२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

नवाजुद्दिन गफ

‘स्टार सिस्टम कहिल्यै ढल्नु पनि हुँदैन । हामीलाई सुपरस्टारहरू चाहिन्छन् । सुपरस्टारहरू भएनन् भने हामी फिल्म बनाउन सक्ने छैनौं, भारतमा मात्र होइन कहीं पनि । स्टारले दर्शकलाई हलसम्म तान्छन् ।’
यज्ञश

काठमाडौँ — भगवान्को भरमा नबस । के थाहा— भगवान् पो तिम्रो भरमा बसिरहेका छन् कि ?’
फिल्म ‘माझी’मा दशरथ माझीले बोल्ने यो संवाद नवाजुद्दिन सिद्दकीको जीवनमा त्यसरी नै लागू हुन्छ, जसरी उनी दशरथ माझीको भूमिकामा फिट भएका थिए । भगवान्को भरमा बसेको भए सिद्दकी कहाँ हुन्थे, कसैलाई थाहा हुने थिएन ।

नवाजुद्दिन गफ

दिल्लीको राष्ट्रिय नाट्य विद्यालयबाट ग्र्याजुएसन गरेपछि फिल्ममा संघर्ष थालेका नवाजले त्यसको १५ वर्षपछि बल्ल सफलता पाए । १०–१२ वटा फिल्ममा उनले एक–एक दृश्यमा अभिनय गरे । कुनैमा पकेटमार त कुनैमा गुन्डा ग्याङको एउटा सदस्यजस्ता ती भूमिका नवाजुद्दिनले आफ्नै भरोसामा गरेका थिए । ‘मसँग अरू कुनै उपाय थिएन । जसरी भए पनि फिल्ममा हिरो बन्नु थियो । यसका लागि समोसा पसलमा वेटर बन्नुभन्दा फिल्म सेटमा एक्स्ट्रा बन्नु नै ठीक थियो । कम्तीमा फिल्म सेटमा त छिर्न पाइन्थ्यो, मान्छे भेट्ने सम्भावना हुन्थ्यो,’बर्लिन फिल्म फेस्टिभलमा आफ्नो नयाँ फिल्म ‘फोटोग्राफ’को युरोप प्रिमियरमा पुगेका नवाजुद्दिनले भने ।


एक दृश्यवाला अभिनय र कहिलेकाहीं नाटकमा पाउने भूमिकाले महँगो मुम्बईमा जीवन चल्दैनथ्यो । खर्च चलाउन उनले राति राति चौकीदारको समेत काम गरे । तर, भगवान्को भर परेर बसेनन् ।


त्यसैले त गत वर्ष आएको नेटफ्लिक्स सिरिज ‘दी सेक्रेड गेम्स’मा उनले गणेश गायकवन्डेको चरित्र पाए । जसले भन्छ, ‘कभी कभी तो लगता है, अपुन ही भगवान् है ।’ (घरी घरी त लाग्छ, म नै भगवान् हुँ ।) एक दृश्यको पकेटमारदेखि आफैंलाई भगवान्को नजिक पाउने शक्तिशाली चरित्रसम्मको नवाजुद्दिनको यात्रा निकै रोचक छ । फैजल खान (ग्यांग्स अफ वासेफुर), गणेश गायकवन्डे (सिक्रेड गेम्स), सहादत हसन मन्टो (मन्टो) र बाल ठाकरे (ठाकरे) जस्ता शत्तिशाली चरित्रमा अभिनय गर्न पुगेका नवाजुद्दिन सिद्दकी अहिले हजारौं ग्रामीण युवाका प्रेरणा बनेका छन् ।


