कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

शरीर, साम्राज्यवाद र पुँजीवाद

विषय
पुँजीवादी चिन्तनभित्र पर्छ नाफाको खेल । नाफा र फाइदाको यात्रा तय गर्न सामेल हुन्छ शक्ति । शक्तिको प्रयोग कमजोरमाथि हुन्छ ।
कुमारी लामा

काठमाडौँ — एकातिर पितृसत्ता दृष्टिले महिला प्रयोग गरिने ‘जिनिस’ देख्छ भने अर्कोतिर पुँजीवादले पनि महिलालाई प्रयोगकै ‘वस्तु’ ठान्छ । आजको पितृसत्तात्मक पुँजीवादी समाजमा महिला फेरि पनि उनीहरूकै इच्छाअनुकूल प्रयोग गर्न सकिने वस्तुमा परिणत भएका छन् । 

शरीर, साम्राज्यवाद र पुँजीवाद

शरीर रगत मासुको पिण्डभन्दा पर एक सामाजिकसंहिता हो । शरीर कहिलेकाहीं विचार, सिद्धान्त अनि डिस्कोर्सको टकराव केन्द्र पनि बन्दो रहेछ । शरीर समय, समाज अनि संस्कृतिअनुकूल फरक–फरक तरिकाले निर्माण हुँदै जाने एक प्रक्रिया पनि हो । शरीरको परिभाषा शरीरसँग मात्र नभई समाजदृष्टि र समाजिक चेतनासँग पनि निकै निकट छ । गान्धीको झिनो शरीर राष्ट्रिय एकता र साम्राज्यवादी अंग्रेजविरुद्धको एक गहकिलो विम्ब बनी बसेको छ इतिहासमा । शरीर एक दैहिक क्षेत्रभन्दा निकै पर र विस्तारित परिभाषासहित अगाडि आउने एक शक्तिपुञ्ज पनि हो ।


अनेक क्षमतासहितको शरीर फेरि एक निरीह शरीर पनि बनिदिन्छ । जसरी हाम्रो समाजमा महिला शरीर पीडाको समुद्रमा डुबेका छन् । ती शरीर अनेकन अतिक्रमणका सिकार छन् । रगतमासी गलाइदिने सामाजिक सांस्कृतिक नियमहरूको पेलाइदेखि कुकृत्य र कुदृष्टिको सिकार पनि उही महिला शरीर छ । शरीरमाथिको निर्मम विम्ब भएर निर्मला पन्त अस्ताई । धेरै सपना र आकांक्षाहरू मनभरि बोकेर किताब च्यापी हिँडेकी किशोरी गायब भई ।

समाजमा मान्छेको अनुहार बोकी हिँडेका यौनपिपासुको सिकार भई बिलाई उखुबारीमै । तर, समय निकै घर्किसक्दा पनि अपराधी पत्ता लागेको छैन । निर्मलाको एक शोषित र नियन्त्रित शरीर आज शक्तिशालीहरूको टकरावस्थल भएको छ । बलात्कारी हत्यारा उम्किरहनुले उनको शरीर विम्ब आज देशकै लागि लज्जा र देशमा मौलाएको दण्डहीनताको टड्कारो दृश्य भएको छ । एउटा निरीह शरीर पनि समाजमा फरक डिस्कोर्स सिर्जना गर्न सक्षम हुने रहेछ । आज निर्मलादेहले कलाकारको क्यान्भास, लेखकको मस्तिष्क, कानुनको दफा, उपदफादेखि समाजकै मनस्थितिमा फरक चिन्तनको सिर्जना गरिदिएको छ ।


विडम्बना मात्र के छ भने, शरीरको नाममा यसैगरी डिस्कोर्सहरू उब्जिन्छन्, चिन्तन मन्थन हुन्छन् र त्यसपछि फेरि उही कविताका हरफहरू, क्यान्भासमा पोतिने रङहरू र युवाहरूका क्षणिक आक्रोश भई बिलाइजान्छन् । तर, विगतमा सबै शरीर चिन्तनहरू उसै बिलाइगएका भने पक्कै होइनन् ।


