पुनर्जन्म 

पुस्तक
मलाई लाग्छ, क्यान्सर मेरो जीवनमा एउटा उपहारको रूपमा आयो । मेरा हेराइ तीक्ष्ण भए, मेरा सोच सफा भए, मेरो दृष्टिकोण पुनर्जागृत भए । मैले मेरा आक्रोश र तनावहरूलाई शान्त भावमा परिवर्तन गर्न सफल भएँ । तर, याद राख्नुस्, म अझै पनि मानिस नै हुँ !
मनीषा कोइराला

काठमाडौँ — मलाई लाग्छ, क्यान्सर मेरो जीवनमा एउटा उपहारको रूपमा आयो । मेरा हेराइ तीक्ष्ण भए, मेरा सोच सफा भए, मेरो दृष्टिकोण पुनर्जागृत भए । मैले मेरा आक्रोश र तनावहरूलाई शान्त भावमा परिवर्तन गर्न सफल भएँ । 

पुनर्जन्म 

महिनौंको अथक प्रयासपछि आत्माभित्र निर्माण गरेको बगैंचाले नयाँ साथीसँग परिचित गराइदिएको छ— मनीषा । यो उत्साही, बाठो, आत्मविश्वासी र उज्ज्वल नयाँ व्यक्ति मेरो छेउमा राखेर म विश्वसँग साक्षात्कार गर्न तयार भएकी छु । जीवनले मेरा अगाडि राख्ने नयाँ चुनौतीहरूका लागि म तयार छु । मैले चुनौतीहरूको सामना गर्न नयाँ सीपहरू विकास गरिसकें ।

‘नयाँ म’ ले म भित्र ‘महिला कोइराला’ लाई जन्म दिएको छ । यो पात्र मैले अभिनय गर्दा मभित्रै थियो । मलाई ‘१९४२ : ए लभ स्टोरी’ का लागि स्क्रिन टेस्ट दिँदाको समय सम्झना छ । वरिष्ठ फिल्म निर्माता विदुविनोद चोपडाले मलाई एउटा सिन गर्न बोलाउनुभएको थियो । तर, अन्तिममा उहाँले दिनुभएको प्रतिक्रियाले म हतोत्साहित भएकी थिएँ, ‘मनीषा, तिमी खत्तम रहिछौ । तिमी एकदमै खराब अभिनेत्री रहिछौ ।’

मेरा लागि त्यो स्वीकार्य थिएन । मभित्रको लडाकु महिलामाथि यो चुनौती थियो । मैले उनीसँग दोस्रो अवसर र तयारी गर्न २४ घण्टाको समय मागें । घर फर्किएपछि, मैले आफ्ना लाइनमा पूर्ण रूपमा डुबेर बोल्ने अभ्यास गरें, घरी–घरी त्यही दोहोर्‍याइरहँदा मेरी आमा मेरो अवस्था देखेर तनावमा आउनुभयो ।

‘के गरेको यो आफूले आफूलाई ? यो फिल्म तिमीले नपाए पनि केही छैन । यसका लागि आफूलाई नमार ।’


अर्को दिनको प्रदर्शनमा मैले आफ्नो आत्मा नै छताछुल्ल बनाइदिएँ । विदु धेरै बेर एकोहोरिएर चुपचाप बसे । केही समयपछि उनले भनेका शब्दले मेरा आँखाबाट आँसु झरे, ‘यदि तिमीले हरेक सिनमा यसैगरी आफ्नो मन र आत्मा दिने वाचा गर्छौ भने म माधुरी दीक्षितको स्थानमा तिमीलाई यो फिल्ममा लिन्छु । मनीषा, हिजो तिमी शून्य थियौ । आज सय छौ ।’

यसरी म १९४२ मा अनुबन्धित भएकी थिएँ । यो फिल्म बक्स अफिसमा हिट भयो र समीक्षकहरूले मभित्र प्रतिभाको खानी नै रहेको भनेर प्रशंसा गरे ।

नयाँ अविष्कार, नवीन र पुनर्जागृत भएर मैले मेरा लागि अब नयाँ सीमा तोकेकी छु । मेरो निरन्तरको संघर्ष भनेको मभित्रको कठोरतालाई तोड्नु तर कमजोर नहुनु हो ।

के मलाई अब पनि प्रेमी चाहिन्छ ? अवश्य चाहिन्छ !