स्टार कलाकार, निर्माता र निर्देशकका छोराछोरीको चमकदमकपूर्ण डेब्युले भरिएको बलिउडमा नवाजुद्दिनजस्ता अभिनेता यस्ता लाग्छन्, मानौं चामलको थुप्रोमा केही गेडा मस्याङ झुक्किएर मिसिएका छन् ! तर यिनको प्रतिभा र तीक्ष्णता स्टारकिडहरूको भन्दा कैयौं गुणा तिख्खर छ ।
त्यसैले त स्टार किड्सको भारीले थलिन लागेको बलिउडलाई मनोज बाजपेयी, इरफान खान र नवाजुद्दिनजस्ता अभिनेताले टेको दिइरहेका छन् । जब संसारका ठूला फिल्म फेस्टिभलको कुरा आउँछ वा विश्व सिनेमामा भारतीय फिल्मको उपस्थितिको कुरा आउँछ, इज्जत जोगाउन यिनै अघि सर्छन् । यत्रो ठूलो सफलता र शक्ति हातमा हुँदा कतै म नै साँच्चिकै भगवान् बन्दैछु वा हुँजस्तो त लाग्दैन ? मैले उनलाई सोधें । ‘लाग्दैन, कतै कुनै कोणबाट पनि त्यस्तो लाग्दैन ।’

बर्लिन सहरको पोस्टड्यामर प्लाट्जमा अन्तर्वार्ताका लागि पुग्दा अमेरिकी, स्पेनी र जर्मनीका एक–एक पत्रकार उपस्थित भइसकेका थिए । दिउसोको साढे दुई बजे नवाजुद्दिन आइपुगे । कालो कोट र गलबन्दीमा उनी अघिल्लो दिनको पत्रकार सम्मेलनभन्दा भिन्न थिए । सम्मेलनमा हिन्दी बोलेका नवाज अन्तर्वार्तामा भने अंग्रेजीमा उत्तर दिन अग्रसर भए । कुरा सुरु भयो— बर्लिनमा युरोप प्रिमियर भएको उनको फिल्म ‘फोटोग्राफर’ बाट । यो फिल्म उनले स्क्रिप्ट नै नपढी साइन गरेका थिए । ‘मलाई रितेश बत्रामाथि विश्वास थियो,’ उनले कारण खुलाए, ‘म फिल्म छनोट गर्दा सबभन्दा पहिले निर्देशक हेर्छु । निर्देशक राम्रो छ भने म स्क्रिप्ट कस्तो छ हेर्दिनँ । रितेशसँग लन्चबक्स गर्दैमा मैले उसको खुबी थाहा पाइसकेको थिएँ ।’


स्क्रिप्टलाई फिल्मको मेरुदण्ड मानिन्छ । राम्रो स्क्रिप्ट नभई राम्रो फिल्म बन्दैन भन्ने मानिन्छ । जापानी निर्देशक अकिरा कुरोसावाको भनाइ यसमा प्रसिद्ध छ । उनी भन्छन्, ‘झुर स्क्रिप्ट लिएर कसैले पनि राम्रो फिल्म बनाउन सक्दैन । स्क्रिप्ट राम्रो छ भने झुरै निर्देशकले पनि राम्रै फिल्म बनाउन सक्छ ।’ नवाजुद्दिनको भनाइ भने यसमा अलि फरक छ, ‘राम्रो फिल्मका लागि स्क्रिप्ट जस्तोसुकै भए पनि निर्देशक गतिलै हुनुपर्छ ।’ यस्तो कुनै उदाहरण छ ? उनले फ्याट्ट उत्तर दिए, ‘छ, अनुराग कश्यप । ‘ग्यांग्स अफ वासेपुर’को स्क्रिप्ट औसतभन्दा पनि तलको थियो । तर, जब हामीले सुटिङ सुरु गर्‍यौं, अनुरागले यति धेरै इम्प्रोभाइज गरे । नयाँ दृश्यहरू थपे, मास्टरपिस नै बनाइदिए ।’ अनुरागको त्यही फिल्मले नवाजुद्दिनलाई स्टार बनाइदिएको थियो । ‘पिपली लाइभ’, ‘कहानी’ र ‘पानसिंह तोमर’जस्ता फिल्मबाट दर्शकको नजरमा परेका भएपनि नवाजलाई चल्तीको कलाकार बनाउने काम अनुराग कश्यपले नै गरे । अनुरागले निर्माण गरेका ‘हरामखोर’ देखि ‘रमन राघव’सम्म धेरै फिल्ममा नवाजले अभिनय गरे ।


