सपनाको चिहानबाट

तीनवटा एकेडेमी प्राज्ञविहीन भएर महिनौं खाली बसेको कुरा पत्रपत्रिकाले लेखेको लेख्यै छ । खै कहिले सदस्यहरूको पूर्ति गर्ने हो ? दिदीको हन्डर कहिले सक्किने हो ? पार्टीमा नवप्रवेशीहरूकै हालीमुहाली छ भन्ने सुन्छु ।
कान्तिपुर संवाददाता

काठमाडौँ — तिमा दिदीको दुःख र हैरानी देखेर म आफैं हैरान र दिक्क भएको छु । यो उमेरमा आएर पनि अब यत्तिको भागदौड गर्न छाडिदिनुस् भनेको दिदीलाई पटक्कै लाग्दैन ।

दिदी आफ्नै जिद्दीमा अडिनुहुन्छ, कहिले बिहानको चार बजे घरबाट निस्केको मान्छे राति गाडी नपाएर अलपत्र परेपछि केटाहरू बाइक लिएर लिन जानुपर्छ । कहिले भोकै, कहिले प्यासै तैपनि चेत आएको हैन । आफू हिंडिरहेको बाटोलाई बदल्ने सोच आएकै हैन, प्रयास गरेकै हैन ।


यो भागदौड, यो समर्पण र यो योगदानले दिदीलाई के नै दियो र ? रातोदिनको हन्डर, जीवनभरि ठक्कर र एक्लोपनको पीडाबाहेक केही पनि दिएन त । कत्ति भनिसकें, घरैमा बसेर लेख्नुहोस्, साथीभाइहरूसँग भेटघाट गर्न मन लाग्यो भने मिलेसम्म घरैमा बोलाउनुस्, आउने साथीभाइहरूलाई के खुवाउन मन लाग्छ, बुहारीहरूले पकाइदिइहाल्छन् । कहिलेकाहीं बाहिर जान मन लागे भदाहरूले बाइकमा राखेर लगिदिहाल्छन् भन्यो दिदीले सुने पो । एक डेढ महिना भयो दिदीलाई झन् असारको पन्ध्र आएजस्तो भएको छ । खै, कहाँ जाने हो, के गर्ने हो बिहानै हिंडेको मान्छे रात नपरी घर फर्किने हैन । दिनभरि न राम्रोसँग खानु छ, न पानी पिउनु छ । घर आइसकेपछि अनि यो भयो, त्यो भयो, यहाँ दुख्यो, त्यहाँ दुख्यो भन्यो, स्याहार गर्ने बुहारीहरूलाई हैरान । तैपनि भाइबुहारी र भदाबुहारीहरूले सासू हैन आमा स्याहरेझैँ स्याहरेकै छन् ।


‘के काममा दौडिरहनुभएको छ, दिदी, रात दिन ?’ आज बिहान दिदी घरैमा भएकाले चिया पिउने बेलामा मैले सोधें । मेरो प्रश्न जवाफ दिनलाई दिदीले आनाकानी गरे पनि मैले कर गरेपछि भन्नुभयो, ‘हेर्न, त्यै’ पार्टीका लागि काम गर्दागर्दै तेरो भिनाजुको ज्यान गयो, पार्टीकै काम गर्दा एउटा भएको छोरो पनि रहेन । म रातदिन पार्टीकै लागि खटिरहेकी छु तर सत्तामा भएको पार्टीले वास्तै गर्दैन । नेताहरूले पनि अचेल त नचिनेजस्तो पो गर्छन्, भेट दिनै गाह्रो मान्छन् । पार्टी सत्तामा गएको बेलामा पनि मजस्तो कार्यकर्तालाई पार्टीले नसम्झिने हो भने कहिले सम्झिने हो त भनेर नेताहरूलाई कराउँदै हिंडेकी नि ।’


‘ह्या दिदी पनि, पार्टी नै अर्कालाई लगेर बुझाउनेहरूले अब तपाईंका लागि केही गर्लान् भनेर नसोचे हुन्छ । देश र जनताका लागि देखाएको सपनाबाट आफैं भाग्नेहरूले आफ्नो स्वार्थपूर्ति गर्छन्, अरू केही गर्दैनन् । भो, दौडिन पर्दैन, तपाईं लेख्न–पढ्न रुचाउने मान्छे, लेख्नुस्, पढ्नुस्, किताब निकाल्नुस् । बुहारीलाई मन परेको खानेकुरा पकाउन लाएर खानुस्, साथीभाइ बोलाएर ख्वाउनुस्, भो अरू व्यर्थैको दुःख नगर्नुस्, दिदी ।’ मेरो कुरालाई दिदीले चुपचाप सुनिरहनुभयो । निकै बेरसम्म केही बोल्नुभएन । त्यसैले मैले नै भनें, ‘हेर्नुस्, अब तपाईं सत्तरी वर्ष पुगिसक्नुभयो, दिनभरि भोकै–प्यासै हिंड्नुहुन्छ, कतै भ्वाक्कै लड्नुभयो भने, तपाईंको पार्टीका मान्छेले तपाईंलाई हेर्छन, हेर्दैनन् । आफ्नो स्वास्थ्य र उमेरको पनि ख्याल गर्नुस्, दिदी, मैले भनेको मान्नुस् ।’

म बुझ्छु दिदीको इच्छा, चाहना र रहरका कुरा । दुई दर्जनभन्दा बढी साहित्यका पुस्तक लेखिसकेको मात्र दिदीको योग्यता र क्षमता हैन । कथा, कविता, उपन्यास लेखनमा मात्र नभएर दिदीले पार्टीको सांस्कृतिक फाँटमा रहेर गीत–संगीतको माध्यमबाट पनि सेवा गरेको ती नेता भनाउँदाहरूलाई कसो थाहा नहोला त ? पार्टीमा प्रतिमा दिदी, भिनाजु र भान्जाको ठूलो लगानी छ । एउटा पार्टीका लागि भिनाजु र भान्जाले आफ्नो जीवनको बलिदान दिएका छन्, कसका लागि ? हिजोका दिनमा फाटेको चप्पल लगाउने नेताहरूले आज प्राडो चढून् भनेर हो ? जनतालाई देखाइएको सपनालाई रातारात कुल्चिएर जनताले गरेको बलिदानको वेदीमा आफ्नो सिसमहल ठड्याऊन् भनेर हो ? देशको मुहार फेरिनेछ, जनताले सुखको श्वास फेर्न पाउनेछन भनेर गरिएको संघर्ष, बलिदान र सहादत आजको मतिभ्रष्ट दिन देख्नकै लागि हो त ? जताततै लुट, भ्रष्टाचार र बेथिति मौलाएको छ । देश र जनताका लागि भनेर गरिएको युद्ध र आन्दोलन त अब एकादेशको कथाजस्तो लाग्न थालिसक्यो । हजारौं सहिदको अवदान सम्झिंदा पनि हुने पीडाको वर्णन गरेर साध्य छैन । उमेरमै श्रीमान् र जवान छोरो गुमाएकी प्रतिमा दिदीलाई अझै पनि यिनै नेताप्रति भर छ, त्यही पार्टीप्रति विश्वास छ जसले आफ्नो पार्टी लगेर विरोधी कित्तामा बुझाएर ऊ केही नभएझैं मुस्कुराइरहेको छ ।


‘कमरेड, पार्टी सरकारमा छ । मेरो र मेरो परिवारले यो पार्टीका लागि गरेको योगदानको पनि मूल्यांकन हुनुपर्‍यो । म सत्तरी वर्षको भइसकें, म पचास पचपन्नको मात्रै भए पनि यत्ति हत्ते गर्ने थिइनँ । मेरो योगदान, योग्यता र क्षमता हुँदाहुँदै पनि, अब पनि मलाई पार्टीले सम्झिएन भने कहिले सम्झिने ? मैले सभासद, मन्त्री, राजदूत खोजेकी हैन । सामान्य प्राज्ञ सदस्यका लागि चैं यस पटक मलाई पार्टीले सम्झिनुपर्छ भन्ने हो, कमरेडको के विचार छ ? संस्कृति विभाग प्रमुख हरिरामसँग मैले स्पष्ट भनेकी छु, भाइ । उनले हुन्छ पनि भनेका छन् ।’ आज पो दिदीले कुरो खोल्नुभयो । तर, मलाई पटक्कै विश्वास छैन, जनतालाई धोका दिने पार्टीले मेरी सोझी दिदीलाई न्याय गर्ला भनेर ।


