१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

अभिघात : ऐठन परेको रात

क्रान्ति सूक्ष्मबाट हुँदैन विरक्त, हुन्छ बृहत् तर क्रान्ति हुँदैन तुच्छ । प्रहरी अथवा बलात्कारी ? सरकार अथवा बलात्कार ? डेरिडा अथवा प्रचण्ड ?
सरोनर

काठमाडौँ — सत्यले दुख्दैन । भनिन्छ, मृत्यु त्यसैको हुन्छ, जसको कुनै कथा हुँदैन । मृत्यु नहुँदासम्म कोही पनि हुँदैन असफल ।

अभिघात : ऐठन परेको रात

व्यथाका निम्ति कताकता होइन सदा कथा आवश्यक पर्छ । अर्को शब्दमा भन्दा, कथाले गर्छ व्यथाको व्यवस्थापन । सत्य होइन व्यथाको सर्त । सेक्सपियरको ‘जुलियस सिजर’ को वचन छ, ‘यदि तपाईं चाहनुहुन्छ गर्नु उनीहरूलाई पराजित, तपाईंले हत्या गर्नुपर्छ उनीहरूको स्मृति । तपाईंले नष्ट गर्नुपर्छ उनीहरूको अतीत । तपाईंले उडाइदिनुपर्छ बन्दुकले उनीहरूको कथाकृति ।’ भूपी शेरचनको ‘मेरो चोक’ मा ‘भोक, रोग र शोकले आक्रान्त यो देशका प्रधानमन्त्रीले भर्खरै बेल्जियमबाट गोली ल्याएका छन् । भन्नुस् त, गोली खाएर जोवनको तिर्सना कसरी मेटिएला (पृ. २३, सुत्ने समय) ?’
‘तपाईं इच्छुक बन्न तयार हुनुहुन्छ ?... कफ्र्यु रातको कुनै पर्वाह नगरी लेखिरहेछु (पृ. ३०, ३१, संकटकाले तराजुमा जोख्दाजोख्दै) ।’ संकटकालीन रोल्पा, रुकुम र दाङका अनुभूतिजडित आफ्नो संस्मरणात्मक निबन्ध संकलन रात पनि ऐठन परेको रातमा बजार आगमन हुनेबित्तिकै २०६० साल असोज ४ गते रातको करिब पौने एघार बजे कीर्तिपुर पाँगास्थित अमरकाजी महर्जनका दाजु रामकाजी महर्जनको घरमा नेत्रविक्रम चन्द ‘विप्लव’ का काकाका छोरा सुवर्ण चन्दसँग बस्दै आएका नवीन विभास बेपत्ता पारिएका थिए र पुन: सोही सालको मंसिर ७ गते रातको पौने एघार बजेतिर नै डेरामा लिएर छाडिएका थिए । ‘यै किताबले राजधानीको महाराजगन्जस्थित भैरवनाथगणको साइत जुराएको थियो (पृ. ११, लेखकीय) ।’


‘अभिघात सिद्धान्त’ क्याथी क्यारुथको मोनोग्राफ ‘फुटपाथ अनुभव’ मा प्रथम पटक देखापर्छ । यो विशेषत: विनिर्माणवादी दृष्टि हो । अभिघात सिद्धान्तअनुसार, सत्य दुर्गम हुन्छ र नियमित आकस्मिकताको आक्रामक तवरले निर्वाचन एवं नियन्त्रण हुने जुनसुकै निर्मम घटना हाम्रो भौतिक देहलाई अवसर नै मिल्दैन अनुभव गर्ने, कारण हो निलम्बित चेतना । क्याथीको तर्फबाट तर्क छ, अभिघातको निलम्बित प्रकृतिले गर्दा नै सत्य पहुँचमा हुँदैन तर भन्नुको मतलब यो हैन, मूलधारको इतिहासमा पुग्नु सकिँदैन । अनेकन सिर्जित अभिघात इतिहास अथवा आख्यानले मूलधारको इतिहासमा नेतृत्व गर्नेछ । सत्य जस्तो छ उस्तै प्रस्तुत गर्नु जटिल छ, सोही भएरै इतिहासको विनिर्माण जरुरी छ । त्यसैले अभिघात इतिहास रचनात्मक अथवा सिर्जनात्मक छ ।


