्यो काम गरेर पाएँ ।’


अविनाशको असम अध्याय लामो छ । ११ वर्षको उमेरमा लाहुरेहरूको पछि लागेर उतिबेलाको पश्चिम ४ नम्बर अर्थात् पर्वतको कुस्माबाट भागेका थिए, यमनारायण श्रेष्ठ । घुम्दैफिर्दै बर्माको रंगुन टेकेर त्यहाँ आलु र घिउको व्यापार चम्काए, होटल खोले । दोस्रो विश्वयुद्धताका जापानी बमबारीपछि कुम्लोकुटुरो बोकेर मणिपुरको बाटो हुँदै असमको गुवाहाटी–शिलाङ (जीएस) रोड पुगे । उलु, काँस र सिरुघारी फाँडेर नेपाली बस्ती बसाए । दाल, चामल, गुड, तेल, गाईबस्तुको दानासमेतको होलसेल व्यापार एकलौटी चलाए । पाल्पाली पत्नी टीकाकुमारी जोशीबाट जायजन्म नभएपछि ४५ वर्षको उमेरमा भित्र्याए, बलेवा, बाग्लुङकी लक्ष्मीदेवीलाई । पिता ४७ वर्षको छँदा गुवाहाटीमै जन्मिए, अविनाश । उनको नाममा अलिकति बाङ्ला संस्कृति झल्किन्छ । बंगाली होमियोप्याथी डाक्टर सेन गुप्तापत्नीले ‘आमार चोखेर मनिराम कृष्ण परमोहंसा’ भन्दै काखमा च्यापेर जुराएकी थिइन्, अविनाशचन्द्र ।


साढे तीन वर्षको उमेरमा कुस्माको माटो टेके अविनाशले । त्यहाँ चारवर्षे बसाइ एकखाले निर्वासनजस्तो थियो । सरल र सोझा दिनहरू । उनी बुबा र ठूली आमासित फर्किए, गुवाहाटी । गुवाहाटीका गिर्जाघर र मस्जिदका बुर्जा, मिनार, छाना र गुम्बज, बजार र भीडका असंख्य सिलसिलाविहीन मोन्टाज अनि हाटबजार, इष्टमित्रका घर, सभा– सत्संग–समारोह, सिनेमा, सर्कस अनि भ्राम्यमान थिएटरका पन्डाल । ती स्वप्नवत दृश्य छन् स्मृतिमा । धर्म, संस्कृति, परोपकारमा आबद्ध यमनारायणले तिनताका थुप्रै कविलेखकका किताब छापिदिएका थिए । हेमचन्द्र गौतमको ‘हिमालको फूल’ अनि लक्ष्मीप्रसाद देवकोटाको ‘मुनामदन’ को सिको गरी अविनाशले कविता सुनाएका थिए, गोर्खा एमई स्कुलको देवकोटा जयन्ती कार्यक्रममा । घाँटीको क्यान्सरले थलिएका पिता ५८ वर्षको उमेरमै बिते । उनै त थिए अविनाशको मानसनिर्माण अभियन्ता अनि आदिगुरु ।


पिता बितेको ९ महिनामा कान्छो भाइको निधन भयो भने त्यसको पाँच दिनपछि ठूली आमा । नौ महिनामा परिवारका तीन जना बितेकाले मृत्युबोधले पछ्याइरहन्छ आज पनि अविनाशलाई । हेर्दाहेर्दै एउटा हाँस्दो–खेल्दो परिवार उजाडिएर भताभुंग बनेको थियो । उनी परिवारविहीन बनिसकेका थिए । प्याकेटभित्र एक्लो रहन गएको चुरोटको खिल्लीजस्तै । कुनै भीडमा हराएको कुनै बालकजस्तै । अनियन्त्रित आवारापन र बोहेमियन बानीबेहोरामाझ ‘म पनि केही हुँ, कोही हुँ’ भन्ने आत्मविश्वास र आत्ममुग्धताले अविनाश श्रेष्ठ बनायो सायद ।


