खुसीखुसी उनीहरू

विमल खतिवडा

काठमाडौँ — सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ अवस्थित तेम्बाथानमा शेर्पा समुदायको बसोबास बाक्लो छ ।

तेम्बाथान विकटमा छ, यही कारण कष्टपूर्ण दैनिकी छ यहाँ । गाउँमा गाडी पुग्दैन । स्वास्थ्य चौकी छैन, स्कुल प्राथमिक तहसम्म मात्रै छ । बिजुली बल्दैन गाउँमा । नुन–तेल लिन एक दिनको बाटो पैदल आइजाइ गर्नुपर्छ । तैपनि गाउलेले हाँस्न जानेका छन् । खुसीखुसी छन् उनीहरू ।


गाउँ पुग्दा जो भेटिन्छन्, मुस्कुराउँदै स्वागत गर्छन् । सुनका दाँत लगाएकाहरू ‘दन्तेमोहनी’ शैलीमा खुलेर हाँसिरहेका हुन्छन् । गाउँ पुग्न जलवीरे हुँदै एक दिनको यात्रा गर्नुपर्छ ।


नेसम खोला तरेपछि यो ठाउँ पुग्न भीरको बाटो छिचोल्नुपर्छ । घर जस्तापाताले टल्किएका छन् । गाउँका अधिकांश युवा/युवती वैदेशिक रोजगारीका लागि परदेसिएका छन् । कोही दुबईमा छन् त, कोही इराक छन् । क्याङसिङमा बास बसेर थप अर्को दिन पैदल यात्राबाटै गाउँ पुगिन्छ ।


गाउँमा व्यावसायिक रूपमा चौंरी र बाख्रा पालिएको छ । केहीले भकारी बुनेर घरखर्च जुटाउँदै आएका छन् । यात्राको क्रममा ठाउँठाउँमा मान्द्रोले बारेका चौंरीका गोठ भेटिन्छन् । कतै छुर्पी बिक्रीका लागि माला बनाएर राखेको दृश्य देख्न सकिन्छ ।


गोठमा पकाइरहेको मकैको ढिंडो, सिस्नुको परिकारले मुख रसाउँछ । शेर्पा गाउँ भएकाले बख्खु (शेर्पा पोसाक) मा सजिएका वृद्धवृद्धादेखि ठिटाठिटीले सबैको ध्यान खिच्छन् । गाउँबाट देखिने लस्करै हिमशृंखलाले मोहित बनाउँछ । गाउँमा कोदो, मकै, तोरी फल्छ ।

तर बँदेल, दुम्सी र बाँदरले पाक्न दिंदैन ।जुगल हिमाल नेपेमासल तेम्बाथान ग्रामीण विकास समाजका सचिव मिङमार शेर्पा रोजगारीको सिलसिलामा गाउँबाट देश/विदेशमा रहेकाहरू एकजुट भई गाउँलाई ‘नमुना पर्यटकीय गाउँ’ बनाउन कस्सिएको सुनाउँछन् ।


धेरै कुराको अभाव झेलिरहेको तेम्बाथान आफ्नो पीडा र कठिनाइ बिर्सिएर मुस्काइरहेको छ । खुसीखुसी देखिन्छ तेम्बाथान ।

प्रकाशित : माघ १९, २०७५ १२:४१
प्रतिक्रिया
पठाउनुहोस्

महाकवि पुत्री

मैतीदेवी घरमा यदाकदा शास्त्रीय संगीतप्रेमीको माहोल बन्ने गथ्र्यो । शास्त्रीय उस्तादसितै महाकवि देवकोटा पनि रागका आलाप गुन्गुनाउँथे । त्यही माहोलले छोरी अम्बिकालाई संगीतपट्टि झुकाव बढायो ।
सुनीता साखकर्मी

काठमाडौँ — बुबा प्रख्यात साहित्यकार । घरमा प्राय: साहित्यिक माहोल जम्ने गथ्र्यो ।

