'बुँख्याचा' बालकृष्ण

डा. तीर्थबहादुर श्रेष्ठ

काठमाडौँ —  विक्रम संवत् २०३६ सालमा गठन भएको प्राज्ञ–परिषदको नवग्रहजस्ता नौजना सदस्यमध्ये भाषातर्फका एक ग्रह अनायास अस्ताए भन्ने समाचारले निकै विह्वल भएको छु  । नेपाली भाषाका भीष्मपितामह मानिने विद्वान बालकृष्ण पोखरेल अब हामीमाझ हुनुहुन्न भन्ने कुराले पिरोल्दो छ  ।

उक्त प्राज्ञ–परिषद्का नौ जना सदस्यमध्ये कुलपति कलाकार लैनसिंह बाङदेल, सदस्य सचिव प्रसिद्ध मूर्तिकार अमर चित्रकार, लोकप्रिय कवि भूपि शेरचन, विशिष्ट विद्वान नयराज पन्त, वरिष्ठ इतिहासकार ढुण्डीराज भण्डारीसमेत गरी ७ जना प्राज्ञ परलोक भइसकेका छन् आजका दिनमा ।


ती सहकर्मी र सहधर्मीहरू इहलोकबाट बिदा भएको पीडा सहनुपर्ने बाध्यता तत्कालीन उपकुलपति वर्तमान राष्ट्रकवि माधवप्रसाद घिमिरे तथा विज्ञान विधाका तत्कालीन सदस्य यस पंक्तिकारमा आइपरेको छ । यो घडीमा विद्वान बालकृष्ण पोखरेलका दिवंगत आत्मालाई चिरशान्ति मिलोस् भनी श्री परमेश्वरसँग प्रार्थना गर्दछु । र, शोकसन्तप्त परिवारजनलाई ईश्वरले धैर्यधारण गर्ने शक्ति प्रदान गरून् भनी कामना गर्दछु । एकैसाथ, श्रद्धासुमनको केही संस्मरण पनि पस्कन चाहन्छु । प्रज्ञा–प्रतिष्ठानमा को आए र को गए भन्ने कुरा गौण हो । यहाँ बसेर कसले, कस्तो योगदान पुर्‍याए भन्ने कुराको स्मरण गर्नु उचित हुन्छ । बालकृष्ण पोखरेलको सन्दर्भमा त्यो कुरा नेपाली वाङ्मयको साधना र सिर्जनामा लागेका विद्वानवर्गबाट समीक्षा हुने नै छ । उहाँले नेपाली बृहत् शब्दकोशको सम्पादनमण्डल निर्देशकका रूपमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा बस्दा कति खट्नुभयो, कसरी खट्नुभयो—त्यसको एकमात्र दर्शक थिएँ म । मेरो विषय प्राकृतिक विज्ञान र उहाँको विषय भाषा विज्ञान । प्राकृतिक विज्ञानमा विशेषगरी मानव प्रजातिको उत्पत्ति, डार्बिनका विकासवादी सिद्धान्त तथा जीव–प्राणीका सृष्टि, विकास र भौगोलिक वितरण सम्बन्धमा उहाँ निकै गहिरो चासो राख्नुहुन्थ्यो । बेलायतको ब्रिटिस म्युजियमबाट मैले ल्याएको एउटा सानो पम्पलेट ‘पिल्टडाउन म्यान होयस्क’ उहाँलाई पढ्न दिएको थिएँ ।


