सम्झिरहेछु...

सम्झना वाग्ले भट्टराई

काठमाडौँ — तिमी यादमा आइदियौ अनायाशै तथाकथित प्रेम दिवसको अघिल्लो सााझ ।चञ्चल हेराइ, मीठो मुस्कानर, एकान्तपलका लागि आतुर तिम्रो ‘बडी ल्याङ्ग्वेज’ ।

समाजमा राजनीति हावी थियो
सिद्धान्तका कुरा हुन्थे
भोटका कुरा हुन्थे
अवसरका कुरा हुन्थे
भविष्यका कुरा हुन्थे
यिनै चस्माले,
कताकता षड्यन्त्रकारी देखो तिम्रो मुस्कान ।

परिवारमा समाजशास्त्र हावी थियो
जातभातका कुरा हुन्थ्यो
कुलघरानका कुरा हुन्थ्यो
इज्जतको कुरा हुन्थ्यो
हैसियतको कुरा हुन्थ्यो
यस्तै दृष्टिकोणले फिक्का लाग्यो
तिम्रो अस्तित्व ।

सोचमा पुाजीवाद हावी थियो
कमाइको कुरा हुन्थ्यो
घर–घडेरीको कुरा हुन्थ्यो
गाडीको कुरा हुन्थ्यो
बौक ब्यालेन्सको कुरा हुन्थ्यो
यस्तै बुझाइले,
स्तरहीन लाग्यो तिम्रो वर्ग ।

र आज वर्षौापछि, मलाई
बेकार लागेको छ राजनीति
अपुरो लागेको छ समाजशास्त्र
देखावटी लागेको छ, पुाजीवाद
र, सम्झिरहेछु,
यी सबैभन्दा माथि रहेको
हाम्रो त्यो छोटो प्रेमकथा ।

प्रकाशित : फाल्गुन ४, २०७५ ११:२१
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

भ्यालेन्टाइन्स गिफ्ट पुस्तक

सम्झना वाग्ले भट्टराई

काठमाडौँ — साथीकी छोरीले सोधी, ‘आन्टी हजुरले भ्यालेन्टाइन्स डेमा अंकललाई के दिने ?’ बाह्र/तेह्र वर्षकी ऊ सात कक्षामा पढ्छे । आजकालका केटाकेटी प्रेमको विषयमा बोल्न खासै संकोच मान्दैनन् । उमेरसँगै आउने चञ्चलतालाई युगले खासै फरक नपार्ला तर अभिव्यक्तिको सन्दर्भमा भने पहिलेका भन्दा आजका किशोर–किशोरी सहजै खुल्छन् । त्यसैले दैलोमै आएको ‘भ्यालेन्टाइन्स डे’सँग साथीकी छोरी उत्साहित छे ।

भ्यालेन्टाइन्स डे सहरमा नौलो रहेन । यसको प्रभावबाट गाउँ पनि अछुतो छैन । हामी टिनएजर्स हुँदा यसबारे कुरा गर्न पनि लजाउँथ्यौँ । यो हाम्रो समाजमा जबर्जस्त स्थापित भइसकेको छ ।

‘भ्यालेन्टाइन्स डे’ मनाउनुको आफ्नै इतिहास छ, महत्त्व छ । यो हाम्रा लागि आयातित संस्कृति हो । नवप्रवेशी भए पनि यसको फैलावट तीव्र छ, आकर्षक छ । पुँजीवादले यसलाई आकर्षक बनाएको छ । त्यसै त प्रेम रंगीन हुन्छ, अझ त्यसमा पुँजीवादले मोहिनी कलेवर थपिदिएको छ । यो व्यापारको युग हो, नाफाको ।

भर्खरका युवक–युवतीलाई काउकुती लगाउने प्रेमका नाममा व्यापार भएपछि यसको फैलावटमा ‘मल्टिप्लायर इफेक्ट’ परिहाल्छ । प्रेम दिवसका नाममा भित्रिएको यो रोज डे, प्रपोज डे, चक्लेट डे, टेडी डे, प्रोमिस डे, हग डे, किस डे आदिका नाममा ‘भ्यालेन्टाइन्स सप्ताह’मा विस्तार भइसकेको छ ।

