बहस : न प्राज्ञ न प्रज्ञा 

सिन्को उचालेको कामलाई पहाड उचालेको झैँ मान्ने हो भने त तपसिलका काम पनि ठूलै काम हुन् ।
जीवनाथ धमला

काठमाडौँ — प्रज्ञा प्रतिष्ठानका प्राज्ञ पदमा दलीय निकटता वा सम्पर्कको डोरी समातेर त्यहाँ आफू पुगेका कारण दिलोज्यान दिएर यसको उन्नतिका लागि गहकिला काम गर्न सक्ने आत्मविश्वासको कमी हुन सक्छ । किनभने आफूभन्दा योग्य, प्राज्ञिक उच्चता भएका साहित्यकार प्राय: बाहिरै हुन्छन् ।

बहस : न प्राज्ञ न प्रज्ञा 

नेपालका भाषा, साहित्य एवं वाङ्मय क्षेत्रका अनेक विधाहरूको संरक्षण, प्रवद्र्धन, अन्वेषण, अनुसन्धान आदि कार्य गर्ने जिम्मेवारी भएको नेपाल प्रज्ञा प्रतिष्ठान ६ दशक आयु पुरा भएको छ । पञ्चायतकालमा यसको संरक्षकत्व दरबारमा रहेको हुँदा नियुक्त प्राज्ञहरूको थाप्लामा दरबारप्रतिको भक्तिभाव, बफादारी रहनु स्वाभाविक थियो । तत्कालीन प्राज्ञहरूले पुर्‍याएका योगदान कतिपय स्तुत्य रहे पनि उनीहरूको नियुक्तिमा दरबारकै स्वीकृति एवं गर्ने कार्यमा उसैको प्रत्यक्ष/परोक्ष निर्देशन पनि रहन्थ्यो । देशको साहित्य, कला, संस्कृतिको उन्नयनमा साधनारत विभिन्न राजनीतिक विचारका पृष्ठभूमि भएका श्रष्टाहरू तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान बाहिर रहनु स्वाभाविकै थियो ।

२०४६ सालको जनआन्दोलनलाई अघि बढाउन साहित्यकारले पनि संघर्ष गरे र, शासकीय कोपभाजनको सिकार पनि भए । अभिव्यक्ति स्वतन्त्रताका लागि वाङ्मयसेवीले गरेको संघर्षको इतिहास भने नेपालको राजनीतिक संघर्षको इतिहासभन्दा छोटो छैन । लगत्तै जनप्रतिनिधिद्वारा छनोट भएका साहित्यिक व्यक्ति प्राज्ञमा नियुक्त हुन थाले ।

सतहमा परिवर्तन त भयो । तर, उही पुराना नियमित कामले निरन्तरता पाइरहे । बेलाबखत दुई–चार साहित्यिक गोष्ठी भए होलान् । केही नयाँ शीर्षकमा नयाँ पुस्तक प्रकाशित भए, यस्तै–उस्तै काम मात्रै भए । झिँगा मारेको कामलाई बाघ मारेको भनेर चर्चा चलाउने चलन त छदैछ ।

२०६२/६३ को दोस्रो राष्ट्रिय जनआन्दोलनमा पनि श्रष्टागण चुप बसेनन् । समय क्रममा प्रतिष्ठानमा पदाधिकारी नियुक्त भए । गणतान्त्रिक नेपालको नेपाल प्रज्ञा प्रतिष्ठानले काम गर्न थाल्यो तर के गर्‍यो त ? फेरि पनि उस्तैउस्तै उत्तर पाइन्छ । कवि बैरागी काइँलाको नेतृत्वको प्रज्ञा प्रतिष्ठानले पनि उही पुराना कर्मलाई निरन्तरता दियो, यो स्वाभाविक थियो । कविताका किताबहरू अब आइन्दा नछाप्ने भनेर सुरुमै घोषणा गरियो । कैयौँ कविताका पुस्तकहरू अझै त्यही दराजमा थन्किएका होलान्, कतिले फिर्ता लगे । त्यहाँबाट प्रकाशन हुँदै आएका पत्रिकाहरूले निरन्तरता पाए । नेपाली भाषाबाहेक अरू केही भाषाका शब्दकोश वा यस्तै केही प्रकाशन भए होलान् । बहुभाषी कवि गोष्ठी, विचार गोष्ठी, उपत्यकाबाहिर दुई–चार ठाउँमा अन्य साहित्यिक विचारविमर्श, गोष्ठी आदि भए । कविता महोत्सव र नाटक महोत्सवहरू नियमित हुने नै भए— वर्षको १/१ पटक । पुरस्कार प्रदान गरिए, यस्तै नै कामहरू गरेका खबरहरू आए ।

