१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

दु:खको स्मृति डकोटा र पिलाटस पोर्टर 

अजय दीक्षित

काठमाडौँ — सन् १९६२ को त्यो घटनाको प्रसंगले हाम्रो परिवारलाई सधैं यसैगरी झस्क्याउँछ । नयाँ दिल्लीतर्फ उडेको त्यस विमान हाल रुकुमको काँक्रेस्थित तिलाचन धुरीमा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटना भएको विमानमा आगो लागेको थिएन । दुर्घटनामा परेका यात्रुहरूको शव सनाखत गर्ने जिम्मामा पिताजी डा. मोहनमणि दीक्षित पनि खटिनुभएको थियो ।

दु:खको स्मृति डकोटा र पिलाटस पोर्टर 

अब हामी केही समयपछि गेटा विमानस्थलमा अवतरण गर्दै छौं । कृपया, सिटको पेटी बाँध्नुहोला !’ परिचारिकाको उद्घोषण सँगै धमिलो बन्दै गएको टाढाको पहाडी शृङ्खलाले नेपालको आकाशमा हवाइजहाजको उडानमा ल्याउने जोखिम सोच्दै गरेको मलाई वर्तमानमा फर्कायो । सामान लिएपछि गाडीमा डडेलधुरा हुँदै बझाङतर्फ लाग्यौं । मंसिर महिनाको पारिलो घामले पहाडी राजमार्गलाई मनमोहक पनि बनाएको थियो ।

चैनपुर सदरमुकाम पुग्नुअघि पश्चिम सेती नदीको किनारामा बझाङको विमानस्थलको धावनमार्ग देखियो । त्यसै धावनमार्गबाट २००० जुलाई २७ का दिन कप्तान बाङ्दी लामाले ट्वीनअटर विमान धनगढीतर्फ उडाएका थिए । तर त्यो विमान कहिल्यै धनगढी पुगेन, विमानमा सवार २५ जना सबै बाटोमै दिवंगत भए । स्वर्गवासी कप्तान लामाकी माता मञ्जु स्कुलमा हाम्री सहपाठी थिइन् । ‘विमान दुर्घटनाको निम्ति मेरो दिवंगत छोरालाई दोष लगाए सबैले, प्रणालीको कमी–कमजोरी बिर्से,’ उनले वेदना पोखेकी थिइन् । सम्झँदा

नरमाइलो लाग्यो ।

चैनपुर बजारको होटल पुगेपछि, इन्टरनेटको पासवर्ड मागियो । प्राय: सबैको दैनिकी बनेको छ, यो क्रम हिजोआज । इन्टरनेटमा गाँसिने, घरमा खबर पनि गर्ने अनि भच्र्युअल संसारमा रुमलिने । होटलको कोठामा पल्टिएको केही बेरपछि भाइबरमा भतिजीले पठाएको एउटा ‘मेसेज’ देखापर्‍यो । त्यसमा पोलिस भाषाको एउटा पुस्तकको गातामा स्टिफान जिनेस्की लेखिएको फोटो र अङ्ग्रेजीका दुई पेज थिए । अङ्ग्रेजी पेज पढ्न सुरु गरेँ, ‘सन् १९६२ मा काठमाडौंबाट नयाँ दिल्लीतर्फ उडेको विमान दुर्घटनामा स्टिफानको मृत्यु भयो ।’ अर्को पाना पनि पढेँे, ‘निकै गार्‍हो कूटनीतिक प्रयासपछि १९६३ मा कप्तान स्टिफान जिग्नेस्कीको अस्तु पोल्यान्ड ल्याइयो र उनको परिवारलाई सद्गत गर्ने गरिएको स्थानमा राखियो ।’ भतिजीले भाइवरमा पठाएको सन्देशमा पुस्तकको छोटो अनुसची पनि रहेछ, अंग्रेजीमा ।

त्यति पढ्दा नै मेरो स्मृतिपटल उथलपुथल हुन थाल्यो । सन् १९६२ (विसं २०१९ साल साउन १७) को त्यो घटनाको प्रसंगले हाम्रो परिवारलाई सधैं यसैगरी झस्क्याउँछ । नयाँ दिल्लीतर्फ उडेको त्यस विमान हाल रुकुमको काँक्रेस्थित ११ हजार ४ सय ३५ फिट अग्लो तिलाचन धुरीमा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटना भएको विमानमा आगो लागेको थिएन । दुर्घटनामा परेका यात्रुहरूको लास आदि सनाखत गर्ने जिम्मामा पिताजी डा. मोहनमणि दीक्षित पनि खटिनुभएको थियो ।

