रारासामु हाफ–म्याराथन

रारा किनारमा सुरु भएको हाफ–म्याराथन दूरीका हिसाबमा लामो थिएन । तर, हिमाली स्याँठ र सिरेटो नबेहोर्नेका लागि यो लामै थियो । यो लामो रेस थियो सुरुमा । पछि हामी ‘धिरेधिरे’ दौडिन थाल्यौं । अनि दौडाइ लुखुरलुखुर बन्यो हिंडाइको । अन्तिममा हाम्रो रेस लोसो मर्निङ–वाकजस्तै मात्र बन्यो ।
मीनराज वसन्त

काठमाडौँ — दोधर्तीको स्वर्गको रूपमा व्याख्या हुँदै आइरहेको छ, रारा । तर, त्यहाँसम्म पुग्ने उत्कट इच्छा हुँदाहुँदै पनि विभिन्न कारणले म जान सकिइरहेको थिइनँ ।

रारासामु हाफ–म्याराथन

कहिले पैसा अभाव, कहिले दौँतरी अभाव । त्यसमाथि झन् सरकारले २०७५ लाई ‘कर्णाली–रारा पर्यटन वर्ष’ घोषणा गरिदियो । म थप तनावका सुईहरूले रोपिएँ ।

किसानलाई मंसिरमा धान थन्काउने चटारो भएजस्तै मलाई रारा पुग्ने चटारो थियो । यो तीजताकाको कुरा हो । यस्तैमा एक दिन सुर्खेती मित्र पहल असीमको फोन आयो । उनले, अनमोल स्मृति प्रतिष्ठानले रारा किनारमा ‘बृहत् साहित्यिक तथा सांस्कृतिक कार्यक्रम’ गर्न गइरहेको जानकारी गराए । र, सोधे– ‘के तपाईं नि रारा जानुहुन्छ त ?’
जहाँ पुग्न म तड्पिरहेको छु, त्यही ठाउँ जाने भन्दा कसरी नाइँ भन्न सक्थेँ र मैले ? उनको प्रस्तावलाई सहृदयतापूर्वक स्विकारेँ मैले । र, रारा जान राजी भएँ ।

२०७५ कात्तिक दस गते । सुर्खेती बिहान चिसै थियो । शरीरलाई न्याना लुगाले देखभाल गरिरहेका थिए । हामी सबै लोकदोहोरी प्रतिष्ठानअघिको चौरमा भेला भयौँ । रारा जानका लागि भनेर प्रतिष्ठानले दुइटा बस रिजर्भ गरेको रहेछ । एउटामा सांस्कृतिक कार्यक्रम लागि गायक–गायिकाको जम्बो टोली थियो, वाद्यवादनसहित । र, अर्कोमा कविलेखक ।


कलाकारहरू आफ्नो गाडीमा बसे । हामी आफ्नोमा । बाठा साथीहरू अघि नै गएर सिट कब्जा गरिसकेका रहेछन् । उभिनेमा पहल, प्रतिष्ठानका संरक्षक निराजन शाही, महेन्द्र चन्द, विमर्श कँडेल र म प‍र्‍यौँ । बसमा मैले चिनेका केही मात्र साथीहरू थिए । केही साथी कलाकारको बसमा पनि मिसिएका थिए । त्यसबाहेक पूरै अपरिचित अनुहार ।


कतै भीरमा बस गुडिरहेजस्तो लागिरहेको थियो । साँघुरो सडक । अनेक घुम्ती र मोडहरू । जब बसले ‘टर्निङ’ लिन्थ्यो, हामी उभिनेहरू ढलपलिन्थौँ । हातले चपक्क डन्डी पक्रेर धानिन खोज्दाखोज्दै पनि बस घुमेकैतिर हामी कक्रक्क पथ्र्यौँ । बस आफ्नो रफ्तारमा कुदिरहँदा गाउने साथीहरू गलिसकेका थिए । एक छिन एक छिनमा गाउँथे । हाँस्थे । अनि फेरि चुप लाग्थे । यता हामी उभिनेले पनि खुट्टाको दुखाइ महसुस गरिरहेका थियौँ । गजलकार विमर्श यो मामलामा सचेत देखिए । उनी बसको पछाडिबाट सोझै क्याबिनमा प्रवेश गरे । र, हातको इसाराले अर्का मित्र महेन्द्र चन्दलाई पनि बोलाए । ‘म पनि अगाडि नै जान्छु’ भन्दा साथीहरूले मलाईचाहिँ रोकिराखे ।