पार्टीमै नलागे पनि लाग्नेहरूको कुरा सुनेर र पत्रपत्रिका पढेर पनि कुन पार्टी कस्तो भन्ने कुरा सामान्य सचेत नागरिक सबैलाई थाहा छ । दिदी आबद्ध पार्टीले त असल कार्यकर्तालाई चिन्नै छाडिसक्यो भनेर पत्रपत्रिका सामाजिक सञ्जाल जताततै व्याप्त छ । यस्तो अवस्थामा कुनचैं कमरेड हो, त्यो दिदीलाई आश्वासन दिने, बरु उसले दिदीलाई आश्वासन नदिएको भए हुने थियो किनकि त्यो आश्वासन पूरा हुन्छजस्तो मलाईचैं लाग्दैन । आशा पाएर निराश हुनुजत्तिको पीडा अर्को के हुन सक्छ र ?

व्यापारको काममा भएको चापले थुप्रै दिन भयो दिदीसँग बसेर कुरा पनि गर्न पाएको छैन । केही काम पर्‍यो भने दिदी पनि भदा संयमलाई भन्न रुचाउनुहुन्छ, बुहारी स्वस्तिकासँग पनि दिदीकी मिल्ती नै छ तर उहाँको कुरा भदा संयमसँग नै बढी मिल्छ । दुई जना फुपू–भदाभन्दा पनि आमाछोराजस्ता छन् । हुन त प्रतिमा दिदीमा सबैसँग मिलेर बस्न सक्ने क्षमता र गुण दुवै छ ।
‘दिदी, त्यै कामका लागि दौडिरहनुभएको हो ?’ मेरो प्रश्नको जवाफमा हो भन्ने इसारा गर्दै दिदी संयमसँग बाइकमा घरबाट निस्किनुभयो । आँखामा पावरको सेतो चस्मा, सुतीको सारी र तानमा बुनेको एउटा बुट्टे झोला यही नै दिदीको परिचय हो । भिनाजु र भान्जा बितेपछि दिदीले रमाएर रंगीन लुगा लगाएको, गीत गुनगुनाएको र रहर मानेर मिठो भोजन गरेको कम्तीमा मलाई थाहा छैन । उनको श्रद्धा, समर्पण र केन्द्रविन्दु भन्नु नै पार्टी नै हो । खै, यत्तिको समर्पित कार्यकर्तालाई दिदीको पार्टीले कत्तिको न्याय गर्ने हो, हेर्न बाँकी नै छ ।


तीनवटा एकेडेमी प्राज्ञविहीन भएर महिनौं खाली बसेको कुरा पत्रपत्रिकाले लेखेको लेख्यै छ । खै कहिले सदस्यहरूको पूर्ति गर्ने हो ? दिदीको हन्डर कहिले सक्किने हो ? पार्टीमा नवप्रवेशीहरूकै हालीमुहाली छ भन्ने सुन्छु । दुई तिहाइको सरकारले न महँगी नियन्त्रण गर्न सकेको छ न त भ्रष्ट भनेर स्पष्ट चिनिएकाहरूलाई कारबाही नै गर्न सकेको छ । दुई तिहाइ बहुमतको सरकारबाट जनताले जुन अपेक्षा राखेका थिए, त्यो पूरा हुने लक्षण पटक्कै देखिएन । सत्तामा बस्नेहरूले गफ गरेजस्तो काम पनि गरेर देखाउन सकेको भए जनताको चित्त बुझ्थ्यो होला तर उखानटुक्का भनेर मात्रका देश कसरी समृद्ध र जनता कसरी सुखी हुन सक्छन् र ?


‘दिदी, कत्ति चिन्ता गर्नुहुन्छ ? भो, आशा नगर्नुस्, देश बनाउँछौं, जनतालाई सुखी बनाउँछौं भन्नेहरू आफैं समृद्ध र सुखी हुने बाटोमा हिंडिसकेपछि अब पनि तिनले तपाईं हाम्रा लागि केही राम्रा काम गरिदेलान् भन्ने आसै नगर्नुस्, आशा नै नगरेपछि निराश हुनु पनि पर्दैन ।’ राजनीतिमा खासै चासो नराख्ने मेरी श्रीमती स्वस्तिकाले पनि आज खै किन हो दिदीलाई राम्रैसँग पो सम्झाइन् ।
‘स्वस्तिका, हन आज त तिमीले पनि दिदीलाई सम्झाउन पो थाल्यौं त,’ मैले ठट्टा गर्दै भने ।
‘दिदीको धपेडी देखेर मलाई नै गाह्रो भइसक्यो, त्यसैले दिदीलाई सम्झाकी नि,’ प्रतिमा दिदीलाई चियाखाजा खान आग्रह गर्दै स्वस्तिकाले भनिन् ।


