१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

देशअनुसारको भेष

मि–टु नेपाल 
बहस
‘जवानीको दोष बुढ्यौलीमा लगाउने, मन परुन्जेल मिठु मन नमिलेपछि मि–टु, साँध सिमानाको झगडा नै मि–टुमा आउला’ जस्ता अनर्थकारी टिप्पणीहरू पनि आइरहेकै छन् । 
सावित्री गौतम

काठमाडौँ — सन् २००६ मा पहिलोपटक अमेरिकी अभियन्ता तराना बर्कले समाजमा भइरहेको यौनहिंसामाथिको आवाज उठाउने अभियानको रूपमा ‘मि–टु’ शब्दावली प्रयोग गरेकी थिइन् । आफैं पनि यौनहिंसाको सिकार बनिसकेकी उनले यौनहिंसाका अनुभव बाँड्नेहरूलाई, ‘मैलेपनि तिमीले जस्तै भोगेकी थिएँ’ भनेर म्यासेज पठाउने गर्थिन् ।

देशअनुसारको भेष

उनले सुरु गरेको यो शब्दावली झिल्को बनेर सल्कियो सन् २०१७ को अक्टोबरदेखि । जुन बेला हलिउडका अभिनेत्रीहरूले सामाजिक सञ्जालमा हयासटयागको साथमा ‘मि–टु’ शब्दावली प्रयोग गर्दै त्यहाँका केही ‘प्रतिष्ठित’ र शक्तिशाली फिल्म मेकरमाथि यौनहिंसाको आरोप लगाए । हार्वी विन्स्टिनजस्ता शक्तिशाली फिल्ममेकर यसकै कारण आफ्नो कम्पनीबाट निष्कासित भए । ८० जना सिनेकर्मी महिलाले यौन दुव्र्यवहारको आरोप लगाएका उनलाई गत ३० मे २०१८ मा कार्यस्थलमा यौन दुव्र्यवहारको आरोपमा गिरफ्तार नै गरियो । मि–टु अभियान सुरु भएयता यतिखेर विश्वव्यापी रूपमा सयौं पुरुषहरूमाथि कार्यस्थलमा यौनहिंसाको आरोप लागिसकेको छ र सयौं शक्तिशाली पुरुषहरू आफ्नो पदबाट निष्कासित भएका छन् ।


हलिउडमा हयासटयाग मि–टुसुरु भएको एक वर्षपछि मात्रै भारतमा पूर्वमिस इन्डिया तथा अभिनेत्री तनुश्री दत्ताले अभिनेता नाना पाटेकरले दस वर्षअघि एउटा फिल्मको सुटिङको क्रममा यौन शोषण गरेको, त्यसबारे सिकायत गर्दा सिङ्गै फिल्म युनिटले नै चिच्याउने कराउने गरेर आफ्नो सातो लिएको, त्यसैको कारण आफू डिप्रेसनको गम्भीर रोगी हुन पुगेको र बलिउड करियर नै छोडेको आरोप सार्वजनिक गरेपछि सनसनी मच्चियो । तनुश्रीले आरोप लगाएको भोलिपल्टै नानासँग खिचेको फोटो ट्वीटरमा हालेकी निर्माता (निर्देशक फराह खान–जसलाई फोटो ट्वीट गरेर नानाको अप्रत्यक्ष समर्थन गरेको भनेर चर्चा गरिएको थियो) का दाजु निर्माता–निर्देशक साजिद खानलाई लगत्तै केही महिलाले आफूमाथि कार्यस्थलमा यौनहिंसा गरेको आरोप लगाए । यतिखेर साजिदले केही महिलामाथि ‘अमर्यादित व्यवहार गरेको’ स्वीकार गर्दै आफ्नो सफाइमा कुनै तर्क प्रस्तुत नगरेपछि फिल्म तथा टेलिभिजन निर्माता–निर्देशकहरूको संस्था ‘आईएफटीडीए’ ले उनीमाथि एक वर्षको प्रतिबन्ध लगाएको छ । त्यस्तै संगीतकार अनु मलिकमाथि पनि कार्यस्थलमा हुने यौनहिंसाको आरोप लागेपछि उनलाई रियालिटी सो इन्डियन आइडलको निर्णायकबाट हटाइयो । हिन्दुस्तान टाइम्सले नेपाली पत्रकार प्रशान्त झालाई ‘पोलिटिकल एडिटर’ को पदबाट हटाएर सामान्य रिपोर्टरमा सीमित ग‍र्‍यो । केन्द्र सरकारमा विदेश राज्यमन्त्री नै रहेका पूर्वपत्रकार एम.जे. अकबरले पनि यौनहिंसाको आरोप लागेपछि राजीनामा दिए ।


