सम्झनामा शान्ता

‘कसरी खायो आगोले दिदी कमलको शरीर’ भन्ने मुनामदनको गीतको भाका टिप्दै भायोलिनमा मधुर स्वरमा गुन्गुनाउने राजदूत सिंहबहादुर स्वर्गमा पुगेका छन् ।
हरिकुमार श्रेष्ठ

काठमाडौँ — बेलायतका लागि पूर्वनेपाली राजदूत डा. सिंहबहादुर बस्न्यात हामीसामु रहेनन् ।

सम्झनामा शान्ता

तर, उनी हाम्रो स्मृतिपटलमा सधैं जीवित रहनेछन् । डा. बस्न्यातलाई परराष्ट्रका उनका सहकर्मीले प्यारो गरी ‘शान्ता’ नामले सम्बोधन गर्थे । उनीसँग हिमचिम गर्ने र त्यसरी आत्मीय नामले सम्बोधन गर्ने उनका समकक्षीले बस्न्यातबारे अन्तरंग चर्चा गर्ने सामथ्र्य राख्दा हुन् । म त्यो हैसियत राख्दिनँ । खासमा भन्ने हो भने परराष्ट्रमा प्रवेश गरेको धेरै वर्षसम्म पनि उनीसँग सामान्य परिचयबाहेक केही थिएन ।


परराष्ट्रमा उनीसँगको सम्बन्धको पहुँच त्यति सहज पनि थिएन । कारण उनी सम्बन्धका हिसाबले राजा वीरेन्द्रका ज्वाइँ थिए । बसुन्धरा शाह र हेलेन शाहकी छोरी शाहज्यादी ज्योत्स्नासँग उनको बिहे भएको थियो । राजपरिवारसँगको सम्बन्धका कारण सार्वजनिक जीवनमा उनी औपचारिक हुन बाध्य थिए । त्यसमाथि धेरै वर्षसम्म उनी विदेशमा नै थिए— पोस्टिङ र अध्ययनका लागि । त्यसैले परराष्ट्रमा उनी विरलै भेटिन्थे ।


तर, विरलै भेटिने यी कूटनीतिज्ञले परराष्ट्रको सुरुआती दिनमा नै हामीलाई गहिरो प्रभाव पारेका थिए । २०४० सालतिरको कुरा हो । त्यतिखेर हामी नौ जनाको ब्याच परराष्ट्रमा नवप्रवेशी थियौँ । त्यस्तैमा परराष्ट्र परिवारले गोकर्णमा एउटा पिकनिक आयोजना गरेको थियो जसमा परराष्ट्रमन्त्री, सचिवलगायत सबै हाकिम सामेल थिए । हामीहरू एउटा कुनामा दकस मानी बसेका थियौं । तर, जब खानपिन सकियो र नाचगान सुरु भयो, हाम्रो दकस पनि बिस्तारै भाग्न थाल्यो । त्यसको श्रेय अरू कसैलाई हैन उनै शान्तालाई जान्छ । पिकनिकलाई रौनक थप्न ख्यातिप्राप्त कलाकार मीरा राणा र ज्ञानु राणा आमन्त्रित थिए । तर, किन हो किन उनीहरूसँग स्वर मिलाउन पुरुष कलाकार थिएनन् । हामीलाई के–के खड्केजस्तो लागेको थियो । तर, त्यो नियतवश नै गरिएको रहेछ भन्ने केही छिनपछि खुलिहाल्यो । जब मीरा र ज्ञानु राणाले कर्णप्रिय गीत गाउन थाले दर्शकदीर्घाबाट ‘शान्ता’ ‘शान्ता’को फर्माइस चलिहाल्यो । ती कोही थिएनन्, उनै डा. सिंहबहादुर बस्न्यात थिए । सिरिमा सिरि’ गीतमा उनको स्वर–माधुर्यले नारायण गोपाललाई पछ्याइरहेको म स्पष्ट बुझ्थेँ ।


