एन्डरसन & एन्डरसन्स

यो ब्युटिफुल मजलिस–ए–खूबाँमा म आज कलाका बान्कीहरूबारे केही बोल्नेछु । कलाका ती अनेक इन्टर डिसिप्लनरी आयामबारे चर्चा गर्नेछु जो मेरो लेखन–चेतनाका, शैलीका हिस्सा बने । गहना बने ।
कुमारजी उवाच
कुमार नगरकोटी

काठमाडौँ — महिला तथा सज्जनवृन्द !शुभ–सन्ध्या  । आज हामी साप्ताहिक ग्यादरिङको नियमित शृंखलामा यहाँ भेला छौं  ।

एन्डरसन & एन्डरसन्स

तपाईंहरूको प्रेमिल उपस्थितिले महफिल–ए–शाम गुलजार भइगएको छ । यसका निम्ति म तपाईंहरू सबैलाई हृदय–नमन चढाउँछु । स्वागत–ओ–सलाम गर्छु ।

मेरो निम्तो स्वीकार गरी ‘मिस्टिका’ उपन्यासबाट म्याडम फेब्रुअरी र सिमसारा आउनुभएको छ । कारपेन्टर, कार पेन्टर, पार्ट टाइम न्यारेटर पाल्नुभएको छ । ‘ज्ञ’ उपन्यासिकाको प्रतिनिधित्व गर्दै अक्षता कुँवर, सम्भोगशमशेर राणा तथा तथागत स्वप्नदर्शी पधार्नुभएको छ ।

हलको पछिल्लो लहरमा ‘घाटमान्डु’ किताबका सम्पूर्ण पात्रहरू आसनरत हुनुभएको छ ।
‘मोक्षान्त ः काठमान्डु फिभर’ कथाका पानाहरूमा बसोबास गर्ने जु–किपर र मोक्षानन्द जोशीले पाउकष्ट गर्नुभा’छ । विश्वका ग्रेभयार्डहरू चहारी हिँड्ने ‘खप्पर’ कथाका ऋग्वेद मानन्धर पनि हामीमाझ उपस्थित भइसक्नुभा’छ । मेरो जोगी–मन खुसीले गदगद भा’छ ।
‘अक्षरगन्ज’ का हामी सबैका प्रिय खलिल जिब्रान कालो भक्स वागन लिएरै हलभित्र प्रवेश गर्नुभएको छ । उहाँले आफ्नो गाडीमै बसी सिगारको धूवाँ उडाउँदै मलाई सुन्ने मनसाय व्यक्त गर्नुभएको छ । कस्तो राम्रो !
यसरी मेरा सम्पूर्ण किताबका पात्रहरू आज यहाँ भेला भएका छौं ।
हल भरिएको छ । यतिका पात्रहरू मैले सिर्जना गरेको रहेछु भनी देख्न, जान्न पाउँदा म सर्जन सो–कल्ड नगरकोटी खुसीले चकित–ओ चकित परिगएको छु । यो मञ्चमा उभिएर तपाईंहरूलाई सम्बोधन गर्न पाउँदा बडो आह्लादित भइगएको छु । यो गरिमामय उपस्थितिका लागि तपाईंहरू सबैप्रति म नतमस्तक भएको छु ।

महिला तथा सज्जनवृन्द !
यो ब्युटिफुल मजलिस–ए–खूबाँमा म आज कलाका बान्कीहरूबारे केही बोल्नेछु । कलाका ती अनेक इन्टर डिसिप्लनरी आयामबारे चर्चा गर्नेछु जो मेरो लेखन–चेतनाका, शैलीका हिस्सा बने । गहना बने ।