सर्वसाधारण जनताको इतिहास लेखिँदैन, कथा भनिँदैन । तर, उसको जिन्दगीको अतीत इतिहासको गल्लीमा (अथवा गल्तीमा ?) ठक्कर खाँदै व्यतीत भइरहेको हुन्छ । सोही कारणले हुनुपर्छ, विभासको लेखकीय विभागमा नभनेकोलाई भनेर, नलेखेकोलाई लेखेर आफ्नो कथाको खातिर स्तरीय इतिहासको स्थान हाजिर गराउने, हासिल गर्ने महत्त्वपूर्ण महत्त्वाकांक्षा देखिन्छ ।

अभिघात : अघि र पछि
महेशविक्रम शाहको कथा ‘वधशालामा बुद्ध’ तथा मनोज पण्डितको चलचित्र ‘वधशाला’ को दृश्य स्मरण गर्न सक्नुहुन्छ, भैरवनाथ गणको एउटा–एउटा चित्र तपाईं बनाउन चाहनुहुन्छ भने । गणमा उनका सँगाती हुन्छन्— कञ्चन राई, रामहरि कँडेल र माधव घिमिरे ‘अटल’ । ‘संकटकाले डाक्टर (पृ. ५०)’ ले कारागारमा नन्दकिशोर पुन ‘पासाङ’ को भतिजा प्रकाश पुनसँग चिनापर्ची गराउने ओखती खोजे तर उनले ‘बन्दुक मर्जी नै संविधान... शाही सनक नै कानुन (पृ. ५२)’ अस्पताल अस्वीकार गरे ।


अगाम्बेनको होलोकस्ट सम्बन्धित ‘साक्षी’ को अवधारणा छ, पोल्यान्ड अवस्थित हिटलरको यातना शिविरमा के भयो ? अविस्मरणीय छ, स्मृतिमा भूमिगत हुँदा चरमपीडाको फलस्वरूप घनघोर अनुभव अकल्पनीय छ । साक्षी अविस्मरणीय र अकल्पनीयको परिक्रमा गरिरहन्छ । हिटलरको ग्यास च्याम्बरजस्तै ‘भैरवनाथ गणबाट निस्केको केही दिन...(पृ. १०)’ समग्र पीडाको संकेत हो (भैरवनाथ गणपछि कुनै कविता छैन) ।
रोबर्ट फस्र्टको कहावत छ, जब भावले प्राप्त गर्छ विचार र विचारले शब्द तब कविता हुन्छ । वास्तवमा, उक्त अविस्मरणीय घटनाको अनुभवले ती जो आहत भए, उनीहरूका खातिर नै त्यो अकल्पनीय छ र निलम्बित चेतनाका कारण त्यो भावलाई अभिव्यक्त गर्न उनीहरूसँग कुनै शब्द छैन । त्यही भएर उनीहरू यो अनुभूतिलाई पुस्तकको, रचनाको रूप प्रदान गर्दछन् । ‘...पछि पुगेको थिएँ, अनामनगरस्थित विवेक सिर्जनशील प्रकाशन... पाँच हजार बुझाएर छापिएको उही किताब थियो यो (पृ. उही) ।’


नवीन विभास सरोनरसँगको एक भेटवार्तामा भन्छन्, ‘मुक्तिपछिको कैयौं महिना मलाई लागिरह्यो, गणका अनुभव मलाई कसैले एक शब्द नसोधिदिए हुने । आजभोलि पन्ध्र वर्षपछि ती अनुभूति म लेखूँ, केही सिर्जना गरूँ भन्छु, मैले धेरै कुरा नभुलेर पनि भुलेको पाउँछु, म निलम्बित चेतनाको महसुस गर्दछु ।’ उनी मलाई उनको उतिबेलाको घरबेटी बाको नाम बताउँछन् । गणबाट डेरा फिर्ता भएको रात घरबेटी आमाले नेवारी लवजमा भनिछिन्, ‘भाइ, बाँचेर आयो ।’ म उनीबाट घरबेटी आमाको नाम माग गर्दछु । उनले भने, ‘मलाई घरको टेलिफोन नम्बर याद छ । चार तेत्तीस चौध उनान्तीस । म सोधौँ ?’