गणतन्त्रोत्तरकालका कुलपति र अन्य कार्यकारी प्राज्ञका बीचमा असमझदारी रहे, भएको कुराचाहिँ त्यति सुनिएन । आन्तरिक रूपमा सानातिना विमति भने सार्वजनिक संस्थामा जहाँ पनि रहन्छ । ०४६ सालयताका कुलपतिहरूका कार्यकालमा त धेरै महत्त्वपूर्ण प्राज्ञिक कार्यहरूको आरम्भ हुनुपर्ने थियो नि त ? किन हुन सकेन ?

पञ्चायतकालमा नियुक्त प्राज्ञ जसरी दरबारप्रति बफादार रहन्थे, बहुदल आएपछि प्राज्ञ दलहरूप्रति नै बफादार रहन थाले । उनीहरूको नियुक्तिको सिफारिस सत्तासीन दलबाटै प्रत्यक्षत हुँदै आयो । प्राज्ञ नियुक्तिका लागि दलीय घेराभन्दा माथिको सोच राखिएन । प्राज्ञ बन्न सत्ताधारी दलका नेताहरूको ढोका चहार्न साहित्यकारको दौडधुप चल्न थाल्यो । सत्ताधारी दलले प्रज्ञा प्रतिष्ठान जस्तो राष्ट्रिय संस्थालाई दलको छायाबाट मुक्त राखी स्वतन्त्र व्यक्तिको कमिटीको निष्पक्ष सिफारिस आधारमा प्राज्ञ नियुक्त गर्ने परम्परा बसाल्नुपथ्र्यो । सत्तासीन राजनीतिक व्यक्तिहरूमा त्यस्तो उदार सोच पल्हाउनु सम्भव भएन ।

प्राज्ञहरू नियुक्त भएर काम गर्न थालिसकेपछि उनीहरूमा ‘आफूले गर्ने कामहरू भविष्यका लागि उदाहरण बनुन्’ भन्ने बलियो सोच देखिएन । सोच राखेका भए पनि त्यसअनुसार काम गर्न उत्तिकै उदारतापूर्वक विभिन्न अन्य बाहिरका साहित्यकारसँग छलफल गर्ने सोच कहिल्यै पलाएन । त्यस्तो उदारता देखाउन उनीहरूभित्रकै दलीय चिन्तनले अवरोध उत्पन्न गरायो ।

यस्तै नियुक्त भएर आएपछि वा प्रत्येक वर्ष प्रतिष्ठानका तर्फबाट यस वर्ष यस्ता कार्यहरू प्रतिष्ठानले गर्ने भन्ने निर्णय गरेपछि बजेट व्यवस्थापनका लागि मन्त्रालयमा पदाधिकारी पुग्छन् । उनीहरूले सामान्य तलब–भत्ता र नियमित हुँदै आएका कार्यहरूलाई चाहिने बजेट माग्ने नै भए । तर, मन्त्रालयले प्रतिष्ठानका थप योजनाका निम्ति चाहिने बजेट उपलब्ध गराउन नसक्ने भनेर पठाइदिन्छ । नियमित हुने काम र तलब–भत्ता आदिका लागि मन्त्रालयले दिएको बजेट त्यसैमा सिद्धिन्छ । सम्बद्ध मन्त्रालयको जिम्मेवारी लिने मन्त्री वा त्यहाँ पुगेका सचिवहरूमा प्रतिष्ठानप्रतिको दृष्टिकोण उदार र गम्भीर बन्न सकेको देखिँदैन ।

प्रतिष्ठानका प्राज्ञ पदमा दलीय निकटता वा सम्पर्कको डोरी समातेर त्यहाँ आफू पुगेका कारण दिलोज्यान दिएर यसको उन्नतिका लागि गहकिला काम गर्न सक्ने आत्मविश्वासको कमी हुन सक्छ । किनभने आफूभन्दा योग्य, प्राज्ञिक उच्चता भएका साहित्यकार प्राय: बाहिरै हुन्छन् । आखिर प्राज्ञ बन्ने लक्ष्य पूरा भएपछि काम भनेको भ्याए–भेटेसम्म गर्ने हो, प्रतिष्ठानको दूर–भविष्य हेर्ने ठेक्का मेरो मात्र होइन भन्ने संकुचितता प्राज्ञ–कार्यशैलीमा देखिने गरेको छ ।

