शेखर: एक अनुभव

कहिलेकाहीं दिक्क लागेका बेला शेखर बितेका दिनहरू सम्झिन्छ । गोदौलिया सम्झिन्छ । लंका सम्झिन्छ । बनारस हिन्दू विश्वविद्यालय सम्झिन्छ । महामना मदनमोहन मालवीयको सालिक सम्झिन्छ । असी घाटका तरंगहरू सम्झिन्छ । हरिश्चन्द्र घाट सम्झिन्छ ।
किशोर नेपाल

काठमाडौँ — शेखर  । उसले मनुष्य चोलामा जन्म लिएको चालीस वर्ष भइसकेको छ  ।

शेखर: एक अनुभव

‘जीवन’ नामको नाटकको बहु–आयामिक अभिनय गर्न थालेको दुई दशक नाघेछ । दुई दशकअघिसम्म ऊ आकाशमा फिरिरिर्र उड्ने ‘आशका पन्छी’ थियो । दूध विनायकका गल्लीमा गाउँदै रमाउँदै उफ्रिने एउटा जवान केटो । ‘आशका पन्छी’ सिनेमाका हिरो थिए राजेन्द्र ‘जुवली’ कुमार । उनका सबै सिनेमा जुवली हिट हुने । पहिलो दिनको त कुनै पनि शोको टिकट नै नपाइने । सिनेमामा एउटा गीत थियो, ‘दिल मेरा ये आशका पन्छी... ।’ कृष्णले त्यसको अनुवाद गरेको थियो ः ‘मन मेरो यो आशको चरो... ।’ कहिलेकाहीं दिक्क लागेका बेला शेखर बितेका दिनहरू सम्झिन्छ । गोदौलिया सम्झिन्छ । लंका सम्झिन्छ । बनारस हिन्दू विश्वविद्यालय सम्झिन्छ । महामना मदनमोहन मालवीयको सालिक सम्झिन्छ । असी घाटका तरंगहरू सम्झिन्छ । हरिश्चन्द्र घाट सम्झिन्छ । ‘लासके वास्ते’ लखनउ–वाराणसी मेल लेखिएका थोत्रा बस सम्झिन्छ । शिघ्रोल रेल स्टेसन सम्झिन्छ । भारती सिनेमा सम्झिन्छ । सिनेमाको म्यानेजरको ‘प्रिय मोहनी’ सम्झिन्छ । जिन्दगीले निरन्तर कटाक्ष गरिरहेको हुन्छ उसलाई । बितेको समय, अर्थात् यो चार दशकमा, एक दिन पनि खेर गए जस्तो लागेको छैन उसलाई । केही न केही, केही न केही त भइरहेकै छ ।