त्यसको केही समयपछि शान्ता फेरि हराए । विद्यावारिधिका लागि उनी पुन: अमेरिका पोस्टिङमा गए । तीन–चार वर्ष उतै बिताए र अन्तत: जर्ज वासिङ्टन विश्वविद्यालयबाट नेपाल–अमेरिका सम्बन्धमा पीएचडीको डिग्री हात पार्न सफल भए । धेरै वर्ष लगाएर आर्जन गरेको विद्यावारिधि उपाधि उनको वृत्ति विकासमा खासै काम लागेन भने हुन्छ । कारण प्रमोसनमा त्यसको खासै भूमिका हुन्थेन । तर, दरबारको निगाहबाट पाइने मानपदवी र विभूषणले कर्मचारी बढुवामा अहम् भूमिका राख्थ्यो । विडम्बना, राजाको ज्वाइँ भएपनि डा. बस्न्यातले कुनै तक्मा पाएका थिएनन् । २०४६ सालको परिवर्तनसँगै लागू भएको निजामती सेवा ऐनको तीसबर्से प्रावधानले धेरै अनुभवी कर्मचारीजस्तै उनलाई पनि किनारा लगाइदियो ।


अन्तत: सिंहबहादुर बेलायतका लागि नेपाली राजदूत भई छाडे । र, संयोगले दूतावासमा म उनकै सहयोगी भई झन्डै चार वर्ष काम गर्ने अवसर पाएँ । लन्डन जाँदा सुरुमा त मलाई धेरै धुकचुक थियो । मन्त्रालयमा सामान्य कुराकानीबाहेक उनीसँग खासै हिमचिम थिएन । मलाई ‘आइस्योस्’, ‘बक्स्योस्’ जस्ता दरबारिया भाषा बोल्न पनि आउँथेन । त्यसमाथि दूतावास, राजदूत निवास र कूटनीतिक कर्मचारीहरूको आवास पनि एउटै घरमा । एउटै मूल ढोका— बेलाबखत राजदूत दम्पतीसँग जम्काभेट भइरहने । तर, शाहज्यादी ज्योत्स्नासँग राजपरिवारको त्यति साह्रो ह्याङओभर थिएन । लामो संगतले गर्दा उनी आफूलाई पनि परराष्ट्रकै सदस्य ठान्थिन् । ‘हाऊ आर यु, काउन्सेलर साप’ भनेर मलाई सजिलो पारिदिन्थिन् । शान्ता त शान्त नै भइहाले— एकदमै सौम्य र शालीन थिए । मलाई लिन दूतावासमा मेरा पूर्ववर्ती मित्र प्रह्लाद प्रसाईं एयरपोर्ट पुगेका थिए । जब हामी दूतावासको गेटभित्र प्रवेश ग‍र्‍यौँ, राजदूत दम्पतीसँग त्यहीँ नै जम्काभेट भइहाल्यो । राजदूत डा. बस्न्यातले न्यानो हार्दिकता देखाउँदै भने : ‘यु लुक वन्डरफुल †’ शाहज्यादी पनि मुस्कुराइन् । मेरो भ्रम त्यतिखेरै हरायो ।


बस्न्यातको काम गर्ने आफ्नै शैली थियो । कहिल्यै रिसाएको चाल पाइनँ, बरु बेलाबखत आफूलाई भने गोर्खाली झोँक चल्थ्यो । यहाँसम्म कि मलाई सिगरेटको एलर्जी छ भन्ने उनले हेक्का राख्थे । चुरोटको स्वाद लिई बसेको बेला कि त सिगरेट एस्ट्रेमा फाल्थे, नभए चुरोट पिउन बाहिर निस्कन्थे । राजदूतको त्यहाँभन्दा ठूलो सादगीपन के हुन सक्थ्यो र ? त्यसभन्दा पनि महत्त्‍वपूर्ण उनी आफ्ना स्टाफलाई पूर्ण विश्वास गर्थे, दूतावासको दैनिक काम उपनियोगप्रमुखलाई सुम्पन्थे । कामको डेलिगेसनले हामीलाई जिम्मेवार बनाउँथ्यो । उनको त्यो काम गर्ने शैली मैले पनि थोरबहुत टिपेँ— कालान्तरमा ।


