संकटमा शाहरूख

बलिउडमा अढाई दशकको शाहरूखको साम्राज्य यतिबेला डगमगाएको छ । कसरी ?
गोकर्ण गौतम

काठमाडौँ — जिरो’ मा शाहरूख खान मात्र छैनन्, कैटरिना कैफ र अनुष्का शर्मा पनि छन् । सलमान खान गीतमा नाचेकै छन् । केमियो नै सही, काजोल, रानी मुखर्जी, जुही चावला, करिश्मा कपुर, दीपिका पादुकोणसमेत छन् । तर, त्यही भयो, जुन नहोस् भनेर सोचिएको थियो । त्यो भनेको, लगानी र अपेक्षाअनुसार ‘जिरो’ ले व्यापार गरेन ।

पहिलो दिन जम्मा २० करोड भारु कलेक्सन गर्‍यो । यो रकम टाइगर श्राफको बागी २ भन्दा न्यून हो । एकातिर पैसा कमाएन, अर्कातिर खपिनसक्नु आलोचनाको सिकार भयो । पटकथामा शाहरूख हावी भएदेखि शाहरूखमा कहिल्यै बदलाब नआएको प्रतिक्रिया आए । कतिले फिल्मलाई नामजस्तै जिरो भनेका छन् । मध्यान्तरपछि त बकबास नै लाग्छ । निर्माण कम्पनी रेड चिल्लिज् यसरी आत्तियो कि रिलिजको तेस्रो दिन केही सिन हटाएर नयाँ भर्सन तयार पार्नुपर्‍यो । तर, हातमा लाग्यो शून्य भनेझैं भयो । गलत छाप बसिसकेकाले ‘पिकअप’ लिन सकेन । नेपालमा ‘जिरो’ १ करोड ७६ लाख रुपियाँमा ल्याइएको थियो । वितरकलाई घाटा लाग्ने निश्चित प्राय: छ ।

‘जिरो’ लाई लिएर शाहरूख आफैं सशंकित थिए । अघिल्ला फिल्मका प्रमोसनमा झैं आत्मविश्वासी देखिन्नथे । लगातार चार फिल्म फ्लपको चोट जो थियो । ‘दिल्वाले’, ‘फ्यान’, ‘रइस’ र ‘जब ह्यारी मेट सेजल’ ले न पैसा कमाए, न प्रशंसा । त्यसैले उनलाई राम्रोसँग हेक्का थियो, ‘जिरो’ मा आफ्नो साख अडेको छ । त्यतिबेलै प्रश्न उठ्न थालेको थियो, ‘जिरो’ फ्लप भए के होला ? अहिले त्यसको उत्तर सुनिन थालेको छ, ‘लगातार पाँच फिल्म फ्लप हुँदा अढाई दशकको शाहरूखको साम्राज्य डगमगाएको छ ।’ यो असफलताको प्रभाव विज्ञापनमा समेत पर्नेछ । पारिश्रमिकमा गिरावट आउन सक्छ । अब कुन फिल्म खेल्ने, अन्योलमै छन् । वितरकसमेत उनका फिल्म किन्न हच्कने विश्लेषण गरिएको छ ।

‘जिरो’ को सामाजिक सञ्जालमा उछित्तो काढ्न सुरु हुनासाथ अभिनेता/निर्देशक तिंमाग्सु धुलियाले भने, ‘ठूलो स्टार र ठूलो बजेट भएर मात्र पुग्दैन । स्क्रिप्ट पनि राम्रो चाहिन्छ ।’ रमाइलो के भने, तिंमाग्सुलाई ‘जिरो’ मा शाहरूखको बुबाको रूपमा देख्न पाइन्छ । यही वर्ष सलमानको ‘रेस ३’ र आमिरको ‘ठग्स अफ हिन्दोस्तान’ पनि फ्लप भए । त्यसैले स्टारडमविरोधीहरूलाई राम्रै मसला मिलेको छ ।

