जयपुर रिभिजिटेड

जेफ्री आर्चर एउटा लेखकभन्दा पनि रियालिटी सोका प्रस्तोताजस्तो गरी रसिक हाउभाउमा प्रस्तुत भएका थिए ।

काठमाडौँ — अघिल्लो साता (माघ १०–१४) भारतको सांस्कृतिक तथा ऐतिहासिक सहर जयपुरमा आयोजित ‘जी–लिटरेचर फेस्टिभल’ कुनै भव्यतम सडक महोत्सवभन्दा फरक थिएन ।

जयपुर रिभिजिटेड

डिग्गी प्यालेस परिसरको भीड देखेर उपस्थित कतिपयले त महोत्सवलाई जयपुर कुम्भको उपमासमेत दिए । तर, देशविदेशबाट आएका पाँच सयभन्दा बढी लेखक र झन्डै पाँच लाख सहभागीको भीड अनि यसको व्यवस्थापन चानचुने कुरो होइन । विश्वकै सबैभन्दा ठूलो साहित्य महोत्सवमध्येको एक भनेर कहलिन थालेको यो उत्सवका कारण जयपुरको नामकाम अझ चिनिन थालेको छ ।

थरुर र आर्चर
महोत्सवमा शशि थरुर र जेफ्री आर्चरको ‘क्रेज’ हेर्नलायक थियो । अझ भारतीय राष्ट्रिय कंग्रेसका नेता शशि थरुर त पूरै ‘सेलिब्रेटी’ नै बने । हुन त भारतमा हुने जुनसुकै साहित्यिक महोत्सव वा सार्वजनिक कार्यक्रममा थरुरप्रति विशेष आकर्षण रहने गरेको छ । वाककलामा निपुण थरुर कुनै पनि विमर्शलाई दर्शक तथा श्रोताहरूले अपेक्षा गरेको दिशामा मोड्न सक्ने क्षमता राख्छन् । डेढ दर्जनभन्दा बढी पुस्तकका लेखक थरुरको त्यही क्षमता बुझेर नै आयोजकले थरुरलाई बढीभन्दा बढी व्यस्त गराउने गर्छन् । जयपुरमा भेला भएका दर्जनौं लेखकमाझ थरुरलाई अन्तक्र्रिया तथा छलफलमा भाग लिन भ्याई नभ्याई थियो । राजनीति, समाज र खेलकुद सबै विषयमा उनले आफ्नो धारणा राख्ने मौका पाए । त्यसका अतिरिक्त उनको हातबाट पुस्तक हस्ताक्षर गराउन लागेको घुइँचोले उनको स्टारडम झल्कन्थ्यो । उनलाई दिइएको सुरक्षा प्रबन्ध पनि हेर्नलायककै थियो । हिँड्न कुनै अवरोध नहोस् भनेर करिब एक दर्जन सुरक्षाकर्मीले उनलाई हमेसा घेरा हालिराख्थे । बेलायती लेखक जेफ्री आर्चरको आकर्षण पनि कम थिएन । सेलिब्रेटी पत्रकार बर्खा दत्तसँगको अन्तक्र्रिया क्रममा आर्चर लेखकभन्दा पनि कुनै रियालिटी सोका सञ्चालकजस्तो गरी प्रस्तुत भएका थिए । पूर्वसांसदसमेत रहेका आर्चरले उपस्थित भारतीय स्रोताहरूको मत जित्न कुनै कमी गरेनन् ।

सत्रको सुरुमै भारतीय क्रिकेट टिमको आफू फ्यान भनेपछि श्रोताहरूले तालीबाट प्रतिक्रिया जनाए । भारतमा सबैभन्दा बढी पुस्तक बिक्री हुने विदेशी लेखकमध्येमा पर्छन् आर्चर । भारतीय पाठकमाझ उनको क्रेज पुस्तकमा हस्ताक्षर गराउन लागेको लम्बेतान लाइनबाट प्रस्टै हुन्थ्यो ।

गुलजार र जावेद
दुवै बलिउडका सिद्धहस्त कवि, लेखक तथा गीतकार । तर, सार्वजनिक कार्यक्रममा प्रस्तुत हुँदाको शैली भने बिल्कुलै भिन्न । गुलजार जति नम्र र मधुर सुनिन्थे, अख्तर त्यति नै आक्रामक र तिखो । औपचारिक उद्घाटनपछिको पहिलो सत्रमा सहभागी थिए—आफ्नै पुत्री मेघनाका साथ पिता गुल्जार । विमर्शको केन्द्रमा थियो— पिता गुलजारमाथि मेघनाले लेखेको पुस्तक ‘विकज ही इज’ । बाबु–छोरीको सम्बन्ध आधारित उक्त पुस्तकमा समेटिएका केही मर्मस्पर्शी प्रसगं सुनाउँदा मेघनाका परेला भिजेका थिए । गुलजार पनि उत्तिकै गम्भीर थिए । उनीहरूबीचको संवादले अभिभावक र छोराछोरीबीचको विश्वास–अविश्वासका विभिन्न आयामलाई उतारेको थियो । गुलजारले मेघना पाँच वर्षकी हुँदा असमझदारीका कारण अनायासै उनीमाथि अविश्वास गरेको र उक्त घटनाका लागि आजपर्यन्त ग्लानि हुने गरेको बताउँदा उपस्थित दर्शकसमेत भावुक बनेका थिए । ‘छोराछोरीमाथि अभिभावकले सधैं विश्वास गर्नुपर्छ र त्यो विश्वास कायम राख्न छोराछोरी पनि त्यत्तिकै गम्भीर हुनुपर्छ,’ गुल्जारले अर्थपूर्ण रूपमा भने ।
अख्तरको शैली भने गुलजारभन्दा बिल्कुलै भिन्न थियो । गीत, कविता, सायरीका अतिरिक्त समसामयिक राजनीतिक विषयमा पनि टिप्पणी गर्न उनी पछि परेनन् । मोदी सरकारप्रति उनले गरेका सांकेतिक प्रहारहरू सामुन्नेको माहोल उचाल्न काफी थिए ।


अंग्रेजी बोलवाला
महोत्सवका सेसनमध्ये अधिकांश सत्र अंग्रेजी भाषामा लेखिएका साहित्य र लेखक सम्बन्धित थिए । हिन्दी र अन्य क्षेत्रीय भाषा ‘निम्छरो’ जस्तै देखिन्थे । अगं्रेजी सेलिब्रेटी लेखकसँगका विमर्शहरू श्रोतागणले खचाखच भरिएका हुन्थे भने हिन्दी भाषासम्बन्धी सेसन श्रोताबिना रित्तिएझैं थिए । भारतका हिन्दी भाषाका चर्चित लेखक उदय प्रकाशको सत्रमा त्यस्तै बेहाल देखियो । त्यही भएर होला— लेखक प्रकाशले हिन्दी भाषाप्रति राज्य र जनता दुवैतर्फबाट उपेक्षा भइरहेको गुनासोसमेत गरेका थिए । बंगाली दलित लेखक मनोरञ्जन व्यापारी त विद्रोहीकै रूपमा प्रस्तुत भए । उनको आक्रोश विशेषगरी मूलधारका लेखकहरूप्रति थियो । साहित्यमा दलित समुदायको गलत चित्रण गरिएको भन्दै भारतका नामधारी लेखकहरूप्रति उनको ठाडो गुनासो थियो । विगतजस्तो दलित समुदायलाई बदनाम गर्ने साहित्य अबका दिनमा स्वीकार्य नहुने भन्दै उनले मूलधारका लेखकहरूलाई सचेतसमेत गराएका थिए ।


महोत्सवमा निम्त्याइएका लेखक र साहित्यकारलाई बढीभन्दा बढी व्यस्त गराउन हरकोही आयोजकले चाहन्छ । जयपुरमा पनि त्यस्तै देखिन्थ्यो । विशेषगरी नाम चलेका सर्जकहरूलाई भ्याईनभ्याई थियो । आयोजकले जताजता खटायो त्यतैत्यतै । विमर्श, पुस्तक विमोचनदेखि अन्तर्वार्तासम्म । आयोजकले निर्धारण गरेको अन्तर्वार्तामा उनीहरू सहजै उपलब्ध हुन्थे । अरू बेला सेलेब्रिटी लेखकसँग फोनमा कुरा गर्न पाउनु पनि गाह्रो हुन्थ्यो, जयपुर उत्सवमा भने अवसरै–अवसर ।