***


प्रतिष्ठानको इतिहास ६० वर्ष लामो भइसकेको छ । गणतान्त्रिक आन्दोलनपछि पनि यसका प्राज्ञले दुई कार्यकाल व्यतीत गरिसकेका छन् । विगत वर्षमा यस्ले सम्पन्न गरेका कार्यको स्वतन्त्र मूल्यांकन गर्दा यसले सन्तोषजनक ढंगमा कार्य गर्न सकेको छैन । एउटा महत्त्वपूर्ण काम भनेको नयाँ पुस्तकालय भवनको निर्माण हुनु हो । भूकम्पमा क्षतिग्रस्त पुरानो भवनलाई सवलीकरण गर्ने अर्को काम उल्लेख गर्लान् । यी ठेक्कापट्टामा भएका संरचना निर्माणका कामलाई प्रतिष्ठानको महत्त्वपूर्ण कार्यसम्पादनको रूपमा लिन सकिँदैन । प्रतिष्ठानको उद्देश्यअनुसारका काम भए कि भएनन् भन्नेचाहिँ महत्त्वपूर्ण हो । यीबाहेक नियमित प्रकाशन हुने तर बजारको मुखसम्म देख्न नपाउने केही साहित्यिक पत्रिकाहरू, केही लेखकका नयाँ पुस्तकहरू, मातृभाषासम्बन्धी केही शब्दकोशहरू यसले छापेको होला । त्यो पनि ठूलो उपलब्धि भने होइन । अर्को, केही विदेशी साहित्यिक संस्थाहरूसँग सम्बन्ध सम्पर्क स्थापित भयो होला, केही गोष्ठीहरू भए हुन् । प्रतिष्ठानको उद्देश्यभित्रै पर्ने भनिएका यस्ता कार्यहरू पनि प्राय: नियमित कामहरू नै हुन् । साहित्यकार परिचय कोषको प्रकाशन भने महत्त्वपूर्ण नै मान्न सकिन्छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानले अरू धेरै महत्त्वपूर्ण कार्य गर्न सक्छ, त्यस्ता काम के गर्‍यो त भन्ने कुरा सरोकारवाला बाहिरी व्यक्तिलाई त्यति थाहा हुन सकेको छैन । सिन्को उचालेको कामलाई पहाड उचालेको झैँ मान्ने हो भने त उल्लिखित काम पनि ठूला काम हुन् । नत्र प्रतिष्ठानले आम सरोकारवाला जगत्समक्ष गर्वका साथ सुनाउने खालका काम भने ती होइनन् । यद्यपि तिनको महत्त्व नै छैन भन्नेचाहिँ होइन ।

***


उमेर, कृति, विधा, योगदान आदिका आधारमा निश्चित मापदण्ड बनाई नेपाली र नेपालका राष्ट्रिय भाषा साहित्य एवं वाङ्मयसेवीलाई परिचयपत्र उपलब्ध गराउन सक्छ । यस्तै माथि उल्लिखित आधारमा निश्चित उमेर पार गरेका साहित्यकारलाई वार्षिक रूपमा निश्चित रकम श्रष्टा सम्मानस्वरूप उपलब्ध गराउन सक्छ । त्यस्ता साहित्यकारको सूची बनाई वार्षिक रूपमा त्यसनिम्ति बजेटको तर्जुमा गर्न सक्छ । यसबाट प्रज्ञाका प्राज्ञ नभएका तर प्राज्ञिक हैसियत राख्ने श्रष्टा साधकले पनि प्रतिष्ठानबाट सम्मान प्राप्त भइरहेको महसुस गर्नेछन् ।

