भिखारी र पूँपाहा कम्निस्टहरू

खगेन्द्र संग्रौला

काठमाडौँ — तोदिन कानै खाने डंक पिटानको स्वरमा सुनिन्छ— अब भने देश नयाँ युगमा प्रवेश गर्‍यो  । उन्मादको तहमा उमंगित र पुलकित शासकहरू यसै भन्छन्  ।

शासनतन्त्रद्वारा रक्षित, पालित र पोषित असल–असल कटुवालहरू यसै भन्छन् । यो उद्घोष नपत्याउनुमा भयंकर खतरा छ । घोर लाञ्छनायुक्त लबजमा ‘बुद्धिजीवी’ भनिइन्छ । सारा जगत्ले सुन्ने गरी शासनतन्त्रका पैरवीकारहरूको खप्की खाइन्छ । वागी पथगामीलाई चिलेर अहिल्यै मारुँलाझैँ गरी अरिंगालको उन्मत्त गोलो झ्वाम्मै खनिन्छ । नवीन युगको ढोका खोल्ने जादुगरी सरकारको गोप्य जासुसी स्रेस्तामा नाम चढ्छ । र, निकट भविष्यको गर्भमा कठोर दण्ड–सजाय अंकित हुन्छ ।


याम छ ठण्डी हिउँदको । स्थान मेरो गृहनगरी चाबेलस्थित गणेशस्थान मन्दिर । महाभूकम्पले भूमिसात् भएको मन्दिर पुनर्निर्मार्णको व्यग्र प्र्रतीक्षामा छ । ‘लम्बोदर’ भनिने रूप न रङका भुँडे गणेश कतिकति दिनदेखि सुकुम्बासी भएका छन् । बरा ती बक्विहीन छन्, ती गुनासोरहित छन् । त्यसैले त ती यत्रो दिन बिनाबास अलपत्र परेका हुन् । मन्दिर छेवैको ढ््याके निजी घरको पेटीमा एउटा भिखारी सुतेको छ । छाँटले भुँडे गणेशकै जस्तो छ उसको दुर्दशा पनि । हो, उसको पनि न घर छ न बोली छ । आफूलाई यो हरिबिजोकको अवस्थामा गिराउने समाज–व्यवस्थाप्रति उसमा न कुनै मुखर असन्तुष्टि छ, न कुनै वाचाल विरोध छ । प्रतिरोध त धेरै परको कुरा भयो । दमित र कुण्ठित मौन भावमा ऊ के सोच्दो हो, त्यो उही मात्र जान्दछ ।


साँच्चै भन्ने हो भने यो भिखारीको हाल सूँढधारी गणेशजीको भन्दा पनि बेहाल छ । गणेशजी त भोक, रोग र मृत्युरहित छन् । जो जीवनशून्य छ, त्यो नाथेलाई केको भोक ? केको रोग ? त्यसको केको मृत्यु ? तर भिखारी जीवित छ । र, उसलाई चिन्ताहरूका कारक भएर आफ्नै छायाले झैँ जिजीविषा, भोक, रोग र मृत्युले हर्दम पछ्याइरहन्छन् । मेरो नित्य मर्निङ वाकको बाटो त्यही पर्छ । पहिले गणेशजीको मन्दिरविहीन मन्दिर अनि त्यसपछि भिखारीको खुला शयन पेटी । समय बिहान सखारै साढे चार बजेको हो । जब महेन्द्रीय फौजी ताण्डवको स्मरण गराउने चिसो पुस १ गते आयो, भिखारी त्यही पेटीमा, त्यसरी नै सुतेको थियो । जब जाडोको निर्मम औतारमा पुस १५ गते आयो, भिखारी त्यहीँ, त्यसरी नै सुतिरह्यो । पानी पर्‍यो र जाडो उर्लियो । तैपनि ऊ उही ठाउँमा, उसैगरी सुती नै रह्यो । उसको सुकुल भने पनि, डसना भने पनि, तन्ना भने पनि चुरोटको पेटीको कागतका केही टुक्राहरू छन् । शिरमुनि सिरानी छैन । उसले केवल नीलो–नीलो रङको फ्यालफ्याले कम्मल ओढेको छ । सके ऊ भोकै होला । रनै त भोजनको जीवनदायी ऊर्जारहित ज्यान जाडाले डल्लिएर ऊ त्यसैत्यसै कुङलिङ परेको छ । मलाई ऊ सधैँ केवल हलचलशून्य निर्जीव मानव–देहजस्तो लाग्छ । कान थापेर यसो सुन्छु तर सास भने ऊ फेर्दै हुन्छ । लौ, यो बेवारिसे जीव अर्को एक रात बाँच्यो ! खिन्न मुद्रामा मनमनै भन्छु र म भण्डारखालको वनतिर लमक–लमक बाटो तताउँछु ।


जब जाडो तैबिसेक कम थियो, भिखारीको समीपमा तीनवटा भुस्याहा कुकुर सुत्थे । त्यो दृश्यले मलाई लैनसिङ बाङदेलको ‘लंगडाको साथी’ को झल्को दिलाउँथ्यो । जाडो बढ्यो, र चौपाया मित्र मण्डलीले प्राणरक्षा गर्न कतै टाप ठोक्यो । भुस्याहा नै सही, कम से कम साथमा जाडो बाँडचुँड गर्ने केही कुकुर त थिए । यो भिखारीलाई तिनले पनि परित्याग गरे । र, कठ्याङ्ग्रिने जाडो, अथाह कष्ट र सम्भावित मृत्युसिबाय ऊसँग अब कोही रहेन । लक्षण हेर्दा लाग्छ, यो भिखारीको देशमा धनदौलत छेलोखेलो छ । औतारी शासकहरूद्वारा कल्पित यो नयाँ युगमा घुस, कमिसन र विलास त अर्ब–अर्बको दरमा चल्दो छ । अखबार भन्छ— उः त्यसले बिघ्नै विलासी मुद्रामा ट्याक्क तीन अर्बको हेलिकप्टर खरिद गरायो । उः अर्काले वाइडबडीको ६ अर्ब सप्रेम ग्रहण गर्‍यो । उः कोही सुमार्गीले ५ अर्ब बजायो, कोही कुमार्गीले ६ अर्ब उदरस्थ गर्‍यो । अनि घैँटेले यति, लोर्केले उति । चरीले यति, हाब्रेले उति । मानौँ यो मुलुकै नोटको रासमाथि खडा भएको छ । तर यो भिखारीको पेट रित्तो छ, आङ नाङ्गो छ । यसको दृष्टिमा घना अन्धकार छ, हृदयमा गाढा सन्ताप छ । दिनभरि फोहोरका डंगुरहरू खोस्रिएर र हात पसारेर पनि यसको हात सधैँ खाली–खाली छ । चटकजीवी शासकहरूको राजमा यो भिखारीको न उभिने माटो छ, न हिँड्ने बाटो छ, न कतै आशाको फिलुंगो छ । आखिर यो ‘नवयुग’ मा यो भिखारीको यस्तो हताशायुक्त दशा आखिर किन छ ?