नेपालको एउटा हिमाली विमानस्थलमा स्विट्जरल्यान्डमा निर्मित ९ एन–एएएफ रजिस्ट्रेसन भएको पिलाटस पोर्टर विमानसागै एक स्थानीय र विदेशी चालक देखिन्छन् । म्याग्दीको वर्षे धुरीमा यही विमान दुर्घटना भएको थियो ।

डकोटा विमानमा दुई नेपाली, ४ भारतीय र ४ जना पश्चिमी मुलुकका यात्रु थिए— पोल्यान्ड, क्यानडा र अमेरिकाका । ओस्कार होल्डर र सिड्नी ज्याक्स अमेरिकी सरकारका कर्मचारी थिए, राज्यको काममा खटिएका । अमेरिकी विदेश विभागले कर्तव्यको सिलसिलामा मृत्युवरण गरेका आफ्ना कर्मचारीको स्मृतिमा बनाएको पेजमा होल्डर र ज्याक्सका नाम समावेश छन् । पोल्यान्डका स्टिफान जिग्नेस्कीे र क्यानाडाकी सुश्री सिग्रिन्डलेबारे मेरा मनमा खुल्दुली बाँकी थियो— ती को हुन् ? किन नेपाल आएका थिए ?

अहिले आएर जिग्नेस्कीका बारे नयाँ जानकारी पाइएको छ । जिग्नेस्कीकी नातिनी–भतिजी क्रिस्टिना केनिगलाई आफ्ना काका बाजेको असायमिक मृत्युको यथार्थ जान्ने चासो जागेछ । अनुसन्धान क्रममा, उनले पोल्यान्डमा बसोबास गर्दै आएका दुर्गाधन मास्केसित २०१२ मा सम्पर्क गरिछन् । स्वर्गीय गोवद्र्धनलाल मास्केका छोरा दुर्गाधन अध्ययनका लागि सन् १९६२ मा तिर पोल्यान्ड गएका थिए । त्यसपछि उनी उतै बसे, काम गरे र घरजम पनि । मास्के परिवारले काठमाडौँ बागबजारमा खोलेको कोरोनेसन होटलमा जिग्नेस्की बस्ने गरेका रहेछन् । त्यो होटल त्यसबेला विदेशीहरू बस्ने र भेटघाट गर्ने एउटा मुख्य स्थल थियो ।

दुर्गाधन मास्केले आफू केटाकेटी हुँदा कोरोनेसन होटलमा जिग्नेस्कीलाई भेटेको कुरा क्रिस्टिना केनिगलाई बताएका रहेछन् । खोजीकै क्रममा केनिङसन २०१३ मा काठमाडौँ पनि आइपुगिन् र आफ्नो भाषामा २९० पृष्ठको पुस्तक तयार गरिन् । त्यही पुस्तक नेपाली सेनाका अवकाश प्राप्त ब्रिगेडियेर जनरल सन्तोष कार्कीले पोल्यान्डबाट मगाइदिनुभएको रहेछ, दुर्गाधनका भाइ, यदुवनसित । पुस्तकमा विमान दुर्घटनाबारे काठमाडौँमा विवरण र सूचना पाउन क्रिस्टिनालाई ‘असम्भव नै भएको’ वृत्तान्त समेटिएको छ ।

ती डकोटा र पिलाटस पोर्टर विमान दुर्घटनाको अनुसन्धान गर्ने क्रममा यस पङ्क्तिकारले धेरै पछिसम्म पनि कुनै आधिकारिक दस्तावेज फेला पारेको थिएन । विमान दुर्घटनाको अन्तर्राष्ट्रिय वेबसाइट, त्यस बेलाको गोरखापत्र र व्यक्तिगत स्मृतिबाहेक, अझै पनि छैन । काठमाडौँ आएकी पोलिस लेखिका क्रिस्टिनासित पनि भेट हुन सकेन । उनीसँग अब सम्पर्क गर्दै छु । जीवन यात्रामा कोसँग कसरी जोडिन पुगिन्छ, कल्पना गर्नै मुस्किल !