तर, उनले साहित्यिक बाटो रोजिनन् । बुबाले बेलामौकामा बजाउने गरेको हारमुनियमको धुनले उनलाई लठ्यायो । उनले शास्त्रीय संगीतकै बाटो पछ्याइन् । अनि वसन्त रागमा तरना गाउने पहिलो महिला गायिका बनिन्– अम्बिकादेवी रिमाल ।


महाकाव्य, कविता, निबन्धबाटै महाकवि लक्ष्मीप्रसाद देवकोटा चिनिएका छन् । तर, महाकविको शास्त्रीय गायन र संगीतको मोहबारे थोरै मात्र परिचित रछन् । महाकवि बुबाकै प्रेरणाले उनकी माइली छोरी अम्बिका शास्त्रीय गायनतिर लागेकी हुन् ।


७६ वर्षीया अम्बिकादेवीका अनुसार यदाकदा मैतीदेवी घरमा शास्त्रीय संगीतप्रेमीको माहोल बन्ने गथ्र्यो । शास्त्रीय उस्तादसितै देवकोटा पनि रागका आलाप गुन्गुनाउँथे । त्यही माहोलले अम्बिकालाई संगीतपट्टि झुकाव बढायो । छोरीको संगीतप्रतिको झुकाव देखेरै देवकोटाले शास्त्रीय संगीतकर्मी चेतनाथ शर्मासित ट्युसन राखिदिए । ‘बिहानको एक घण्टा म गुरुसित सिक्थेँ,’ अम्बिकाले सम्झिन्, ‘शास्त्रीय राग र संगीतको आधारभूत कुरा चेतनाथ गुरुले मलाई सिकाउनुभयो ।’


अम्बिका १५/१६ वर्षको छँदा देवकोटाको निधन भएको थियो । त्यसैले महाकवि बुबासित अम्बिकाको धेरै लामा संस्मरण छैनन् । बुबाको सम्झना मन–मस्तिष्कमा उत्रनासाथ अम्बिका बुबाले बजाउने गरेको जीर्णकाय हार्माेनियम सुम्सुम्याउन पुग्छिन् उनी । बुबाको चिनोको रूपमा उनीसित हार्माेनियमबाहेक अन्य केही चीजबीज छैनन् ।

देवकोटाको निधन भएकै वर्ष अम्बिकाको एसएलसी परीक्षा थियो । अम्बिकालाई पढाउने, गाइड गर्ने कोही पनि भएन । बुबाको निधनपछि एक दिन आमाले कोठा सफा गर्दैगर्दा एसएलसीका नोटहरू लेखिराखेको भेट्टाएकी थिइन् । अनि अम्बिकालाई त्यो सबै दिइन् । ‘त्यही पढेर पास भएकी हुँ,’ उनले भनिन् ।


एसएलसी पास गरेपछि पद्मकन्यामा पढ्दै थिइन् उनी । त्यहाँ शिक्षिका इन्दिरा पाण्डे बरोदाबाट भर्खर शास्त्रीय संगीत पढेर आएकी थिइन् । कार्यक्रमतिर अम्बिकाले गाएको सुनेपछि उनैले ‘तपार्इंको शास्त्रीय गायन राम्रो छ, भारतमा गएर पढ्नुस्’ भन्ने सल्लाह दिइन् । त्यसपछि अम्बिकाले बरोदाको विद्यालयमा आवेदन दिइन् र, छात्रवृत्ति पाएर पढ्नका लागि भारत गइन् । त्यहाँ शास्त्रीय संगीतमा स्नातक गरेर नेपाल फर्किएपछि उनले संवत २०२६ सालमा रेडियो नेपालमा प्रवेश पाइन् । त्यहाँ उनले शास्त्रीय संगीत गाउन थालिन् । २०२८ मा उनी त्यहाँ स्थायी भइन् । यसरी नै २०३२ सालसम्म रेडियो नेपालमा उनले निरन्तर शास्त्रीय गीत, संगीत गाइन् । कतिवटा गीत गाइन् भन्ने संख्या यकिन उनलाई याद छैन । ‘अहिले त्यो रेकर्ड हुनुपर्ने हो, मेटियो होला अब त,’ अम्बिकाले सुसाउँदै भनिन् ।