तर, अब म कसैलाई पनि मेरो पावन क्षेत्रमा प्रवेश दिँदा उसको बृहत् परीक्षा लिन्छु । म पुन: मेरो हृदयलाई चोट दिन चाहन्नँ । त्यसो भए मैले के खोजिरहेकी छु त ?

जो मेरो समानान्तर छ, मलाई बुझ्छ र मेरा जीवन भोगाइलाई आदर गर्छ । यस्तो साथी जसले आफ्नो समस्याहरूको समाधान गरेको छ वा गर्ने प्रक्रियामा छ । जसले मलाई मेरा समस्याहरू समाधान गर्न सहयोग गर्छ र मलाई पनि आफ्नो समस्या समाधान गर्नका लागि स्थान दिन्छ । केही शब्दमा भन्नुपर्दा, परिपक्व, आध्यात्मिक, आर्थिक रूपमा स्थिर, आफ्नो काममा पूर्ण र सुन्दर । के मेरो यो माग धेरै हो ? हुन सक्छ । के मैले यस्तो व्यक्ति पाउँछु ? थाहा छैन । के यसमा म केही सम्झौता गर्न सक्छु ? सक्दिनँ ।


त्यस्तो व्यक्तिसँग भेट नहुँदासम्म आफ्नो खोलभित्र रमाउने ओएस्टरजस्तै म आफैंसँग आत्मनिहित, पूर्ण र खुसी रहन्छु ।


त्यसो भए के क्यान्सरले ममा परिवर्तन ल्याएको हो ? हो ।

बर्खाको पानीले हिजोको फोहर बगाएझैं, मेरो नयाँ बिहानीमा मैले आफूलाई सम्पूर्ण नचहिँदा बन्धनहरूबाट मुक्त गरें । डिजाइनरले डिजाइन गरेका कपडा र ब्यागहरू मेरा लागि अब मात्रै वस्तु हुन्, नशा होइनन् । सम्बन्धहरू अति मूल्यवान छन्, केवल समय कटाउने मेलो होइनन् । मैले गर्ने नाटक अब केवल पर्दामा मात्रै सीमित छ । मेरो भावनात्मक जीवनलाई विशुद्ध बनाएका नकारात्मक भाव, विषाक्त व्यक्ति, परिस्थिति र सम्बन्धबाट टाढिन मैले धेरै पीडा सहें । अब ती नकारात्मकताको स्थान स्वस्थ र पोषणयुक्त खाना, व्यायाम, योग र प्राणायामले लिएको छ । मैले पुन: फिल्महरूमा काम गर्न पनि थालेकी छु । मलाई जीवनले दिएको र दिने अवसरप्रति निकै अनुगृहीत छु ।


***


म पहिला एउटा हावाको झोंकामा नै भाँचिन सक्ने कमजोर रूख थिएँ भने अब म गहिरो जरा भएको बरको रूखमा परिणत भएकी छु । मेरा हाँगाहरू, मेरा जीवनका सबै पाटालाई दर्साउँदै विभिन्न दिशामा फैलिएका छन् ।

प्रेरक वक्ताका रूपमा अहिले म आफ्ना जीवन भोगाइहरू विभिन्न स्कुल, अस्पताल र संस्थाहरू गएर बाँड्छु ।


संयुक्त राष्ट्रसंघको जनसंख्या कोष (यूएनएफपीए) को सद्भावना दूतका रूपमा मैले नेपालको महाभूकम्पमा परेका मान्छेले भोगेका असीम पीडा देखेकी छु । उनीहरूलाई सहयोग पुर्‍याउन आफ्नो तहबाट सकेको सहयोग गरेकी छु । त्यसमा धेरै गर्न अझै पनि बाँकी नै छ ।

