मुसो

कथा
मन्दिरलाई बमले उडाउनुपर्ने तीनवटा कारण देख्थ्यो ऊ । पहिलो र मुख्य कारण, सर्वहारा कम्युनिस्टले कुनै पनि धर्मको पक्ष लिनु हुन्न ।

काठमाडौँ — जति गर्दा पनि चन्द्रशेखरले निर्वाचन जितेन । जब उसले मोबाइल फाल्यो, रक्सी पियो र ओछ्यानमा ढल्यो, उसलाई भाउन्न हुन थाल्यो । घर फनफनी घुमेजस्तो हुन थाल्यो । टाउको टन्कन थाल्यो उसको । उसलाई पत्यारै लागेन, आफ्नो पराजय ! 

मुसो

मन्दिर पस्ने ढोकामा आधा घण्टादेखि घोप्टिएर चन्द्रशेखर बसिदिनाले अन्य दर्शनार्थी अलपत्र परेका थिए । भौतिक योजना तथा निर्माणमन्त्री भएपछिको आधा वर्षमा उसको शरीरको तौल आधा क्विन्टल वृद्धि भएर करिब क्विन्टल पुगेको अनुमान गर्न सक्ने त्यस गाउँमा केही मानिस थिए । धेरै जनाले भने लामो समयदेखि दुब्लो चन्द्रशेखरलाई देख्दै आएका थिए ।


मन्त्रीको सुरक्षार्थ छेउमा ठिङ्ङ उभिएको सुरक्षागार्डको दिक्दारी उसको अनुहारबाट प्रस्ट हुन्थ्यो । उसको अनुहार चपाएर मिल्काएको उखुजस्तो देखिन्थ्यो । रसहीन, कान्तिहीन । त्यसमाथि उसले बेलाबेलामा गर्ने ‘हाई’ ले त उसको मनोविज्ञान सहजै बुझिन्थ्यो ।


अनिदो चन्द्रशेखर घाम नझुल्किँदै जुरुक्क उठेर गार्डको कोठामा गएको थियो । गार्ड मस्त निदाइरहेको थियो, घुर्दै । यस्तो लाग्थ्यो, उसलाई दुनियाँको कुनै मतलब थिएन । घरका अरू कोही पनि उठेका थिएनन् । घरमा कसैलाई नभनी एकाबिहानै चन्द्रशेखर गार्डलाई बोकेर गणेश मन्दिरतिर सोझिएको थियो ।


ऊ मन्दिर पुग्दा दुई–तीन जना मात्रै त्यहाँ पुगेका थिए । चन्द्रशेखरलाई नमस्कार गर्दै ती लाखापाखा लागेका थिए । उसले ठूलो घण्ट बजायो केहीबेर । घण्टको आवाजकै कारण गार्डलाई निद्राले राम्ररी छाडेको थियो । मन्त्रीको घरदेखि मन्दिर पुग्दासम्म त गार्ड अर्धनिद्रामै हिँडेको थियो । मन्दिरको भित्तोमा लहरै राखिएका अन्य साना घण्टलाई चन्द्रशेखरले छोयो मात्रै । र, हठात् घोप्टियो ऊ मन्दिरको ढोकाअघिल्तिर । घोप्टिनुपूर्व उसले एउटा कुकुरलाई बेस्सरी लात्ताले हानेको थियो । कारण, कुकुरले मन्दिरअघिल्तिर गएर खुट्टा उचाल्यो । त्यसपछि नै चन्द्रशेखरले त्यो कालो कुकुरलाई खेदेको थियो ।


घोप्टिँदै गर्दा चन्द्रशेखर बोल्यो, ‘प्रभु मलाई माफ गरिदेऊ । मैले हिजोका दिनमा तिम्रो मन्दिर बमले उडाएर ठूलो भूल गरेको हुँ, यो अकिञ्चनले बाँच्नका निम्ति त्यसो गरेको हो । यसलाई आफ्नै सन्तान ठानेर माफी देऊ कृपालु गणेश । विगतमा तिम्रो मन्दिर निर्माणको अगुवाइ गर्ने पनि त मै थिएँ, बमले उडाउने पनि म नै । अनि अहिले पुन: यसको निर्माण गर्ने पनि मै ।’


यति भनेर घोप्टिएको चन्द्रशेखर आधा घण्टासम्म चुपचाप रह्यो, यस्सो बेलाबेलामा शरीर हल्लाउनेबाहेक केही गरेन ।

