२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

मेरा बा र सद्दाम हुसेन

निबन्ध
‘जति मानिस आजसम्म मरे ती हामीजस्तै जन्मेका थिए । भविष्यमा जति पनि मानिस जन्मिनेछन् तिनमा कोही एकसमेत अमर रहने छैन । सबैले सकिनुपर्छ ।’
विवेक ओझा

काठमाडौँ — कक्षा आठको रिजल्ट आएको दिन । अबिरले पूरै अनुहार रङ्गियो । त्यही अनुहार बोकी स्कुलबाट घरतर्फ लागेँ । बाटोमा थुप्रैले चासो दिई हेर्दा मख्ख परेँ । आफैंलाई अद्भुत ठानेँ । मलाई पाउने नगरलाई भाग्यमानी ठानेँ । वाह ! त्यो घमण्ड । कठै ! त्यो भ्रम ।

मेरा बा र सद्दाम हुसेन

घर पुग्दा बा खाटमा बसी चिया पिउँदै हुनुहुन्थ्यो । स्टिलको गिलासबाट मसिनो बाफ उड्दै थियो । त्यो बाफ बाको ढाका टोपीको चुच्चो हुँदै माथिसम्म पुग्थ्यो । छाती चौडा पार्दै बाको अगाडि उभिएँ । मार्कसिट देखाएँ– ‘म फस्ट भएँ ।’


पाँच कक्षामाथि सर्वोत्कृष्ट अंक मेरै रहेछ । त्यसकै पुरस्कार थियो गोल्डेन कलरको भित्तेघडी (जो बिग्रे पनि आमाले जतनका साथ राख्नुभएकै छ) । त्यो बालाई थमाएँ । उहाँको अनुहारमा उज्यालो छायो । तर, बेग्लै प्रश्न गर्नुभयो, ‘तेरो स्कुलमा नर्सरीदेखि कतिवटा क्लास छन् ?’

अर्कै दुनियाँमा थिएँ, त्यसैले एकै छिन

सोच्नुपर्‍यो, ‘तेह्र ।’

– ‘तेरो स्कुलमा तेह्र जना फस्ट भएछन् है ?’

त्यो प्रश्नरूपी उत्तरले असहज बनायो । मलाई तेह्र जनाको भीडमा उभायो । बाले चुस्कीसँगै प्रश्न थप्नुभयो, ‘छोरा, टीकापुरमा कति स्कुल होलान् ?’

– ‘लगभग चालीस–पचास ।’

– ‘त्यसो भए कति जना फस्ट भए टीकापुरमा ?’

मनमनै मोटामोटी हिसाब गरेँ, ‘लगभग

पाँच सय ।’

– ‘नेपालभरि कति जना फस्ट भए होलान् ?’

म अकमकिएँ । बाको उद्देश्य पूरा भएछ । त्यसैले पूरै संवादलाई एकै वाक्यले सिलबन्दी गरिदिनुभो, छोरा, एउटा कक्षाकोठा मात्र प्रतिस्पर्धाको दायरा होइन ।’

त्यो बेला म आफ्नै मनोवादमा मग्न हुँदै थिएँ, ‘साँच्चै, पृथ्वीमा कति स्कुल होलान् ? कति जना फस्ट भए होलान् ?’ ...यसरी प्रश्न थुप्रिरहँदा विशाल काल्पनिक भीड जम्मा भयो । कराडौँ मधुर अनुहारहरू दिमागी आँखामा नाचे । मानौं म संसारभरका फस्ट विद्यार्थीहरूबीच छु । वरिपरि आँखाले नभ्याउन्जेल माइलौँ माइल धर्ती छोप्ने गरी फस्ट आउनेहरूको भीड छ । त्यसपछि हो मलाई फस्ट आउनु ‘क्याबात’ लागेन । फस्ट, सेकेन्डले प्रफुल्लित साना नानीबाबु देख्दा बाको पुरानो कुरा सम्झन्छु । मुस्कुराउँछु । बा’को आवाज कानसम्मै आउँछ ।

साथीका बाहरू कडा । उनीहरूसँग हुन्थे कुटाइ खाएका कैयौँ किस्सा । मसँग सुनाउने स्पष्ट सम्झिनलायक एक थप्पडको किस्सा थिएन/छैन । चर्कोगरी रिसाएको किस्सासमेत थिएन/छैन । गल्ती गरे पनि बा रिसाउनुहुन्नथ्यो । घुमाउरो कहानी सुनाई गल्ती अनुभूत गराउनुहुन्थ्यो । त्यसैले, बाको कठोरपना कहिल्यै देखिनँ । उहाँले गरेको उच्चतम कठोर कुरा आज सुनाउँछु । उसो त त्यो कठोर कुरा होइन । तर, बाको मुखबाट मैले सुनेको सबैभन्दा खरा शब्दहरू तिनै थिए । कसैलाई त्यो बकम्फुस, फासफुस वा जेसुकै लाग्न सक्छ । यद्यपि त्यही चिन्तन मेरो जीवनदर्शनको मियो बन्यो । म बाँचिरहेको चेतबाट खसेँ झरनासरी ।

यो काठमाडौँ आइसकेपछिको कुरा हो । त्यसमा पनि, म असन्चो भएको बेला घटित प्रसंग हो । रोग भनौँ कि सोच ? अनौठो र भयानक थियो त्यो । म निकै अपत्यारिलो, अस्वाभाविक, असुहाउँदो भएको थिएँ । ...प्रत्येक साँझ । मेरो मनको भट्टीबाट डरको धूवाँ फैलिन सुरु गथ्र्यो, ‘भोलि बिहान यही खाटमा म मृत भेटिन सक्छु !’

सूर्य अस्ताएपछि बेचैनीको कालो चन्द्रमा उदाउँथ्यो ममा । आफू पल्टिएको चारखुट्टे खाटमा आफ्नै मृत शरीर चिसिएर लम्पसार परेको कल्पना गर्थेँ । सुस्तरी सिरानदेखि गोड्यानसम्म आँखा डुलाउँथेँ । हेर्थेँ, बुट्टेदार पहेँलो तन्ना, सिरानमा सिरानी बनाइएका शब्दकोश (त्यो बेला तकिया थिएन मसँग । बृहत् नेपाली शब्दकोश र अक्सफर्ड डिक्सनेरी मेरा तकिया थिए) । हेर्थेँ, साघुँरो कोठाका भित्ताहरू । माझ्न बाँकी जुठा भाँडा । कल्पनामा आउँथ्यो सानो परिवार । सबैको अनुहार पालैपालो जाँतो नाचेजस्तै नाच्थ्यो आँखामा । मुटु भयभीत हुन्थ्यो । आँखाहरूमा त्रास फैलिन्थ्यो । धड्कनको चाल रफ्तारमा उकालो उक्लन्थ्यो, ढुक्ढुक् । साँघुरा भित्ताहरू झनै नजिकिएको/नाकसम्मै ठोक्किन आएको महसुस हुन्थ्यो । हड्बडाउँथेँ, नि:श्वासिन्थेँ । लाग्थ्यो, आज मेरो अन्तिम रात हो ।

भय मनको भाँडोमा दूध उम्लिएर बढेजस्तै बढ्थ्यो । र, पूरै मन कब्जा गथ्र्यो । अनि, म डायरीको पाना च्यात्थेँ । हृदयका गन्थनहरू पोख्थेँ (ती गन्थनहरू खुलाउने मसँग अहिले हैसियत छैन) । पत्रको अन्त्य प्राय: एउटै रह्यो, ‘मेरो लास भेटाउने मान्छे, यो चिठी मेरो बाको हातमा राखिदिनू ।’ के आशा थियो भने म नरहे पनि मेरा थोरबहुत इच्छा बाले पूरा गर्नुहुनेछ । पत्र सिरानको डिक्सनेरीमुनि च्याप्थेँ । मनलाई ढुक्क बनाउने कोसिस गर्थेँ । त्यो कोसिस चल्थ्यो मध्यरातसम्म । नजानिँदो गरी निद्रामा हराएको चाल पाउन्नथेँ ।

प्रत्येक बिहान बाँचेकामा खुसी लाग्थ्यो । चिठी देख्दा सरम लाग्थ्यो । अनि, घृणाका साथ चिठी टुक्राटुक्रा पार्थेँ । डस्टबिनमा मिल्काउँथेँ । लाग्थ्यो मेरो मृत्यु डस्टबिनमा टुक्रिएर खस्यो, बिहाऽऽनै ।