कलाप्रतिको मेरो अगाध प्रेम एवम् श्रद्धाबारे मलाई लाग्छ– तपाईंहरू अवगत नै हुनुहुन्छ । जब लेख्न बस्छु, मलाई के लेख्नेभन्दा कसरी लेख्ने भन्नेबारे चिन्ता हुन थाल्छ । यस्तो बखत विश्व साहित्यको समकालीन लेखनशैलीबारे अध्ययन गरेर मात्र पुग्दैन । मलाई पर्याप्त हुँदैन । र, म कलाका अनेक द्वारहरू ढक्ढकाउन जान्छु ।

‘एनिग्मा’ का मेडिटेसनल संगीतहरूलाई आफूले लेख्ने वाक्यहरूका खाली स्पेसमा कसरी थपक्क राख्न सकिन्छ ? कमा र फुलस्टपहरूमा चित्रकार ज्याक्सन पोलाकका स्ट्रोक्सलाई कसरी भित्र्याउन सकिन्छ ? द मोस्ट ब्युटिफुल वुमन अफ् दिस प्लानेट– पिना बाउस– का अद्भुत डान्सिङ स्टेप्सलाई कविताका पंक्तिहरूमा कसरी लिपिबद्ध गर्न सकिन्छ ?

यस्ता कुराहरू घरीघरी सोचिबस्छु । आफ्ना कथाहरूलाई कसरी व्यक्त गर्ने भन्ने विषयलाई लिएर संसारका अधिकांश आख्यानकारहरूझैं म पनि घरीघरी घोरिएर चिन्ताका घनघोर दिनहरू कटाउँछु । कला–भ्रमणका निम्ति आफ्नो गुफाबाट निस्कन्छु ।

भिक्षाम देही, भिक्षाम देही भन्दै कलाका अनेक द्वारहरूमा आफ्नो कमण्डलु तेर्साउँछु ।
मेरो रित्तो कमण्डलुमा संगीतले सुर, ताल र लय हालिदिन्छ । चित्रकलाले केही थोपा रङ चुहाइदिन्छ । र, नृत्यले आफ्नो आत्मा नै दान गरिदिन्छ । कमण्डलुमा संगीतका लवलीन लय, चिक्रकलाको गाढा रङ र नृत्यको मुत्त आत्मा बोकी म आफ्नो गुफा फर्कन्छु र नयाँ आख्यान लेख्न बस्छु ।

मलाई लाग्छ, यो हलमा उपस्थित मैले रचेका तपार्इं सम्पूर्ण पात्रहरू साहित्यका अवैध सन्तान हुनुहुन्छ । किनभने तपाईंहरूको जन्म नै मेरा अनेक अवैध सम्बन्धहरूबाट भएको हो । पाककला, संगीत, नृत्य, प्रस्तर कला, बागवानी कलालगायत अनेक कलावतीसँगका नाजायज संसर्गबाट तपाईंहरू जन्मनुभएको हो ।

अरे ! तपाईंहरू किन निराश हुनुभएको ?
यसमा दुःखी नै हुनुपर्ने कौनो बात नाही छे । तपाईंहरू त बरु खुसी भइलिनुस् । तपाईंहरूको रगतमा साहित्यको मात्र डीएनए होइन, संगीत, चित्रकला र नृत्यको डीएनएसमेत मिसिएको छ । प्रसन्न हुनुस् । ताली बजाउनुस् ।

महिला तथा सज्जनवृन्द !
संगीत, नृत्य र चित्रकलालाई अब म यहीं थाती राख्छु । तिनले मेरो जीवन, लेखन र सौन्दर्य चेतनामा पारेका प्रभावहरूबारे कुनै दिन विस्तारमा चर्चा गरुँला । आजलाई भने कलाहरूमध्ये कान्छो कलाबारे कुरा गरौं । चलचित्रकलाबारे बात मारौं ।

चलचित्रका स्टोरीटेलरहरूबारे कुरा गरौं । मूलतः एन्डरसनबारे केही गफ गरौं ।
आजकी साम एन्डरसनके नाम ! साप्ताहिक ग्यादरिङको आजको शृंखलालाई एन्डरसन एवम् तमाम एन्डरसन्सहरूप्रति समर्पित गरौं । यस्ता कथावाचकीहरू जसले संसारलाई सुन्दर कथाहरू सप्रेम उपहार दिए ।