सोचेर ल्याउँदा कुरो जटिल छ, उपद्रै जटिल । नयाँ भनी न्वारान गरिएको यो युगका शासनाधिकारी स्रष्टाहरू हाक्काहाक्की हामी कम्निस्ट हौँ भन्छन् । यिनले मुखै फोरेर ‘हौँ’ भनेपछि यी कम्निस्ट त अवश्यै हुन्, तर नयाँ युगका, नयाँ मार्काका, एक तमासका कम्निस्ट । सोचाइ, चरित्र र जीवनशैलीको चुरोका हिसाबले यी पुँजी पारखी हाइब्रिड कम्निस्ट हुन् । छोटोमा छिट्टो भन्दा ‘पूँपाहा’ कम्निस्ट । इतिहासले हामीलाई रटाएको छ— जो सबैभन्दा गरिब र दीनदुःखी एवं उत्पीडित र अपहेलित छ, कम्निस्ट उसको परम् मित्र हो । उसको जागरणकर्ता, जीवनको संग्रामीपथको उसको भरपर्दो सहयाक्री, मुत्तिमार्गको उसको अग्रणी एवं सदैव समर्पित योद्धा । कुरो साँच्चि नै यसो हो भने यी पूँपाहा कम्निस्टहरू यो भिखारीका को हुन् ? यो नयाँ युगको सत्य तीतो छ, यी पूँपाहाहरू यो भिखारीका कोही नै होइनन् । आखिर किन ? किनकि यो भिखारीको जीवन सर्वथा उपयोग मूल्यविहीन छ । यो भूस्वामी होइन । तसर्थ यसको नागरिकता छैन । यो अनागरिक भिखारी पूँपाहा कम्निस्टहरूको मतदाता होइन । न त यो तिनको घुसदाता हो, न हो यो तिनको कमिसनदाता नै । यो फुकिढल छ, तसर्थ यो तिनको बाहुबलदाता पनि होइन । गद्दीनसीनपूँपाहा कम्निस्टहरूका दृष्टिमा यो अकिञ्चन भिखारीको एक पित्कोधरी उपयोग मूल्य छैन । तसर्थ यो बाँचोस् कि मरोस्, तिनलाई बाल मतलब छैन । उसो त नानाओली नौरंगी मानव अधिकारवादीहरूका दृष्टिमा पनि यसको कुनै उपयोग मूल्य छैन । न त अनेकओली धन्दाजीवी नागरिक सामाजका दृष्टिमा नै यसको खासै उपयोग मूल्य छ । जगत् जान्दछ— यस्ता बेवारिसे आबाराहरूमाथि धनधान्यले परिपूर्ण करुणामयी दाताले लगानी गर्दैन । चतुर दाताश्रीको हिसाब सोझो छ— जहाँ लाभको गुञ्जायस छैन, त्यहाँ बित्थामा के को लगानी ? थोडै जीवनदायी जल जीवनशून्य बालुवामा छम्केर नास गर्नु छ र !


सत्ताधारी पूँपाहाहरू झीना–मसिना कुरालाई न गन्छन्, न त कुनै भाउ दिन्छन् । नाथे झिखारी, मुसहर, डोम, चमार, अमुक्त ‘मुत्त कमैया’, हलैया, बोक्सीप्रथा प्रताडित महिला, छाउपडीप्रथा पीडित नारी, खाडीबाट बाकसमा फर्किने हदअभागी, जीवनजल नपाई मर्ने तन्नम आदि इत्यादिका समस्या के हुन् ? यी सब त केवल झीना–मसिना कुरा हुन् । बिल्कुल नगण्य । यो ब्रह्माण्डको अपार विशालतासामु नाथे सामान्य जनको दैनिकीको के अर्थ ? यो अजंगको विश्वसमक्ष तिनको रोजीरोटी, तिनको दबाईमुलो, तिनका लालाबालाको कपुरी ‘क’, तिनको सुरक्षा र प्रतिष्ठा, तिनका ससाना सपना र आकांक्षाहरू— यी सब खुद्रा–मसिना कुराको के अर्थ छ ? अर्थ त बृहत्को छ । अर्थ विराटको छ । अर्थ विशालको छ । अर्थ उच्चको छ । अर्थ धुँधडाकको छ । अर्थ माथि, झन्माथि शिखरको छ । हो, अर्थ विराट रेलको छ । अर्थ विशाल पानीजहाजको छ । अर्थ बृहत् सडकको छ । अर्थ भयंकर विमानस्थलको छ । अर्थ अथाह भारबाहक वाइडबडी विमानको छ । अर्थ चामत्कारिक स्मार्ट सहरको छ । अर्थ गगनचुम्बी भ्यूटावरको छ । अर्थ जङ्गी मलको छ । अर्थ तिरिमिरी सुपरमार्केटको छ । आखिर जेमा चमकधमक छ, जेमा धुँधडाक छ, जेमा गर्जन–तर्जन छ, जेमा धाक–रबाफ छ र जेमा सहजै जगत्को दृष्टि खचिन्छि, अर्थ त केवल त्यसको न छ । बाँकी जे छ, त्यो सब केवल जीवनको नगण्य तपसिल हो । त्यो सब त फगत जीवनको नाथे पाद टिप्पणी हो । यो हो पूँपाहा कम्निस्टहरूको जीवनदृष्टि, जगत्दृष्टि र विकासदृष्टि । र, यो हो यी असाधारण प्रतिभाहरूको नयाँ युगको दिग्दर्शनकारी परिकल्पना । यो विराट र विशाल एवं उच्च र विशिष्टको अनुपम महत्ता नबुझी जो यसका विरलाकोटी स्रष्टाका कुरा काट्छन्, ती अल्पमति एवं मन्दमति कुपमण्डुपहरू हुन् । ती छन्, त्यसैले तिनलाई सद्बुद्धि प्रदान गर्न पूँपाहाका बफादार अरिंगालहरू नाकानाकामा तैनाथ छन् ।

सत्ताधारी पूँपाहा कम्निस्टहरूका आफ्नै प्राथमिकताहरू छन् । नाम जस्तो छ, यिनको प्राथमिकता उस्तै छ । प्रतीकात्मक व्यवहारले तर स्पष्ट बुझिने गरी पूँपाहा भन्छ— धन, मान र चैन पहिले मलाई, त्यसपछि मेराहरूलाई । रहलपहल धन, मान र चैन अनि तँलाई, त्यसपछि तेराहरूलाई । झट्ट सुन्दा यो प्राथमिकतामा पूँपाहामा आएको ठूलो विचलन गोचर हुन्छ । पहिले, सडकमा छँदा ऊ बडो भावुक हुँदै खाने बेलामा तेरो पेट पहिले, मेरो पेट पछि भन्थ्यो । र ऊ यो पनि भन्थ्यो— मर्ने बेलामा तेरो गर्धन मुनि, मेरो गर्धन माथिे । अहिले युग नयाँ ल्यायो । र, नयाँ युगको प्रवर्तक यो पूँपाहा भन्छ— नयाँ युगमा युग सुहाउँदो प्राथमिकता त हुने नै भयो । जसले जे भनोस्, अबको प्राथमिकता यही हो— पहिले म, त्यसपछि तँ !


आफ्नो जब्बर मुठ्ठीमा सिङ्गो सत्ता छ । सत्ताको यावत् अख्तियार छ । सत्ताको सारा स्रोतसाधन छ । कानुन बनाउने साँचो डल्लै आफ्नो हातमा छ । गोली चलाउने बन्दुकमाथि आफ्नो पूरै एकाधिकार छ । तैपनि पूँपाहा कम्निस्टहरूका आफ्नै दुःख छन् । अनेकओली दारुण दुःखहरू ! पश्चात्तापको मुद्रामा पूँपाहा गम खान्छ— विगतमा आफ्नो भविष्यको किञ्चित् पर्बाह नगरी ठूल्ठूला भूल गरिएछन् । विगतमा सादा जीवन, उच्च विचारको रुमानी सूत्र खुब रटियो, खुब रटायौं । आखिरमा यही रटनाबाट लोकमानसमा आफ्नो आदर्श चिनारी बन्यो । र, यही चिनारीको पछि लागेर तन्नम दुनियाँ जगत् फेर्ने संग्राममा मर्न–मार्न तयार भयो । तर, अहिले जब सत्ता हात लाग्यो, आफ्नो यही सूत्र आफैँलाई गलापासो भयो । सामान्य न्यायका हिसाबले क्रान्तिको फल क्रान्तिका अग्रदूतहरूका लागि पनि त हनुपर्ने हो । तर, लोकमानसमा यो रटिरटाउ सूत्रले होइन भन्ने अनर्थ अर्थ सम्प्रेषण गरेको छ । त्यसैले छिसिक्क केही गर्नु हुँदैन, खायो भन्ने बात लाग्छ । नपत्याए ल सुन यो हल्लाखल्ला ः यसले हेलिकप्टर खायो ! मर्सिडिज खायो ! वाइडबडी खायो ! एनसेल खायो ! सडक खायो ! घूस खायो ! कमिसन खायो ! घरभाडा खायो ! मह खायो ! घिउ खायो ! कुराउनी खायो ! केरा खायो ! मार्सी खायो ! मानौँ क्रान्तिकारीको काम–कर्तव्य खुकुरीको धारमा खुट्टा टेकेर भोकै–नाङ्गै लड्नु र सत्ता जितेपछि भोकै–नाङ्गै भुतुभुतु मर्नु हो । हेर्नोस् त बरा पूँपाहा कम्निस्टहरूका दुःख ! जिन्दगीभरिको तृष्णाले आँत त्यसैत्यसै जलेको छ, मौकामा अलिकता भोग, सोख र मोज गरेको पनि अहारिसे लोक देखिसहँदैन । पूँपाहा कम्निस्टहरूलाई कहिलेकाहीँ त यो जनता भन्ने जिनिस गणेशमान सिंहका भेडाको विवेकहीन बगालजस्तो लाग्छ । यसमा क्रान्तिका नायकहरूप्रति एकरत्ती करुणाभाव छैन, कत्ति कृतज्ञताभाव छैन । हर्दम कसले कता के खाला भनेर चीलले चल्लालाई हेर्ने सिकारी आँखाले हेर्‍या छ–हेर्‍या छ । अनि शत्रुपक्षको हाहाको पछि लागेर हो हो भन्दै कुद्या छ ।


चिन्ताग्रस्तपूँपाहा तर्कना गर्छ— मानिस अजीवको ग्रन्थि हो । एकोहोरो, आँधो, अघोरी, हरिप र कृतघ्न । मुख छ भन्दैमा दायाँबायाँ, अघिपछि, तलमाथि केही नेहेरी, नतिजा नसोची जे पायो त्यही भन्ने । पूँपाहा यहाँनेर बडो आक्रोशित मुद्रामा मनचिन्ते कुरा खेलाउँछ— सकिन्न र मात्रै, नत्र यो झ्याउलोबाट छुट्कारा पाउन केही न केही अवश्य गरिन्थ्यो । शब्दकोश र मानवस्मृतिबाट ‘सादगी’ र ‘त्याग’ शब्दलाई सदाका लागि मेटिन्थ्यो । यत्रो जनमतको भर्‍याङ चढेर सत्ताको भतेरमा उक्लिनु, अनि अघोरी डा. गोविन्द केसीझैँ नित्य निराहार बस्नु ? आँखो छ, त्यसैले आँखाले भतेरमा बहुविध परिकारहरू देख्छ । नाक छ, त्यसैले नाकले भतेरमा मनोहारी बास्ना सुँघ्छ । जिब्रो छ, त्यसैले लालची जिब्राले घुटुक्क थुक निल्छ । उदर छ, त्यसैले चाउरिएको उदरले मीठोमसिनो अहार माग्छ । अनि ? कत्रा दुःखले भतेरमा पुगेर भोकै तड्पिइरहनु ! असम्भव । यो किमार्थ मानिदैन । जीवनका वासी परिभाषाहरू फेरिन्छ र मौकामा केही गरिन्छ । अत्ति गर्ने नाथेहरूलाई जंगी अरिंगाल सेनाले खुत्रुक्कै थला बसाइन्छ ।