त्यो बेलाको हुलिया, क्रियाकलाप सम्झँदा आफैंलाई अनौठो लाग्छ । एक मन हाँस्छ । अर्को मन भावुक बन्छ । के म त्यही मान्छे हुँ जो मर्छु कि भनी सुत्न डराउँथ्यो र पत्र लेख्थ्यो ? आफैंलाई पत्यार नलाग्ने जीवनको कस्तो गल्ली हिँडेछु ? अपत्यारिलो कुनै कथाको काल्पनिक पात्रजस्तो बनेछु । त्यसबाट उम्किन डक्टरको ओखती सुरु गरेँ, काम आएन । खुब हासेँ । अन्धाधुन्ध डुलेँ । यद्यपि डर हाँसोसँगै चप्किरह्यो, पैतालासँगै हिँडिरह्यो ।

डक्टरकाअनुसार म डिप्रेसनमा थिएँ । त्यसले मलाई निकै अस्थिर बनाउँदै लग्यो । र, मेरो अस्थिरताको हल्ला चरा जसरी घरसम्मै उड्यो । बाले कसैबाट सुन्नुभो वा आफैं अनुमान गर्नुभो यकिन छैन । एक बिहान ‘हेलो’ भन्नेबित्तिकै बाले सोध्नुभयो, ‘तँलाई निको छैन, के भएको छ ?’

– ‘सबथोक ठीक छ ।’

– ‘मैले सपना देखेँ, तँलाई ठीक छैन ।’

केही सेकेन्ड मौन भएँ । बाले दोहोर्‍याएर सोध्दा झूट बोल्नु दुर्लभ छ, ‘मलाई डर लाग्छ ।’

– ‘के कुराको ?’

– ‘थाहा छैन ।’

अप्रत्याशित निर्णय सुनियो, ‘म आज आउँदै छु ।’

मलाई केही भन्न आएन । भन्नु पनि थिएन । बा भएपछि एक्लोपनबाट भाग्न कतै भीडमा डुल्न पर्दैनथ्यो । साथीहरूको खोली धाउनुपर्दैनथ्यो । बा साथ हुँदा एक्लापनले छुने हिम्मत गर्दैनथ्यो ।

त्यही दिन बा नाइटबस चढ्नुभो । खबर सुन्दामै मनमा शीतलता उक्लियो । थोरबहुत ऊर्जा थपिएको महसुस गरेँ । त्यो रात आफ्नो मृत्युको कल्पना नगरेको होइन तर पत्र लेखिनँ । ...उता बा चढेको गाडी काठमाडौँतर्फ बढ्दै थियो । यता मेरो डरको क्षेत्रफल साँघुरिँदै थियो । मानौं बा घाम हुन् । अनि, डर अँध्यारो हो । मानौं मेरो सूर्य महिनौंदेखि उदाएको छैन । मनमनै सोचेँ, ‘भोलि सूर्यसँगै बा मलाई छुनुहुनेछ । र, डर मनका अँध्यारा कन्दराहरूमा समेत रहने छैन ।’

भोलिपल्ट बिहानै बालाई लिन कलंकी कुदेँ । सधैँजस्तो व्यस्त थियो कलंकी । सयौँ मोटर–गाडी, मानिसको खचाखच भीड । धूलो–धूवाँ । हर्नको टिटि–टुटु । रोडछेउको ठेलामा चियाको लाइनमा मिसिएँ । चिया पिउँदै रोक्किने बसको ब्यानर र नम्बर प्लेट हेर्न थालेँ ।

...केही बेरमा मैले खोजेकै बस नम्बर देखियो । बस टाढैबाट गति घटाउँदै आयो । गाडी रोकिनुपूर्व नै झ्यालझ्यालमा नजर फिजाउन भ्याएँ । बालाई देखिनँ । सायद बा ‘बी’ साइडमा हुनुहुन्थ्यो । उहाँ ओर्लेपछि मात्र हामी आमनेसामने भयौँ । बाको शिरमा ढाका टोपी, बायाँ काँधमा झोला र दायाँ हातमा निख्खर कालो रुमाल थियो । घिउ कलरको सर्टमा नीलो रङको पाइन्ट थियो । खैरो रङका गोल्डस्टार जुत्ता थिए खुट्टामा ।