मनुष्यको विकासक्रमसम्बन्धी अनुसन्धानलाई कसरी अल्मलाउने भन्ने कुचेष्टा हुन सक्छ भन्ने त्यसमा खुलासा गरेको थियो । वर्तमान मनुष्यको वंश बाँदरबाट प्रादुर्भाव भएको थियो भन्ने डार्बिनको निर्क्यौल थियो । तर, बाँदर र मनुष्य बीचमा सेतुप्राणी कस्तो होला भन्ने खोजतलास सन् १९०८ र १९१२ तिरै भएको थियो, वैज्ञानिकहरूले बेलायतको ससेक्से, पिल्टडाउन भन्ने ठाउँमा केही मानव अवशेष पनि भेट्टाएका थिए । केही मानव खप्पर, दाँत र बङ्गाराका अवशेषले मानव र बाँदरबीच सेतुप्राणीको प्रतिनिधित्व हुने प्रमाण फेला पर्‍यो तर, ती अवेशषको रासायनिक एवं रेडियोधर्मी अनुसन्धानले त्यसको पुष्टि गरेन । ती अवशेषहरू नक्कली र कृत्रिम थिए भन्ने प्रमाणित भयो । भाषा विज्ञानको क्षेत्रमा पनि बालकृष्णजी यस्तै सेतुभाषाको खोजीमा रहेछन् । मानव इतिहासमा स्थानीय बोलीचाली र त्यहाँको भूगोल र वातावरणबाट भाषाको विकास हुन्छ । जीवप्राणीको विकास सिद्धान्तमा वंश र वातावरणको भूमिका खोजेजस्तै भाषा विकासको विज्ञानमा उहाँका विचारहरू सुन्ने मौका मिलेको थियो । त्यो वर्षको मलाई राम्ररी सम्झना छ किनभने प्रसिद्ध नाटककार बालकृष्ण समको निधनमा हामी शोकसभा गर्दै थियौं प्रज्ञा–प्रतिष्ठानमा । २०३८ साउने झरीको त्यो सम्झना २०७५ फागुनमा फेरि बल्झेर आयो— अर्को बालकृष्णको निधनमा ।


जन्मनु र मर्नु प्राकृतिक नियम हो । २०७५ साल फागुन १३ गतेका अखबार, पत्रपत्रिकाले ‘बालकृष्ण पोखरेल फागुन १२ गतेका दिन अस्ताए, ८६ वर्षको उमेरमा’ भनेर खबरहरू सम्प्रेषण गरेका छन् । ठीक त्यही ८६ वर्षको उमेर काटेर २०३९ सालमा निधन भएका प्राज्ञ धनशमशेर जंगबहादुर राणका संस्मरणमा बालकृष्ण पोखरेल लेख्छन्— ‘...नेपालका प्रख्यात तान्त्रिकको चोला उठ्यो ८६ वर्षेको उमेरमा । उहाँ जन्मनुभएको थियो— संवत १९५३ मा ।’ नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानको रजत जयन्ती प्रकाशन मालाको १९ सौं अंकका निम्ति हामी सबै प्रज्ञा सदस्यहरू आ–आफ्ना अविस्मरणीय क्षणहरू लेख्दै थियौं । र, उहाँका अविस्मणीय क्षणमा धनशमशेरको चोला उठेको अवस्था थियो । निधन भए र चोला उठ्यो भन्नुमा कति फरक भन्ने कुरा विचार्दा आमा र माता भन्नुमा कति फरक छ भन्ने उहाँको तर्क थियो । त्यसो त झर्रो नेपालीका त उहाँ पितामह नै थिए । जगदम्बा प्रेसले २०६४ सालमा प्रकाशन गरेको ‘झर्रो शब्द्यौली’को मिठास हामीलाई प्राप्त छ ।