एन्डरसनको नाम लिँदा स्वाभाविक छ— तपाईंहरूमध्ये धेरैलाई डेनमार्कका हान्स क्रिस्चियन एन्डरसनको जरुर याद आइरहेको होला । हामीले उनलाई –परीकथाका खानी– भनी सम्बोधन गर्दा उपयुक्त होला जसले ‘द लिटल मर्मेड’, ‘द अग्ली डकलिङ’, ‘द एम्पेरर्स न्यू क्लोथ’ जस्ता सयौं परीकथाहरू विश्व साहित्यलाई दान गरे ।

हान्स क्रिस्चियन एन्डरसन भन्ने गर्थे, ‘हरेक मानिसको जीवन ईश्वरका औंलाहरूद्वारा लेखिएको परीकथा हो ।’ वाह क्या बात ! परीकथा लेख्दा ईश्वर कलम प्रयोग गर्दा हुन् कि टाइपराइटर ? या उनका औंलाहरू ल्यापटपको किबोर्डमा दगुर्दा हुन् !
खैर, यो कुरा ईश्वर नै जानुन् !

हान्स क्रिस्चियन एन्डरसनका परीकथाहरू मेरो बाल्यकालका आत्मीय सखाहरू थिए । मेरो बाल मस्तिष्कमा कल्पनाका बीज छर्ने तिनै परीकथाहरू थिए । लोककथा एवम् दन्त्यकथाहरू मेरा दौंतरी थिए । तिनैले मलाई स्वैरकाल्पनिक संसारको नागरिक बनाए । मलाई सभ्य र नैतिक बनाए । असभ्य र अनैतिक त मलाई जवानीमा पढिएका नैतिक कथाहरूले बनाए । म सधैं यस्तो भ्रष्ट एवम् पतित त कहाँ थिएँ र !

मलाई भ्रष्ट बनाउने त दोस्तोयब्स्की, किर्केगार्ड, बुकोस्की, बोर्खेज, क्यालिभनो, प्लाथ र भर्जिनिया उल्फहरू हुन् । लामिछाने, रिमाल, देवकोटा, पौड्याल, भिक्षु र पारिजातहरू जम्मै मिली मलाई अनैतिक बनाएका हुन् । यावत् धार्मिक ग्रन्थहरूले मलाई अधार्मिक बनाएका हुन् ।

र, म आफैं नष्ट एवम् पतित भएको चाहिँ तथाकथित एक्सपेरिमेन्टल लेखन गर्नाले हो । सो–कल्ड पोस्ट मोडर्न लिट्रेचर, डेट एक्स्पायर्ड अब्सर्ड एवम् सर्रियल राइटिङले म प्रदूषित भएको हुँ । नक्र त म हान्स त्रिस्चियन एन्डरसनका परीकथाहरूझैं पवित्र थिएँ । लोककथाझैं चाखो थिएँ । दन्त्यकथाझैं अबोध एवम् निर्दोष थिएँ । अचम्म लाग्छ । चकित पर्छु । एन्डरसन कति सुन्दर परीकथा
लेख्थे ! म नगरकोटी भने मन–परी–कथा लेख्छु ।
एन्डरसन उन्नीसौं शताब्दीको तर बुद्धि कस्तो !
मो नगरकोटी एक्काइसौं शताब्दीको भईकन पनि आज यस्तो !!
खैर ! यी त भए डेनिस परीकथाकार एन्डरसनका कुरा । अब परिचर्चा गरौं चलचित्रका चार एन्डरसन्स ।

पल थोमस एन्डरसन
आउनुस्, सिनेमाको संसारलाई हातमा– सिग्रेट्स एन्ड कफी लिएर चियाऊँ । यही उपयुक्त होला । यो मजलिसमा उपस्थित मेरा महिला पात्रहरू सबैले कफीको चुस्की लिनुस् । अनि पुरुष पात्रहरूले चाहिँ खल्तीबाट सिग्रेट निकाल्नुस् । र, सल्काइहाल्नुस् । किनभने हामी ‘सिग्रेट्स एन्ड कफी’ नामक फिल्म बनाउने निर्देशक पल थोमस एन्डरसनको चर्चा या भनूँ कु–चर्चा गर्दै छौं ।

कु–चर्चा किन भन्नुपरेको हो भने यिनै निर्देशकको फिल्मबाट मेरा मनप्रिय अभिनेता ड्यानियल डे लेविसले सिल्भर स्क्रिनबाट सन्न्यास लिएका हुन् । ड्यानियल डे लेविस भन्नेबित्तिकै तपाईंहरूलाई –‘माई लेफ्ट फुट’ को सेरेबल पाल्सी रोगद्वारा ग्रसित क्रिस्टी ब्राउन नामक आइरिस लेखक एवम् पेन्टरको असीम याद आउँदो हो । पिरियड ड्रामा ‘दियर विल बी ब्लड’मा तेलको कुवाभित्र खुट्टा भाँच्ने सनकी पात्र प्लेनभ्युको याद आउँदो हो । र, याद आउँदो हो, ‘लिङ्कन’ को जसमा ड्यानियलले सोह्रौं अमेरिकी राष्ट्रपति अब्राहमको चरित्रलाई आफ्नो अद्भुत अभिनयद्वारा जीवन्त पारेका छन् । अभिनयको उत्कृष्टता हासिल गरेका छन् । मेथड एक्टिङको गजुर आफ्नो पोल्टामा पारेका छन् ।


यी तीन फिल्मले उनलाई एकेडेमी अवार्ड दिलाएका थिए । यिनै अभिनेताले पल थोमस एन्डरसनको फिल्म ‘फ्यान्टम थ्रेड’ बाट सन्न्यास लिए । त्यसो त ‘दियर विल बी ब्लड’ पनि यिनै एन्डरसनले बनाएका हुन् । बुगी नाइट्स, द मास्टर, म्याग्नोलिया यिनका चर्चित एवम् समीक्षकहरूद्वारा रुचाइएका फिल्महरू हुन् । ‘पन्च ड्रङ्क लभ’ त तपाईं नेटफिल्क्समै पनि हेर्न सक्नुहुन्छ, जसले यिनलाई क्यान्स फिल्म फेस्टिभलमा बेस्ट डिरेक्टर अवार्ड दिलाएको थियो ।
सो ह्वाट : बालै भएन !
मलाई यी मान्छेसित भयंकर रिस उठेको छ । किनभने यिनैको फिल्मबाट मेरो मनप्रिय अभिनेताले अभिनयबाट सन्न्यास लिएको छ । सिनेमाको स्वप्निल संसारबाट राजीनामा दिएको छ । तसर्थ मैले पनि आइन्दा पल थोमस एन्डरसनका फिल्महरू हेर्ने धन्दाबाट राजीनामा दिने कठोर निर्णय गरेको छु । ‘फ्यान्टम थ्रेड’ नै मेरो अन्तिम फिल्म हुनेछ ।

‘सिग्रेट्स एन्ड कफी’ बनाउने निर्देशकलाई म बिर्सनेछु । यद्यपि सिग्रेट्स र कफी भने खाइरहनेछु ।

ब्राड एन्डरसन
महिला तथा सज्जनवृन्द !
तपाईंहरूले ‘द कल’ हेर्नुभएको छ ? ‘बेरुत’ हेर्नुभएको छ ? अनि ‘ट्रान्ससाइबेरिया’ नि ! ‘मसिनिस्ट’ त जरुर हेर्नुभएको होला ।
अरु फिल्महरूलाई बिर्सिदिनुस् । तर ब्राड एन्डरसनको डार्क साइकोलजिकल थ्रिलर ‘द मसिनिस्ट’ अझैसम्म हेर्नुभएको छैन भने हेरिहाल्नुस् । कम्तीमा नगरकोटीका तपाईंजस्ता पात्रहरूले त हेर्नुपर्‍यो नि ! ‘द मसिनिस्ट’ हेर्नु तपाईंहरूको नैसर्गिक अधिकारकै कुरा हो ।
एउटा असल अभिनेता चरित्रको गहिराइमा कतिसम्म डुब्न सक्छ भन्ने प्रश्नको जवाफ हो यो फिल्मका अभिनेता क्रिस्चियन बेल । एउटा कलाकार पागलपनको यो लेभलसम्म –तौबा तौबा– कसरी पुग्न सक्छ ? अचम्म लाग्छ । आफ्नो शरीरमाथि मिस्टर बेलले गरेको प्रयोग अविस्मरणीय एवम् चामत्कारिक लाग्छ । फिल्ममा उनी हाडहरूको कंकालमा देखिइन्छन् । मलाई लाग्छ यो फिल्ममा मिस्टर बेल अपुरस्कृत हुनु एकेडेमी अवार्ड नै अपुरस्कृत हुनु हो । यो ओस्करकै दुर्भाग्य हो । जसरी बोर्खेजले पुरस्कार नपाउनु नोबेल प्राइजको एतिहासिक दुर्भाग्य हो ।
क्रिस्चियन बेललाई मैले चाइल्ड एक्टरको रूपमा पहिलो पटक स्टिमन स्पिलबर्गको ‘एम्पायर अफ द सन’मा देखेको हुँ । त्यो १३ वर्षे बालकको अभिनय कौशल देखेर म चकित–ओ–चकित परेको हुँ । खोजिल्याउँदा हामी एकै सालमा जन्मेका रहेछौं : सन् १९७४ ! ऊ जन्मेको रहेछ जनवरीमा । र, म जन्मेको रहेछु डिसेम्बरमा ।
वी आर द ब्याच अफ नाइन्टिन सेभेन्टी फोर !
टिनएजमै उसले स्पिलबर्गको फिल्म खेल्यो । हिरो भयो । त्यसो त मैले पनि बर्नार्डो बर्टोलुसीको ‘लिटल बुद्ध’ खेलें । तर, भक्तपुर दरबार स्क्वायरमा छायांकन गरिएको मेरो रोल फिल्मबाट काटियो । म लेखक बनें ।
कालान्तरमा ऊ अभिनेता बन्नु रहेछ । म साहित्यकार । उसले ‘द मसिनिस्ट’ खेल्नु रहेछ । मैले ‘मिस्टिका’ लेख्नु रहेछ । दैवको लीला अपरम्पार !
मिस्टर ब्राड एन्डरसन, द मास्टर अफ हरर जान्रा ! ‘द मसिनिस्ट’ का लागि म तपाईंलाई स्यालुट गर्छु । आफ्ना तमाम पात्रहरूमाझ यो मञ्चबाट आज म तपाईंको ‘आगे जर्नी’ का निम्ति मनैदेखि कामना व्यक्त गर्छु । तपाईंको नाममा कफीको यो प्याला उठाउँछु । सिग्रेट सल्काउँछु । चियर्स !