मानिसको शरीरलाई मात्र नभई कुनै देशलाई पनि शरीरकै रूपमा अथ्र्याउँछन् जानकारहरू । जसरी शक्तिशाली शरीरले कमजोरमाथि शक्तिको प्रयोग गरी अत्याचार गर्छन्, उसैगरी धेरै काल पहिलेबाटै कमजोर राष्ट्रमाथि बल प्रयोगबाटै सुरु भएको हो— अरू देशमाथिको अतिक्रमण । या भनौं राज्य विस्तार अनि सुरु भएको हो, साम्राज्यवादको फरक दमन । शक्तिसम्पन्न युरोपियन देहले कमजोर देहहरूमाथि गरेको अतिक्रमणकै परिणाम न हो— साम्राज्यवादी चक्र । शक्तिसम्पन्नले अनेक तकनिकी र साधनको प्रयोग गर्छन्— आफ्नो प्रभुत्व कायम गर्न । जेरेड डायमन्डका अनुसार युरोपियनले आफ्नो प्रभुत्व कायम राख्न प्रयोग गरेथे— बन्दुक र स्टिलका ढालहरू । साथै, आफैंसँग बोकी गएका थिए— संक्रमण फैल्याउने कीटाणुहरू पनि । ती कीटाणु शक्तिशाली शरीरबाट कमजोर शरीरतिर संक्रमित भएको थियो । त्यसले स्वाहा पारेको थियो— लाखौंलाख मानिस । यसरी शरीरमाथिको आक्रमणबाटै त सुरु भएको हो— साम्राज्य विस्तार र साम्राज्यवादी चिन्तन ।


साम्राज्यवादी चिन्तन

साम्राज्य विस्तारको जरा ११ हजार वर्षअघि नै गाडिएको हो, जो युरोपियनले नयाँ विश्वको कब्जासँगै सुरु गरेका थिए । जेरेड डायमन्डले आफ्नो चर्चित पुस्तक ‘गन्स, जर्मस् एन्ड स्टिल’ मा यो तथ्य लेखेका छन् ।


पुरानो र विकसित विश्व मानिने युरोपियन र नयाँ विश्वको रूपमा उनीहरूले नाम दिएका ल्याटिन अमेरिकनसँगको जम्काभेट इतिहासको नालीबेली लगाउँछन् डायमन्ड । सन् १५३२ को नोभेम्बर १६ मा रोमन सम्राट् चाल्र्स पाँचौंका प्रतिनिधि फ्रान्सिसको पिजारोको भेट इन्का सम्राट् अटाहुअल्पासँग पेरुको काजमार्कामा भएको थियो । यो जम्काभेट उनका सम्राट्को मृत्युमा टुंगियो । उनीहरूले मागेजति क्षतिपूर्ति दिँदा पनि बन्दी बनाइएका सम्राट्ले मुक्ति पाएनन् । अन्तत: उनी मारिए । यो घटना शक्तिशाली युरोपियन शरीरले कमजोर ल्याटिन अमेरिकन शरीरमाथि गरेको विजय र अतिक्रमणको उदाहरण हो । रोमन र उनका सम्राट्को यो टकरावलाई निकै ठूलो घटनाको रूपमा लिइन्छ— आधुनिक विश्वमा । यो साम्राज्य विस्तारको सुरुआती समय चिनाउने आँखीझ्याल भएको छ ।


स्प्यानिस सैन्य टोलीका नायक पिजारोले जम्मा १६८ जना सैनिकको बलमा ७ हजार सैनिकसहित भेट्न आएका अटाहुअल्पामाथि विजय पाएका थिए । त्यो अविश्वसनीय स्प्यानिस विजयका पछाडिको कारण थियो— उनीहरूसँग भएको आधुनिक हतियार, स्टिलको ढाल र अब्बल घोडाहरू । जबकि उनका सम्राट्सँग काठ र ढुंगाका सामान्य हतियार मात्र थिए । ती ७ हजार निशस्त्र सैनिक र अटाहुअल्पाको संहारसँगै सुरु भएको थियो— युरोपियन साम्राज्यवादको नयाँ लहर । युरोपियनले नियन्त्रणमा लिएका देशवासीलाई दास बनाए र देशको सम्पूर्ण साधनस्रोतको हदैसम्मको दोहन गरी खोक्रो पारि छाडिगए ।


उरुग्वेयन लेखक इडुआर्डो ग्यालियानोको ‘ओपन भेन्स अब ल्याटिन अमेरिका’ नामक पुस्तकमा साम्राज्यवादी युरोपियनहरूले पाँच शताब्दीसम्म गरेको शोषण र डकैतीको हृदयविदारक कथा समेटेको छ । दक्षिण अमेरिकी राष्ट्रहरू पेरु, बोलिभिया, ब्राजिल, मेक्सिको, आदिबाट सुन, चाँदीलगायतका खनिजहरू सबै लुटी लगे । पेरुको पोटोसिको चाँदी खानी र मेक्सिकोको जाकाटेकासका सुन र चाँदीका पचासौं खानीहरूमा एक दुईवटामा सीमित भई रित्याइए । युरोपियनले खानीहरू रित्याइदिएपछि उनीहरूसँग मात्र भोक, रोग र गरिबीको चिमोट्याइ बाँकी रह्यो । त्यस बखतबाट सुरु भएको गरिबीको फेहरिस्त आज पनि निरन्तर छ ।


लाखौं निहत्था मानिसको लासको आडमा उभिएको थियो युरोपियन साम्राज्यवाद । उपनिवेशकालीन सुरुआती समयदेखि अठारौँ शताब्दीमा आइपुग्दा बोलिभियामा मात्र ८० लाख इन्डियन मारिएका थिए । त्यो बर्बरता ती देश र देशवासीमाथिको दैहिक अत्याचार मात्र थिएन, त्यो त सम्पूर्ण रूपमा उनीहरूको अस्तित्वमाथिको धावा थियो । ती अनगिन्ती शव युरोपियन कब्जामा परेका देशका जनतामाथिको बर्बर दासत्व र चरम शोषणकै उपज थियो ।

इजाबेला एलिन्डि भन्छिन्— हामीले पाँच सयवर्षे शोषण र साम्राज्यवाद झेलेका छौँ । एकैखाले भाग्यले जोडिएका हामी सबै शोषित वर्ग हौँ । एलिन्डीले भनेजस्तै साम्राज्यवादी युरोपियनले सधैँ नै आफ्नो शक्ति र पछिल्लो आधुनिक उत्पादनको परीक्षण अविकसित देश र जनतामा गरिरहे । यही शक्तिको खेलमा उनीहरू निरन्तर सामेल छन् । विश्वबाट औपनिवेशिक साम्राज्यवादी समयको अन्त भए पनि आज बहुराष्ट्रिय कम्पनीका उत्पादनमार्फत पुँजीवादले भिन्न खाले साम्राज्यवादी दमन सुरु गरेको छ । र, फेरि पनि दमनको सामना उही मानव शरीरले भोगिरहेको छ । वास्तवमा शरीर नै त्यो केन्द्र हो जो पीडा र शोषणको निरन्तरतामा सामेल हुने या पारिने रहेछ ।


पुँजीवादी चिन्तन

साम्राज्यवादले अनेक अवतार फेर्दो रहेछ । सोह्रौं शताब्दीको औपनिवेशिक साम्राज्यवाद कुनै देशमाथिको कब्जासँग तल्लीन थियो । तर, आजको साम्राज्यवादले शारीरिक कब्जाभन्दा निकै खतरनाक मस्तिष्कको कब्जासँग सरोकार राख्छ । आज बहुराष्ट्रिय कम्पनीका उत्पादनमार्फत मानिसको रुचि, उनीहरूको दृष्टिकोण र समग्र मनोविज्ञानको निर्माण गर्ने कार्य भइरहेको छ । मानिसको मस्तिष्कमा धावा बोली उनीहरूको रुचि निर्धारण गर्ने कार्यमा संलग्न उत्पादन कम्पनी साम्राज्यवादका नयाँ चेहरा हुन् । उत्पादन, बजार, वितरण र नाफासँग जेलिएको साम्राज्यवाद पछिल्लो संस्करण हो— पुँजीवादी साम्राज्यवादको ।


बहुराष्ट्र कम्पनीको मुख्य ध्येय भन्नु बजार विस्तार र नाफा हो । त्यसका लागि उनीहरू चम्किलो विज्ञापनको सहारा लिन्छन् । छली विज्ञापनले मन्त्रमुग्ध भएका मानिसमा ती सामान प्रयोग गर्ने आतुरता पैदा हुन्छ । वस्तु प्रयोगको आतुरताले मानिसलाई उपभोग्तावादी बनाइदिएको छ । डरलाग्दो गरी विकास भएको आजको उपभोक्तावादी मनोविज्ञानले उनीहरूलाई फरक खाले दासताको दलदलमा धकेलिरहेको छ । पुँजीवादको बढ्दो दबदबामा मानिस फगत दास भएका छन् । बजार र वस्तुको दास ।


बजारबाट प्रभावित हुनेमा महिलाहरू अग्रपंक्तिमा पर्छन् । महिलाको सौन्दर्य मोहलाई राम्ररी मनन गरेका उत्पादकले अनेकन कस्मेटिक उत्पादनमार्फत महिलागणलाई लठ्याएका छन् । बहुराष्ट्रिय कम्पनीका उत्पादनले महिलाको सौन्दर्य चिन्तनमा ठूलो बदलाव ल्याइदिएको छ । विश्वको जनसंख्याको आधा हिस्सा ओगटेको महिलालाई आफ्नो नियमित ग्राहक बनाउँदा हुने फाइदाको राम्रै आँकडा छ उत्पादकसँग । त्यसैले नियोजित ढंगमा महिला सौन्दर्यको एक मानक खडा गरिदिए । बहुसंख्यक महिलाहरू उही विज्ञापन निर्मित सौन्दर्यको पछि लाग्दा ती सौन्दर्य प्रशाधनका सामान प्रयोग गर्न बाध्य भए । पुँजीवादी बजारले निर्माण गरिदिएको सौन्दर्य मानकको घेराभित्र आफूलाई पार्ने होडमा आज महिलाहरू पुँजीवादी साम्राज्यवादको पन्जामा नराम्ररी फसेका छन् । यसै सम्बन्धमा एविलिन रिड भन्छिन्— पुँजीवाद विकसित हुँदै गएपछि उत्पादन यन्त्रको विस्तार र त्यसको संसर्गसँगै व्यापक बजारको आवश्यकता जन्म्यो । स्वास्नीमानिसहरू जनसंख्याको आधा नै भएकाले नारी सौन्दर्यका नाफाखोरहरूले त्यसको शोषण गर्न थाले ।

***


निजी सम्पत्ति र परिवारको व्यवस्था अस्तित्वमा आएबाटै सुरु भएको हो— महिलामाथिको दमन । सामाजिक मान्यता, संसकृतिलगायतका अनेकन कसीहरू सक्रिय रहे महिला शोषणमा । आजको पुँजीवादी समयमा महिला भिन्न दासत्वको सिकार भएका छन् । बहुराष्ट्र कम्पनीको विज्ञापनको होर्डिङ बोर्डमा उभिएकी महिला मात्र हेरिने वस्तुसरह भएका छन् । महिलाहरू मानिसभन्दा बढी वस्तुमा परिणत भएका छन् । पुँजीवादले महिला देह ‘कोमोडिफाइड’ गरिदिएको छ । उनीहरू बिक्रीका वस्तु भएका छन् । साम्राज्यवादी पुँजीवादले महिला शरीरको हदैसम्मको दोहन गरेको छ ।


पुँजीवादी चिन्तनभित्र पर्छ नाफाको खेल । नाफा र फाइदाको यात्रा तय गर्न सामेल हुन्छ शक्ति । शक्तिको प्रयोग कमजोरमाथि हुन्छ । जसरी विगतको साम्राज्यवादी समयदेखि प्रयोग भएको थियो, कमजोरलाई कज्याउन शक्ति । त्यही शक्तिको प्रयोग शक्तिसम्पन्नबाट दुर्बलमाथि भयो । अनि भयो आफ्नै सहयात्री महिलामाथि पनि । त्यसैको निरन्तरताले गर्दा आज पनि महिला कमजोर र पीडित नै छन् । एकातिर पितृसत्ता दृष्टिले महिला प्रयोग गरिने ‘जिनिस’ देख्छ भने अर्कोतिर पुँजीवादले पनि महिलालाई प्रयोगकै ‘वस्तु’ ठान्छ । आजको पितृसत्तात्मक पुँजीवादी समाजमा महिला फेरि पनि उनीहरूकै इच्छाअनुकूल प्रयोग गर्न सकिने वस्तुमा परिणत भएका छन् । त्यसैले दिनानुदिन बढ्दै गएको छ, महिला शरीरमाथिको अतिक्रमण र दमनका घटनाहरू । निर्मला पन्तजस्ता किशोरीमाथिको अत्याचार यही मनोवृत्तिकै उपज हो ।


साम्राज्यवाद होस् या पुँजीवाद— सबैले शरीरकै दोहन गर्छ । अतिक्रमित हुन्छन् कुनै देश या कुनै महिला देह । शरीरभन्दा पर त न राजनीति रैछ न शक्तिको प्रयोग नै । त्यसैले आजको साम्राज्यवादी पुँजीवाद डिस्कोर्सको केन्द्रमा छ शरीर । शरीर चिन्तन जरुरी भएको छ ।

प्रकाशित : माघ ५, २०७५ ११:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?