सत्ताधारी पूँपाहा कम्निस्ट समृद्धिको बाटो हिँडेर दीनहीन लोकलाई सुख बाँड्दै समाजवादतर्फ पाइला चाल्न कटिबद्ध छ । कर्मले के होला त्यो भोलिले देखाउला, आज कम से कम जिब्राले यो पल प्रतिपल कटिबद्ध छ । अन्य कुराहरूझैँ समृद्धि हासिल गर्ने र वितरण गर्ने यसको काइदा पनि हुनुसम्म मौलिक छ । अर्थात् माथिमाथि समृद्धि, र माथिमाथि नै वितरण । यहाँ पनि कुराको सार आखिर उही हो— समृद्धि पहिले मलाई र मेराहरूलाई । रहरलपहल समृद्धि अनि त्यसपछि तँलाई र तेराहरूलाई । उपभोगका साधनहरू सीमित हुनु र हात थाप्ने तृषितहरू असीमित हुनुका आफ्नै दुःख छन् । निरपेक्ष समानतामा बहकिएर सीमित साधन सबैलाई बराबरी बाँड्नु भनेको ढ्याब्रे हात्तीका मुखमा कणतुल्य जिरोजस्तै हो । तर सीमित साधन माथिदेखि तल जब आलोपालो गरी बाँडिन्छ, पाउनेलाई केही पाएजस्तो हुन्छ, खानेलाई केही खाएजस्तो हुन्छ । समृद्धिको पुष्टकारीले माथि–माथिका सेवाग्राहीहरू पुष्टिँदै जाँदा तिनका देहमा मनग्ये बोसो लाग्न बेर लाग्दैन । जब त्यो बोसो पग्लिन्छ, त्यो ट्रिकल डाउन हुन थाल्छ । र, समृद्धिको तुरतुरे धारो तलका अगणित अभागीहरू, कंगालीहरू र भिखारीहरूका थाल–थालमा तप्तप् चुहुन्छ । न्याय र सुखको क्रमागत वितरणको सर्वाधिक विवेकपूर्ण विधि आखिर यही त हो । समृद्धिले जब फड्को मार्छ तब देश र जनताको अनुहार हेर्न लायकको हुन्छ । र, अब उसैगरी उच्च तहबाट त्यो हेर्ने मेसो सुरु हुन्छ । मुलुकका चमत्कारी कार्यकारीको अप्रतिम निर्वाचन क्षेत्रमा विश्वकै उच्चतम् भ्यूटावर बनेको हुनेछ । गाँठ्ठे, चानचुन पौने तीन करोड थैलोको भ्यूटावर ! देश–दुनियाँले अहोभाग्यले पाएका कार्यकारी नायक आफ्नो कार्यसिद्धिको जादुगरी कलाबाट त्यसैत्यसै मखलेल हुँदै गगनचुम्बी भ्यूटावरबाट धरातलको दृश्यावली नजर गर्नेछन् । उनी तल कतै पेटीमा मर्न लोगेको भिखारी देख्नेछन् । कतै हत्या गरिएकी किशोरीलाई न्याय माग्नेहरूको चरम् आवेगी जुलुस देख्नेछन् । र, कतै ‘दिशामुक्त क्षेत्र’ मा दिशा गर्दा रंगेहात पक्राउ परी कर्तव्यनिष्ठ प्रहरीद्वारा नाङ्गै सहर घुमाइँदै गरेको चर्पीविहीन मुसहरको दर्शनीय दशा देख्नेछन् । आयो कुरा अब समस्त नरलोककै आदर्श दृष्टान्त भनिन लायककी राष्ट्रपति मयोदयाको । हंसमा देवीको अंश भएकी राष्ट्रपतिद्वारा आफ्नो दुर्लभ एवं अनमोल ज्यान आफू सुहाउँदो ३ अर्बको हेलिकप्टरमा सवार गराई बक्सनेछ । र, नवनिर्मित भ्यूटावरमाथिबाट तल धूलीकणको लोकजीवन बडो प्रसन्न मुद्रामा नजर गरिबक्सनेछ । अनि सुलसुले पत्रकार पूँपाहा कम्निस्टका उपद्रै मृदुभाषी प्रवक्तालाई सोध्नेछ—
सुयोग्य मान्यवर ! त्यो उचाइबाट निचाइमा नजर गर्दा हाम्रा यी उच्च मानवद्वयका दिव्य दृष्टिमा झल्किने धरतीको विशिष्ट दृश्यबारे केही अनुमान गर्न सकिएला कि ? पुक्खली पूँपाहा प्रवक्ताका वाचाल जिब्राका टुप्पामा उत्तर हाजिर हुनेछ । मिठ्याउँदै उसले भन्नेछ— हे पत्रकार, सकिन्छ । सुन ! त्यो दृश्यमा निश्चय नै विविधता झल्किनेछ । त्यहाँ समृद्ध र सुखी मानव पनि गोचर हुनेछ । त्यहाँ कंगाली र दुःखी भिखारी पनि गोचर हुनेछ । पछि–पछिसम्म समृद्धिमय सत्कर्म गर्दै समाजवादतिर गइरहन गरिब, तन्नम र भिखारीको बीउ त जोगिनैपर्छ । यो पूँपाहा कम्निस्टको विकाससम्बन्धी दर्शनको अमूल्य सार हो ।
यहाँनेर जडी कुरो अर्को एउटा पनि छ । यथार्थवादी पूँपाहा प्रवक्ताले जिज्ञासु पत्रकारका कानमा खुसुक्क भन्नेछ— त्यो क्या त्यो छ नि त्यो केजाति राष्ट्रवाद ? अँ, औधी गुनिलो र सदा लाभदायक हाम्रो मधुमय त्यो राष्ट्रवाद ! भोगिजान्ने भाग्यमानीलाई थाहा छ पत्रकार, त्यो राष्ट्रवादको ध्वजा नित्य सम्मोहक छ । त्यसले लोकलाई मुग्ध तुल्याउने लोकप्रियता हठात् आर्जन गरिदिन्छ । तसर्थ राष्ट्रवाद जीवन्त रहन देशमा अलिकता दरिद्रता, अलिकता याचकपन, अलिकता पराश्रय र अलिकता आत्महीनता बाँकी रहनु अनिवार्य छ । यो कुरा अफ द रेकर्ड रहोस् पत्रकार, यो बाँकी नरहे सत्तारोहण गर्ने जादुगरी सोपान हामीले कुन जुक्तिले हात पार्नु ? तसर्थ हामी भन्छौँ— खटाइ–खटाइ समृद्धि, किस्ता–किस्ता गरी समृद्धि, शनैःशनैः समृद्धि । र, सोची–विचारी समाजवादतिर, पाइला–पाइला गरी समाजवादतिर, शनैःशनैः समाजवादतिर । यो हो पूँपाहा कम्निस्टको गति र प्रगति एवं समृद्धि र सुखको मौलिक सूत्र ।


जगत् नित्य गतिमान् छ । समाजवादमुखी समृद्धितर्फको पूँपाहा अभियान चल्दो छ । बिना हुटहुटी, बिना हतार, चिप्ले कीराको गतिमा सुस्तसुस्त । सत्य हो, समृद्धिको सुन्दर पथ निष्कण्टक छैन । नवीन राजनीतिक स्रष्टाहरूद्वारा सिर्जित यो सुन्दर पथमा कुरूप अवरोधहरू पैदा गर्ने तत्त्वहरू बहुल छन् । लेखक र कवि, गायक र कलाकार, चिन्तक र प्राज्ञ, पत्रकार र अनुसन्धाता, टिप्पणीकार र विश्लेषक, एनजीओ र आईएनजीओ, आदि र इत्यादि । सकल अविवेकी, अराजक, अघोरी, अटेरी र अमनचैन एवं प्रगति विरोधी तत्त्वहरू । जब यी नौरंगी अनिष्टकारी तत्त्वहरू स्वतन्त्रताको घण्ट बजाउँदै दुःख दिन्छन्, पूँपाहा कम्निस्टका शिखर पुरुषहरूलाई चल्नुविधि झोँक चल्छ । टुप्पीबाट झोँकको धूवाँ छुटेको बेचैन क्षणमा यिनको अतिशय क्रुद्ध चित्त सान्त्वनाकारी सहारा खोज्छ । र, पूँपाहा महलका शीर्ष पुरुषहरूलाई झ्याट्ट उत्तर कोरियाको याद आउँछ । अहा ! क्या छ उत्तर कोरिया ! क्या कानुन र व्यवस्था छ ! क्या अनुशासन र मर्यादा छ ! एक जना महान् नेता कमरेड किम जोङ इल बोल्छन्, सिङ्गो देश शिर निहुराएर चुपचाप सुन्छ । कमरेड किम ‘उठ्’ भन्छन्, सिङ्गो देश जुरुक्क उठ्छ । कमरेड किम ‘बस’् भन्छन्, सिङ्गो देश थ्याच्च बस्छ । बुद्धिजीवी हुँ भन्ने जीवात्ले यहाँजस्तो बकबक गरे थलैमा त्यसको जिब्रो थुतिन्छ । उता नित्य काम हुन्छ, यता नित्य बककास चल्छ । कमरेड किम जोङ इलको छत्रछायामा उता अनुपम राष्ट्रिय एकता छ । पठित पागलहरूको ताण्डव व्याप्त भएको यता हाम्रोमा भयंकर राष्ट्रिय विभाजन छ । यहाँनेर पूँपाहा कम्निस्टहरूलाई ईर्ष्या लाग्छ— त्यस्तो अनुशासन र मर्यादा भए पो विकासले गति लिन्छ, समृद्धिले फड्को मार्छ, सुखको मूल फुट्छ र समाजवादको दैलो उघ्रिन्छ । पूँपाहा महलका हर्ताकर्ताहरू अथक पिराहा पठितहरूसँग मुर्मुरिँदै दृढ संकल्प गर्छन्— हेर्दै जाऔँ न । हामी पनि चतुर्‍याइँसाथ व्यूह रचना गर्दै, घरी शत्रुपक्षहरूका आँखा छलेर र घरी निजरुलाई दमन गरेर शनैःशनैः जादुगरी, चमत्कारी, सम्मोहक, देदीप्यमान र निष्कण्टककिम जोङ इल पथतिर...।