‘शाही सासन... हुकुमका गुलाम (पृ. ८१)’ ले गणमा केही कैदीका भिन्न नाम दिएका थिए । कञ्चन राई को ‘काली’ । रामहरि कँडेलको ‘ढिलो भात खान्छ’ । शाही बुटको आवाजको आगमन हुनेबित्तिकै मौन शारीरिक प्रतिक्रिया व्यक्त गर्ने हुनाले लमजुङका एक कैदीको ‘चोरगाई’ । कँडेलले गणको नियमअनुसार कहिल्यै चाँडो खान सकेनन्, एक दिन पनि उनलाई गणको रासन टन्न हजम भएन । ‘भात पस्केर खान थालेका छौँ ।... ठीक त्यसैबेला खोल्नुस् पनि नभनी एकाएक ढोका खुल्छ ।... बुटका छाप लाउँदै (कसैलाई छाप नलाएरै) बाहिर निकालिन्छौँ, सिमसिमे पानीमा (पृ. उही) ।’


‘संविधान दिवसको दिन... मारिएका थिए, घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पसका मेरा सहपाठी माधव घिमिरे... (पृ. ७४) ।’ गृहयुद्धमा मारिएका र बेपत्ता पारिएका ‘माधव’ र ‘माधवी’ हरूको विशुद्ध तथ्यांक छैन । भैरवनाथ गणमा भेटिएका माधवचाहिँ कवि हुन्, पेसाले अहिले शिक्षक । ‘उन्मुक्त पुस्ता’ का माधव घिमिरे ‘अटल’ अटल रहे, किनकि उनी हुन सकेनन् राष्ट्रकवि ?


२०६६ असोज ११ गते जिल्ला प्रहरी कार्यालय अछाममा कार्यरत जवान सुन्तली धामी प्रहरी चौकीभित्र उनकै सहकर्मीहरूद्वारा सामूहिक रूपमा बलात्कृत भइन् । २०७४ पुस १६ गते सुनसरी इटहरीस्थित रोयल रिसोर्टमा १४ वर्षीया किशोरीलाई वाइन पिलाएर दुई युवाले बलात्कार गरे । घटना प्रहरीसम्म पुगेपनि प्रहरीले दोषीलाई कारबाही गरेन । बरु बिचौलिया र प्रहरी मिलेमतोमा बलात्कारीसँग २७ लाख रुपैयाँ लिएर घटना लुकाइयो । २०७५ साउन १० गते भीमदत्त नगरपालिका खोल्टीकी तेह्र वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भयो ।


नुवाकोटकी ‘काली’ कञ्चनले चाहिँ एक जना सैनिकसँग विवाह गरिन् स्वतन्त्रतापछि । हाल थानकोटमा छ उनको घर । ‘छापामार युवतीको डायरी’ वाली तारा राई ‘अनमोल’ लाई स्मरण गर्छ सरोनर । कञ्चनलाई नवीनले सोधेछन्, ‘यी सब भोगाइको भोटो फटाइसकेपछि पनि किन तिमीले विवाह गर्‍यौ सैनिकसँग ?’ प्रत्युत्तरमा उनले भनिछिन्, ‘मलाई कसले स्वीकार गथ्र्याे त ?’ कारागार भोगेकी बागी युवतीलाई हेर्ने नजर समाजको जस्ताको तस्तै छ, मुक्तिपछिको उनको अनुभव छ । असुरक्षित महसुस गरिन् उनले घरेलु हुन युद्ध नबुझेको युवासँग । फलस्वरूप उनले घरजम गरिन् त्योसँग जससँग युद्ध भयो । अन्ततोगत्वा युद्धमैदानका विपरीतहरूको एकत्व भयो ?