‘खै, अब दिदीको जे विचार । अनि दिदी यो प्राज्ञहरूको निर्णय कहिलेसम्म हुने हल्ला छ त ?’
‘आज भोलि नै हुन्छ भन्छन्,’ यो विषयमा दिदीले अरू कुरा गर्न नचाहेको बुझेपछि हामी आ–आफ्नो कामतिर लाग्यौं । ठुलो छोरा सूचक र बुहारी तृष्णा पनि दिदीको वरिपरि बसेर खै के कुरा गर्दै हाँस्न थाले । म चामलको आफ्नै होलसेल पसलतिर लागें । खाना पनि म पसलमै खान्थें, पसलमा काम गर्ने केटोको हातमा स्वस्तिकाले नियमित रूपमा पठाउने गरेकाले खाना खानै भनेर म दिउँसो घरमा आइरहन्न । ‘ए संयम, फुपूको सदस्य बन्ने कुरा टुंगो लाग्ने त आज हैन र ?’ कलेजपछि सिधै पसलमा आइपुगेको संयमलाई मैले सोधे ।


‘खै बाबा, फुपूले केइ भन्नु भा’छैन ।’
हामी बाउछोरा घर पुग्दा दिदी खाना खाएर सुतिसक्नुभएको रहेछ । हनहनी ज्वरो आएकाले स्वस्तिकाले जँचाएर औषधि पनि खुवाइसकिछन् । भोलि बिहान पो दिदीको सन्चो–बिसन्चो सोध्न उनको कोठामा पसेको त दिदी चिया पिउँदै हुनुहुँदो रहेछ ।
‘बर्बाद भइहाल्यो नि संगम । हाम्रो पूरै परिवारको लगानी र योगदानको पार्टीले रौँ बराबर पनि कदर गरेन,’ दिदीले दिक्क मान्दै भन्नुभयो ।
‘किन दिदी, के भयो र ?’
‘प्रज्ञामा प्राज्ञहरूको नियुक्ति भयो तर तीनवटै प्रतिष्ठानमा मेरो कतै नाम छैन ।’
‘यिनले यही गर्छन्, भो आशा
नगर्नुस्, भागदौड नगर्नुस् भन्दा, तपाईं मान्नुहुन्न, दिदी ।’
‘कुरा सुन्न संगम, मभन्दा योग्यहरू आएको वा ल्याएको भए त ठिकै थियो तर मजस्तो जिन्दगीभरि कलम चलाएको, पार्टीमा अथक योगदान गरेको मान्छेलाई लत्याएर प्राज्ञ कस्तालाई बनाएका छन् भन्दा
आफ्नो फरियाका साइनो पर्नेलाई, पार्टीको हन्डी खानेलाई र जिन्दगीभरि बोर्डिङ स्कुल चलाएर बस्नेहरू पो प्राज्ञ बनेर आएका छन्, गाइड लेख्नेहरू आएका छन् ।