मि–टुको वाछिटा नेपालमा पनि परिसकेको छ । तर, अन्य देशमा भन्दा फरक नेपालमा ग्ल्यामरबाहेकका क्षेत्र राजनीति र प्राज्ञिक क्षेत्रका व्यक्तिमाथि कार्यस्थलमा हुने यौनहिंसाको आरोपबाट यसको सुरुआत भएको छ । काठमाडौं महानगरपालिकाकी पूर्वकर्मचारी र सञ्चारकर्मी रहिसकेकी रश्मिला प्रजापतिले पोहोरसाल नाम नलिईकन एकजना राजनीतिज्ञप्रति संकेत गर्दै आफूमाथि कार्यस्थलमा भएको यौनहिंसाबारे सार्वजनिक गरेकी थिइन् । यो वर्ष उनले आफूमाथि दुव्र्यवहार गर्ने व्यक्ति प्रदेश तीनका (हाल बर्खास्त भइसकेका) भौतिक पूर्वाधार तथा योजनामन्त्री केशव स्थापित हुन् भनेर नाम नै सार्वजनिक गरिन् । रश्मिलाले विश्वव्यापी रूपमा महिलाहरूले आफूमाथिको यौनहिंसाको बारेमा खुलासा गरिरहेको मि–टु अभियानले आफूलाई स्थापितको नामै तोकेर बोल्न हिम्मत दिएको बताएकी थिइन् । त्यस्तै पत्रकार मीना कैनी र सुबिना श्रेष्ठले पनि आफूमाथि कार्यस्थलमा भएको यौनहिंसाबारेमा सार्वजनिक रूपमा तर व्यक्तिको नाम नखुलाईकनै बोले । हालसालै त्रिभुवन विश्वविद्यालय समाजशास्त्र केन्द्रीय विभागका दुई पूर्वछात्रा मनीषा लम्साल र निशा साहले पनि एकजना प्राध्यापकले आफूमाथि गरेको यौनहिंसाबारे लेख नै लेखेर सार्वजनिक गरेका छन् तर व्यक्तिको नाम तोकेका छैनन् । सबैभन्दा पछिल्लोपटक लेखक राधा पौडेलले सन् २०११ मा त्रिचन्द्र क्याम्पसमा आफूमाथि भएको हिंसाबारे बताउँदा कसैले पनि सुनुवाइ र सहयोग नगरेको, उल्टो धाकधम्की दिएको बताएकी छन् ।


केशव स्थापितले आफूमाथि लगाएको आरोपबारे सोध्दा एउटा अनलाइन पोर्टललाई ‘यो बाख्रीहरूले लगाएको आरोप हो’ भनेर जवाफ दिएका छन् । भारतका पूर्वविदेश राज्यमन्त्री एम.जे. अकबरले आफूमाथि आरोप लगाउने पत्रकार प्रिया रमानीविरुद्ध मुद्दा लड्न ९७ जना वकिल नियुक्त गरेका थिए । शक्तिको आडमा महिलामाथि गर्ने यौन दुव्र्यवहारपछि शक्तिकै आडमा उनीहरूको आवाजलाई दबाउने कोसिस कतिसम्म हुन्छ भन्ने उदाहरण हो यो । हाल केशव स्थापित प्रदेश तीनको मन्त्री पदबाट बर्खास्त त भइसकेका छन् तर त्यसको कारण रश्मिला प्रजापतिको आरोप नभई ‘मुख्यमन्त्रीलाई मुख छाड्नु’ थियो । कम्तीमा भारतमै अनु मलिक, साजिद खान, एम.जे. अकबर, प्रशान्त झा आदिमाथि आरोप लागिसकेपछि उनीहरू आबद्ध रहेका संस्थाले छानबिनका लागि परिस्थिति सहज गर्न उनीहरूलाइ पदमुक्त गरेका छन् । तर, नेपालमा भने आरोपित व्यक्तिमाथि छानबिनको कुनै संकेत देखिनुको साटो उल्टो आरोपितले नै आरोप लगाउनेलाई सार्वजनिक सञ्चारमाध्यमबाट ‘बाख्री’ सम्बोधन गरे । सार्वजनिक सञ्चारमाध्यम प्रयोग गरेर महिलालाई ‘बाख्रीहरू’ भन्न सक्ने व्यक्ति वर्षौंसम्म कुनै ठूलो राजनीतिक दलको शक्तिशाली सदस्य हुने, दुई पटकसम्म राजधानी सहरको मेयर र प्रदेशको मन्त्रीसम्म हुने अवस्था अझै कायमै रहेको देशमा सार्वजनिक वृत्तहरूमा महिलाको उपस्थिति कत्तिको सम्मानजनक छ भन्ने कुरा स्पष्टसँग प्रतिविम्बित हुन्छ ।

***


आरोप लागेपछि आरोपितले त अन्टसन्ट तर्क र अपशब्दसमेत प्रयोग गरेर आफ्नो बचाउ गर्ने भइगए, आरोपितका आसेपासे, दलका सदस्यलगायतका ‘सेनामेना’ पनि बचाउमा उत्रने भइगए, मि–टु अभियानबारे सामाजिक सञ्जालमा भद्दा टिप्पणीका साथ ट्रोल गर्नेहरूलाई त झन् परै छोडौं । जवानीको दोष बुढ्यौलीमा लगाउने, मन परुन्जेल मिठु मन नमिलेपछि मि–टु, साँध सिमानाको झगडा नै मि–टुमा आउलाजस्ता टिप्पणी गरेका व्यक्ति जसलाई मि–टुको आधारभूत अवधारणाबारे न्यूनतम ज्ञानसमेत छैन, उनीहरूको पनि कुरा नगरौं । यतिखेर नेपालको सार्वजनिक वृत्तमा राम्रै पहिचान बनाएका व्यक्तिहरूले समेत कार्यस्थलमा हुने यौन दुव्र्यवहार भोगेका महिलाहरूले व्यक्त गरेका अभिव्यक्तिप्रति अपनाएको मौनता र दिएका प्रतिक्रिया दुवै एकदमै उदेकलाग्दा देखिएका छन् । सार्वजनिक वृत्तहरूलाई मर्यादित बनाउन, कसैमाथि पनि यौनहिंसा हुन नदिन कम्तीमा आफू कार्यरत स्थानहरूमा प्रयास गर्नेछु भन्ने प्रतिबद्धता र पीडितहरूप्रति ऐक्यबद्धताको सट्टामा उल्टो उनीहरूका ‘सबैलाई एउटै डोकोमा हाल्न पाइँदैन, आरोप लगाइदिनेलाई हाइसन्चो, आरोप लागेकालाई निर्दोष हुँ भनेर प्रमाणित गर्न कति गाह्रो,धनीमानी महिलाको बसिबियालो’ भन्नेजस्ता प्रतिक्रिया र ती प्रतिक्रियाप्रतिको सहमति छक्क पार्ने खालका छन् । जुन अप्रत्यक्ष रुपमा पीडितलाई हतोत्साही गर्ने र पीडकलाई हौसला दिने खालका प्रतिक्रिया नै हुन् । यौनहिंसाका बारेमा मुख खोल्ने हिम्मत गरेका महिलामाथि गरिएका यस्ता टिप्पणीहरू हेर्दा यौनहिंसामा परेका महिलालाई सुन्ने, साथ र हिम्मत दिने मामलामा नेपालको ‘बौद्धिक’ भनिने वृत्त महिलामाथि सबैभन्दा बढी हिंसा हुने देशमध्ये एक भनेर चिनिएको भारतभन्दा पनि निकै पछाडि रहेछजस्तो लाग्छ ।


मि–टु न साँध सिमानाको झगडा हो न जवानीको रिस बुढ्यौलीमा पोख्ने कुरा हो । मि–टुका अभिव्यक्ति हामी सुन्ने वा पढ्नेहरूको सुविधाको विषयपनि होइन । यौनहिंसा भोगेका महिलालाई भोगेको कति घण्टा, दिन, महिना वा वर्षभित्रमा भनिसक्नुपर्ने, व्यक्तिको नाम तोकेर भन्ने वा नतोकी भनेर हामीले दबाब दिने कुनै अधिकार छैन । भोग्नेहरूले जहिले र जसरी अभिव्यक्त गर्न चाहन्छन्, उनीहरूले सहज महसुस गर्दाको दिन र तरिकाले अभिव्यक्त गर्ने कुरा हो । घटना पुरानो हुँदैमा कुनै महिलाले भोगेको यौनहिंसा आज आएर अहिंसामा परिणत भइहाल्दैन । यौनहिंसाको भयावहता महसुस गरेका महिलाको मनबाट उक्त घटनाको दाग जतिसुकै पुरानो भएपनि मेटिंदैन पनि । दुई वर्षअघि तनहुँमा सुटिङ भइरहेको एउटा टेलिभिजन कार्यक्रममा आएकी एक सत्ताइस वर्षकी युवती भन्दै थिइन्,‘पन्ध्र वर्षको उमेरमा बाबुआमाले बिहे गरिदिएको, लोग्नेले सधैंभरि हिंसा गरेको र अब भने बस्नै नसक्ने भएपछि सम्बन्धविच्छेद गरें ।’ किशोरी वा जवान हुँदा बिहे गरेर अधबैंसे वा प्रौढ उमेरमा आएर सम्बन्धविच्छेद गरेका यस्ता महिलाका कैयौं उदाहरण छन् । यसको मतलब “अब बुढ्यौली लाग्यो, लोग्नेलाई म वा मलाई लोग्ने ‘काम’ लाग्दैन” भनेर पक्कै होइन होला । मि–टुका अभिव्यक्ति पनि त्यस्तैत्यस्तै मिल्दाजुल्दा अभिव्यक्ति हुन् ।


अधिकारकर्मी अमृता लम्सालले बलात्कारको बारेमा भएको एउटा अदालती कारबाहीको बारेमा कतै लेखेकी थिइन्,‘४ वर्षकी बच्चीले “फलानो अंकलले ममाथि ‘सु–सु गर्‍यो’ भनेर बयान दिइन् र उक्त बयानलाई न्यायाधीशले बलात्कार भएको प्रमाणका रुपमा मानेनन् ।” ४ वर्षकी बच्चीलेसमेत आफूमाथि भएको बलात्कार प्रमाणित गर्नलाईआफ्नो योनीमा खसेको कुरा पिसाब नभई के थियो भनेर प्रमाणित गर्नुपर्ने कानुनी व्यवस्था भएको देशमा कुनै महिलाले कुनै पुरुषमाथि कार्यस्थलमा हुने यौनहिंसाको आरोप ‘लगाउँदैमा हाइसन्चो’ भइहाल्ने विषय होइन । ‘मि–टु लगाएर छोड्दिने’ भन्दै हलुका टिप्पणी गर्नेहरूले बुझ्नु के जरुरी छ भने र यो कसैलाई सिस्नोपानी लगाएर वा चुरोटको ठुटोले पोल्दिएर एकातिर हिंडिदिनेजस्तो विषय होइन । आरोप लगाउने व्यक्तिले बकाइदा आरोप प्रमाणित गर्नुपर्ने कुरा हो । आरोप लगाउने महिलाहरूले आफ्नै सार्वजनिक प्रतिष्ठा र पारिवारिक जीवनको समेत वास्ता नगरीकन आफूमाथि भएको यौन हिंसाबारे बोलेका छन् र आरोप प्रमाणित गर्नसमेत तयार छन् । नेपालबाहिर त कैयौं आरोप प्रमाणित नै भइसकेका छन् । नेपालमै पनि केशव स्थापितमाथि आरोप लगाएकी रश्मिला प्रजापतिले आफू पोलिग्राफी टेस्टका लागि समेत तयार रहेको चुनौती दिएकी छन् । अर्को कुरा, कुनै महिलाले यौनहिंसा गर्ने व्यक्तिको नाम लिन सक्ने–नसक्ने भन्ने कुरा सम्बन्धित समाजको शक्ति संरचनाले निर्धारण गर्छ । बलात्कारको आरोप प्रमाणित नै भएर सजायसमेत तोकिएका व्यक्तिहरू खुलमखुला हिंड्ने, उल्टो बलात्कृतले नै उनीहरूको डरले विस्थापित हुनुपर्ने अवस्था रहेको समाजमा कसैको नाम लिंदैमा केही भइहाल्ने पनि होइन । आफ्ना प्राध्यापकले गरेको यौनहिंसाबारे लेख नै लेखेर सार्वजनिक गरेका त्रिविका दुई पूर्वछात्रामध्येकी एक मनीषा लम्सालले पनि नाम नलिएको बारे सोध्दा ‘आरोपित व्यक्ति सामाजिक पुँजीको हिसाबले आफूभन्दा निकै शक्तिशाली भएका कारण नाम सार्वजनिक नगरेको’ भन्ने नै जवाफ दिइन् ।


नाम सार्वजनिक नगरीकन संकेत गरिएका व्यक्तिहरूको हकमा उनीहरू संलग्न संस्था, कार्यालय वा विभागले आरोप लगाउनेहरूबाट गोप्य रूपमा नाम प्राप्त गरेर आन्तरिक छानबिन गर्न सक्छ । कसैमाथि कार्यस्थलमा यौनहिंसाको आरोप लगाउने महिलाहरू हामीजस्ता लाखौं सामाजिक सञ्जाल प्रयोगकर्ताप्रति जवाफदेही किन होऊन् र नाम बताउँदै हिँडून् ? हुनैपरे जुन व्यक्तिमाथि आरोप लगाएको हो, उक्त व्यक्ति आबद्ध संस्था, कार्यालय वा राजनीतिक दलप्रति होलान् । कुनै संस्थामा कार्यरत एकजना व्यक्तिमाथि कार्यस्थलमा यौनहिंसा गरेको आरोप लाग्दैमा उक्त संस्थामा काम गर्ने सबैलाई त्यही नजरले हेरिन थालिन्छ भन्ने तर्क केटाकेटी तर्क हो । कार्यस्थलमा हुने यौनहिंसा शक्तिको आडमा गरिने हिंसा हो र हामी जो उनीहरूको बचाउ गर्न लागिपरेका छौं हामीपनि उनीहरूको शक्तिशाली व्यक्तित्वकै अगाडि झुकिरहेका छौं भन्ने प्रमाणित हुन आउँछ । हत्तपत्त आफू टक्टकिनु, आफू कार्यरत संस्था, शाखा वा विभागको बचाउ गर्नु, आफ्ना ‘आदरणीय’ को बचाउ गर्नु वा आफू आबद्ध दलविशेषको बचाउ गर्नुभन्दा महत्त्वपूर्ण कुरा सार्वजनिक वृत्तहरू महिलाको मर्यादाहरण गर्ने ठाउँ बन्ने स्थितिको सधैंका लागि अन्त्य गर्ने अभियानमा साथ दिनु हो । आफू, आफ्नी दिदीबहिनी, श्रीमती, प्रेमिका, छोरी, भान्जी, आमासमेत जो आफ्नो संस्था वा ‘विभाग’ देखि पर कार्यरत होलान्, उनीहरू पनि यौनहिंसाको जोखिमबाट मुक्त छैनन् भनेर बुझ्नुपर्ने कुरा हो ।