कप्तान स्टिफान जिग्नेस्कीको ९ एन–एएएच विमान दुर्घटनामा मृत्यु भयो ।


परिवार वेदना

डकोटा विमान दुर्घटनामा जीवन बिसाएका पाँचवटा लासको पोखरामा र अन्य पाँचको सद्गति काठमाडौँमा गरिएको जानकारी त्यसबेलाका केही दस्तावेजले दिएका छन् । तर, कसको सद्गति कता गरियो, थाहा भएन, खास विवरण उपलब्ध छैन । दुर्घटनामा जीवन बिसाएकाहरूको अन्त्येष्टि सकिएपछि ‘नभएका लास आदिका’ थप जाँच–पड्ताल गर्न पिताजीसहित एक नेपाली प्रहरी अधिकृत र अन्य तीन जना भारतीय अधिकारी एवं भारतीय चालक पिलाटस पोर्टर विमानमा ढोरपाटनतर्फ खटाइनुभएको थियो । त्यो विमान ढोरपाटन जाँदाजाँदै म्याग्दी जिल्लास्थित १५ हजार २ सय ७५ फिट अग्लो वर्षे धुरीमा ठोक्किएर दुर्घटना भयो, त्यसमा सवार सबै जनाको जीवनलीला त्यहीं समाप्त भयो ।

उमेरदार छोरोको असामयिक मृत्युलाई झेल्न हाम्रा पितामह हरमणि आचार्य दीक्षितलाई निकै गार्‍हो भयो । डा. दीक्षितको मृत्यु भएको तीन वर्षपछि उहाँ बित्नुभयो । कलिलो उमेरमा वैधव्य अवस्थामा पुगेकी हाम्री आमा राधादेवीलाई पति विछोडको करिब १० वर्षसम्म अकल्पनीय र अनावश्यक पीडा भोग्न राज्यले समेत बाध्य पारिदियो । सरकारी सेवामा रहेका पतिको कर्तव्यकै सिलसिलामा मृत्यु भएपछि कानुनत: आजीवन पाउने निवृत्तिभरणको व्यवस्था राज्यले आमाको हकमा १० वर्षका लागि मात्रै दिने निर्णय गर्‍यो ।

‘न्याय पाऊँ’ भनी आमाले तत्कालीन महाराजधिराज र अन्य अधिकारीसमक्ष धेरैपल्ट निवेदन हालेको सम्झन्छु । चलन त्यस्तै थियो । काकाहरू र मातामह स्वर्गीय शैलेन्द्रनाथ रिमालले (वासुदेव रिमाल) मलाई उच्च अधिकारीकहाँ लैजानुहुन्थ्यो, निवेदनसहित । भाइहरू सानै थिए । ‘मेधावी युवा डाक्टर नहुनुपर्ने दुर्घटनामा पर्‍यो’ भन्थे, सबैले । सहानुभूति देखाउँथे, मलाई ‘बिचरा, टुहुरो भन्थे’, च्वच्व गर्थे । तर, तात्त्विक निर्णय भने कोही पनि गर्न सक्दैनथे । कर्तव्य निर्वाह गर्दा मृत्युवरण गरेका अन्य पदाधिकारीका धर्मपत्नीले आजीवन निवृत्तिभरण पाएको दृष्टान्त काकाहरू दिनुहुन्थ्यो । तर पनि हाम्री मातालाई मात्र किन त्यस्तो पीडामा पारियो ? त्यस बेलाका निर्णयकर्ताहरू नै जानून्, हामीले कहिल्यै बुझ्न सकेनौँ ।

त्यसबेला, रेडियो नेपालबाट गीतिनाटक प्रसारण हुन्थे । प्रेमी युवक र युवतीमध्ये युवकचाहिँ हवाई दुर्घटनामा बितेका कथा हालिन्थे । त्यस्तै कुनै गीति नाटकमा स्वर्गीय नारायणगोपाल र तारादेवीको गानाले सन्दर्भ दिएको सम्झन्छु, ‘मैले गाएको गीतमा तिम्रो हँसिलो मुहार छ ।’ त्यस्ता गीतिनाटक सकेसम्म सुन्नु नपरोस् भनी म पाएसम्म छेउछाउका रेडियो बन्द गर्न दौडन्थेँ । समय शक्तिशाली हुने रहेछ । बिस्तारै समय रथको पाङ्ग्रा अघि लाग्दै गयो । हाम्रो परिवारको कथाले यस्तै पीडा भोग्नेलाई केही मलम लगाउन सहयोग पुगोस् । स्वर्गीय जोन लेननको अलि भिन्दै सन्दर्भको सार्‍है मीठो गाना छ, ‘आई एम नट द ओन्ली वन ।’