मन्त्री घोप्टिएको स्थानदेखि सात फिटजतिको दूरीमा थियो गार्ड । बेलाबेलामा उसले आँखा ननचाउने र जिउ नचलाउने हो भने ऊ कुनै सालिकजस्तो देखिन्थ्यो । निर्जीव र निश्चल । हरियो र छिरबिरे पोसाकमा ठडाइएको सिमेन्टको सालिक । सालिक बनाउनेले शरीरमा मासु हाल्न कन्जुस्याइँ गरेको जस्तो । उसको जिउ नर्कटजस्तै मसिनो थियो । त्यो सुरक्षागार्ड केही पर दायाँ कुनोमा रहेको पानीको धारातर्फ भने अरुले थाहा नपाउने ढङ्गमा आँखा लैजान्थ्यो ।

गाउँका महिला पानी भर्न आउने क्रम केही समयअघि नै सुरु भइसकेको थियो । ती महिलातर्फ गार्डका आशक्त आँखा दौडिरहन्थे । उसको आँखामा नमीठो लोभ छचल्किएको देखिन्थ्यो । मन्त्री घोप्टिएको मौका छोपेर उसले एक–दुई महिलालाई स्पर्श गर्ने प्रयत्न पनि नगरेको होइन । मन्त्रीले थाहा पाउला भन्ने डर भने ऊभित्र कायम थियो ।

यत्ति गर्दागर्दै गार्डका मनमा दुइटा चिन्ता उत्पन्न हुन पुगे । पहिलो, भुँडे गणेशले मुसालाई वास्तवमै बाहन बनाएर चढ्ने हो भने त्यो सूक्ष्म जीव मुसाको हालत के होला ?


दोस्रो चिन्ता, कुनै दिन मन्त्रीलाई आफूले बोक्नुपर्‍यो भने आफ्नो हालत के होला ? उसले गम खायो । उसका अनुहारमा चिन्ताका रेखा कुद्न थाले । उसले आफ्नो हालत मुसाको भन्दा फरक नहुने अनुमान गर्‍यो ।

जतिजति बिहान छिप्पिँदै जान्थ्यो, उतिउति दर्शनार्थीको सङ्ख्या बढ्दै थियो । गणेशको पाउ छोएर आशीर्वाद माग्न चाहनेको लर्को झन्डै सय मिटर परसम्म पुगिसकेको थियो । कोहीकोही त मन्दिरको दृश्य देखेर फर्किएका पनि थिए ।


गाउँले अधिकांशलाई हतार थियो । विभिन्नखाले हतार । तिनले हतारहीन जिन्दगी सायद भोग्नै पाएका थिएनन् । ती कानेखुसी गर्थे तर आवाज निकाल्न सक्दैनथे ।

चन्द्रशेखरको गणेशभक्ति सकिएको थिएन ।


मङ्गलबार गणेशथानमा भीड हुने नै भयो । मन्दिरको ढोका अन्यत्रको भन्दा सानो थियो । ढोकाको ठीक अघिल्तिर राखिएको ढुङ्गाको मुसालाई अँगालो हालेर चन्द्रशेखर घोप्टिएको थियो । भित्र मन्दिरमा गजधम्म बसेका थिए, ठूलो भुँडी र लामो सुँड भएका गणेश । गणेशको घुम्रिएको सुँड तलतिर खुट्टाको छेउसम्म पुगेको थियो । मूर्तिकारले यी गणेशको सुँड अन्यत्रका गणेशको भन्दा अलि लामो नै बनाइदिएको थियो । दायाँ–बायाँका दुइटा मोटामोटा खुट्टाले गणेशको सुँडको सुरक्षा गरिरहेको जस्तो भान पथ्र्यो । र, द्वारपाले थियो पृथ्वीको एउटा सानो जीव, मुसो । त्यही मुसो पनि चन्द्रशेखरले छोपिदिएको थियो । एकाबिहानै गणेश मन्दिर पसेर आफ्नो दिन सुधार्न चाहनेहरूभित्रभित्रै खुब रिसाएका थिए तर ती बोल्न सक्दैनथे । कुन बेला मन्त्रीको घोप्टाइ अन्त्य होला र गणेशको चरण स्पर्श गरुँला भन्ने मान्छेको भीडबारे चन्द्रशेखर बेखबर थियो ।


