कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

गेरुवस्त्रमा कुम्भतिर

हाम्रो अगाडि सयौँ रथहरू खडा थिए । हरेक रथमा विभिन्न अखडाका सन्त–महन्तहरू विराजमान थिए । हामीभन्दा पछाडि सुपरिचित पाइलट बाबाको रथ पनि थियो । यसै क्रममा नागा बाबाहरूको हजारौँको जुलुस देखा पर्‍यो । हाम्रा लागि यो निकै उदेकलाग्दो थियो ।
गुरुराज घिमिरे

काठमाडौँ — सनातन हिन्दु परम्पराको महान् उत्सव कुम्भमेलाको आध्यात्मिक तथा धार्मिक महत्त्व अतुलनीय छ ।

गेरुवस्त्रमा कुम्भतिर

हरेक तीन वर्षमा लाग्ने कुम्भ, ६ वर्षमा लाग्ने अर्धकुम्भ र १२ वर्षमा लाग्ने महाकुम्भमा संसारभरका साधु–संन्यासी, सन्त र गृहस्थ गरी करोडौं साधक र तीर्थालुको उपस्थिति हुने गर्छ । चिनियाँ यात्री हू एन सानले छैटौं शताब्दीमा गरेको यात्रा वृत्तान्तमा प्रयागराजमा हुने कुम्भ मेलाको चर्चा गरेको पाइन्छ ।


हजारौं रथहरू, लाखौं–करोडौं दिव्यआत्मा, असंख्य तीर्थयात्री, विभिन्न भाषा संस्कृति र सम्प्रदायहरू तथा यो लौकिक जीवनमा दृश्यपान गर्न नपाइने अद्भुत दृश्यहरू कुम्भमा देख्न पाइन्छ । न भोक, न प्यास, न लोभ, न आसक्ति । समर्पणको अद्भुत नमुना हो— कुम्भ मेला । कुम्भमा गंगाको पूजन र स्नानलाई धेरै ठूलो पुुण्य मानिन्छ । कुम्भ स्नानलाई आस्थाको डुब्की पनि भनिन्छ । तीर्थयात्री आफूले लगाएको वस्त्रसहित गंगामा चोबलिन्छन् । कतिपय वस्त्र फुकालेर पनि डुब्की लगाउँछन् ।


धेरैअघिदेखि बूढापाकाहरूबाट चर्चा सुनेको र पढेको महान् तीर्थको चर्चा यसपालि एउटा धर्मसभामा भयो । तीर्थयात्रालाई बुढ्यौलीको काम ठानेर हामी अधिकांश निच मारेरै बसिरहेका हुन्छौं । हिन्दु धर्मको मान्छेको आयु व्यवस्थापन सिद्धान्तअनुसार हामी गृहस्थाश्रमभित्रै थियौं, वानप्रस्थ नजिकै । हामी केही गृहस्थहरू यसपालि ६ वर्षे अर्धकुम्भमा प्रयागराज जाने निधो गर्‍यौँ । मकर संक्रान्तिकै दिन गंगा स्नान गर्नका लागि कम्तीमा एक दिनअघि नै मेलास्थल पुगिसक्नुपथ्र्यो । हाम्रो मुख्य टोलीमा आठ जना सदस्य सामेल थियौँ । गोविन्द ढुंगाना, टेकराज पौडेल, प्रवीण ओझा, सुरज भट्टराई, मनोज खड्का, पुण्य ढुंगाना, मनोज खड्का (माइकल) र म । २०७५ पुस २७ मै हामीले गेरुवस्त्र तयार गर्‍यौँ, अनि रुद्राक्षको माला पनि । यस्तो पोसाकमा सहभागी हुँदा साधुहरूको भीडमा आफूलाई हराउन सजिलो हुन्छ भन्ने ठान्यौँ ।


हाम्रो यात्रा काठमाडौँबाट प्रारम्भ भयो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा पहेंलो टोपी र रुद्राक्षको माला लगाएका अधबैंसे तथाकथित सन्तहरूको टोलीले सबै यात्रुको ध्यान खिचेको थियो । भोलिबाट विराटनगरको जोगवनी हुँदै प्रयागको यात्रा प्रारम्भ हुँदै थियो । सीमाञ्चल एक्सप्रेसमा सिट बुकिङ भइसकेको थियो । अब हामी खानपिनमा सात्त्विक बन्ने भयौं । म आफू भने विगत १३ वर्षयता शाकाहारी नै छु । मारवाडी बासामा खाना खाइयो । पुस २७ गते विराटनगरमा सामान्य किनमेल सकेर अपराह्न ६ बजे हामी लाग्यौं जोगवनीतर्फ । जीवनमा पहिलो पल्ट गेरुवस्त्रको तयारी गरेर हामी तीर्थत्रायामा निस्केका थियौँ ।