गत वर्ष आएको एउटा सानो लगानीको फिल्मबाट नवाजुद्दिनले ठूलो प्रभाव छोडे । त्यो फिल्म थियो—नन्दिता दासद्वारा निर्देशित ‘मन्टो’ । उर्दूका प्रख्यात कथाकार सहादत हसन मन्टोको जीवन आधारित यो फिल्मलाई नन्दिताले मन्टोले लेखेका छोटा कथाहरूसँग घोलेर बनाएकी थिइन् । यो फिल्ममा नवाजुद्दिनले जम्मा १ रुपैयाँ पारिश्रमिकमा अभिनय गरेको खबर आएको थियो । उनले पैसाको कुरालाई महत्त्व दिन चाहेनन् । ‘कति पैसा भन्ने महत्त्वपूर्ण होइन । कस्तो फिल्म भन्ने महत्त्वपूर्ण हो । मैले यस्तो प्रयोगात्मक फिल्म खेल्नका लागि बलिउडी मसला फिल्म पनि गर्छु । तिनले पैसा दिन्छन्, यस्ता फिल्मले सन्तुष्टि,’ उनी भन्छन् । ‘मन्टो’का लागि नन्दिताले निकै धेरै रिसर्च र मिहिनेत गरेको पनि उनले बताए । भारत–पाकिस्तान विभाजनपछि पाकिस्तान गएका मन्टोको साहित्यमा विभाजनको रेखा कोरिएको भेटिन्छ । यसैले उनको जीवनमाथि बनेको फिल्ममा पाकिस्तान छुट्ने कुरै हुन्थेन । ‘नन्दिता र मैले फिल्मको केही भाग पाकिस्तानमै सुट गर्ने सल्लाह गरेका थियौं । उनले त्यसको अनुमति लिनका लागि निकै प्रयास पनि गरिन् । तर, अनुमति पाइएन,’ उनले भने, ‘अन्त्यमा हामीले पाकिस्तानको दृश्य गुजरातमै सुट गर्‍यौं ।’


बेलाबेला मन्टो वा ठाकरेजस्ता चरित्रमा अभिनय गरे पनि नवाजुद्दिनको खास पहिचान युपी–बिहारको सामान्य युवाको भूमिकाले बनाएका हुन् । नयाँ फिल्म ‘फोटोग्राफ’मा उनी त्यस्तै भूमिकामा फर्किएका छन् । ‘एकदमै शक्तिशाली भगवान्को छेउछाउका पात्रहरूमा अभिनय गरेपछि सामान्य मानिसको भूमिकामा फर्किन मलाई गाह्रो पनि भयो तर अभिनयको आनन्द नै यही हो । तपाईं एकक्षण एउटा जीवन बाँच्नुहुन्छ, अर्को क्षणमा बिल्कुल फरक जीवन,’ उनले भने, ‘पुराना पात्रलाई स्मृतिबाट पूरै मेटेर, तिनको साम्राज्यलाई भत्काएर स्मृतिशून्य हुनुपर्छ । अनि बल्ल त्यसबाट नयाँ पात्र उम्रिन सक्छ ।’ उनले यसलाई अभिनयको एउटा प्रक्रियाका रूपमा व्याख्या गरे । ‘धन्न म प्रशिक्षित कलाकार हुँ । यसैले पुरानो पात्रलाई कसरी मेटाउने र नयाँमा कसरी छिर्ने भन्ने तरिका मलाई थाहा छ,’उनले एनएसडीको आफ्नो पढाइलाई जस दिदैं भने ।


‘फोटोग्राफ’ मा गेटवे अफ इन्डिया, मुम्बई घुम्न आउनेको फोटो खिचेर गुजारा चलाइरहेको यूपीको युवाको भूमिका धेरै हदसम्म उनको नजिक छ । यो पात्रले उनलाई उत्तर प्रदेशको मुजफ्फरपुर नजिकको बुढना गाउँबाट आएर मुम्बईमा संघर्ष गर्दाका दिनहरू पनि सम्झायो । ‘दस वर्षअघि म यो पात्रजस्तै थिएँ । म निकै थोरै बोल्थें, लजालु थिएँ । कोही पनि मेरो कुरा सुन्न चाहन्थेनन्, मेरो कुनै गणना थिएन,’ उनले थपे, ‘अहिले म निकै बोल्ने भएको छु, मानिसहरूले सुन्न पनि थालेका छन् ।’ उनी यसको श्रेय पनि अनुराग कश्यपलाई दिन्छन् । ‘अनुरागले मेरो मात्रै होइन, भारतीय फिल्मकै सुधारमा सूत्रधारको काम गरेका छन् । प्रगतिशील र नयाँ विषयलाई ल्याएका छन् । उनको सिको गर्दै वा प्रभावित भएर त्यसपछि धेरै नयाँ निर्देशकहरू आए जसले प्रयोग गर्ने हिम्मत गरे,’ नवाजले भने, ‘त्यो हिम्मत दिने पनि अनुराग नै हुन् ।’


