१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

कान

कानको खोजीमा कागको पछिपछि दौडिएका छिमेकीहरू आजसम्म घर फर्किएका छैनन् । उनीहरू कागको खोजीमा ब्रह्माण्डको परिक्रमा गरिरहेका छन् । रामदेवले छिमेकी नभएर खाली भएका घरमा नयाँ छिमेकी ल्याए र तिनलाई च्यवनप्रास बनाएर बिक्री गर्न थाले ।
नयनराज पाण्डे

काठमाडौँ — कान : पहिलो कथा

कान

यो सामाजिक यथार्थवादी कथा हो । रुचि नहुनेले नपढेको राम्रो । यो कथामा समाज छ । समाजमा बसेका मनुवाहरू छन् । म छु । मेरा तेह्रदिने दाजुभाइ छन् । आफन्तहरू छन् । केहीलाई परार साल गोरु बेचेको थिएँ । तिनीहरू सबैसित पनि मेरो किनबेचको साइनो गाँसिइसकेको छ । त्यसैले यो मेरा इष्टमित्र र नातेदारहरूकै कथा हो । कथाका मुख्यपात्र एक जना मनुवा हुन् । सुविधाका लागि तिनलाई रामदेव सम्बोधन गर्न सकिन्छ । कथामा रामदेवलाई मूर्ख पनि बनाउन त सकिन्छ । बस्, अलिकति किबोर्डमा औंलाहरू यताउता गर्नु न हो । तर, त्यसो गर्दा कथाले रोचकता गुमाउने खतरा रहन्छ । त्यसैले कथामा उनलाई साह्रै चतुर प्राणीका रूपमा स्थापित गर्न यो कथाकार युगौंअघि श्रापित भइसकेको छ ।


रामदेवले अरूलाई भने मूर्ख ठान्थे । आइन्स्टाइनपछि आफ्नो दिमागको अत्यधिक प्रयोग गर्ने क्षमता आफूसित मात्र रहेको उनको निजी ठहर थियो । अरूका विचारहरूको खिसी उडाउँथे । अरूलाई मान्छे नै गन्दैनथे । मै राम्रो, मै ठूलो र मै जान्नेसुन्ने ठान्थे । चरम आत्मप्रशंसक थिए । आफ्ना जाली कुरालाई पनि सही ठान्थे र आफ्नो पिठ्युँमा आफैं धाप दिन्थे । धाप दिने क्रममा दुई–चार पटक उनको ढाडको नसा सड्किइसकेको छ ।


उनी सिनेमा हेर्दैनथे । साहित्य पढ्दैनथे । तर, मनोरञ्जन उनलाई पनि चाहिन्थ्यो । छिमेकीहरूलाई मूर्ख बनाएर उनी बेलाबेलामा आफ्नो मनोरञ्जनको भोक शान्त गर्थे । एकदिन उनलाई आफ्ना मूर्ख छिमेकीहरूलाई झन् मूर्ख बनाउन मन लाग्यो । उनी बजारको मध्यभागमा उभिए र कराउन थाले, ‘कागले मेरो कान लग्यो । लौ न, कागलाई समातेर मेरो कान ल्याइदेऊ !’छिमेकीहरूले रामदेवको विश्वास गरे । उनले रामदेवको कान छ कि छैन भनेर चेकजाँचै गरेनन् । तत्काल काग समात्न दौडिहाले । रामदेव सारा छिमेकीलाई आफूले कागको पछि लगाएर उल्लु बनाएको भन्दै जिल्ल परे । पेट मिचीमिची हाँसे । त्यस दिन कानको खोजीमा कागको पछिप दौडिएका छिमेकीहरू आजसम्म पनि घर फर्किएका छैनन् । उनीहरू कागको खोजीमा ब्रह्माण्डको परिक्रमा गरिरहेका छन् । रामदेवले छिमेकी नभएर खाली भएका घरमा नयाँ छिमेकी ल्याए र तिनलाई च्यवनप्रास बनाएर बिक्री गर्न थाले ।