समाजले नारीसँग पत्नीको पारवहन सन्धि र पत्नीसमक्ष आमाको भारवहन सम्झौता गरेको छ । नारीले बोकेकी छन् पत्नी र आमाको सामाजिक कार्यभार । तर, पत्नी र आमाभित्र मौजुद समग्र नारीको पहिचान गरेको छ समाजले अस्वीकार । पत्नी तथा आमा भइसकेपछि नारी भइन्छ भन्ने मान्यता भत्काउनु आवश्यक छ । पत्नीत्व र मातृत्व हुन् नारीत्वभित्रका अङ्ग । एउटी सिर्जनशील नारी हुन आमा हुनैपर्छ भन्ने छैन । ‘मातृभूमि’ को संज्ञा त दिइएको छ देशलाई, तर आशय ‘यो देश आमाको हो, नारीको हो’ भन्ने होइन । मानौं नारी कुनै बाइसे–चौबीसे राज्य हो, जसलाई जतिखेर मन लाग्यो जति पनि एकीकरण गरे हुन्छ । ‘आमा’ यात्रा चुनौतीबिनाको कहाँ हुन्छ र (पृ. १६, तन्नेरीलाई प्रेमपत्र, थप जानकारीका लागि हेर्नुस्, शनिबार, १६ भदौ २०७५ को ‘अन्नपूर्ण’ को ‘फुर्सद’ मा प्रकाशित ‘रोएको सुनेरै छोरा वा छोरी’ ?)

भूमध्यरेखीय स्वर
‘बासित साहुको एउटा रिक्सा मात्र थियो । बन्दुक थिएन । तर, आतंककारी भने । ’भोग्न, देख्न, सुन्न र हेर्न पाउँछौँ । तर, ‘किन’ भनेर सोध्न पाउँदैनौँ (पृ. ४९, बन्दुकको आँखा) । ’निरंकुश सत्ताले हरेक साधारण जनतालाई आतंककारी भनेर गर्छ व्यवहार । ‘मगर भएर पनि... साले रोल्पाली पनि माओवादी होइनस् कसरी (पृ. ५१, बस फेरि गुड्न थाल्छ) ?’ विभासलाई बेपत्ता पार्नुमा तत्कालीन कारण थियो उनको पुस्तकको वैचारिक हस्तक्षेपको शब्दप्रहार । तर, रोल्पा–रुकुमको हुनु ‘श्रीमान् गम्भीर...’ हुकुमी शासनको नजरमा सर्वप्रथम दर्जाको हुनु थियो आतंककारी करार ।


उनको पुस्तक सम्बन्धित बयान ग्रहण गर्नुबाट दूर थियो कारागार । तर, माओवादीको गढ मानिएको रोल्पाको मानिस हुनाले पुस्तक सम्बन्धित कारागारको ठहर के थियो भन्दा विद्रोही पुस्तक लेख्छन् उच्चस्तरीय माओवादी नेता मात्रै हुन्छन् लेखक, साहित्यकार । ‘केही थान किताब छन्...संकटकालमा पनि बोक्न मिल्छ (पृ. ५१),’ तर उनको किताब प्रकाशन गर्नु त परै जाओस्, त्योअनुसारको सोच बोक्नु पनि मिल्दैन । कारागारको आफ्नो बयान विभासद्वारा भएन फेरबदल अन्तदेखि सुरु । उनले बुझेका थिए, यातनामा बढोत्तरी हो सुरुवाती बयान फेर्नु । ‘तँ नेता नै रहिछस्,’ उनलाई छाड्ने दिन ‘कोही’ ले एक बन्चरो वचन प्रहार गर्छन् ।


नवीन विभासको ‘संकटकालीन बसयात्रा झन् विकट भएछ, माओवादीले अस्ति राति (२०५९ भदौ २३, तीज) सन्धिखर्क (अर्घाखाँची सदरमुकाम) हानेपछि (पृ. ७५) ।’ तर ‘कफीगफी’ नारायण वाग्लेको ‘पल्पसा क्याफे’ मा आफू सवार बस एम्बुसमा पर्नु र पल्पसा मर्नु दृश्यका लागि माओवादीको एउटा जघन्य अपराध हुन्छ र हुन्छ एउटा कायरता । तर, माओवादी सिद्धार्थको राज्य पक्षले हत्या गर्नु उसको निम्ति एक साधारण घटना, स्पष्ट छ कतातिर छ उसको सदाशयता । वाग्लेको ‘कभरेज’ सम्बन्धित छ शक्तिसँग ।


