डबलीमा दुर्गालाल

'फूलको आँखामा...' लेख्ने कवि दुर्गालाल श्रेष्ठ नेपाल भाषा र डबली नाटकका पनि स्थापित लेखक हुन् ।

काठमाडौँ — पचास वर्षअघिको काठमाडौं  । अहिलेका जस्ता मनोरञ्जनका साधन थिएनन्  ।

डबलीमा दुर्गालाल

प्रमुख मनोरञ्जन थियो, दबूप्याखँ अर्थात् टोलटोलमा डबलीमा खेलाइने नाटक । नाटक देखाउन ठाउँठाउँमा स्थायी रूपमा डबली हुन्थे । साउनको आधाआधीदेखि भदौ–असोजसम्म दबूप्याखँ देखाइन्थ्यो, रोपाइँ सकिएर दसैं नआउन्जेल । टोलका केटाहरू मिलेर नाटकमण्डली गठन गर्थे र नाटक बनाउँथे । टोलटोल, गाउँगाउँको अनुरोधमा नाटकमण्डलीहरू बोलाएका ठाउँसम्म आफ्ना नाटक देखाउन जान्थे । दर्शकले रुचाएका नाटक महिनौं चल्थे ।२००४ सालतिरको कुरो हो । दुर्गालाल भरखर ११–१२ वर्षका थिए । उनको घर असननजिकै न्हाय्कंटोलको छिमेकी टोल थाय्मदुका केटाहरू न्हूबहालमा ‘सत्तलसिंह महाराज’ नामको डबली–नाटकको तयारी गर्दै थिए । गीत, संगीत, संवाद, अभिनयको पूर्वाभ्यास भइरहेको थियो । दुर्गालाल र उनका टोलका केटाहरूलाई यसले तान्यो । उनीहरू दैनिक पूर्वाभ्यास हेर्न जान्थे । केही दिन उनीहरूले भित्रै बसेर पूर्वाभ्यास पाए ।


एक दिन भने उनीहरूले जति ढक्ढक्याउँदा पनि ढोका खुलेन । भित्रबाट गाएको बजाएको आवाज आइरहेको थियो । उत्सुक दुर्गालालले ढोकाको प्वालबाट भित्र चियाए । उनका आँखाले भित्रको दृश्य ठम्याउनमात्र के खोज्दै थिए, एउटा सुइरोजस्तो आएर उनको आँखामा छिर्‍यो । ‘ऐया’ उनी आँखा छोप्दै रुँन थाले । भित्रबाट कसैले औंलाले उनको आँखामा घोचिदिएको थियो । औंलाले घोचेको आँखामा थियो तर चोट भने मनमा पर्‍यो । त्यही चोटमा दुर्गालालले घोषणा गरे– हामी आफैं नाटक बनाएर देखाउने । साथीहरू पनि जोशिए– ‘ल, बनाउने, बनाउने ।’ नाटक बनाउन त बनाउने तर लेख्ने कसले ? कुनै नाम चलेको लेखकले ती केटाहरूलाई पत्याउने संभावना थिएन । दुर्गालाल नै अघि सरे, ‘म लेख्छु ।’


नाटक कसरी लेख्ने भन्ने त परै जाओस्, त्यसबेला दुर्गालालले सबै संयुक्ताक्षर पनि लेख्न सिकेका थिएनन् । नेपाल भाषामा त झन् थुप्रै संयुक्ताक्षर हुने गर्छन् । तर पनि नाटक लेख्दै गए । ‘प्रेम जीवन अन्धकार’ नाटक लेखन पनि पूरा भयो । त्यसपछि पूर्वाभ्यास सुरु भयो । नाटक प्रदर्शन पनि भयो । नाटक लोकप्रिय भयो । साउन सकियो तर पनि नाटक देखाउनका लागि अनुरोध गर्नेहरू सकिएनन् । त्यसरी महिना दिनभन्दा बढी नै त्यो नाटक चल्यो ।


त्यो नाटकमा अभिनय गरेका कलाकार भृगुराम श्रेष्ठको सम्झनाअनुसार त्यो बालनाटक थियो । दन्त्यकथाजस्तो देखिने । त्यसमा राजा नै तीनटा थिए । दुर्गालाललाई आँखामा घोच्ने जुन नाट्यसमूह थियो, त्यसको नाटकमा दुईवटा राजा भएकाले त्यसलाई जित्नुपर्छ भनेर दुर्गालालले आफ्नो नाटकमा तीन–तीनवटा राजा राखेका थिए ।