कान : कथा दुई
एक जना रामदेव थिए । तर, सबै रामदेवहरू कहाँ चतुर हुन्छन् र ?
यी रामदेव भने साह्रै अल्छी थिए । शतप्रतिशत कामचोर थिए । आफ्ना सबै काम अरूले गरिदिऊन् र आफूले बसीबसी खान पाए हुन्थ्यो भन्ने सोचाइ थियो उनको । अरूले चपाइदिए आफूले सजिलै निल्ने थिएँ भन्ने खालको सोचाइ राख्थे । कहिल्यै स्नान गर्दैनथे । तर, उनले नुहाएको मान्छेलाई छोए मात्र पनि पवित्र भइन्छ भन्ने हल्ला टोलभरि फैलाएका थिए । समाज अल्छी रामदेवका कुरा खुबै पत्याउँथ्यो । त्यसैले कामचोर रामदेव टोलमा बहुतै सम्मानित थिए । एक दिन खाटमा बसेर ‘कोरियाना कफीगफ’ पढ्दै किताबको घनघोर चक्रव्यूहमा अल्झिएको बेलामा एउटा काग उनको छेवैमा आयो । उनलाई कागलाई धपाउन पनि अल्छी लाग्यो । काग उनको कानैनेर आयो । उनले कराएर छिमेकीलाई बोलाउँदै भने, ‘लौ न साथी हो, मेरो कानैनिर काग आयो । धपाइदिनुपर्‍यो ।’


छिमेकी आउँदासम्म कागले उनको कान लगिसकेको थियो । रामदेव रुन थाले । उनको आँखाबाट आँसु पनि अल्छी मानीमानी पुस्तकका पानाहरूमा खसेका थिए । आँसुले गर्दा कफीगफका विभिन्न प्रसंगहरू डम्म ढाडिएर झन् जटिल भएका थिए । रोइरहेका रामदेवलाई देखेर छिमेकीहरूलाई दया लाग्यो । उनीहरू रामदेवको कान फिर्ता ल्याउन कागको पछिपछि दौडिए । ती छिमेकी पनि आजसम्म कागको खोजीमा अखिल ब्रह्माण्डको फनफनी चक्कर लगाउँदै छन् । ती छिमेकी बस्ने घरहरू भूमाफियाहरूले भत्काए । मालपोतका हाकिमहरूसित मिलेमतो गरेर नयाँ पुर्जा बनाए । नयाँ कित्ताकाट गरे । जग्गाहरूको प्लटिङ गरे र त्यसमा नयाँ नेपाल बनाउन थाले ।

तृतीय कान कथा
एक जना रामदेव थिए । उनी ज्ञानी थिए । तर, उनका छिमेकीहरू उनीभन्दा पनि ज्ञानी थिए । रामदेव र छिमेकीबीच नियमित शास्त्रार्थ हुन्थ्यो । ज्ञानविज्ञानका कुराहरू हुन्थ्यो । देशविदेशका गफगाफ हुन्थे । अमेरिकाको दादागिरी र रुसको जाडोको पनि कुरा हुन्थ्यो । भारतले पाकिस्तानमाथि गरेको सर्जिकल स्ट्राइकको कुरा पनि हुन्थ्यो । चीनको वन बेल्ट, वन करिडोरको पनि चर्चा हुन्थ्यो । नेपालमा पनि जाडोकै मौसम थियो । त्यस दिन जाडो झनै बढेको थियो । रामदेव कोठैमा हिटर बालेर बडो शान्त भावमा ‘कोरियाना कफीगफ’ पढ्दै थिए । उनी पढाइमा अतिसय मग्न भएकाले बाहिर छिमेकीहरूको होहल्ला पनि थाहा पाइरहेका थिएनन् ।