प्रयागराजमा लाग्ने कुम्भलाई विशेष कुम्भ मानिन्छ । यो पटक प्रयाग कुम्भमा झन्डै १५ करोड तीर्थालुले गंगा स्नान गरेको अनुमान छ । झन्डै ५० करोड भारुको लागतमा तीन नदीको संगमस्थलमा अस्थायी नगर बसाइएको छ । ४५ वर्गकिमिमा फैलिएको यस क्षेत्रमा तीर्थालुबाट झन्डै ४५ सय करोड रुपैयाँ खर्च हुने अनुमान छ । १ लाखको संख्यामा अस्थायी शौचालय, पाँचतारे होटलका सुविधायुक्त पन्डाल, सन्त र धर्म गुरुहरूका लागि विशेष पन्डाल र अन्य सामान्य पन्डाल गरी हजारौं अस्थायी गृह निर्माण गरिएको छ । साधुका विभिन्न १३ अखडाका आफ्नै क्षेत्रहरू छन् । आ–आफ्नो आचार्य महामण्डलेश्वर र महामण्डलेश्वर, श्री महन्त र महन्तहरू छन् । हामीसँग नेपालकी महिला साध्वी जुना अखडाकी महामण्डलेश्वर हेमानन्द गिरी हुनुहुन्थ्यो । उहाँकै कारण हाम्रो तीर्थ टोलीलाई यस पटक विशेष सुविधा प्राप्त थियो । हामीले सामान्य संन्यासीदेखि जुना अखडाका आचार्य महामण्डलेश्वर अवधेशानन्द गिरी महाराजसम्मलाई भेट्यौँ । त्यस्तै जुना अखडाका अन्तर्राष्ट्रिय महामन्त्री श्री महन्त हरिगिरीजी महाराजसँगसमेट भेट भयो । हाम्रो टोलीलाई अरू तीर्थयात्रीभन्दा निकै सहज भयो । प्रयाग पुगेका तेस्रो दिन हामी रथमा बसेर शाही स्नानका लागि गंगा, जमुना र सरस्वती संगममा प्रस्थान गर्‍यौं । हाम्रो टोली सुरक्षित आश्रममा बसेर गंगा स्नानका लागि पन्डालतर्फ जाँदै थियो तर सडकमा देखिएको दृश्य कारुणिक थियो ।


हाम्रो अगाडि सयौँ रथहरू खडा थिए । हरेक रथमा विभिन्न अखडाका सन्त–महन्तहरू बिराजमान थिए । हामीभन्दा पछाडि सुपरिचित पाइलट बाबाको रथ पनि थियो । यसै क्रममा नागा बाबाहरूको हजारौँको जुलुस देखा पर्‍यो । हाम्रा लागि यो निकै उदेकलाग्दो थियो । अधिकांश बाबाजीको शरीरमा कुनै वस्त्र थिएन । महिला नागा संन्यासीहरू भने एकसरो वस्त्रमा थिए । आ–आफ्नो सुविधाअनुसार त्यहाँको भीड छिचोल्दै पानीमा डुब्की लगाउन थाल्यौँ । यति बेला झन्डै बिहानको छ बज्नै लागेको थियो । असाध्यै चिसो बतास चलिरहेको नदी किनारमा जम्मा भएको विशाल भीडले पालैपालो संगममा डुब्की लगाउँदा देखिएको दृश्य साँच्चै नै दुर्लभ थियो ।


हरहर महादेव, जय गंगे, जय भोलेनाथ, ॐ नमो: नारायणजस्ता ध्वनिहरू हरेक श्रद्धालु तीर्थयात्रीहरूको मुखबाट निस्किरहेका थिए । सायद हाम्रो मुखबाट पनि । केही क्षण विश्राम गरेर आ–आफ्नो पोकापन्तरा बोकी पुन: जुना अखडाको मुख्यालयतर्फ फर्कियौँ । यसरी हाम्रो मकर स्नानले अन्तिम विराम पायो र सनातन परम्पराको एउटा पवित्र आयोजनाको स्मरणीय हिस्सा बन्ने अवसर प्राप्त भयो ।


प्रकाशित : माघ २६, २०७५ ११:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?