समयको यो अन्तरालमा, मद्रासी सिनेमाका बहु–प्रतिभाशाली कलाकारले एकैसाथ हिरो र भिलेनको अभिनय गरेजस्तै उसले आफूलाई अनेकन भूमिकामा प्रस्तुत गरेकोछ । कहिले भिलेन र कहिले हिरो । कहिले साइड हिरो र कहिले क्यारेक्टर हिरो । यो समयमा शेखरले कुन मात्रै भूमिका निर्वाह गरेन ? आमाको आज्ञाकारी छोरा बनेन कि, बलात्कारी दानवबाट बहिनीको कुमारित्वको संरक्षण गर्ने दाजु बनेन कि । घर खर्चको जोहो गर्ने कर्तब्य परायण कुल्ली पनि बन्यो । धर्मपत्नीका आग्रह र आकांक्षाहरूको बन्दी पनि । कहिले एकै मुड्की उज्याएर विरोधीलाई आकाश घुमाउने चमत्कारी बाहुबलीका रूपमा देखा पर्‍यो, कहिले मुन्टो निहुर्‍याएर नाच्दै चाकडीको भाषाले जमघटलाई मुग्ध तुल्याउने कलाकारका रूपमा देखा पर्‍यो । एउटा मनुष्यको कति विधि अवतार । तर, अहँ, महा–नायक रजनीकान्तको जस्तो आकाशतिरबाट खस्दै गरेको सिगरेट ओठले टपक्क टिपेर सल्काउन कहिल्यै जानेन ।
धेरै पढेको नभए पनि पढ्दै नपढेको थिएन शेखरले । उसको पढाइ छ वर्षको उमेरदेखि एक्काइस वर्षको उमेरमा बा नबितेसम्म निरन्तर जारी रहेको थियो । बाले उहिलेको जमानामा बनारस बसेर कर्मकाण्ड पढेका थिए । त्यसैले होला, शेखरलाई उनले बनारसमा नै पढाए । ‘बाराणशेय संस्कृत विद्यालय’ मा भर्ना गरी दिए । दुई–चार जना ‘खातापिता’ जजमान चिनाइदिए । एक जना सानिमा बजै थिइन् नेपाली धर्मशालामा । मृत्यु कुरेर बसेकी । शेखरलाई उनैको जिम्मा लगाएर फर्केका थिए बा । शेखर सानिमा बजैसँग धेरै बसेन । त्यो उमेरमा पनि उनी आफ्नो अतृप्तिको झल्को दिन अचम्मको व्यवहार गर्थिन् ती बजै । उनको त्यो आदिम व्यवहार सहनुभन्दा बरु दुःखका साथ बाँच्नु नै राम्रो लाग्यो शेखरलाई ।


शेखर अलग बस्न थाल्यो, दरभंगाको काशी झासँग रुम पार्टनर बनेर लंकामा । त्यसपछि बा बाँचुन्जेलसम्मको समयमा, उसको पढाइ एक दिन पनि बिथोलिएन । बीचमा उसले बाले थाहा नपाउने हिसाबले अंग्रेजी पढ्यो, नौ कक्षासम्म । संस्कृतमा पूर्वमध्यमा भ्यायो । साहित्यमा उसको चाख थियो । प्रेमका कथा लेख्थ्यो । गीत र कविता लेख्थ्यो । साहित्यमा चाख राख्दाराख्दै उसले थाहा पायो— ऊ त कवि अज्ञेयको प्रिय पात्र शेखर पो रहेछ । आफू अज्ञेयको पात्र भएको थाहा पाएर ऊ दंग पर्‍यो । हिन्दीमा उसले खुब साहित्य पढ्यो । अमृतलाल नागर । विष्णु प्रभाकर । हरिशंकर प्रसाईं । रघुवीर सहाय । सर्वेश्वर दयाल सक्सेना । धर्मवीर भारती । प्रयाग शुक्ला । कृष्णा सोवती । कृश्नचन्दरको एक गधेकी आत्मकथा र एक गधेकी वापसी झन्डैझन्डै कण्ठ पारेको थियो उसले । बम्बईबाट निस्किने ब्ल्टिज साप्ताहिक छापाको अन्तिम पेजमा निस्किने ख्वाजा अहमद अब्बासका राजनीतिक टिप्पणी पनि खुब पढ्यो उसले । नौ कक्षासम्म अंग्रेजी पढेकाले त्यो भाषाको गूढ कुरो सिकी सकेको थियो । धुनिबेंसीको कोलले उखुको लाँक्रा पेलेर खुदो बनाएजस्तो, काठमाडौंको कोलमा शरीरबाट तेल निक्लने गरी पेलियो ऊ । काठमाडौंले उसलाई यति पेल्यो, यति पेल्यो कि, त्यसपछि, सबै बिर्सियो ।