छिमेकीहरूले होहल्ला गर्नुको खास कारण थियो । उनीहरूले रामदेवको घरको छतमा काग बसेको देखेर आत्तिएका थिए । उनीहरूले हेर्दाहेर्द काग भुर्रर उड्यो । उनीहरू ज्ञानी थिए । त्यसैले रामदेवको कोठामा गएर ‘रामदेवजी, कागले हजुरको कान लगेको छ कि छैन ?’ भनी सोध्न आवश्यकै ठानेनन् । उनीहरू तत्काल कागको पछि दौडिहाले । त्यो दिन रामदेवको कान खोज्न कागको पछिपछि दौडिएका छिमेकीहरू पनि आजसम्म फर्किएका छैनन् ।छिमेकीका खाली घर अचेल पतञ्जली आयुर्वेद केन्द्रको गोदाममा परिणत भएका छन् ।

कान कथा चतुर्थ
यो पनि रामदेवकै कथा हो । तर, यिनले ‘कोरियाना कफीगफ’ पढेका थिएनन् । चर्चा भने सुनेका थिए । कोरियानाले पाठकहरूबाट पाएको आलोचना र प्रशंसाले उनलाई किताब पढ्नु कि नपढ्नु भनेर अल्मल्याएको थियो । किताब कमै पढ्ने भए पनि यिनी ज्ञानी भने मानिन्थे । रामदेवका छिमेकीहरू पनि ज्ञानी थिए । तर, उनीहरूबीच आपसमा शास्त्रार्थ हुँदैनथ्यो । ज्ञानविज्ञानका कुरा पनि हुँदैनथ्यो । देशविदेशका गफगाफ पनि खासै हुँदैनथ्यो । गत चुनावमा रामदेवले बेग्लै पार्टीलाई मत दिए र छिमेकीहरूले बेग्लै पार्टीलाई । त्यस बेलादेखि उनीहरूबीच बोलचाल पनि बन्द भएको छ ।


एक दिन काग आयो र रामदेवको कान टपक्क टिपेर लग्यो । रामदेव रुँदै छिमेकीहरूलाई गुहारे ।छिमेकीहरूले रामदेवको गुहार सुने । तर, उनीहरूलाई काग समात्ने फुर्सद थिएन । किनभने उनका पार्टीका अध्यक्ष भाषण गर्न सहरमा आएका थिए । सबै त्यही आमसभामा गए ।कागको पछाडि नलागेर आमसभामा गएका छिमेकी पनि राजनीतिको जटिल ब्रह्माण्डमा अल्मलिएको अल्मलियै भए । आजसम्म घर फर्किएनन् ।रित्तो टोल अचेल व्यभिचार गर्ने अखाडा भएको छ । मुलुकको बहुचर्चित निर्मला हत्याकाण्ड यही टोलमा भएको हो ।

पाँच नम्बरको कान कथा
कथा त यो पनि रामदेवकै हो । तर, कथाहरूमा लगातार एउटै पात्र दोहरिँदा पाठकलाई नमज्जा पनि लाग्न सक्छ । त्यसैले ‘रामदेव’ लाई ‘वामदेव’ गराउन सकिन्छ । अथवा, पाठक आफैंले अरू कुनै उपयुक्त नाम पनि उल्लेख गर्न सक्नुहुनेछ ।वामदेवका पनि छिमेकी थिए । वामदेवका पनि कान थिए । सहरमा काग पनि प्रशस्तै थिए । यी वामदेव भने कुनै आमसभामा जाँदैनथे । त्यसैले लप्पनछप्पनमा खासै अल्झिएका थिएनन् । आफ्नो काममा मात्र ध्यान दिन्थे । विदेशी विश्वविद्यालयबाट विद्यावारिधि गरेर आएका थिए । त्यसैले अरूको चियोचर्चोमा समय खेर फाल्दैनथे । अरूका बकम्फुस्से गफ पनि सुनेर बस्दैनथे । बरु फुर्सदका बखत कानमा इयरफोन कोचेर रविशंकरको ‘आर्ट अफ लिभिङ’ का प्रवचनहरू सुनेर बसिरहन्थे ।