नास्तिकमाथि देउता
काठमाडौंमा जन्मेका भए पनि दुर्गालाल गरिबीमा हुर्किए । युवाकालमा प्रवेश गर्दा नगर्दै दुर्गालाललाई आफ्नो गरिबी र त्यसका कारण भोग्नु परेको अवहेलनाको बोध हुन थालेको थियो । प्रतिभासम्पन्न कविका रूपमा स्थापित हुँदै गइरहेकालाई कम्युनिस्ट नेताहरूले प्रभावित तुल्याउन खोजिरहेका थिए । त्यसमा एक शम्भुराम श्रेष्ठ पनि थिए । किसान नेता सानुलाल महर्जन पनि दुर्गालालका साथी थिए । त्यसबेला पुष्पलाल श्रेष्ठ सानुलालको घरमा भूमिगत जीवन बिताइरहेका थिए । त्यसैले उनको पुष्पलालसित पनि भेटघाट हुन थालेको थियो । तिनकै प्रभावले उनी बिस्तारै प्रगतिशील साहित्य लेखनमा ढल्किँदै गए ।


दुर्गालालले १७ वर्षको उमेरमा २००९ मा ‘ग्राम्य जीवन’ नाटक लेखे । यसलाई उनको पहिलो प्रगतिशील नाटक मानिन्छ । त्यसबेला उनको जोश कस्तो थियो भने, नाटक सुरु गर्नुअगाडि गाउने मंगलाचरण गाउने चलनलाई उनले तोड्न खोजे । मंगलाचरणमा कुनै देउताको आराधना गरिएको हुन्थ्यो, जुन देउता नमान्ने प्रगतिशील मान्यतासँग मेल खाँदैन । त्यस नाटकमा संगीत दिने गणेशप्रसाद श्रेष्ठ थिए । किसानको भूमिकामा अभिनय कलाकार प्रगतीशील थिए । जमिनदारको रुपमा देखिएका दुर्गालाल र विद्यार्थी रत्नकमल वैद्य (पछि राजपरिषद् सदस्य) थिए ।
बेलुका नाटकको पहिलो प्रदर्शन । बिहान अन्तिम पूर्वाभ्यास थियो । ‘डबलीको पूर्वतिरको घरमा रिहर्सल भइरहेको थियो, रत्नकमल त ‘मलाई अन्याय गर्‍यो’ भन्दै चिच्याउँदै उफ्रिन थाले । जोडले उफ्रिदै भित्तै भत्काउला झैं गर्न थाले । उनको मुख बांगिँदै झन्डै कानसम्म पुग्न लागेको थियो । अनुहार हेर्दै डरलाग्दो,’ दुर्गालाल सम्झिन्छन्, ‘टोलका मान्छेले मलाई खुब देउता छैन भन्थिस् नि अब देखिस् भन्दै भन्दै आँखा तर्न थाले ।’


अर्का कलाकार गोविन्द ‘चिकंमू’ले धूपबत्ती बाल्दै थिए रत्नकमलले बलेका धूपबत्ती नै चपाउँदै निल्न थाले । त्यो देखेर गणेशप्रसाद रुन थाले । ‘मंगलाचरण राख्ने भए म यो नाटकमा बसें, नत्र म यहींबाट हिँडें’ भन्न थाले । सबै दुर्गालालको विरोधमा उत्रे । उनलाई के गर्नु के नगर्नु भयो । उनले पनि ‘ल राख्ने भए राख्ने’ भने, अनि मंगलाचरणका लागि गणेशप्रसादले संगीत निकाल्न लागे । उनले गीत भर्न लागे । उनले मंगलाचरण त लेखे, तर कुनै देउताको आराधनामा होइन । बरु आफ्नै विश्वासको गीत लेखे । त्यो मंगलाचरण पछिसम्म पनि लोकप्रिय प्रगतिशील गीतको रूपमा रह्यो । त्यसको बोल (स्थायी) यस प्रकार छ :
झी ज्यामि ज्यापु सारा
शोषित व सर्वहारा
सो देश झीगु ख्युंगु
या लालस्वर्ग प्यारा
(अर्थात्, हामी किसान मजदुर सारा,
शोषित र सर्वहारा ।
यो देशको अँध्यारो
वा लालस्वर्ग प्यारा ।)

यो मंगलाचरणले उनीहरूमा परम्परा तोडेको भान पनि परेन र देउतालाई अपहेलना गरेको पनि भएन । तर गीत भने प्रगतिशील नै थियो । ‘अचम्म लाग्ने अर्को कुरा के छ भने यो गीत ठ्याक्कै छन्दमा थियो तर मैले त्यसबेलासम्म छन्द सिकेकै थिइनँ,’ दुर्गालालले भने ।