बालकृष्ण पोखरेल मोरङका बाहुन अनि म काठमाडौंको रैथाने नेवार । उहाँ मसँग नेवारीमा निकै ठट्टा गर्नुहुन्थ्यो । सधैं हँसिलो र सधैं ठट्यौली । टेलिफोन वार्तामा उहाँसँग फँसियो भने आधा घण्टाले पुग्दै पुग्दैनथ्यो । एक दिन ‘बुँख्याचा’ को प्रसंगमा फँसियो । नेवारी भाषामा ‘बुँ’ भनेको खेत वा बारी हुन्छ, ‘ख्याँ’ भनेको तर्साउने ख्याक र ‘चा’ जोड्छन् । रामे, श्यामे भनेझैं रामचा, श्यामचा, दाइचा, भाइचा आदि इत्यादि । अन्ततोगत्वा सबै माटोमा मिल्छ भन्ने यथार्थ बोध ‘चा’ले गराउँछ भन्ने मेरो मान्यता थियो । त्यही सन्दर्भमा मैले उहाँलाई ‘बालकृष्णचा’ पनि ठोकें । त्यही बँख्याचा (बुख्याचा) को प्रसंग जोडेर उहाँले आफ्नो निजात्मक निबन्ध २०६० सालमा ‘मैले जुलुङ्गो रोजें’ भन्ने शीर्षकमा नेराप्रप्रको समकालीन साहित्यमा प्रकाशित गर्नुभयो । त्यस निबन्धको सार बुझ्न मैले धेरैपल्ट दोहोराएर पढें । अझै बुझ्न सकेको छैन ।

बायाँबाट क्रमशः स्रष्टाहरु विजयबहादुर मल्ल, भूपि शेरचन, अमर चित्रकार, माधवप्रसाद घिमिरे, लैनसिंह बाङ्देल, ढुण्डीराज भण्डारी, डा. तीर्थबहादुर श्रेष्ठ, बालकृष्ण पोखरेल र नयराज पन्त।

बालकृष्ण पोखरेल आज हाम्रा माझ हुनुह्न्नु । उहाँको ‘चोला उठ्यो’ तर उहाँ एक अमर प्राज्ञ हुनुहुन्छ । नेपाली भाषा–इतिहासको अनुसन्धान र निरुपणमा उहाँको अद्वितीय योगदान रहेको छ । नेपाली वाङ्मयको कुनै विधालाई पनि उहाँले छोड्नुभएको छैन । छेडेरै छाडेको छ उहाँका तिखा कलमका धारले ।
बालकृष्ण पोखरेलले नेपाली वाङ्मयलाई छाडेर गएका अमूल्य धनधान्यहरू सँगाल्यो भने नेपाली बृहत् शब्दकोशदेखि बृहत् नेपाली–अंग्रेजी–नेपाली कोशलगायत झर्रो शब्द्यौली, पाँचसय वर्ष, नेपाली भाषा र साहित्य, राष्ट्रभाषा, नेपाली निर्वाचन आदि कृतिहरूले नेपाली भाषाको उर्वरा फाँटमा विशाल क्षेत्र ओगट्छ होला । यसैगरी कथा, कविता, बालकविता, उपन्यास, निबन्ध, खण्डकाव्यहरू पनि धेरै प्रकाशित छन् । विविधताको सँगालो नै बालकृष्ण पोखरेल हो भन्ने कुरा विजयबहादुर मल्ल भन्नुहुन्थ्यो । सो कुरा उहाँका लेखकीय नाम र उपनामबाट झल्कँदो रहेछ । तीमध्ये रूपावासी, वसन्त, लक्ष्मीविलास पाध्या, केकेमनुक्च्यो पोखरेल, गढतिरे साहिँलो, हिमाल पानेबराल आदि प्रचलित छन् । पोखरेल भए पनि आफ्नो निकट पुर्ख्यौली भूगोललाई स्मरण गरेर रूपावासी भन्न र भनाउन रुचाउँदथे— बालकृष्ण पोखरेल । र, सोही भूमि र भूगोलका स्मरणमा उहाँको अन्तिम कृति ‘रूपारानी’ नामक महाकाव्यलाई अधुरो नै छोडेर उहाँ जानुभयो । उहाँले सम्पन्न गर्नुभएका कृतिहरूको कीर्तिमानीका रूपमा उहाँले प्राप्त गरेका थुप्रै पुरस्कार, पदक, सम्मान, विभूषण र अभिनन्दनहरू संगृहीत हुनुपर्छ । बालकृष्ण पोखरेल एक अमर प्राज्ञ हुन् भन्ने कुरा तिनले नै बोल्नेछन् ।


विसं २०३६ सालको वैशाखमा उहाँलाई पहिलोपल्ट भेट्दा दाह्री जुँगा सफाचट चम्किलो अनुहार र हँसिलो मुद्राको सम्झना हुन्छ । प्रायः सधैं काखीमा किताब च्यापेरै हिँड्ने उहाँको बानी थियो । प्राज्ञ–परिषद्को बैठकमा बोल्दा पनि ‘म भन्न गइरहेको छु’ भन्दै आफ्नो कुरा अघि सार्ने उहाँको बानी थियो । अरूलाई निकै हँसाउने र आफू भने खित्का मात्र छोड्ने प्रकृतिका थिए— बालकृष्ण पोखरेल । प्रज्ञा–प्रतिष्ठानमा हामी सबैलाई २०४१ सालमा पुनः नियुक्तिका लागि चर्चा चल्दै गर्दा उहाँले संरक्षक राजा वीरेन्द्रछेउ दोस्रो नियुक्ति नहोस् भनेर बिन्ती गरेका रहेछन्— राजाको धनकुटा सवारीमा ।


तसर्थ २०४१ बाट उहाँ काठमाडौं छाडेर विराटनगरस्थित आफ्नै निवास तीनटोलिया बस्न थाल्नुभयो । विसं २०४६ सालपछि उहाँलाई काठमाडौंमा भेट्दा दाह्री–जुँगाले ढपक्कै छोपेको अनुहार देखेर छक्कै परेको थिएँ । त्यसपछिका दिनहरूमा उहाँको मुखारी चिह्न नै बाक्लो दाह्री–जुँगा र उही मसिनो स्वरको मिठास तथा खित्के हाँसो मेरो स्मृतिपटलमा झल्किरहन्छ । र, नेपाली वाङ्मयको फराकिलो फाँटमा ‘बुँख्याचा’ बनेर जुलुङ्गोको रूपमा ठडिरहनेछ भन्नेमा म विश्वस्त छु । मेरो विश्वास, मेरा श्रद्धाञ्जली ।

प्रकाशित : फाल्गुन १८, २०७५ १२:५५
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

आयुमा जीवन थप्छन् कविवर

शतायु उत्सव
परमेश्वरले कविवरलाई आयु थपिदिइरहेका छन् । र, कविवरले त्यो आयुमा ‘जीवन’ थपिरहनुभएको छ । कविवरसँगका प्रत्येक भेटपछि म उहाँको ‘आयुमा जीवन थप्ने कला’ अनुभव गर्छु ।
डा. तीर्थबहादुर श्रेष्ठ

काठमाडौँ — भनिन्छ, कोही जन्मँदै महान् हुन्छन्, कोही महानता हासिल गर्छन् र कोहीमा भने महानता थोपरिन्छ । व्यक्ति कसरी महान् हुन्छ भन्ने शेक्सपियरका यी तीन धारमध्ये दोस्रो धारले महान् बनेका व्यक्ति हुन्, राष्ट्रकवि माधवप्रसाद घिमिरे । लमजुङमा जन्मेर लैनचौर, काठमाडौंमा आफ्नो १०० वर्षको जीवनयात्राको अनुष्ठानमा पुग्नुभएका महान् व्यक्तिलाई सुरुमै मंगलमय शुभकामना चढाउँछु ! 

कविजीसँग मेरो प्रथम साक्षात्कार २०३६ सालको जेठ २ मा भएको हो। नेपाल (राजकीय) प्रज्ञा–प्रतिष्ठानमा आ–आफ्नो पदको बहाली गर्दाको त्यो क्षण थियो।

उहाँ उपकुलपतिको पदमा आसीन हुनुभयो। कुलपति पदमा कलाकार एवं साहित्यकार लैनसिंह बाङ्देल हुनुहुन्थ्यो। सदस्य सचिव छानिनुभएको थियो— साहित्यकार एवं नाटककार विजयबहादुर मल्ल। अरू सदस्यमध्ये कला विधामा मूर्तिकार एवं चित्रकार अमर चित्रकार हुनुहुन्थ्यो भने साहित्यको फाँट सम्हाल्न जनप्रिय कवि भूपि शेरचन रोजिनुभएको थियो।

नेपाली भाषा विधाको कार्यभार बहन गर्दै हुनुहुन्थ्यो, नेपाली भाषाका मूर्धन्य विद्वान् बालकृष्ण पोखरेल। संस्कृतिको पक्षमा अर्का प्रकाण्ड विद्वान् हुनुहुन्थ्यो— नयराज पन्त। ज्ञानको विधालाई प्रतिनिधित्व गर्ने स्वनामधन्य इतिहासकार प्राध्यापक ढुण्डिराज भण्डारी हुनुहुन्थ्यो। विज्ञानको क्षेत्रलाई समेट्न भनेर मलाई प्रज्ञा प्रतिष्ठानको सदस्यता प्रदान गरिएको थियो। २०३६ देखि २०४७ सालसम्म प्रज्ञा प्रतिष्ठानको प्रांगणमा कविवर माधव घिमिरेसँग उठबस गर्ने सौभाग्य मलाई प्राप्त थियो। त्यसपछिका दिनहरूमा लैनचौर यसै खुला हुने नै भयो।

लगभग चार दशकको दौरानमा उहाँसँगको संगतले मेरो मनमा एउटा छाप छोडेको छ। त्यसमा पनि, विगत १० वर्षयताका उहाँसँगका प्रत्येक भेटमा मलाई के महसुस हुन थाल्यो भने, परमेश्वरले उहाँलाई आयु थपिदिइरहेको छ र उहाँले त्यस आयुमा जीवन थपिरहनुभएको छ। कविवरसँगका प्रत्येक भेटपछि म उहाँको ‘आयुमा जीवन थप्ने कला’ अनुभव गर्छु। फूल–बिरुवा, वन–वनस्पति र प्रकृतिको अध्ययन मेरो विषय हो।

माधव घिमिरे तिनैका पुजारी हुन्। माधव घिमिरेका गीत र कविता सानै उमेरदेखि सुन्दै–पढ्दै र गुनगुनाउँदै आएको हुँ। असारको रातमा परेको झम्झम् पानी होस् वा बगेर जाँदै गरेको फूलको थुंगा होस् वा बतासमा झुल्दै गरेका तोपचराका गुँड होऊन्— ती सबैलाई आफ्नो स्पन्दनसँग गाँस्ने उहाँको विशेषता हो। मेरो विचारमा प्रकृतिको संगीतलाई गीतमा उतार्ने कविको नाम नै माधव घिमिरे हो।

प्रज्ञा प्रतिष्ठानको संरचनामा नेपाली भाषा, कला, साहित्य, संस्कृति, ज्ञान र विज्ञानको संयोजन थियो। सर्जक प्राज्ञहरूको संगतमा पर्दा मलाई पनि ज्ञान–विज्ञान र प्रविधिलाई नेपाली भाषा, साहित्य, कला र संस्कृतिसँग जोडेर हेर्ने अवसर प्राप्त भयो। त्यस कार्यमा उपकुलपति माधवप्रसाद घिमिरेको प्रभाव अति गहिरो बन्न पुग्यो।

प्रतिष्ठानका प्रत्येक पुस्तकको प्रकाशकीय लेख्ने काम उपकुलपतिको जिम्मामा पथ्र्याे। उपकुलपति हैसियतमा माधव घिमिरेले लेखेका प्रकाशकीय पढयौं भने प्रत्येक पुस्तकको विषयगत गहनतम अवधारणा, समय र परिस्थितिको वर्तमान सन्दर्भ र विचार विमर्शको अग्रगामी निचोड छर्लंग हुन्छ। त्यसका लागि उहाँ प्रत्येक लेखकसँग गहन छलफल र बहस गर्नुहुन्थ्यो।