म त्यहाँ पुग्दा राजदूतको अफिस, राजदूतको कार्यकक्षजस्तो नभएर ट्राभल एजेन्सीको कक्षजस्तो थियो । अन्तर्देशीय टेलिफोन सेट, फ्याक्स मेसिनले गन्जागोल थियो राजदूतको अफिस । बेलाबेला सेक्रेटरी तथा अरू स्टाफ पनि फोन, फ्याक्स गर्न छिरिरहन्थे । त्यसदेखिबाहेक दूतावासमा कहिल्यै नछुट्ने नानाथरीका पाहुनाहरू बेला न कुबेला फोन गर्न राजदूतको अफिसमा धावा बोलिरहन्थे । राजदूत बस्न्यात त्यसदेखि आजित भइरहेका थिए । केही समयपछि त्यो गलपासो उनले मलाई भिराइदिए । मैले पनि त्यो गलपासोलाई धेरै दिन थेग्न सकिनँ । ती ग्याजेट तृतीय सचिव रामेश्वर पौडेलकोमा स्थानान्तरण गरिदिएँ । यसले दूतावासको काम गराइमा पारदर्शिता मात्र बढाएन, स्टाफहरूमा थप जिम्मेवारीबोध पनि बढायो । लुकीछिपी नेपाल वा अन्ततिर दूतावासको महँगो टेलिफोन गर्ने प्रवृत्ति स्वाट्टै घट्यो ।


लन्डनको नेपाली दूतावास ‘दूतावास कम’ र ‘धर्मशाला’ बढी थियो । त्यसलाई थेग्न दूतावासको आफ्नै प्रोटोकल थियो । राजपरिवार सदस्यको स्वागत सत्कारमा राजदूत र सैनिक सहचारी खटिन्थे । मन्त्री, सांसद तथा अन्य विशिष्ट अतिथिको भ्रमण व्यवस्थापन मेरो काँधमा पथ्र्याे । सचिव तथा अन्य पदाधिकारीको चाँजोपाँजो तृतीय सचिवको थाप्लोमा पथ्र्यो । बाँकी रहलपहलको जिम्मा सहचारीले लिन्थे । यसरी हेर्दा दूतावासमा हामी सबैको सातै दिन चौबीसै घण्टाको ड्युटी हुन्थ्यो भन्दा फरक पर्थेन । राजदूतले सबैलाई मिलाएर येनकेन गुजारा चलाएका थिए । उनकै कार्यकालमा राज वीरेन्द्रले लन्डनको क्रमबेल अस्पतालमा मुटुको धमनीमा स्टेन्ट राखेका थिए । नियमित स्वास्थ्य परीक्षणका लागि प्रत्येक वर्ष वीरेन्द्र एक महिनाका लागि लन्डन आउँथे । निजी भ्रमण भएकाले त्यो समय राजदूत दम्पती तथा सिङ्गो दूतावास अहोरात्र खटिनुपथ्र्याे । त्यसैबेला मैले स्वर्गीय राजा वीरेन्द्रलाई नजिकबाट देख्न पाएको हुँ र, केही शब्द बोल्न पाएको हुँ । स्वास्थ्य परीक्षणपश्चात् राजा वीरेन्द्रले सामान्य मानिससरह केन्सिङ्टन हाइस्ट्रिटमा विन्डो सपिङ गर्न भ्याएको पनि त्यतिबेला नै देखेको हुँ ।


लन्डनको नेपाली दूतावासले पहिले–पहिले राजा महाराजाको मात्र खातिर गरे पुग्थ्यो । मुलुकमा लोकतन्त्रको पुन:स्थापनापश्चात् अनन्य भेषका नवमहाराजको टहलपहलमा दूतावासले समय खर्चिनुपर्ने भयो । राजदूत डा. बस्न्यातले यसलाई अन्यथा रूपमा लिएनन्, बरु सकेसम्म खटेर सबैको मन राख्ने कार्यमा लागिरहे ।
त्यस्ता झिनामसिना काममा समय खर्चिनुपरे पनि राजदूतको मुख्य जिम्मेवारी— नेपालको श्रीवृद्धि कसरी बढाउने भन्नेमा नै उनले आफ्नो ध्यान केन्द्रित गरिरहे । सन् १९९८ को नेपाल भ्रमण वर्ष अवसरमा उनले ब्रिटिस म्युजियमसँग सहकार्य गर्दै ३ महिनासम्म नेपाल प्रदर्शनी आयोजना गरेका थिए । बस्न्यात त्यस्तै अवसरहरूको खोजीमा हुन्थे । नयाँ सहस्राब्दीलाई स्वागत गर्न लन्डनको पूर्वी भाग ग्रिनिचनेर ‘मिलिनियम डोम’मा नेपालको सुरसुधा संगीत टोलीलाई राखेर विशेष सांगीतिक कार्यक्रम आयोजना गरेका थिए ।

