'सभ्यता' दृष्टिकोणको विनिर्माण

विष्णु सापकोटा

काठमाडौँ — मान्छे आफैंले यदि कसैको इतिहास सबैभन्दा बढी लेखेको छ भने त्यो अरू प्राणी वा वस्तुको नभएर उसको आफ्नै इतिहासको बारेमा लेखेको छ  । मान्छेको आफ्नै ‘सभ्यता’ को इतिहास ऊ आफैंले धेरै लेखेको मात्र होइन, उसले आफैंले मात्र लेखेको छ  ।

मान्छेले फाट्टफुट्ट यस धर्तीका अरू प्राणीका बारेमा पनि लेख्ने गर्छ । मान्छेले पृथ्वीका अरू प्राणीका बारेमा लेख्ने मात्र हैन, तिनीहरूका बारेमा हाम्रा आफ्नै बग्रेल्ती धारणा पनि छन् । तर दुनियाँमा एउटा पनि त्यस्तो अर्को प्राणी छैन जसले हामी मान्छेको ‘जात’ का बारेमा कुनै आधिकारिक दृष्टिकोण बनाएको छ । बनाएको होला तर, त्यो थाहा पाउने विधि मानिससँग छैन ।


पृथ्वी बनेपछि जीवहरू कसरी विकसित भए र मान्छे ‘इभोलुसन’ को कुन–कुन प्रक्रिया कसरी पार गर्दै अहिलेको रूपमा आइपुगेको हो भन्नेबारेमा डार्बिनका सिद्धान्तमात्र होइन, इतिहासकारदेखि अरू विधाका लेखकले धेरै लेखिसकेका छन् । त्यसैबीच अक्सफोर्ड पढेका इजरायलका युवा इतिहासविद् युभल नोआ हरारीको ‘स्यापिएन्स ः अ ब्रिफ हिस्ट्री अफ ह्युमनकाइन्ड’ अर्थात् अहिलेको मान्छेको खास इतिहास के हो त भन्ने पुस्तक प्रकाशन भएको केही वर्षमै एउटा सशक्त विश्वव्यापी ‘बौद्धिक फेनोमेना’ भएको छ । थाहा भई नै राखेको मान्छेको उही इतिहास र सभ्यताकै बारे लेखिएको ‘कुनै अर्को पुस्तक’ ले किन यति धेरै ‘बौद्धिक तहल्का’ मच्चाएको छ त ? हरारीको ‘स्यापिएन्स’ माथि गरिने चर्चा वा टिप्पणीका लागि प्रमुख प्रश्न यही नै हुनुपर्छ, जसको बारेमा यस आलेखले केही धारणा राख्ने छ । कुरा आखिर धारणामै आउने रहेछ । जीवन भन्नु पनि सृष्टिको (वा कुनै सृष्टिकर्ताको) एउटा धारणा मात्र नै होला । अथवा, जीवन एउटा धारणा हो भन्नु स्वयं पनि फेरि अर्को एउटा धारणा नै हो ।


प्राज्ञिक बोलीचालीको भाषामा भन्नुपर्दा हरारीको ‘स्यापिएन्स’ अति लोकप्रिय हुनु वा यसमाथि अति चर्चा हुनुको प्रमुख कारण यसले मान्छेको आफ्नै इतिहास र सभ्यताबारे गरेको विनिर्माण हो । जुन आरामदायी ऐतिहासिक दृष्टिकोणले हामीले आफूलाई हेर्दै र बुझ्दै–बुझाउँदै आएका थियौं, हरारीले त्यो सबै सभ्यताको वस्त्रलाई उतारेर मान्छे जे हो, त्यसैमा पसेर हेरेका छन् । यसो भनेर फेरि उनले डार्बिनले व्याख्या गरेको जीव विकासवाला धारमा मात्र कुरा गरेका छन् भनेको होइन । हरारीको यो इतिहासको पुस्तक मान्छेको इतिहासभन्दा पनि बढी उसको इतिहासमाथिको टिप्पणी हो ।