यस्तैमा ‘बाल–विज्ञान प्रश्नोत्तर’ को प्रकाशन सन्दर्भमा उहाँसँग मेरो निकै कुराकानी भयो। बालबालिकामा विज्ञानको चेतना पुर्‍याउन बालमनोविज्ञान भित्र छिर्नुपर्छ भन्ने उहाँको धारणा रहयो। उहाँले गाउँखाने कथालाई विज्ञानको जामा पहिराइदिनुभयो। सिस्नोले किन र कसरी पोल्छ भन्ने प्रश्नको वैज्ञानिक उत्तर खोज्नुभन्दा पहिले ‘सानु सानु रूख छ, चढ्नको दु:ख के हो ?’ भन्ने गाउँखाने कथाबाट सिस्नोको पहिचान गर्नु रमाइलो हुन्छ ।

र, त्यसले बालबालिकाको विस्मय विस्तारमा सघाउँछ भन्ने उहाँको सल्लाह थियो। माधव घिमिरेसँग त्यसै दिनको कुराकानीपछि मैले आफ्नो लेखनीमा कहिले विज्ञानको जामामा संस्कृति र प्रकृतिलाई अनि कहिले संस्कृतिको जामामा विज्ञानलाई प्रस्तुत गर्ने चेष्टा गर्न थालें।
०००
राष्ट्रकवि माधव घिमिरेको विज्ञान चेतनाको सन्दर्भ २०३९ सालमा सम्पन्न प्रज्ञा प्रतिष्ठानको रजत जयन्तीका लागि प्रकाशित ‘नेपालमा विज्ञानको विकास’ नामक पुस्तकको प्रकाशकीयसँग सम्बन्धित छ। उक्त पुस्तक प्रकाशनको लक्ष्य नेपालमा विज्ञान एवं प्रविधि क्षेत्रका आधारभूत विज्ञानका विषयहरू— रसायन, वनस्पति, जीव, भौतिक आदि विषयमा नेपालको तत्कालीन स्थितिको मूल्यांकन गर्ने रहेको थियो। साथै कृषि, वन, स्वास्थ्य, इन्जिनियरिङ आदि प्राविधिक विषयहरूको अवस्था पनि केलाउनु थियो।

चन्द्रमासम्म मानिस पुग्यो, ज्ञानले पुग्यो कि विज्ञानले वा प्रविधिले ? ज्ञान, विज्ञान र प्रविधि कहाँ जोडिन्छन् कहाँ छुट्टिन्छन्? बुझ्न–बुझाउन सजिलो थिएन। १०/१५ दिन यत्तिकै बित्यो।

कविजीबाट प्रकाशकीय प्राप्त भएन। एक दिन उपकुलपति अर्थात् कविजीले बोलाउन पठाउनुभयो। उहाँको कोठाभित्र पस्नासाथ प्रकाशकीय हातमा थमाउनुभयो र भन्नुभो, ‘विज्ञान भनेको दृष्टि र प्रविधि भनेको यात्रा, त्यसो भन्दा कसो होला ?’ मेरा लागि एउटा रहस्य उद्घाटित भयो। दृष्टिले यात्राको क्षितिज खुल्ने भो र यात्राले दृष्टिको क्षितिज अझ उघारिने भो। माधव घिमिरेको सोही प्रकाशकीयबाट यो पंक्ति उद्धृत गरिहेरौं :