क्याबिन : एक परिवार गुरुजी खाइलाग्दै थिए । गुरुजीसहित क्याबिनमा हामी एघार जना भयौँ । सबैको गन्तव्य पनि एउटै ठाउँ र बसभित्रको स्थिति पनि लगभग उस्तै भएपछि हामीहरू एकआपसमा नजिकिँदै गयौं । आत्मीयताको तह बढ्दै गयो । परिवारका सदस्यझैँ लागे सबै । बाटो काट्ने ओखती होस् भनेर हँसाउने प्रयासमा म धेरैभन्दा धेरै बोलिरहेँ पनि ।बस कुदिरहेकै थियो । रूख र झाडीको छेलबाट तल गहिराइमा मैले जीवनमै पहिलो पटक कर्णाली नदी देखेँ । नीलो । एकदम शान्त, कर्णाली । बिस्तारै बस ओरालो लाग्यो । अब हामी कर्णालीको छेउछाउ हुँदै यात्रा गरिरहेका थियौँ । पाल्ताडामा खाना खाएपछि त झन् कर्णालीकै हात समातेर हिँडेको जस्तो अनुभूति भयो ।


बसमा हामी छेउ अर्थात् नदीतिर थियौं । विमर्श, छोरीसहित शारदा अन्टी, एकेन्द्र खड्का र म । बेलाबेला त ‘लौ बस गयो गयो’ भन्नेसम्म हुन्थ्यो । मुटु चिसो हुन्थ्यो । अनि एकले अर्कोलाई चपक्क समात्थ्यो । सबैभन्दा बढी डराउने त साथी ईश्वर दाहाल नै थिए । ‘रारा पुगिहालियो भने मेरा बाआमालाई पनि यतै बोलाइदिनू’ उनी भन्थे, ‘यही बाटो फर्केर त म आउन सक्दिनँ दाजु ।’हत्तुहैरान परेको भरियाझैं, शेरीघाटको पुल तरेर बस उकालो लाग्यो । माथि डाँडाको टुप्पोमा फलेको झैँ लाग्थ्यो, कालिकोटको मान्म बजार । बाटो पनि एकदम घुमाउरो । जति बस माथि चढ्दै गयो, उति तल भीर बन्दै गयो ।


गोठिजिउलामा बास सिरसिर हावा चलिरहँदा घाम पनि लागिरहेकै थियो । मान्म बजारमा एक छिन रोकेर हामीले चिया नास्ता गर्‍यौँ । यस्तो रूखो भीरमा पनि ‘आधुनिक सहर’ बसेको देखेर म छक्क परेँ । सुर्खेत छोडेपछि बजारजस्तो ‘बजार’ बल्ल देख्न पाइएको थियो । मान्मबाट अगाडि लागेपछि सुरु भयो फेरि उस्तै भीरको बाटो । तर, अब देखिने डाँडाहरू हरिया थिएनन् । जहाँजहाँ आंशिक हरियोझैँ देखिन्थ्यो, ती बुट्यान या झारपात यस्तै केही हुन्थे । त्यही डाँडामा वारिपारि मान्छेहरूको पातलो बस्ती देख्न सकिन्थ्यो । दस गतेकै दिन । प्रतिष्ठानले गोठिजिउला, जुम्लामा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । जसमा डा. देवेन्द्र आचार्यसहितको टोली अघिल्लो दिन नै जुम्ला पुगिसकेको थियो । कवि नवराज पराजुली पनि उनीहरूसँगै थिए । मध्यरातमा हामी गोठिजिउला पुगेर उनीहरूलाई भेट्यौँ र त्यहीँ बास बस्यौँ ।