आहूतिले ‘पल्पसा क्याफे’ लाई ‘कीरा नलागेको बन्दाकोपी’ को संज्ञा किन प्रदान गरेका छन् ? फूलकोपी र बन्दाकोपीको ‘जलविहार’ चुट्किला त तपाईंहरू सबैलाई सर्वविदितै हुनुपर्छ ? फूलकोपीले आफ्नो ‘पात’ पहिरन अथवा लुगा फुकाएर पौडी खेल्नु सफल छ । तर, बन्दाकोपी आफ्नो लुगा फुकाल्दाफुकाल्दै सकिन्छ । उसको आफ्नो अस्तित्व नै उसको समाप्ति, धराप, अथवा सराप । उसको आफ्नो अस्तित्व नै उसको असफलता ।
पृथ्वीलाई ठीक बीचबाट काट्ने काल्पनिक रेखालाई भनिएको छ भूमध्यरेखा । भूमध्यसागरीय हावापानी प्राप्त क्षेत्रलाई भनिएको छ संसारको बगैंचा । डोमिनिक लाकाप्राको अभिघात सिद्धान्तको ‘भूमध्यरेखीय स्वर’ ‘पल्पसा क्याफे’ मा छैन । विभासको ‘ऐठन परेको रात’ वाग्लेको ‘पल्पसा क्याफे’ हैन । ‘पल्पसा क्याफे’ मा राज्य पक्षबाट भएको मूलत: दुई अपवाद, सिद्धार्थको हत्या र दृश्यको शंकास्पद अपहरणबाहेक माओवादी ‘खराबी’ मात्र छ गुञ्जायमान । पुस्तकले गर्दैन वाग्लेकै कुनै पात्रको ‘बीचमा बस्ने’ तवरले सञ्चार । लाकाप्राका अनुसार, देहभाषाको देहावसान हुँदैन असल अभिघातको सिर्जनामा, उपस्थित हुन्छ उदार उपसंहार ।


उदाहरणका लागि, सलमान खान अभिनीत चलचित्र ‘बजरंगी भाइजान’ । जुनको अन्त्यमा दर्शकले प्राप्त गर्छ सन्तुलित सन्तुष्टि । किनकि, त्यहाँ छ सद्भाव र मेलमिलापप्रति प्रोत्साहन र प्रेमलाई प्राप्त सबै धर्मभन्दा सर्वोच्च स्थान । ‘बजरंगी भाइजान’ ले मुन्नीका निम्ति मिचेको सीमा म पनि पार गर्नु चाहन्छु । जोन लेननको ‘इम्याजिन’ को अर्थ पनि सम्भवत: त्यही हो ।

जोडघटाउ
‘ऐठन परेको रात’ का चौध थान निबन्ध चौध–पन्ध्र वर्षपछि पनि छन् जीवन्त । भन्नुको मतलब, हररात ‘रोल्पा सुइना’ मा ऐठन हुन्छ । चौधमहिने घोषित संकटकाल अघोषित तवरले यद्यपि छ जारी । ‘दाङ, कात्तिक २३, २०५४ । संविधान दिवसको दिन दाङको नयाँ बस्तीमा सात जनाको हत्या (पृ. ७४) ।’ ३ असोज २०७२ को ‘नयाँ’ संविधान जारी हुनेबित्तिकै ‘सेतोपाटी’ ले लेखेको सम्पादकीय छ, ‘पछिल्ला केही सातायता भएका हिंसामा करिब ५० नेपालीले ज्यान गुमाएको घटनाले संविधान जारी हुँदा देखिनुपर्ने उल्लास खोसेको छ ।...’


