कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

समयबोध

उमेरले बुढ्यौली छुनै लागेका दुई पूर्व राजदूतहरू आकस्मिक रूपमा भेटिए— पोखरा नगरीमा । एकअर्कालाई सरप्राइज दिनेगरी भेटिएका उनीहरू अल्लारे वयमा झैं लेकसाइडमा भौंतारिए । छिचरा कुरा गरेर दिल बहलाए । विन्डो सपिङमा निस्किए । पुराना दिन सम्झेरै यी कूटनीतिज्ञले अनेक काम–कुरा गरे ।

काठमाडौँ — अवकाशको जिन्दगी बिताउन थालेको पनि तीन वर्ष नाघिसकेछ । समयले हामीलाई पछि छाड्दै आफ्नै गतिमा हिँडिरहेको थियो ।

समयबोध

समयले हामीलाई भनेर किन कुरोस् ? कुर्ने पालो त कथम्कदाचित् हाम्रै थियो । लिसीपिसी गरेर समय गुजार्दै थियौँ । एक हिसाबले भन्दा ग्राउन्डेडजस्तै थियौँ । कम्मर, जोर्नी र घुँडा दुख्ने व्यथाले हामी बूढाबूढी लगभग एकै समयदेखि आक्रान्त थियौँ । चाहेर पनि कतै जान नसक्ने, मन फुकाएर घुम्न पनि नसक्ने । घरदेखि अस्पतालसम्ममा नै हाम्रो समय गुज्रिरहेको थियो । अवकाशपछिको स्वच्छन्द उडानको जिन्दगानी नियतिले कसैगरी लिसीपिसीमा रूपान्तरण गरेको थियो ।


मलाई लिसीपिसी भन्ने शब्दसँग नै एलर्जी छ । त्यस्तो जिन्दगीको झन् के कुरा ?

आ, कति निच मारेर घरको घरै बस्ने ? हामी धेरै समयपछि काठमाडौंबाहिर घुम्न जान कम्मर कस्यौँ ।


पोखरामा भानिजको बिहे थियो । त्यहाँ जसरी पनि जानैपथ्र्यो । पोखरा मलाई त्यसै पनि मन पर्ने ठाउँ । केही वर्ष बिताएको पनि । पुराना सम्झना फेरि ताजा भइहाले । पार्दीको अफिस, बगरमा गुरुङसेनी दिदीको घरको डेरा, बिन्ध्यवासिनी नजिक थकाल्नी दिदीको होटल, सबै ताजा भइहाले ।


त्यसभन्दा पनि विशेष त नयाँ दुलहादुलहीको रूपमा हामीले त्यहाँ बिताएका क्षणहरू थिए, जुन चलचित्रका दृश्यजस्तै फरर्र आँखाअघि नाच्न थाले । हाम्रो आत्मीय प्रेम प्रस्फुटन भएको ठाउँलाई म सजिलै कसरी भुल्न सक्थेँ र ?


पोखरामा केही दिन बस्दा हामीलाई अर्कै ताजापन महसुस भयो । त्यसमाथि त्यहाँ हाम्रा थुप्रै नातागोता र आफन्तहरू पनि थिए । मेरो मन मिल्ने साली पनि त्यहीँ थिइन् । उनीसँग छिचरा कुरा गरेर दिल बहलायौँ ।


त्यस्तैमा मधुवनजीले (मधुवन पौडेल– कूटनीतिज्ञ, साहित्यकार) आफ्नो फेसबुक स्ट्याटसमा पोखरा घुम्न आएको पोस्ट गरे । उनी सामाजिक सञ्जालमा रम्न धेरै रुचाउँछन् । बेलाबेलामा हामीलाई थाहा नभएको कुरा पनि पोस्ट गरिरहन्छन् । उनी पोखरा घुम्न आएको मैले त्यसैबाट थाहा पाएँ । म पनि त्यहीँ पुगेको छु भन्नेचाहिँ उनलाई थाहा थिएन ।


म त्यति फेसबुक, ट्विटरमा रमाउने मान्छे पनि होइन । मैले उनलाई मोबाइलबाटै सरप्राइज दिएँ । सन्जोग पनि कस्तो भने उनी बसेको ठाउँ र म पाहुना लागेको घर एउटै एरियामा रहेछ । हिँडेर पाँच मिनेटमा नै पुगिने । अनि के चाहियो ? फटाफट हिँडेर म उनी बसेको हाउजिङको घरमा पुगिहालेँ । काठमाडौंमा बरु हत्तपत्त त्यस्तो मेलो जुर्दैन । बिदामा पोखरा घुम्न जाँदा हामीलाई गज्जबकै साइत पर्‍यो ।


के मेसो नमिलेर हो— सीता भाउजू साथमा थिइनन्, मधुवनजी मात्रै घुम्न निस्केका रहेछन् । घुम्न पनि के भन्ने एयरपोर्टनजिकै बिरौटामा छोरीको होलिडे होममा आराम गर्दै रहेछन् । अथवा यसो भन्दा पनि हुन्छ— त्यहाँको शान्त परिवेशमा उनी नयाँ कथाका प्लट सिर्जना गरिरहेका थिए । मैलै ढोकाको घण्टी थिचेपछि उनको एकाग्रता भंग भयो । अब के चाहियो ? बेसबल क्याप र जिन्समा नगरबस चढेर हामी लेकसाइडतिर लागिहाल्यौँ । पोखरा बस्दा सप्ताहान्तमा फेवातालमा डुंगा चलाउने मेरो सोख हुन्थ्यो पहिले । मधुमासको बेला हामी नवविवाहिता जोडी बैदामको बीचमा डुंगामा पानी छ्यापाछ्याप गरेर रमाउँथ्यौँ । पुराना दिनका यादले मलाई फेरि नोस्टाल्जिक बनायो ।


वैशाखको महिना, त्यति गर्मी चढिसकेको थिएन । तर, विदेशी पर्यटक भने बिस्तारै पातलिँदै थिए । एक हिसाबले अफ सिजन सुरु हुन लागेको थियो । त्यसको फाइदा हामीले आन्तरिक पर्यटक हुनुको मज्जाबाट लिन पायौँ ।


लेकसाइडको वातावरण शान्त थियो । हूलहाल, कोलाहल थिएन । त्यस्तो शान्त परिवेशमा म र मधुवनजी एउटा क्याफेमा पसेर धेरै बेर बितायौँ । अन्तरंग कुरा गर्दागर्दै समय गएको पनि पत्तो भएन ।


सडकको दायाँबायाँ लस्करै सोभिनेर पसलहरू थिए । सिजनको बेला त्यहाँ विदेशी पर्यटक खचाखच हुँदा हुन्, अहिले भने प्राय: रित्तै थिए । त्यसको पनि हामीले भरपूर फाइदा लियौँ— दिल खोलेर ‘विन्डो सपिङ’ गर्‍र्यौं ।


‘विन्डो सपिङ’ मात्र हैन, ‘रियल सपिङ’ गर्न पनि मधुवनजी सोखिन छन् । त्यस दिनको हाम्रो खास गन्तव्य लेकसाइडको सेकेन्डह्यान्ड बुकसपहरू थिए, जहाँ अंग्रेजीका राम्रा पुस्तकहरू सस्तो मूल्यमा भेटिन सक्थे । लीलाजी (लीलाप्रसाद शर्मा, पूर्वराजदूत) पनि त्यहाँको सेकेन्डह्यान्ड बुकसपका पारखी थिए ।


बेलाबेलामा कुरा गरिरहन्थे । तर, अफ सिजन भएकाले होला धेरै ठाउँ चहार्दा पनि हामीले त्यस्तो किताब पसल भेट्टाउन सकेनौँ । थोरै निराश भएर हामी पुन: नगरबस लिएर सहरतर्फ फक्र्याैं । पोखरामा नगरबसले राम्रै सेवा दिएका रहेछन् । सार्वजनिक यातायातमा यात्रा गर्दा मधुवनजीलाई ज्येष्ठ नागरिक परिचयपत्र देखाउने बानी परिसकेको रहेछ । त्यसो त, बेसबल क्याप र जिन्सको पहिरनमा उनी दस वर्ष कम उमेरका देखिन्थे । ज्येष्ठ नागरिक भन्न मिल्थेन । तैपनि खल्तीबाट परिचयपत्र निकालिहाले । मलाईचाहिँ त्यो परिचयपत्र कहाँ बन्छ भन्ने पनि थाहा थिएन ।


परिचयपत्र हेरेर बसको कन्डक्टर एक छिन अल्मलियो । विद्यार्थी परिचयपत्र भन्ठान्यो सायद ।


‘ज्येष्ठ नागरिक कन्सेसन’, मधुवनजीले सम्झाए । मलाई भने केही अप्ठ्यारो लाग्यो ।


कन्डक्टरले ज्येष्ठ नागरिक कन्सेसन सायद पहिलो पटक सुनेको थियो कि ? ऊ एक छिन छक्क पर्‍यो । केही बेरपछि पोखरेली पारा निकाल्दै भन्यो :


‘पोखरा नगरबसमा ज्येष्ठ–सेष्ठ नागरिक कन्सेसन चल्दैन । पूरा भाडा चाहिन्छ । अन्तको कुरा थाहा छैन ।’


हामी ज्येष्ठ नागरिकबाट एकाएक वयस्क नागरिकको दर्जामा ओर्लियौं । त्यसरी हाम्रो उमेर घटाएर वयस्कको दर्जा दिएकोमा बस कन्डक्टरलाई धन्यवाद दिनैपर्ने भयो ।


समय पनि त्यो बसको कन्डक्टरजस्तै मनकारी भएर आफूअनुकूल उमेर सच्याउन आइदिए कस्तो हुँदो हो ?


तर, हामीलाई भनेर समयले किन कन्सेसन दिँदो हो ? जिन्स र बेसबल क्याप ढल्काउँदैमा किन उमेर घटाउन मान्दो हो ?


निजामती किताबखानाको रेकर्डमा टिपेक्स लगाएर उमेर सच्याउनेहरूसँग समय मुसुमुसु हाँस्दै भन्दो हो :


‘विवरणमा टिपेक्स लगाउनु एउटा कुरा हो, आफ्नो अन्तर्मनमा टिपेक्स दल्नुचाहिँ बिल्कुल अर्कै हो ।’


ऊ फेरि पनि भन्दो हो :


‘समयको आफ्नै गति हुन्छ, आफ्नै लय हुन्छ । त्यसैमा आत्मसात् गर्न सिक, अनि त्यसैमा समाहित होऊ ।’


समयको त्यही भाका टिप्न नसकेर हो कि, हामीले जीवनमा यतिबिघ्न दु:ख झेलेको ?


ज्येष्ठ नागरिक कन्सेसनबाट मैले अलिकति भए पनि समयको दर्शनशास्त्र बुझ्न सकेँ ।

प्रकाशित : माघ १२, २०७५ १०:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?