छोटो समयमै हामीबीच आफ्नै तालमा कैयौँ मानिस हिँड्न भ्याए । बाको नजर कसैले बिथोलेनन् । भीड, धूवाँ एवम् हल्लाले छोएको थिएन उहाँलाई । ध्यान केवल मैमाथि थियो । अनौठो गरी पैतालादेखि टाउकासम्म नियाल्नुभो । अगाडि बढ्दै गर्दा बाको नजरमा शंका छचल्किँदै थियो । कहीँकतै म कुच्चिएको वा खुम्चिएको त छैन ? एकाएक उहाँका ओभाना आँखा टिलपिल भए । रुमालले मुख पुछेजस्तै गरेर आँसु बिथोल्नुभो । अनजानजस्तै बनेँ म । अनुमान गरेँ मेरो झुस्स दाह्री, दुब्लाएको ज्यानमा खुकुलो सर्ट । नमिलेको जिरिङ्ग केश देखेर बालाई दया लाग्यो, माया लाग्यो सप्पैथोक लाग्यो । ...बाको झोला समातेँ । मन यत्तिकै भावुक भयो । मानौं त्यो झोला हैन भावनाको पोको थियो । मेरासमेत आँखा रसाए । बाको विपरीत मुख फर्काएँ ।

आँखा माडेँ । सायद उहाँले त्यो देख्नुभयो । तर, नदेखेजस्तै गर्नुभयो ।

बाटोमा धेरैपटक बोल्न खोजेँ । ‘अँ/नाइँ’ मै टार्नुभयो बाले । मेरो हालचालसमेत सोध्नुभएन ।

बानेश्वर । संगमचोकभित्रको पातलो गल्ली । त्यहाँको एक पुरानो घरमा मेरो डेरा थियो । त्यो घरको अर्धअँध्यारो कोठामा पस्नेबित्तिकै बाको आवाज फुट्यो, ‘ल भन् तँलाई के कुराको डर लाग्छ ?’ सायद बालाई अरूथोक सुन्नु नै थिएन, बोल्नु नै थिएन । मात्र मेरो डर जान्नु थियो । तर, म बोलिनँ । झोला खाटछेउ राखेर बा छेउ बसेँ । खास कुरो गर्न सकिनँ, निकै सरम लाग्यो । वास्तवमै वाहियात थियो मेरो डर ।

बाले टोपी खोलेर छेउमा राख्नुभयो । भित्तामा अडेस लाग्दै अलग्गै कुरा सोध्नुभयो, ‘संसारमा सबैभन्दा खतरनाक चीज के होला ?’

म चिया बनाउन उठेँ । साँच्चै सबैभन्दा खतरनाक चीज के हुन सक्छ ? ...सर्प, सिंह, बाघ आदि सोचेँ । तर नि:शब्द भइरहेँ ।

– ‘तँमाथि सबैभन्दा कुरूप परिणाम के हुन सक्छ ?’

परीक्षा मिति सम्झेँ । पढेको थिइनँ कत्ति । र, सबैभन्दा कुरूप कुरा ‘फेल ’ सोचेँ । यद्यपि कण्ठबाट शब्द निस्किएन ।

उहाँले मबाट आवाज, अनुमान वा उत्तरमध्ये कुनै एक अपेक्षा गर्नुभएको थियो । यो भनौं कि त्यो सोच्दै समय बित्यो । मेरो अलमल देखेर आफैंले उत्तर दिनुभयो, ‘संसारमा सबैभन्दा खतरनाक चीज मृत्यु हो । तँसँग हुन सक्ने सबैभन्दा कुरूप एवम् खतरनाक कुरा पनि मृत्यु नै हो ।’

मलाई त्यो बेला ताजुक लाग्यो । मेरो मनमै पसेर बोलेजस्तो । ओहो, मलाई डर लाग्ने कुरा त्यही थियो । कसैलाई नभनेको कुरा पनि त्यही थियो ।

बाले प्रश्नको डोरी लम्बाउँदै लिनुभो, ‘विश्वको जनसंख्या था छ ?’

बल्ल म बोलेँ, ‘लगभग सात अर्ब ।’

– ‘धर्तीमा कति मान्छे जन्मिए होलान् आजसम्म, भन्न सक्छस् ?’

एकै छिन गहिरिएर सोचेँ । जवाफमा दायाँबायाँ मुन्टो हल्लाएँ ।

– ‘पृथ्वीको आयु नसकिँदासम्म भविष्यमा कति मानिस जन्मेलान् ?’

प्रश्न झ्याउलाग्दा थिए । तालमेल नै नभएका । मन मार्दै भनेँ, ‘कतिकति, अनगिन्ती ।’

– ‘पृथ्वीको उत्पत्तिदेखि आजसम्म कति मान्छे मरे होलान् ?’

