कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

एक छिन पढ्न बस्दा

स्वीकृति बराल

काठमाडौँ — बिहानदेखि घरको काममा व्यस्त थिएँ साझैंसम्म  । अब चाहिँ एक छिन टीभी हेर्छु भनेर खोलेकी मात्र के थिएँ ऊ प्याच्च बोल्यो— यसो पढेलेखे पो हुन्छ  ।

एक छिन पढ्न बस्दा

समाचार सुन्नु समाचार हेर्नु, दुनियाँ कहाँबाट कहाँ पुगिसक्यो ।
नमज्जा लाग्यो । कताकता रिस पनि उठ्यो तर रिस पटक्कै देखाइन । ठीक हो उसले भनेको । पढ्नुपर्छ, पढे पो केही बनिन्छ, नपढे अहिलेसम्म पढेको नि बेकार जान्छ । ‘मैले कमाएकै छु तैंले किन काम गर्नुपर्‍यो’ भन्ने पितृसत्तात्मक देशमा यतिको पढ, केही गर भन्ने श्रीमान् पाउनु गर्वको कुरा हो । म आफैं दङ्ग परें ।


अनि फेरि सोच्न थालें । साँच्चै पढोस्, केही गरोस् भन्ने चाहना भएको भए ऊ किन मैले काम गरेको बेलामा ‘तिमी पढ, म काम गर्छु’ भन्दैन । किन तिमीले पकायौ म भाँडा माझ्छु भन्दैन । किन भन्दैन— अब बाँकी काम म गर्छु तिमी गएर पढ भनेर । ऊ म काम गरुन्जेल चुपचाप बस्छ र म एक छिन बसेको देख्नासाथ ज्ञानगुनका कुरा गर्छ । आज उसले त्यति भनेदेखि मेरो मनमा त्यही नै मात्र कुरा घुमिरहेको थियो । दिमागको ७५ प्रतिशत भाग त्यही कुराले ओगटिसकेछ । फेरि सोचें, मैले खुसी हुनुपर्छ । धन्न ! पढ त भन्यो, केही गर त भन्यो । अब पढ्नेछु, केही बन्नेछु । मलाई उसको कुराले निकै छोएको थियो । उसले त्यसो भनेको त्यो पहिलोचोटि थिएन । ठीक लाग्यो मलाई उसको कुरा । सोचें अब पढ्नेछु, धेरै पढ्नेछु । गर्ने छैन म पनि यी उपलब्धिविहीन काम जसबाट न नाम कमाइन्छ न दाम । अबदेखि यस्ता बेकारका काममा समय खेर फाल्ने छैन । पढ्नेछु, धेरै पढ्नेछु । यति पढ्ने छु कि यो दुनिया हेरेको हेरै हुनेछ । यस्तैयस्तै कुरा दिमागमा खेलिरहे राति अबेला हुँदासम्म ।


फेरि नयाँ बिहानी आयो । ममा पनि नयाँ सोच आएको थियो । उठें जुरुक्क सपनै सपना बोकेर । किताब कापी खोलेर पढ्न बसें । एक छिन के पढ्न बसेकी थिएँ निद्रामै छोरो बोल्यो, ‘मामु सुसु आयो ।’ जर्‍याकजुरुक उठें र छोरालाई ट्वाइलेट लिएर गएँ । मनमा डर थियो छोरा उठिहाले पढ्न पाउँदिन भन्ने । जबरजस्ती फेरि सुताएँ । धन्न सुत्यो । फेरि बसें पढ्नलाई । दुइ तीन पेज के पढेकी थिएँ छोरो फेरि बोल्यो, ‘मामु बुबु खाने ।’ म झस्किएँ । बर्बाद भएझैं लाग्यो । आज पढ्ने चक्करमा मैले दूध किनेर ल्याएकै थिइनँ । छोरालाई ‘एक छिन है बाबु’ भन्दै किताब पन्छाएर पसल गएँ दूध किन्न । छोराको भोकको अगाडि मेरो पढाइको कुनै महत्त्व छैन ।


हतारहतार दूध लिएर आएँ । तताएँ, ठिक्कको बनाएर दिएँ छोरालाई । अब छोरो पनि उठिसकेको थियो । अब मेरा आफ्ना कामभन्दा उसको कामलाई महत्त्व दिनुपर्छ मैले । उसको काम पनि त मेरै काम हो । उसको मात्र हैन घरका सबैको काम आफ्नै काम जसरी गर्ने बानी छ मेरो । त्यो सानो बच्चा जो हर चिज मबाटै सिक्दै छ उसको कामलाई महत्त्व नदिने त कुरै आउँदैन । छोरालाई स्कुल पुर्‍याउने बेला पनि भैसकेको थियो । सफा लुगा लगाइदिएँ, चिटिक्क बनाएर पुर्‍याएँ, स्कुल । उ फोहोरी भए कमजोरी मेरै देखिन्छ, उसले नपढे कमजोरी मेरै देखिन्छ । हेलचक्रयाइँ गर्ने कुरै भएन । फेरि म स्वयं पनि चाहन्नँ मेरो बच्चामा केही कमजोरी भएको हेर्न, चाहे म आफूमा किन नहोस् । छोरालाई स्कुल पुर्‍याउने चक्करमा नै बितेछ एक घण्टा त । पढाइको गति निकै ढिला भएको थियो । फेरि बसें पढ्न ।