जिरोमा शाहरूख शारीरिक उचाइ छोटो भएको ३८ वर्षीय अधबैंसे बौवा सिंहको भूमिकामा छन् । उसको विवाह भएको छैन, हुलियालाई लिएर सबैले हेप्छन् । धेरै छुच्चो छ, ईश्र्यालु छ । मनमा माया हुन्छ तर देखाउने ढंग हुन्न । बिहे गर्ने केटी नपाएर छटपटाइरहेका बेला ह्वीलचेयर प्रयोगकर्ता वैज्ञानिक आफिया (अनुष्का) सँग माया बस्छ । त्यही बेला अर्को ‘लट्री’ पर्छ, भारतकी हटकेक हिरोइन तथा उसकी सपनाकी राजकुमारी वविताकुमारी (कैटरिना) सँग नजिक हुने मौका मिल्छ । अब बौवाले कसलाई रोज्ला ? कथा यत्ति हो । तर, दर्शकलाई शाहरूखले पर्दामा मायाका लागि गर्ने त्याग विश्वसनीय लाग्दैन, अपनत्व हुन्न । मध्यान्तरपछि त कहिले फिल्म सकिएला भनेर उकुसमुकुस छ, जसको प्रत्यक्ष असर देखिएको छ, बक्सअफिसमा । रिलिजको तेस्रो दिनदेखि भारतका हलहरूले ‘जिरो’ को सो घटाउँदै दक्षिण भारतीय स्टार यश अभिनीत ‘केजीएफ’ को सो थपेका छन् । नेपालमा पनि यस्तै भयो । शाहरूखजस्तो सुपरस्टारका लागि योभन्दा ठूलो धक्का अरू के होला ?

त्यसो त शाहरूख संवेदनशील नभएका होइनन् । सकेसम्म उनले गिनेचुनेका प्रतिभाशाली निर्देशक छानिरहेका छन् । तर, प्रतिफलमूलक हुन सकेको छैन । जस्तो : ‘चेन्नाई एक्स्प्रेस’ उनको करिअरको सबैभन्दा कमाउने फिल्म । निर्देशक थिए, रोहित सेट्टी । तर, सेट्टीकै ‘दिल्वाले’ बाट दर्शकको दिल जित्न सकेनन् । ‘जब ह्यारी मेट सेजल’ मा ‘जब वी मेट’, ‘रकस्टार’ जस्ता फिल्म बनाएर वाहवाही कमाएका निर्देशक इम्त्याज अलीसँग काम गरे तर फलदायी हुन सकेन । ‘जिरो’ का निर्देशक आनन्द एल. रायले यसअघि ‘राञ्झना’, ‘तनु वेड्स मनु’ र ‘तनु वेड्स मनु रिटन्र्स’ बनाएर तारिफ बटुलेका थिए तर उनले पनि शाहरूखको फ्लप यात्रामा पूर्णविराम लगाउन सकेनन् । बरु उनी ‘ट्रोल’ को सिकार भएका छन् । भारतीय मिडियाले लेख्न थालिसकेका छन्, ‘शाहरूख साँच्चै संकटमा छन् ।’

क्रेज ओरालो लाग्नुमा शाहरूखकै कमजोरी बढी छ, निश्चय पनि । उनले उमेर सुहाउँदो चरित्र र मन छुने स्क्रिप्ट अझ छान्न सकेका छैनन् । तर, उनको लोकप्रियताको पतनमा राजनीतिक माहोललाई दोष दिने जमात ठूलै छ । उनीहरूको विश्लेषण छ, पछिल्ला वर्षमा हरेक क्षेत्रका ‘आइकन सिफ्ट’ गर्ने लहर चलेको छ भारतमा । यसको मारमा बलिउडका बादशाह शाहरूख पनि परेका छन् । सुरुआती व्यापार पनि लोभलाग्दो नहुनु र फिल्मको चर्को आलोचना हुनुले यही पुष्टि हुन्छ । किनभने, यसअघि उनी अभिनीत ‘ह्याप्पी न्यू इयर’ मार्काका निकम्मा फिल्म हिट भएका उदाहरण छन् । न त्यतिबेला अहिलेजस्तो खिल्ली उडाइएको थियो । तर, अहिले चौतर्फी तारोमा छन्, शाहरूख । यसमा राजनीतिक प्रभाव नहोला र ? यसबीच हिन्दी फिल्मका दर्शकको स्वादमा आएको बदलाबलाई पनि नकार्न मिल्दैन । जो स्टार होइन, स्टोरी हेर्न चाहन्छन् । –

प्रकाशित : पुस १४, २०७५ १०:००
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

