कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आफ्नोपनको खोजी 

रंगमञ्च
चिन्तनगत ‘घेरो’ का कारण अहिले हाम्रो नेपाली रंगमञ्चले ‘लिलामे माइलो’ को नियति भोग्नुपरिरहेको अवस्था हो । 
फूलमान वल

काठमाडौँ — पाँच वर्षअघिको शरदयाम । बत्तीसपुतलीस्थित शिल्पी थिएटरको अभिशालामा रंगकर्मी घिमिरे युवराज नयाँ नाटकको कथा खोज्दै थिए । सेलो थिएटरका कलाकर्मीहरूलाई गोलो घेरामा राखेर म तामाङ समुदायमा प्रचलित गोले झाँक्रीको मिथकीय कथा सुनाउँदै थिएँ ।

आफ्नोपनको खोजी 

त्यसैबेला सेलोका साथीहरूले तामाङ लोकभाकामा केही गीत आसु रचना गरे । गोले झाँक्रीकै भूमिका गर्ने सन्तोष तामाङले काभ्रेतिर प्रचलित बोन्बोको सेरगेम गीत (मन्त्र) टिपेर ल्याए ।

तामाङ समुदायमा संस्कारिक काम गर्नुअघि बोन्बोले सेरगेम गर्ने चलन छ । कतिपय सेरगेम भुमे पूजाको बेला नियमित वार्षिक उत्सवकै रूपमा पनि हुन्छ । यस्तोमा बोन्बोले ढ्याङ्ग्रो बजाउँदै गाउने मन्त्रको लय भिन्नै सुनिन्छ । यो लय र भाका अहिलेसम्म रेकर्डेड भएर आधुनिक फर्ममा आउन सकेको छैन ।

लोकजीवनका यस्ता थुप्रै सौन्दर्य जीवन–मरणको दोसाँधमा छन् । ‘म्हेन्दोमाया’ नाटकले पहिलोपटक सेरगेम गीतलाई नेपाली रंगमञ्चमा प्रयोग गर्‍यो । युरोपबाट कमेडिया डेलाँआर्ते पढेर आएका घिमिरे युवराजले ‘म्हेन्दोमाया’ लाई तामाङ लोकतत्व र रंगमञ्चीय आधुनिकता फ्युजन गरेर परिस्कृत फर्ममा प्रस्तुत गरे । संस्कृतिविद् सत्यमोहन जोशीको भनाइमा नाटक ‘अग्र्यानिक’ बन्यो ।

केही महिनाअघि मञ्चित ‘सोनाम ग्याल्मो’ भने प्रस्तुतिगत हिसाबले बढी नै यथार्थवादी धारतिर ढल्कियो । सेटिङदेखि प्रस्तुतिसम्म । तैपनि यसले तामाङ युनिकनेसलाई राम्रैसँग प्रबद्र्धन गर्‍यो । विशेषगरी ताम्बा दर्शन । तामाङ संस्कृति, मौलिक दर्शन र सौन्दर्यको प्रतीक हुन् ताम्बा । नाटकले कथावाचकको रूपमा यिनै ताम्बालाई उभ्यायो, विवाहमा प्रयोग हुने ताम्बागीतसहित । रंगकर्मी प्रचण्ड मल्लले भने, ‘तामाङ संस्कृति यति सघन रूपमा नेपाली नाटकमा अहिलेसम्म हेरेको छैन ।’


‘घेरो’ र ‘लिलामे माइलो’

यतिबेला पोखराको गन्धर्व थिएटरमा नाटक ‘घेरो’ र काठमाडौंको थापागाउँस्थित कुञ्ज थिएटरमा ‘लिलामे माइलो’ मञ्चन भइरहेको छ । दुवै नाटकमा कथावाचनका लागि लोकगीतको प्रयोग गरिएको छ । ‘घेरो’ मा बालन (भजन) र ‘लिलामे माइलो’ मा पूर्वेली भाका ‘देशै रमाइलो...’ यसअघि सरुभक्तको लेखन र अनुप बरालको निर्देशन रहेको नाटक ‘बरै’ र सरोज अर्यालको ‘वनको चरी रमाउँछ वनैमा’ मा पनि यस्तै प्रयोग गरिएको थियो । पछिल्लो समय नेपाली रंगमञ्चले आफ्नोपन खोजिरहेको बेला यी प्रयासहरू प्रशंसनीय छन् ।

नेपाली रंगमञ्चले आफ्नोपनको खोजी गरेको अहिले हैन । उहिल्यैदेखि हो । दुई शताब्दीअघि शक्तिवल्लभ अर्यालले पहिलो पटक संस्कृत नाटक ‘हास्यकदम्ब’ नेपालीमा अनुवाद गरे । यस्तो अनुवादक्रम लामै समय चल्यो । मोतीराम भट्ट पनि अनुवादबाटै प्रभावित बने । कालिदासको ‘अभिज्ञानशाकुन्तलम्’ लाई नेपालीमा ‘शकुन्तला’ लेखे उनले ।