राराको हुटहुटी एघार गतेको बिहान । जुम्लामा भयंकर जाडो थियो । अति भएपछि हातमा लगाउने पन्जा र एकजोर ताता मोजा हामीहरूले त्यहीँ किन्यौँ । चिया–नास्ता गर्दा घडिले नौ बजायो । बाहिर घाम देखिएको थिएन । जुम्लातिर त घाम पनि अबेर ड्युटी गर्न आइपुग्दो रहेछ । फर्किंदो रहेछ चाँडै ।गोठिजिउलाबाट राराको दूरी धेरै थिएन । अन्दाजी चार घण्टा लाग्दो रहेछ बसमा । त्यसपछि त के ? मनभित्र कति बेला रारा पुगौँ भन्ने हुटहुटीको तापक्रम बढ्दै गयो ।


यस्तै दिउँसोको तीन बजेको थियो होला, हाम्रो बस मिलिचौर पुगेर रोकियो । राराका लागि बसको अन्तिम गन्तव्य यहीँसम्म मात्रै रहेछ । खुसी हुँदै सबै जना बसबाट झर्‍यौँ । खुसी यसकारण कि, हामी बाँचेर सकुशल रारा आइपुगेका थियौं । मिलिचौर निकै फराकिलो थियो । जहाँ घोडाहरू मस्तसँग चरिरहेका, कुदिरहेका थिए । सिरेटो चलिरहेकै थियो । राराका लागि बाइकमा मिलिचौरसम्म पुग्नेहरूले घोडासँग बाइक साटिरहेका थिए । अर्थात् त्यहाँ घोडा चलाउनेहरू बाइक चढ्न रहर गर्थे । बाइकवालाहरू घोडा चढ्न । यसरी आफ्नो साधन एकअर्कासँग साटेर आनन्द लिइरहेका देखिए ।
हिँड्दै गर्दा जंगलभित्रबाटै दायाँतर्फ राराको नीलो पानी देखियो । खुसीले म झन्डै चिच्याइनँ । आखिर, यही हेर्न त ज्यान जोखिममा राखेर आएका थियौँ नि †


जंगलभित्रको बाटो सकिएलगत्तै फेरि अर्को चौर आयो । अनि बल्ल छर्लंग देखियो रारा । राराको वास्तविक सौन्दर्य । लाग्यो, म स्वर्गमै छु यतिखेर ।
आफूले बोकिरहेको सामान बिसायौँ हामीहरूले । र, गुरुरु कुदेर रारा किनार पुग्यौँ । रारालाई नेपथ्यमा राखेर फोटोग्राफर सुजन गोपालीलगायतका क्यामेरामा कैद भयौँ । विभिन्न पोजमा, विभिन्न मोबाइलमा पनि अटायौँ ।नीलो पानी । पानीमाथि हावाको झोक्काले बनाएको धार । छेउमा छचल्किरहेको छाल र त्यसको छुप्लुङछुप्लुङ आवाज । किनारमा बसेर मैले रारालाई पहिलो स्पर्श गरेँ । अहो † म धन्य भएँ ।


हाफ म्याराथन १२ गते बिहान । कार्यक्रमको तालिका बनिसकेको थियो । उद्घाटन म्याराथन दौडबाट हुनेवाला थियो । दिउसो कलाकारद्वारा सांगीतिक प्रस्तुति, कवि नवराज पराजुलीको ‘कविता कन्सर्ट’ र राति चार गजलकारहरू : हुकुम धड्कन, महेन्द्रचन्द महासागर, संगीता थापा र ईश्वर दाहालको ‘गजल–ए–महफिल’ । यस्तै १३्र गते पनि विभिन्न सांस्कृति कार्यक्रम र समापन ।बिहान नास्ता गर्ने बेलामा उद्घोष भयो कि, म्याराथनमा भाग लिन इच्छुकले नाम लेखाउन सकिनेछ । शुल्क थियो पचास रुपैयाँ । साथीहरू संगीता थापा, सीता थुलुङ, तीर्थ समीर, झलक वली, मुक्त उदास, भुवन भूपी, घनश्याम रानालगायतले नाम लेखाए । र, जोसैजोसमा मैले पनि लेखाएँ ।