यौनहिंसाको कुनै वर्ग हुँदैन । यौनहिंसा सबै वर्गविशेषका महिलाले उत्तिकै दिगमिगलाग्दो महसुस गर्ने हिंसा हो । हाम्रो देशमा किन्न नसकेसम्म शिक्षा प्राप्त गर्न सकिंदैन । त्यसैले किन्न सक्ने परिवारले किनेर आफ्ना छोरी–बुहारीलाई शिक्षाका अवसर दिलाएका छन् । परिणामस्वरूप सार्वजनिक वृत्तमा तिनै अक्षर चिनेका महिला नै सक्रिय छन् जो किनेर शिक्षा प्राप्त गर्न सक्ने घरका छोरीबुहारी छन् । स्वाभाविक रूपमा टेबल–कुर्सी प्रयोग गरेर काम गरिने कार्यालयहरू वा बौद्धिक भनिने लेखाइपढाइसँग सम्बन्धित सार्वजनिक वृत्तमा हुने यौन दुव्र्यवहारको सिकारपनि उनै महिला हुने भए । मि–टु अभियान ‘गाउँगाउँबाट उठ’ भनेर अरूलाई आह्वान गर्दै हिंड्ने व्यवस्था परिवर्तनको आन्दोलनजस्तो होइन । महिलाले वर्षौं आफूभित्र गुम्स्याएर राखेको यौनहिंसाको सकसलाई बडो हिम्मतपूर्वक सबैको अगाडि भन्ने हिम्मत गर्ने काम हो । यो स्वैच्छिक हो । कसैले आफ्नो इच्छाले आफूमाथिको यौनहिंसाको बारेमा बोलेको कुराले हिम्मत दियो भने अर्कोले पनि स्वेच्छाले मुख खोल्ने कुरा हो । यसमा ‘म बोलें, अब तिमीपनि बोल’ भनेर आफ्नै घनिष्ठ साथी वा दिदीबहिनीलाइ समेत जबरजस्ती गर्दै हिंड्न मिल्ने कुरा होइन । त्यसैले मि–टु अभियान र वर्गीय मुक्तिका अभियान वा व्यवस्था परिवर्तनका आन्दोलनको संरचनामा फरक छ ।

***


संसद्मा, सरकारमा नेपाली महिलाको प्रतिनिधित्व गरिरहेका महिला सांसद, मन्त्री वा अरू पढे–लेखेका ‘धनीमानी’ अधिकारकर्मीले हाम्रो घरघरै आएर कोदालो खनिदिएर वा खाना पकाइदिएर हाम्रो बोझ हल्का हुने होइन, बरु हाम्रालागि नीतिनिर्माण बनाउन आफ्नो ठाउँमै रहेर सशक्त भूमिका निर्वाह गरेभने ती नीतिहरूको फाइदा घरघरमा कोदालो खनेर वा भात पकाएर बस्ने हामीहरूसम्म आइपुग्ने हो । बरु आज हयासटयागबाट सुरु भएको मि–टु भोलि बिनाहयासटयाग नै पनि व्यापक होला, निम्न वर्गका मजदुर महिलाको पहुँचमा पनि पुग्ला र सिंहदरबारका कोठादेखि सडकमा काम गर्ने महिलासम्मले कार्यस्थलमा हुने यौनहिंसाको सिकायत गरेबापत सहज सुनुवाइ हुने दिन आउला, त्यस्तो कुनै चुस्त संयन्त्र बन्ला भनेर आस गरौं र बनाउन पहल गरौं । सबै ठाउँ र सबै वर्ग–समुदायका महिलामाथि हुने यौनहिंसा निन्दनीय हो । त्यसैले कुनै कथित वर्गको प्रतिनिधित्व गरेकै कारण, अक्षर चिनेकै कारण, मोबाइल फोन बोक्न सक्ने र सामाजिक सञ्जाल चलाउन सक्ने हैसियत भएकै कारण महिलाको एउटा जमात कार्यस्थलमा आफूमाथि भइरहेको यौनहिंसा सहेर बस्न बाध्य पटक्कै छैन । त्यसैले नेपालको सन्दर्भमा मि–टु अभियान ‘धनीमानी महिलाको बसिबियालो’ होइन, बरु सारा लज्जा, सौम्यता, सहनशीलता आदि बोझलाई टाउकामा बोकेर समाजको ‘संस्कार’ बचाउने ठेक्का लिने वर्गका महिला अर्थात् उच्चमध्यम र मध्यमवर्गका महिला भनेर यदाकदा गरिंदै आएको परम्परागत व्याख्याविरुद्धको अस्वीकृति हो । टाउकामा बोकेको लज्जा, सौम्यता र सहनशीलतासहितको सामाजिक ‘संस्कार’ को बोझलाई टाउकाबाट मिल्काउन खोजेको हो । हिंसा सहेर आफू ‘संस्कारी’ बनिरहने र हिंसा गर्नेहरूलाई ‘ठूलो मान्छे’ को रूपमा टाउको ठाडो गरेर हिंडिरहेको हेर्नु, सार्वजनिक ठाउँहरूमा उनैलाई ‘दाइ’ वा ‘गुरु’ भनेर झुकिरहनु अब सहय छैन भनेर केही साहसिला महिलाले गरेको उद्घोष हो ।