मान्छे कसरी ‘विकसित’ हुँदै आएको हो, त्यस्तो हुने–गर्ने प्रक्रियामा उसले के–के कुरा कसरी गरेको छ ? यो स्यापिएन्स भन्ने जातले इतिहासका विभिन्न चरणमा कस्तोकस्तो चरित्र हासिल गर्दै आएको छ ? अरू प्राणीले उसको बारेमा सोचे भने के सोच्दा होलान् ? अरू प्राणीको तुलनामा ‘ईमान जमान नैतिकता’ को कसीमा मान्छे भन्ने जात सबैभन्दा ‘फटाहा’ त होइन ? मान्छे हुनु साँच्चै ‘ठूलो’ कुरा हो ? ‘मानव’ भनेर उसले प्राणी जतिमा आफूले आफैंलाई ‘सर्वश्रेष्ठ’ भन्छ, तुलनै गरेर हेर्दा त्यस्तो होला र ? अनि हुँदै नभएको कुरा पत्याउने, आफैंले कल्पना गरेको ‘सत्य’ लाई कालक्रममा खास ‘सत्य’ नै ठानेर काम चलाउने जात पनि प्राणी मात्रमा यो मानिस मात्र त होइन ? यो सबै कुन–कुन चरणबाट कसरी हुँदै गयो भन्ने इतिहास ‘स्यापिएन्स’ ले लेख्छ । त्यस हिसाबमा हरारीको यो पुस्तक मान्छेको इतिहास त हो नै, तर त्योभन्दा धेरै उसको इतिहासमाथिको एउटा दार्शनिक टिप्पणी हो— हामी आफूले आफैंलाई कसरी बुझ्ने र ग्रहण गर्ने भन्ने सन्दर्भमा ।


हुन त हरारी पनि फेरि एउटा मान्छे नै हुन, अरू प्राणी होइनन् तर पुस्तकका लेखकका रूपमा उनले प्राणी जतिमा ‘सर्वश्रेष्ठ’ भन्दै पढ्दै–पढाउँदै आएको आरामदायी विमर्शबाट बाहिर गएर आफूलाई एउटा प्राणीका रूपमा राखेर मान्छेमाथि निस्फिक्री टिप्पणी गरेका छन् । ‘मानव भएर पनि त्यस्तो गर्ने’ भन्ने खालका मानवले बनाएका वाक्यको भित्री अर्थ सोच्दा थाहा हुन्छ— मान्छेले आफूलाई कति भयंकर माथिको ‘पेडस्टल’ मा राख्छ अन्य प्राणीको तुलनामा । मानौं खराब गर्न सक्ने त मानवबाहेकका अरू प्राणी हुन् । भन्न त आफूमध्य कसैको नराम्रो कृत्यलाई मान्छेले नै भन्छ— कस्तो जनावरको जस्तो व्यवहार । कसरी त्यस्तो नराम्रो काम गर्न सकेको ! तर, हरारीको तर्क छ— मानव भएकै कारणले मात्र त्यस्ता (नराम्रा) कृत्य उसले गर्न सकेको हो । किनभने, प्राणी जतिमा सोच्न–बोल्न सक्ने ऊ मात्रै हो । र, सोच्नु–बोल्नु भनेको हुँदै नभएको कुरा पनि सोच्नु–बोल्नु हो, हुँदै नभएका कुराका बारेमा कथा लेख्नु हो । मानव दुनियामा सिर्जित अहिलेसम्मका सबै षड्यन्त्र लेख्न–बोल्न सक्ने मान्छेको क्षमताका कारणले नै सम्भव भएको हो । ‘सिर्जना’ भन्नेबित्तिकै त्यो सोच्ने कुरासँग सम्बन्धित छ । र, ‘सोचाइ’ भन्नेबित्तिकै त्यो यथार्थमा अस्तित्वमा भएको कुराभन्दा फरक छ ।


हरारीको यस पुस्तकको ठीक त्यही कारणले सबैभन्दा बढी चर्चा गरिएको हो जसका लागि यसको आलोचना पनि भएको छ । पुस्तकमा हरारीले थुप्रै तथ्यलाई सँगालेर इतिहासमा देखिएका मान्छेका चरित्रका बारेमा बृहद् निष्कर्ष पस्केका छन् जसलाई बढ्तै ‘जनरलाइजेसन’ अर्थात् ‘अति साधारणीकरण’ गरेको भन्ने आलोचना पनि छ । के भन्छन् त हरारीले आफ्नै पुर्खाका पुस्ताका बारेमा र आफ्नै सजातीय मानव प्राणीका बारेमा ‘स्यापिएन्स’ मार्फत ?