कसैले चाहे पनि नचाहे पनि यो संस्कृतिका रूपमा भित्रिसक्यो । यसको प्रभाव घरपरिवार, समाज हुँदै अर्थतन्त्रमा समेत देखिन्छ । पत्रपत्रिकाका पेज ‘कक्टेल पार्टी’ लगायत विविध उत्पादनका ‘पिंक कलर’का विज्ञापनले भरिन्छन् । सांस्कृतिक अतिक्रमणका विषयमा केही बहस हुन्छन् । यसका अतिरिक्त यो वर्षको ‘भ्यालेन्टाइन्स डे’लाई लक्षित गरी कतिगुलाबका फूल तथा चक्लेट र भ्यालेन्टाइन्स कार्ड आयात भएसम्मको लेखाजोखा हुन्छ ।

आयात हाम्रो संस्कृति बनेको छ । राजनीतिक दर्शन, शिक्षा प्रणाली, विज्ञता, प्रविधिदेखि धर्मसम्ममा आयात हावी छ । गत आर्थिक वर्षमात्र हामीले १३ खर्ब रुपैयाँभन्दा बढीको विविध वस्तु आयात गरेका छौँ । कुल जनसंख्याको दुई तिहाइ जनसंख्या कृषि पेसामा संलग्न देशले खाद्यान्न, फलफूल र तरकारीमात्र अर्बौँको आयात गर्छ ।

कृषकहरू दूध सडकमा पोख्छन्, बारीमा उखु सुक्छ । तरकारी बारीमा डोजर लगाउँछन् । यहाँका उपभोक्ता किसानले बेच्ने मूल्यभन्दा कैयौं गुना महँगोमा तरकारी किन्न बाध्य छन् । सायद हाम्रो समाज आयात मैत्री हो । जसरी किसानलाई बारीको बन्दामा डोजर लगाउन बाध्य पारेर हामी विदेशबाट तरकारी आयात गर्छौं, त्यसरी नै हाम्रा मौलिक संस्कृतिलाई डोजर लगाउँदै हामी ‘भ्यालेन्टाइन्स संस्कृति’ आयात गरिरहेका छौं ।

प्रेम र प्रणयलाई केन्द्रमा राखेका हाम्रा आफ्नै मौलिक परम्परा छन् । श्रीपञ्चमी, अक्षय त्रितीया, विवाह पञ्चमीजस्ता परम्परा प्रेम र प्रणयकै सेरोफेरोमा रहेको मानिन्छ । अहिले चलिरहेको श्रीस्वस्थानी व्रतकथाको अन्तर्यमा पनि हामी प्रेमकै महिमा पाउँछौं । हो, यी परम्परामा समयानुकूल परिवर्तनको खाँचो छ । यिनमा रहेका विभेदकारी हरफहरूको पुनर्लेखन आवश्यक छ ।

हाम्रो आफ्नै मौलिक कथा समेटेका यी संस्कृतिलाई विकृतिमुक्त बनाउने र यी परम्पराको जगेर्नामा हाम्रै रैथाने उत्पादनको प्रयोगलाई निरन्तरता दिने हो भने कमसेकम मौसमी आयातलाई विस्थापन गर्न सकिन्थ्यो कि † यसले समृद्धिको बहसमा ‘ट्रेन्डिङ’मा रहेका केही नामले जस्तै प्रभाव पार्न नसके पनि केही गरिब नेपालीको घर–घरमा समृद्धि ल्याउँथ्यो कि !

अन्त्यमा, हजार सूर्यको जस्तो तेज भएको प्रणय दिवस अर्थात फेब्रुअरी १४ कै दिन अर्को एउटा दिवस पनि रहेछ । यो दिन ‘अन्तर्राष्ट्रिय पुस्तक उपहार दिवस’ मनाउने गरिन्छ । सन् २०१२ मा अमेरिकी ब्लगर एमी ब्रोडमुर र उनका छोराले जतिसक्दो धेरै केटाकेटीको हातमा पुस्तक पुर्‍याउने उद्देश्य राखेर यस दिवसको अवधारणा सुरु गरेका थिए ।

नेपालमा पनि पाँच वर्षदेखि विविध कार्यक्रमका साथ पुस्तक उपहार दिवस मनाइँदै आइएको छ । पठन संस्कृति विकासमा योगदान पुगोस् भनेर यो दिवस मनाउन सुरु गरिएको हो । सबै आयातित संस्कृति हाननिकारक हुँदैनन् ।

एकै समयमा जुधेका प्रेम दिवससँगै पुस्तक उपहार दिवस हामी पनि मनाऔं । आफन्त तथा साथीभाइलाई पुस्तक उपहार दिई पढ्ने संस्कृति विकासमा लाग्न हामी पनि प्रयास गरौं । कम्तीमा ‘भ्यालेन्टाइन्स गिफ्ट’ पुस्तक
छनोट गरौं ।

प्रकाशित : माघ २९, २०७५ ०८:२०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT