चासोक तङ्नाम

संस्कृति
नारायण तुम्बापो

काठमाडौँ — लिम्बुसहित प्रकृति पूजक किराती जाति भनेर चिनिने राईले साकेला, याखाले चासुवा र सुनुवारले फोलस्यादको रूपमा चासोक तङ्नाम मनाउने गर्छन् ।

प्रकृतिपूजक लिम्बु समुदायमा अनादिकालदेखि अन्नप्रति सम्मान व्यक्त गर्ने परम्परा छ । प्राण बचाइदिने अन्नलाई एक प्रकारले माङ् (देवता) मान्ने प्रचलन छ । पाकेको बाली घरमा थान थापेर पुज्नुका साथै प्रकृति देवीलाई समेत चढाइन्छ । यो पुज्ने क्रम धान पाक्ने सिजन कात्तिकदेखि भण्डारण गर्ने मंसिर पूर्णिमासम्मै चल्छ । यो संस्कृतिलाई लिम्बु समुदायमा चासोक तङ्नाम भनिन्छ ।
मङ्सिर पूर्णिमाका दिन सामूहिकले विशेष तरिकाले चासोक तङ्नाम मनाइन्छ । चासोक तङ्नाम पैयुँ फुल्नुका साथै माछा, चरा दक्षिणतिर लागेको उधौली याम (दक्षिणायण­) को न्वागी पर्व हो । लिम्बू भाषामा ‘चासोक’ को अर्थ नयाँ पाकेको शुद्ध अन्न पवित्र मनले पुजेर तागेरानिङ्वाभुमाङ (प्रकृतिदेवी) लाई अर्पण गर्नुहुन्छ । तागेरानिङ्वाभुमाङ भनेर जल, जमिन, वायु, अग्नि वा सूर्यलाई चिनिन्छ ।

‘तङ्नाम’ ले पर्व/चाड अर्थात् उत्सव जनाउँछ । लिम्बु मुन्धुम (शास्त्र) अनुसार आदिम लिम्बु पुर्खा सावा येत्हाङहरूले काँचो कन्दमूल खानुपर्ने बाध्यताबाट उन्मुक्ति पाउन तपस्या गरे । यसको सुनुवाइ गर्दै तागेरानिङ्वाभुमाङले मानिसलाई आगोसहित पारामा (कोदो), क्यावो (फापर), फामु (कागुनी) लगायत बीज दिए । यो बीज सावा येत्हाङका चेली सिबेरा याक्थुङमा (लिम्बु महिला) ले संरक्षण गरेर कृषि युगको सुरुआत गरिन । आगोमा अन्न पकाई खान मानिस अभ्यस्त भए । यसपछि ‘तागरेनिङ्वाभुमाङ’ लाई सधन्यवाद आफूले नखाई चोखो अन्न अर्पण गर्न थालियो ।

धान र कोदो पाकेपछि लिम्बु जातिले आ–आफ्नो घरमा फेदाङ्मा (लिम्बु पुरेत) बोलाई चासोक गरिन्छ । यस क्रममा फेदाङ्माले आउँदो दिनमा पनि धेरै अन्न उत्पादन गरिदिन भन्दै ‘तागेरानिङ्वाभुमाङ’ लाई पुकार्दै सेवा व्यक्त गर्छन् । चासोकका बेला कलात्मकताले बुनेर नयाँ धानका बालाको चिटिक्कको पुतली बनाई घरको शोभा बढाउन ढोका छेउ झुन्ड्याउने चलन पनि छ । सामूहिकले मनाइने ‘चासोक तङ्नाम’ विभिन्न धार्किक, ऐतिहासिक, सांस्कृतिक स्थलमा आयोजना गरिन्छ ।

चासोकमा लिम्बु परम्परागत वेशभूषा, गहना, पालाम, धान नाच, च्याब्रुङ नाचका साथै विभिन्न लिम्बु परिकार प्रदर्शन गरिन्छ । चासोकको मर्म मर्न नदिई यसलाई आधुनिकीकरण गरेर सांस्कृतिक पर्यटनको रूपमा विकास गर्ने पहल भइरहेको पाँचथर चुम्लुङ अध्यक्ष नरेन्द्रराज केरुङले बताए । चासोक तङ्नाम’ अन्नलाई सम्मानसहित प्रसन्न पार्ने पर्वको रूपमा मनाइने चुम्लुङ महासचिव निरन्ती तुम्बापो सुनाउँछिन् । चासोक तङ्नाम पूर्वका लिम्बु बहुल ताप्लेजुङ, पाँचथर, इलाम, झापा, तेह्रथुम, धनकुटा, मोरङ, सुनसरीमा धुमधामले मनाइन्छ ।

प्रकाशित : पुस ७, २०७५ ०९:१२
प्रतिक्रिया
पठाउनुहोस्

सुपरस्टार

‘च्याम्पियन भएको खुसी थियो । बोनसको रूपमा अवार्ड जितें ।’
राजु घिसिङ

काठमाडौँ — हिजोजस्तै लाग्छ, १७ वर्षमुनिका खेलाडीहरूको बाहुल्य रहेको मछिन्द्र क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा तहल्का मच्चाएको । लिग थियो, २०६६–६७ सालको । अखिल नेपाल फुटबल संघ (एन्फा) को विवाद साम्य भएर तीन वर्षपछि फेरि सञ्चालन भएको लिगले दशरथ रंगशालाको रौनक नै फेरेको थियो ।

उपत्याको ए डिभिजन लिग २०७० सालमा यही रंगशालामा भयो । त्यसयता बल्ल लिगले २०७५ मा आएर पुनर्जीवन पायो । तर, एन्फा कम्प्लेक्स र हल्चोक मैदानमा भइरहेको लिग कतै रङ हराएको तस्बिरजस्तै भएको छ । यसबीच महाभूकम्प २०७२ ले जीर्ण बनाएको दशरथ रंगशाला पनि अझै तंग्रिएको छैन ।

मतलब, घरेलु फुटबलले उचाइ लिएको छैन, सधैं बाल्यावस्थामै अड्किरह्यो । यसबीच एकै वर्ष (सन् २०१६) मा तीन उपाधि (बंगबन्धु गोल्डकप, एएफसी सोलिडारिटी कप र यू–२३ को १२ औं दक्षिण एसियाली खेलकुद) को पनि स्वर्णपदक त जित्यो तर नेपाली फुटबल अझै व्यावसायिक भएको छैन । बाल्यावस्थाबाट वयस्क कहिले हुने हो थाहा छैन । २०६६–६७ सालको लिगमा १७ वर्षको छँंदै उत्कृष्ट डिफेन्डरको पुरस्कार पाएका रोहित चन्द भने जवान भइसकेका छन् । अर्थात् परिपक्व फुटबलर । र, व्यावसायिक हिसाबले सफल पनि । यसलाई आइतबार सकिएको इन्डोनेसियाको लिग वनको च्याम्पियन यात्रा र यसमा लिगकै सर्वोत्कृष्ट खेलाडीको अवार्डले सावित गरिदियो ।

भूकम्पले दशरथ रंगशाला र एन्फाको राजनीतिले घरेलु लिग जुन तरिकाले ध्वस्त भए, त्यससँगै सयौं खेलाडीको करिअर पनि सपनामै उडिरहेको थियो । त्यसबाट मछिन्द्रमा तहल्का मच्चाएको रोहितको ब्याचका खेलाडीहरू पनि नराम्ररी प्रभावित भए । उनीहरू पाँच वर्षपछि ए डिभिजन लिग सुचारु हुँदा फिटनेसकै लागि संघर्षरत देखिए । उनीहरूले जिताए नेपाललाई तीन उपाधि । त्यस समय रोहित क्लबको ड्युटीमा थिए । त्यसैले उनलाई राष्ट्रिय टिमको सफलतासँग जोडिन नपाएकामा हीनताबोध पनि हँुदो हो । उनलाई मैदानको खेलले भने खासै गुनासो गर्ने ठाउँ दिएको छैन । आफ्ना ब्याच र अरू नेपाली फुटबलरको भन्दा ठीक उल्टो छ रोहितको करिअर ग्राफ ।

उनी पर्सिजा जकार्ताबाट क्लब फुटबल खेलिरहेका छन् । पर्सिजाले च्याम्पियन हँुदै नौमहिने लिगलाई आइतबार बिट मार्‍यो । खासमा उसले यो सिजन चौथो स्थानसम्म रहने लक्ष्य बनाएको थियो । तर, अन्तिम खेलमा आएर च्याम्पियन नै भयो । ‘सिजन सुरु हुँदा च्याम्पियन बन्ने सोचेका थिएनौं र क्लबको त्यस्तो योजना पनि थिएन,’ रोहितले भने, ‘तर, सबैले शतप्रतिशत दिएर राम्रो खेले । क्रोएसियाली फरवार्ड सिमिचले पनि । एउटा टिमको रूपमा राम्रो भयो । लिगमा बिस्तारै हाम्रो पोजिसन राम्रो भएपछि उपाधि पनि जित्न सक्छौं भन्ने लाग्न थाल्यो । अन्त्यमा जित्यौं पनि ।’ पर्सिजाले उपाधि होडमा पीएसएम माकासारलाई एक अंकले मात्र उछिनेको थियो ।

इन्डोनेसियन लिग कति प्रतिस्पर्धात्मक हुन्छ त ? ‘निकै कठिन । अन्तिम स्थानमा रहेका क्लबले पनि उपाधि होडका टिमलाई पराजित गरिरहेको हुन्छ । त्यसैले इन्डोनेसियामा उपाधि कसले जित्छ भनेर पूर्वानुमान गर्न साह्रै गाह्रो हुन्छ,’ ६ वर्षयता इन्डोनेसियन लिगमा व्यस्त रहेका रोहितले सुनाए, ‘मैले खेलेयताकै सबभन्दा राम्रो, उच्चस्तरको लिग यसैपालि भयो र प्रतिस्पर्धात्मक पनि । किनभने युरोप र दक्षिण अमेरिका तथा एसियाकै पनि राम्रा खेलाडीहरू खेलिरहेका थिए ।’


पर्सिजाको ११ औं लिग उपाधिमा रोहितले महत्त्वपूर्ण भूमिका खेलेका थिए । त्यसैले त उनी इन्डोनेसियाको सबभन्दा माथिल्लो श्रेणीको प्रतियोगिता लिग वनमा सर्वोत्कृष्ट खेलाडीको अवार्ड जित्ने पहिलो एसियाली बने । यसमा उनले विश्व फुटबलको महारथी ब्राजिल र टोटल फुटबलको जन्मदाता नेदरल्यान्ड्सका खेलाडीलाई पछाडि पारेका थिए । दक्षिण एसियाबाहिर लिग जित्ने पहिलो नेपाली बनेका उनले व्यक्तिगत पुरस्कारबारे भने, ‘मैले सक्दो राम्रो खेल्ने प्रयास गरेको थिए । तर, बेस्ट प्लेयरको मनोनयनमा पर्नुअघि यस अवार्डबारे सोचेको पनिथिइनँ । तीन खेलाडीको मनोनयनमा परेपछि पनि सोचिनँ । किनभने लिगको उपाधि जित्नु थियो । सबैको फोकस अन्तिम खेलमा थियो । अन्तिम खेल जितेपछि च्याम्पियन भएको खुसियाली मनाइरहँदा एक्कासि मेरो नाम सुनियो । र, बल्ल बेस्ट प्लेयर भएको थाहा पाइयो । च्याम्पियन भएको खुसी थियो । बोनसको रूपमा अवार्ड जितें ।’

ट्वीटरमा २७ लाख, इन्स्टाग्राममा १५ लाख र फेसुबुकमा आठ लाखभन्दा बढी फलोअर्स छन्, जसले पर्सिजा इन्डोनेसियन फुटबलमा कति लोकप्रिय छ भन्ने देखाउँछ । त्यहाँ रोहित सुपरस्टारकै रूपमा रहेका छन् । वैशाखमा जकार्तामा भएको भेटमा रातको समयमा पनि बाटोमा उनलाई बोलाएर फोटो खिचाउनेहरू प्रशस्तै भेटिएका थिए । सपिङ मल र क्याफेमा पनि उनीसँग फोटो खिचाउनेको भीड नै भएको थियो ।