प्रकाशित : फाल्गुन ११, २०७५ ११:५९
प्रतिक्रिया
पठाउनुहोस्

जो नहुँदा पनि सँगै छन्

पात्र
मदनमणि माड्सापको कठोर सर्त थियो– पहिले बिन्तीपत्र लेखेर माफी माग, त्यसपछि विचार गरुँला ।
खगेन्द्र संग्रौला

काठमाडौँ — जीवनभर जो निमुखा भुइँमानिसका बोली थिए, भर्खरै तिनले सदाका लागि बोली बिसाए । जो गरिखाने जनका आँखाका नानी र ठगीखाने जीवात्का आँखाका कसिंगर थिए, तिनले फेरि कहिल्यै नखुल्ने गरी आँखा चिम्ले । र, कृतज्ञताभावले नतमस्तक हुँदै उदास मुद्रामा हामीले भन्यौँ— श्यामप्रसाद अब सशरीर हामीमाझ रहेनन् ।

बरा यो लेखको आफ्नै दु:खद कथा छ । कुरा त्यस्तै डेढ वर्षअघिको हो । यो नरलोकमा कोही थिए, जो सदाका लागि अलप भए । जो दृष्टिबाट हराए भए, ती मेरो जीवनमा धेरै थोक थिए । लगत्तै ‘कोसेली’ का पुरुषोत्तम सुवेदीको खटन आयो— बूढाबारे केही लेखिपाऊँ न दा । सुवेदी ब्रोको खटन मानेर आदरभाव र शोकमिश्रित मुद्रामा यसो केही लेख्न बसेँ म । पाँच–सात सय शब्द लेखिनु के थियो ज्यानमा हठात् ऐय्याआत्थो सुरु भयो । र, म गंगालाल अस्पतालको शरण पर्न विवश भएँ । लेख अधुरै रह्यो । र, दैनन्दिनका नानाओली झैझमेलाहरूमाझ यो विस्मृत भयो । अहिले झल्यास्स सम्झना हुँदा केही थपथाप गरी यो दुखिया गनथन यहाँ प्रस्तुत छ । यो लेखका सहृदयी प्रेरक पुसु ब्रोलाई धन्यवाद नदिनु ठूलै बैगुन हुनेछ ।
***

जीवनभर जो निमुखा भुइँमानिसका बोली थिए, भर्खरै तिनले सदाका लागि बोली बिसाए । जो गरिखाने जनका आँखाका नानी र ठगीखाने जीवात्का आँखाका कसिंगर थिए, तिनले फेरि कहिल्यै नखुल्ने गरी आँखा चिम्ले । तिनका सोच्ने मस्तिष्क, बोल्ने जिब्रो र लेख्ने हातले सधैँका लागि विश्राम लिए । र, कृतज्ञताभावले नतमस्तक हुँदै उदास मुद्रामा हामीले भन्यौँ— श्यामप्रसाद अब सशरीर हामीमाझ रहेनन् † उनी अब केवल आफ्ना कृतिहरूको आलोकमा र हाम्रा स्मृतिहरूका पत्रमा जीवित छन् । माधवप्रसाद घिमिरे, सत्यमोहन जोशी र मदनमणि दीक्षित आयुका हिसाबले असामान्य मानव हुन् । यी त्रिमूर्ति लोकलाई चकित तुल्याउँदै अपवादजन्य आयु भोग गरिरहेका छन् । सामान्यजनका लागि अठासी वर्षको आयु यथेष्ट हो । श्यामप्रसादले अठासीको खुट्किलो टेकेर पार्किन्सनपीडित जीवन त्याग गरे । तथ्यलाई सिरानी हालेर मस्त मुद्रामा सुत्ने कतिपय सञ्चार माध्यमले १० वर्ष थपेर श्यामजीलाई ९८ वर्षको आयु प्रदान गरे । कुम्भकर्णका यी निष्णात उत्तराधिकारीहरूको फर्माएसी उदारता स्तुत्य छ !
***

धरती स्पर्श गरेको साल संवत् १९८६, ठाउँ ललितपुरको सोलीथुम । गरिबी विकराल थियो । खानका दु:खले बा जोगनाथ कुम्ला–कुटुरा बोकेर वीरगन्ज झरे । आमा हुतकुमारीको काखमा पाँच वर्षका बालक थिए । ती हुन्, यिनै प्रिय श्यामप्रसाद । यी भोका आत्माहरू एकबारको जुनीको प्राण धान्न बहादुरशमशेरको मौजाको शरण गरे । भाबर गर्मी वीरगन्ज, त्यो पनि उबेलाको । अनिकालले गलेकी आमा हुतकुमारीलाई केही वर्षमै औलोले निल्यो । श्यामप्रसादले कखरा बासँग घरमै सिके । अनि अलि दिन भाषा पाठशालामा पढे पनि । जब बाले पनि आमाकै बाटो समाए तब सुरु भयो किशोर बयका श्यामप्रसादको अस्तित्वको कठोर संघर्ष । मनमा पढ्ने उपद्रो धोको थियो । जगत्का जटिलताहरू बुझ्न ज्ञानको तीव्र तृष्णा थियो । त्यसैले होला सायद तन्नम श्यामप्रसादले पुस्तक–पत्रिकाको धन्दा सुरु गरे । वीरगन्ज–अमलेखगन्ज रेलमा हकरी कर्म गर्दै उनले पुस्तक–पत्रिका बेचे । चुनदाम जोड्न ट्युसन पढाए । निरक्षरहरूका चिठ्ठी लेखिदिए र चिठ्ठी पढिदिए । अनि सानाकाँटीका श्यामप्रसादले सानै काँटीको पुस्तक पसल खोले । पसलको नाम सायद सुविचारित थियो— सेवा सदन । त्यसमा सायद उनका जीवनको प्रयोजन प्रतिविम्बित थियो— सेवा । उनी पारि रक्सौलबाट उधारोमा पुस्तक–पत्रिका ल्याउँथे । कहिले टिनका थोत्रा बाकसमा, कहिले जुटका झुत्रा बोरामा । पसलको देखाउने दाँत एउटा थियो, खाने दाँत अर्कै थियो । बाहिरी तहमा धार्मिक, जासुसी र कोकाशास्त्रीय पुस्तक राखिन्थे, भित्री तहमा दार्शनिक र राजनीतिक पुस्तक । त्यहाँ भूमिगत तहमा राहुल सांस्कृत्यायन, यशपाल आदि लुकिबसेका हुन्थे । दु:खजिलो गरी दुई–चार पैसा बचाएर श्यामप्रसाद त्रिजुद्ध हाइस्कुलमा भर्ना भए । उमेर थियो १५ वर्ष, पढ्ने कक्षा ५ मा ।

पुस्तकझैँ श्यामप्रसादका साथी पनि दुईथरी थिए । देखाउने साथी र लुकाउने साथी । लुकाउने साथीमा एक जना थिए धनुषचन्द्र गौतम । श्याम राजनीतिका गुरु, धच उनका चेला । ती मिलनसार जोडा पसलभित्र लुकेर वागी पुस्तक पढ्थे, साउतीको भाकामा राजनीतिक बात मार्थे । सार्वजनिक जीवनको थालनी कालमा श्यामप्रसाद कांग्रेसी राजनीतिका आज्ञाकारी शिष्य थिए । म जन्मेको सालमा अन्धकारको आवरणमा लुकेर श्यामप्रसादले वीरगन्ज नगरीभरि पर्चा छरे । कल्पना गर्दैमा आङ सिरिंग हुने राणा शासनविरोधी अग्निवर्षी पर्चा † पर्चाको हुंकारले वीरगन्जको घातक सन्नाटा भंग भयो र सहरैभरि सन्सनीका उत्ताल तरंगहरू उठे । यता म आमाको काखमा च्याँच्याँ रुँदै थिएँ, उता श्यामप्रसाद पर्चामा निरंकुशतन्त्र मुर्दावाद भन्दै थिए । मान्छे साना, उमेर सानो, सम्पर्क भने बडेबडे हस्तीहरूसँग । किसुनजीसँग, सूर्यप्रसाद, सुवर्ण र गणेशमानसँग । तिनकै प्रेरणा र आह्वानमा अत्याचारी राणा शासनलाई ढाल्न श्यामप्रसाद सत्याग्रहमा डटे । उनी पक्राउ परे, छुटे । फेरि पक्राउ परे, फेरि छुटे । भित्र र बाहिरको यो क्रम श्वास–प्रश्वासझैँ नित्य चलिरह्यो । राणशाही जेलमा तातो समयका एक से एक वागीहरू भेटिए । कवि युद्धप्रसाद मिश्र र गोपालप्रसाद रिमाल, धर्मरत्न यमि र सूर्यबहादुर भारद्वाज, र अलिपछि झर्झराउँदा तरुण कामरेड पुष्पलाल । ‘दिल्ली सम्झौता धोका हो’ को लाल तुमुल ध्वनिले कांग्रेसप्रति श्यामप्रसादको मोह टुटायो । र, उनी झ्याप्पै लाल वाम बने । संसारका मजदुरहरू एक होऔँ ! लाल क्रान्ति गरौँ, सत्ता खोसौँ, संसार फेरौँ ! बस्, यिनै सूत्रहरूको आवेगी लयमा बग्दै श्यामप्रसाद जौडे लाल वाम बन्दै गए ।

श्यामप्रसादमा गरिबीको अभिशापले अधुरै छुटेको औपचारिक पठनको अदम्य तृष्णा छँदै थियो । कम्तीमा पनि जिन्दगीमा म्याट्रिक त गरूँ— यो थियो आफ्नै छायाले झैँ उनलाई पछ्याइरहने एउटा धोको । त्रिजुद्ध हाइस्कुलमा उनले विन्ती बिसाए— सर, म्याट्रिक गर्न म पुन: भर्ना हुन पाऊँ । हेड मास्टरको उच्च आसनमा मान्यवर मदनमणि दीक्षित थिए । उसै त दीक्षित, त्यसमाथि ऊबेलाका † मदनमणि माड्सापले कठोर सर्त राखे— पहिले बिन्तीपत्र लेखेर माफी माग्, त्यसपछि विचार गरुँला । यो राणाविरोधी पर्चा र सत्याग्रहको कसुरबापतको माफी थियो । श्यामप्रसाद झुकेनन्, मदनमणि माड्सापले कृपा गरेनन् । खिन्न श्यामप्रसाद म्याट्रिकको घायल सपना अघि लगाएर सीमापारि मोतीहारीको शरण परे । तर, उनको सपना गरिबीको दुश्चक्रमा परी उडायो सपना सबै हुरीले भनेभैँm भयो ।
विचार प्रचारको प्रगाढ मोहले श्यामप्रसाद पत्रिकाहरूका सम्पादक बने । प्राय: उनका पत्रिकाको ध्वनिमा समाज सुधारको गुञ्जन हुन्थ्यो र अन्तर्यमा हुन्थ्यो क्रान्तिचेतको सम्प्रेषणको तीव्र आकांक्षा । कालक्रममा संगठन कर्म उनको दिनचर्याको अभिन्न अंग बन्यो । इतिहास भन्छ— विनयी, मृदुभाषी, मितभाषी र जुधारु श्यामप्रसादका कर्णप्रिय राजनीतक वचनहरूमा प्रभावकारिताको विछट्टको जादु थियो ।
***

श्यामप्रसादको जीवन चिन्तन, सिर्जना र संघर्षको नागबेली यात्रा हो । यो दीर्घ यात्राका अनेक उकाली र ओराली छन्, दृश्यमान् र अदृश्य अवस्था छन्, जय र पराजय छन्, अडान र विचलन छन्, गति र विराम छन् । कुरा २००४ सालको हो । भनिसकेँ, म वर्ष दिनको कलिलो मुना छँदा अठाह्र वर्षका श्यामप्रसाद राणा शासनविरोधी सत्याग्रहमा सामेल भएका थिए । उनको तन्नेरी जोस र उमंगले भरिपूर्ण हातले सत्य र न्यायको सुन्दर ध्वजा बोकेको थियो । श्यामप्रसादको ‘थुनुवाको डायरी’ यस तथ्यको जीवन्त प्रमाण हो । पछि वृद्ध श्यामप्रसाद ६२/६३ सालको शाही फौजी ताण्डवको प्रतिकारमा पनि सानका साथ खडा भए । इतिहासको फड्के किनारमा देखिजान्ने साक्षी हामी छौँ ।
***

विक्रमाब्दको बीसको दशकमा आशाका पखेटा चालेर उज्यालोको खोजीमा म काठमाडौँ आएँ । त्यो बेलासम्म श्यामप्रसाद कुन चराको नाम हो मलाई थाहा थिएन । वाम झुकाव र साहित्यको चाखले डोर्‍याएर मलाई भावनी घिमिरे, गोविन्द भट्ट, शान्तदास मानन्धर, जनकप्रसाद हुमागाईँ र टीआर विश्वकर्माका समीपमा पुर्‍याए । र, यिनै महानुभवका मुखारविन्दबाट मैले श्यामप्रसादको नाम सुनेँ । भवानी दाइ श्यामप्रसादको उतिविधि चर्चा गर्दैनथे । भट्ट, मानन्धर, हुमागाईं र विश्वकर्माका जिब्राका टुप्पामा श्यामप्रसाद सधैँ झुन्डिएका हुन्थे । तिनले ‘श्यामजी’ भनेर बडो आदरभावका साथ उनलाई पुकार्थे । यही बेला मेरो प्रगतिशील पाठशाला सुरु भयो । श्यामप्रसाद मेरा अदृश्य गुरु बने, र उनका कृतिहरू बने मेरा दृश्यमान् गृहकार्यहरू । मैले श्यामजीका चारवटा पुस्तक पढेँ । ‘बहिनीलाई चिठ्ठी’, ‘लेखक कसरी बन्ने ?’, ‘साहित्यसम्बन्धी दुई–चार कुरा’ र ‘तँ, तिमी, तपाईं, हजूर’ । श्यामजीका मैले पहिले पढेका पुस्तक पनि यिनै हुन्, मेरो चित्तको भित्तोमा दीघो छाप पार्ने उनका पुस्तक पनि यिनै हुन् । वास्तवमा यी चारवटा पुस्तक मेरालागि श्यामजीको नामकै पर्याय हुन् भने पनि हुन्छ । यीबाहेक श्यामजीका पछिका अरू अनेक मसिना पुस्तकहरू सम्झिन मैले कन्नुपर्छ ।