समाजसेवीका रूपमा म महिला अधिकारको वकालत गर्ने तथा महिला हिंसा, बेचबिखन र वेश्यावृत्तिविरुद्ध काम गर्ने संस्थासँग पनि क्रियाशील रूपमा संलग्न छु ।

मलाई मेरो हृदय ठूलो भएको र आत्मा उदार भएको भान हुन्छ । मेरो यो समय अब निकै घमाइलो भएको छ । ममा समाजलाई केही दिनुपर्छ भन्ने भाव उत्पन्न भएको छ ।

मलाई लाग्छ, क्यान्सर मेरो जीवनमा एउटा उपहारको रूपमा आयो । मेरा हेराइ तीक्ष्ण भए, मेरा सोच सफा भए, मेरो दृष्टिकोण पुनर्जागृत भए । मैले मेरा आक्रोश र तनावहरूलाई शान्त भावमा परिवर्तन गर्न सफल भएँ । तर, याद राख्नुस्, म अझै पनि मानिस नै हुँ ! त्यसैले कहीलेकाहीं त नचाहे पनि बाहिर आइहाल्छ । यसको मतलब मैले यसमा अझै काम गर्नु छ । तर, म अब वास्तवमै पहिलाभन्दा राम्रो व्यक्ति हुँ– दयालु, उदार र सच्चा ।

म भित्रैबाट परिवर्तित भएकी हुँ । र त्यहीअनुसार मेरो संसार पनि परिवर्तन भएको छ ।

मलाई फिल्म क्षेत्रमा पुन: प्रवेश गर्दाको डर लागेको सम्झिन्छु । ‘के मलाई दर्शकहरूले स्विकार्लान् त ? उनीहरूले कस्तो प्रतिक्रिया देलान् ?

त्यही बेला मैले दाइसाकु इकेदाका प्रेरणादायी शब्दहरू पढें, ‘जीवन बयान नै गर्न नसकिने सम्भावनाहरूले भरिएको छ... त्यसैले हामीले कहिले पनि कसैलाई नकार्नु हुँदैन । विशेषत: हामीले आफ्नै सम्भावनाहरूलाई पनि सीमामा बाँध्नु हुँदैन । धेरैजसो अवस्थामा हामीले तोकेका हाम्रा सीमाहरू आफ्नै निर्णयका उपज मात्रै हुन् ।’

हिरोइन भएर फिल्म खेल्ने बानी परेको मलाई सुरुमा त सहअभिनयकर्ताको रोललाई सहजताका साथ स्विकार्नै गाह्रो भयो । त्यसपछि मैले त्यसमा आशीर्वाद देखें । म अब आफ्नो भावनामा डुबेर जटिल र गहिरो भाव तथा हरेक पात्रहरूलाई पूर्णरूपमा न्याय गर्न सक्छु ।

फिल्ममा मेरो दोस्रो अध्याय हिच्किचाउँदै कन्नड फिल्मबाट सुरु भयो । त्यसपछि २०१७ मलाई डार्क फिल्म ‘डियर माया’ मा अभिनय गर्ने अफर आयो । त्यसमा मैल अत्यन्त क्रूर भाव भएकी एक वृद्ध महिला पात्रको रूपमा अभिनय गर्नुपर्ने थियो । मेरा आफ्ना जीवनका नकारात्मक भोगाइहरूको कल्पना गर्दै मैले कहिल्यै नगरेको अभिनय गरें । के मैले मलाई क्यान्सर रहेको पत्ता लाग्नुपूर्व पनि त्यस्तो अभिनय गर्न सक्थें होला त ? हुन सक्छ π के थाहा ?