यस्तै, नेपाली र अन्य राष्ट्रिय भाषाका श्रष्टाहरूका रचनाहरू संकलन गरी राष्ट्रिय स्तरमा मानक हुने खालका कवितासंग्रह, कथासंग्रह, निबन्धसंग्रह, गीतसंग्रह, नियात्रासंग्रह, समालोचनासंग्रह प्रकाशन गर्न र यस्ता सिर्जनासंग्रहलाई विश्वविद्यालयका पाठ्यक्रममा समावेश गर्न पहल गर्न सक्छ । यसबाट कुनै पनि नेपाली श्रष्टाका सिर्जनाबाट उच्च शिक्षाका विद्यार्थीहरू लाभान्वित हुनेछन् । त्यस्ता संग्रहलाई हिन्दी, अंग्रेजी, उर्दू, बंगाली वा अन्य क्षेत्रीय वा अन्तर्राष्ट्रिय भाषामा पनि अनुवाद गरी विदेशी पाठकमाझ पुर्‍याउन पहल गर्न सक्छ । यस्तै अन्तर्राष्ट्रिय साहित्य–साहित्यकारबारे नेपालका श्रष्टाहरूलाई परिचित गराउँदै जान विदेशीभाषी उत्कृष्ट साहित्यिक कृतिहरूको नेपाली भाषामा अनुवाद गराउने पनि प्रतिष्ठानकै कार्य हो ।

यसैगरी, कम्तीमा वर्षको २५ वटा जति अनुसन्धानमूलक ग्रन्थहरूको लेखन र प्रकाशन गर्न सक्छ । चास्सचुस्स फुटकर रूपमा लेख्नलाई केही लेखकलाई पारिश्रमिक उपलब्ध गराउने चलन रहेको बुझिन्छ । सीमित लागतमा गरिएका टुक्रे कामले दीर्घकालीन महत्त्व नराख्न सक्छन् । नेपालका भाषा साहित्यको बहुआयामिक इतिहास छ । त्यसलाई अन्वेषण अनुसन्धान गरी राष्ट्रिय संरक्षकत्व प्रदान गर्नु प्रतिष्ठानको कर्तव्य हो । नेपाली भाषा साहित्य र अरू राष्ट्रिय भाषा साहित्य क्षेत्रमा महत्त्वपूर्ण योगदान दिएका र दिँदै आएका श्रष्टासाधकको क्रमबद्ध रूपमा वृत्तचित्र निर्माण गराई राष्ट्रिय प्रसारण माध्यमबाट प्रसारण गराउन र ती वृत्तचित्रलाई अंग्रेजी भाषामा पनि अनुवाद गरी विदेशी टीभी च्यानलबाट समेत प्रसारण गर्न पहल गरे कति राम्रो हुन्थ्यो । यस निम्ति प्रतिष्ठानले संयोजन गरी बाह्य प्राविधिक जनशक्तिको सहयोग लिन सक्छ, या त प्रतिष्ठानमै आवश्यक प्राविधिक उपकरणको व्यवस्था गरी, त्यहीबाट यस योजनालाई कार्यान्वयन गर्न सक्छ ।

यस्तै, यसको संस्थागत विस्तार प्रत्येक प्रदेशमा गर्न आरम्भ गर्न प्रादेशिकस्तरमा संस्थापन गरिने प्रज्ञा प्रतिष्ठानको नीति तर्जुमा एवं प्रादेशिक तवरमा प्राज्ञको छनोट गरी जिम्मेवारी दिन सक्छ । राष्ट्रिय भाषा साहित्यको विस्तार, प्रवद्र्धन र उन्नयनका निम्ति यसको थालनी गर्ने नेपाल प्रज्ञा प्रतिष्ठानले नै हो । यसले गर्दा केन्द्रीय प्रतिष्ठानमा आबद्ध हुन नसकेका धेरै साहित्यकार प्रादेशिक प्रज्ञा प्रतिष्ठानमा आबद्ध भई सेवा र सिर्जना गर्न प्रेरित हुनेछन् । लोकभाषा, साहित्य, गीत, संगीत एवं सांस्कृतिक क्षेत्रमा संरक्षण, अनुसन्धान आदि कार्यका लागि संगीत तथा नाट्य कला प्रतिष्ठानसँग प्रतिष्ठानले सहकार्य गर्न सक्छ ।