अझ त्योभन्दा पनि विडम्बना त जिन्दगीमा के–के लेखेको छ भनेर अत्तोपत्तो नभाको मान्छेसमेत प्राज्ञ बनाएर ल्याइएछ, कोइ तीन–तीन पटक प्राज्ञ भएर दोहोरिएका हैनन् तेहरिएका छन् । भाइ, म प्राज्ञ नभएकोमा चिन्ता वा दुःख मनाउ छैन तर यिनले मेरो परिवारको योगदानसमेत बिर्सिएछन्, यसमा साह्रै दुःख लागेको छ ।’
दिदीलाई सम्झाएर म र स्वस्तिका आ–आफ्नो कामतिर लाग्यौं । दुई–चार दिन दिदी कतै पनि जानुभएन, पार्टीले थुप्रै साहित्यकार–कलाकारहरूलाई सम्मान गर्ने क्रममा प्रतिमा दिदीलाई पनि सम्मान गर्ने भयो, त्यही बेहोराको चिठ्ठी पनि आयो । तर, दिदी जानुभएन । उहाँ घरैमा बसिरहनुभयो । दिदीलाई ननिको लाग्ला भनेर हामी कसैले पनि किन र कसो भनेर सोधेनौं बरु एक दिन दिदीले एउटा खाम दिएर संयमलाई कतै पठाउनुभयो । हामीले नसोधी दिदीले नै भन्नुभयो, ‘विचार, युद्ध र आन्दोलनसँगै देखेका परिवर्तन र मुक्तिका सबै सपनाहरूबाट म आज मुक्त भएँ, ती सबै कुराहरूसँग मेरो मोहभंग भयो । हेर भाइ बुहारी हो, त्यसैले मैले पार्टीको साधारण सदस्यसमेत नरहने गरी आज राजीनामा पठाएँ । अब अमूक पार्टीको म भोटर मात्रै रहन्छु । मैले मरेर लानुपर्ने केही छैन, मेरो श्रीमान्, छोरो र मैले अँगालेको विचार त म मरेपछि पनि मसँगै जान्छ । ल अब तिमीहरू पनि जाओ र मलाई एक्लै रुन देऊ, तिमीहरूको भिनाजु र भान्जा अर्थात् मेरो लोग्ने र मेरो एक्लो छोरो मारिँदा पनि मैले विचार र पार्टी भनेर रोकेको आँसुलाई आज म बगाइदिन्छु । तिमीहरू जाओ, मलाई निर्बिघ्न रुन देओ । प्रकाशित : फाल्गुन ११, २०७५ ११:५९

प्रतिक्रिया
पठाउनुहोस्

त्यो अनुत्तरित प्रश्न

गाउँभरका केटाकेटी चोकमा जम्मा भएर माघे नाचको तयारीमा थिए त्यस दिन । दुई दिनअघि नै सानीले यसपालि तिमीले पनि नाच्न जानुपर्छ है भनेर कर गरेपछि मैले नाइँ भन्ने कुरै थिएन ।
मञ्चला झा

काठमाडौँ — आज मैले न उनलाई रोक्न सकें न त आफूलाई नै  । विचित्रको अवस्था भयो हाम्रो  ।

आज मैले न उनलाई रोक्न सकें न त आफूलाई नै । विचित्रको अवस्था भयो हाम्रो । उनी सुस्केरा हाल्दै कतिचोटि भक्कानिन् र मैले कतिचोटि टिस्यु पेपरले आफ्ना आँखाहरू पुछें, यादै भएन । बन्द कोठामा हाम्रो कुराकानीको क्रम जारी थियो । उनले पहिला नै मबाहेक मेरो कथा कसैले थाहा पाउनुहुँदैन भनी सर्त राखेकी थिइन् । हुन पनि त्यो यस्तो कथा थियो जो मैले कसैलाई सुनाउने प्रश्न नै थिएन । उनको र मेरो पहिलो भेट एउटा कार्यक्रममा भएको थियो जहाँ न त उनी धेरै खुल्न चाहिन्र न मैले धेरै सोध्न नै उचित ठानं । त्यसपछि हाम्रो भेट आज अर्थात् २ वर्षपछि मात्र हुन पाएको थियो । हुन त त्यो पहिलो भेटको निरन्तरता हामीले टेलिफोन संवाद मार्फत जारी राखेका थियौँ । सुरुआती दिनमा उनी केही महिनासम्म मैले उनलाई दिएको नम्बरमा मिस कल हान्थिन् र म यताबाट उनलाई फोन गर्थें । हामीबीचको सम्बन्ध यसरी गहिरिंदै गयो कि उनले कुनै साता मिस कल गरिन् भने मलाई उनलाई केही पर्‍यो कि भन्ने चिन्ताले सताउन थाल्थ्यो ।


गजबको जादु थियो— उनको रूप लावण्य र वाणीमा जसले मलाई पहिलो भेटमा नै उनीप्रति आकर्षित गरेको थियो । हुन त म जुन कामका लागि खटिएकी छु, त्यस क्रममा सयकडौँ यी र यस्ता घटनाका पीडितलाई नभेटेकी होइन । र, सबैप्रति मेरो सहानुभूति माया र न्यायको प्रत्याभूति पनि समान नै थियो । तर, उनीसितको मेरो आत्मीयता खास हुनुको पछाडि बेग्लै कारण थियो । फोनमा उनको पहिलो प्रश्न नै हुन्थ्यो— दिदी चिया खानुभो ? अनि त्यसपछि क्रमशः हजुरलाई कस्तो छ ? हजुरलाई फेरि भेट्न मन लाग्यो, हजुरसित कुरा गरेर पनि निकै सन्तोष लाग्छ ।