म अहिले कुनै पनि फिल्ममा सोच्दै नसोची अनुबन्ध हुन्न । उक्त फिल्म उद्देश्यमूलक र फरक छ भने मात्रै त्यसमा सामेल हुन्छु ।


***


डिसेम्बर, २०१६ मा कास्टिङ डाइरेक्टर मुकेश छबारियाले मलाई काठमाडौं बोलाउनुभयो र, राजु सर (हिरानी) ले आफ्नो जमानाकी नामुद अभिनेत्री नर्गिसको रोल गर्न अफर गरेको बताउनुभयो । नर्गिसको ५१ वर्षको उमेरमैं पित्तथैलीको क्यान्सरका कारण निधन भएको थियो ।

‘हुन्न !’ म भित्रैबाट झस्किएँ ।


‘यो अफरका हरेक कुरा डर लाग्दा छन् । म कसरी क्यान्सरको बिरामी भएर अभिनय गरूँ ? म कसरी ती डरहरू पुन: सहन सक्छु ? म कसरी प्रतिभावान नर्गिसजीको नक्कल गर्न सक्छु ? म रनवीर कपुरको आमा बनेर कसरी खेल्न सक्छु ? उनी त मभन्दा केवल दस वर्ष त कान्छो होलान् ?’

म अनिर्णीत अवस्थामै दस दिनपछि मुम्बई पुगें र राजु सरलाई सेटमै गएर भेटें ।

उनीसँगको त्यो भेटले मलाई निकै न्यानो महसुस गरायो । मलाई त्यहाँ न्यानो माया र उत्साहका साथ स्वागत गरियो । मसँग निकै सकारात्मक वातावरणमा साक्षात्कार भयो । फिल्म सेट खुुसी र समूहभावले भरिपूर्ण थियो ।


त्यसैले त राजु हिरानीका फिल्महरूले पर्दामा राम्रो र न्यानो भावनालाई सुन्दर ढंगमा समेटेको हुन्छ । यी भावनाहरू उनले सुटिङका बेला बीजारोपण गरेका वातावरणबाट नै उत्पन्न भएका हुन् ।

म अनायासै, राजु सरको अगाडि गएँ र मुस्कुराउँदै फिल्म खेल्ने जानकारी दिन पुगें ।


राजु सरसँग काम गर्दा, इम्तियाजसँग जिस्किँदा र अद्भुत प्रतिभाले भरिपूर्ण मायालु रनवीरसँग गफिँदा मैले हाम्रो समयभन्दा फिल्ममा कति परिवर्तन आएछ भन्ने थाहा पाएँ । अब त फिल्म क्षेत्र कति धेरै खुला, मित्रवत्, न्यानो र सुरक्षित भएछ । कस्तो राम्रो कथा, प्रतिभावान निर्माण टोली र उत्कृष्ट उत्पादन ।

यसको जगमा मौलिक, अनुपम कार्यको जन्म हुन्छ । यही कारणले गर्दा पनि फिल्ममा अहिले विभिन्न प्रकारका प्रयोग तथा विविधता रहेको देखिन्छ ।

छोटोमा भन्दा, मलाई यो नयाँ ‘फिल्म घर’ प्यारो लाग्छ र यसको सामीप्य रहिरहन मन छ । मलाई लाग्छ मैले ममा रहेको प्रतिभाको एक अंश मात्रै देखाउन सकेकी छु । साँचो अर्थमा त अझै धेरै त मभित्रै लुकेर बसेको छ, त्यसलाई निकाल्न बाँकी नै छ ।


अब मेरा आवश्यकताहरू भिन्न छन् । नयाँ म केवल सामान्य अस्तित्वमा सन्तुष्ट हुँदैन । म आत्मालाई न्यानो महसुस गराउने अपूर्व अनुभव गर्न चाहन्छु । मेरा शरीरका हरेक कोषहरू खुसीले नाच्ने काम गर्न चाहन्छु । म अगाडि बढिरहनुपर्छ । मैले बल्ल जीवनलाई अँगालेकी छु र जीवनले पनि मलाई अँगालेको छ ।

(पोखरामा यो साता जारी आईएमई लिट्रेचर फेस्टिभलमा विमोचन हुन लागेको अभिनेतृ मनीषा कोइरालाकृत ‘हिल्ड’ पुस्तकको अंश । ‘हिल्ड’ को नेपाली अनुवाद अधिकार प्राप्त गरेको फाइनप्रिन्टको स्वीकृतिमा स्वरूप आचार्यले यो भावानुवाद गरेका हुन् ।)


प्रकाशित : पुस ७, २०७५ ०९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?