फरक रोजाइ

निर्देशक दिनेश राउत र अभिनेता विपिन कार्की अलग धारका लाग्छन् । तर प्रसादमा उनीहरुले एकसाथ काम गरेका छन् । कसरी जुर्‍यो यो मौका र प्रसादप्रति उनीहरुको अपेक्षा के होला ?
गोकर्ण गौतम

काठमाडौँ — लभ स्टोरी फिल्म बनाउँछन्, निर्देशक दिनेश राउत । सुकिलामुकिला र चिरिच्याट्ट परेका हिरोहिरोइनलाई खेलाउँछन् । विपिन कार्कीचाहिँ न हिरोको परम्परागत मानकमा अटाउँछन्, न रोमान्टिक भूमिकामा देखापरेका छन् । अर्थात्, दिनेशको निर्देशन र विपिनको अभिनयको धारै अलग छ । विगत हेर्दा यस्तै लाग्छ । तर यो सोचाइ बदल्नुपर्ने भएको छ । मंसिर २१ गते प्रसाद प्रदर्शन हुँदै छ ।

जसको निर्देशक हुन्, दिनेश । मुख्य भूमिकामा विपिन । केही भिन्न लाग्ने यो सहकार्यका बारेमा दिनेश भन्छन्, ‘सर्जकले सधैं उस्तै काम गर्छ/गर्नुपर्छ भन्ने छैन । यसपटक जुन कथा भन्दै छु, त्यसमा विपिन नै उपयुक्त देखें ।’ विपिनको भनाइ पनि करिब उही छ, ‘मलाई पनि रोल मन पर्‍यो । फरक निर्देशकसँग काम गर्दाको अनुभव पनि सँगाल्ने चाह जाग्यो ।’

भलै प्रसादका लागि सुरुमा दिनेश होइन, पटकथाकार सुशील पौडेलले कुरा गरेका थिए, विपिनलाई । सुरुमा विपिनले सोचेका रहेछन्, सुशील नै निर्देशक हुन् । दिनेशले निर्देशन गर्ने थाहा पाएपछि पनि विपिनको कौतुहलता हराएन । पात्र प्रिय लागेको जो थियो । उनले दिनेशका फिल्म खासै हेरेका रहेनछन् । तर दिनेशचाहिँ विपिनका फ्यान ।

हरेक चरित्रलाई न्याय दिन सक्छन् भन्ने लाग्थ्यो । यसअघि चार फिल्म निर्देशन गरिसकेका विपिन भन्छन्, ‘त्यसैले मौका मिल्दा विपिनसँग काम गर्छु भन्ने थियो । यसपटक जुर्‍यो ।’ र, यतिबेला औधी खुसी छन् । कारण, विपिनले चरित्रलाई जति जीवन्त बनाउन सक्छन् भन्ने अपेक्षा राखेका थिए, क्यामेरा अगाडि विपिनको पर्फमेन्स अझ दमदार भइदियो । प्रसादको प्रचारप्रसारमा कस्सिएर लागेका दिनेशले सुनाए, ‘चरित्रको हुलिया, बोल्ने शैली र शारीरिक हाउभाउ हरेक पक्षमा विपिनले मलाई अचम्मित पारिदिएँ । साँच्चै उनी भर्सटायल रहेछन् ।’ अभिनयसँग विपिनको व्यक्तिगत आनीबानीबाट पनि प्रभावित भएछन् उनी ।

विपिनलाई चाहिँ दिनेश होइन, को–स्टार नम्रता श्रेष्ठमाथि ठूलो शंका र द्विविधा थियो । उनले नम्रतालाई जति चिनेका थिए, स्क्रिप्ट पढिरहँदा सुहाउँछिन् भन्ने फिटिक्कै लाग्दैनथ्यो । किनभने, नारायणी नामक उक्त पात्र गाउँले र दु:ख पाएकी हुन्छन् । ‘नम्रताफिट हुन्नन् भन्न पनि नमिल्ने, हस्तक्षेप गरेको जस्तो हुन्थ्यो । नबोलौं, उनी फिट हुन्छिन् भन्ने लाग्दै–नलाग्ने,’ विपिन भन्छन्, ‘तर काम गर्दै जाँदा यस्तो लाग्यो, त्यो चरित्रका लागि निर्विकल्प नम्रता नै हुन् ।’ वर्कसपमै नम्रताले चरित्रमा असाध्यै मिहिनेत गरेकाले पात्रलाई न्याय दिन सकेको बुझाइ छ विपिनको । भन्छन्, ‘नम्रताबाट म निकै प्रभावित भएँ ।’ फिल्ममा उनीहरू पति–पत्नी हुन्छन् । यस अगाडि उनीहरूले छड्के र ताण्डवमा सँगै काम गरे पनि एउटै फ्रेममा खासै देखिएका थिएनन् ।