यो सुनिश्चित हुन्छ, कुनै समूहको विशेषाधिकार उसैलाई सर्वप्रथम प्राप्त हुन गएको, जो हुन्छ उक्त समूहको सबैभन्दा उच्च तप्कामा रहेको । कुनै समूहले हासिल त गर्छ विशेषाधिकारको स्थान, तर पनि उक्त समूहभित्र केही दृष्टिविहीनपन हुन्छ विद्यमान । कुनै समूहको आन्दोलन जब केवल सत्ताको निकट हुन्छ, तब उक्त समूहको समस्या समाधानको बाटो विकट हुन्छ । मधेसी मोर्चाले छ प्रदेशको नामांकनमा आफूलाई न्याय नभएको भन्दै २०७२ साउन ३१ र ३२ गते आयोजना गरेको छ आमहडताल । तेस्रो मधेस आन्दोलन आरम्भ भएको तीन दिनपछि २ भदौ २०७२ काठमाडौंमा बसेको मोर्चा बैठकले आन्दोलनमा कुनै प्रदर्शनकारी मारिए आन्दोलनपछि निर्माण हुने सरकारले ५० लाख रुपैयाँ प्रतिव्यक्ति दिने निर्णय गरेको छ । गर्न सक्नु गर्वको कुरा हुन सक्छ, तर अधिकारका खातिर नागरिकको ज्यानको अग्रिम मूल्य तोक्दै प्राणोत्सर्ग गर्न, मर्न आह्वान गरिएको आन्दोलनको भविष्यको गर्भपतन हुन्छ ?
‘अचेल चिठी ‘खुला’ आउँछन् (गाउँबाट आउने होऊन् या अरबबाट आएका) । बन्दुकले नखोली चिठीले आफ्नो बाटो लाग्न पाउँदैनन् । त्यसैले कति चिठी त बाटामै अलप हुन्छन् ।... राजागाउँ (काठमाडौं) को विमानस्थलमा... सिंहदरबारले ‘वैदेशिक रोजगारको भट्टी थापेकै छ,’ प्रत्येक दिन तुलबहादुरहरू फर्कन्छन् भने पूर्णाकुमारीहरू बेहोसबेहोस बर्बराउँछन् । तर, तिनैका आँसुको संगीतमा सरकारले (लाज नै नमानी) ठूलो स्वरमा गाइरहेछ– वैदेशिक रोजगारको गीत (पृ. ६७–९, मलाम जाँदाजाँदै) ।’


गोपाल साउदको कात्तिक १९, २०७५ को ‘नयाँ पत्रिका’ मा प्रकाशित ‘वैदेशिक रोजगारीको १० वर्षे कथा’ अनुसार, वैदेशिक रोजगारीमा गएका ६ हजार ९२१ युवा काठको बाकसमा फिर्ता भएका छन् पछिल्लो एक दशकको अवधिमा, हरेक महिना ५५ जना नेपालीले श्रमका वैदेशिक गन्तव्यमा ज्यान गुमाइरहेको नेपाल सरकारले हालै सार्वजनिक गरेको एक विवरणले देखाएको छ । शुद्ध तथ्यांक नभए तापनि हाल वैदेशिक रोजगारीमा गएका भनिएका ७० हजारमध्ये प्रत्येक दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तीन जनाको शवबाकस वापस हुन्छ ।


आहूतिको छ उद्गार, ‘जनयुद्ध’ सँग संलग्न, सरोकार राख्ने तथ्यांक जुन भनिन्छ सत्र हजार, त्यो सही होइन, साढे सात र आठ हजारको बीचमा त्यो हुनुपर्छ । अब भन्नुपर्ने हुन्छ, पछिल्लो एक दशकमा वैदेशिक रोजगारीमा मर्ने तथ्यांक बराबर एक दशकको द्वन्द्वमा मारिने तथ्यांक करिबकरिब हुन आउँछ, आहूतिलाई मान्ने हो भने आधार । वैदेशिक रोजगार सम्झौता अझै पनि सम्पन्न गरिरहेकै छ सरकार ।


सात–आठ हजार नेपाली रुपैयाँ खाडीमा तलब बुझेर मरुभूमिको एउटा पाखा नै हराभरा तुल्याएर बसेका युवाको एउटा समूहसँग देखाभेट गरेपछि सोचमग्न र शोकमग्न हुन्छन् अभि सुवेदी । मरूभूमि हरियै तुल्याउनु सामथ्र्यवान उनीहरू कसरी हुन सक्छन् खुसी, जब रूख नै नपाइने वन बनेको उनीहरूको जीवनमा नै हरियाली छैन भने ?