चियाको गिलास दिँदै बोलेँ, ‘अथाह अनगिन्ती ।’

त्यो बेला मेरो नजर बाको कलसरो अनुहारमा पोखियो । निकै नजिकबाट । त्यो अनुहारमा जवान छोराप्रतिको गहिरो चिन्ता र करुणा थियो । अनुहार लगातार हेर्न सकिनँ ।

बाले लामो सास फेर्दै निष्कर्ष सुनाउनुभयो, ‘सात अर्बमा कोही एक सधैँलाई बाँचिरहने छैन । जति मानिस आजसम्म मरे ती हामीजस्तै जन्मेका थिए । भविष्यमा जति पनि मानिस जन्मिनेछन् तिनमा कोही एकसमेत अमर रहने छैन । सबैले सकिनुपर्छ । अघि भनिसकेँ, सबैभन्दा भयानक कुरा मृत्यु हो, त्यो भोग्न कोही छुट्दैन । सबैभन्दा खतरनाक कुरा भोग्नैपर्छ भने तँ के कुरासँग डराउँछस् ? तँलाई के कुराको डर छ, जो मृत्युभन्दा कुरूप होस् ?’

सधैँझैँ बाको प्रश्नमा उत्तर थियो । त्यो कुनै दिव्यवाणी थियो मेरा लागि । बाका कण्ठबाट अक्षर निस्किएका थिए जो चित्र बनेर बगे आँखामा । कल्पनाले समेत कल्पना गर्न नसक्ने गरी त्यो दिनसम्म मरेका मानिसको कल्पना गरेँ, कत्तिकत्ति । सात अर्ब मानिसको भीड कल्पिएँ । सबैले मर्नैपर्ने । पृथ्वीको आयु कल्पना गरेँ, हजारौँ वर्ष । त्यो समयमा जन्मिने अनगिन्ती मानिसको कल्पना गरेँ जो मर्ने नै छन् । दिमागमा बाको कुरा जति खेल्थ्यो त्यति नै मेरो कल्पनाको आकार बढ्दै जान्थ्यो ।

त्यो बेला लाग्यो धर्तीमा जन्मभन्दा निश्चित कुरा मृत्यु रहेछ । कदाचित् जन्मिनुपर्ने मानिस तुहिन सक्छ । तर, जन्मेको मानिस मृत्युविमुख हुनै सक्दैन । भूत, वर्तमान र भविष्यको अन्तिम रेखा मृत्युरेखा रहेछ । ममा साहसको बतास चल्न

थाल्यो सिरसिर्... ।

साँझ हामी घुम्न निस्कियौँ । बानेश्वर चोकको बाटो काट्न बा हडबडाउनुभयो । बाको हात समाएरै बाटो कटाएँ । धेरैपछि फ्रेस थिएँ । हल्का जिस्किएँ, ‘बा, सानोमा मेरा अप्ठ्यारामा मलाई थाम्नुहुन्थ्यो । आज हजुरलाई अप्ठ्यारो हुँदा, म बाटो कटाउँदै छु । समय कसरी फेरिँदो रहेछ है ।’

बाको चेहेरा फिस्स हाँस्यो, ‘सूर्य जति पश्चिमतिर ढल्किँदै जान्छ । छाया पूर्वतिर लम्बिँदै जान्छ छोरा ।’

मैले त्यो बेला खासै बुझिनँ । त्यो बुझ्न मलाई केही महिना कुर्नुपर्‍यो । आकाशको सूर्य पश्चिम माइतीघरतर्फ ढल्किसकेको थियो । छाया कोटेश्वरतिर तन्किएको थियो । हामीसँगै छाया हिँड्दै थियो पारिपट्टि । के म बाको छाया हुँ ?

...

केही हप्तामा धेरै हदसम्म निको भएँ म । आफैंलाई केलाउँथेँ । पहिले आफू बसेको पुरानो घरजस्तै ठाउँठाउँ खुइलिएको थिएँ, आफ्नै अर्धअँध्यारो कोठाजस्तै भएको थिएँ । वा कुनै रङ्गीन चित्र झरीले रङहीन बनाएजस्तै थिएँ । बाको साथ लम्बिँदै जाँदा पूर्ववत् फर्किंदै गएँ । मबाट हराएको उज्यालो फर्किंदै थियो । खुइलिएको रङ भरिँदै थियो । साँच्चै, मेरा बासँग के थियो त्यस्तो जादुगरी ?