प्रथमतः किताबको शीर्षक नै हेरौं । शीर्षकमा प्रमुख शब्दका रूपमा ‘स्यापिएन्स’ शब्दको प्रयोगले नै हरारीले दिन खोजेको सन्देश अनुमान गर्न सकिन्छ— प्राणी जतिमा सर्वश्रेष्ठ भनेर आफैंले दाबा गर्ने हामी आखिर प्रजातिका रूपमा ‘स्यापिएन्स’ नै हौं । अरू जाति प्रजातिजस्तै यस पृथ्वीमा बाँच्न संघर्षरत । यसले सृष्टिका अरू जाति प्रजातिजस्तै हामी पनि केवल एक हौं भनेर जानेकै तथ्यलाई जोड दिएर भन्ने आशय राख्दछ । र, यस जातिको अरूसँग प्रमुख ‘डिपार्चर’ ७० हजार वर्षपहिले सुरु भएको थियो जतिबेला यसमा सोच्न–बुझ्न सक्ने ‘कोगनिटिभ’ क्षमताको विकास भयो । जब ७० हजार वर्षपहिले यो जातिले ‘सोच्न–बुझ्न’ थाल्यो ‘कोगनिटिभ क्रान्ति’ मार्फत, त्यसपछि सुरु भएको उसको संस्कृतिलाई अहिले हामीले इतिहास भन्ने गर्छौं । त्यसको ५८ हजार वर्षपछि अर्थात् आजभन्दा केवल १२ हजार वर्षपहिले उसको अर्को इतिहास सुरु भयो— कृषि क्रान्तिको । र, आजभन्दा ५ सय वर्षपहिले सुरु भयो— वैज्ञानिक क्रान्ति ।


७० हजार वर्षदेखि सोच्न–बुझ्न थालेको यो स्यापिएन्स प्रजातिले केही हजार वर्षमा ‘मानव’ कै अरू प्रजातिलाई निमिट्यान्न पार्‍यो र आफू मात्र एक मानव जातिका रूपमा अस्तित्वमा रहिरहेको छ । जीवविकासको क्रममा ७० हजार वर्षपहिले स्यापिएन्स प्रजातिमा ‘दिमाग’ बन्ने तत्त्वहरू निर्माण हुँदै गए, जसले गर्दा हामी अहिले जो भएका छौं, बिस्तारै त्यो भयौं । आफ्नैबारेमा लेख्न सक्ने । जस्तो, अहिले यो लेख लेखिएको छ र पढिएको छ जुन काम अरू कुनै प्राणीले गर्दैनन् ।