यी ती चारवटा पुस्तक हुन्, जसले नेपाली साहित्यमा माक्र्सवाद प्रेरित प्रगतिशीलताको शिलान्यास गरे । आफ्नो साधना र अभियान एवं चिन्तन र सिर्जनाको आलोकमा शिलान्यासकर्ता थिए थर किटेर लामिछाने भनिन नरुचाउने श्री श्यामप्रसाद । यी ती चारवटा पुस्तक हुन्, जसले अर्थयुक्त सरलतासाथ साहित्य सिद्धान्त र सिर्जनालाई सामान्य साक्षर पाठकछेउ पुर्‍याए र तिनको बोधक्षमताकोनजिक ल्याए ।

यी चार पुस्तकमा कुनै ठूलो दर्शन, ठूलो सौन्दर्यशास्त्र, ठूलो समाजशास्त्र वा त्यस्तो कुनै विराट चिन्तन छैन । तथापि यी चार पुस्तकमा विछट्टको सरलतामा विशिष्ट अर्थ र महत्ता निहित छ । यी पुस्तकमा साहित्यको प्रयोजन र प्रकृति, साहित्यको प्रयोग र प्रभाव तथा साहित्यको आनन्ददायी, रुचि परिमार्जनकारी एवं जागरणकारी विशेषताको सरलतम व्याख्या छ । साथै यिनमा साहित्य र राजनीतिको अभिव्यक्तिजन्य पृथकता र अभिन्न नाता, साहित्यको पक्षधरता तथा साहित्यको हस्तक्षेपकारी एवं उन्नयनकारी सामथ्र्यको चर्चा पनि छ । श्यामप्रसाद प्रगतिशील साहित्यसम्बन्धी सैद्धान्तिक मान्यता वा सूत्रहरू प्रस्तुत मात्र गर्दैनन्, सिर्जनाको तहमा एक विशिष्ट शिल्पीका रूपमा तिनको प्रयोग र परीक्षण पनि गर्छन् । ‘तँ, तिमी, तपाईं, हजूर’ यस तथ्यको एक सानदार नमुना हो । विभेदकारी समाजका तहगत सम्बन्धहरू भाषामा कसरी प्रकट हुन्छन् ‘तँ, तिमी, तपाईं, हजूर’ यस कुरालाई हेर्ने वाचाल ऐना हो । ‘तँ, तिमी, तपाईं, हजूर’ आकारमा धेरै सानो तर जादुमय भाषा तथा विषयको गहनता र महत्ताका दृष्टिले धेरै ठूलो पुस्तक हो । जीवन–व्यवहारका झिनामसिना विषयहरूलाई उठान गर्नु, तिनलाई समाजका वर्गगत एवं सांस्कृतिक सन्दर्भ र सम्बन्धहरूमा प्रवेश गराउनु, र विस्मयकारी ढंगले जीवनको जटिल यथार्थको उद्घाटन गर्नु कुनै सजिलो काम होइन । श्यामजी यो गाह्रो काम गर्ने विशिष्ट खुबी भएका विरल श्रष्टा हुन् ।

श्यामजीको अभिव्यक्तिजन्य सरलताको विलोममा ईश्वर बराल, यदुनाथ खनाल र वासुदेव त्रिपाठी खडा हुन्छन् । हुनलाई यी दुवैथरी विचारकर्मी र सर्जकको भाषा नेपाली हो । तर, पछिल्ला तीन विद्वान् नेपाली भाषामा संस्कृतका दुरूह गाँठा पार्छन् । र, तिनको भाषाले सामान्य पाठकछेउ पुग्नुअघि नेपालीमा अनुवादको चर्को माग गर्छ । यो भाषागत जटिलता र सरलताको निर्माणमा कर्ताको कुन रुचि, रोजाइ, ग्रन्थि वा मनोविज्ञानले काम गरेको हुँदो हो ? के यो भाषागत पृथकता साहित्यको प्रयोजन र लक्षित पाठकको आवश्यकताद्वारा निर्धारित हुने हो ? हामीलाई जवाफ दिन ईश्वर बराल, यदुनाथ खनाल र श्यामप्रसाद जीवित छैनन् । तर, भाषाका गाँठाकर्मी श्री वासुदेव त्रिपाठी भने इहलोकमा ठम्ठम् हिँडिरहेकै होलान् ।
***

सात साल टेकेर २००९ साल आयो र ‘प्रगतिशील’ लेखक संघ जन्मियो । संघका जनक थिए उनै श्यामप्रसाद । श्यामजीसँग जाबो म्याट्रिकको डिग्री पनि थिएन । तर उनको नेतृत्वमा खडा भए बडेबडे नाम, दाम र डिग्रीधारी मान्यजनहरू । यथा कमणमणि दीक्षित, तारानाथ शर्मा, धर्मराज थापा आदि । म गम्छु, श्यामजीमा केही न केही विशिष्ट वैचारिक, नैतिक र कार्यकुशलताजन्य गुण भएर नै त यी सबको ढ्याके अहंंले उनको नेतृत्व स्वीकार सकार्‍यो होला । सत्र सालमा जब महेन्द्रको फौजीतन्त्रको तरबार उठ्यो, त्यसले प्रलेसको बध गर्‍यो । तथापि २०२४ सालसम्म श्यामजी खुलै थिए । तर चौबीस सालमा उल्का भयो । श्यामजी हठात् दृश्यपटलबाट अन्तध्र्यान भए । के कति कारणले ? के कस्तो प्रयोजनका लागि र कहाँ ? लोकले जान्न पाएन । केही वाम ब्रोहरू थिए, जो रहस्यमय भाकामा भन्थे— श्यामजी जीवित छन् । ती हाम्रै वरिपरि कतै छन् । उनको पार्टी छ । एक मात्र सही पार्टी । सच्चा जनवादी र नित्य गतिमान् पार्टी । श्यामजीको नचाहिँदो खोजीनीति र नाटीकुटी गर्नु प्रतिक्रियावादी दाउ हो । बस्, यसो भनिन्थो र जिज्ञासु शभचिन्तकहरूका मुख थुनिन्थ्यो ।