‘विज्ञान र प्रविधि–दृष्टि र यात्रा हो । दृष्टिबाट जसरी यात्रा प्रारम्भ हुन्छ, यात्राको क्रममा पनि त्यसरी नै नयाँ दृष्टि प्रादुर्भाव हुन्छ। आज विज्ञानबाट अनेक प्रविधिको विकास भइरहेको छ र प्रविधिले गर्दा पनि नयाँ विज्ञानको प्रादुर्भावलाई सहायता पुगिरहेको छ। आजको विश्वको उन्नति उन्नत प्रविधिकै परिणाम हो। हाम्रोजस्तो विकासोन्मुख देशका निम्ति विज्ञानको अर्कै उपादेयता छ। त्यो हो— प्राथमिक आवश्यकताको पूर्ति, पूर्वाधारको तयारी र समाजमा वैज्ञानिक दृष्टिको विकास।’

प्रकृतिकै काखमा हुर्केका कारण प्रकृतिलाई साहित्य र संस्कृतिसँग जोड्ने काममा माधव घिमिरे निकै निपुण सावित हुनुहुन्छ। डा. दयाराम श्रेष्ठको सम्पादनमा २०४५ सालमा ‘नेपाली कथाका समकालीन सन्दर्भहरू’ नामक पुस्तकको प्रकाशकीयमा कवि घिमिरे लेख्नुहुन्छ, ‘आजको कथाको शैलीलाई तोपचराको गुँड बनाउने शैलीसँग तुलना गर्न सकिन्छ।’ तोपचराको कला–कौशललाई कविले कति सूक्ष्म दृष्टिले हेरेका रहेछन् भन्ने यहाँ प्रस्ट हुन्छ। यत्रतत्रबाट घाँस, झारपात र लहरालाई बटुलेर तोपचराले एउटा सिङ्गो घर बनाउँछ।

कथाकारले पनि त्यसै गरेर समाज र समुदायका माझबाट विभिन्न त्यान्द्रा बटुलेर एउटा सिंगो कथा रच्दछ भन्ने कुराको पुष्टि यहाँ पाउँछौं। अर्कातिर निबन्धलाई भने उहाँ ‘बन्धनरहित रचना’ को संज्ञा दिनुहुन्छ। तारानाथ शर्माको सम्पादनमा २०३९ सालमा प्रकाशित ‘पच्चीस वर्षका नेपाली निबन्ध’ मा उहाँ लेख्नुहुन्छ, ‘वस्तुलाई आफ्नो बनाउन सक्नु र आफूलाई वस्तुको बनाउन सक्नुमै निबन्धकारको कौशल रहन्छ।’ उहाँ थप भन्नुहुन्छ, ‘परमहंसहरू फूलमा पनि परिपूर्ण ब्रह्म देख्छन्।’


म वनस्पतिको विद्यार्थी तर एउटा फूलमा परिपूर्ण ब्रह्म देख्ने आँखा त साहित्यकार कविसँग पो हुँदोरहेछ! कविजीसँग फूलको विषयमा निकै कुराकानी चल्थ्यो। उहाँको पुष्प प्रेम र पुष्प जिज्ञासा भने यो उहाँको पंक्तिले उजागर गर्दछ :

‘आए पाखा वन चहुरमा फूल लाखौं पलाई
को भन्देला सकल यिनको नाम मीठो मलाई।
मेरै धौलागिरी शिखरमा छैन मैले चढेको
नेपालीको दिल छुन अझै छैन मैले सकेको।।’

‘राष्ट्रकवि’ उपाधिबाट सुशोभित माधव घिमिरेको राष्ट्रभाव ‘गाउँछ गीत नेपाली’ बाटै हामीले अनुभव गरिआएको कुरा हो। नेपालको अस्तित्वलाई बलियो जग दिने काममा उहाँ कहिल्यै पछि पर्नुभएको छैन। मलाई सम्झना आउँछ २०४५–४६ का ती दिनहरूको, जब राजीव गान्धीको सरकारले नेपाललाई नाकाबन्दीमा पार्‍यो।