कारावासमा प्रथम पटक नुहाउँदा सँगसँगै भेटिएका चेतनाथसिंह ढुंगाना हालसम्म पनि बेपत्ता छन् विभासले भने अनुसार । ‘जनयुद्ध’ मा बेपत्ताको जस्तै विदेश गएर उतैबाट हराउने तथ्यांक पनि शुद्ध छैन ।

मीमांस : पोएटिक्स अफ पोलिटिक्स
लाओत्सेले भनेका छन्, ‘शास्त्रबाट धेरैथोक भयो प्राप्त । सबैभन्दा ठूलो ज्ञानप्राप्ति शास्त्र पढेर के भयो भने, केही पनि हासिल हुन सक्दैन शास्त्रबाट । यो कुनै सानोतिनो प्राप्ति हो र ?’ ‘पोएटिक्स अफ पोलिटिक्स’ लागू गरेर अब बोल्दा, सशस्त्र द्वन्द्वमा पन्ध्र हजारभन्दा बढीले उसो भए ‘शास्त्रीय मृत्यु’ लाई अंकमाल गरेका हुन् ? पुष्पकमल दाहाल र बाबुराम भट्टराईका निम्ति पनि यो कुनै प्राप्ति हुन सक्छ र सानोतिनो ? ‘समृद्धि’ जस्तो केपी ओलीको ‘कागज र भाषणमा त सबथोक छ ।... निरन्तर आँखामा आइन्, अबोध कम्लरी अनुहार (पृ. ३९, बिहान पर्खेर साँझमा) । ’यो देशको सबैभन्दा ठूलो विश्वविद्यालय नारायण ढकालको ‘धूवाँ’ ले गुम्सिएकै छ । निकै गरिब छन् जनता । नेताहरू बिक्छन् तर किन्न सक्दैनन् । ‘एक हूल तन्नेरीसँगै कामुका किताब परपर फाल्दै एकटक हेरिरहेछु— कतिखेर ‘सिंहदरबार’ अनुवाद हुन्छ, एउटा सुन्दर घरमा (पृ. २१, सपना भत्कने रात) ।’


‘फुटपाथ मिनिस्टर्स’ नामक रमेश विकलको एक कथाको प्रमुख पात्र एक ‘लावारिस’ भविष्यको कर्णधार नागरिक छ । नेपालमा बच्चाहरू दिनहुँ जन्मिन्छन्, दिनहुँ मर्छन् पनि । मलाई बाँचिरहेका र मरिरहेका दुवै बच्चाहरूप्रति संवेदना छ, जो नेपालमा जन्मिन्छन् । रवीन्द्रनाथ ठाकुरको उपन्यासिका चार अध्यायमा अधर्म होइन उनको अधरको कम्पन निर्देशित कथन छ, जहाँ उनको हृदय–गुञ्जन छ, ‘कुनै डर छैन, भयभीत हुनुपर्दैन । धेरै प्रेम गर । केवल ‘आमा आमा’ को आवाजमा जो देशको पुकारा गर्छन्, ती सदा बालक नै रहिरहन्छन् । देश बूढो बालकको आमा होइन । देश अर्धनारीश्वर हो । स्त्रीपुरुषको मिलनमा नै देशको उपलब्धि छ । उक्त मिलनलाई गृहस्थीको पिंजडामा कैद गरेर कान्तिहीन नगराऊ ।’ इतिहास नयाँले बनाउने हो, पुरानाले त उही इतिहास (समाचार) दोहोर्‍याउने हो ।