आफ्नो पीडा र अभाव सुनाउनुभन्दा नि मेरो सन्चो–विसन्चोको ख्याल राख्ने र कुनै गुनासोबिना उनले गर्ने गरेको मसितको वार्तालापले यतिबिघ्न मलाई उनीप्रति तानेको थियो कि कहिलेकाहीं म उनको महानताको अगाडि आफूलाई तुच्छ ठान्थें । हो, यही कारण थियो जसले उनलाई मेरा लागि विशेष बनाएको थियो र म उनीप्रति बेपत्ता तानिएकी थिएँ । उनले यसरी फmोनमा बोलिरहने क्रममा मैले कहिले त्रमभंग गरिनँ र न त कहिले उनीसित भएको घटना सम्बन्धमा कुनै प्रश्न नै तेर्साउन उचित ठानें । उनी जे जति बोलेर हलुंगो हुन चाहन्थिन्, म ती सबै सुनेर थोरै भए पनि उनलाई हलुको पार्न चाहन्थें । यसरी उनी र मबीच करिब दुई वर्ष टेलिफोन संवाद जारी रह्यो । आज दुई वर्षपछि जब उनले मलाई भेटिन्, हाम्रो बीचको धकको सीमा पार भइसकेको थियो । सायद त्यसैले होला हामी टाढा भएर पनि एक अर्कासित निकै निकट थियौँ र हाम्रोबीचको त्यो घनिष्ठताले नै उनलाई मेरो अगाडि खुल्न सहज बनाएको थियो । बिस्तारै उनी खुल्न थालिन् ।

दसैँ–तिहारको भन्दा पनि हाम्रोमा मनाउने सबभन्दा ठूलो चाड झनेको माघे संक्रान्ति नै हो । एक साताअघिदेखि नै माघे संत्रान्तिको रमझम गाउँमा सुरु भइसकेको थियो । पुसको कठ्यांग्रिने जाडोले पनि कसैलाई केको छेक्थ्यो र ? गाउँभरका केटाकेटी चोकमा जम्मा भएर माघे नाचको तयारीमा थिए त्यस दिन । दुई दिनअघि नै सानीले यसपालि तिमीले पनि नाच्न जानुपर्छ है भनेर कर गरेपछि मैले नाइँ भन्ने कुरै थिएन । काग डाक्नुअघि नै बिछ्यौना छाडेकी थिएँ त्यस दिन मैले । सुकुलमा ओछ्याएको थाँग्नो र सिरकमा गुटुमुटु परेर न्यानो भइरहूँ लागे पनि आमाले हिजो साँझ नै बिहानै आँगन लिप्नुपर्छ है कान्छी भनी अह्राउनुभाथ्यो । यसपालिको माघीमा हाम्रोमा मामा–माइजू पनि आउने भनेपछि आमाको मात्र हैन मेरो मन पनि फुरुंग थियो । घरीघरी मामा–माइजूले यसपालिको माघीमा उपहारमा ल्याइदिने कल्ली लाएर नाच्ने सोचले मन कुतकुत्याएको थियो मेरो । चाँदीको कल्ली ! आहा मेरो गोडामा कति सुहाउँला है भर्खर १२ पुगेर १३ मा टेकेको वसन्तकालीन यौवनमा सोच पनि कतिथरि आउँदो हो । आखिर रमाउनलाई सपना हेर्ने छुट त सबैलाई छ हैन र ? बरु साकार हुनु र नहुनु छुट्टै कुरो तर सपनाले धनी र गरिबबीच कुनै अन्तर कहाँ देख्छ ! आज त झन् मेरो बाल्यकालको सपना पूरा हुँदै थियो । अर्थात् यसपालिको माघीमा म पनि साथीहरूसित गोडामा चाँदीको कल्ली लाएर नाच्नु जो थियो । त्यस बिहान कतिचोटि मैले मेरो निदाउँदो अनुहार ऐनामा हेरें भनी साध्य छैन । अघिल्लो रात नै आमाले अह्राउनुभएजस्तो काग डाक्नुअघि नै पुसको जाडोमा नि आँगन लिपेकी थिएँ म त्यस बिहान । मान्छेको मनमा उमंग हुँदो हो त जेठको धुप वा माघको कठ्यांग्रिने जाडोले पनि केही गर्न कहाँ छेक्दो रहेछ र ? आजको उमंगको वेग त झन् थामीनसक्नु थियो । मामा–माइजूले ल्याइदिनुहुने कल्ली पाउमा लाएर नाच्ने भएपछि आज सबले मतिर नै त हेर्ने होलान् नि पोहोर माघीमा रमदैयाले चाँदीको हँसुली लाएर नाचेपछि मुक्तकण्ठले सबैले प्रशंसा गरेको कुरो आमाले सुनाउनुभएको अझै याद छ मलाई ।