चन्द्रशेखरको हैकम त्यस इलाकामा घटेको थिएन । त्यसमाथि त्यसबखत त ऊ मन्त्री थियो र उसको साथमा थियो राइफल बोकेको सुरक्षा गार्ड ।


गार्डको खिनौटे शरीरलाई उसले बोकेको बन्दुकले तान्लाजस्तो देखिन्थ्यो । तुलना यसरी पनि गर्न सकिन्थ्यो, चन्द्रशेखर गणेशजस्तो थियो भने उसको सुरक्षा गार्ड मुसोजस्तो । यी दुईको घोषित र अघोषित जिम्मेवारी पनि उस्तै थियो । ठूलो भुँडी भएका गणेशको मुसोले र क्विन्टल तौल शरीर भएको मन्त्री चन्द्रशेखरको त्यो खिनौटे गार्डले सुरक्षा गर्नु !


चन्द्रशेखरको निकट विगत, उसकै आदेशमा क्षतविक्षत पारिएका गाउँका भौतिक संरचना, कतिपय निर्दोष सर्वसाधारणमाथि गरिएका भौतिक कारबाहीजस्ता घटना सम्झेर गाउँले त्यसबखत पनि डरले काँप्थे । चन्द्रशेखरमा अचानक आएको परिवर्तन देखेर गाउँले छक्क परेका थिए, त्यो झनै डरलाग्दो थियो ।


अघिल्लो साँझ ढिलो गरी पहिलो संविधानसभा निर्वाचनको नतिजा आएको थियो । र, निर्वाचनमा चन्द्रशेखरले हारेको थियो । देशभरको निर्वाचनमा उसको पार्टीले बहुमत ल्याएको थियो तर उसले भने हार बेहोर्नुपरेको थियो । त्यो पनि आफैंले राजनीति सिकाएको चेलोसँग पराजित हुनुपर्दा चन्द्रशेखरको चिन्ता थप चुलिएको थियो ।

निर्वाचनको नतिजा सुन्न आतुर थियो त्यस साँझ चन्द्रशेखर । आफ्नो जित पक्का रहेको उसको अनुमान थियो । निर्वाचनअघि गाउँको विकासका लागि थुप्रै काम गरिदिने उसले आश्वासन दिएको थियो । उदाहरणमा उसले गणेश मन्दिर पुनर्निर्माण आफूले मन्त्री हुँदासाथ गरिदिएको स्मरण गराउँथ्यो । जनताको सत्ता, समृद्धि, रोजगारी, किसानलाई जमिन, गाउँमा सडक, पुल, खानेपानीजस्ता विकासका भएजति नारा उसले लगाएको थियो । तर, निर्वाचन हारेपछि ती नारा खोटा साबित भएका थिए । निर्वाचनको मतगणनाको निरीक्षण गर्न र नतिजा सुनाउन राखिएको प्रतिनिधिलाई उसले तथानाम गाली गरेको थियो ।


‘मतपेटिका थुतेर खोलामा किन फ्याँकिनस् ?’

‘मतगणना अधिकृतलाई कुट्न किन सकिनस् ?’

‘मतगणना रोक्न किन सकिनस् ?’

‘पुन:निर्वाचनको माग किन गर्न सकिनस् ?’

‘मतपत्र च्यातेर धुजाधुजा पार्न किन सकिनस् ?’

यस्ता थुप्रै आरोप उसले आफ्नो प्रतिनिधिलाई लगायो । चन्द्रशेखर आवेगमा जथाभावी बोलिरहेको थियो, प्रतिनिधि भने चुपचाप थियो । उताबाट कुनै आवाज नआएपछि चन्द्रशेखरले आफ्नो मोबाइल कोठाको भित्तामा फ्याँकिदिएको थियो । मस्त निद्रामा रहेकी उसकी पत्नी द्रोपदीलाई उसका कुनै पनि क्रियाकलापले बिउँझाउन सकेको थिएन ।

निर्वाचनको नतिजापछि चन्द्रशेखरले आफैंलाई नियन्त्रणमा गर्न सकिरहेको थिएन । उसको हात दराजमा रहेको आयातीत रक्सीको बोतलतर्फ बढ्यो । दायाँबायाँ कतै नहेरी उसले बोतलबाटै चार–पाँच घुट्को रक्सी पियो । र, ओछ्यानमा आफ्नो भारी शरीरलाई पछार्‍यो । ओछ्यानको भित्तापट्टि मस्त निद्रामा रहेकी उसकी पत्नीलाई अझै पनि केही पत्तो थिएन ।


जति गर्दा पनि चन्द्रशेखरले निर्वाचन जितेन । जब उसले मोबाइल फाल्यो, रक्सी पियो र ओछ्यानमा ढल्यो, उसलाई भाउन्न हुन थाल्यो । घर फनफनी घुमेजस्तो हुन थाल्यो । टाउको टन्कन थाल्यो उसको । उसलाई पत्यारै लागेन, आफ्नो पराजय !


‘पक्का पनि निर्वाचनमा धाँधली भएको हुनुपर्छ । आफ्नै पार्टीका मान्छेबाट अन्तर्घात भएको हुनुपर्छ । विपक्षीले पैसाको खोलो बगाएको हुनुपर्छ । गाउँलेहरू धोकेबाज रहेछन्,’ तर्कनाहरू अनेक उठ्न थाले उसका मनभित्र ।

त्यो रात ऊ मुस्किलले आधा घण्टा निदायो होला । त्यो पनि रक्सीको असरमा । त्यसपछि उसले आँखा चिम्लनै सकेन । केहीबेरअघिसम्म नतिजा आउला कि भनेर सुन्नका लागि उसकी पत्नीले साथ दिएकी थिइन्, नसुती । तर, उनी निदाइन् । चुनाव जितेको भए के सुत्न पाउँथिन् र उनले ! सुतिरहेकी श्रीमतीलाई उठाएर हारको समाचार सुनाउन मन लागेन उसलाई । पराजयको नतिजा सुन्ने प्रतीक्षा गर्न चन्द्रशेखर एक्लै भयो । नतिजा आएपछि एक लिटर जति पानी पियो उसले, रक्सी पिउनुअघि । तर, तिर्खा मेटिएन । हातखुट्टा फत्रक्क गलेका थिए । मुटुको धड्कन बढेको थियो ।

***


जतिखेर ऊ राजावादी थियो, त्यतिखेर उसको चेलो अर्थात् निर्वाचनमा हराउने व्यक्ति काङ्ग्रेस बनिसकेको थियो । चेलो राजावादी दलमा केही समयमात्रै रह्यो । त्यहीँ बस्दा उसले राजनीतिका दाउपेच सिकेको थियो । त्यही चेलोले उसलाई निर्वाचनमा नराम्ररी पछारिदियो । राजनीतिक दाउपेचका कतिपय महत्त्वपूर्ण सूत्र उसलाई चन्द्रशेखरले नै सिकाइदिएको थियो ।


देशमा सशस्त्र द्वन्द्व सुरु भएको आधा दशक पुग्नै लागेको थियो, चन्द्रशेखरले हठात् दल परिवर्तन गर्दा । दल परिवर्तनपछि उसले क्रान्तिकारी पार्टीलाई हरेक प्रकारको सहयोग गर्न थालेको थियो । बिस्तारै ऊ ‘पूर्णकालीन’ योद्धा बन्दै जिम्मेवार तहमा पुगेको थियो । अधिकांश क्रान्तिकारीलाई चन्द्रशेखर आफ्नो समूहमा प्रवेश गरेको मन परेको थिएन । उसको विगत खराब हुनाले सशस्त्र द्वन्द्वलाई आत्मैदेखि मन पराएर ज्यानको बाजी थापी सहभागी भएका क्रान्तिकारीलाई चन्द्रशेखर मन नपर्नु अस्वाभाविक पनि थिएन ।


चन्द्रशेखर योद्धा, कमान्डर, कमिसारलगायतलाई विश्वास दिलाउन जे पनि गर्न तयार थियो । एक पटक पार्टीका सुप्रिम कमान्डर उसको गाउँ आएका थिए । त्यसबखत चन्द्रशेखरले मिलाएको सुरक्षा प्रबन्ध र खानपानको व्यवस्थाको निकै प्रशंसा भएको थियो । स्वयम् सुप्रिम कमान्डरले चन्द्रशेखरलाई आफूसँग नियमित सम्पर्कमा रहन भनेपछि त उसको खुट्टा भुइँमै टेकिएको थिएन । त्यो दृश्य देख्ने गाउँका अन्य शुभचिन्तकलाई लाग्न थालेको थियो— पार्टी सुप्रिमोसँग अब चन्द्रशेखरको सीधा सम्पर्क हुनेछ ।