व्यक्तिगत अभिघातको प्रतिक्रिया शोक र उदासी । परिणति सांस्कृतिक अभिघातको मुक्ति र क्रान्ति । क्रान्ति सूक्ष्मबाट हुँदैन विरक्त, हुन्छ बृहत् तर क्रान्ति हुँदैन तुच्छ । प्रहरी अथवा बलात्कारी ? सरकार अथवा बलात्कार ? डेरिडा अथवा प्रचण्ड ? विमल निभाको ‘शब्दकोश’ छ— राजनीतिक एवं नैतिक पक्षघातले ग्रस्त । डा. भट्टराईको क्रान्तिको स्वप्नजस्तै डा. केसीको अनशन पटकपटक कुनै सम्झौतामा अंगभंग भएको छ, टुंगिएको छ, तुहिएको छ । ‘सम्झन्छु– गाउँको अस्पताल गोरीनेटीमा ‘अस्पतालघर’ मात्र छ । तर, अस्पताल स्वयं थला परेको छ (पृ. १९) ।’


आफ्नो विश्वविद्यालयका एक सहपाठीले भनेको कुरा मेरो निम्ति यहाँ स्मरणीय छ । ताप्लेजुङका कुमार मनले आफ्नो साथमा लिएको टिपोट–पुस्तिका एक हातमा राख्दै अर्को हातले उनी थप जोडघटाउ बढाउँदै जान्छन् आफ्नो ओठको शब्दद्वारा, अब उनको हातको टिपोट–पुस्तिका र उनको अधर दुवैमा शब्दहरू नृत्यमग्न देखिन्छन्, ‘असलमा विनम्रता (थोरोको ‘सविनय अवज्ञा’) आक्रामक रूपले आक्रान्त अहंकार कदापि होइन । अहंकार भने हो तर रक्षात्मक । सुरक्षाका खातिर हाजिर अथवा हासिल गरिरहेको अहंकार । स्वयंले स्वयंलाई पीडा दिनेहरू नै शीघ्र सज्जन कहलाउँछन् । ‘आत्मपीडक’ को अंग्रेजी अनुसिर्जनाअनुसारको ‘मैसोचिस्ट’ को मैसोच एक मानिस हुन्छ, जो स्वयंले स्वयंलाई मार्छ । मैले तपाईंलाई भोकभोकै मार्छु भने दुर्जन भनौं परपीडकको स्थानमा राखिन्छ मलाई, कानुन, अदालतको बाटो गएर समातिन्छ । तर, जब म स्वयं जनताको स्वयंसेवक भएर अनशन गर्छु, तब तपाईं मलाई कैद गर्न न कुनै भीडतिर कदम चाल्नुहुन्छ, न कुनै कानुन, अदालतको भीरतिर हाम्फाल्नुहुन्छ, बरु तपाईं नै मेरो लागि जुलुस निकाल्नुहुन्छ ।’
‘घडीलाई थाहा होला– भैरमलाई जिउँदै गाडिएको थियो कि मारेर ?... र, कति बजेको थियो, भैरमले अन्तिम सास फेर्दा ? घडीसित हिसाब होला । घडी हिँडिरहेको थियो, भैरम बाटो लागे पनि (२ भदौ २०७५ को अन्नपूर्ण फुर्सदमा प्रकाशित ‘भैरम दमैको घडी’) ।’ जिससमाथि कसैको सवाल सवार भयो, ‘हजुरको प्रभुको राज्यमा विशेष चीज के हुनेछ ?’ अनि जिससको उत्तरोच्चारण छ, ‘त्यहाँ समय हुनेछैन ।’ आनन्दको क्षणमा समय हुँदैन । सहस्र सवालहरूको एउटै जवाफ आनन्द हो ।


प्रभु, ‘भैरम दमैको घडी’ चलिरहेको नै छ भने हजुरले बुझ्नुपर्छ, हजुरको राज्यमा अझै पनि भैरम दमैको आत्माले आनन्द प्राप्त गरेको छैन । आमेन ।
[email protected]

प्रकाशित : माघ १९, २०७५ १२:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?