भाष्कर नाट्यगृह र रवीन्द्र भवनमा हिन्दी र असमीया भाषामा नाटक भइरहन्थे । असमीया भ्राम्यमान थिएटरका ट्रिक्स, फर्मुला र टोन समातेर सन् १९७२ मा गुरुनानक हाइस्कुलको वार्षिक समारोहमा उनको हिन्दी नाटक मञ्चन भयो, ‘मजदूर’ । शैयदउल्लाह खान सरले बधाई दिएका थिए । उनलाई देखाउनु थियो नेपाली भाषामा नाटक । नभन्दै आर्य विद्यापीठमा आईएस्सी पढ्दा नै डिस्ट्रिक लाइब्रेरी हलमा नेपाली नाटक मञ्चन भयो, ‘यहाँ जिन्दगी यस्तै छ’ । यसरी नाटकप्रति रहस्यमय मानसाग्नि प्रज्ज्वलित भइरहँदा गुवाहाटीमा उनका ‘मादकता अनि मादकता’, ‘प्रतीक्षिता यशोधरा !’, ‘पर्खाल भत्किनेछ’ लगायत १४ नाटक मञ्चन भएछन् । ‘नाटकमा चारकित्ता तोकिएको सीमित क्षेत्रभित्र जीवनजगत्का सम्भव–असम्भव र सीमित–असीमित खेलहरू हुन्छन्,’ उनी भन्छन्, ‘रङ्गमञ्चमा प्रस्तुत गरिने जागतिक खेललाई दिक् र कालको यही अदृश्य जादुले लार्जर देन लाइफको कोटिमा विस्तारित गर्दो रहेछ ।’


चित्रमय हस्तलिखित पत्रिका ‘दीपक’ मा उनको पहिलो कविता छापिएको थियो, ‘बाढी’ । मूल प्रति बनाउने अनि रजिस्टर्डमा नाम लेखाउँदै महानगरभरि पढिने घुमन्ते पत्रिका । त्यहाँ बसुन्जेल उनी एक्लै थिएनन्, सयौँ जनाको दस्ता थियो । नव सापकोटा, अर्जुन निरौला, दिल साहनी, भविलाल लामिछाने, गोपीनारायण प्रधान, कृष्णप्रसाद ज्ञवाली, युद्धवीर राणा, पोखरेल पीताम्बर, खेमलाल पोखरेल आदि उनका समकालीन र अग्रज थिए । सन् १९७९ मा विदेशी लखेट्ने प्रचण्ड उथलपुथलको प्रतिक्रियास्वरूप आएको ‘कोलाज आन्दोलन’ का प्रवर्तक उनै थिए ।


त्यो समय तीनवटा नामले धुम मचाइरहेका थिए । राजनीतिमा इन्दिरा गान्धी, सिनेमामा राजेश खन्ना, पृथ्वीको नक्सामा थपिएको नयाँ मुलुक बाङ्लादेश । नेपाली भाषालाई भारतीय संविधानको आठौं अनुसूचीमा मान्यता दिलाउने क्रममा गान्धीसँग सन् १९७३ मार्च १३ मा भएको पहिलो वार्तामा सहभागी टोलीमा वृहत्तर गुवाहाटी नेपाली विद्यार्थी संघको महासचिवको हैसियतमा थिए अविनाश । पार्लियामेन्ट भवनको १३ नम्बर हलमा ८४ मिनेट लामो वार्ताको बिट मारेकी थिइन् गान्धीले, ‘यह मसला एक ही मिटिङ मे हल होनेवाली नहीं है । आप से फिर भी मुलाकात होगी । अब नेपाली भाषा की बात पटरी पर आ गई है । गाडी आगे बड रही है ।’


त्यसपछि अविनाशकै नेतृत्वमा गुवाहाटीमा गठित नेपाली साहित्य परिषद् (नेसाप) पहिलो दर्तावाल संस्था बन्यो । भारतीय साहित्य अकादमीले मान्यता दिएको संस्था पनि । नेसापलगायत संघसंस्थाको पहलमा भानु जयन्तीमा ‘सेक्सनल होलिडे’ दियो, असम सरकारले । ‘भूपेन हजारिका, उनका भाइ जयन्त, निर्मल प्रभा बरदलै, नवकान्त बरुवा, नीलमणि फुकन, हिरेन भट्ट आदि सबैसँग मेरो सम्बन्ध थियो,’ उनी सुनाउँछन्, ‘असमीयाहरू भानु जयन्तीमा आएर कविता सुनाउँथे, नाच्थे, गाउँथे, नाटक देखाउँथे । म पनि असमिया कवि सम्मेलनमा भाग लिन्थें ।’


