२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

बिर्सिएको ज्ञान भण्डार

‘चन्द्रनिघण्टु’ पढेपछि मलाई आफैंलाई गर्वको अनुभूति पनि भयो, हाम्रा पुर्खाहरूलाई कति धेरै ज्ञान रहेछ भनेर ।
डा अरुणा उप्रेती

काठमाडौँ — विभिन्न वनस्पति र तिनको औषधीय गुणबारे प्राय: अंग्रेजीमा लेखिएका किताब, पत्रिका र वैज्ञानिक अनुसन्धानबारेमा पढ्ने र त्यसलाई व्यावहारिक जीवनमा प्रयोग गर्ने बानी प्राय: हामी सबैको छ ।

बिर्सिएको ज्ञान भण्डार

त्यही बानीले गर्दा हजुरआमाले खुट्टामा घाउ हुँदा बेसनको लेप लगाउँदा ‘छया’ भन्ने हामीहरू जब बेसार ‘टर्मरिक’ भनेर राम्रो प्याकेटमा सजिएर स्किन–लोसन भनेर आउँछ— हामीहरू ‘आहा कस्तो राम्रो औषधि’ भन्न थाल्छौं ।


त्यस्तै, आधुनिक औषधिमा बानी परेकाहरूले पनि सिंहदरबार वैद्यखानाबाट निस्केका औषधिलाई पुरातन विचारको भन्ने होच्याउने बानी छँदैछ । त्यसैगरी आयुर्वेदशास्त्र पढेकाले पनि कति आयुर्वेद औषधि सट्टामा आधुनिक औषधिको प्रयोग गर्ने गरेका छन् ।


स्वास्थ्य मन्त्रालयले आयुर्वेद विकासका लागि त्यसमा लागेका व्यक्तिहरू नै उत्साहित नभएको कुरा दर्साउँछ भने आयुर्वेदका चिकित्सक र वैद्यहरू भने सरकारले आयुर्वेद विज्ञानको वास्तै नगरेको बताउँछन् । सामुन्नेमा यसको दु:खद उदाहरण छन्— नरदेवी आयुर्वेदिक अस्पताल र कीर्तिपुरस्थित आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्र ।


कीर्तिपुरको आयुर्वेदिक अस्पताल चाइना सरकारको सहयोगमा निर्माण गरिएको हो । ‘यसको प्रपोजल लेख्न मैले पनि सहयोग गरेको थिएँ । त्यो प्रपोजलअनुसार नै अस्पताल भवनहरूको निर्माण भयो तर त्यहाँ अनुसन्धान केन्द्रको पाटो (जुन आयुर्वेदको विकासका लागि अन्यन्त महत्त्वपूर्ण छ) चाहिं प्रभावकारी हुन सकेको छैन ।


खोइ, अहिलेसम्म त्यस्तो ठूलो अस्पतालबारेमा सर्वसाधारणलाई थाहै छैन,’ लामो समयसम्म नेपाल सरकारको कर्मचारी भएर र पछि विभिन्न अध्ययन अनुसन्धानमा काम गरेका डा. दामोदर अधिकारी भन्नुहुन्छ— मलाई पहिलेदेखि नै वनस्पतिमाथि रुचि थियो । मेरो बुबालाई धेरै वनस्पतिका औषधीय गुणबारे ज्ञान थियो ।


मेरो गाउँघरमा कति बिरामीलाई बुबाले वरिपरिका वनस्पतिबाट उपचार गरी नि:शुल्क सेवा गर्नुहुन्थ्यो । मलाई पनि कति जडीबुटीका बिरुवा खोजेर ल्याउन भन्नुहुन्थ्यो । त्यसैले मलाई पनि कति कुराहरू थाहा भयो । हाम्रा पुराना ज्ञान सुरक्षित राख्नै पनि चन्द्रनिघण्टुजस्ता किताब प्रकाशित हुनुपर्छ भनेर मैले ‘चन्द्रनिघण्टु’ प्रकाशन गर्न स्वास्थ्य मन्त्रालय र आयुर्वेदका क्षेत्रमा काम गर्नेलाई प्रोत्साहन गर्ने काम गरेको थिएँ,’ दामोदरले भन्नुभएको थियो, ‘यो पुस्तक निस्केकोमा मलाई साह्रै खुसी लागेको छ ।’


चन्द्रनिघण्टुका बारेमा वास्तवमा वैद्यहरूले लेख्नुपर्ने हो भन्ने मलाई लागेको थियो । तर, जब यसको प्रथम खण्ड मैले हेर्ने मौका पाएँ, अनि लाग्यो— यो त प्रत्येक नेपालीको घरमा हुनुपर्ने किताब हो । किताब दस खण्डमा प्रकाशित हुँदा एक खण्डको २ हजारको दरले २० हजार रुपैयाँ पर्छ । ‘यो महँगो भयो कि ?’ भन्ने भान पर्न सक्छ । तर, पोहोर साल नेसनल ज्योग्य्राफीले प्रकाशित गरेको संसारको उत्तम वनस्पति र तिनको चिकित्सकीय महत्त्व भन्ने किताब मेरो हात परेको थियो । त्यसको एक खण्डको मूल्य नै ४ हजार रुपैयाँ थियो ।


यसैले यस्तो ज्ञानले भरिएको जीवनोपयोगी र पुस्तौंपुस्तालाई काम लाग्ने किताब महँगो होइन भन्ने स्पष्ट छ । यो किताब तत्कालीन राणा प्रधानमन्त्री वीरशमशेरले प्रोत्साहन दिएर जडीबुटी अध्ययन, संकलन र लेखनको काम सुरु भएको र पछि चन्द्रशमशेरले नेपालका साथै बम्बई, कलकता र वाराणसीबाट समेत आयुर्वेदशास्त्रका जानकारलाई एकैसाथ राखेर लेख्न लगाएको कुरा यस किताबमा उल्लेख छ ।


धेरै जना विज्ञ मिलेर यो कृति लेखिएको हुनाले यसमा कुनै एक लेखकको नाम छैन । तर, चन्द्रशमशेरले आफ्नो नामबाट ‘चन्द्रनिघण्टु’ नाम दिएका हुन् । यो किताब हेरेपछि मलाई आफैंलाई गर्वको अनुभूति पनि भयो, हाम्रा पुर्खाहरूलाई कति धेरै ज्ञान रहेछ भनेर । त्यो बेलामा अहिलेजस्तो प्रयोगशाला थिएन । कुन रसायनले के गर्छ भन्ने वैज्ञानिक ज्ञान थिएन तर अनुभव र बारम्बारको प्रयोगपछि कुन औषधि के हो र केका लागि काम लाग्छ भनेर अनुभव हासिल गरेर लेखिएको यो ज्ञान अहिलेको पुस्ताको लागि त अमूल्य नै रहनेछ ।


यो किताबको अर्काे विशेषता भनेको यसमा प्रत्येक वनस्पतिबारेमा अंग्रेजीमा पनि लेखिएको छ । वैज्ञानिक नाम पनि दिइएको छ । यो किताब हेरेर बुझ्न चाहनेले वनस्पतिको बारेमा आधुनिक विज्ञानले कति अध्ययन गरेको छ भन्ने कुरा थाहा पाउन धेरै सजिलो हुन्छ । त्यो वनस्पतिको वैज्ञानिक नाम गुगल गरेपछि अन्य वैज्ञानिक स्रोतहरू पनि सजिलै हेर्न सकिन्छ ।


पुस्तकमा वनस्पति र खनिजसमेत गरेर सबै वस्तुबारेमा राम्रो चिनारी दिइएको छ । चित्रहरू हातैले लेखिएको छ । त्यो बेलामा फोटो खिच्ने सुविधा नहुँदासमेत हातले चित्र लेखिएका छन् । किताब कलेवर सुन्दर छ, किताब गाता पनि बलियो छ । यसमा कुनै वनस्पतिको बढी उपयोग हुँदा पर्न सक्ने समस्या बताइएको छ । तर, कतिपय हामीले भान्सामा प्रयोग गरिरहेका तरकारीबारेमा पढ्दाचाहिं लाग्छ— थाहै नपाईकनै हामीले औषधि पो खाइरहेका रहेछौँ ।


एक वनस्पतिले कमजोरी हटाउँछ, मुटुका लागि लाभदायक हुन्छ । यसमा केही मात्रामा प्रोटिन, क्याल्सियम, फस्पोरस, भिटामिन बी र सी पनि पाइन्छ भनेर पढ्दा कस्तो राम्रो वनस्पति रहेछ भन्ने लाग्छ । तर, यो वनस्पति लौका रहेछ भन्ने थाहा पाएपछि हामी झनै खुसी पो हुन्छौं ।

नेपालका विभिन्न भाग तराइर्, पहाड, हिमालका वनस्पति भिन्दाभिन्दै रूपमा वर्णन गरिएको छ । पलासको फूल केही काम लाग्दैन भन्ने प्राय: हामीलाई लाग्छ तर वनजंगललाई रमितलाग्दो बनाएर फुल्ने रातो र पहेंलो पलास पेटको जुका मार्न प्रयोग हुन्छ भन्ने थाहा पाउँदाचाहिं रमाइलो लाग्छ । फेरि बढी प्रयोग गरेमा समस्या आउन सक्ने कुरा पनि सम्झाइएको छ ।


त्यसैगरी धतुरो विष हो भन्ने कुरा हामीलाई सानैदेखि सिकाइएको हो । तर, धतुरो पेट दुखेको बेला, कपालको जुम्रा र लिखा मार्न पनि प्रयोग गरिन्छ भन्ने थाहा पाउँदा अचम्म लाग्न सक्छ । कालो, पहेंलो, रातो, सेतो, नीलो धतुरो पनि हुँदो रहेछ । यो सबैका चित्र पनि पुस्तकमा कोरिएको छ ।


चन्दनिघण्टुको पहिलो खण्डमा हामीले भान्छामा प्रयोग गर्ने गाँजर, मुला, लसुन, छ्यापी, मेथी, करेला, बेथे आदि परिचित वनस्पतिको साथै हामीले थाहा पाएको, देखेको तर औषधीय गुण छ भनेर थाहा नभएको वनस्पतिका बारेमा पनि बयान गरिएको छ । यस्ता वनस्पतिमा जाई, पलास, रातो गुलाब, तीतेपाती समेटिएका छन् ।


यति राम्रो किताब पढ्दा एउटा कुराचाहिं सार्‍है खड्किएको छ । यसको मुख्य उपयोग लेख्दाचाहिं सबै संस्कृतमा लेखिएको छ । नेपालीमा अनुवाद गरिएको छैन । संस्कृतको ज्ञान नहुने मानिसले यसको प्रयोग केमा हुन्छ भनेर थाहा पाउन सक्दैन । यद्यापि आजको दुनियामा गुगल गरेर पनि धेरै कुरा थाहा पाउन सकिन्छ ।


उदाहरणका लागि बाह्रमासे गुलाबको मुख्यकर्म ‘वर्ण रसायन’ भनेर लेखिएको छ । र, यो के हो भन्ने प्राय:लाई थाहा हुदैन । यसैगरी उपयोगमा लेखिएको छ— कर्णकृमी, दाह, पितृविकार, विवन्घ । र, अंग्रेजीमा पनि त्यही शब्द लेखिएको छ । यसले गर्दा पढ्ने मानिसलाई बुझ्न गार्‍हो हुन्छ । सायद यस्ता झिनामसिना कुरालाई ध्यान दिएको भए यो किताबको ज्ञान अझ सहजै लिन सकिन्थ्यो होला । भविष्यमा सायद यसबारेमा सम्पादनमण्डलले ध्यान दिनेछ ।

प्रकाशित : माघ १२, २०७५ १०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?