मौलिकताको खोजी भइरहेकै बेला एक शताब्दीअघि पहलमानसिंह स्वाँरले ‘अटलबहादुर’ बाट पहल थाले । पारसी शैलीबाट प्रभावित नेपाली रंगमञ्च राणा दरबारभित्र विलासिताको किलोमा बाँधिरहेको समय थियो त्यो । भारतको कोलकातामा ‘ओथेलो’ र ‘मर्चेन्ट अफ भेनिस’ हेरेपछि बालकृष्ण समले नेपाली रंगमञ्चमा आधुनिकताको रङ पोते यही बेला ।

यसपछि नेपाली रंगमञ्चमा थुप्रै धार देखापरे– यथार्थवादी, मनोवैज्ञानिक, समसामियकदेखि प्रयोगवादी धारसम्म । समकालीन नेपाली रंगमञ्चमा अनेक प्रयोग भइरहेका छन् । भारतीयदेखि युरोपेली प्रभावका थुप्रै धारहरू छन् । लीलादेखि अगस्टोबोयलसम्म, कथादेखि कविता मञ्चनसम्म । तर, के समकालीन नेपाली रंगमञ्चमा मुलुकको मौलिक अनुहार देखिन्छ ? यस्तो प्रश्न उठिरहेको बेला ‘घेरो’ र ‘लिलामे माइलो’ ले विषयवस्तु र प्रस्तुति दुवैमा आफ्नोपनको मलजल गर्ने कोसिस गरिरहेका छन् ।

केदार पौडेलको लेखन र कपिल शर्माको निर्देशन रहेको ‘घेरो’ लाई सरोज अर्यालले लोकशैलीमा ढालेका छन् भने प्रभाकर न्यौपानेको निर्देशन र राज थापा काउचाको नाट्य रूपान्तरण रहेको ‘लिलामे माइला’ भने पूर्वेली मगर समुदायको सांस्कृतिक रङमा रंगिएको छ ।


लोक कि आधुनिक ?

नेपाली रंगमञ्च (लोकसहित) को उद्भव, विकास र अहिलेको अवस्थिति केलाउँदा दुई प्रकारको रेखा कोर्नुपर्ने हुन्छ । शक्तिवल्लभ अर्याल, मोतीराम भट्ट, पहलमानसिंह स्वाँर, बालकृष्ण सम, सत्यमोहन जोशी, प्रचण्ड मल्ल, अभि सुवेदीसम्म आइपुने एउटा रेखा । यो एकल व्यक्तिकेन्द्रित सिर्जनात्मक रेखा हो । यही रेखाअन्तर्गत समयक्रममा थुप्रै धार र प्रवृत्तिहरू देखिए, अहिले थपिएका पनि छन् । यसकै समरेखामा अर्को रेखा उहिलेदेखि नै थियो, लोक सिर्जनाको रेखा ।

जीवनका दु:ख, पीडा, खुसी, प्रेमजस्ता भावहरू अभिव्यक्ति गर्न लोकले समयक्रममा जन्माएको यस्ता नाट्य उत्सव लोकनाटकको रूपमा अहिले पनि अभ्यास भइरहेकै छन्, लोकसंस्कृतिको अंग बनेर । लोकको साझा सम्पदा बनिसकेको यस्ता सिर्जनाको रचयिता एकल हैन, सामूहिकतामा आधारित हुन्छन् । जस्तो कि, कात्तिक नाच, मारुनी, बालन, नवदुर्गा नाच, रामलीला, नेवार समुदाय आधारित पुराना दबु प्याँखाहरू ।

बौद्ध र बोन परम्परामा आधारित थुप्रै लोकनाटकहरू पनि नेपाल प्रचलित छन् तर ती बाहिर आउन सकेका छैनन् । केही महिनाअघि मात्रै राजधानीमा आयोजित सेलो नाट्य महोत्सवमा धादिङको तामाङ समुदायमा प्रचलित दुईवटा लोकनाटक प्रस्तुत गरिएको थियो, ‘ताचेमा’ र ‘ल्हालिमो’ । घोडाचडी युद्धमा आधारित ‘ताचेमा’ मा तामाङहरू तिब्बतमा नुन लिन जाँदा अन्नसँग नुन साटेको सन्दर्भदेखि झगडा र मेलमिलापसम्मको कथा बाजागाजा, गीत र युद्ध अभिनयबाटै अभिव्यक्त गरिन्छ ।

हरेक माघ महिनाको दशमीदेखी पूर्णिमासम्म मनाइने ‘छेची उत्सव’ मा यो लोकनाटक मञ्चन हुँदै आएको छ । प्रेमकथामा आधारित अर्को लोकनाटक ‘ल्हालिमो’ मा बोम्साङ र म्हानेदोरा गीतसँगै नृत्य भंगिमाबाट कथावाचन गरिन्छ । यी नाटकका कपिराइट व्यक्तिमा हैन, लोकमा निहित छ ।

यस हिसाबले ‘घेरो’ र ‘लिलामे माइलो’ लोकनाटक हैनन् । यी त लोकशैलीमा आधारित नाटक हुन् । लोकगीतका जस्तै लोकनाटकका पनि खास लेखक, खास निर्देशक हुँदैनन् । किनभने यी लोकका सम्पदा हुन् । सामूहिक सिर्जना हुन् । कसैले लोकगीतमा केही आफ्नोपन मिसाएर प्रस्तुत गर्‍यो भनेचाहिँ त्यो उसको लोकआधारित सिर्जना बन्न सक्छ । त्यसो त नेपाली मौलिक नाटकमा मिथक र लोकतत्त्व मिसाउने काम धेरै अघिदेखि नै हुँदै आएको हो ।

पछिल्लो समय मञ्चित सत्यमोहन जोशीका नाटक ‘बाघभैरव’, ‘मजिपा लाखे’, ‘सुनकेशरी’, अभि सुवेदीका नाटक ‘चिरिएका साँझहरू’, ‘आरुका फूलका सपना’ र ‘अग्निको कथा’ मा समकालीन संवेदनासहित मिथकीय चेतना र लोकतत्त्वका हिस्साहरू मिसिएका छन् । यी नाटकहरूमा नेपाली विषयवस्तु, पात्र, संवेदना, संस्कृति र समाज पाइन्छ । यो सन्दर्भमा अलिक बढी लोकरङ पोतिएको सिर्जनाको रूपमा भने ‘घेरो’ र ‘लिलामे माइलो’ लाई लिन सकिन्छ । यी दुवै लोकआधारित नाट्य सिर्जना हुन्, लोकनाटक हैनन् ।

अनुवाददेखि अनुवादसम्म नेपाली रंगमञ्चमा पछिल्लो समय निकै राम्रा कामहरू भइरहेका छन् । थुप्रै समुहहरू नयाँ–नयाँ सिर्जनामा तल्लीन छन् । राजधानीमा मात्रै झन्डै आधा दर्जन थिएटरमा नियमित नाटक मञ्चनको प्रतिस्पर्धा चल्छ । यो क्रम पोखरासम्म पुगेको छ । कुनै समय धरान पनि सक्रिय थियो । तैपनि किन ‘आरुका फूलका सपना’, ‘सुनकेशरी’, ‘बाघभैरव’ र ‘मजिपा लाखे’ जस्ता नाटकहरू आउन सकिरहेको छैन ? नाट्य आलेख नपाएर कथा र कविताका टुक्राहरू मञ्चन गर्ने स्थिति किन बनिरहेको छ ? यस्तै प्रश्न र बहस सुनिन्छ रंगकर्मी वृत्तमा ।

यस्तो खाली स्पेसमा विदेशी अनुवाद नाटकहरूले स्थान लिनु स्वाभाविक छ । फेरि रंगमञ्चीय ज्ञान र शिल्प आदान–प्रदानमा यस्ता नाटकको भिन्न महत्त्व पनि हुन्छ । तर, हाम्रो हकमा ‘आदान’ मात्रै भइरहेको देखिन्छ ‘प्रदान’ चाहिँ एकदमै नगन्य । यो हिसाबले हेर्दा अहिले नेपाली रंगमञ्च ‘अनुवाददेखि अनुवादसम्म’ आइपुगेको भन्न सकिन्छ ।

२ सय २० वर्षअघि शक्तिवल्लभ अर्यालले भारतीय संस्कृत नाटक अनुवादबाट बसालिदिएको परम्परा आज युरोपेली नाटक अनुवादको परम्परासम्म आइपुगेको छ । यस्तो अवस्थामा नाट्य संस्थाहरू जति धेरै खुले पनि रंगमञ्चमा नेपाली अनुहार देखिन मुस्किल छ । राज्यका अंगहरूले पनि आफ्नो विशिष्टता संसारभर प्रवद्र्धन गर्न ‘सफ्ट पावर’ लाई खासै ध्यान दिएको देखिँदैन ।

चिन्तनगत ‘घेरो’ का कारण अहिले हाम्रो नेपाली रंगमञ्चले ‘लिलामे माइलो’ को नियति भोग्नुपरिरहेको अवस्था हो । ‘घेरो’ मा अन्धविश्वास र पछौटेपनको कथा छ भने ‘लिलामे माइलो’ घरभित्रै पनि हेपिनु र पेलिनुपर्ने पात्र हुन् ।

कला, साहित्य र संस्कृतिलाई मुलुक प्रवर्द्धन गर्ने ‘सफ्ट पावर’ को रूपमा विकास गर्न हाम्रो चिन्तनगत पछौटेपनले छेकिदिएको छ भने मुलुकको सांस्कृतिक अग्र्यानिक भण्डार हेपिएको छ, पेलिएको छ, लिलामे माइलो जस्तै । कम्तीमा यी दुई नाटकमार्फत भने आफ्नोपन खोज्ने प्रयास गरेका छन् निर्देशकद्वय कपिल शर्मा र प्रभाकर न्यौपानेले ।

प्रकाशित : मंसिर २९, २०७५ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?