बा बितेपछि फर्कियो शेखर काठमाडौं । काम खोज्न थाल्यो । शहरमा काम त टन्नै थियो । चिन्नु न जान्नु घचेडी माग्नु । काम दिने ठाउँमा आफ्ना इष्टमित्र र चिनजानका मानिस कोही थिएनन । उसको लागि कसले बोलिदिने ? गाउँकी सुबेदार्नी बजैले जागिर लगाइदिन्छु भनेकै भरमा चार पाथी मस्यौरा खाइन् होला । शेखरकी आमाले गर्नु नगर्नु चाकरी गरेकी हुन । बिचरी सुबेदार्नीको कसैलाई जागिर खुवाउने हुती नै थिएन । उनले चिनेका पेन्सन अड्डाका कारिन्दाले कताको जागिर खुवाउन् ? कतै जागिर नपाएपछि शेखर निकै दिन अलमलियो । धेरै घोरियो । धेरै सोच्यो । त्यसपछि उसले जागिर खाने विचार नै त्यागिदियो । जहाँ जे काम पाइन्छ त्यही गर्न थाल्यो । ऊ सानातिना काममा पर्फेक्ट हुँदै गयो । केही साहुजीहरू उसलाई काम दिन अघि सरे । साहुजीहरूको बाँधा मजदुर बन्न उसले मञ्जुर गरेन ।


शेखरको स्थायी जागिर थिएन । अस्थायी जागिर पनि थिएन । ऊ कहिले स्कुलमा ‘राहत’ मास्टर भयो । कहिले ‘हरेक सामानको दश रुपियाँ’ भन्दै मधुरो आवाजमा ठेला गुडाउँदै हिंड्यो । कहिले अस्पतालमा डाक्टरको च्याम्बर बाहिर बिरामीको नाम लेख्ने र पालो तोक्ने कारिन्दाको काममा लाग्यो । उसले दुनोट पसलमा पनि काम गर्‍यो । सबैभन्दा पछिल्लो पटक शेखरले बाह्र हजार रुपैयाँ बुझाएर कफी बनाउने बरिस्टा तालिम लियो । बूढा–बूढी नै काम गर्ने शहरियाका घरघरमा अर्डरअनुसारको खाना सप्लाई गर्ने रेस्टुराँको स्कुटर कुदायो साँझ सात बजेदेखि एघारसम्म । कलंकी चोकमा खीर बनाएर बेच्यो । तैपनि, उसले सुरु गरेको कुनै पनि काम स्थायी ढंगले जमेनन् । सर–सल्लाह लिऊँ भने कोसँग लिनु ? मनले खाएको जस्तो कोही थिएनन् । उसले आफ्नै मनसँग सल्लाह गर्‍यो र निर्णय लियो । लामो समय भौतारिएपछि उसमा वैदेशिक रोजगारीमा कतार, दुबई वा अन्त कतै जाने इच्छा पलायो । उसले चिट्ठा लगाएको थियो दुबईको । परेन । रोजगारको दोकानमा उसका एक जना भान्दाइ काम गर्थे । उनकै कृपाले भनौं, तै, नम्बर लाग्यो अबुधाबीको । भान्दाइले भने, ‘दुबई भन्नु र धाबी भन्नु केही होइन । काठमाडौं भक्तपुर भनेजस्तै हो ।’


शेखर खुसी भयो त्यस दिन । भान्दाइले ‘जमौं’ भनेका थिए । गणेशजीलाई लड्डु चढाउने भाकल गरेकाले उसले आजको सट्टा भोलि जम्ने प्रस्ताव राख्यो । भान्दाइले नाईं भन्ने त कुरै थिएन । यी भान्दाइ मात्रै कुनै अफिसमा जागिरे हुन्थे भने शेखरको पनि जागिर पक्का थियो । भान्दाइको स्वभावमा काँचो काँठको गन्ध आउँथ्यो । भान्दाइ हुने नहुने गफ दिन्थे । अन्यत्र कतै सुनेको गफलाई आफ्नो बनाएर गाउन खप्पिस थिए । दामी दौरा–सुरुवाल लगाएका भलाद्मी देख्नै हुन्नथ्यो । झुकेरै ठाउँका ठाउँ नमस्ते बजाउँथे । जो पावरको कोणमा छैन, छेकिएको छ, त्यसको वास्तै गर्दैनथे । यति हुँदाहुँदै पनि, शेखरको बारेमा उनी निकै संवेदनशील थिए । शेखर पनि उनलाई मान्न थालेको थियो— सबै त भाग्यकै खेल हो । सम्पत्ति नहुनेका लागि त्यही भाग्य नै त जन्मिँदाको लँगौटी र मर्दाको कात्रो बन्छ । देशमा गणतन्त्र आएर पनि के भो त ? आफन्तबिनाको अदना नेपालीले आफ्नै भरमा जागिर खान पाउँदैन । अरू त अरू, मूर्दा बनेर ढलेको क्षणमा पनि आर्यघाटको दुई नम्बर चितामा पोलिन भाग्य नै बलियो हुनुपर्छ ।