‘हाफ म्याराथन’ भनेर भनिए पनि त्यसअनुसारको दूरी थिएन । झन् ‘हाई अल्टिच्युड’ मा धेरै दौडिनु पनि हामीलाई जोखिम थियो । त्यसकारण दूरी छोटो थियो ।दौडनकै लागि भनेर धेरै साथीहरूसँग हलुका लुगा थिएन । मसँग भने जाँघे थियो । कपडाका हलुका जुत्ता पनि थिए । यो देखेपछि मित्र मुक्त उदासले मलाई भने, ‘लाफा, तपाईंको जाँघे र जुत्ता दिनुस् म दौडन्छु । प्रथम हुने पनि मै हो । पैसा बरु आधाआधा बाँडौँला ।’स्कुले जीवनमा पनि दौडका थुप्रै कार्यक्रम हुन्थे । तर, मैले कहिल्यै भाग लिइनँ । न त्यसपछिका दिनमै दौडिएँ । तर, अरू दौडिएको देख्दा लाग्थ्यो, योभन्दा चर्को त म दौडन्छु । रारा किनारमा उभिएर मैले यही सोचेँ ।


जसै रेफ्रीको सिठी बज्यो, हाम्रो दौडले पनि औपचारिकता पायो । बाह्र नम्बरको प्लेकार्ड छातीमा टाँसेर म यसरी दौडिएँ कि, मभन्दा चर्को दौडने कोही छैन भन्ने सोचेँ । आखिर, एउटा प्रतियोगीले सोच्ने पनि यही हो । सबैभन्दा अगाडि बाइकमा दुई व्यक्ति सवार थिए । बाइकको पछिपछि दौडिरहेका थियौँ हामीहरू । उनीहरू जहाँ रोकिन्छन्, त्यहाँसम्म पुगेर टोकन लिई फर्किनुपर्ने खेलको नियम थियो । अन्यथा अमान्य हुन्थ्यो ।


एक छिन नबित्दै गोडा बाउँडिए । दिनभर बाँझो जोतेको गोरुझैँ धकिरहेको थिएँ म । पछाडि फर्केर हेर्दा केही साथी आउँदै थिए । अलिकति अघि पुग्दा त केही साथीहरू किनारको खाली ठाउँमा बसिसकेका रहेछन् । मलाई लाज लाग्यो । त्यहीँ मैले एक प्रतियोगी कृतनराज विष्टलाई भेटें । उनी पनि म जसरी ‘धिरेधिरे’ दौडिरहेका थिए । ‘लामो रेसमा एक छिन कुदेर काम लाग्दैन’ उनी भन्दै थिए, ‘बिस्तारै तर दौडिरहनुपर्छ ।’ अब हामीले ‘धिरेधिरे’ पनि दौडिन छोड्यौँ । हिँड्ने हिम्मत मात्रै भयो । अलि पर्तिर पुग्दा महेन्द्रजीले हामीलाई भेटाउनुभयो । अनि हामी तीन जना हिँडिरह्यौँ लुखुरलुखुर । कम्तीमा मर्निङ वाक त हुन्छ भन्ने भयो ।


खत्याड पुल कटेर पनि अलिकति अगाडिसम्म पुग्यौँ हामी । म्याराथनका लागि छुट्याइएको दूरी आधा पनि भएको थिएन । त्यही बेला एक प्रतियोगी उताबाट टोकन लिएर पनि फर्किसके । र, हामीलाई उछिनेर गइसके । ‘ह्याँभन्दा अघि नजाम् भो’ मैले साथीहरू भनेँ, ‘यसै हारियो उसै हारियो ।’जित्नेहरूमा प्रथमदेखि सान्त्वनासम्म त्यहीँ मुगुका स्थानीय प्रतियोगीहरू परे । उनीहरूसँग हामीले दौडिन कहाँ सक्नु ? नदौडिएका साथीहरू हामीलाई गिज्याउँदै थिए–‘अन्तिमतिरबाट जितेको तपैँहरूले नै त हो नि †’

प्रकाशित : माघ १९, २०७५ १२:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?