र, हामी मान्छेलाई लाग्छ यस्तो गर्न सक्नु भयंकर सफलताको कुरा हो । हामी ठान्छौं बिहान उठेर पत्रपत्रिका नपढ्ने चराचुरुंगीभन्दा हामी विशेष हौं । बाघ, भालु, सर्प, कमिला सबैभन्दा ‘मानव’ हुनु विशेष हो । हामी ठान्छौं, नठान्ने पनि केही छौं होला तर धेरैले ठान्छौं । नत्रभने हामीमध्ये कसैले कुनै ‘अमानवीय’ काम गर्‍यो भने ‘यो त मानवताकै कलंक हो’ भन्ने खालका अभिव्यक्ति हामीले प्रयोग किन गर्‍थ्यौं ? यसोसुन्दा त यो ठीकै लाग्छ । तर, एक छिन घोत्लिएर सोच्यो भने हाम्रो आफ्नै ‘मानवीय’ आशय थाहा हुन्छ— मानौं त्यस्तो नराम्रो कृत्य त अरू कुनै जनावरले पो गर्ने हो, जसको कुनै ‘जनावरता’ छैन, मान्छेको ‘मानवता’ जस्तो ! मान्छे त विशेष प्राणी पो ! त्यसैले कुनै एउटा मानवको नराम्रो कृत्यलाई हामीले अहिलेका ७ अरब र आजभन्दा पहिलेका सयौं अर्ब मान्छेको चरित्रसँग जोड्छौं र आफ्नै कतिपय ‘मानवीय’ कृत्यलाई ‘अमानवीय’ भन्छौं । नराम्रो काम भयो भन्दैमा ‘मानव’ ले गरेको कुरा ‘अमानवीय’ कसरी हुन्छ ? एउटा हात्तीले अरू हात्तीका नजरमा नराम्रो लाग्ने काम गर्‍यो भने ती अरू हात्तीले भन्लान्— यो हात्तीले सारा हात्ती जातिकै बदनाम गर्‍यो ? आफ्नो जातको प्राणीको हर्कतका लागि अरू प्राणीको जस्तो चरित्र भनेर गाली गर्लान्, मान्छेले ‘अमानवीय’ भनेजस्तो ? आफ्नै ‘साझा’ मानव चरित्र परिभाषित गरेर अरू प्राणीका बारेमा यस्तो धारणा बनाउने काम यही स्यापिएन्स जातिले मात्र गर्छ ।


कसैले हुँदै नभएको कुरा लेख्यो भने पनि मान्छेकै जातमा हो जहाँ अरू पढ्ने भेटिन्छन् । र, मान्छेको इतिहासको यो ‘सोच्ने–बुझ्ने क्रान्ति’ माथिको हरारीको सबैभन्दा कठोर टिप्पणी छ– हुँदै नभएको काल्पनिक कुरालाई सत्य भनेर पत्याउने जात स्यापिएन्स अर्थात् अहिलेको मान्छेको जात मात्र हो । अरू जनावरमा त्यो हुँदैन । जस्तो, स्वर्ग अथवा भगवान् छन् भनेर देखेको अहिलेसम्म कोही छैन । तर, भगवान् सत्य हो भनेर विनाशका पत्याउने मान्छे अर्बौं छन् । यसलाई यसरी पनि हेरौं— आफू–आफू मिलेर, जोगिएर बस्नकै लागि राज्य वा राष्ट्र भन्ने चीजको कल्पना पनि मानिसले मात्रै गरेका छन् । यसरी कल्पना गरेर बनाएको राष्ट्रको प्रमुख को हुने भन्ने प्रक्रिया झनै उदेकलाग्दो छ । मान्छेमध्येकै एउटाले आएर भन्छ— मलाई प्रमुख बनायौ (चुनाव जितायौ) भने मैले फलानो–फलानो काम गरिदिनेछु । यसरी भविष्यमा ‘गरिदिनेछु’ भनेर शब्दमा बोलेको काल्पनिक (काल्पनिक किन भने त्यो कुरा सत्य त घटना भएपछि मात्र हुने हो) कुरालाई पत्याएर आफूमध्येकै एक जनालाई नेता मान्ने काम पनि यही मान्छेकै जातले मात्र गर्छ । अरू के–के यस्ता हास्यापद काम गर्छौं हामीले, एक छिन अडिएर सोचेमात्र धेरै उदाहरण भेटिन्छन् ।


सोच्ने–बुझ्ने–बोल्ने मानिसले धेरै कुरा कल्पना गर्दै गयो । अहिलेका राज्य पनि वास्तविकतामा त अस्तित्वमा भएका कुरा होइनन् । तर, पृथ्वीको यति टुक्रालाई एउटा राज्य भनौं भनियो, अर्कोलाई अर्को । अरू कुनै फ्राणीलाई राज्य चाहिएकै छैन । कृषि क्रान्तिले जीवन सहज त बनायो । तर यो त्रान्ति मानव इतिहासको अर्को कोल्टे फेर्ने विन्दु थियो जहाँबाट मान्छेभित्रको लोभले प्रधानता पाउन थाल्यो । मान्छेहरू समूहमा विभाजित हुन थाले, जुन विभाजन स्थायी हुन थाल्यो किनकि एउटा समूहका मान्छेहरू एउटा ठाउँमा मात्र बस्न थाले । अनि समाजका सबै विधिहरू तय हुन थाले । ठीक के हो र बेठीक के हो भन्नेबारेमा मिथकहरू बने । कुनै मान्छेको कल्पनाले ठीक ठानेको कुरालाई सबैका लागि ठीक कुरा यही हो भनेर प्रचार गरियो ।