बेलुका घर फर्किंदा शेखरले सेता गणेशलाई एक्काइस लड्डु चढायो र हातमा प्रसादको थोंगा हल्लाउँदै घर पस्यो । घर पस्दा उसको मनमा एक लर्कन लेखक थिए । उसलाई मन पर्ने र नपर्ने सबै । बुझे पनि नबुझे पनि मोहन कोइराला र शंकर लामिछाने, कृष्णभक्त र द्वारिका, भूपि शेरचन र ईश्वरबल्लभ, पारिजात र भुवन ढुंगाना, शैलेन्द्र साकार र तोया गुरुङ । त्यस्तै मनभरि गीतहरू छटपटाइरहेका थिए । नारायण गोपाल र बच्चु कैलाश । तारादेवी र नातिकाजी । प्रेमध्वज, मीरा राणा र फत्तेमान । एक पटक एउटा जमघटमा भारतीय कवि अज्ञेयको पूरै नाम बताएर साथीहरूलाई छक्क तुल्याएको थियो शेखरले । ‘तिमी झारपातहरू, के था छ तिमीहरूलाई ? उनको नाम सच्चिदानन्द हीरानन्द वात्स्यायन हो । अज्ञेय त उनको साहित्यिक नाम भइहाल्यो । उनको श्रीमतीको नाम पनि सुनिराख मूर्खहरू । डा. कमला वात्स्यायन ।’


घरमा राति खाना खाने बेलामा उसले सबैलाई सुनायो, ‘म अब कतार दुबईतिर जान लागेको छु । पैसा नभै त काल पनि आउँदैन । दुई–चार वर्ष ढुक्कै काम गर्छु । त्यसपछि फर्किन्छु । पैसा हातमा भएपछि जे गरे नि भयो त ।’ उसको कुरा कसैले सुनेजस्तो गरेन । फिस्टुले मात्रै सोध्यो, ‘त्यहाँ चकलेट पाइन्छ बाबा ?’ शेखरको मन कटक्क काटियो । साला जिन्दगी । बच्चाको प्रश्नको उत्तर दिने ताकतसम्म छैन । हिजो साँझ भान्दाइलाई भेट्न जाँदै थियो ऊ । हिंड्दै थियो टुँडिखेलको छेवैछेउ । बाटो कतै थिएन टुँडिखेलभित्र छिर्ने । पहिलेको जस्तो मान्छेसम्म छिर्ने प्वाल पनि बनाएको थिएन कसैले । चारैतिर सुइरो आकारको बार ठडिएको थियो । उहिलेको कुरा, टुँडिखेललाई ठाडो नाघेर, संकटा मन्दिरबाट पुलिस क्लब छिचलिरहेको बेला, उसले गुरुमापाको सामना गर्नुपरेको थियो । लाखे अवतारमा होइन, साँच्चैको गुरुमापा । त्यतिखेर उसले गुरुमापासँग लाप्पा खेलेको थियो । गुरुमापा ऊभन्दा धेरै बलियो थियो र पनि उसले हराएको थियो । गुरुमापाको मुखबाट ह्वास्स हरक आइरहेको थियो । त्यस्तोमा गुरुमापा हार्नु अनौठो थिएन । यतिबेला पनि उसलाई गुरुमापा जिस्क्याउने रहर थियो । तर, अहिलेको टुँडिखेलमा गुरुमापा थियो कि थिएन ? के होला र ? भूत–प्रेत जति भागिसके भन्छन् । मानिसले मसान मिचेर घरै बनाइसके । उसलाई लाग्यो, भुइँचालोको धक्काले धरहरा ढलेको आवाज सुनेर तर्सिएको गुरुमापा नागार्जुनतिर भागेको हुन सक्थ्यो । गुरुमापाका बारे यसै भन्न सकिंदैन । भन्न पनि हुँदैन । सनातनदेखि गुरुमापा यो ठूलो चौर टुँडिखेलको रखवाला थियो । अब छैन होला । सिपाहीहरूले टुँडिखेललाई चारैतिरबाट घेरेका छन् । उनीहरूको अफिस, ब्यारेक र प्यारापिट सबै सानो टुँडिखेलदेखि ठूलो टुँडिखेलसम्मको विशाल हातामा खचाखच समेटिएका छन् ।