घुँगुरा बाँधेर नाच्ने देवी
नाटकको चलिरहेका बेला झन् अनौठो घटना भयो ।
‘एक दिन खाना खाइसकेर म र कलाकार साथी भृगुराम श्रेष्ठ आराम गरिरहेका थियौं । हाम्रै मण्डलीका प्रद्युम्नपतिराज पूजाकोठामा बसेर तबला बजाउँदै थिए । तबलाको ताल अलि नौलो थियो । सँगै तबलाकै तालमा घुँगुरा बजेको आवाज पनि सुनियो । ओहो हातमा घुँगुरा बाँधेर पनि तबला बजाउन हुने रहेछ भनेर हामी कुरा गर्दै थियौं । त्यसपछि त घुँगुरा र तबला दुवैको जोडका तोड प्रतिस्पर्धा हुने गरी थरीथरीको तालमा आवाज आयो,’ दुर्गालाल भन्छन्, ‘अचानक ‘मां ! मां !!’ भनी चिच्याएको आवाज आयो । हामी जाँदा त प्रद्युम्न भर्‍याङको बीचमा बेहोस थिए ।’
हामी सबै आत्तियौं । कसैले पङ्खा हम्काए, कसैले देउताको पूजा गरे । पछि होशमा आएपछि प्रद्युम्नले के भयो थियो भन्ने सुनाए, ‘म सधैंझैं तबला बजाउँदै थिएँ । कोही अगाडि आयो । उसको अनुहार देखिँदैनथ्यो । मात्रै खुट्टा देखिन्थ्यो । छमछम गर्दै आयो । उसले तबलासँग प्रतिस्पर्धा गर्दै घुँगुरा बजाउँदै नाच्न थाल्यो । मैले पनि प्रतिस्पर्धामा नै तबला बजाउन थालें । केही बेरको प्रतिस्पर्धापछि मैले उससँग नसक्नेजस्तो लाग्यो । उसले मलाई गिज्याउँदै हाँसेको भान भयो । त्यसपछि मलाई डर लाग्यो । अनि बेहोस भएँ ।’
त्यो घुँगुराको आवाज दुर्गालालले पनि सुनेका थिए, भृगुरामले पनि सुनेका थिए । त्यो घटना सम्झँदा दुर्गालालको कानमा अझै पनि त्यो घुँगुराको आवाज गुन्जिन्छ । त्यसपछि यो प्रगतिशील मण्डलीलाई ‘खुब देउता छैन भन्थ्यौ हैन ? कस्तो लाग्यो त ?’ भनी गिज्याउने बाटो नै खुल्यो ।


उनमा साहित्यिक सचेतता आएपछि भने एकाङ्की र गीतिनाटक लेख्न थाले । उनले १८ एकाङ्की लेखे छन् । जसमध्ये १४ वटा एकाङ्की सङ्ग्रह ‘प्याखंपिचा’ मा संकलित छन् । चारवटा एकांकी ‘उद्घाटन’ ‘कचिमचाया बाखं’ ‘मातंक्वथा’ र ‘भावना’ हाल कतै उपलब्ध देखिंदैनन् । ‘कचिमचाया बाखं’ नेपाल भाषाको लोकगाथामा आधारित हो । रणबहादुर शाहले बिफर आएका बच्चाहरूलाई उपत्यका काट्न लगाएको र त्यसबाट उपत्यकावासीले पाएको दुःखको कथा यसमा छ । उनले लेखेको ‘भावना’ नाटक अहिले कतै उपलब्ध छैन ।
डबली नाटकको निरन्तरतामा दुर्गालालका ‘पश्चात्ताप’ २०११ सालमा र ‘त्याग’ २०१४ मा प्रदर्शित भए । उनको अर्को अनुपलब्ध नाटक हो– ‘स्वय्नगु’ । यो अपेरा किसिमको नाटक हो । ‘स्वय्नगु’ नेपालभाषाकै पुरानो गीतमा आधारित नाटक हो ।


कवि भएकै कारणले होला दुर्गालालको नाटककार व्यक्तित्व गीतिनाटकमा सबभन्दा निखारिएको छ । ‘बिहांचुली’, ‘श्रीमती’ र ‘निमन्त्रणा’ उनका उपलब्ध गीतिनाटकहरू हुन् । ‘श्रीमती’ र ‘निमन्त्रणा’ गीतिनाटकका त क्यासेट पनि थुप्रै बिक्री भएका थिए । २०२५ सालमा राष्ट्रिय नाचघरमा ‘निमन्त्रणा’ गीतिनाटक प्रदर्शन हुँदा अन्त्यन्तै लोकप्रिय भएको थियो र २५ भन्दा धेरै दिनसम्म निरन्तर चलेको थियो ।

आर. मानन्धर

प्रकाशित : चैत्र ९, २०७५ १२:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?