३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

बुद्धधाम : पानीमा छाया

काठमाडौँ — पवित्र लुम्बिनी उद्यान । स्वदेश र विदेशबाट शान्तिको सन्देश र प्रेरणा लिन आउनेको ओइरो लाग्ने स्थल । बुद्ध धर्मावलम्बी र अनुयायी तीर्थाटन गर्न आउँछन् भने शुभेच्छुक र शुभचिन्तक शान्तिको ऊर्जा लिन यहाँ आउने गर्छन् । यहाँका कतिपय मन्दिरका बनावट, कलाशैली र छापिएका परम्पराले सबै रोमाञ्चित हुन्छन् । 

बुद्धधाम : पानीमा छाया

लुम्बिनीका मन्दिर घुम्दा विविधताले भरिएको गजबको कला–संस्कृति देख्न पाइन्छ । अझ भन्नुपर्दा सानो विश्वकै प्रतिनिधित्व यहाँ छ । लुम्बिनी गएर मन्दिर अवलोकन गरे विश्वका विभिन्न मुलुक घुमेको भान हुन्छ । उताको विदेशी मुलुकका संस्कृति र परम्परा यहीं अवलोकन गर्न पाइन्छ । यसैगरी घुम्ने क्रममा मन्दिर विहार आसपास रहेका ससाना पोखरीमा परेको रिफ्लेक्सनले झनै लोभ्याइरहेको हुन्छ । मनै फुरुंग हुन्छ । जति हेरे पनि आँखा अघाउँदैन । खासगरी पश्चिमी क्षेत्रमा रहेको महायानी सम्प्रदायका जर्मन, फ्रान्स र नेपालले बनाएका विहारको पानीमा परेको छायाले सबैलाई मोहनी लगाउँछ । जर्मनको तारा फाउन्डेसनले बनाएको द ग्रेट लोटस स्तूपको रिफ्लेक्सन सबैभन्दा राम्रो देखिन्छ । त्यसपछि नेपालले बनाएको शान्ति र एकताका लागि विश्व केन्द्र विहारको पनि उस्तै गजब ‘छाया’ देखिन्छ । यो विहार ताइबानी सहयोगमा भए पनि नेपालको एक संस्थाले बनाएको हो ।


अखण्ड शान्ति द्वीप नजिक रहेको केन्द्रीय नहरमा पर्ने रिफ्लेक्सनको वातावरणले मनै चंगा बनाउँछ । त्यस्तै फ्रान्सको लिनसन बुद्धिस्ट विहारको प्रतिरूपन पनि चित्ताकर्षक देखिन्छ । उता उत्तरी क्षेत्रमा पर्नेमा विश्व शान्ति स्तूपको पनि नजिकै पोखरीमा पर्ने प्रतिच्छाया सबैलाई लोभ्याएर बसेको छ । त्यस्तै मायादेवी मन्दिरको दिउसो र राति दीपावली गर्दा दक्षिणको पुष्करणी पोखरीमा उस्तै मन लोभ्याउने झलक देखिन्छ । दिउसोभन्दा राति दीपावलीसँगै देखिने प्रकाश परावर्तन थप रोमाञ्चित देखिन्छ । साँझ छिप्पिँदै गर्दा मन्दिरमा गरिएको दीपावली र नजिकैको पुष्करणी पोखरी चारैतीर द्वीप प्रज्वलन गर्दा धपक्क बलेको देखिन्छ । मन्दिरको रंगीचंगी र हरियाली वातावरणले लोभिने उत्तिकै बढेका छन् । मनमोहक वातावरणमा ध्यानमग्न भिक्षु–भिक्षुणी र उपासक–उपासिकाले माहोललाई थप रोमाञ्चित बनाउने गरेका छन् ।


–मनोज पौडेल

प्रकाशित : माघ ५, २०७५ ११:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?