लोकतन्त्रको कल्पना गरियो । अनि त्यसलाई लागू गरियो । अन्य तन्त्र र मन्त्र पनि कल्पना गरियो । मानवअधिकार कल्पना गरियो । यसो अडिएर सोचौं ः मान्छे भएर जन्मेपछि जन्मनासाथ पाउने अधिकार, मानवअधिकार नैसर्गिक हुन् । होलान् । त्यस्ता अधिकारलाई नैसर्गिक भनिनुपर्छ भनेर त पहिले कसैले कल्पना नै गर्‍यो । त्यही कल्पना धेरैलाई स्विकार्न लगाइयो । अनि त्यो ‘विश्यव्यापी’ भयो । एवंरीतले सोचे हुन्छ, हामीले अरू के–के कुरा कल्पना गरेका छौं यहाँसम्म आइपुग्दा ।
मानव समाजका समकालीन चरणमा भएका विभिन्न आयामहरूको इतिहास के थियो भनेर भन्ने हरारीको कला अति सुन्दर छ । जस्तो, अहिले जसलाई हामी ‘ब्युरोक्रेसी’ भन्छौं, त्यो मेसोपोटामियाको सभ्यतामा ५ हजार वर्षपहिले कसरी सुरु भयो भन्ने विवरण रोचक छ । नियम–कानुनहरू बनाएर घर्रामा राख्ने र कुनै निर्णय गर्नुपर्‍यो भने आफूले व्यक्तिगत रूपमा नसोची, पहिले नै कसैले सोचेर घर्रामा राखिएको तरिकाअनुसार काम गर्ने तन्त्रका रूपमा ब्युरोक्रेसी बनेको रहेछ । त्यसैले अहिलेसम्म कर्मचारीले भन्ने गर्छन्— नियमले मिल्दैन । वास्तविकतामा त्यो कुरा मिल्छ कि मिल्दैन भन्ने फरक कुरा तर कागजमा लेखेर घर्रामा राखेको नियमले के भन्छ त्यही भन्ने । आफूले व्यक्तिगत रूपमा सोच्न नपाउने प्रचलन सुरु भएपछि ब्युरोक्रेसी सुरु भएको रहेछ । यसले मान्छेको सोच्ने भन्ने तरिकामा पनि फरक आउँदै गयो ।


पैसाको सुरु कसरी भयो, पैसाको मूल्य कसरी तय गरियो, सुन भन्ने वस्तुलाई अहिलेको ठाउँमा कसरी ल्याइयो भन्ने इतिहास त रोचक हुने भई नै हाल्यो । यी विभिन्न चीजका कल्पना वा आविष्कारले मान्छेको चरित्र नै कसरी फेर्दै लग्यो भन्नेमा हरारीको विशेष रुचि देखिन्छ । पृथ्वीका विभिन्न कुनामा विभिन्नथरीका भगवान्हरू कसरी कल्पना गरीए, धर्महरू कसरी बने, किन बने र समग्रमा अहिलेको मानव आफू के बनेको छ भन्ने विषयमा तिनको तत्कालीन इतिहास मात्र होइन, त्यसमाथि लेखकका टिप्पणी र दार्शनिक घोचपेचले ‘स्यापिएन्स’ को पठनलाई विशेष बनाउँछ । त्यही भएर हुनुपर्छ बौद्धिक इतिहासका वा साधारण इतिहासका वा सभ्यताका इतिहासमाथि लेखिएका अरू पुस्तकभन्दा ‘स्यापिएन्स’ बढी चर्चामा छ ।