गुवाहाटीको मलिलो नेपाली समाजमा बीउजस्तो खसेर उम्रिए अविनाश । उतै बीएस्सी र बीए गरेपछि २७ वर्षे उमेरमा काठमाडौं उत्रिए । कीर्तिपुरको कान्ति ब्वायज होस्टलमा बसेर नेपाली साहित्यमा एमए छिचोले । गुवाहाटीमै छँदा उनका ‘परेवा ः सेता काला’ र ‘संवेदना/ओ संवेदना !’ मात्र होइन, असमिया भाषाको कवितासंग्रह पनि छापिइसकेको थियो, ‘तुमियेई मोर नेपथ्य प्रिया’ । यता आएपछि पनि उनका ‘अनुभूति यात्रामा...’ र ‘करोडौं सूर्यहरूको अन्धकार’ कवितासंग्रह छापिए । कवि अभय श्रेष्ठ उनको कविता ‘हातमा कालो फूल लिएर उभिएकी नायिकालाई’ को राजदूतजस्ता छन् । जहाँ गए पनि त्यसकै चर्चा गर्छन् । ‘कुन्नि कुन अपरिचित नाउँकी नयनतारा बरुवा,’ ‘तान बुन्नेहरूको गीत’ पनि अविनाशकै सिर्जना हुन् । अविनाशकी पहिलो प्रियतमा हुन्, कविता । उनका कविताका लहजा, शैली र शब्दहरूले मादक सुखानुभूति दिन्छन् ।


नवीन र समृद्ध विम्बविधानमा छन् उनका कविता । कुनै बेला माइकल हटले ‘हिमालयन भ्वाइसेस’ मा ‘ट्रेन्ड सेटर कवि’ का रूपमा उल्लेख गरेका थिए उनलाई । खासमा जीवनको गीत गाउने सोलो सिंगर हुन् अविनाश । कवितामा पर्यावरणीय चेतनाका प्रयोगकर्ता पनि उनी हुन् । ‘म यहाँ आएर चिनिएको होइन, उतै चिनिसकेको थिएँ,’ उनी भन्छन्, ‘खासमा म यहाँ बस्न भनेर आएकै थिइनँ, पढेर उतै फर्कने विचारमा थिएँ ।’ २०४४ मा एमए गरेपछि भारत नै फर्के । गुवाहाटीमा नेपाली विषयको पढाइ हुन्थेन । दुई–अढाई वर्ष शिलाङ, तेजपुर, डिगबोई, कालिम्पोङ, दार्जिलिङ, सिलिगुडी धाए र हन्डर खाए । ‘मेघालयमा हिन्दी र अर्थशास्त्रमा एमए गरेकाले नेपाली पढाइरहेका थिए तर मलाईं गुवाहाटीको भनेर काम दिएनन्,’ उनी भन्छन्, ‘सिलिगुडीमा खर्स्याङ कलेजका प्रिन्सिपल कुमार प्रधान र दार्जिलिङ गभर्मेन्ट कलेजका रामलाल अधिकारीले पनि सकेनन् ।’


सन् १९८८ मा सिक्किमका मुख्यमन्त्री नरबहादुर भण्डारीले पाठ्यक्रम केन्द्रको डेपुटी डाइरेक्टरमा काम गर्न नभनेका होइनन् तर उनकै पत्नी सांसद दिलकुमारी भण्डारीले ‘नरबहादुर भण्डारी नरहँदा अप्ठ्यारो पर्न सक्छ’ भनेपछि अविनाश आए नेपाल । ‘मैले मातृथलो, पितृथलो नफर्की धरै पाइनँ,’ उनी भन्छन्, ‘म यहाँ नआए कहाँ जाने ?’ त्यतिन्जेल नेपाल टेलिभिजनको परियोजना कार्यालय खुलिसकेको थियो, लाजिम्पाटमा । गुवाहाटी छँदै चलचित्र प्रविधिको सामान्य ज्ञान पाइसकेका उनले पटकथा बुझाएका थिए, ‘आमा बनेर हेर’ । तर, उनको पहिलो टेलिचलचित्र भने ‘त्यो फेरि फर्केला’ (०४३) भयो । नेटीभीको पहिलो टेलिशृंखला लेख्ने पनि अविनाश नै भए । १२ भागको ‘चक्रव्यूह’ सहित उनले लामाछोटा ७० वटा टेलिचलचित्र लेखे । त्यसमध्ये टेलिशृंखला ‘कालीगण्डकीको सेरोफेरो’ उनलाई प्रिय लाग्छ । उनले ‘अक्षर’, ‘उत्थान’, ‘रक्षा’, ‘बहुरिया आशीर्वाद’ (मैथिली) आदि टेलिचलचित्र निर्देशन पनि गरे ।