उसले भान्दाइलाई राम्रै ट्रिट दियो । वसन्तपुरमा नारायण दाइको मःम पसल जाऊँ भनेको भान्दाइले मानेकै होइनन् । उनलाई पुतली सडकमा पुष्करको सेकुवा पसलमा नै खानुपर्ने । अचेल सेकुवा कति महँगो भने कसैले त्यसको हिसाब नै नगरोस् । कालो दरबार एक हाफमा नै भान्दाइ लरबराइसकेका थिए । फेरि ‘खोइ अर्को हाफ ?’ भनेर कराउन थाले । त्यो हाफ सकेपछि ट्याक्सी चाहियो । एकै बसाइमा दुइटा हात्तीको सिकार भइगयो । काठमाडौं यति महँगो थिएन, यति नमीठो त कहिल्यै थिएन । अहिले त स्वादिलो भनेको फलानो चाउचाउ भन्छन् र हत्तपत्त साँध्न थालिहाल्छन् । चाउचाउ र ह्विस्कीको के कम्बिनेसन होला ? शेखर छक्क पर्ने गरेको छ । घरमा उसकी स्वास्नीबाहेक कसैलाई थाहा छैन, शेखर पनि रक्सी खान्छ । आमाले भनेकी छन्, अरू जे गरे पनि त्यो झोल मुखमा नहालेस् । आमाको सदिच्छा उसले मर्न दिएको छैन । आमाले अहिलेसम्म शेखर र कालो दरबारबीचको सम्बन्धको पत्तो पाएकी पनि छैनन् ।


शेखर अबुधाबी उड्यो । उसलाई पुर्‍याउन भान्दाइ र उसकी धर्मपत्नी एयरपोर्ट आएका थिए । उनीहरूलाई पुलिसले मूलढोकाबाटै भित्र छिर्नै नदिएपछि उसले दुवैलाई त्यहींबाट बिदा गर्‍यो । शेखरलाई लागेको थियो, उसको स्वास्नीको मनमा गाँठो पर्ला र कुनै नमीठो प्रतिक्रिया जन्मिएला । त्यस्तो केही भएन । ऊ प्रसन्न देखिएकी थिई । शायद भविष्यप्रति आश्वस्त । ऊ चेक–इन काउन्टरमा पुग्यो । चेक–इनपछि इमिग्रेसन । त्यसपछि सेक्युरिटी । एयरपोर्टमा यति धेरै तमासा होला । यसको अन्दाज नै थिएन उसलाई । त्यसपछि अबुधाबी जाने विमान देखेर शेखर छक्क परेको थियो । विमान त उसले पनि एकपल्ट चढेकै हो, जनकपुरबाट काठमाडौंसम्म । त्यो त सानो भँगेरा जत्रो विमान थियो । यो कति ठूलो अजंगको ।