छयालीस साल आयो, र जनआवेगको आगोले लखेटेर निरंकुश निर्दललाई डाँडो कटायो । त्यो खुला परिवेशमा गुणग्राही लोकलाई श्यामजीको याद आयो । ती कतै छन् भने तिनलाई बाहिर निकाल्नुपर्‍यो । छैनन् भने छन् भनेर ठाँट्न छाड्नुपर्‍यो । यसरी लोक गज्र्यो । कोही थिए, जो श्यामजीलाई आफ्ना खल्तीको गोप्य गुडिया ठान्थे । ती कणहरू अति गोप्यतावादी कहलिन्थे । तिनलाई घेरियो, केरियो र ग्वाँ पारियो । कुरा सत्चालीस सालको हो । चाबेलमा वाम लेखकहरूको सानो भेला भयो । र, श्यामजी दकस मान्दै मानौँ असहज मनोदशामा कतै शून्यबाट अवतरित भए । भेलाको व्यग्र अपेक्षा थियो— श्यामजीले चौबीसवर्षे गुप्तवासको रहस्यको गाँठो फुकाउलान् । र, लोकलाई विशिष्ट कृति र अद्भुत स्मृतिहरूको कोसेली टक्य्राउलान् । दुर्भाग्यवश, त्यस्तो केही भएन । उनले यतिमात्र भने— चौबीस वर्षको गुप्त कथा समयले बताउँदै जाला । तर, नित्य गतिमान् समयले त्यो कहिल्यै बताएन । र, शयामजीको दैहिक अवसानसँगै लोकको दुर्दम जिज्ञासाको पनि अवसान भयो ।
***

कुरा श्यामजी रहस्यमय अन्धकारबाट उज्यालोमा निस्कनुभन्दा एक दशकअघिको हो । त्यो बेला शाही पञ्चायतको वधसँगै प्रगतिशील लेखक संघ वधस्थलबाट बौरिएको थियो । श्यामजीलाई त्यसको अध्यक्ष बनाउने मतो गरियो । पहिले यसका जनक उनै थिए, अब यसका संरक्षकरूपी अध्यक्ष उनै हुने भए । यो उनको सम्मान पनि थियो, हामीलाई उनका जीवन–अनुभवहरूबाट अनुप्राणित हुने अवसर पनि । ख्यालख्यालमै म संघको महासचिव बनाइने भएँ । भावुक हुँदै सोचेँ— श्यामजीको सान्निध्यमा रहन, उनीसँग सहकार्य गर्न र उनका विचार एवं अनुभूतिहरूबाट समृद्ध हुन पाउनु मेरो जीवनको गौरव हो । तर बूढासँग जब साक्षात् संगत भयो, हात लाग्यो निराशायुक्त शून्य र शून्य मात्र । र, मेरो महासचिव्याइँ मैलाई घाँडो भयो । मेरासामु श्यामजी जो थिए, ती उनका विचार, सिर्जना र संघर्षमा भेटिएका मौलिक श्यामजी किमार्थ थिएनन् । मानौँ ती केवल मौलिक श्यामजीका फिका कार्बनकपी हुन् । मानौँ चौबीस वर्षको एकान्तवासमा श्यामजी समयको धड्कन र इतिहासका पदचापहरूबाट सर्वथा विमुख भए । र, त्यो व्यर्थको एकान्तवासको सुस्त र शुष्क जीवन–प्रक्रियामा मानौँ श्यामजीभित्रको जीवन्त विचार र उत्ताल आवेगयुक्त श्यामजीको अवसान भयो ।

मौलिक श्यामजी आफ्नो लेखनीमा समाजका तीक्ष्ण आलोचक थिए । र, अभिव्यक्तिमा थिए ती निख्खर यथार्थवादी । कार्बन कपी श्यामजी नीति–उपदेश भएछन् । चिन्तन र सिर्जनामा नीति–उपदेश लेखनाथकृत ‘तँलाई मालुम छ कि यो कुरा मन’ सँगै थोत्रिएको थियो । त्यही थोत्रोको पट्यारलाग्दो प्रेतरुपी कार्बन कपी श्यामजीमा गोचर भयो । श्यामजीको नीति–उपदेशको ढपलाई एउटा रोचक दृष्टान्तमा हेरूँ । जीवनमा श्यामजीका पत्नी दुईवटी हुँदा भए । पहिली पत्नी सामान्य घरानाकी पुनु वाग्ले थिइन् । पुनुसँग श्यामजीको मागी विवाह भएको थियो । यी जोई–पोइ एक दशक मिलीजुली सँगै बसे । र, त्यसपछि जे भयो, त्यो अनर्थ भयो । श्यामजीले अनपढ र रुढीवादी भनेर सीधासादा पुनुलाई चटक्कै त्यागिदिए । पछि उच्च घरानाकी पठित शशीकलासँग श्यामजीको दाम्पत्य गाँसियो । विडम्बनावश, आफूलाई औधी माया गर्ने पुनुलाई श्यामजीले निर्ममतासाथ त्यागिदिए । श्यामजीले औधी माया गरेकी शशीकलाले उनलाई निर्ममता साथ त्यागिदिइन् । परित्यक्त पुनुको बाँकी जीवन वृद्धाश्रममा बित्यो । परित्यागकारी शशीकलाले एक कृषि प्राविधिकलाई दोस्रो जीवनसाथी रोजिन् । विचित्र संयोगवश, पुनु र शशी दुवैले २०६३ सालमा एकै वर्ष जीवन बिसाए । श्यामजीको जीवनमा पत्नी दुईवटी भए तर उनका जीवनको लामो कालखण्ड एकल त्रासदीमा बित्यो । लाग्छ, त्यो उनकै कृत्यद्वारा आमन्त्रित दु:खद परिणति थियो ।

गुप्त रहस्यबाट निस्केपछि श्यामजीले नीति–उपदेशको भाकामा मसिना पुस्तिकाहरू त कति लेखे कति † तिनमा वर्णित नीति–उपदेशको भाका प्राय: ‘दाम्पत्य जीवन कसरी सफल बनाउने ?’ टाइपको हुन्थ्यो । उनको आफ्नै जीवन–अनुभवको सापेक्षतामा अभिव्यक्तिको यो भाका अयथार्थवादी हो । जीवनमा भोगिएको जे हो त्यो नलेख्नु र जे कपोलकल्पित हो त्यो लेख्नु यथार्थवादविरोधी प्रवृत्ति हो । पूर्वयथार्थवादी श्यामजीले त ‘मेरा दाम्पत्य कसरी बिग्रिए ?’ भनेर पो लेख्नुपथ्र्यो । यस्तो लेखनी घतलाग्दो त हुन्थ्यो नै, त्यो सम्प्रेषणीय र न्यूनाधिक लोकोपयोगी पनि हुँदो हो । र, त्यो उच्च व्यासासनमा बसेर पण्डितजीले जप्ने नीति–वचनको अहंकारबाट मुक्त पनि हुँदो हो ।

मेरा यी वचनहरूमा श्यामजीको कठोर आलोचना पो भयो कि † होला, तर श्रद्धेय व्यक्तित्वको आलोचना अपमान होइन । जीवनमा निर्भूल कोही हुँदैन । प्रत्येक सद्गुणी मानव दुर्गुणसहित सद्गुणी हुन्छ । र, असल र खराब मानव सद्गुण वा दुर्गुणको मात्रा भेदले छुट्टिन्छ । यी यावत् दुर्वलता हुँदाहुँदै श्यामजी महान् लेखक र असल मानिस हुन् । त्यसैले त श्यामजीको स्मृतिसामु श्रद्धानत भई इस्माली लेख्छन्, श्यामजी ‘बाँचुन्जेल वाममार्गी भएरै बाँचे र प्रगतिवादी लेखक भएरै यस धरतीबाट बिदा भए ।’ सत्य हो, कम से कमआफ्नो अभिप्रायमा श्यामजी त्यसरी नै बाँचे, र त्यसरी नै बिदा भए ।

प्रकाशित : पुस २८, २०७५ ०८:३२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्