साधारण रूपमा ‘इतिहास’ भनेको त कुनै विषयवस्तुसँग सम्बन्धित कुराको ऐतिहासिक वर्णन भई नै हाल्यो । ‘सभ्यताको इतिहास’ भनियो भने त्यो ‘साधारण इतिहास’ भन्दा बृहद् हुँदै जाने भयो विषयवस्तुमा । तर ‘बौद्धिक इतिहास’ ले इतिहासका सबै पाटालाई हेर्छ । कुनै एउटा समयको राजनीति कस्तो थियो, कला संस्कृतिको हालत र धारहरू कस्ता थिए, जीवनलाई हेर्ने दार्शनिक दृष्टिकोण के थिए वा थिएनन् । भगवान्को बारेमा के सोचिन्थ्यो, ताराका बारेमा के ठानिन्थ्यो आदिजस्ता सबै आयामलाई एकै ठाउँमा ल्याएर हेरिने इतिहासलाई विधाका रूपमा ‘बौद्धिक इतिहास’ भनिन्छ । हरारीको इतिहास लेखन ‘बौद्धिक इतिहास’ को विधामा पर्छ । त्यसमाथि, ‘बौद्धिक इतिहास’ का ती विविध आयाममा उनका बौद्धिक टिप्पणीले इतिहासलाई इतिहास मात्र नभएर त्यसमाथिको उनको दृष्टिकोणका कारण यो पुस्तक विशेष रूपमा चर्चामा छ ।


‘स्यापिएन्स’ ले मान्छेका बहुआयामिक इतिहासका शृंखला पछ्याउँदै अहिलेको मान्छेको जीवन कस्तो छ त भन्नेतर्फ पुर्‍याएर पुँजीवाददेखि कम्युनिज्मसम्मका प्रणालीको चिरफार गर्छ । यो किताब एउटा इतिहासकारले लेखेको इतिहासकै किताब त हो नै, तर हरारी आफैंले इतिहासकार माथि नै प्रश्न पनि गरेका छन् । उनी भन्छन्— इतिहासकारहरू आम रूपमा प्रश्न गर्दैनन् ।

जस्तो, ३० हजार वर्ष पुरानो, त्यो ‘दुःखै–दुःख’ को हाम्रो पुर्खा औद्योगिक क्रान्ति र पुँजीवादको चरम सफलतापछिको कुनै मान्छेभन्दा साँच्चे बढी पो खुसी थियो कि ? विगत ५ सय वर्षमा पुँजीवादको लोभ यति तीव्र भएर बढ्यो कि यसले अठारौं र उन्नाईसौं गरेर दुई शताब्दीमा दास प्रथा सुरु गरेर एक करोड अफ्रिकी मानवलाई श्रमका लागि एक आपसमा किनबेचसमेत गर्‍यो । अब यस्तो स्थितिलाई सभ्यताको ‘विकास’ भन्ने कि प्रतिगमन ? उनी प्रश्न गर्छन्— यी सारा चीज जसलाई हामी क्रान्ति झन्छौं (कृषिदेखि औद्योगिक र विज्ञानको क्रान्ति) यी त्रान्तिले मानिसलाई खुसी बढी दिएको छ कि झन् दुःखी बनाएको छ ?


‘स्यापिएन्स’ ले इतिहासको चक्कर लगाएर अन्त्यमा हामी सबै ‘स्यापिएन्स’ लाई त्यस्ता प्रश्न छाडेर जान्छ जसको उत्तर सोच्ने प्रयासमा धेरैको दिमाग हल्लिन सक्छ । जस्तो, मान्छेले यति ‘धेरै गरेको’ इतिहास त छ, तर मानव भएर आफूले पृथ्वीलाई र यहाँका अरू प्राणीका लागि गरेको गर्वलायक कुरा के छ ? न आफैं पहिलेभन्दा बढी खुसी भएको छ, न अरूलाई केही राम्रो गर्न सकेको छ । जति ‘सभ्यता’ को विकास हुँदै गयो, त्यति आफू नै आफ्नै लागि खतरा हुँदै गएको छ मानव । एकै निमेषमा पृथ्वी नै ध्वस्त पार्ने औजार तयार पारेको छ । ऊ अगाडि त बढेको बढ्यै छ तर त्यो अगाडि भनेको के हो भन्ने आफैंलाई थाहा छैन । अगाडि किन बढेको हो भन्ने पनि थाहा छैन । मूल प्रश्न त ऊ आफैंले के चाहन्छ भन्ने नै थाहा पाएको छैन ।