शेखर अबुधाबी गएको चार वर्ष बित्यो । यसबीचमा उसले परिवार र साथीभाइलाई चार सय कलभन्दा बढी टेलिफोन गरेन । गोर्खा सिपाहीले जस्तो रेडियोबाट आफू मरे बाँचेको हाल परिवारलाई सुनाउन पाइने भए ऊ त्यो चार सय कल टेलिफोन पनि किन गर्ने थियो र ? ऊ वीतरागी भइसकेको थियो । खाली फिस्टुलाई मनबाट हटाइदिन सकेको थिएन । अबुधाबी उसलाई फापेको थियो । गर्मी भए पनि वातावरण शान्त थियो । समयमा गुणस्तरीय भोजन पाइने भएकाले ऊ गम्म मोटाएको थियो । भनौं सन्तोषमा थियो । एक दिन ऊ साप्ताहिक बिदाको दिन पारेर कोठा सफा गर्दै थियो । भान्दाइको फोन आयो । भन्दै थिए, ‘शेखर घर आइहाल्नुपर्‍यो । लालाबालाको बिचल्ली हुने भो ।’


शेखरले सोध्यो, ‘म घर नफर्की नहुने त्यस्तो के भयो र ?’
भान्दाइले जवाफ दिएका थिए, ‘आइहाल् न । यहाँ आएपछि कुरा बुझिहाल्छस् ।’
घर आएपछि शेखर अबुधाबी फर्किने संजोग मिलेन । ऊ मेरो छिमेकी थियो । एक दिन ऊसँग मेरो भेट भयो अनायास नै । ऊ ट्याक्सी चलाइरहेको थियो । म ट्याक्सी खोज्दै थिएँ । काठमाडौंमा अचेल ट्याक्सी पाइँदैन । पाइए पनि मिटरको नियम नमिच्ने ट्याक्सी त पाइँदै पाइन्न । सडकमा आफूतिर आइरहेको ट्याक्सी देखेर रोक्न हात उठाएँ । ड्राइभिङ सिटमा शेखर थियो । मलाई देखेर ऊ किञ्चित डरायो र हच्कियो । उसले भन्यो ः ‘सर, मिटर बिग्रिएको छ । बनाउन लाँदै छु । भाडा विचार गरेर दिनुहोला ।’


म ट्याक्सीमा बसें । मलाई खुलदुली लागेको थियो, ‘शेखर, तिमी त बाहिर थियौ होइन ?’
‘हो सर’, ऊ खुलेर बोल्यो, ‘स्वास्नी राम्री हुनेले सुख पाउँदैन नि सर । मोरीले पाँच वर्ष पनि पर्खिन सकिन । चारै वर्षमा पोइल गइछ । घरमा सानो छोरो, आमा र भान्जीमात्रै । राम्रो काम फेला पारेको थिएँ । छोडेर फर्किनैपर्‍यो । उता कमाएको पैसाले यो ट्याक्सी किने । अब अनेक लफडा बेहोर्दै छु । उतातिर त पेसेन्जरलाई राम्रो सर्भिस दिनेले सरकारको धाप पाउँथे । यतातिर त खोइ सर, नियम नै बुझिएन ।’ ऊ बोल्यो । उसको आवाज तीतो थियो । अनुहारमा विषाद वा पश्चात्ताप थिएन ।
उसले भन्यो, ‘कर्मको फल भनेको यही त होला सर ।’
मलाई लाग्यो, ‘शेखर एक सत्य हो । राम्रो भयो कि ऊ सकुशल देश फर्कियो । बाकसमा बन्द भएर आउनुपरेन । आफ्नै देशमा ट्याक्सी चलाउनु त जस्तै भए पनि राम्रो हो नि ।’
शेखर भन्दै थियो— ललाटमा जे लेखेको छ त्यो त भोग्नै परिगयो सर । बाले सुनाउँथे, रोइरहनुभन्दा गाइरहनु निको । फुच्चेलाई पढाउनु छ । भान्जी तरुनी हुँदै गएकी छन् । समय खराब छ सर । यिनको हुर्मत जोगाइदिन सके आफैंलाई स्याबासी दिनुहुन्थ्यो ।

प्रकाशित : फाल्गुन १८, २०७५ १३:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?