यसैगरी प्रतिष्ठानले कम्तीमा वर्षको एक पटक सार्कस्तरीय काव्य सम्मेलन, एक पटक आख्यान सम्मेलन गराई सार्कस्तरीय साहित्य र साहित्यकारका बीच सघन अन्तरक्रिया गराउन सक्छ । कम्तीमा वर्षको एक पटक नेपाली र विश्वका प्रमुख भाषाका साहित्यकारबीच अन्तर्राष्ट्रिय सम्मेलन गराई कार्यपत्रका माध्यमबाट ती भाषा साहित्यको वर्तमान स्थितिबारे नेपाली स्रष्टालाई जानकारी दिलाउन सकिन्छ । नेपाली र नेपालका भाषा साहित्यबारे विश्व साहित्यलाई जानकारी दिलाउने कर्तव्य पनि प्रतिष्ठानकै हो । यसो गर्दा नेपाली साहित्य र साहित्यहरूका बारेमा विश्वले क्रमश: थाहा पाउँदै जानेछ र भविष्यमा कुनै दिन विश्व साहित्यकै आकर्षण मानिने नोबेल पुरस्कारका प्रति रहेको सुषुप्त आकांक्षाले मूर्तरूप पाउन सहज पनि हुनेछ ।

बेलाबखत नोबेल पुरस्कार कमिटीका पदाधिकारीलाई नेपालमा बोलाई नेपाली साहित्यको स्थिति र मूर्धन्य श्रष्टाहरूबारे परिचित गराउने एवं नोबल पुरस्कार (साहित्यतर्फ) विजेतालाई नेपाल भ्रमणका लागि पहल गर्न सक्छ । नेपालमा पनि नोबल पुरस्कार पाउनयोग्य यस्ता पुस्तकहरू छन् है भनेर अनुदित उत्कृष्ट पुस्तकबारे परिचित गराउँदा राष्ट्रकै इज्जत बढ्न सक्छ । यी कार्य गर्न प्रज्ञा प्रतिष्ठानमा एक अन्तर्राष्ट्रिय सम्बन्ध शाखा/महाशाखाको स्थापना गर्न सकिन्छ ।

प्रतिष्ठानको परिसरमा एक सुन्दर नेपाली शैलीको बहुतले भवन बनाई मूर्धन्य नेपाली साहित्यकारका कृतिहरूको अनुसन्धान केन्द्र बनाउने ताकि कुनै विशिष्ट श्रष्टाका बारेमा स्वदेशी वा विदेशी अन्वेषकले विस्तृत अध्ययन/अन्वेषण गर्न सकून् । ती श्रष्टाहरूबारे छुट्टाछुट्टै अनुसन्धान, अध्ययन कक्षहरूको निर्माण गर्न सक्छ ।

***


नेपाल प्रज्ञा प्रतिष्ठान विगत पञ्चायती कालखण्डमा जे जसरी कार्यरत रहेको भएपनि ०४६ सालको परिवर्तनपछि यसको कार्यशैली र परिणाममा अपेक्षित नवीनता देखिनुपथ्र्यो । प्रज्ञा प्रतिष्ठानले सम्पन्न गर्ने कामहरू सडकमा उभिएर हेर्दा देखिने खालका पक्कै हुँदैनन् । प्रज्ञाले गर्ने काम भनेका प्राज्ञिक काम नै हुन् । प्राज्ञिक काम भनेका प्रशासनिक खालका फाइलमुखी काम पनि होइनन् । प्राज्ञिक कर्महरू भनेका साहित्य क्षेत्रको उन्नयनका काम नै हुन् । सामान्य प्राज्ञिक कार्यहरूमा संगोष्ठी, अन्तरक्रिया, प्रकाशन, अन्तरभाषिक कार्यक्रम, साहित्यिक छलफल, विधागत चिन्तन–मनन, अध्ययन आदि हुन् । यस्ता कामको महत्त्व आफ्नो ठाउँमा छँदै छ ।

यस्ता कतिपय कार्यहरू प्रज्ञा प्रतिष्ठानले सामान्यतया न्यूनाधिक गर्दै आएको पनि बुझिन्छ । तर, यी कामका साथै सघन दायित्वका कामहरूमा प्रतिष्ठान बढी केन्द्रित हुनु जरुरी छ । भौतिक भवन बनाउन एक्लै जोकोहीले पनि सक्छ तर वाङ्मय श्रीरूपी भवन बनाउन भने एक्लै वा केहीको बुद्धिबर्गतले मात्र सम्भव हुँदैन ।

नयाँ (पुरानै कुलपतिसहित) प्राज्ञहरूको नियुक्ति भइसकेको छ । आशा गराँै, अब नेपाल प्रज्ञा प्रतिष्ठान विगतमा झैं निदाएको हो कि जागेको हो जस्तो स्थितिमा रहने छैन !

प्रकाशित : पुस १४, २०७५ ०९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?