‘मैले यस्ता हजारौं मान्छे देखेको छु, जसलाई खाली बाँच्नमात्रै पाए पुग्छ । आफ्नो परिवारका लागि केही कमाउन पाए हुन्थ्यो भनेर उनीहरू छटपटिइरहेका, कुदिरहेका हुन्छन् । उनीहरूको अवस्था यति नाजुक छ कि उनीहरू कुनै आस पनि गर्दैनन्, सपना पनि देख्न सक्दैनन् । उनीहरूलाई आफ्नो भाग्य यही हो भन्ने थाहा हुन्छ,’नवाज एक सासमा बोलिरहेका छन्, ‘हामी फिल्ममा जस्तो हिरोले अन्त्यमा केही ठूलो परिवर्तन ल्याउनेछ भन्ने सोच्छौं तर वास्तविक जीवनमा त्यस्तो हुँदैन । यस्ता लाखौं, करोडौं मानिस यो धर्तीमा छन्, जसका लागि पुस्तौंसम्म केही बदलिँदैन । उनीहरूका दुःख पुस्ता दरपुस्ता सर्दै जान्छ तर घट्दैन ।’


कुनै बेला मुम्बईमा भड्किइरहने यस्ता युवाको भीडमा नवाजुद्दिन पनि थिए । ‘म पनि त्यो भीडमा थिएँ तर मसँग सपना थियो । कलाकार बन्ने, हिरो बनेर देखाउने लक्ष्य थियो । त्यसैले मलाई जिउँदो राखेको थियो,’ उनले भने, ‘मेरो जीवनमा कुनै परिवर्तन आउनेवाला छैन भन्ने मानेर बाँच्नुचाहिँ कठिन हो । मलाई मेरो जीवन फेरिन्छ भन्ने पूरा विश्वास थियो ।’

त्यसै दिन बिहानको अन्तर्वार्तामा ‘लन्चबक्स’ र ‘फोटोग्राफ’का निर्देशक रितेश बत्राले नवाजुद्दिनको व्यापक प्रशंसा गरेका थिए । ‘चरित्रलाई बुझ्ने र त्यसमा ढल्ने कलामा नवाजुद्दिनको जस्तो क्षमता भएको अभिनेता मैले देखेको छैन,’ रितेशले भनेका थिए । नवाज पनि रितेशको प्रशंसा गर्छन् । ‘रितेशले फिल्म र परिवेशअनुसार काम गर्ने तरिका बदल्छ । लन्चबक्समा उसले हामी कलाकारलाई इम्प्रोभाइज गर्न लगाएको थियो । दृश्य दिएपछि उसले हामीलाई स्वतन्त्र छाडिदिएको थियो । तर, फोटोग्राफमा भने हरेक संवाद स्क्रिप्टमै भएका थिए । हामीलाई चल्नै दिएन ।’


उनले ‘फोटोग्राफ’मा आफूले ३५ टेकसम्म दिएको बताए । ‘३५ टेक दिइसक्दा त्यो दृश्य र पात्रसँग म एकाकार भइसक्थें । त्यसपछिको टेकमा मैले अभिनय नै गर्नुपर्थेन । रितेशले त्यसरी काम लिए,’ उनले भने । ७ वर्षपहिले आएको ‘ग्याङ्स अफ वासेपुर’ पछि नवाजुद्दिनको माग बलिउडमा बढ्न थाल्यो । त्यसयता उनले बलिउड सुपरस्टारहरू आमीर खानसँग ‘तलास’, सलमान खानसँग ‘बजरंगी भाइजान’ र ‘किक’ तथा शाहरूख खानसँग ‘रइस’मा अभिनय गरे । उनी खाली साना बजेटका ‘आर्ट फिल्म’का मात्र कलाकार रहेनन् । कालो चस्मा लगाएर चिल्लो गाडीमा चढ्ने हिरो पनि बने । अब उनको योजना के छ ? उनी कस्ता फिल्मलाई प्राथमिकता दिने सुरमा छन् ?