पुसको अन्तिम साता बाक्लो कुहिरोले धुम्म परेको आकाश बिहानको सात बज्न लाग्दा नि अन्धकारले घेरेको तर चोकमा म पुग्दा बाटुली सानी मन्तोरीलगायतका मेरा सबै दौंतरीहरूको भीड लागिसकेको थियो त्यस दिन । टाढैबाट मलाई हेरेपछि पुलकित हुँदै सानीले भनिन्— ओहो, उजेली किन ढिलो गरेकी हँ ? हामी त अघिदेखि नै तँलाई कुरेर बसिराथ्यौँ । कस्तो निश्छल र स्निग्धपूर्ण बालापन थियो हाम्रो । गाउँभरिका केटाकेटी हामी जम्मा हुन्थ्यो डन्डी–बियो खेल्नुदेखि छुरसम्मको खेल होस् या पोखरीमा वंशीले माछा मार्नु सबमा अघि सर्थें म । त्यसैले त दौंतरीहरूको प्यारो बनेकी थिएँ । आमा सधैं भन्नुहुन्थ्यो— आँटेली छोरी छे कमाएर खान सक्छे । तर, आमाकी ती आँटेली छोरी कति निरीह बनिन् त्यस दिन ।


‘सुराकी गर्छेस् ? तँ...’ भनी हुत्याउँदै आठ जनाको समूहमा आएका ती नरपिशाचहरूले नुहाउनलाई बाँध्न लागेको पेटिकोटको तुनालाई पनि राम्ररी कस्न दिएनन् र अर्धनग्न शरीरलाई घसार्दै छातीमा बुट बजार्दै लगे । बिहान चोकमा माघी नाचको छलफल सकिएर दिउँसो खोलामा नुहाउन भनी गाउँका एक हूल केटाकेटी खोला पुगेका थियौँ हामी । बालुवा छ्यापेर जिस्किँदै गरेको बाल्यपनको त्यो रमाइलो खेल नै अन्तिम भयो मेरा लागि । त्यसपछि सुरु भए ती कहालीलाग्दा क्षणहरू । अचानक आएको त्यो हूलले तितरबितर बनाएको हाम्रो समूहबाट को कता गए, केही थाहा भएन । आँखामा कालो पट्टी बाँधिदिएपछि यो संसार नै अँध्यारो भयो मेरा लागि । त्यसपछि कसले कतिपल्ट खेले यो देहसित, होसै भएन । १२ वर्षे कलिलो ज्यानलाई कतिचोटि केरकार गरे केही पत्तो पाइनँ । १५ दिनपछि जंगलको एक झाडीमा त्यही पेटिकोटमा बेरिएको मेरो देहमा प्राण त बाँकी थियो । तर, चेतनशून्य रहेछु म ।