गाउँमा ऊ क्रान्तिकारी समूहमा प्रवेश गरेको कुरालाई लामो समयसम्म विश्वास गरिएन । जब उसले एकाबिहानै गणेशथानमा बम हानेर मन्दिर उडाइदियो तब मात्र गाउँलेले उसलाई पत्याउन थाले, चन्द्रशेखर पक्कै क्रान्तिकारी भएछ भनेर । त्यसपछि ऊसँग गाउँले डराउन पनि थाले । मन्दिरमा बम पड्केको दिन पनि मङ्गलबार नै थियो । तीन जना दर्शनार्थी उक्त विस्फोटमा परेका थिए । बम विस्फोट भएको केही घण्टापछि तिनले यो धर्ती छोडेका थिए ।

अचम्म त के छ भने, पहिलो पटक केही वर्षअघि गणेश मन्दिर निर्माणको काम चन्द्रशेखरकै अगुवाइमा भएको थियो । त्यसबखत ऊ राजावादी दलमा रहेर राजनीति गथ्र्यो । उसले मन्दिर निर्माणका निम्ति सरकारी कोषबाट बजेट पारेको थियो । मन्दिर बनाउने स्थान पनि उसैले चयन गरेको थियो । गाउँको सबैभन्दा अग्लो थुम्को, जहाँ सानो चौर थियो । त्यो थुम्को चन्द्रशेखरको घरबाट स्पष्टै देखिन्थ्यो ।


गणेशथान बमले ध्वस्त पारेको भोलिपल्ट मुखमा रुमाल बाँधेर र टाउकामा ह्याट लगाएर चन्द्रशेखर मन्दिरवरपरको अवस्था निरीक्षण गर्न पुगेको थियो । गणेशको भुँडी छ्यालब्याल भएको थियो । खुट्टा तीन टुक्रा अनि दुइटा आँखा ६ टुक्रा बनेका थिए । खुट्टा टुक्रिएर धाराको छेउमा पुगेको थियो । सुँडको कुनै अत्तोपत्तौ थिएन । छानाको जस्तापाता उडेर झन्डै २० फिट पर पुगेको थियो । अनौठो त के देखियो भने, गणेशको सुरक्षामा बसेको मुसोलाई कुनै क्षति पुगेको थिएन, मुसो जस्ताको त्यस्तै थियो । मुसोलाई बमले उछिट्याएर केही फिट पर पुर्‍याइदिएको मात्र थियो । गणेश र मुसो यदि जीवित प्राणी थिए भने बमले गणेशको मृत्यु हुने थियो । मुसो जीवितै रहने थियो ।

विस्फोटमा परी ज्यान गुमाएका तीन जना सर्वसाधारणको चप्पलर जुत्ता अलि पर देखिन्थ्यो, उल्टो परेको अवस्थामा । एउटा जुत्ताचाहिँ धारामास्तिर थियो । मन्दिरका घण्ट, दर्शनार्थी र गाउँले बस्ने बेन्च केहीको पनि नामनिसाना थिएन । बम प्रहार सफल भएको देखेर चन्द्रशेखर निकै खुसी थियो ।


मन्दिरलाई बमले उडाउनुपर्ने तीनवटा कारण देख्थ्यो ऊ । पहिलो र मुख्य कारण, सर्वहारा कम्युनिस्टले कुनै पनि धर्मको पक्ष लिनु हुन्न । यो कुरालाई उसले खुब प्रचार गर्‍यो क्रान्तिकारीहरूमाझ र मौका मिल्दा गाउँका सर्वसाधारणमाझ पनि । क्रान्तिकारीले धर्मको विरोध गर्नुपर्छ भन्ने उसलाई कसैले बताइदिएको थियो । धर्म अफिम हो भन्ने पनि उसले सुनेको थियो । तर, यो, किन, कसले र कुन सन्दर्भमा सुरुमा भनेको थियो भन्ने उसलाई थाहा थिएन । अर्को कारण, मन्दिर आफ्नै संलग्नतामा ध्वस्त बनाएपछि क्रान्तिकारीले विश्वास गर्छन् भन्ने उसको बुझाइ । अनि अर्को कारणचाहिँ मन्दिर रहेको उक्त थुम्कोमा गाउँलेहरू बसेर सरसल्लाह गर्थे । त्यस्तो सरसल्लाह चन्द्रशेखरलाई पटक्कै मन पर्दैनथ्यो, तिनलाई आफ्नो दुश्मन ठान्थ्यो ऊ । त्यसकारण त्यो ठाउँलाई बाँकी राख्नुहुन्न भन्ने सोच उसको मनभित्र थियो । उसलाई तीनैवटा तर्क र विश्वासले साथ दियो फलत: ऊ छोटो समयमै पार्टीको महत्त्वपूर्ण जिम्मेवारीमा पनि पुग्यो ।