त्यतिखेर बेलायतको सबैभन्दा पुरानो नेपाली संस्था ‘यती’ नेतृत्वको विवादका कारण दुई फ्याकमा टुक्रिएको थियो । पशुपतिशमशेर राणा, डा. हेमांग दीक्षित, अंगुरबाबा जोशी आदि बेलायत अध्ययन गर्न बसेका बेला सन् १९६० मा उनीहरूले स्थापना गरेको यो संस्था विदेशमा पहिलो नेपाली संस्था थियो । त्यस्तो गौरवशाली इतिहास बोकेको संस्था फुटका कारण संस्थाको बेहाल थियो । यती नेपाल हाउसका लागि दूतावासमा एक फन्ड रेजिङ डिनर आयोजना गरिएको थियो । राजदूतको मान राख्‍न त्यहाँ उपस्थित धेरैले राम्रै रकम बोलकबोल गरे । राजदूत स्वयमले नेपाल हाउसका लागि उनले तत्कालै एक हजार पौन्डको चेक काटेर दिए । दूतावासका अरू कूटनीतिक कर्मचारीलाई उनले नै रकम तोकिदिए— सेकेन्ड म्यानको ५०० पौण्ड, सहचारीको ३०० का दरले । राजदूतको नाम राख्‍न हामी सबैले त्यसैबेला चेक काटेर दियौँ । दूतावासको तर्फबाट ३००० पौण्ड चन्दा उठ्‍यो ।


तर, सोचेजस्तो के होस् ? डिनर खाएर दूतावासबाट बाहिर निस्कनासाथ तँ–तँ र म–म भइहालेछ । कोही लन्डनबाहिर भए पनि अलिक ठूलो नै जग्गा किन्‍ने भन्‍ने, कोही लन्डनभित्रै तीन कोठाकै सही घरै किन्‍नुपर्छ भन्‍ने । कोहीचाहिँ यती हाउसको नेतृत्व मलाई नै चाहिन्छ भन्‍ने । त्यसरी बाझाबाझ गरी उनीहरू आ–आफ्ना बाटा लागेछन् । पछि जब आन्द्राभुँडी थाहा पाइयो, त्यतिखेरै मलाई लाग्यो, लन्डनको यती हाउस र हिमालको यती भनेको उस्तैउस्तै हो । हाम्रो चन्दा पनि त्यत्तिकै खेर गयो, फिर्ता माग्ने कुरा पनि आएन ।राजदूत बस्न्यात नेपाली गीत–संगीतका पारखी थिए । उनले आफ्नै खर्चमा नेपालको संगीत समूह सुरसुधालाई लन्डनमा सांगीतिक कार्यक्रमका लागि निम्त्याएका थिए । प्राय: शुक्रबार दूतावासको बलरुममा राजदूतले भायोलिनमा मिठो धुन बजाउँथे—नारायणगोपाल, बच्चु कैलाश, कृष्णमानका पुराना सदावहार गीत बज्थे । राजदूत बस्न्यातले निजी खर्चमा राष्‍ट्रकवि माधव घिमिरेलाई पाहुनाको रूपमा निम्त्याएका थिए । बेलायतस्थित नेपाली समुदायले कविलाई दूतावासमा भव्य अभिनन्दन गरेका थिए ।


राजदूत बस्न्यातले भायोलिनमा धेरैजसो नारायण गोपालकै गीत टिप्थे । ‘कसरी खायो आगोले दिदी कमलको शरीर’ भन्ने मुनामदनको गीतको भाका टिप्दै भायोलिनमा मधुर स्वरमा गुन्गुनाउने राजदूत डा. बस्न्यात स्वर्गमा पुगेका छन् । उनलाई भौतिक शरीरको जलनले पोल्दैन, न त सांसारिक मोह र बन्धनले बाँध्छ । उनी त निरञ्जन निराकार भइसकेका छन् । उनको आत्माले शान्ति पाओस् ।


प्रकाशित : फाल्गुन ४, २०७५ ११:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?