त्यही बेला शाही नेपाल चलचित्र संस्थानका महाप्रबन्धक गन्धर्वशमशेर जबरा (जयनेपाल सिनेमाका मालिक र रानी ऐश्वर्यका मामा) ले उनलाई एकैचोटि चारवटा फिल्ममा अनुबन्ध गराए । दुई फिल्मबापत एकमुष्ट १५–१५ हजार रुपैयाँ पाए । त्यसमध्येको एउटा हो, प्रदीप रिमाल निर्देशित ‘माया’ । ‘वासु शशीको ४ सय पानाको ढड्डा काम नलागेपछि मैले लेख्नुपर्‍यो,’ उनी भन्छन्, ‘मेरो पहिलो फिचर फिल्म त्यही हो । तर मेरै अनुरोधमा नामचाहिँ वासु शशीकै छ ।’ त्यसपछि पनि अविनाशले ‘सपना’, ‘भाउज्यू’, ‘साथी’, ‘जिन्दगानी’, ‘नौडाँडापारि’, ‘राँको’ ‘विश्वास’ लगायत ३२ फिल्म लेखे । ‘जागिर थिएन, भर्खर बिहे भएको थियो । काठमाडौंमा जीवन धान्न र पछि जीवन चलाउन पनि कमर्सियल फिल्म लेख्न बाध्य हुनुपर्‍यो,’ उनी भन्छन्, ‘नाम र दाममा ठगिएको अनुभूतिपछि छाडिदिएँ ।’
कताकता सिनेमाको पछि लाग्दा एक सक्षम लेखकको साहित्यिक सामर्थ्य भने खेर गएजस्तो लाग्छ । त्यसमा अल्झिँदा जम्मा एउटा कथासंग्रह छापियो, ‘तान्या, इन्द्रकमल र अन्धकार’ । त्यसभित्रका तान्या, इन्द्रकमल र अन्धकार, जुनेली रातकी द्रौपदी, दन्त्यकथाभित्रको दन्त्यकथा, अस्तित्व, अन्ततः निरुपमा आदि कथा अद्भुत छन् । उनका लागि कथा आफैँलाई खोतल्ने, खोज्ने र चिहाउने र चिन्ने माध्यम हो ।


३२–३३ वर्षको उमेरमा अविनाशलाई आमाले बुहारी चाहियो भन्न थालिन् । एक दिन एक कन्यालाई देखाएर ठट्टा गरे, ‘उसलाई मागिदिनोस्, म विवाह गर्छु ।’ साँच्चै भन्ने हो भने ती कन्याबारे उनलाई केही थाहा पनि थिएन । पछि कृष्ण मल्ल, हरिहर शर्माहरूलाई अनुरोध गरे, ‘लौ न केटी मागिदिनोस् ।’ उनीहरू केटी माग्न गए पनि ‘विचार गरौंला’ भनेर टारिदियो कन्या पक्षले । त्यसको चार महिनापछि हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठलाई अनुरोध गरे अविनाशले । नाचघरमा ‘गाउँखाने कथा’ चलेका बेला हरिवंश, मदनकृष्ण, भागीरथी श्रेष्ठहरू गएर सुरुमा खुब हँसाएछन् । अनि सोधिएछ, ‘बाबुहरू कति कामले आउनुभाथ्यो ?’ हरिवंशले भनेछन्, ‘तपाईंको घरमा राम्रो फूल फुलेको छ । हाम्रो साथीले मन पराउनुभएको छ, उहाँले दुःख दिनुहुन्न, हामी ग्यारेन्टी लिन्छौं ।’ अन्ततः २०४६ मा जनैसुपारी भयो, १२ वर्ष कान्छी मन (शारदा) सँग । आफ्नो जीवनको सुरुआत गरिदिने मदनकृष्ण र हरिवंशप्रति साँच्चै कृतज्ञ छन् अविनाश । उनीहरूको वचन पनि पालना गरेका छन् । सानो संसारमा तीन खुसी छन्, डाक्टर निहार, निनाद र निस्सीम । त्यसैले त ‘मन–मन्दिर’ ।