***


चन्द्रशेखरलाई निर्वाचनमा पराजयले जति दु:खी बनाएको थियो, त्योभन्दा बढी मन्त्री पद छाड्नुपर्ला भन्ने चिन्ताले सताएको थियो । सोही चिन्ता दूर गर्न र भगवान्सँग बिलौना गर्न ऊ बिहानै गणेश मन्दिर पुगेको थियो । गणेश मन्दिरसँग आफ्नो भावनात्मक सम्बन्ध रहेको ऊ बताउँथ्यो । अर्धनिद्रामा रहेको गार्डलाई बाटोभरि उसले गणेश मन्दिरको इतिहास सुनाउँदै लगेको थियो, साथमा हारको बर्बराहट पनि सुनाएको थियो । अर्धनिद्रामा रहेको गार्डले चन्द्रशेखरको कुरा कति सुन्यो, भन्न सकिन्न ।


क्रान्तिकारी पार्टी प्रवेश गर्नुअघि उसले गणेश मन्दिरमा आफ्ना आमाबाबुका नाममा ठूलो घण्ट पनि चढाएको थियो । मन्दिरबाहिर दर्शनार्थीलाई बस्न हुने लामो बेन्च पनि उसैले हालिदिएको थियो । धेरै पटक ऊ स्वयम् सोही बेन्चमा बसेर गफ गरेको थियो । मन नपर्ने मान्छेको कुरा काटेको थियो । सशस्त्र समूहलाई ‘आतङ्ककारी’ भनेको थियो ।

समयक्रम यसरी बदलियो उसले त्यसो भनिरहन सकेन । आफ्ना भनाइ सच्याउँदै द्वन्द्वमा सहभागी हुँदा भविष्य उज्ज्वल हुने उसले ठम्यायो । सोही सोचलाई मूर्तरूप दिन उसले क्रान्तिकारीको फेर समात्यो र तिनलाई विश्वासमा लिन मन्दिर बमले उडाइदियो ।


राजनीतिक काँचुली निकै चाँडो फेरियो । साइकलको पाङ्ग्राभन्दा पनि छिटो राजनीतिको पाङ्ग्रा घुम्न थाल्यो । विगतका सारा परिवर्तन थोत्रा हुन थाले । नयाँ नेपालको सपना धेरै नेपालीले देख्न थाले ।


सशस्त्र द्वन्द्व रोकियो । क्रान्तिकारीहरूलाई संसद् उचित थलो लाग्न थाल्यो, शान्तिपूर्ण आन्दोलनबाटै परिवर्तन सम्भव देख्न थाले तिनले । र, यसैबाट गरिब जनताको मुक्ति हुने तिनको धारणा बन्न थाल्यो । विभेदको अन्त्य हुने, थिचोमिचो नामेट पार्ने अनि आवाजविहीनको आवाज बुलन्द पार्नका निम्ति संसद् नै उपयुक्त बाटो बन्न सक्नेमा तिनले जिकिर गर्न थाले । जनताले छानेका प्रतिनिधिबाट देशको संविधान लेख्नका निम्ति पनि यो मार्ग सही हुने ठहर गर्न थाले ।

सशस्त्र द्वन्द्व अन्त्य र शान्तिपूर्ण आन्दोलनको पक्षमा लाग्ने पार्टीको निर्णय सुनेर सायद सबैभन्दा बढी खुसी चन्द्रशेखर नै भयो । ऊ पार्टीका जिम्मेवार तथा उच्चपदस्थ नेताहरूमाझ विश्वासिलो पात्र बनिसकेको थियो । आफ्नो भविष्य चाँडै नै उज्ज्वल हुने लक्षण उसले देखिसकेको थियो ।


उसको पार्टीले अन्य दलसँग मिलेर अन्तरिम सरकार बनाउने निर्णय गरेको रात उसले गणेश मन्दिर पुनर्निर्माण गर्ने अठोट गरेको थियो । सौभाग्य, ऊ स्वयम् भौतिक योजना तथा निर्माण मन्त्री भएपछि मन्दिर निर्माणको काम अति सामान्य हुन पुग्यो । र, उसले मन्त्रालय सम्हालेपछि पहिलो निर्णय नै मन्दिर पुनर्निर्माणको गरेको थियो । उसले आफ्नो एक जना विश्वासपात्रलाई मन्दिर निर्माणको ठेक्का दिएको थियो । ठेकेदारले मन्दिर दुई सातामा सुन्दर ढङ्गमा तयार पारिदिएको थियो ।

० ० ०

मन्दिरको ढोकाअगाडि घोप्टिरहेको चन्द्रशेखरको मनमा केही बेरपछि प्रश्नरूपी कुरा खेल्न थाल्यो । उसले आफ्नो गर्धन अलिकति उचाल्यो र गणेशतिर पुलुक्क हेर्‍यो ।

‘म यति धेरै गणेशभक्त छु, तर पनि किन मैले निर्वाचन हारेँ ?’

‘मैलै बुझ्न सकिनँ भगवान्, तिमी मसँग किन अहिलेसम्म रिसाएका छौ ?’

‘हो मैले विगतमा तिम्रो मन्दिर बमले उडाइदिएँ, त्यो मेरो कमजोरी थियो । तर, मैले नै पुन: तिम्रो मन्दिर पहिलाको भन्दा राम्ररी बनाइदिएको पनि त छु । तर पनि तिमी मसँग किन रिसाएको छौ ?’

यति भनेर ऊ पूर्ववत् चुपचाप घोप्टिएको थियो, मुसोलाई छोपेर ।

***


मन्दिरको ठूलो घण्ट अचानक बज्यो । चन्द्रशेखरको ध्यान भङ्ग हुन पुग्यो । आफंैलाई भारी बन्दै गएको शरीरको एउटा पाटो यस्सो उठाएर उसले घण्ट बजाउने मान्छेको अनुहार हेर्न खोज्यो । शरीरको एउटा पाटो उठाउँदा उसको हात निर्जीव मुसोमाथि परेको थियो, अर्को हात भने कोटको दायाँतिरको खल्तीमा । खल्तीमा ठूलो प्वाल परेको थियो । ‘कसरी पर्‍यो मेरो कोटको खल्तीमा प्वाल ?’ उसले एक छिन त्यही निर्जीव मुसोलाई मुसार्‍यो र आफैंलाई सोध्यो ।

‘यही मुसोले त काटेन मेरो कोट ?’ आफंैमाथि प्रश्न थप्यो उसले ।

प्रश्न अरू पनि थप्न खोज्दैथ्यो चन्द्रशेखर, उसको कोटको अर्को खल्तीबाट जीवित मुसो निस्केर उफ्रँदै भाग्यो ।

उसलाई आफू मुसो बन्दै गएको र आफूलाई निर्वाचनमा हराउने नेता गणेश बन्दै गएको महसुस हुन थाल्यो ।

***


‘तपाईंले बिर्सनुभयो मन्त्रीज्यू, अब त हजुर एउटा क्रान्तिकारी दलको जिम्मेवार मान्छे । आजका मितिसम्म एउटा महत्त्वपूर्ण मन्त्रालयको प्रभावशाली मन्त्री । यसरी मन्दिर अघिल्तिर घण्टौंसम्म घोप्टिरहँदा देख्नेले के भन्लान् ? ल छिटो उठ्नुस्,’ अचानक एकाबिहानै घरबाट निस्किएको श्रीमान् खोज्दै मन्दिर आइपुगेकी मन्त्रीपत्नीको आवाज आयो ।

पत्नीको आवाजले चन्द्रशेखर झस्कियो । ठूलो घण्ट उनैले बजाएकी थिइन् । त्यसपछि चन्द्रशेखर जुरुक्कै उठ्यो र पत्नीतर्फ फर्किएर भन्न थाल्यो, ‘कामरेड द्रोपदी, तपाईं यहाँ ?’


द्रोपदीले चन्द्रशेखरको कानमा खुसुक्क भनिन्, ‘मलाई अचेल कामरेड भनेको बिल्कुलै मन पर्दैन श्रीमान्ज्यू । गाली गरेको जस्तो लाग्छ ।’

प्रकाशित : माघ ५, २०७५ ११:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?