त्यतिबेलाको विषम परिस्थितिमा राजा वीरेन्द्रबाट प्राज्ञहरूको परामर्श लिन नारायणहिटी दरबारमा निम्त्याइएको थियो। दरबार जानुभन्दा पहिले सबै प्राज्ञहरू बसेर राजालाई के सुझाव दिन सकिन्छ भन्नेबारे छलफल गरियो। त्यसक्रममा कविजीले भन्नुभएको थियो— नेपाल–भारतको वर्तमान सन्दर्भमा अस्तित्व र सहअस्तित्वका दुई कुरा जोडिएका छन्। दरबारमा बोल्ने क्रममा मैले कविजीको त्यही भनाइ त्यहाँ राखिदिएँ। त्यसमा कविजीको कथन यस्तो थियो, ‘हाम्रो पहिलो मुद्दा अस्तित्वको हो।

नेपाल–भारत आ–आफ्नै अस्तित्व भएका दुई राष्ट्र हुन् भन्ने स्थापित भएपछि मात्र सहअस्तित्वका फाँटहरू खुल्ने हुन्। ‘नेपाली हामी रहौंला कहाँ नेपालै नरहे’ भन्ने प्रश्नले गर्दा नेपालीले झुक्ने कुरै आएन।’ त्यसपछि दरबारको छलफलको मुख्य विषय नै अस्तित्व र सहअस्तित्वमा मोडिएको थियो। यसैगरी चीनको मैत्रीपूर्ण भ्रमणको बेला २०४२ सालतिर उपकुलपति माधव घिमिरे चीन र नेपाल दुई छिमेकी राष्ट्र हुन् र तिनको सहअस्तित्वमा कला, साहित्य, संस्कृति, ज्ञान–विज्ञानको आदानप्रदानले महत्त्वपूर्ण भूमिका खेल्दछ भन्ने कुरालाई विशेष रूपमा प्रस्तुत गर्नुहुन्थ्यो। हुन पनि ‘ए कहाँबाट हेरौंला संसार सन्झ्यालै नरहे’ भन्ने प्रश्न गर्ने कवि माधव घिमिरे हाम्रा सांस्कृतिक सम्पदाप्रति कति सजग छन् भन्ने सजिलै बुझ्न सकिन्छ।
०००
माधव घिमिरेको व्यक्तित्वका दुई पाटा औपचारिक तथा अनौपचारिक पक्ष चन्द्रमाको शुक्लपक्ष र कृष्णपक्षजस्तै अनुभव हुन्थ्यो मलाई। औपचारिक पक्षमा ढिक्को भएर जम्न पनि सक्ने र अनौपचारिक पक्षमा फेरि पानी भएर पग्लिदिने उहाँका विशेषता हुन् भन्ने लाग्छ मलाई। मोटरको ड्राइभरले ढोका खोलिदिएपछि मात्र मोटर चढ्ने र ड्राइभरले ढोका उघारिदिएपछि मोटरबाट तल झर्ने उहाँको बानी थियो। तर, अनौपचारिक समयमा ड्राइभरलाई ढोका खोलेर स्वागत गर्न पनि पछि नपर्ने स्वभाव पनि उहाँसँगै थियो।

माधव घिमिरेका लेखन पात्रहरू धेरै छन्। तीमध्ये उहाँको सर्वप्रिय पात्र ‘अश्वत्थामा’ होलान् भन्ने अनुमान गर्न सकिन्छ। २०७५ साल असोज ७ गते तिनै अश्वत्थामासहितका अन्य ७ पात्र (बली, व्यास, हनुमान, विभीषण, कृप, परशुराम र मार्कण्डेय) अष्ट चिरञ्जीवीबाट कविवरको नयाँ आयु थप्ने काम हुनेछ र त्यसको प्रत्येक पलमा जीवन थप्न उहाँ सफल हुनुहुनेछ भन्ने विश्वाससँगै पुन: शुभकामना व्यक्त गर्दछु !

प्रकाशित : आश्विन ६, २०७५ ०९:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×