त्यही समय उनलाई खोज्दै सहिद शुक्रराज स्कुलपछाडिको चारकोठे फ्ल्याटमै आइपुगे, रामशरण दर्नाल । नेपाल (राजकीय) प्रज्ञाप्रतिष्ठानका उपकुलपति विजय मल्लको सन्देश लिएर । उपकुलपतिको कोठामा मल्लसहित कुलपति माधव घिमिरे र सदस्यसचिव तीर्थबहादुर श्रेष्ठले एउटा साहित्यिक पत्रिकाको प्रस्ताव मागे । असममा ‘सलेदो’ लगायत कतिपय पत्रिकाको भूमिगत सम्पादक रहिसकेका अविनाशले पृथक आकार, पृष्ठ र सबै विधाका सामग्री समेटिने साहित्यिक पत्रिका ‘समकालीन नेपाली साहित्य’ को रूपरेखा बुझाए । घिमिरे र श्रेष्ठ खुसी भए भने मल्लले गुनासो गरे, ‘म कथाप्रधान पत्रिका निकाल्न चाहन्थें, तपाईंले खेलै बिगारिदिनुभयो ।’ अन्ततः अविनाशले कार्यकारी सम्पादकको नियुक्ति पाए, ०४६ फागुन ६ मा ।


खासमा त्यो कमाल थियो, उनको सम्पादकत्वमा प्रकाशित नेसाप, असमको मुखपत्र ‘परिषद्–पत्र’ को । त्यही हेरेर प्रज्ञाप्रतिष्ठान पदाधिकारीले उनलाई सम्पादकका रूपमा रोजेका थिए । बहुदलीय व्यवस्था घोषणासँगै नयाँ उपकुलपति भएर आए, उनका आत्मीय अग्रज ईश्वर बराल । बरालले भने, ‘यहाँ म तपाईंबाहेक कसैलाई चिन्दिनँ । ६ महिना मेरो पीए थामिदिनुस् ।’ सम्पादक बन्न गएका अविनाश उपकुलपतिको कार्यकक्षबाहिर फोन समातेर बसे । निर्धारित समयपछि ‘नेपाली’ झिकेर बरालले गद्यप्रधान नयाँ पत्रिका ‘समकालीन साहित्य’ को आकाश खुला गरिदिए । उनले त्यसलाई पठनीय र संग्रहणीय बनाउन कुनै बक्यौता राखेनन् । साहित्य संसारमा रौनक ल्याइदिए । २०५१ मा त्रिभुवन विश्वविद्यालयको उपप्राध्यापकमा स्थायी भइसकेका थिए अविनाश । छाड्न लाग्दा सदस्यसचिव ध्रुवचन्द्र गौतमले सेवा आयोगबाट पाँच वर्ष काम गर्न मिल्ने अनुमतिपत्र मात्र ल्याइदिएनन्, वरिष्ठ सम्पादकमा बढुवासमेत गरिदिए ।


उनको जिन्दगी कति व्यस्त भने बिहान अमृत साइन्स क्याम्पसमा पढाउँथे, दिउँसो प्रज्ञामा काम गर्थे । राति सिनेमा लेख्थे, प्रुफ रिडिङ गर्थे । ‘मधुपर्क’ मा ‘नेपालबाहिरको नेपाली साहित्यकार’ स्तम्भ नबिराई ५० अंक लेखे । उनको भाषासेवा, साहित्यसेवाबाट साथीहरू नै जलेछन् । ‘म दायाँबायाँ नहेरी काममा होमिइरहेको थिएँ,’ उनी दिक्क मान्छन्, ‘नाम र दाम कमाएको भनेर कतिपय साथीहरू बोल्नै छाडे ।’ साथीहरूबाटै भारतीय दूतावाससँग सम्बन्ध भएको, सीआईडी, भारतीय दलाल, ‘रअ’ को एजेन्ट, भतुवा, मगन्तेसम्मका लान्छना पाए उनले । अर्को हरिभक्त भनेर पत्रपत्रिकामा चंगा उडाए । ‘मैले साथीहरूबाट दुःख, चोट, अन्तर्घात र समर्थन सबथोक पाएको छु,’ उनी भन्छन्, ‘म हरिभक्त कटुवाल होइन, अविनाश श्रेष्ठ बन्नै आएको थिएँ ।’‘समकालीन साहित्य’ मा नवलेखनलाई उत्साहका साथ स्वागत गरेका थिए उनले । ‘मजस्तो कहीं कतै नछापिएको मान्छेको कथा एक शब्द पनि काँटछाँट नगरी छापिदिए,’ आख्यानकार कुमार नगरकोटी भन्छन्, ‘नयाँ लेखन चिन्नेमा अविनाशजस्ता सम्पादक विरलै भेटिन्छन् ।’


