कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

नपारी स्वाङ बाँचिदेऊ आफ्नै लयमा

सरला गौतम

काठमाडौँ — झिपझिप, झिपझिप रंगीन बत्तीहरू  । स्टेजमा इन्द्रेणी हाजिर थियो  ।

नपारी स्वाङ बाँचिदेऊ आफ्नै लयमा

बतासमा बत्तिएका धानका बालाजस्तै गरी तन्नेरी दर्शकदीर्घामा झुम्दै थिए । ‘वान्स मोर वान्स मोर’ आकाशलाई थर्काएर हुटिङ गरिरहेका । ड्रमसेट र गिटारलगायतका बाजा मिसिएर गुन्जेको थियो अर्केस्ट्रा । त्यो समयका हिट गायक सञ्जीव प्रधान गाउँदै थिए, ‘मंसिरमा जाडो छ वैशाखमा लैजाउँला ।’


नाँच्नलाई योभन्दा अरू के चाहिन्छ ? अहँ, म नाचिनँ । सारा परिवार र समाजको शालीनता आफ्नै काँधमा छजस्तो लागेको थियो होला मलाई । पैताला चाल्नासाथै संसार भुइँमा खसेर जमिनमा भासिन्छ किजस्तो तटस्थ थिएँ । आजभन्दा सोह्र वर्षअगाडि लक्का जवानीको बेला । एउटा ग्लामरस कार्यक्रम स्टेजमा प्रस्तुत गर्दै थिएँ म । झुमिरहेका आफैंजस्ता तन्नेरी अडियन्सलाई भन्दै थिएँ हुँला ‘हेर, बाई डिफल्ट मजस्तो भलाद्मी मान्छे पपगीतको कार्यक्रम चलाउन आइपुगें । तर म तिमीहरूजस्तो उत्ताउलिएर हल्लिन्नँ । यो संसारमा कति परिवर्तन गर्नु छ । पप गीतमा नाचेर बस्छु म ।’ मिल्ने भए दुई–चार भेट्रान लेखकका महान् उक्तिहरू पनि स्टेजबाट दिन्थें हुँला कि ! तर मेसो मिलेन । आफैं रिक्त भएर संसारलाई ठूलै कुरा दिउँला भनी हिँडेको मानिसमध्येकै थिएँ । कुन बेला झोंक चल्यो, सारा स्वाङ नारायणी नदीमा मिल्काइदिएँ ।


गत साता छोक्न्यी रिन्पोचेको ‘चित्त खुलोस् हृदयसँगै’ पुस्तकको पाण्डुलिपि डा. सरोज धितालबाट हात पर्‍यो । यही पुस्तक चहार्न थाल्दा त्यो दिनको पप सो सम्झें । बाह्र वर्षको बालक गुम्बामा पुर्‍याइन्छन् । उनलाई छोक्न्यी रिन्पोचेको तेस्रो अवतार मानिएको छ । उफ्रेर हिँड्ने बेलाको बालक पलेटी कसेर गुरुवचन सुन्न थाल्छ । मन्त्र श्लोक र नियमहरू कण्ठ पार्न थाल्छ । ‘संसारको दुःख हटाउने कारण बन’ भनी गुरुले उनलाई सिकाउन थाल्छन् । पुस्तकमा उनले लेखेका छन्, ‘बाह्र वर्षको बालकको काँधमा यो कत्रो जिम्मेवारी !’ गुम्बाको अनेक नियम र कानुनले थिच्न थाल्छ । उनको बालक मनले चकचक गर्न खोज्छ । नजिकैको गाउँ डुल्न मन पराउँछ । अझै किशोर भएपछि केटीहरूसँग कुरा गर्न मन पराउँछ । वर्जित गरिएका सप्पैसप्पै कुरा गर्न मन लाग्छ ।


तर, गुरुहरूको प्रशंसाको उस्तै लोभ लाग्छ । जतिजति नियम पालना गर्‍यो उति प्रशंसा । आफ्नो मनले चाहेको होइन । अरूले आफूबाट के चाहन्छन्, त्यही बाँचिदिन्छन् । त्यसैगरी बाँचिदिन्छन् । उनीभित्रको म आतिन्छ । छट्पटीको हदै नाघ्छ । अनि उनले नियमका पर्खाल नाघिदिन्छन् । बोल्न हुन्न भनेका केटीसँग बोलिदिन्छन् । वर्जित गरेकै कारण उनीहरू झन् राम्रो लाग्छ । सिनेमा हेर्छन् । कम्फुवाला सिनेमाको फ्यान हुन्छन् । र, बदनाम पनि हुन्छन् । ‘नाम बदनाम, आरोह, अवरोह, घृणा प्रेम, आलोचना र प्रशंसा सबै–सबैको आगोमा पोलिएर जे व्यक्तित्व निस्कन्छ त्यही नै साँचो व्यक्तित्व हो । बीपीको यो भनाइलाई साँचो साबित गरिदिन्छन् । मानिस भएर जन्मेपछि गुज्रने सबैखाले सोचाइ र चाहका पत्रपत्र आफैं केलाउन थालेपछि सत्यको नजिक पुग्छन् । सुनेका, सुनाइएका नियम र अनुभूतिबाट होइन, स्व–अनुभूतिको आधारमा आर्जेको प्रज्ञा संसारभरि बाँड्न थाल्छन् ।


गुम्बामा रिन्पोचेको अवस्था र समाजमा हामी आममानिसको अवस्था उस्तैउस्तै लाग्यो मलाई । मनमा चल्छ एउटा बतास, बाहिर सुसेल्छौं हामी अर्कै कुरा । आफूभित्रको ‘म’ लाई हुन्छ एकथोक, देखाउनुपर्ने ‘सामाजिक म’ छ अर्कै । ‘म’ र सामाजिक ‘म’ को अन्तर्द्वन्द्वको बारेमा रिन्पोचेले निकै सरल ढंगले बुझाएका छन् । छोरी मान्छेको सवालमा यो झनै घनीभूत छ । मनको कुरा व्यक्त गर्ने बेला, केटा हुँ की केटी, कुन जात, कस्तो आर्थिक अवस्था भएको परिवार सबै सम्झन पर्‍यो । अझै विदेशमा बस्ने कि नेपालमा ? विवाहित कि अविवाहित यी सबै बोक्राले बेरेर मनको भाव निकाल्दा कस्तो निस्केला ! सत्य कति पत्रमा छोपिएर निस्केला ! सोच्दै भयावह छ । यो किन ? अरूले के भन्ला भन्ने भय हृदयमा यति गढेको छ कि यो झन्डै प्राकृतिक लाग्छ हामीलाई । त्यही कारण होला म त्यो दिन स्टेजमा नहल्ली बसेको ।


पुस्तकमा एक घाइते प्रेमीको प्रसंग पनि छ । एकपछि अर्को प्रेम असफल भएपछि ऊ संसारको हित गर्छु भनी कसिन्छ । यही कुरा रिन्पोचेलाई सुनाउँछ । भिक्षु न हुन् मनको दशा बुझिहाले । आफैंसँग विरक्त भएर हिँडेको मानिसले के गर्ला अरूको हित । घायल मानिसलाई आफैंसँग प्रेम गर भनेर पठाइदिन्छन् । यता सामाजिक सञ्जालतिर बेलाबेला पढ्न पाइन्छ, ‘हामी त संसार बदल्न र यसको हितमा लागि पर्न हिँडेका हौं । आफ्नो नामसाम केहीको परवाह छैन हामीलाई ।’ सुन्दा त कस्तो गजब सुनिन्छ । एकै छिन ती मानिसहरूको अनुहारको रेसारेसामा दौडिएको असन्तुष्टि र छटपटी हेरिरहने हो भने कहाली लाग्छ । घाइते भएको आफ्नो आकांक्षाकै वरिपरि घुमेर संसारलाई प्रभाव दिन लागिपरेकाहरूको माया लागेर आउँछ । आफैंप्रति दया जागेर आउँछ । उही घाइते प्रेमीको जस्तै !


गुम्बामा हुँदा आफ्नो मनमा गुज्रेको मनोदशाले भिक्षुलाई ग्लानि हुन्छ । उनलाई घरीघरी आफू कमसल भिक्षु भएको पिरलोले सताउँछ । भिक्षु भएर पनि मेरो मनमा यस्तो कुरा किन खेल्यो ? यही प्रश्नले बारम्बार पोल्छ । भिक्षुको मनमा त कसरी संसारको हित गर्ने भन्ने मात्र कुरा खेल्नुपर्ने । किन केटी र सिनेमासमेत घुम्छन् ? अल्मलिन्छ भिक्षुको भेषमा लुकेको मानिस । घर आएको बेला आफ्ना पितासँग मनको सबै दशा भन्छन् । उनका भिक्षु बाबुले उनको सबै कुरा सुन्छन् । झ्यालबाहिरको आकाशमा बादल आउने जाने भइरहन्छ । बाबु छोराको आँखा त्यही बादलमा पर्छ । बाबुले छोरालाई सम्झाउँछन्, ‘आकाश तिमी हौं, बादल तिम्रो मनमा आउने जाने विचारहरू । बादलहरूबाट आकाशको रङ परिभाषित नगर । तिम्रा अनुभूतिहरूले तिमी आफूलाई परिभाषित नगर । यस्तै भावहरू हेर्दैहेर्दै नै उज्यालोमा पुग्ने हो । मनमा आएका अनेक भावहरूसँग आत्तिनै पर्दैन ।’


फ्रान्स जाँदा एउटा विज्ञापनको मोहमा फँस्छन् उनी । हावामा कपाल उडेकी केटी, सिक्स प्याकवाला केटो, बीचमा ल्यापटप । जहाँ जाऊँ त्यही विज्ञापन । आफ्नो रूप नियाल्छन्, पेटीबाट झुन्डेको भुँडी । न साइडमा सुन्दरी । तर, ल्यापटप किनिछाड्छन् । भिक्षु भएर यस्तो भौतिक चाह ! अनि उनको मनले भन्छ, ‘तँ पनि त मान्छे होस् !’ सारा आवरण फुकलेर मान्छे बनी मन हेर्दा हृदयमा सानो दीप झिलिक्क बल्छ । प्रज्ञाको यो दीपले भिक्षु उज्यालो हुन्छन् ।अरूको नजरमा अब्बल रहन हामीले आफैंलाई पनि अनगिन्ती पटक दोषी मानेका हुन्छौं । मान्छे आत्मरतिमा रमाउने घमण्डी मात्र हुँदैन । अनेकौं पुरातन सोचबाट आफैंलाई नियालिरहन्छ । आफैंलाई होचो र कमसल ठानी पनि रहन्छ । मानिस भएपछि स्वाभाविक रूपमा आउने विचारप्रति निष्ठुर रहन्छ । यही प्रसंगले आफ्नै माया लाग्ने बनाइदिन्छन् भिक्षुले । मन नपरेको कुनै एक घटना वा विचारबाट हीन महसुस किन गर्ने ?

िसानासाना कुरा भन्न ठूलो तागत चाहिन्छ । ठूला कुरा त गुगलमा खोजे पनि पाइन्छ ! साधारण मानिससँग उसकै मनको बात सुनिरहेजस्तो लाग्ने पुस्तकले मलाई भर्खरै हेरेको सिनेमा ‘बुलबुल’ की रणकलालाई धेरै सम्झायो । रणकलाले के के बेहोर्दिनँ ? गरिबी, अत्यधिक श्रम, पतिसँगको लामो दूरी । मनमा कल्पिएको प्रेम, जागेको यौन चाहना र त्यसलाई पानीले भिजाएर शान्त पारेका अतृप्त क्षणहरू । अशक्त ससुरा र बालक छोरीको जिम्मेवारी । रणकलाको जीवनमा आउने जाने घटनालाई निर्देशकले पर कतै कुनामा बसेर हेरिरहेजस्तो । भिक्षुको बाबुले आकाशबाट बादल देखाएर भिक्षुको मनोभावमाथि तटस्थ हुन दिए । उसैगरी रणकलाको जीवनमा आाउने जाने घटनालाई निर्देशकले रणकला नै भएर हेर्न दिए । थोपरेनन्् कुनै पुरातन विचार । अनि ऊ एक–एक दृश्यमा अभिव्यक्त हुँदै जान्छे । स्वाभाविक रूपमा प्रकट हुँदै जान्छे ।