दिनेशका लागि चाहिँ नम्रता सदाबहार प्रिय नायिका हुन् । अघिल्ला चारमध्ये तीन फिल्ममा नम्रता थिइन्, नोभेम्बर रेन, क्लासिक र पर्व । मेरो एउटा साथी छ मा दिनेश मुख्य सहायक निर्देशक थिए, नम्रता मुख्य भूमिकामा । ‘त्यतिबेलै नम्रताको अभिनय शैली मन परेको थियो । पछि सँगै काम गरेपछि व्यक्तिगत व्यवहार पनि राम्रो लाग्यो । सिनेमाप्रतिको सोचाइ मिल्यो,’ सधैं नम्रतालाई लिनुको कारण यसरी सुनाउँछन् दिनेश, ‘नम्रताले हरेक भूमिकामा न्याय गर्न सक्छिन् भन्ने विश्वास छ । त्यसैले नम्रताको विकल्प खोज्नुपरेको छैन ।’ प्रसादमा नम्रता र विपिनबाहेक निश्चल बस्नेत पनि छन् । निश्चलको भूमिकामा सुरुमा अर्कै अभिनेता थिए, उनको ‘इन्ट्री’ पछि भएको हो । दिनेशकै शब्दमा, निश्चलले सशक्त अभिनय नगरे पनि दर्शकले रुचाउँछन् । उनको ‘फेसभ्यालु’ छ । दिनेश भन्छन्, ‘निश्चललाई लिँदा व्यापारिक लाभ हुन्छ भन्ने लोभ थियो नै । किन लुकाउनु र ? तर चरित्र पनि उनीसँग मिल्दोजुल्दो छ । रिजल्ट राम्रो आयो भन्ने लाग्छ ।’ उनका अनुसार स्क्रिप्टमा केही ‘इनपुट’ दिए पनि सेटमा गएपछि निश्चलले कुनै हस्तक्षेप वा असहयोग गरेनन् । उनी थप्छन्, ‘मैले सेटमा निश्चल निर्देशक हुन् भन्ने बिर्सिएर काम गरें । एउटै सिनमा ४२ टेकसम्म लिएको छु ।’

पछिल्लो समयमा नेपालमा कि कमेडी फिल्म चलेका छन् कि रोमान्टिक । तर प्रसाद बजारिया मसलामुक्त छ । व्यापार बढ्ला भनेर एक्सन, कमेडी पञ्चलाइनहरू घुसाइएको छैन । निर्देशकको भनाइ हो यो । उनले सिर्फ मन छुने कथा इमानदार ढंगले भन्ने प्रयास गरेका छन् । ‘हिजो मैले बनाएको सिनेमा दोह्रोर्‍याएर हेर्न सक्दैनथें तर प्रसाद दुईपटक हेरिसकें,’ दिनेश भन्छन्, ‘निर्देशकका रूपमा मेरो ग्रोथ छ । सकेसम्म राम्रो काम गर्ने प्रयास गरेका छौं । अब व्यापार, हाम्रो हातमा हुने कुरा होइन ।’

प्रसादको बक्स अफिस कलेक्सनले विपिनको करिअरमा पनि ठूलो अर्थ राख्छ । उनको कामले प्रशंसा कमाए पनि उनका पछिल्ला फिल्म हरि, नाइके र लालपुर्जाले पैसा कमाएनन् । त्योहिट फिल्मको अभाव प्रसादले पूर्ति गर्ला त ?

थिएटरबाट फिल्ममा फड्को मारेका विपिनभन्छन्, ‘मलाई हरिजस्तै यो फिल्मबाट सन्तुष्टि मिलेको त छैन । अलि बढी नै संवादको प्रयोग छ । तर मेरो पात्रले संवेदना जित्छ र फिल्मले व्यापार राम्रै गर्छ भन्ने अपेक्षा छ । मेरो चाह पनि त्यही हो ।’

gokarna.gtm@gmail.com

प्रकाशित : मंसिर १४, २०७५ ०९:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT