फरक तालमेल

संगीत
सन्तोषभक्त श्रेष्ठ

काठमाडौँ — कुनै पनि विचार, वस्तु वा विषयमा आफ्नो मन वा चित्तलाई स्थिर गरि त्यसै वृत्तिमा एकनासले चल्नु नै ध्यान हो । तसर्थ ध्यान भनेको यस अवस्थामा प्राप्तिका लागि गरिने विभिन्न प्रक्रियाहरू नभई जागरुकता, होस्, साक्षीभाव वा सद्भावको स्थिति हो ।

फरक तालमेल

जापानी शब्द ‘झेन’ र चिनियाँ ‘च्यान’ पनि ध्यानकै अपभ्रंश भएर आएका शब्द हुन् । मनमा चल्ने असंख्य कल्पना र विचारहरूले मनमस्तिष्कमा कोलाहलको स्थिति बनाइदिएको हुन्छ । हामीले नचाहने यस्तो कोलाहल अवस्थालाई हटाई शुद्ध र निर्मल अवस्थामा जानका लागि पनि ध्यान उत्तिकै आवश्यक छ ।

पहिलेदेखि संगीतलाई फरक–फरक उद्देश्यका लागि प्रयोग गरिएको पाइन्छ । संगीतलाई योगको रूपमा पनि प्रयोग गरियो । त्यस्तै मनोरञ्जन, भक्ति, उपचारसमेतमा संगीतको प्रयोग गरिंदै आएको छ । जनावर र बोटबिरुवामा पनि संगीतको असरको बारेमा अध्ययन गरिएको छ । जसमा शान्त प्रकृतिको संगीतको असरले गाईले बढी दूध दियो, बिरुवा राम्ररी हुर्किएको पाइयो । त्यसैले संगीतको प्रभाव मानिसमा नपर्ने कुरै भएन । संगीत एउटा विश्वव्यापी भाषा हो, जसलाई संसारले आफ्नो तवरले प्रस्तुत गर्दै अथवा बुझ्दै आएका छन् ।

बहुजाति, भाषा, धर्म अनि संस्कृति भएको देश नेपालमा त झन् न्याउली रुँदा होस् या मुर्चुंगाको कम्पन निस्कँदा आउने मौलिक धुन होस् संगीत हाम्रो संस्कार अनि सभ्यतामार्फत प्रशस्तै सुन्न पाइन्छ । मादल, सारंगीदेखि धिमेसम्म, ढोलकदेखि टुंगनासम्म, इसराजदेखि सरोदसम्म अनि बाँसुरीदेखि विनायोसम्म नेपाली संगीत सृजनाहरूमा नेपाली मौलिकता थप्ने बाजाहरू हुन् । कसैका लागि संगीत एउटा अभिव्यक्ति हुन सक्छ भने कसैका लागि संगीत एउटा पेसा, कसैका लागि साथी हुन सक्छ त कसैका लागि यो एउटा नशा । पूर्वीय घरानामा हुर्किएका शास्त्रीय संगीत, फिरन्ते समुदायका संगीत, ब्लुजदेखि हिपहपसम्म, ‍र्‍यापदेखि मेटलसम्म अनि लोकगीतदेखि गजलसम्म संगीत विश्वव्यापी फराकिलो आकारमा फैलिएको छ । वैदिक सनातन संस्कारमा त सदियौंदेखि हरेक पुण्य या सतगतका कार्य गर्दा शंख बजाउने चलन रहेको छ । एकोहोरो शंख बज्दा दु:खका संस्कार र दोहोरोमा शुभकार्यको जनाऊ गरिने चलन परापूर्वकालदेखि चलिआएको छ । बलेसीबाट चुहिने पानीका थोपाहरूका आवाज, कोइलीको कुहुकुहु, मन्दिरको घण्ट, मस्जिदको प्रार्थना, चर्चको भजन अनि खोलाको गर्जनसम्म संगीत बगिरहन्छ । सुन्न मात्र नभई यसको विविधता अनुभव गर्न पनि संगीत पारखीले संगीत रोज्ने गर्छन् ।

अहिलेको व्यस्त सामाजिक परिवेशमा उत्पन्न हुने तनाव, डिप्रेसनलगयत थुप्रै मानसिक रोगहरूलाई हटाउन ध्यान अर्थात् मेडिटेसन जरुरी छ, जसमा संगीत एक राम्रो माध्यम हो । संगीत सुन्नुको उदेश्य भने आफैंलाई थाहा हुनुपर्छ । कुनै संगीत सुन्दा नजानीकनै हामीलाई ध्यानको अवस्थामा लैजान सक्छ भने कतिपय अवस्थामा संगीतवाट ध्यानको अवस्थामा जान आफैं तयार हुनुपर्छ । कुनै संगीतमा एकनासले मनलाई स्थिर पार्नुपर्छ ।

पूर्वतिर शास्त्रीय संगीत अथवा रिल्याक्सेसन किसिमको संगीतलाई ध्यानको माध्यमको रूपमा लिइन्छ । तर, व्यक्तिले आफ्नो रुचिअनुसारको संगीतलाई पनि ध्यानको साधनको रूपमा प्रयोग गर्न सक्छन् । मनलाई शान्त पार्ने संगीत ध्यानका लागि उपयुक्त हुन्छ तर व्यक्तिले आफ्नो रुचिअनुशारको संगीत पनि छनोट गर्न सक्छन् । जरुरी कुरा भनेको आफ्नो मनलाई त्यस विषयमा टिकाइराख्नु र एकनासले चल्नु जरुरी हुन्छ । पछिल्लो समयमा आएर अरू वाद्यवादनको साथमा ‘सिङगिङ बल’ को ध्वनिलाई पनि ध्यानका लागि ज्यादै रुचाइएको छ । चक्र साधना वा चक्र ध्यान गर्दा स्वरहरूको प्रयोग गरेको पाइन्छ, जसमा सिङगिङ बलको स्वरहरू वा कुनै पनि वाद्ययन्त्र सरगमको प्रयोग पनि भएको पाइन्छ ।

इसराजवादकको रूपमा मैले आफ्नो साजको सुरमय ध्वनिलाई ध्यानको साधनको रूपमा पनि लिंदै आएको छु । त्यति बेला व्यावसायिक रूपमा र मनोरञ्जनको रूपमा बजाइएको अवस्थाभन्दा फरक महसुस गर्छु । मुख्यत: आफूलाई साक्षीभावमा राख्ने कोसिस गर्छु । जसकारण वाद्यवादक आफैं पनि बजाउँदाबजाउँदै ध्यानको अवस्थामा रहन सक्छ भने सुन्नेहरू पनि त्यही अवस्थामा पुग्न सक्छ ।

मुख्यतया ध्यानले व्यक्तिलाई वर्तमानमा केन्द्रित गराउने हुँदा पुराना घटनाको प्रभाव कम गर्नु र भविष्यको चिन्ताबाट मुक्तसमेत गराउँछ । कतिपय व्यक्तिहरू आफ्ना पुराना घटनाक्रममै अल्झेर डिप्रेसनमा परेका हुन्छन् भने कतिपय भोलिको बारेमा सोचेरै तनावमा हुन्छन् । यसले गर्दा नै मानिसहरू मानसिक रूपमा कमजोर र बिरामीसमेत हुने गर्छ । ध्यानले हामीलाई वर्तमानमा रहन सघाउँछ र भविष्यको चिन्ता कम गराई विगतका घटनाबाट मुक्त गराउँछ । यति भएपछि मानिस धेरै हदसम्म सुखी र खुसीका साथ जीवन बिताउन सक्छन् ।

अहिले दूषित वातावरण, कामको प्रेसर, विषादीयुक्त खानपान र विद्युतीय सामानको बढी प्रयोगले गर्दा प्राय: मानिस विभिन्न रोगबाट समेत पीडित छन् । विभिन्न एप्स र ग्याजेटले हाम्रो दैनिकी पहिलेजस्तो आफन्त, साथीहरूबीचको आत्मीयतामा समेत कमी आइरहेको छ । साना नानीहरूदेखि वृद्धहरूसम्ममा पनि बढी मोबाइलहरू चलाउने, सामाजिक सञ्जालमा बढी नै सक्रिय रहने आदि कारणले पनि हामी एक्लोपनामा रमाइरहने अवस्थामा गइरहेका छौं । यसले पछिल्लो समयमा विभिन्न नयाँ रोगहरू पनि आइरहेको छ । अब यसरी नै नयाँ पुस्तालाई छोड्यौं भने भविष्य पक्कै पनि सहज हुँदैन । त्यसैले अबका पुस्ताहरूलाई अभिभावकहरूकै पहलमा सानैदेखि संगीत र मेडिटेसनसँग लिंक गराई जीवनलाई सुन्दर बनाउन मद्दत गर्नुपर्छ ।

नेपाली संगीतकर्मी अमन शाही दशकयता च्याङमाई (थाइल्यान्ड) मा सिङगिङ बलको माध्यमबाट मेडिटेसनको कक्षा लिइरहेका छन् । यसमा एक साता मेडिटेसन गर्न आउने धेरै भेटिए । अरू माध्यमभन्दा पनि संगीतको माध्यमबाट मेडिटेसन गर्दा एकाग्रता पाइएको र मानसिक तनाव घटेको अनुभव गरेको सहभागीहरूले बताए । यो पछिल्लो समय प्रभावकारी पनि देखिएको छ । अघिल्लो साता सिङगिङ बल र र इसराजको धुनलाई सँगै लिएर मेडिटेसनका लागि अभ्यास गर्न म आफैं च्याङमाई पुगेको थिएँ । हामी आफ्नो वाद्यवादनको माध्यमबाट स्वदेशमै पनि संगीतलाई ध्यान र योगमा उपयोग गर्न सक्ने प्रशस्तै सम्भावना देखें ।

(लेखक इसराजवादक हुन्)

प्रकाशित : मंसिर २९, २०७५ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?