मेरो परीक्षा सकिएसँगै बा फर्किनुभयो । फर्कनुभन्दा केही दिनअघिको कुरा हो । बाले पातलो किताब ल्याउनुभएको थियो । सद्दाम हुसेनको बायोग्राफी थियो त्यो । सद्दामको फाँसी सेलाइसकेको थिएन । किताब किनेको कुरा बाले समाचार जसरी फुक्नुभयो, पढ् भन्नुभएन । बा चाहनुहन्थ्यो कि म त्यो पढौँ ।

पछिल्लो दिन, बा घुम्न निस्केको बेला मैले त्यो पढेँ । किताबले कुनै थेरापीझैँ फाइदा पुर्‍यायो । बारबार मृत्यु सद्दामलाई छुन खोज्थ्यो तर मृत्यु आफैं हाथ्र्यो । सद्दामको कठोरपन दिमागमा नाच्न थाल्यो फन्फनी । थप महसुस गरेँ— मृत्यु स्वयम्को अधीनमा हुँदैन रहेछ । बच्चामा मुठ्ठीभित्र च्यापेर राखेको गुच्चा होइन रहेछ मृत्यु । साँझपख बालाई आफ्नै निर्णय सुनाएँ, ‘अबदेखि औषधि खान्नँ ।’

उहाँ केही बोल्नुभएन । यद्यपि, मेरो आत्मविश्वासले उहाँको अनुहारमा सन्तुष्टिको आभा झुल्किएको थियो ।

बाले त्यो किताब छाडेर जानुभएछ । हप्ता दिनपछि फोनमा कुरा गर्दा थाहा भयो । उहाँको घुमाउरो आदत थाहा छ । किताब छुटेको बहानामा सद्दामको साहस पुन: याद गराउन चाहनुहुन्थ्यो बा । उहाँलाई शंका थियो, मभित्रको डर फेरि हैकमी हुन सक्छ । हुन पनि बेलाबेला डर सियोको टुप्पोसरह मुटुमा चस्स बिझ्थ्यो । त्यो दुखाइ फैलिन खोज्थ्यो । अनि, हतारिँदै आफैंलाई प्रश्न तेस्र्याउँथेँ, ‘ममाथि महाकुरूप परिणाम के हुन सक्छ ?’ मनमा पलाउँथ्यो प्रश्नरूपी उत्तर, ‘सद्दामलाई लागेको गोलीले किन छाती ताकेन ? किन कन्चट चुमेन ?’

महसुस गर्दै गएँ, जुन तहको जोखिम मोल्छ मान्छे त्यही उचाइको सफलता पाउँदो रहेछ । म औषधि बेगर सन्चो हुँदै गएँ ।

...

यो मेरो गन्थन बा र सद्दामको तुलना होइन । बाले हजारौँ मुनालाई शिक्षाको उज्यालो बाँड्नुभो । सद्दामले हजारौं नरसंहार गरी मानवताको पाटोमा अँध्यारो थप्यो । यी दुवै विपरीत ध्रुवका मानिस हुन् । तर, बाको सद्दाम नामक थेरापीले ममा काम गर्‍यो । बाले सद्दामकै किताब ल्याउनुको कारण म जान्दिनँ । सद्दामजस्तै साहस भएको कुनै नायकको बायोग्राफी ल्याएको भए ममा थप वितृष्णा जन्मिन सथ्यो । किनकि ममा सफल मान्छे बन्ने भूत थियो ।

अनेकन उत्सुकताले कुत्कुत्याएपछि एक दिन फोनबाटै सोधेँ, ‘बा मलाई सद्दामजस्तो हिंस्रक मान्छेको जीवनी पढेर किन साहस आयो ?’

बाले सरल जवाफ दिनुभो, ‘तँ साहसको तिर्खामा थिइस् । जे कुराको तिर्खा थियो त्यही पियो तेरो मनले ।’

– ‘सानोमा त कुनै नायकको किताब ल्याउनुहुन्थ्यो...’ त्यो वाक्य टुङ्ग्याउन नपाउँदै बा बोल्नुभो, ‘साहस आगो हो छोरा । चुल्होमा बले खाना पाक्छ । यो पनि त जान्नुपर्‍यो छानामा सल्के बस्ती नास्छ ।’

प्रकाशित : मंसिर २९, २०७५ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?