अरू प्राणीमाथि, पृथ्वीमाथि ‘विजय’ हासिल गरेर स्यापिन्यस एक हिसाबमा तिनीहरूको भगवान् भएको छ । किनकि उसले अरू प्राणीमाथि आफूले चाहेको जे पनि गर्न सक्छ तर उसले प्राप्त गरेको यक्रो शत्तिबाट ऊ आफैं के गर्न चाहन्छ भन्ने नै थाहा छैन । त्यक्रो शत्तिशाली भगवान् बन्न ‘सफल’ भएका एक्काइसौं शताब्दीका हामी स्यापिएन्स आफू के चाहन्छौं भन्ने नै थाहा छैन । आफ्नै चाहना थाहा नपाउने भगवान कति खतरनाक होला ? यिनै प्रश्नमा आएर स्यापिएन्सको इतिहास अड्किएको छ । त्यसैले हरारी अहिले संसारभर एक दार्शनिक र बौद्धिक ‘फेनोमेना’ भएका छन् । र यिनै प्रश्नको उत्तरमा घोत्लिँदै अरू थप पुस्तक लेख्दै छन्, अरू थप कुरा बोल्दै छन्।

प्रकाशित : चैत्र १६, २०७५ ११:३९
प्रतिक्रिया
पठाउनुहोस्

साझा बास

खिम लामिछाने

काठमाडौँ — मान्छेले आफ्नै पेवाझैं ठाने पनि पृथ्वी मानिसको मात्रै होइन  । पृथ्वीमा बसोबास गर्ने सबै प्राणीको पनि उत्तिकै हो, जति यसको दोहन गरिरहेको मान्छेको  ।

कोसी किनारको चराको घर कोसीटप्पु होस् वा मुगुको टिलपिल रारा ताल, चराचुरुङ्गी र जलचरले धर्तीलाई सुन्दर बनाएका छन् ।


२०३२ मा स्थापित कोसीटप्पु वन्यजन्तु आरक्षलाई अर्नाको राजधानी, चराको स्वर्ग मानिन्छ । सिमसार क्षेत्रका जलपन्छीको संरक्षण गर्ने उद्देश्यले इरानमा भएको रामसार महासन्धिमा नेपालले सन् १९८७ मा हस्ताक्षर गरेपछि स्थापित ९ रामसार क्षेत्रमा कोसीटप्पु पनि पर्छ । यसबाहेक अन्य रामसार क्षेत्र माईपोखरी, बीसहजारी ताल, जगदीशपुरा ताल, घोडाघोडी ताल, गोक्यो लेक, गोसाइँकुण्ड, से–फोक्सुन्डो र रारा छन् ।


नेपालमा पाइने जम्मा ८ सय ८६ प्रजातिका चराहरूमध्ये कोसीटप्पु आरक्षमा मात्र स्थानीय र आगन्तुक गरी ४ सय ४१ प्रजातिका चरा पाइन्छ । यहाँ हाँस प्रजातिका २०, जलचरा १ सय १४ प्रजातिका पाइन्छन् । लोसार, ठूलो धनेष, स्वाम्प प्याराडाइज, फिसिङ इगल, टफटेड सोभलरडक ब्रेस्टेट, ब्रान्डेट रेल किङफिसर आदि संसारमा नै दुर्लभ चराअन्तर्गत पर्छन् ।


कोसीटप्पुमा रुस, मंगोलिया, चीन, तिब्बत, कजाकस्तान, अफगानिस्तान, इरान र स्पेनबाटसमेत चराहरू बसाइ सरेर आउने गरेको चराचुरुंगीसम्बन्धी अन्ध्ययन गर्दै आएका लोकेन्द्र बुढाथोकी बताउँछन् । आरक्ष चरा मात्र नभई कोसी नदीमा रहेका विभिन्न प्रजातिका माछा, गोही र डल्फिनका कारण पनि विशेष छ । टप्पुमा एउटा सानो हात्तीसार पनि छ । आरक्षभित्रै जङ्गली जनावर तथा पशुपन्छीसहितको चिडियाघर पनि छ । अर्नासम्बन्धी जानकारी दिने उद्देश्यले अर्ना सङ्ग्रहालय पनि बनाइएको छ । हात्ती चढेर जंगल घुम्दै अर्ना हेर्ने सुविधा पनि यहाँ छ ।