छिमेकी भने चतुर थिए । धेरै पटक कागको फुल पनि चोरिसकेका थिए । उनीहरू आफूलाई चतुर र वामदेवलाई मूर्ख ठान्थे । एक दिन ती सहृदयी छिमेकीहरूले वामदेवको घरको छतमा बसेर एउटा काग निरन्तर कराइरहेको देखे । उनीहरू वामदेवको घरमा आए र भने, ‘हजुरको त कान कागले लगेछ नि ।’ वामदेवले कानबाट इयरफोन हटाएर अचम्म मान्दै सोधे, ‘ए हो र ? मेरो कान कागले लगेछ ?’ उनी निराश भए र फत्फताए, ‘नेपालका कागहरू दुष्ट रहेछन् । यो देशमा केही गर्ने वातावरणै छैन ।’ उनी फेरि पोस्ट डक्टरेट गर्न विदेशी विश्वविद्यालयतिर लागे ।


उनी विदेशी विश्वविद्यालयबाट आजसम्म फर्किएनन् । उनी ज्ञानको अथाह ब्रह्माण्डमा रुमल्लिरहे । पछिल्लो समय उनी बृहस्पति ग्रहको छेउछाउ देखिएका थिए । उनी त्यतिबेला वैज्ञानिकहरूको एक समूहको नेतृत्व गर्दै मंगलग्रहमा मेलम्ची खोज्न जाँदै थिए । वामदेवको रित्तो घरमा अचेल गोरक्षा केन्द्र खुलेको छ । केही दिनअघि मात्र प्रधानमन्त्रीले गोमूत्र सेवन गरी यो गोरक्षा केन्द्रको उद्घाटन गरेका थिए । त्यही दिनदेखि प्रधानमन्त्रीका आलोचकहरूले भन्न थाले, ‘हाम्रा प्रधानमन्त्रीको दिमागमा गोबर भरिएको छ ।’ रेल र पानीजहाजको सपना देखाउने सोझासाझा प्रधानमन्त्रीको मजाक उडाएको यो कथाकारलाई भने पटक्कै मन परेको छैन । फ्रायडलाई पनि मन परेको छैन ।

कान कथा नम्बर छ
पात्र उही हुन् । उही रामदेव या उही वामदेव । लवाइखवाइ, लवज, आनीबानी सबै उही । छिमेकी पनि उस्तै हुन् । उही हुन् । उस्तै लवाइखवाइ, उस्तै लवज र उस्तै आनीबानीका छिमेकी ।
एक दिन रामदेवको घरमा उसै गरी एउटा काग देखियो ।
छिमेकीहरूले हल्ला गरे, ‘कागले रामदेवको कान लग्यो ।’
कान नछामीकनै रामदेव पनि कराउन थाले, ‘कागले मेरो कान लग्यो ।’
सबै छिमेकी र रामदेव कानको खोजीमा कागको पछिपछि ब्रह्माण्डतिर उडे । यही मौकामा रित्तो भएको टोलमा सरकारले पानीजहाजको कार्यालय खोल्यो ।