***


अमृत साइन्स कलेजमा पढाइ सुरु गरेपछि, सन् १९७१ तिर हुनुपर्छ, आमाले निवृत्तिभरण पाएको १० वर्ष पुग्न आँटेको थियो । मातामह शैलेन्द्रनाथ रिमालले फेरि एउटा निवेदन हाल्नुपर्‍यो भन्नुभयो, मलाई । युवा आवेशमा ओठे जवाफ दिएको सम्झन्छु, ‘कतिपल्ट गरिसक्यौँ, दिँदैनन्, अब किन भिख माग्नु त्यस्तो दुई–तीन सय रुपैयाँ ।’ मातामह, आफ्नो कडा स्वभावका लागि प्रख्यात हुनुहुन्थ्यो । कल्पनै नगरेको उहाँको रौद्र रूप ममाथि खनियो, ‘बेबकुफ, भिख भन्छस् ? कसले भन्यो भिख, तेरो बाउ राज्यले खटाएको कर्तव्य निर्वाह गर्दा, विमानमा जलेको हो । तेरो बाउले जीवन बिसाएको त्याग र आमाको अधिकारलाई भिख भन्छस् ? नालायक, बज्रस्वाँठ, थुइक्क !!’

मेरो परिदृश्यले यो सबै बुझेको थिएन । स्तब्ध भएँ, चुप लागेँ, ठूलो पाठ पाएँ त्यस दिन, आत्मसम्मान र अधिकारको । निवदेन हालियो । केहीपछि इन्जिनियरिङ शिक्षा लिन भारतको उडिसातर्फ लागियो । कलेजबाट बिदामा आएको बेला एक दिन अपराह्न गणबहालस्थित घरको चौरमा खेल्दै थिएँ, भाइ–बहिनीहरूसित । राजदरबारबाट चिठ्ठी लिएर एक व्यक्ति आइपुगे, खोलेर हेर्‍यौँ । राजा वीरेन्द्रका स्वकीय सचिवले आमाका नाममा पठाएको पत्रको मोटामोटी बेहोरा यस्तो थियो : ‘श्री ५ महाराजधिराजबाट तपाईंलाई आजीवन निवृत्तिभरण पाउने निगाह बक्स भएको छ, सम्बन्धित निकायमा सम्पर्क राख्नुहोला ।’

सूचना अप्रत्याशित थियो, हामी छक्क पर्‍यौँ । काठमाडौँको हल्ला मिलमा राजाले रानीलाई कानमा के भने भन्नेसम्म पनि थाहा हुन्थ्यो । ‘आफ्ना पिता राजाको डायरी हेर्दै, राजा वीरेन्द्रले निर्णय गरेका हुन् र तदनुरूप भयो’ भन्ने पनि सुनियो । बिदा सकियो, कलेज फर्किएँ, थप विवरण विस्मृतिमा परे । स्वर्गवासी राजा वीरेन्द्रले हाम्री आमालाई अधर्म गरेनन् । अहिले चार बीस पुग्नुभएकी आमालाई निवृत्तिभरणको रकमले केही आवश्यकता परिपूर्ति गर्न सघाएको छ । हाम्रो जीवन सिलसिला सामान्य चल्दै छ । नेपाली समाजले पङ्क्तिकारलाई पानीज्ञानको खोजीमा निरन्तर लागिरहन प्रोत्साहन गरेको छ । थुप्रै अप्ठेरा भोग्दै छौँ, हामी नेपाली । यस धर्तीबाट सदाका लागि नगएसम्म नेपालका केही अप्ठेरा खोतलखातल गर्न कार्यरत रहिरहने समर्पण गरेको छु ।


पोलिस काकाबाजेको कथा

स्टिफान जिग्नेस्की पोल्यान्ड एयरफोर्सका अफिसर रहेछन् । दोस्रो विश्वयुद्धताका जर्मनीले पोल्यान्डमा आक्रमण गरेपछि फ्रान्स हुँदै बेलायतको रोयल एयरफोर्समा काम गर्न पुगेछन् । उनमा राति विमान उडाउने दक्षता रहेछ । उनले उडाएका विमानले जर्मन टुकडीमाथि पनि बमबारी गरेको रहेछ । दोस्रो विश्वयुद्ध सकिएपछि तिनी पोल्यान्ड फर्किन इच्छुक भएनछन् । बेलायतमा बस्न उनलाई गार्‍हो भएपछि भारत आएछन्, डेक्कन एयरवेजको चालक बनेर । त्यसपछि उनी अफगानिस्तान विमान सेवाको पनि चालक बनेछन् ।