सिमसार भूमि र दलदले क्षेत्रका रूपमा प्रसिद्ध कोसीटप्पुमा दुर्लभ वन्यजन्तु नीलगाई पनि देख्न सकिन्छ । आजभोलि खेतबारीमा बढी कीटनाशक औषधिको प्रयोगले नीलगाईलाई खतरा भइरहेको आरक्षका अधिकारी बताउँछन् । नीलगाई मानवीय बस्तीनजिक बस्न रुचाउने जनावर हो । सरकारले कोसीटप्पुबाट अर्ना चितवन राष्ट्रिय निकुञ्ज सार्ने गरेको छ । अर्ना संसारमै जम्मा ५ देशमा पाइने मानिन्छ ।


२०३२ सालमा कोसीटप्पुमा ३३ वटा अर्ना रहेकोमा अहिले पाँच सयभन्दा बढी पुगेको आरक्षका कर्मचारी बताउँछन् । अर्ना र चरा हेर्नका लागि असोज–कात्तिकदेखि फागुन चैतसम्मलाई उपयुक्त समय मानिन्छ । चराको चिरबिरबाट दिन सुरु गर्नु, हात्ती चढेर अर्ना र नीलगाई हेर्दै आरक्ष घुम्नु र लम्पसार परेर फैलिएको कोसीको क्षितिजमा सूर्यास्तमा रमाउन मन छ भने कोसीटप्पु तपाईंका लागि हो ।


कोसी नदीको वरपर ७ वटा ‘टप्पु’ छन् । कोसीटप्पु १ सय ७५ वर्ग किलोमिटर क्षेत्रफलमा सुनसरी, सप्तरी र उदयपुर तीन जिल्लामा फैलिएको छ । १६ गाउँ समेटेर २०६१ सालमा नेपाल सरकारले जनसहभागितामा संरक्षण कार्य अगाडि बढाउने लक्ष्य लिएर मध्यवर्ती क्षेत्रको घोषणा गरेको थियो । तमोर, अरुण, दूधकोसी, तामाकोसी, सुनकोसी, लिखु र इन्द्रावती मिसिएर सप्तकोसी बनेको छ । सप्तकोसीमा नौका विहार, र्‍याफ्टिन्ङ तथा स्टिमको आनन्द लिन सकिन्छ । स्टिमरमा चतरादेखि बराह क्षेत्र हुँदै भोजपुरको सिम्लेसम्म पुग्न सकिन्छ ।


आरक्षनजिकै प्रकाशपुरका स्थानीयका अनुसार यहाँका बस्तीहरू जंगली हात्तीको त्रासमा छन् । आरक्ष क्षेत्रमा भने विद्युत् जडान गरिएको तारले घेरिएको छ, राति यो तारमा करेन्ट प्रवाह हुन्छ । यसले हात्तीलाई गाउँमा जान रोकेको आरक्ष अधिकारी बताउँछन् । होटलहरूले पनि आफ्नो कम्पाउन्डमा तारबार गर्ने गरेका छन् ।


भारतले नदीको बहावलाई पोर्कुपाइन पिल्लरको मद्दतले अर्कोतर्फ मोडेको छ । यसले गाउँबस्तीलाई डुबानबाट त जोगाएको छ तर कोसीटप्पु क्षेत्रमा पानीको अभाव हुनाले जंगली जनावरहरू बस्न नसक्ने स्थिति पैदा भइरहेको पाइन्छ । पानीको अभावमा सिमसार क्षेत्रहरू सुक्खा भूमि बन्दै गएको स्थानीयको भनाइ छ ।

प्रकाशित : चैत्र १६, २०७५ ११:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्