सातौं कान कथा
अब नाम फेर्न के आवश्यक ! छिमेकी पनि फेर्नु के आवश्यक ! कथामा रामदेव र छिमेकी आफ्नो पहिचान, हुलिया र आनीबानीसहित स्थापित भइसके । स्थापित भइसेकका पात्रलाई फेरेर फेरि नयाँ पात्र स्थापित गर्नु उचित पनि हुन्न । पाठकलाई अलमल हुन्छ । पाठकलाई अलमलमा पारेर आजसम्म कुनै सामाजिक यथार्थवादी कथा चर्चित भएको छैन । त्यसैले यो कथामा त्यो खतरा मोल्नु उचित नहोला भन्ने यो पंक्तिकारको ठहर छ ।
उही रामदेव । उही छिमेकी र काग पनि उही ।
तर, यस पटक रामदेवले ‘कोरियाना कफीगफ’ पढिरहेका आफ्ना सबै छिमेकीको घरको छानामा काग बसिरहेको देखे । रामदेवले हल्ला गरे, ‘तपाईंहरूको घरमा बसेको कागले तपाईंहरू सबैको कान लग्यो ।’
रामदेवको कुरा सुनेर आत्तिए छिमेकीहरू । उनीहरू आफ्नो कान छाम्नतिर लाग्दै लागेनन् । बरु हतारहतार सबै कागकै पछि दगुरे ।
आआफ्नो कान खोज्न गएका छिमेकीहरू फर्किएर नआएपछि रामदेवले तिनका घरको नयाँ लालपुर्जा बनाए । सरकारलाई ती सबै घर बेचे ।
सरकारले ती सबै घर भत्काएर त्यो एरियामा विशाल भ्युटावर बनायो । त्यो विशाल भ्युटावरबाट पूरै नेपाल देखिन थाल्यो । सगरमाथा र लुम्बिनी पनि देखिन थाल्यो । सिंहदरबार, बालुवाटार र पुल्चोक पनि देखिन थाल्यो ।
अचेल एउटा काग त्यही भ्युटावरमाथि बस्छ ।
रामदेव कानै नभएका नयाँ छिमेकीहरूलाई त्यही टावरमुनि अनुलोमविलोम र कपालभाँति सिकाइरहन्छन् ।
‘कानसँगै मान्छेको विवेक पनि हराउँदो रहेछ ।’
यो कुरा कि रामदेवलाई थाहा छ कि यो कथाका पाठकहरूलाई । लेखकलाई भने थाहा छैन । किनभने कथाबाट लेखक उहिल्यै गायब भइसकेको छ ।

कान : अन्तिम कथा
कागहरू कथामा आफ्नो भूमिकाप्रति आक्रोशमा थिए ।
‘के हामी कागहरूलाई सधैं खलनायक बनाउनु जरुरी छ ? यो महेन्द्रीय राष्ट्रवाद हो । यसले हाम्रो पहिचान र अस्मितामाथि धावा बोलेको छ ।’
एक दिन सारा कागहरू भेला भए । छलफल गरे । उनीहरू उड्दैउड्दै बस्तीमा पुगे । त्यतिबेला रामदेव र सारा छिमेकी गहिरो निद्रामा थिए ।
कागहरूले उनीहरूले थाहै नपाउने गरी सबैका कान टिपेर उडे ।
अल्छी मान्दै ब्युँझिए रामदेव र वामदेवहरू । सबैले सबैको अनुहारतिर हेरे ।
तर, रोचक र महत्त्वपूर्ण कुरा के हो भने, आजसम्म कसैले पनि कागले आफ्नो कान लगेको थाहा पाएका छैनन् । सब व्यस्त छन् । सब मस्त छन् ।

नैतिक शिक्षा
‘कागलाई घरको कौसीमा बस्न दिनु हुन्न र हामी सबैले बेलाबेलामा आफ्नो कान छामिरहनुपर्छ ।’
यो कथाले दिन खोजेको नैतिक शिक्षा यही हो । किनभने कागले कुनै बेला पनि हाम्रो कान लैजान सक्छ ।
सहरमा ‘कोरियाना कफीगफ’ का पाठकहरूले अचेल यही कथा पढ्न थालेका छन् । कथा हिट भएको छ । तर, भर्खर कागको पछिपछि दौडिएर रित्तो हात फर्किएको एउटा डाइनोसोरको जमात भने भन्दै छ— मार्क्स अब अप्रासंगिक भइसके र सामाजिक यथार्थवादले नेपाली साहित्यलाई बर्बाद गरेको छ ।
डार्बिनलाई भने थाहा छ— डाइनोसोरहरू लोप हुन्छन् र कागहरू रहिरहन्छन् ।

प्रकाशित : चैत्र २, २०७५ १२:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?