अरूभन्दा फरक चटर्जी
चर्चित पुस्तक ‘इंग्लिस अगस्ट’ का लेखक उपमन्यु चटर्जी भने अन्य लेखक–साहित्यकारभन्दा बिल्कुल भिन्न थिए । चटर्जीको अनुहारमा महोत्सवलाई लिएर कुनै उत्साह देखिंदैनथ्यो । त्यसैले उनी र कार्यक्रम सञ्चालिकाबीच कुराकानी निकै औपचारिक थियो । सञ्चालिकाले हिसाबकिताब मिलाएर सोधेका प्रश्नलाई पनि उनी संक्षिप्त जवाफ दिएर टार्थे— हुन सक्छ, मलाई मन पर्दैन आदिआदि । चटर्जीको अनुहारको भावबाटै सहजै बुझ्न सकिन्थ्यो, महोत्सवको रमाइलो र श्रोताको भीडप्रति उनलाई कुनै चासो छैन । त्यसो त महोत्सवमा पहिलो पटक सहभागी भएका चटर्जीले कार्यक्रमको सुरुमै आफूलाई ‘प्रचारप्रसार मन नपर्ने’ बताएर सञ्चालिकालाई रातोपिरो बनाइदिएका थिए । सञ्चालिका पनि जब्बर निक्लिन् । चटर्जी प्रतिक्रिया जनाउन अनिच्छुक देखिए पनि उनले प्रश्न तेस्र्याउन छाडिनन् । त्यसो त कार्यक्रम सुरु हुनुअघि नै चटर्जीको व्यक्तित्व र स्वभावलाई लिएर मित्र दिनेश काफ्लेको टिप्पणी सुन्दा नै उनी अरूभन्दा फरक छन् भन्ने पूर्वाभास भइसकेको थियो । काफ्ले आफैं चकित थिए, कार्यक्रम तालिकामा चटर्जीको नाम देख्दा । हुन पनि साहित्यकारबीच सेलिब्रेटी बन्न प्रतिस्पर्धा चलिरहेको घडीमा यी पूर्वआईएस अफिसर ती सबैबाट निकै टाढा रहेछन् । उनको हाउभाउलाई हेर्दा मित्र काफ्लेले भनेजस्तै ‘उनी महोत्सवमा आउनु नै ठूलो कुरा’ रहेछ ।


जयपुरमा मनीषा कोइराला र उषा उत्थुपको विशेष आकर्षण रह्यो । महोत्सवभर क्यान्सर रोगबाट मुक्त भएपछि कोइरालाले लेखेको पुस्तक ‘हिल्ड’ ले विशेष चर्चा बटुल्यो । क्यान्सर रोगमाथि जित र आफ्नो पुस्तकमाथि चर्चा गर्न कोइराला करिब आधा दर्जन सत्रमा सहभागी भइन् । अर्की नेपाली लेखक मञ्जुश्री थापा भने अनुवाद साहित्यबारेको बहस र वार्ताहरूमा सामेल थिइन् । भारतीय गायिका उत्थुपको गायन यात्रामाथिको चर्चा र उनको गायनले उत्सवमा सहभागीबाट राम्रै ताली पायो । सात वसन्त उमेर काटिसकेकी उत्थुपले स्टेजमा देखाएको फुर्ती साँच्चै नै अलौकिक थियो । महोत्सवको चहलपहलबाट बिल्कुल बेखबर जस्तै देखिन्थे— चित्रकार अभिषेक सिंह । महोत्सव चलिरहँदा उनी भने खुला आकाश राखिएको सेतो बोर्डमा महाभारतसम्बन्धी चित्र कोर्नमा व्यस्त देखिए । चित्रबारेमा कसैले जिज्ञासा राखेमा सक्षिंप्त जवाफ दिन्थे र, पुन: चित्र कोर्नमा लाग्थे ।

र, यो पनि...
महोत्सवका लागि भनेर मुख्य सडकदेखि डिग्गी प्यालेससम्म सवारी निषेध गरिएको थियो । यसबाट आफूहरूले दैनिक आवतजावतमा कठिनाइ भोग्नुपरेको केही स्थानीयले गुनासोसमेत गरे । तर, चिनु सिंघ्वी भने महोत्सवलाई अवसरमा बदल्दै थिइन् । महोत्सवभरि घरकै अगाडि आफैंले बनाएर चिया, कफी र खाजाको पसल थापेकी थिइन् उनले । व्यापारभन्दा पनि आफूले समयको सदुपयोग गर्न चाहेको सिंघ्वीले बताइन् । पाँच वर्षअघि जयपुरमा बिहे भएर आएदेखि नै महोत्सवका बेला लागि ‘सिजनल’ पसल थाप्ने गरेको उनले सुनाइन् । ‘आफूमा खाना बनाउने सोख पनि भएको र त्यसमाथि पूरै परिवारले साथ दिएपछि त्यसै कसरी बस्न सकिन्छ र ?’ उनले भनिन् ‘समयको सदुपयोगसँगै देश–विदेशबाट आएका पाहुनासँग चिनजान हुने अवसर पनि ठानेकी छु ।’

प्रकाशित : माघ १९, २०७५ ११:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?