‘म दुवैखाले फिल्म खेल्न चाहन्छु । एक किसिमका मात्रै खेलेर दर्शकलाई र आफूलाई पनि दिक्क लगाउने मन छैन,’नवाजले भने । उनी हनित रिहानको फिल्म ‘रात अकेली’मा पुलिस अफिसरको भूमिकामा देखिँदैछन् । यसअघि शाहरूख खानसँग ‘रइस’मा उनी पुलिस अधिकारीको भूमिकामा थिए । सफा सेतो सर्ट र कालो चस्मामा देखिएका ‘कहानी’ र ‘रइस’ दुवैमा उनी कडा मिजासी अधिकारीको रूपमा देखिएका थिए ।


नवाजुद्दिन ‘हरामखोर’, ‘बदलापुर’, ‘रमन राघव’जस्ता फिल्ममा नकारात्मक भूमिकामा जमेका मानिन्छन् । तर, उनी यी चरित्रलाई नकारात्मक वा ‘डार्क’ मान्दैनन् । ‘तपाईं कसरी यिनलाई डार्क भन्न सक्नुहुन्छ ?’ उनी प्रतिप्रश्न गर्छन्, ‘यिनमा त जीवनका अनेक रङ मिसिएका छन् । जीवनमा के सेतो मात्रै छ ?’ उनी यी पात्रलाई एन्टीहिरो पनि मान्दैनन् । ‘मलाई एकदम बलिउडी किसिमको हिरोले तान्दैनन् । मलाई ग्रे–सेड्स भएका चरित्रले आकर्षित गर्छन्,’ उनले यसको कारण पनि दिए, ‘यी जीवनको नजिक हुन्छन् । जीवन गोरो र कालोको सम्मिश्रण हो । संसारमा सबै राम्रो नै राम्रो गुण भएको कोही मानिस हुँदैन । कमजोरीले नै मान्छेलाई जीवन्त बनाउँछ । कमजोरीबिनाको मान्छे कि त भगवान् हुन्छ कि त ढुंगाको मूर्ति ।’


पछिल्लो समयमा नवाजलाई एकजना अभिनेताले विशेष प्रभावित पारिरहेका छन् । ‘पछिल्लो एक दुई वर्षमा मलाई अभिनेता टोनी लिउङले निकै प्रभावित पारिरहेका छन् । उनी चरित्रलाई यसरी आत्मसात् गर्छन् कि अभिनय गर्दा मिहिनेत गरेजस्तो लाग्दैन,’ उनले भने । टोनी तिनै अभिनेता हुन् जसले वङ कर वाइका ‘इन द मुड फर लभ’ र ‘चुङकिङ एक्सप्रेस’ तथा आङ लीको ‘लस्ट कसन’मा अभिनय गरेका छन् ।


के कुनै बलिउड कलाकारले नवाजुद्दिनलाई प्रभावित पार्दैनन् ? उनी यसबारे बोल्न त्यति सहज मान्दैनन् । आयुष्मान खुराना, राजकुमार राव, विक्की कौशलजस्ता नयाँ पुस्ताका कलाकारको काम तपाईंलाई कस्तो लागिरहेको छ ? भन्ने प्रश्नमा उनले छोटो उत्तर दिए, ‘मैले यिनको फिल्म नै हेरेको छैन ।’ यसको कारण बरु उनले लम्बेतान बताए, ‘म हलमा गएर खासै फिल्म हेर्दिनँ । मसँग फिल्म हेर्न जाने समय नै हुँदैन । ३ घण्टा फ्री भए भने म वास्तविक मानिसहरू भेट्न जान्छु । उनीहरूलाई अवलोकन गर्न जान्छु, ताकि नयाँ चरित्रलाई फाइदा होस् । म जीवन्त मानिसहरू भेट्न रुचाउँछु, न कि सिनेमाका मानिसहरू ।’ उनको प्रस्टीकरण अझै लम्बियो, ‘मलाई खासमा फिल्मी मानिसहरू खासै मन पनि पर्दैनन् । मैले जीवनमा धेरै कुरा जिउँदा मान्छेहरूसँग सिकेको छु, फिल्मी दुनियाँका मान्छेबाट सिक्ने कुरा निकै थोरै हुन्छ ।’