एक छिन पढ्न बसेकी मात्र के थिएँ, भित्र कोठाबाट उसको आवाज आयो, ‘खाना तयार भयो ? मेरो अफिस जाने बेला भयो ।’ म अक्क न बक्क भएँ । किताब बन्द गरें । ‘एकै छिन’ भन्दै भान्सा छिरें । ठूलै पाप गरेको आभास भएको थियो मलाई । यतिबेलासम्म मैले पकाइसक्नुपर्थ्यो । आज बर्बाद भयो पढ्ने चक्करमा । ऊ झोक्कियो, ‘बेलैमा खान पाए पो हुन्छ । ल भो पकाउन पर्दैन म अफिसतिरै खान्छु ।’ ऊ हिँड्यो खाली पेट लिएर, म हेरेको हेर्‍यै भएँ खाली मन लिएर । म खिन्न भएँ । मैले सम्झनु पर्थ्यो उसको अफिस जाने समय, त्यो मेरो कर्तव्य हो । कुँडिएको मनलाई आफैंले सम्झाएँ, पढ्दै थिएँ उसैले पकाएको भए पनि त हुन्थ्यो नि !


म फेरि पढ्न बसें— खाली दिमाग लिएर । पढ्न बसेको मात्र के थिएँ याद आयो, भोलि छेरालाई स्कुल पठाउन सफा लुगा छैन । केटाकेटीको लुगा एक दिन लगाए अर्को दिन लगाउनै नहुने हुन्छ । मलाइ मन पर्दैन लुगा धुने काम तर त्योभन्दा मन पर्दैन छोरालाई फोहोरी राख्न । त्यसैलै जरुरी छ धुन । फेरि उठें किताब बन्द गरेर । लुगा धोइसक्दा झन्डै दुई घण्टै खर्च भएछ । कताकता दिक्क पनि लाग्यो आफ्नो पढाइको रफ्तार देखेर ।


फेरि पढ्न बसेकी मात्र के थिएँ, आँखा एकाएक घडीमा गएर ठोक्कियो । छोरालाई लिन ठीक तीन बजे स्कुल पुग्नुपर्छ । उसलाई आउनासाथै केही न केही खाजा खान दिनुपर्छ । ढिला हुन लागिसकेछ । फेरि किताब बन्द गरेर भान्सातिर लागें । खाजा बनाएँ र छोराको स्कुलतिर हिँडे । बाटोभरि पनि दिमागमा पढ्नुपर्छ भन्ने कुरा नै घुमिरह्यो । कति बेला काम सकूँला र पढूँला भन्ने नै लागिरह्यो । छोरा लिएर घर फर्कें, उसलाई खाजा ख्वाएँ, एक छिन ऊसँग खेलें र फेरि बसें पढ्नलाई । छोरोले भन्यो, ‘मामु होमवर्क छ ब्यागमा ।’ अब आफूले पढ्ने कुरै आउँदैन किनभने मलाई उसको भविष्य बनाउनु छ आफ्नोभन्दा । आफ्ना किताब–कापीलाई पन्छाएर उसलाई होमवर्क गराउन थालें । साँझ–साँझ परिसकेको थियो । छोरा चाँडै निदाउँछ । उसकै लागि भए पनि खाना छिटो बनाउनुपर्छ । बैलैमा खाना नबनाए नखाई निदाउँला कि भन्ने पिर । ऊ त नखाए नि निदाउँछ तर म उसले खाएन भन्ने पीरले रातभरि निदाउँदिनँ । त्यसैले उसलाई होमवर्क गराउँदै खाना बनाउन थालें ।


बाहिर अँध्यारो भइसकेको थियो । ऊ आइपुगिसक्नुपर्ने भनेर सोच्दै थिएँ, ठ्याक्कै उसको फोन आयो । उताबाट आवाज आयो, ‘सुन त ! आज साथीहरू लिएर आउँदै छु । खाना बनाइराख है ।’ उसको फोन राखेपछि आँखा कोठा वरपर डुलाएँ । सबैतिर भद्रगोल सामान फैलिएको थियो । एक त केटाकेटी भएको घर घण्टाघण्टामा सफा गरे पनि फोहोर हुन्छ । त्यसमाथि आज त पढ्ने सुरमा कोठातिर आँखा लगेकी पनि थिइनँ । मन मानेनजस्तो छ त्यस्तै छोड्न । हतारहतार सफा गरें ।


ऊ पनि आइपुग्यो । ऊ साथीहरूसँग गफ गर्न थाल्यो, म सबैका लागि खाना बनाउन थालें । खाना पनि बन्यो र ख्वाएँ सबैलाई । खाएर सबै आ–आफ्नो घरतिर लागे । ऊ पनि आराम गर्न थाल्यो । मैले पनि हतारहतार भान्साको काम सकें । पकाउन जति समय लाग्छब् त्योभन्दा दोब्बर समय लाग्छ सरसफाइ गर्न । काम सबै सकियो । छोरा पनि निदायो । घडी हेरेको त साढे १० भइसकेछ । मलाई फेरि किताब पल्टाउन मन लागेन । थकाइले हो वा पढ्नै मन नभएर हो थाहा भएन । सुत्छु भनेर कोठाभित्र छिर्नै लागेको थिएँ ऊ बोल्यो, ‘आजको दिन के गरेर बितायौ ?’ आफूले बिहानदेखि गरेका काम सम्झिएँ । मलाई केही जवाफ दिन मन लागेन किनभने मैले उही उपलब्धिविहीन काम गरेकी थिएँ जसबाट न नाम कमाइन्छ न दाम । मैले केही जवाफ दिइनँ ।

प्रकाशित : चैत्र ९, २०७५ १२:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?