३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

कम्युनिस्ट मक्कामदिना

अवलोकन
चीन भ्रमणमा आएका प्राय: नेपालीको इच्छा पनि माओको शव हेर्ने हुन्छ । उनीहरूका लागि ग्रेटवालभन्दा पनि माओको शवको अवलोकन गर्नु प्राथमिकतामा पर्छ ।
चेतनाथ आचार्य

काठमाडौँ — डिसेम्बर २६ (आगामी बुधबार) माओत्सेतुङको १२५ औँ जन्म जयन्ती हो । आधुनिक चीनका संस्थापक नेता माओलाई चीनमा मात्र होइन, संसारभरका कम्युनिस्टले श्रद्धा र आस्थाले हेर्छन् । सन् १८९३ डिसेम्बर २६ मा जन्मिएका माओको मृत्यु सन् १९७६ सेप्टेम्बर ९ मा भएको हो ।

कम्युनिस्ट मक्कामदिना

माओको मृत्यु भएको ४२ वर्ष भइसके पनि उनको शवलाई बेइजिङको केन्द्र भाग थियानआनमन क्षेत्रको दक्षिणपट्टि रहेको माओ स्मारक भवनमा संरक्षण गरेर राखिएको छ । माओ स्मारक भवन सोमबारबाहेक हरेक दिन बिहान ८ देखि १२ बजेसम्म खुल्छ । जुलाई र अगस्त महिनामा भने बिहान ७ बजेदेखि ११ बजेसम्म खुल्ने गर्छ । माओको जन्मदिन डिसेम्बर २६ र मृत्यु भएको दिन सेप्टेम्बर ९ मा चाहिँ बिहानबाहेक दिउँसो २ देखि ४ बजेसम्म पनि भवन खुल्ने गर्छ ।


माओको मृत्यु हुँदा चीनभरि जति लोकप्रिय थिए, त्यत्तिकै दरमा चीनभरिको प्रतिनिधित्व हुने गरी यो भवन बनाउनका लागि विभिन्न क्षेत्रबाट नमुना सामग्री प्रयोग गरिएको छ । माओको मृत्यु भएको अढाइ महिनापछि १९७६ नोभेम्बर २४ मा निर्माण सुरु भएको यो भवन १९७७ मे २४ मा पूरा भएको थियो । यसको निर्माणमा चीनका विभिन्न प्रान्तका सात लाख नागरिकले सांकेतिक स्वयंसेवा गरेका थिए । स्मारक भवनमा चीनका विभिन्न प्रान्तका फरक–फरक वस्तु प्रयोग भएका छन् । सिचुवान प्रान्तको ग्रेनाइट, क्वाङतोङको पोर्सिलियन माटो, पल्लो सान्सीका सल्लाको काठ, सिन्चियाङको विशेष प्रकारको वनस्पतिको बीउ, थाङसानको माटो, नान्चिङको रङ, खुनलुन पहाडको सेतो पत्थर, च्याङ्सी प्रान्तको पाइन लग, ताइवानको पानी र बालुवा यसमा मिसाइएको छ । नेपाल र चीनको सीमामा रहेर चुचुरोचाहिँ नेपाली भूभागमा पर्ने विश्वको सर्वोच्च शिखर सगरमाथाबाट ल्याइएको ढुंगा पनि यो भवनमा प्रयोग गरिएको छ । ५७.२ हजार वर्गमिटर क्षेत्रफलमा रहेको माओ स्मारक भवनको मुख्य प्रवेशद्वारको माथिपट्टि सुनौला अक्षरमा लेखिएको छ— अध्यक्ष माओ स्मारक हल ।


भवनको उत्तरतिर प्रवेशद्वार छ भने दक्षिणतिर निकासद्वार रहेको छ । भवनमा पस्नासाथ मार्बलबाट बनेको साढे तीन मिटर अग्लो माओको सालिक भेटिन्छ । मध्यभागको हलमा क्रिस्टलभित्र माओको शव छ । छातीसम्म चिनियाँ कम्युनिस्ट पार्टीको झन्डाले ढाकिएको शव कालो ग्रेनाइटको कफिनमा राखिएको छ । कफिनको चारैतिर चिनियाँ कम्युनिस्ट पार्टीको चिह्न, चीनको राष्ट्रिय चिह्न, चिनियाँ जनमुक्ति सेनाको चिह्न र माओको जन्म र निधनको मिति लेखिएको छ । स्मारक भवनको दोस्रो तलामा माओ चतुङसँगै चिनियाँ कम्युनिस्ट पार्टीका लोकप्रिय नेताहरू चाउ एन लाई, लिउ साओ ची, चु त, तङ स्याओ फिङ र छनयुनको नाममा स्मृति कोठा छन् ।


माओ स्मृति हलमा प्रवेश नि:शुल्क छ । हलभित्र पस्दा टोपी लगाउन पाइन्न । साथमा कुनै झोला, खाद्यसामग्री र क्यामेरा बोक्न निषेध छ । एकआपसमा बोल्न पनि पाइँदैन । चीन सरकारको आमन्त्रणमा आएका विदेशी उच्च पाहुनालाई भने विशेष सुविधा उपलब्ध हुन्छ । त्यस्ता पाहुनालाई भवनभित्र केही समय बस्ने र भवनको माथिल्लो तला अवलोकन गर्ने अवसर हुन्छ । ती पाहुनाले भवनभित्र माओको सालिकलाई पृष्ठभूमिमा पारेर फोटो खिच्न पाउँछन् तर माओको शवको फोटो खिच्नचाहिँ पाउँदैनन् ।


चीन भ्रमणमा आएका प्राय: नेपालीको इच्छा पनि माओको शव हेर्ने हुन्छ । त्यसमा पनि नेपालका कम्युनिस्ट पार्टी समर्पित नेता तथा कार्यकर्ता चीन आएका छन् भने त उनीहरूको सबैभन्दा ठूलो प्राथमिकता नै माओको शव हेर्ने हुन्छ । उनीहरूका लागि ग्रेटवालभन्दा पनि माओको शवको अवलोकन गर्नु प्राथमिकतामा पर्छ ।


सन् २०१७ को मार्चमा चीन भ्रमणमा आएका दाङ देउखुरीका तुलसीराम अधिकारीको सबैभन्दा ठूलो इच्छा माओको शव हेर्ने थियो । उनी लामो समय तत्कालीन माओवादी पार्टीसँग आबद्ध रहेर २०५७ सालदेखि तत्कालीन एमालेमा प्रवेश गरेका थिए । शिक्षण पेसासँगै कम्युनिस्ट विचारलाई आफ्नो आदर्श बनाएका अधिकारी चीन भ्रमणमा आउँदा माओ स्मारक भवन मर्मत–सम्भार भइरहेकाले ९ महिनाका लागि बन्द गरिएको थियो । माओको शव हेर्न नपाईकन फर्कनुपर्दा अधिकारीले थकथकाउँदै भने, ‘माओका कोटेसन र रातो किताब घोकेर जिन्दगीको आधा उमेर बिताइयो तर माओकै भूमिमा आएर पनि उनको शव हेर्न पाइएन ।’


चीन आएर माओको शव हेर्न नपाएकाले पछुताउने अर्का व्यक्ति पत्रकार महासंघ रोल्पा जिल्ला अध्यक्ष मानसिंह विश्वकर्मा पनि हुन् । उनी गत अगस्टमा चीन भ्रमणमा आएका थिए । ‘आफू त माओको नाममा जनयुद्ध लडेर आएको,’ सुरुमा उनी भन्दै थिए, ‘माओकै इतिहास पढेर हामीले लङमार्च पनि गरेका थियौँ ।’ तर, दुर्भाग्य उनी बेइजिङ आइपुग्दा चीन–अफ्रिका मञ्च सुरु भएकाले सुरक्षार्थ माओ स्मारक भवन बन्द गरिएको थियो । उनले भवनको अगाडि गएर फोटो खिच्नै पाएनन् । बरु ग्रेटवाल प्रवेश गर्ने स्थानमा ठडयाइएको माओको शालिक अगाडि मुठी उचालेर फोटो खिचे र चित्त बुझाए ।


नेपालमा कम्युनिस्ट विचार राख्नेका लागि माओको शव हेर्ने कुराले कति महत्त्व राख्छ भन्ने कुराको अर्को एउटा उदाहरणबाट स्पष्ट हुन्छ । सन् २०१८ को मे महिनामा नेपालबाट लोकनाथ सुवेदी र धरणीप्रसाद गौतम सपरिवार चीन भ्रमणमा आएका थिए । उनीहरूले माओ शवको अवलोकन गरे । बाहिर निस्किएर माओ स्मारक भवनलाई पृष्ठभूमिमा पारेर फोटो खिचे अनि त्यही साँझ ‘आज माओको शव हेरियो’ लेख्दै फेसबुकमा राखे । त्यसमा प्रतिक्रिया दिनेहरूले लेखे, ‘मक्कामदिना पनि पुगिएछ, अब मोक्ष पाइयो हैन त !’

प्रकाशित : पुस ७, २०७५ ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?