त्यसबेला काठमाडौंमा वसन्त रागमा ‘तरना’ गाउने महिलामा अम्बिका एक्लै थिइन् । नारायणहिटी दरबारभित्र तत्कालीन राजा महेन्द्रका छोराहरू वीरेन्द्र, ज्ञानेन्द्र र दुई शाहज्यादीको विवाहमा शास्त्रीय संगीतको प्रस्तुति उनले दिएकी थिइन् । ‘मेरो पालो अन्तिममा थियो । मभन्दा अघि गाउनेले गाइसकेपछि कार्यक्रम सिद्धियो भनेर सबै दर्शक फुतुफुतु निक्किन थाले,’ उनले भनिन्, ‘मैले वसन्त रागमा तराना गाउन थालेपछि उठेर जान खोजेका बसे, गइसकेका पनि फेरि फर्किएर आए ।’ गाउँदै गर्दा महेन्द्रलाई उनको गायकी मनपरेपछि ‘अर्काे एउटा नि गाऊ’ भन्दै फर्माइस गरेका थिए ।


रेडियो नेपालमा अम्बिकालाई शम्भु मिश्र, होमनाथ गुरुहरूले साथ दिन्थे । पूर्णप्रसाद प्रधानलाई उनी शास्त्रीय गायनको नक्षत्र नै मान्छिन् । एक पटक संस्कृति मन्त्रालयअन्तर्गत नाचघरमा कार्यक्रममा पूर्णप्रसादले अम्बिकाको परीक्षासमेत लिए । ‘कत्तिको सिकेर आउनुभयो ? खै, मसित गाउनुस् त’ भन्दै तानपुरा लिएर बसे । अनि अम्बिकालाई गाउन लगाए । गाउँदागाउँदै पूर्णप्रसादले बीचमा ‘विसम’ मारे । त्यसपछि ‘तपाईंले सिकेर चाहिं आउनुभएको रैछ । अब विसम पनि मार्न सिक्नुपर्छ’ भन्दै प्रोत्साहित गरेका थिए रे । अम्बिकाले बुबा लक्ष्मीप्रसादको ‘कुन मन्दिरमा जान्छौ यात्री..’ कवितालाई तोडी रागमा रेडियो नेपालमा धेरैचोटि गाएकी छन् । हंस ध्वनिमा बुबाका कविताहरू गाउँथिन् उनी । देवकोटाको एउटै ‘पुतली’ कविता थुप्रै शास्त्रीय रागमा गाएको उनलाई अहिले सपनाजस्तै लाग्छ ।


अम्बिका अहिले उनी गाउन सक्दिनन् । ‘गीत गाउन खोज्दा दमले उनको घाँटीलाई रोकिदिन्छ, गीत गाउन नसक्दा दिक्क लाग्छ,’ उनले भनिन्, ‘पहिलेको गायन र गायकी सम्झँदा आफैंलाई दु:ख लाग्छ ।’ अहिले उनी कान पनि कम सुन्छिन्, कानमा मेसिन नलगाएसम्म उनले सुन्न सक्दिनन् । ‘न आफ्नो गीत अरूलाई सुनाउन सक्छु, न म अरूको गीत खुला कानले सुन्न सक्छु,’ उनले भनिन् ।


मैतीदेवीमा रहेको देवकोटा निवास केही महिनाअघि मात्रै सरकारलाई संग्रहालयको रूपमा दिने सम्झौता उनले गरेकी छन् । देवकोटाले यो घर आफ्नी कान्छी छोरीलाई दिएका थिए । कान्छी बहिनीको निधन भइसकेकाले दाजुहरूसित सल्लाह गरी अम्बिकाले यो निर्णय लिएकी हुन् । त्यही संग्रहालयमा बुबाको अन्तिम चिनोको रूपमा रहेको हार्माेनियम पनि हस्तान्तरण गर्ने सोच अम्बिकाको छ ।


प्रकाशित : माघ १९, २०७५ १२:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्