आफूमाथि भएको यौनहिंसाको बारेमा आवाज उठाएबापत आज जतिसुकै अप्ठयारा र लाञ्छनाको सामना गर्नुपरे पनि केही हिम्मतिला महिलाले यतिखेर उठाएको कदमले थुप्रै आशा जगाएको छ । भविष्यमा आफ्ना ‘नानाथरी’ का गतिविधिले महिलाको हुर्मत लिएर सार्वजनिक वृत्तमा पचासौं अप्ठयाराको सामना गर्दै उपस्थिति जनाइरहेका उनीहरूलाई हतोत्साही गर्ने, लखेट्ने र आफ्नोमात्र हालीमुहाली जमाइराख्ने ‘मर्द’ हरू अलि हच्केलान् भन्ने आशा । महिलालाई कहिल्यै मासुको थुप्रोबाहेक अरू सोच्नै नसक्ने, दिमाग भएका व्यक्तिको रूपमा कहिल्यै हेर्नै नसक्ने, उनीहरूलाई पीपलको बोटमुनि गरिने सस्तो गसिपको विषयभन्दा माथिको स्थान दिनै नसक्ने, यति सबै गरेर उनीहरूलाई लज्जित वा अप्ठयारोमा पारिसकेपछि, “सार्वजनिक वृत्तमा ‘मर्द’ हरूसँगै उभिएको, बहस गरेको वा उनीहरूलाई सहयोद्धा ठानेको बदलामा उल्टो हिंसा, बदनामी र सस्ता गसिपको सिकार हुनुभन्दा चुपचाप घर बस्नु ठीक” भन्ने बनाइसकेपछि जीर्ण शरीर हुन्जेलसम्म आफैंले मात्र लेखन, राजनीति, फिल्म, पत्रकारिता, विश्वविद्यालय, साहित्य संगीतका महोत्सव आदिजस्ता सार्वजनिक वृत्तहरू कब्जा गरिरहने ‘बूढा गोरु’ हरूको हालीमुहाली अलि कम होला भन्ने आशा । अगाडि असाध्यै महिलामैत्री, प्रगतिशील, समावेशी सोचको, क्रान्तिकारी आदि बनेर प्रस्तुत हुने तर भित्रभित्रै आफ्नो शक्तिशाली सार्वजनिक व्यक्तित्वको आडमा महिलाहरूको मर्यादालाई छियाछिया बनाइरहेका कैयौं अधबैंसे र बयोवृद्ध ‘ढयाके प्रगतिशील’ (झूटा प्रगतिशीलहरूलाई लेखक खगेन्द्र संग्रौलाले दिएको उपाधि सापट लिएर भन्दा) हरूले ढपक्कै ढाकेका सार्वजनिक वृत्तहरूका स्वरूप अब नयाँ र तरोताजा देखिन सुरु गर्लान् भन्ने आशा । कार्यस्थलमा हुने यौनहिंसाको खुलासाको कारण कुनैपनि दिन मेरो यो फर्जी समावेशी सोच, प्रगतिशीलता र प्रतिष्ठा चकनाचुर हुन सक्छ भन्ने कुरा दिमागमा घुस्ला र ढयाकेहरूले शक्तिको आडमा कुनै महिलामाथि यौनहिंसा गर्ने दुस्साहस नगर्लान् भन्ने आशा । सार्वजनिक वृत्तहरू महिलारहित र न्यून महिला सहभागितासहितका हुने स्थिति अब बिस्तारै कम हुँदै जाला भन्ने आशा । र, भविष्यमा हामीले देख्ने सार्वजनिक वृत्तहरूको फेरिएको रूपको श्रेय नि:सन्देह रश्मिला, मीना, सुबिना, मनीषा–निशाजस्ता हिम्मतिला महिलालाई नै जानेछ, जसले आज आफू अप्ठयारो बाटोमा हिंडेर हजारौं महिलाको बाटोका काँढा पन्छयाउन पहल गरेका छन् ।

प्रकाशित : पुस ७, २०७५ ०९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?