वेस एन्डरसन
महिला तथा सज्जनवृन्द !
किताबहरू पढ्दा–पढ्दा–पढ्दा कहिलेकाहीं दिक्क लाग्छ । यस्तो बखत बेस एन्डरसनका फिल्महरू हेर्छु । लेख्दा–लेख्दा–लेख्दा अनायास दिक्दार हुन्छु । वेस एन्डरसनका फिल्महरू हेर्छु । मेरो गुफामा यदाकदा फकीर एवम् मुसाफिरहरू बाटो बिराएर आउँछन् । तिनीहरूलाई वेस एन्डरसनका फिल्महरू उपहार दिन्छु ।

वेस एन्डरसनको कुरा गर्ने मानिसहरूलाई म प्रेम गर्छु । फिल्ममा उसले रचना गर्ने भिजुअल डिलाइट्सबारे जसले चर्चा गर्छ ऊ मेरो अमिगो हुन्छ । मलाई लाग्छ वेस एन्डरसनका फिल्महरू नहेर्ने लेखक, कवि, चित्रकारको शिल्प–शैली र सौन्दर्य चेत– तिक्त एवम् अमिलो हुन्छ ।
एक साँझ ‘बाथटब’ नाटकको सो सकिएपछि म अनिद्रा (भुषिता वशिष्ठ) सँग कतै गइरहेको थिएँ । सिरियल किलर (ब्रजेश) को पहेंलो कारमा । कुरैकुरामा अनिद्राले भनी, ‘हिजो राति कुकुरहरूको एउटा एनिमेटेड फिल्म हेर्‍याथें । फिल्मको कलर र टोन कस्तो डिस्टिङ्क्ट लाग्यो ! मलाई यो सहरका मान्छेहरूभन्दा फिल्मका कुकुरहरू मन पर्‍यो । निर्देशक को रहेछ थाहा भएन, तर फिल्मको लुक्स र स्टाइल दामी लाग्यो ।’
लुक्स र स्टाइल ! म मुस्कुराएँ ।

लुक्स र एटाइल नै वेस एन्डरसनका गहना हुन् । मैले भुषितालाई भनें, ‘तिमीले वेस एन्डरसनको फिल्म हेरेकी छौ ।’
गाडी हाँकिरहेको सिरियल किलरले भन्यो, ‘फिल्म डिरेक्टरहरूमाझ वेस एन्डरसनलाई टाढैबाट चिनिन्छ । ही लुक्स कप्लिट्ली डिफ्रन्ट फ्रम द वन्चेज । अनिद्रा, अब तिमीले उसको ‘द ग्रान्ड बुडापेस्ट होटल’ हेर्नुपर्छ, ल ! आजको रात तिमी त्यही फिल्म हेर । तिमी फिदा हुनेछौ । भोलिको ‘बाथटब’ शोमा तिम्रो अभिनयमा अरू निखार आउनेछ ।’
सिरियल किलरको मुखमा दूध–भात ! उसले जे भन्यो, सही भन्यो ।

महिला तथा सज्जनवृन्द ! वेस एन्डरसनका फिल्मले तपाईंहरूको आँखालाई शीतलता प्रदान गर्छन् । टाढाटाढादेखि यहाँ पाल्नुभएको छ । काठमान्डुको धूलो–धूवाँले तपाईंहरूको आँखा प्रदूषित भइगएको छ । यस्तो बेला आँखालाई आइड्रपको खाँचो पर्छ ।
वेस एन्डरसनका फिल्महरू ‘आइड्रप’ हुन् ।
आजको रात ‘बाथटब’ की अनिद्राले झैं सुत्नुअघि हामी ‘द ग्रान्ड बुडापेस्ट होटल’ हेर्नेछौं । र, सपनामा हामी वेस एन्डरसनले रचेको म्याजिकल संसारमा परिभ्रमण गर्नेछौं ।