परदेसिएको लोग्ने नआएको छ वर्ष भइसक्छ । सानो उमेरमा बिहा गरेकी रणकलामा यौन र प्रेमको चाहना हुर्कंदै जान्छ । एक दिन सडकमा मजदुरको संघर्ष चलिरहेको हुन्छ । रणकला आफ्नी सखीसँग आफैंले हाँक्ने टेम्पोमा बसेकी हुन्छे । दुवै जना ब्लुफिल्म हेर्छन् । बाहिर चलिरहेको भाषणसँग पूरै बेखबर रहेर । झ्यालमा टुप्लुक्क आइपुग्छ रणकलाको आसिक । झ्याप्प फोन अफ गर्छन् । आसिक गएपछि आँखा जुधाएर मस्त हाँस्छन् । एउटी यौवनामा हुने चाहनाको स्वाभाविक अभिव्यक्ति हुन दिएका छन् निर्देशकले । बिस्तारै सोही आसिकसँग उसको प्रेम झांगिन्छ । उसको ससुराले चाल पाएर छोरालाई कुरा लाइदिन्छु भन्छन् । रणकला निर्धक्क भन्छे, ‘भन्दे भन्दिनू । भन्नलाई तपाईंको छोरो आउन पनि त पर्‍यो ।’ उसलाई थाहा छ यो परिस्थितिसम्म कसरी आइपुगी । किन मौलायो उसको हृदयमा दोस्रो प्रेम । जीवनमा आइपरेका घटना नियाल्दै झेल्दै अघि बढेकी रणकलालाई अरूले थोपर्ने नियम र जजमेन्टसँग परवाह गर्ने समय पनि छैन । उसको जीवनको पेसागत परिवेश र व्यक्तिगत सन्दर्भले जे जे परिघटना खोज्छन्, ऊ त्यही गर्दै जान्छे । निर्धक्क । कसैलाई प्रभावित गर्नु छैन रणकलालाई । जीवनमा हरदिन जे परि आउँछ, त्यसकै लयमा बगिहिँड्नु छ ।


भिक्षु र रणकला अलग पात्र हुन् । एक काल्पनिक अर्को वास्तविक । दुवैले जीवनलाई निश्चित घटनाहरू परिभाषित गर्दैनन् । न त अरूलाई गर्न दिन्छन् । व्याख्या गर्नुमा भन्दा बाँच्नैमा रमाएमा मानिसहरू । गुम्बाको उकुसमुकुसबाट निस्केर भिक्षु कम्फु फिल्म हेर्थ । जीवनको उकुसमुकुसबाट फुत्त भागेर रणकला डेटिङ जान्छे । दुवै जीवन बाँच्छन्, नियम होइन । अथाह दुःखको समुद्रबाट रणकला सुखका मोतीहरू टिप्छे । मनपरेको मान्छेलाई कुरुमकुरुम गर्ने पुरी पकाएर ख्वाउँछे । उसले खाएको हेरिरहन्छे । ढुक्कै भन्छे, ‘त्यस्तो जाबो लोग्ने र छोरी त मै पाल्दिन्छु, माया भए पुग्छ ।’ तिमी पालिन जन्मेकी हौ भन्नेहरूलाई नभनीकनै सबैथोक भन्दिन्छे ।


बदलिइरहेको आर्थिक संरचनाको एक ‘पावरफुल’ कारिन्दा हो, रणकला । आर्थिक संरचनासँगै फेरिने परिवार र समाजको ढाँचा चलाउन पुरानै फर्मुला काफी छैन । यसैले उसको जीवनमा उसकै नियम चल्छ । रणकला सिंगो एजेन्सी हो । ऊ ‘इनलाइटन’ पात्र हो । यसैले पनि पुस्तकका पाना पानामा मलाई उसको याद आइरह्यो । सिनेमाको एक सन्त पात्र ! अर्कैका लागि बाँचिदिँदा स्टेजमा नाँच्न सकेकी थिइनँ, म पनि । छोक्न्यी रिन्पोचे र रणकलाले अझै बलियो गरी भनेझै लाग्यो— यो तिम्रो आफ्नै जिन्दगी हो । नपारेर स्वाङ बाँचिदेऊ आफ्नै लयमा । अभिव्यक्त गर आफूलाई बाँच्दाबाँच्दै जागेको सत्यको प्रकाशमा !

प्रकाशित : चैत्र १६, २०७५ ११:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?