प्रज्ञा प्रतिष्ठानमा माोहन कोइरालाको टिम आएपछि साढे १३ वर्ष सम्पादक रहेका उनी २०५९ पुसमा पदमुक्त गरिए । त्यतिबेला उनले अनुरोध पनि गरेका थिए, ‘४७ अंक निकालें । ५० अंक निकाल्न दिनुस्, बरु मलाई तलब चाहिँदैन ।’ प्राज्ञहरूले ओठेजवाफ दिए, ‘हामी कसैको इतिहास बनाउन बसेका होइनौं ।’ उनले छाडेपछि त्यो मानक साहित्यिक पत्रिकाको हैसियत कामचलाउ मात्रै भइदियो ।


‘समकालीन साहित्य’, ‘प्रज्ञा’, ‘कविता’ को यशकै कारण एक दशकपछि ‘गरिमा’ को प्रधानसम्पादक भएर २४ अंक निकाले उनले । गरिमाको ‘समकालीन नेपाली कविताको अनुहार–१’ निकाल्दा असन्तुष्ट कविहरूको घानमा परे । घेराउ र नाराबाजीबीच थिए सेनामेना, अंगरक्षक कोही नभएका अविनाश । ‘साहित्यिक पत्रकार संघका हताकर्ताले ‘वैतनिक सम्पादक’ भनेर पनि उडाए,’ उनको अनुभव छ, ‘कविता नछापिएको झोकमा एक कविले ‘तँ ६ महिनामा मर्छस्’ भनी मन्त्र गरेर पानी छम्किए ।’


साहित्यिक पत्रकारितामा उत्तम कुँवर, नारायणबहादुर सिंह, नगेन्द्रराज शर्मा, रोचक घिमिरे, कृष्णभक्त श्रेष्ठहरूको सलामीयोग्य लहरमा अविनाश पनि छन् । ‘अखबारका साप्ताहिक परिशिष्टांकले मात्र साहित्यलाई धान्दैन, फेसबुकबाट साहित्यकारिता चल्दैन,’ ६२ वर्षीय अविनाश भन्छन्, ‘मैले नेपाली साहित्यको ठेक्का लिएको छैन तर समय उब्रियो भने अझै काम गर्ने मन छ ।’ अविनाशको रुचिमा वैविध्य छ । ‘आधुनिक भारतीय नेपाली कथा’ सम्पादन गरे । सेक्सपियरको दुःखान्त नाटक ‘रोमियो जुलियट’ को अनुवाद गरे । अंग्रेजीको ब्ल्याङ्क भर्सलाई जस्ताको तस्तै राखेर २०४४ मा मञ्चन भयो । यस्तै, ‘समय, समय अनि समय’ अनि ‘अश्वत्थामा हतोहतः’ पूर्णांकी नाटकबाट पनि उनले उसैगरी धाप पाए । अतिशय भावुकता अविनाशको कमजोरी हो । आफैले लेखेको सिनेमाको सिनमासमेत रोइहाल्छन् । ‘म षड्यन्त्र जान्दिनँ, कसैले गर्‍यो भने सहन पनि सक्दिनँ, झम्टिहाल्छु,’ उनी भन्छन्, ‘त्यसको मूल्य चुकाएको पनि छु ।’


लामो अन्तरालपछि कुमार प्रधानले उनलाई मर्मभेदी प्रश्न गरेछन्, ‘भाइ, तपाईंजस्तो मान्छे असममा नबसेर किन यहाँ ? फर्कने हो उतै ?’
खासमा सिलिगुडीमा एउटा प्रकाशन संस्थाका लागि निम्त्याएका थिए कुमारले । त्यसले असमबाट उखेलिएर आएका दिनहरूतिर हुत्याइदियो अविनाशलाई । उनले सोचेर, सम्झेर कुमारलाई भनिपठाए, ‘दाजु, घरीघरी आफूलाई कहाँ उखेल्दै रोप्दै गर्न सकिन्छ र ? यो मान्छेको जिन्दगी हो, आलु, सलगम वा मुला होइन ।’

प्रकाशित : चैत्र २३, २०७५ ११:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?