‘आमा कसम मेरो मुटुमा एक मुठी सास रहुन्जेल म तँलाई छाडदिनँ । मार मलाई, जति मार्नु छ मार ! धिक्कार छ तेरो यो कायरपूर्ण मर्दाङ्गीलाई । थुक्क नरपिशाच !’ होस आउँदा मैंले यही वाक्य दोहर्‍याएछु ! ‘सिस्टर सिस्टर बेड नं १०३ को बिरामीलाई होस आएजस्तो छ’, नजिकै बेड नं १०२ की आफ्नी बिरामी छोरीको कुरुवा बसेकी एक आमाले चिच्याउँदै भनिन् । मलाई अस्पतालसम्म कसले पुर्‍याए थाहा भएन । दुर्भाग्य नै भन्नुपर्ला, म बाँचेछु । तीन महिनाको अस्पताल बसाइमा मलाई जन्म दिने आमा पनि किन भेट्न आउनुभएन होला भन्ने वास्तविकता त पछि पो थाहा भयो मलाई, जब घर लिन आउने मेरो मामाले बताउनुभयो । त्यस दिन मामा हाम्रो घरमा आउने खबर तिनीहरूले पहिला नै थाहा पाइसकेका रहेछन् र मामाले पनि आफ्नो ज्यानमाथि खतरा रहेको पत्तो पाएपछि हाम्रोमा आउनुभएन रहेछ । तर, मामालाई कहाँ लुकाएर राखिस् भन्दै मेरी आमालाई आँगनबाट चोकसम्म लछार्दै लगेको र आमाको कारुण्य विलापको साक्षी बनेका गाउँलेहरू चुइँसम्म बोल्न आँट गर्न सकेनन् । त्यो एउटा यस्तो त्रासदीपूर्ण समय थियो जहाँ आफ्नो ज्यान रक्षाका निम्ति झूटलाई नि साँचो र साँचोलाई झूट भनेर स्विकार्नुपर्ने विवशता । आकाश–धर्ती सबै मौन भएको अवस्था ।


मेरी निर्दोष आमाको विलापले ती निष्ठुरीहरूको कानलाई नै बहिरा बनाएको हुनुपर्छ सायद । त्यसैले होला, उनको कारुणिक चीत्कारले तिनलाई छोएन र लछार्दैपछार्दै पर चौरतिर लगेर उनीसित पनि गर्नसम्म गरेछन् र, पछि उनको शरीरलाई चिरा पारेर फालेका रहेछन् । बोल्दाबोल्दै अवरुद्ध भएको गलालाई विश्राम दिँदै उनी नजिकै टेबुलमा राखिएको सिसा गिलासबाट घुटघुट पानी एकै सासमा पिउँदै फेरि थपिन्— थाहा छ हजुरलाई म जुन कोखबाट जन्मे,ं ती आमा र मेरो कोख दुवै गुमाएकी छु मैले । म पलासको फूल भएछु । हो, सुगन्धहीन फूल जो हेर्दा आकर्षक भए नि देउतालाई चढ्दैन । मेरो रूप र सौन्दर्यको गुणगान गर्ने हजार छन् । तर, मेरो यथार्थ बुझेर मलाई अपनाउने आजसम्म कोही भेटेकी छैन मैले । फेरि भक्कानो छुट्यो र उनको कपकपाउँदो ओठले दोहोर्‍यायो म अब कहिले आमा बन्न सक्दिन । उनको त्यो अन्तिम वाक्यमा छुपेको वेदनाको गहिराइमा कहाँसम्म पुगें म, थाहा छैन । तर, आजसम्म उनको त्यही वाक्यले मलाई पछ्याइरहेको छ । उनको भक्कानोसँगै आफूलाई आफैं सम्हालें मैले । शब्दमा केही सम्झाउनु या बुझाउनुभन्दा यतिखेर निःशब्द नै रहनु बेस थियो मेरा लागि किनकि आज मैले उनलाई हल्का पार्नु थियो । १२ वर्षअघिदेखि उनको अन्तर मनको पीडाको पोको बिसाउँदै उनी फेरि आक्रोश र पीडा मिश्रित स्वरमा थपिन्, तपाईं नै भन्नुस् मेरो के कसुर थियो ? मैले कस्तो न्याय पाउने हो ? पहिलो र अन्तिमचोटि उनले सोधेका ती प्रश्नहरूको जवाफ खोज्न धेरै कोसिस गरें मैले । कतिपटक एक्लै केही गर्ने आँट र साहस नि नजुटाएको हैन तर अपसोस चाहेर पनि गर्ने परिवेश पाइनँ मैले र आजसम्म ती प्रश्नहरूबारम्बार मन मस्तिष्कमा आएर ठोक्किन्छन् र कम्प पैदा गरी अन्तरआत्माले सोध्छ के म असफल भएकी हुँ ?

प्रकाशित : फाल्गुन ११, २०७५ ११:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×