एक समय एन्फा एकेडेमीबाटै झन्डै निकालिएका रोहित मिहिनेतले बनेका स्टार हुन् । त्यसैले त घुँडाको शल्यक्रिया गरेर एक वर्ष मैदानबाहिरै रहेर पनि सानदार कमब्याक गरे । ‘उनी निकै मिहिनेती र अनुशासित खेलाडी हुन्, जुन जिम्मेवारी पाउँछ त्यसैमा
आफ्नो उच्चतम कौशल देखाउँछन्,’ उनका एजेन्ट रत्न मुस्टिकाले भने, ‘त्यसैले रोहित इन्डोनेसियन लिगकै उत्कृष्ट खेलाडी बने ।’ सुर्खेतका २६ वर्षीय रोहित सुरुका डिफेन्डर थिए । अहिले मिडफिल्डर । यी भर्सटाइल खेलाडीले लिग वनमा यस सिजनमा आफ्नो प्रदर्शनबारे भने, ‘प्रशिक्षकले मलाई विश्वास गरे । उनले जुन फर्मेसनमा खेलाए पनि मलाई स्थान दिए, मैले त्यसैअनुसार फिट भएर खेले । मिडफिल्ड र डिफेन्सको सबै पोजिसनमा खेले । सबैमा सक्दो मिहिनेत गरे । खेलको नतिजा पनि त्यस्तै आयो । भाग्य र मिहिनेतले यहाँसम्म ल्याइपुर्‍याएको छ ।’ उनी पर्सिजामा यो सिजन खेल्न बाँकी रहेको पोजिसन गोलकिपर र फरवार्ड मात्र रहे । एएफसी कपमा पनि आफ्नो प्रभाव देखाइसकेका उनले लिगअघि प्रेसिडेन्ट कपमा पर्सिजालाई ट्रफी दिलाउन पनि मुख्य भूमिका निर्वाह गरेका थिए ।

उनी आफैंलाई भने खेलाडीको रूपमा त्यस्तो उत्कृष्ट मान्दैनन् । ‘मैले त्यस्तो खतरा नै खेलेको होइन तर मैदानमा आफ्नो ड्युटी भने पूरा गरेको जस्तो लाग्छ,’ उनले भने । उनी ६ वर्षअघि पीएसपीएस पेकनबरुमा अनुबन्धित हुँदै इन्डोनेसिया पुगेका थिए । उनको त्यस बाटो मुम्बईको एचएएल (हिन्दुस्तान एरोनटिक्स) मार्फत आई लिगमा गरेको प्रदर्शनले खोलेको थियो । र, आई लिगको ट्रयाक दशरथ रंगशालाको खेलले ।

उनी नेपाली खेलाडीमा राम्रो लिग खेल्ने सम्भावना भएको बताउँछन् । ‘धेरै नेपाली खेलाडीमा बाहिर गएर राम्रो लिग खेल्न सक्ने सम्भावना छ,’ उनले भने, ‘तर, केही पाउन केही गुमाउनु पनि पर्छ पनि । यसैमा नेपाली कमजोर देख्छु ।’ क्लबमा ट्रायल दिन र देश–परिवारबाहिर महिनौं बिताउन धेरै गाह्रो हुने उनको अनुभव छ । ६ वर्षअघि ट्रायलमा एक महिना इन्डोनेसिया बस्दा उनी झन्डै बीचमै फर्किएका थिए । त्यस बेला उनी फर्किएको भए यी खेलाडीको करिअरको कथा अर्कै हुन सक्थ्यो । अरू खेलाडीजस्तै उनी विदेश बस्न नसकेर फर्किएनन्् पनि । हुन त उनी त्यसअघि युरोप, विशेषगरी इंग्ल्यान्डको आर्सनल र टोटेनहमको एकेडेमीमा जाने खबर पनि फैलिएको थियो । तर, ती यथार्थ थिएनन् । त्यसै हल्लाको खबरपछि लाग्दा उनले चीनको सी लिग क्लबमा सीधै अनुबन्धको अवसर पनि गुमाएका थिए ।

उनले लगाउने बुट हो र त्यसैको कला मैदानमा देखाउने हो । तर, उनी अहिले भने लिग सकाएर भारी बिसाएका भरियाजस्तै भएका छन् । ‘कहिले स्वदेश फर्कौं र आराम गरौंलाजस्तो भएको छ । साह्रै थकित छ,’ उनले च्याम्पियन भएको भोलिपल्ट जकार्ताबाट भने, ‘एक महिना केही आराम मात्रै गर्न पाए हुन्थ्यो ।’ लिगको थकानमेट्नका लागि उनी यो साता हुने पुरस्कार वितरण समारोह छाड्न पनि तयार भए ।

प्रकाशित : मंसिर २९, २०७५ ०८:१८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्