रोय एन्डरसन
सिनेमा हलहरूमा यदि फिल्म हेर्नुहुन्छ भने तपाईंलाई सिनेगोअर भन्न सकिन्छ । नेटफ्लिक्स या टीभीका फिल्म च्यानलहरू लगायत युट्युबमा फिल्महरू हेर्नुहुन्छ भने तपाईंलाई फिल्म मेनियाक भन्न सकिन्छ । सिनेमा हलहरूमा नलाग्ने वर्ल्ड–सिनेमा तथा कान्स, भेनिस, बर्लिन, टोरन्टो, सनडान्सजस्ता फिल्म फेस्टिभलमा मनोनीत फिल्महरूप्रति तपार्इंको रुचि छ र वर्गम्यान, फेलिनी, विस्लोब्स्की, तारकोब्स्की, त्रुफो, ब्रेसाँ, कुब्रिक, किरुस्तामी, बेला टारजस्ता सर्जकहरूको फिल्म हेर्न लालायित हुनुहुन्छ भने तपाईंलाई सिनेफाइल भन्न सकिन्छ । तपाईंहरू कुन क्याटगरीमा पर्नुहुन्छ ? सिनेगोअर्स, फिल्म मेनियाक या सिनेफाइल ! आफैं छुट्याउनुस् । आ–आफ्नो इच्छा । तर तपाईंहरू मेरा पात्र हुनुहुन्छ । मेरो चाहना हो, तपाईंहरू सिनेफाइल बन्नुस् । वर्ल्ड सिनेमा हेर्नुस् ।

प्रिय लेखकहरू नारायण ढकाल, नयनराज पाण्डे, बुद्धिसागर, राजन मुकारुङ, गनेस पौड्याल इत्यादिका पात्रहरूसित तपाईंहरूको कहीं कतै संयोगले भेट हुन सक्छ । तिनीहरूसित विनम्रतापूर्वक कम्तीमा टर्किस फिल्म निर्देशक नुरी बिल्गेको कुरा गर्नुस् । ग्रीसका यार्गोस लान्थिमोस र थियो एङ्गेलोपोसलको चर्चा गर्नुस् ।

जर्मनीका विम वेन्डर्सका कुराहरू गर्नुस् । ‘पिना’ र ‘विङ्स अफ डिजायर’ का चर्चा गर्नुस् । बदलामा उनीहरूले चर्चा गर्ने फिल्म सर्जकहरूको कुरा धैर्यपूर्वक सुन्नुस् । उनीहरू रोय एन्डरसनको कुरा गर्ने छन् । चाखपूर्वक कर्णग्रहण गर्नुस् । कुरा नसुनी फेसबुक र ट्विटर चलाउँदै उनीहरूको अपमान नगर्नुस् । किनभने रोय एन्डरसनबारे चर्चा गर्ने पात्रहरू मुस्किलले भेटिने गर्छन् ।

केही निर्देशक फगत फिल्ममेकर हुन्छन् । फिल्म बनाउँछन् । र, केही निर्देशक सर्जक हुन्छन् । उनीहरू भिजुअल कृति सिर्जना गर्छन् ।

रोय एन्डरसन सर्जक हुन् ।
नारायण ढकालको कुनै पात्रले तपाईंलाई सोध्नेछ, ‘रोय एन्डरसनको ‘स्वेडिस लभ स्टोरी’ अवश्य पनि हेर्नुभएको होला, होइन ?’ तपाईंको जवाफ के हुनेछ ? नयनराज पाण्डेको पात्रले भन्ला, ‘रोय एन्डरसनको ‘लिभिङ ट्रिलोजी’ पनि हेर्‍या छैन ?’ उसो भए केको नगरकोटिया पात्र !

‘लिभिङ ट्रिलोजी’ रोय एन्डरसनका सिग्नेचर फिल्म हुन् । डेनमार्कमा एकताका वर्गम्यान थिए । आजकल रोय एन्डरसन छन् । यिनका फिल्महरूको शीर्षक सुनेर तपाईंहरूको मनलाई एकप्रकारको पोयटिक आनन्द प्राप्त हुन सक्छ : ‘संग्स फ्रम द सेकेन्ड फ्लोर’, ‘थ्रु, द लिभिङ’, ‘अ पिजन स्याट अन अ ब्रान्च रिफ्लेक्टिङ अन एक्जिस्टेन्स’ ।
यिनी ब्ल्याक कमेडीका उस्ताद हुन् । र, अब्सर्डिटीका जादुगर ।

‘अ पिजन स्याट अन अ ब्रान्च रिफ्लेक्टिङ अन एक्जिस्टेन्स’ मा एउटा लामो दृश्य छ । क्याफेमा स्वीडेनका राजा घोडा चढेरै छिर्छन् । एक गिलास पानी पिउन । उनी सेनाका दलबलसहित युद्धमैदानमा जाँदैछन् । बाजागाजा बजाउँदै । अर्को दृश्यमा उनी त्यही क्याफेमा फर्केका छन् । घोडै चढेर । यस पटक ट्वाइलेटमा पिसाब फेर्न । यी दृश्यहरू तपाईंलाई रोचक लाग्नेछन् ।
दृश्यहरूमा रोय एन्डरसनको पकड देखेर तपाईंहरू आश्चर्यचकित पर्नुहुनेछ । विश्व सिनेमाका –सय आकर्षक दृश्यहरू– को लिस्ट बनाउनुपरेमा रोय एन्डरसनले कम्पोज गरेको क्याफेको उक्त दृश्यलाई म ‘उत्कृष्ट बीस’ भित्र अवश्य राख्थें ।

मेरा प्यारा पात्रहरू ! चिन्ता नगर्नुस् । मौका मिले स्वीडेनको त्यो क्याफेमा हामी कुनै दिन जरुर जाऔंला । घोडा चढेर । राजाले झैं एक गिलास पानी पिउन र मूत्र विसर्जन गर्न भने होइन नि ! बरु सिंगल माल्ट ह्विस्की पिउन । चियर्स !

महिला तथा सज्जनवृन्द !
आजको साँझ तपाईंहरूमाझ मैले एन्डरसन र एन्डरसन्सहरूको चर्चा–परिचर्चा गरें । मेरा यावत् लेखनहरूमा, तपाईंहरूजस्ता अफबिट पात्रहरू सिर्जना गर्नुमा –मलाई लाग्छ– यी र यस्ता कल्पनाशील व्यक्तिविशेषहरूले ठूलो प्रभाव र प्रेरणाहरू छन् ।

मेलवादेवीदेखि मोजार्टसम्मको ढुकढुकीहरूलाई मैले मुटुमा जोगाएर राखेको छु । भाजुमान चित्रकारदेखि ज्याक्सन पोलकसम्मका रङहरूलाई मैले दिमागको क्यानभासमा छरेको छु । ती संगीत एवम् रङहरूलाई तपाईंहरू मार्फत मैले आफ्ना अनेक आख्यानहरूमा पोखेको छु ।
अबका अरू शृंखलाहरूमा म –कलिनरी आर्ट, प्रस्तर कला, इन्स्टलेसन आर्टलगायत बागवानी कलाका अनेक बान्कीबारे चर्चा गर्नेछु जहाँबाट मैले लेखनको कला–शैली सिकें । जसको प्रेरणाबाट मैले शब्द निर्माणको कौशल जानें । शिल्प बुझें ।

अब त थाक्नु पनि भएको होला । मैले धेरै समय लिएँ क्यारे ! डिनर तयार भइसकेको छ । तपाईंहरूको निम्ति सुस्वादु परिकारहरू पाकिसकेको छ । मदिरा नखारे पात्रहरू त कोही पनि हुनुहुन्न क्यारे ! सबै जना मदिरा फ्रेन्डली नै हुनुहुन्छ । हेर्नुस् न ! मैले नन–अल्कोहलिक एवम् भेजिटेरियन पात्रहरू सिर्जना नगरेकोमा यदाकदा मेरा आलोचकहरू मसित अप्रसन्नता व्यक्त गर्नुहुन्छ । किन्तु, अब के नै पो गर्न सकिन्छ र !

यतिन्जेल धैर्यपूर्वक मलाई सुनिदिनुभयो । तपाईंहरू सबैको कल्याण होस् ।

प्रकाशित : चैत्र २३, २०७५ ११:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?