दिल्लीमा सुरु गरेको व्यापारमा घाटा लागेपछि स्टिफान नेपाल आएछन् सन् १९६० तिर । र, तत्कालीन आरएनएसीमा पाइलटको जागिर खाएछन् । मद्यपान गर्ने जिग्नेस्कीले एउटा पार्टीमा विदेशी कूटनीतिज्ञसित भनाभन गरेछन् । तिनले होटलको कोठामा आगो पनि लगाइदिएका थिए रे । सायद त्यसपछि उनलाई काठमाडौँ बस्न सम्भव भएन । पोल्यान्ड फर्किने निर्णयसहित उनी डकोटा चढेर यात्रुका रूपमा दिल्लीतर्फ लागे । विमान तिलाचन धुरीमा ठोक्कियो ।

पुस्तकको २ सय ६० पेजमा सन् १९६२ डिसेम्बरमा दिल्लीस्थित नेपाली दूतावासका दोस्रा सचिव विश्व प्रधानले पोल्यान्ड दूतावासका समकक्षीलाई लेखेको अङ्ग्रेजी पत्रको प्रतिलिपि संलग्न छ । त्यसमा लेखिएको छ, ‘कप्तान जिग्नेस्कीको अस्तु भएको प्याकेट पठाएको छु, उपलब्ध भएको जानकारी दिनुहोला ।’ यसरी आफ्नो मुलुकबाट टाढा जीवन बिसाएका जिग्नेस्की मृत्युपछि अस्तु या अवशेष मार्फत आफ्नासित जोडिन पुगेछन् । ठीक, संवेदनशील कार्य भएको रहेछ ।


संवेदनशीलता अनि जवाफदेहिता

स्टिफान जिग्नेस्कीको अस्तु पोल्यान्ड पुगेको जानकारीले मेरो अन्तस्करण एकखाले सन्तुष्टिमा छ । तर दिमागी ‘रोलर कोस्टर’ भने थप गतिमा मच्चिन थालेको छ । सन् १९६२ मा दुर्घटना भएको त्यस डकोटा विमानमा भारत, पाकिस्तान, श्रीलंका, इजिप्ट र जापानका लागि नेपालका राजदूत नरप्रताप थापा एवं उच्च अमेरिकी अधिकारीहरू पनि थिए । विमानको व्यापक खोजी गरिएको थियो । त्यसका निम्ति भारत र नेपालका विमान र हेलिकप्टरहरू परिचालन गरिएका थिए । १० दिनपछि मात्रै दुर्घटनास्थल पत्ता लागेको थियो । ती विदेशीको अस्तु राख्नुपर्छ, उसका आफन्तलाई पठाउनुपर्छ भन्ने चेत/संवेदनशीलता हाम्रो राज्यमा स्वत:स्फूर्त थियो वा उद्धारमा संलग्न विदेशीहरूले सुझाएका थिए ? अन्य विदेशी मृतकहरूको अस्तु के गरियो ? प्रसंग चेत/संवेदनशीलता मात्रै होइन जवाफदेहिताको पनि हो ।

संवेदनशीलता र जवाफदेहिताको यो प्रसंगले थप प्रश्न उठाएको छ, नेपाली राज्य सञ्चालनको सन्दर्भमा । दिवंगतको अन्त्येष्टि सम्पन्न भइसकेपछि, हुँदै नभएका लासको ‘थप जाँच–पड्ताल गर्न’ आफ्ना अधिकृत, हाम्रा पितासहित अन्य पाँचलाई राज्यले सो डकोटा विमान दुर्घटनास्थलमा किन पठाएको थियो ? उहाँको पनि त्यस्तै दुर्घटनामा मृत्यु भएपछि उहाँकी पत्नीले कानुनत: पाउने अधिकारलाई लामो समयसम्म किन बेवास्ता गरियो ? तत्पश्चात्को कालखण्डमा त्यही राज्यले पीडितको अधिकार स्वीकार गरेको अनुभूति पाइयो ! यो पृष्ठभूमिमा, नेपालको तत्कालीन राजतन्त्रात्मक राज्यको जवाफदेहिता संस्कारलाई कसरी बुझ्ने ?

आज गणतन्त्रात्मक राज्यमा यो कसरी रूपान्तरित हुँदै छ ? कैयौँ सैद्धान्तिक प्रश्न अनुत्तरित र थाती रहेका छन् ।

विगत दुई दशकमा नेपाली परिवारले भोगेका पीडाका सामु हाम्रो पुरानो व्यथा, त्यसबेला अप्रत्याशित भए पनि समयचक्रको विस्मृतिमा परिसक्यो । नेपालमा संवेदनशीलतासहितको जवाफदेहिता स्थापित हुनुपर्छ अन्यथा, हजारौँहजार नेपाली परिवारहरूले भोग्ने अकल्पनीय पीडा यस्तै नियति बनिरहनेछ ।

प्रकाशित : पुस १४, २०७५ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?