अन्तर्वार्ताको समय सकिँदै थियो । सोध्नुपर्ने कुराहरू अझै धेरै बाँकी थिए ।


कुरा उठ्यो खान सुपरस्टारहरूको । शाहरूख खानका पछिल्ला ४–५ फिल्म चलेनन् । गत वर्ष आएको आमीर खानको फिल्म ‘ठग्स अफ हिन्दोस्ताँ’ डुब्यो । सलमानका फिल्म ‘ट्युबलाइट’ र ‘रेस ३’ पनि नाफामा गएनन् । यी तीनै अभिनेता दुई दशकदेखि बलिउडको व्यापारलाई धानेर बसेका कलाकार हुन् । यो असफलतालाई बलिउडमा स्टार सिस्टम धराशायी हुँदै गएको संकेत मान्न सकिन्छ ?


‘सकिँदैन,’ उनले सीधा जवाफ दिए, ‘एक वर्षमा केही फिल्म नचल्दैमा यो सिस्टम ढल्दैन ।’
कलात्मक फिल्मका यी अभिनेताले त्यसपछि स्टार सिस्टम कसरी ढल्ला त भन्नेबारे बताउलान् भन्ने मेरो अनुमान थियो । तर, उनले यस विपरीत बोले । ‘स्टार सिस्टम कहिल्यै ढल्नु पनि हुँदैन । हामीलाई सुपरस्टारहरू चाहिन्छन् । सुपरस्टारहरू भएनन् भने हामी फिल्म बनाउन सक्ने छैनौं, भारतमा मात्र होइन कहीं पनि । स्टारले दर्शकलाई हलसम्म तान्छन् । दर्शक हलसम्मै आइदिएनन् भने फिल्म कसरी बाँच्छ ? म तपाईंलाई भन्दैछु— सुपरस्टार मरेको दिन सिनेमा पनि मर्नेछ ।’


यी ४४ वर्षीय अभिनेताको बायोग्राफी ‘एन अडिनरी लाइफ’ गत वर्ष बजारमा आयो । तर, किताब यति धेरै विवादमा पर्‍यो कि एक सातामै उनले किताब बजारबाट फिर्ता गरे । दुई पूर्व सहकलाकार महिलाबारे उनले पुस्तकमा गरेको टिप्पणीले यो विवाद सिर्जना भएको थियो । ‘मिस लभ्ली’ की अभिनेत्री तथा नवाजकी पूर्वप्रेमिका निहारिका सिंहले पुस्तकलाई लिएर उनीविरुद्ध भारतको महिला आयोगमा उजुरी दिएपछि उनी गिरफ्तारीको संघारमा पुगेका थिए । त्यसैबेला उनले क्षमायाचना गर्दै पुस्तक फिर्ता लिएका थिए ।


पुस्तकको यो पूरै प्रकरणबारे उनले बोल्न चाहेनन् । उनी उठ्नै लाग्दा मैले अन्तिम प्रश्न सोधें, जुन उनका लागि त्यति प्रिय थिएन, सायद । ‘मिटु अभियानबारे तपाईंको धारणा के छ ?’ प्रश्नको उत्तर दिनुअघि उनी जुरुक्क उठे । आफ्नो एजेन्टतिर फर्किए र भने, ‘म यसको उत्तर दिन सक्दिनँ ।’ उनले हातको इसाराले यो प्रश्न नै ‘हटाओ’ जस्तो गरे । आफ्नो एजेन्टनजिक गएर केही भने । फेरि फर्किएर आए र प्रष्टिकरण दिए, ‘यसबारे मलाई बोल्न मन छैन ।’


प्रकाशित : फाल्गुन १८, २०७५ १३:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?